“मलाई चासो छैन”
१ कुनै-कुनै इलाकामा प्रचार गर्दा प्रायजसो मानिसहरूले त्यसै भन्ने गर्छन्। हाम्रो इलाकाका मानिसहरूको भावशून्य व्यवहारले गर्दा निराश नहुन हामीलाई केले मदत गर्नेछ? सुसमाचारप्रति कसरी चासो जगाउन सक्छौं होला?
२ निराश नहुनुहोस्: धेरैजसो मानिस भावशून्य हुनुको कारण बुझेपछि हामी निराश हुनेछैनौं। सानैदेखि क्रमविकासबारे सिकेका वा नास्तिकवादी समाजमा हुर्केको हुनाले तिनीहरूले बाइबलको महत्त्व बुझेका छैनन् होला। अरू भने धर्ममा देखेको कपटले गर्दा अन्योलमा परेका होलान्। कोही-कोही भने निराशा र आशाविहीनताले गर्दा भावशून्य भएका हुन सक्छन्। (एफि. २:१२) अरू कतिपय भने जीवनको फिक्रीले दबिएको हुँदा हाम्रो सन्देशलाई वास्तै गर्दैनन्।—मत्ती २४:३७-३९.
३ कसै-कसैले नकारात्मक प्रतिक्रिया देखाए तापनि सेवकाईमा हामी रमाउन सक्छौं किनभने हामीलाई थाह छ, हाम्रो प्रयासले यहोवाको महिमा गर्छ। (१ पत्रु. ४:११) साथै, बाइबलको महत्त्व बुझिनसकेकाहरूलाई समेत सुसमाचार सुनाउँदा हाम्रो आफ्नो विश्वास बलियो हुन्छ। आफ्नो इलाकाका मानिसहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्ने प्रयास गरौं। ‘दाहिने र देब्रे हातै चिन्न नसक्ने’ निनवेका मानिसहरूप्रति यहोवाले दया देखाउनुभयो। (योना ४:११) हाम्रो इलाकाका मानिसहरूलाई सुसमाचार सुनाउनै पर्छ! त्यसकारण हामीले हार मान्नु हुँदैन तर बाइबलको सन्देशप्रति तिनीहरूको चासो जगाउने नयाँ-नयाँ तरिका खोज्नुपर्छ।
४ सबैलाई चासो लाग्ने विषय छलफल गर्नुहोस्: सुरुमा परिचय दिंदा सबैलाई चासो लाग्ने विषयबाट कुरा थालेर घरधनीको विचार बुझ्नुभए कसो होला? घरधनीको कुरा राम्ररी सुन्नुहोस् अनि तिनले चिन्ता व्यक्त गर्दा बाइबलबाट सान्त्वनादायी सन्देश सुनाउनुहोस्। एक जना साक्षी भाइले आफूले भेटेको प्रत्येक घरधनीलाई हालै टोल-छिमेकमा भएको दुर्घटनाबारे गहिरो दुःख व्यक्त गरे। तिनी भन्छन्: “त्यसपछि त मैले केही भन्नै परेन, उनीहरू आफै कुरा गर्न अघि सरे। तिनीहरूप्रति व्यक्तिगत चासो देखाएको हुँदा थुप्रैसित त्यस दिन राम्रो कुराकानी गर्न सकें।”
५ मानिसजातिले भोगिरहेको सबै समस्या परमेश्वरको राज्यले समाधान गर्नेछ। घरधनीलाई सबैभन्दा चिन्ता लागेको विषय के हो, सो पत्ता लगाउने कोसिस गर्नुहोस्। तिनी बाइबलले दिने आशाको सन्देश सुन्न तयार हुन सक्छन्। अथवा त्यतिबेला तयार भएनन् भने पनि पछि ‘फेरि सुन्न’ इच्छुक हुन सक्छन्।—प्रेरि. १७:३२.