प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 सङ्‌ख्या ३ पृ. ६-८
  • के शिक्षा र पैसाले भविष्य उज्ज्वल बनाउँछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के शिक्षा र पैसाले भविष्य उज्ज्वल बनाउँछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • थुप्रैले कस्तो छनौट गर्छन्‌?
  • नतिजा कस्तो भएको छ?
  • आमाबाबु हो—तपाईं आफ्ना छोराछोरीको कस्तो भविष्य चाहनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • सुरक्षित जीवनको खोजी
    ब्यूँझनुहोस्‌!—१९९८
  • उज्ज्वल भविष्य—सबैको चाहना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • भविष्य उज्ज्वल बनाउन के गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 सङ्‌ख्या ३ पृ. ६-८
विश्‍वविद्यालयमा पढ्‌ने दुई जना युवती कक्षातर्फ जाँदै छन्‌।

के शिक्षा र पैसाले भविष्य उज्ज्वल बनाउँछ?

थुप्रैको विचारमा धेरै शिक्षा हासिल गरेर टन्‍न पैसा कमाउन सकियो भने भविष्य उज्ज्वल हुन्छ। उच्च शिक्षा हासिल गरेको व्यक्‍तिले आफू काम गर्ने कम्पनी, आफ्नो परिवार र समाजमा ठूलो योगदान पुऱ्‍याउन सक्छन्‌ भन्‍ने धारणा तिनीहरू राख्छन्‌। तिनीहरूलाई यस्तो पनि लाग्छ: धेरै शिक्षा हासिल गरेको छ भने राम्रो तलब आउने जागिर पाउन सकिन्छ अनि प्रशस्त पैसा छ भने मानिस खुसी हुन्छ।

थुप्रैले कस्तो छनौट गर्छन्‌?

चीनमा बस्ने झाङ चेनले के भने, विचार गर्नुहोस्‌। तिनी यसो भन्छन्‌: “विश्‍वविद्यालयको डिग्री हासिल गऱ्‍यो भने गरिबीमा बाँच्नु पर्दैन अनि धेरै तलब आउने जागिर छ भने जीवन सुखी र सन्तोषजनक हुन्छ जस्तो मलाई लाग्थ्यो।”

भविष्य उज्ज्वल बनाउन धेरै जना विदेश गएर नाम चलेका विश्‍वविद्यालयहरूमा पढ्‌न चाहन्छन्‌। कोभिड-१९ महामारी सुरु हुनुअघिसम्म पढाइको लागि विदेश जानु सामान्य थियो। आर्थिक सहयोग तथा विकास सङ्‌गठनले २०१२ मा तयार पारेको रिपोर्ट यसो भन्छ: “विदेशमा पढ्‌न जाने विद्यार्थीहरूमध्ये ५२ प्रतिशत एसियाका थिए।”

छोराछोरीलाई विदेशमा पढ्‌न पठाउन आमाबुबाले निकै त्यागहरू गर्छन्‌। ताइवानका किक्सियङ्‌ भन्छन्‌: “मेरा आमाबुबा सम्पन्‍न हुनुहुन्‍नथ्यो। तैपनि उहाँहरूले हामी चारै जना छोराछोरीलाई अमेरिकामा पढ्‌न पठाउनुभयो।” यो परिवारजस्तै अरू थुप्रैले निकै ऋण काढेर भए पनि छोराछोरीलाई विदेशमा पढ्‌न पठाउँछन्‌।

नतिजा कस्तो भएको छ?

तीमध्ये एक युवती राती अबेरसम्म काम गर्दै छिन्‌ र तिनी असाध्यै थकित र तनावमा छिन्‌।

उच्च शिक्षा र धनसम्पत्ति हासिल गरेका थुप्रै व्यक्‍ति निराश भएका छन्‌

हुनत उच्च शिक्षा हासिल गर्दा जीवन केही हदसम्म राम्रो हुन्छ। तर धेरैले अक्सर आफूले सोचेजस्तो नतिजा हासिल गर्न सकेका छैनन्‌। उदाहरणको लागि, निकै ऋण काढेर वर्षौँसम्म विश्‍वविद्यालयमा पढेपछि पनि धेरैले आफूले चाहेजस्तो जागिर भेट्टाएका छैनन्‌। सिङ्‌गापुरको एउटा अखबार बिजनेस टाइम्स-मा रेचेल मुइले तयार पारेको रिपोर्ट यसो भन्छ: “विश्‍वविद्यालयबाट स्नातक भएकाहरू बेरोजगार हुने सङ्‌ख्या बढ्‌दो छ।” ताइवानमा बस्ने ज्यान्जी जसले थुप्रै डिग्री हासिल गरेका छन्‌, तिनी भन्छन्‌: “धेरैलाई आफूले पढेको विषयमा जागिर पाउन गाह्रो भएको छ। त्यसैले तिनीहरू जे भेट्यो, त्यही काम गर्न बाध्य छन्‌।”

आफूले पढेको विषयमा जागिर पाइहाले पनि धेरैले आफ्नो जीवन सोचेजस्तो नभएको महसुस गर्न सक्छन्‌। बेलायतमा पढेर आफ्नै देश थाइल्याण्ड फर्केका निरानले आफूले पढेकै विषयमा जागिर पाए। तिनी भन्छन्‌: “उच्च शिक्षा हासिल गरेपछि मैले राम्रो तलब आउने जागिर पाएँ। तर त्यो काममा म असाध्यै खटिनुपर्थ्यो र धेरै समय दिनुपर्थ्यो। पछि कम्पनीले थुप्रैलाई जागिरबाट निकाल्यो र त्यसमा म पनि परेँ। जतिसुकै राम्रो जागिर पाए पनि त्यसले उज्ज्वल भविष्यको ग्यारेन्टी दिँदैन भनेर मैले बुझेँ।”

