प्रोत्साहनको विशेष आदानप्रदान
१ यहोवाका जनहरूले विश्वासको परीक्षा सामना गर्नु नपर्ने दिन नै हुँदैन। आफ्नो अल्प समय थाह पाएर दियाबलले यहोवाप्रतिको हाम्रो निष्ठा तोड्न अन्तिम भीषण आक्रमण गरिरहेको छ। (प्रका. १२:१२) त्यसैले, ‘प्रभुमा र उहाँको शक्तिको सामर्थ्यमा बलवान् हुन’ नितान्त आवश्यक छ अनि यसो गरेको खण्डमा हामी ‘खराब दिनमा सामना गर्न र सबै काम गरेर खडा हुन सक्नेछौं।’—एफि. ६:१०, १३.
२ सँगी विश्वासीहरूसितको सरसंगति यहोवाले हामी बलवान् होस् भनेर मिलाउनुभएको एउटा प्रबन्ध हो। प्रेरित पावलले यसको महत्त्व बुझेका थिए। ‘एउटाले अर्कोबाट प्रोत्साहन पाउन सकून’ र ‘बलिया होऊन्’ भन्ना खातिर आफ्ना भाइहरूसित सरसंगत गर्न तिनले उत्कट इच्छा गरे। (रोमी १:११, १२, नयाँ संशोधित संस्करण) परमेश्वरको इच्छा गर्न हामीलाई सुदृढ पार्न परिचालक निकायले आगामी “परमेश्वरको राज्यका जोसिला उद्घोषकहरू” विषयक जिल्ला अधिवेशनमा एक अर्कासित प्रोत्साहन आदानप्रदान गरेर लाभ उठाउने मायालु प्रबन्ध मिलाएको छ।
३ लाभ उठाउन त्यहाँ उपस्थित हुनुहोस्: तीनै दिन उपस्थित हुने लक्ष्य बनाउनुहोस्। सुरुको गीत गाउनअघि नै आएर अनि समापन प्रार्थनासम्म बसेर हाम्रो हार्दिक “आमिन” जाहेर गर्दा हामी ‘फाइदा’ उठाउँछौं। (यशै. ४८:१७, १८) सबै छोराछोरी तथा जागिर खाइरहेका प्रकाशकहरूले थप बिदा नलिइकनै यस अधिवेशनमा उपस्थित हुन सकून् भनेर यस वर्ष अधिवेशन सार्वजनिक बिदाको बेला मिलाइएको छ। तथापि, उत्तर र उत्तर-पूर्वका भाइहरू भने मुम्बईसम्म जानको लागि अलि बढी यात्रा गर्नुपर्ने हुन सक्छ। यसको मतलब उनीहरूले आफ्नो कामकुराको तालिका अगाडि नै मिलाउनुपर्नेछ। यसो गर्दा उनीहरूले तीनै दिन सम्मेलनमा उपस्थित हुन समय पाउनेछन्। ठूलठूला अधिवेशनहरूमा उपस्थित हुन थप प्रयासको खाँचो पर्न सक्छ तर उहाँको इच्छा गर्न यहोवाले हामीलाई मदत गर्ने आश्वासन दिनुभएको छ। (१ यूह. ५:१४, १५) अधिवेशनको लागि यात्रा गर्न दुई महिनाअघि नै रेल बुकिङ गर्न सकिन्छ। त्यसैले, यदि हामीले अहिलेसम्म पनि बुकिङ गरेका छैनौं भने, पछि नै हेरौंला नि भन्ने नसोचेर यातायात तथा बासको लागि निश्चित प्रबन्ध मिलाउने समय अहिल्यै हो। तीनै दिन उपस्थित हुन हामीले गरेको प्रयासमा यहोवाले आशिष् दिनुहुनेछ भन्ने कुरामा हामी निर्धक्क हुन सक्छौं।—हितो. १०:२२.
४ प्रोत्साहनको अशा गर्नुहोस्: जिल्ला अधिवेशन सकिएपछि के तपाईंले “यसपालिजस्तो रमाइलो त पहिले कहिल्यै भएको थिएन” भन्नुभएको छ? तपाईंलाई किन त्यस्तो लागेको हुनुपर्छ? किनभने असिद्ध मानिसहरू भएकाले हामी बिस्तार-बिस्तारै थकित हुन सक्छौं र हामीलाई निकै आध्यात्मिक प्रोत्साहनको खाँचो परिरहेको हुन सक्छ। (यशै. ४०:३०) एउटी बहिनीले यसो भनिन्: “यस रीतिरिवाजले मलाई थकित तुल्याउँछ र अधिवेशनहरूले चाहिं मलाई आवश्यक आध्यात्मिक बल प्रदान गरेर आध्यात्मिक तवरमा स्फूर्ति प्रदान गर्छ। मलाई प्रोत्साहनको एकदमै जरुरत भएकै बेला म यो प्राप्त गर्छु।” सायद तपाईंले पनि यस्तै महसुस गर्नुभएको होला।
५ हामीले कुराकानी तथा अन्तरवार्ताबाट आवश्यक प्रोत्साहन पाउनुको अलावा अधिवेशनहरूका अन्य पक्षहरूबाट पनि लाभ उठाउँछौं। एक जना भाइले यस्तो टिप्पणी गरे: “बाइबल सिद्धान्तहरूको स्पष्ट तथा व्यावहारिक उपयोगको म साँच्चै मूल्यांकन गर्छु। निस्सन्देह, बितेको समयका दुवै राम्रा, नराम्रा उदाहरणहरूबाट हामी कसरी लाभ उठाउन सक्छौं भन्ने कुरा नाटकहरूले स्पष्टसित देखाउँछ। यसका साथै, म विमोचन हुने नयाँ प्रकाशनहरूको सधैं प्रतीक्षा गर्छु र घर फर्केपछि यी प्रकाशनहरू धेरै बेरसम्म पढिरहन्छु।”
६ यस “डरलाग्दो समय[मा]” अधिवेशनहरू यहोवाले गर्नुभएको अत्यन्तै महत्त्वपूर्ण प्रबन्ध हो। (२ तिमो. ३:१) अधिवेशनहरूले हामीलाई यस ईश्वरप्रेरित सल्लाह पालन गर्न मदत गर्छ: “होशियार बस, विश्वासमा दृढ भइबस, पुरुषार्थी होओ, बलिया होओ।” (१ कोरि. १६:१३) त्यसैले आउनुहोस्, “परमेश्वरको राज्यका जोसिला उद्घोषकहरू” जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रममा उपस्थित भएर त्यहाँ आदानप्रदान गरिने प्रोत्साहनबाट लाभ उठाऔं!
[पृष्ठ ३-मा भएको पेटी]
तीनै दिन उपस्थित हुने योजना बनाउनुहोस्
■ कामबाट छुट्टी माग्नुहोस्।
■ अधिवेशन हुने शहरमा कोठा बुकिङ गर्नुहोस्।
■ अधिवेशनमा उपस्थित हुन यातायातको प्रबन्ध मिलाउनुहोस्।