“धन्यवादी होओ”
१ येशूले दश जना कोरीलाई निको पार्दा एक जना मात्र उहाँलाई धन्यवाद दिन फर्कियो। तब येशूले सोध्नुभयो: “के शुद्ध भएका दश जना होइनन्? तर नौ जना कहाँ छन्?” (लूका १७:११-१९) स्वर्गमा बस्ने हाम्रा उदार र मायालु परमेश्वर यहोवाले हामीलाई दिनुभएको हरेक असल दान र उत्तम वरदानप्रति कृतज्ञ वा धन्यवादी हुनु कत्ति महत्त्वपूर्ण छ!—कल. ३:१५; याकू. १:१७.
२ कस्ता कुराहरूका लागि हामी धन्यवादी हुन सक्छौं? परमेश्वरले मानिसजातिलाई दिनुभएको सबैभन्दा ठूलो उपहार फिरौतीको प्रबन्धका लागि हामी धन्यवादी हुन सक्छौं। (यूह. ३:१६) यहोवाले हामीलाई उहाँतर्फ खिच्नुभएकोमा पनि हामी उहाँप्रति धन्यवादी छौं। (यूह. ६:४४) धन्यवादी हुन सक्ने अर्को कारण हाम्रो विश्वव्यापी ख्रीष्टियान एकता पनि हो। (भज. १३३:१-३) यहोवाले हामीलाई दिएका अन्य थुप्रै उपहार पनि सम्झन सक्नुहुन्छ। हो, हामी कृतघ्न इस्राएलीहरू जस्तो कदापि हुन चाहँदैनौं। तिनीहरूले यहोवाले तिनीहरूको निम्ति गर्नुभएका कार्यहरूलाई चटक्कै बिर्से।—भज. १०६:१२, १३.
३ धन्यवादी भएको देखाउनुहोस्: सायद दशै जना कोरीहरू येशूले तिनीहरूलाई निको पारेकोमा खुसी भए होलान् तर धन्यवादी भएको कुरा एक जनाले मात्र देखायो। (लूका १७:१५) प्रचारकार्यमा जोसिलो भई भाग लिएर हामी धन्यवादी भएको देखाउँछौं। हाम्रा मायालु पिता यहोवाले हाम्रो लागि जे-जति गर्नुभएको छ, त्यसप्रति हामी साँच्चै धन्यवादी छौं भने उहाँबारे अरूलाई बताउन उत्प्रेरित भएर हामी उहाँको माया र उदारताको अनुकरण गरिरहेका हुन्छौं। (लूका ६:४५) यहोवाका ‘अचम्मका कामहरू र हामीतर्फको उहाँको विचारबारे’ अरूलाई बताउँदा उहाँप्रतिको हाम्रो माया र कृतज्ञता पनि बढ्दै जानेछ।—भज. ४०:५.
४ अरूलाई पनि धन्यवादी हुन मदत गर्नुहोस्: छोराछोरी र बाइबल विद्यार्थीहरूलाई पनि धन्यवादी हुन मदत गर्ने मौका खोज्नुपर्छ। यसो गर्ने थुप्रै मौका आमाबाबुसित छ, जस्तो कि छोराछोरीसँगै यहोवाको सृष्टिबाट आनन्द उठाउनु। (रोमी १:२०) अनि बाइबल अध्ययन सञ्चालन गर्दा हामी विद्यार्थीलाई यसरी सोध्न सक्छौं: “यसले यहोवाबारे हामीलाई के सिकाउँछ?” बाइबल विद्यार्थीमा धन्यवादी मनोवृत्ति जति बढ्दै जान्छ, यहोवाप्रतिको माया र उहाँलाई खुसी पार्ने अठोट पनि उति नै बढ्दै जान्छ।
५ यस आखिरी दिनमा धेरै जना बैगुनी छन्। (२ तिमो. ३:१, २) तर आफ्ना भक्त सेवकहरूले जोसका साथ प्रचारकार्यमा भाग लिएर धन्यवादी भएको देखाउँदा यहोवा खुसीले ओतप्रोत हुनुहुन्छ।—याकू. १:२२-२५.