सुखसयलमा बाँचिरहेको जस्तो देखिने मानिसहरूले पनि पारिवारिक समस्या वा स्वास्थ्य समस्या भोग्छन्‌ र तिनीहरू अझै पनि पैसाकै चिन्ता गर्छन्‌। जापानका कात्सुतोशी भन्छन्‌: “मसित प्रशस्तै धनसम्पत्ति थियो। तैपनि खुसी थिइनँ। किनभने काममा निकै प्रतिस्पर्धा थियो। सहकर्मीहरू मेरो डाह गर्थे र मसित नराम्रो व्यवहार गर्थे।” भियतनामकी लाम यसो भन्छिन्‌: “मानिसहरूलाई धेरै तलब आउने जागिर छ भने पैसाको चिन्ता हुँदैन जस्तो लाग्छ। तर वास्तवमा भन्‍ने हो भने तिनीहरू झन्‌ धेरै चिन्तामा डुबेको, स्वास्थ्य समस्याहरू भोगेको अनि डिप्रेसनको सिकार भएको देखेकी छु।”

शिक्षा र पैसा भएर मात्र किन पुग्दैन?

आफू र आफ्नो परिवारको लालनपालन गर्न शिक्षा र पैसा चाहिन्छ। तर हामीसित यी कुराहरू छ भन्दैमा हाम्रो भविष्य उज्ज्वल हुँदैन। यस विषयमा एउटा पवित्र ग्रन्थ के भन्छ, विचार गरौँ।

उच्च शिक्षा हासिल गर्दैमा जीवन सफल हुन्छ भन्‍ने छैन।

“वेग कुदाइले सधैँ दौड जितिँदैन, . . . सीप हुँदैमा सधैँ धनसम्पत्ति हात लाग्दैन अनि प्रशस्त ज्ञान हुँदैमा सधैँ सफल भइँदैन। किनभने कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्‌न सक्छ, जसलाई टारेर टार्न सकिँदैन।”—उपदेशक ९:११.

कसैले उच्च शिक्षा हासिल गरेका छन्‌ भने पनि आफ्नो नियन्त्रणमा नभएका कुराहरूले गर्दा तिनको जीवन सफल नहुन सक्छ। जस्तै: तिनको देशमा राजनैतिक वा आर्थिक अस्थिरता छ अनि मानिसहरूले तिनीप्रति पूर्वाग्रह राख्छन्‌ भने तिनी सफल नहुन सक्छन्‌।

धनसम्पत्ति सधैँभरि रहन्छ नै भन्‍ने छैन।

“धन कमाउन बेसरी घोटिने नगर, त्यसो गर्न छोड र सुझबुझ देखाऊ। तिमीले नजर लगाउन नपाउँदै त्यो धनसम्पत्ति हराइहाल्छ। किनकि त्यसमा पखेटा लाग्छ र चील आकाशतिर उडेझैँ त्यो उडेर गइहाल्छ।”—हितोपदेश २३:४, ५.

पैसाले दिने सुरक्षा क्षणिक हुन्छ। आर्थिक उथलपुथल हुँदा जिन्दगीभर मेहनत गरेर कमाएको पैसा क्षणभरमै गुम्न सक्छ। भूकम्प, डढेलो र आँधीबेहरीजस्ता प्राकृतिक प्रकोपले मानिसलाई घरबारविहीन र कङ्‌गाल बनाइदिन सक्छ।

पैसाले अक्सर समस्याहरू निम्त्याउँछ।

“धनी मानिसको प्रशस्त धनसम्पत्तिले गर्दा उसलाई निद्रै लाग्दैन।”—उपदेशक ५:१२.

हङकङमा बस्ने फ्य्राङकलिनले यो भनाइको सत्यता आफैले अनुभव गरे। तिनले उच्च शिक्षा हासिल गरेका थिए र तिनको राम्रो तलब आउने जागिर थियो। पछि तिनको प्रमोसन भएर म्यानेजरको पदमा पुगे। तिनले यसो भने: “कामको तनावले गर्दा मेरो स्वास्थ्य बिग्रँदै गयो। चिन्ताले गर्दा म रातभरि सुत्नै सक्दिनथेँ।” पछि तिनी कामै गर्न नसक्ने अवस्थामा पुगे। तिनले भने: “म यी सब किन गर्दै छु अनि जीवनको उद्देश्‍य के हो भन्‍ने प्रश्‍न मेरो मनमा झनै खेल्न थाल्यो।”

“धन कमाउन बेसरी घोटिने नगर।”—हितोपदेश २३:४

फ्य्राङकलिनजस्तै अरू धेरै जना उच्च शिक्षा हासिल गर्नु र धनसम्पत्ति कमाउनुभन्दा अझ महत्त्वपूर्ण कुराहरू छन्‌ भन्‍ने निष्कर्षमा पुगेका छन्‌। कोही-कोही धनसम्पत्तिको पछि लाग्नुभन्दा असल मानिस बन्‍न कोसिस गर्दा र अरूको लागि राम्रा कामहरू गरिदिँदा जीवन सफल हुन्छ भन्ठान्छन्‌। तर के यसो गर्दैमा हाम्रो भविष्य उज्ज्वल हुन्छ? अर्को लेखले यस प्रश्‍नको जवाफ दिनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने