प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 जनवरी पृ. १४-१९
  • अरू भेडाको ठूलो भीडले परमेश्‍वर र ख्रिष्टको प्रशंसा गर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरू भेडाको ठूलो भीडले परमेश्‍वर र ख्रिष्टको प्रशंसा गर्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ समझले हजारौँको जीवनमा परिवर्तन ल्यायो
  • एउटा विशेष आशा
  • स्मरणार्थमा परमेश्‍वर र ख्रिष्टको मनैदेखि प्रशंसा गर्नुहोस्‌
  • यहोवाले दिनुभएको आशाको लागि उहाँलाई धन्यवाद चढाउनुहोस्‌
  • हामी स्मरणार्थ उत्सवमा किन उपस्थित हुन्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • प्रभुको साँझको भोजले तपाईंको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • हामी किन प्रभुको साँझको भोज मनाउँछौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • एउटा अत्यन्त ठूलो भीड
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 जनवरी पृ. १४-१९

अध्ययन लेख ३

अरू भेडाको ठूलो भीडले परमेश्‍वर र ख्रिष्टको प्रशंसा गर्छ

“सिंहासनमा बस्नुहुने हाम्रा परमेश्‍वरबाट अनि पाठोबाट हामीले उद्धार पाउँछौँ।”—प्रका. ७:१०.

गीत १४ नयाँ राजाको जय!

परिचयa

१. सन्‌ १९३५ को अधिवेशनमा सुनेको एउटा भाषणले एक जना जवान भाइमा कस्तो प्रभाव पाऱ्‍यो?

सन्‌ १९२६ मा बप्तिस्मा गर्दा एक जना भाइ १८ वर्षका थिए। तिनका आमाबुबा बाइबल विद्यार्थी थिए, जसलाई अहिले यहोवाका साक्षीहरू भनिन्छ। तिनीहरूका तीन जना छोरा र दुई जना छोरी थिए। तिनीहरूले आफ्ना छोराछोरीलाई यहोवा परमेश्‍वरको सेवा गर्न र येसु ख्रिष्टको अनुकरण गर्न सिकाएका थिए। त्यतिबेलाका अरू बाइबल विद्यार्थीले जस्तै यी वफादार जवान भाइले पनि प्रत्येक वर्ष मनाइने प्रभुको साँझको भोजमा रोटी र दाखमद्य खान्थे। तर “ठूलो भीड” विषयको एउटा ऐतिहासिक भाषणले गर्दा तिनको भविष्यको आशा परिवर्तन भयो। त्यो भाषण १९३५ मा अमेरिकाको वासिङ्‌टन, डि. सि.-मा आयोजना गरिएको अधिवेशनमा भाइ जे. एफ. रदरफोर्डले दिनुभएको थियो। त्यस अधिवेशनमा कुन कुरा प्रकट गरिएको थियो?

२. भाइ रदरफोर्डको भाषणमा कस्तो चाखलाग्दो सत्य प्रकट गरिएको थियो?

२ त्यस भाषणमा भाइ रदरफोर्डले प्रकाश ७:९ मा उल्लेख गरिएको “ठूलो भीड” को हो भनेर बताउनुभयो। त्यसअघि यस समूहले स्वर्ग जाने दोस्रो दर्जाका मानिसहरूलाई बुझाउँछ भन्‍ने सोचाइ थियो, जसको विश्‍वास अभिषिक्‍त जनहरूको भन्दा कम थियो। भाइ रदरफोर्डले धर्मशास्त्रबाटै ठूलो भीड स्वर्ग जान रोजिएको होइन बरु तिनीहरू ख्रिष्टका अरू भेडाb हुन्‌, जसले “महासङ्‌कष्ट” जिउँदै पार गर्नेछन्‌ र पृथ्वीमा सधैँभरि बाँच्नेछन्‌ भनेर बुझाउनुभयो। (प्रका. ७:१४) येसुले यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “मेरा अरू भेडा छन्‌, जो यस गोठका होइनन्‌; तिनीहरूलाई पनि मैले ल्याउनै पर्छ अनि तिनीहरूले मेरो स्वर सुन्‍नेछन्‌ र तिनीहरू सबै एउटै बगालको अनि एकै जना गोठालोका हुनेछन्‌।” (युह. १०:१६) येसुले बताउनुभएको अरू भेडाले पार्थिव प्रमोदवनमा सधैँभरि बाँच्ने आशा पाएका यहोवाका वफादार साक्षीहरूलाई बुझाउँछ। (मत्ति २५:३१-३३, ४६) यो आध्यात्मिक ज्योतिले गर्दा १८ वर्षका यी भाइलगायत अरू थुप्रै यहोवाका जनहरूको जीवनमा कस्तो परिवर्तन आयो, अब हेरौँ।—भज. ९७:११; हितो. ४:१८.

