‘मेरो पछि लागिरहो’
१ थुप्रैले आफ्नै खुसीमा मात्र ध्यान दिन्छन्। तैपनि उनीहरू अक्सर खुसी हुन सक्दैनन्। वास्तवमा, अरूलाई निस्वार्थभावले दिंदा खुसी हुन सकिन्छ भनेर येशूले भन्नुभयो। (प्रेरि. २०:३५) उहाँले यसो भन्नुभयो: ‘कोही मेरो पछि लाग्न इच्छा गर्दछ भने, त्यसले आफूलाई इन्कार गरोस् र . . . मेरो पछि लागिरहोस्।’ (मर्कू. ८:३४) यसको अर्थ आफूलाई मनपर्ने एक-दुइटा कुरा समय समयमा त्याग्नु मात्र नभई हरेक दिन यहोवालाई खुसी पार्नु हो, आफूलाई होइन।—रोमी १४:८; १५:३.
२ प्रेरित पावललाई विचार गर्नुहोस्। “ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको” कारण तिनले आफ्नो सबै इच्छा-आकांक्षा त्यागे र राज्य गतिविधिलाई विस्तार गर्ने काममा आफूलाई अर्पण गरे। (फिलि. ३:७, ८) अरूको सेवामा “म [आफूलाई] . . . ज्यादै खुशीसित खर्च गर्नेछु, र खर्च हुने पनि छु” भनी उनले भने। (२ कोरि. १२:१५) हामी प्रत्येकले आफैलाई यस्ता प्रश्न सोध्नुपर्छ: ‘म आफ्नो समय, शक्ति, क्षमता र सर-सम्पत्ति कसरी प्रयोग गर्दैछु? के म आफ्नै चाहनाहरू मात्र पूरा गर्ने ध्याउन्नमा लागिरहेको छु वा यहोवालाई खुसी पार्ने प्रयास गर्दैछु?
३ दिने सुअवसर: परमेश्वरका जनहरूले हरेक वर्ष जीवन बचाउने काममा अर्थात् परमेश्वरको राज्यको प्रचारकार्यमा एक अरबभन्दा बढी घण्टा बिताउँछन्। मण्डलीमा के जवान, के वृद्ध सबैले अरूलाई लाभ पुग्ने विभिन्न काम गर्छन्। सम्मेलन तथा अधिवेशनसित सम्बन्धित काम पनि थुप्रै हुन्छन्। त्यसका साथै साँचो उपासनाको विस्तारमा प्रयोग हुने भवन निर्माण तथा मर्मतसम्बन्धी पनि थुप्रै काम गर्नुपर्ने हुन्छ। अनि अस्पताल सम्पर्क समिति (एच.एल.सी.) र बिरामी भेट्ने समूहका (पी.भी.जी.) भाइहरूले पनि हामीलाई मायालु सहयोग गर्छन्। यी सबै आत्म-त्यागी कामहरू मसीही भाइचाराको लागि आशिष् हुन्!—भज. ११०:३.
४ आकस्मिक अवस्थामा वा कुनै विपत्ति आइपर्दा हामीले विभिन्न तरिकामा दिने सुअवसर पाउन सक्छौं। तर हाम्रा सँगी मसीहीहरूलाई प्रायजसो चाहिने कुरा त सहयोग वा प्रोत्साहन हुन सक्छ। (हितो. १७:१७, NRV) अरूको सेवामा र राज्य गतिविधिको विस्तारमा राजीखुसीले लाग्दा हामीले येशूको उदाहरण पछ्याइरहेका हुनेछौं। (फिलि. २:५-८) यसरी हामी हरदम येशूको पछि लागिरहने प्रयत्न गरौं!