नयाँ समझले हजारौँको जीवनमा परिवर्तन ल्यायो

३-४. सन्‌ १९३५ को अधिवेशनमा हजारौँले आफ्नो आशाबारे के बुझे र किन?

३ भाइ रदरफोर्डले श्रोतालाई यस्तो आग्रह गर्नुभयो: “पृथ्वीमा सधैँभरि बाँच्न चाहनेहरू कृपया उभिनुहोस्‌!” यो साँच्चै रोमाञ्चकारी क्षण थियो। त्यही अधिवेशनमा उपस्थित भएका एक जना व्यक्‍तिले बताएअनुसार त्यहाँ भएका करिब २० हजार मानिसमध्ये आधाभन्दा धेरै उभिए। त्यसपछि भाइ रदरफोर्डले यसो भन्‍नुभयो: “हेर्नुहोस्‌! ठूलो भीड!” त्यसपछि त्यहाँ हर्षोल्लासको आवाज गुन्जियो। उभिएकाहरूले यहोवाले आफूलाई स्वर्गीय जीवनको लागि रोज्नुभएको होइन रहेछ भनेर बुझे। आफूलाई पवित्र शक्‍तिद्वारा अभिषेक गरिएको छैन भनेर तिनीहरूले थाह पाए। अधिवेशनको अर्को दिन ८४० जनाले बप्तिस्मा गरे, जसमध्ये धेरै जना अरू भेडाका थिए।

४ त्यो भाषण सुनेपछि अगाडि उल्लेख गरिएका जवान भाइ र अरू हजारौँले प्रभुको साँझको भोजमा रोटी र दाखमद्य खान छोडे। तिनीहरूमध्ये धेरै जनाले एक जना नम्र भाइले जस्तै महसुस गरे, जसले यसो भने: “मैले १९३५ पछि स्मरणार्थका प्रतीकहरू खाइनँ। यहोवाले आफ्नो पवित्र शक्‍तिद्वारा ममा स्वर्गीय आशा जगाउनुभएको छैन रहेछ भनेर मैले बुझेँ। बरु मैले पृथ्वीमै सधैँभरि बाँच्ने र यसलाई प्रमोदवन बनाउने काममा भाग लिने आशा पाएको रहेछु।” (रोमी ८:१६, १७; २ कोरि. १:२१, २२) त्यसदेखि यता ठूलो भीडका सदस्यहरूको सङ्‌ख्या बढ्‌दै गइरहेको छ र तिनीहरूले पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरूसित काँधमा काँध मिलाएर सेवा गरिरहेका छन्‌।

५. स्मरणार्थका प्रतीकहरू खान छोडेकाहरूलाई यहोवा कसरी हेर्नुहुन्छ?

५ सन्‌ १९३५ पछि स्मरणार्थका प्रतीकहरू खान छोडेकाहरूलाई यहोवा कसरी हेर्नुहुन्छ? बप्तिस्मा गरिसकेका कुनै साक्षीले प्रभुको साँझको भोजमा निष्कपट मनले रोटी र दाखमद्य खाँदै आएका थिए तर पछि तिनले आफू पवित्र शक्‍तिद्वारा अभिषेक भएको छैन भनेर थाह पाए भने नि? (१ कोरि. ११:२८) आफ्नो आशाबारे गलतफहमी भएकोले कसै-कसैले स्मरणार्थका प्रतीकहरू खाएका छन्‌। तर तिनीहरूले इमानदार भई आफ्नो गल्ती स्विकारेर प्रतीकहरू खान छोडे र यहोवाको सेवा गरिरहे भने उहाँ पक्कै तिनीहरूलाई अरू भेडाको रूपमा स्विकार्नुहुनेछ। तिनीहरूले रोटी र दाखमद्य नखाए पनि स्मरणार्थमा उपस्थित हुन्छन्‌ किनकि यहोवा र येसुले तिनीहरूको निम्ति जे गर्नुभयो, त्यसको लागि तिनीहरू मनैदेखि कृतज्ञ छन्‌।

एउटा विशेष आशा

६. येसुले स्वर्गदूतहरूलाई कस्तो आज्ञा दिनुभएको छ?

६ महासङ्‌कष्ट एकदमै नजिक भएकोले प्रकाश अध्याय ७ ले अभिषिक्‍त ख्रिष्टियनहरू र अरू भेडाको ठूलो भीडबारे अझ के भन्छ, त्यसबारे फेरि विचार गर्नु प्रोत्साहनदायी हुनेछ। येसु स्वर्गदूतहरूलाई विनाशको चार बतास थामिराख्न आज्ञा दिनुहुन्छ। सबै अभिषिक्‍त ख्रिष्टियनलाई छाप नलगाइएसम्म अर्थात्‌ यहोवाले तिनीहरूलाई अन्तिम अनुमोदन नदिनुभएसम्म स्वर्गदूतहरूले ती बतासहरूलाई थामि नै राख्नुपर्छ। (प्रका. ७:१-४) आफ्नो वफादारीको इनामस्वरूप ख्रिष्टका यी भाइहरूले स्वर्गमा राजा र पुजारीको रूपमा सेवा गर्नेछन्‌। (प्रका. २०:६) स्वर्गमा रहेको परमेश्‍वरको परिवार १ लाख ४४ हजार अभिषिक्‍त जनले स्वर्गीय इनाम पाएको हेर्न उत्सुक छ।

सेता लुगा लगाएको र हातमा खजुरका हाँगाहरू बोकेको ठूलो भीड परमेश्‍वरको महिमित सिंहासन र पाठोको अगाडि उभिरहेको छ (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. प्रकाश ७:९, १० अनुसार युहन्‍नाले दर्शनमा कसलाई देख्छन्‌ र तिनीहरूले के गरिरहेका छन्‌? (आवरण चित्र हेर्नुहोस्‌)

७ यी १ लाख ४४ हजार राजा र पुजारीबारे बताएपछि युहन्‍नाले अर्को एउटा रोचक दृश्‍य देख्छन्‌। एउटा “ठूलो भीड” आरमागेडोन पार गरेर आएको छ। पहिलो समूहको तुलनामा यो दोस्रो समूहमा मानिसहरू धेरै छन्‌ र तिनीहरूको सङ्‌ख्या गन्‍न नसकिने छ। (प्रकाश ७:९, १० पढ्‌नुहोस्‌) तिनीहरूले “सेता लुगा” लगाएका छन्‌। यसको मतलब तिनीहरूले आफूलाई सैतानको संसारबाट बेदाग राखेका छन्‌ अनि परमेश्‍वर र ख्रिष्टप्रति वफादार रहेका छन्‌। (याकु. १:२७) तिनीहरू यहोवा र उहाँको पाठो येसुले गर्दा उद्धार पाएका छौँ भन्दै चर्को स्वरमा कराउँछन्‌। साथै तिनीहरूले हातमा खजुरका हाँगाहरू बोकेका छन्‌। यसबाट तिनीहरूले येसुलाई परमेश्‍वरले नियुक्‍त गर्नुभएको राजाको रूपमा खुसीसाथ स्विकारेको देखिन्छ।—युहन्‍ना १२:१२, १३ तुलना गर्नुहोस्‌।

८. प्रकाश ७:११, १२ ले यहोवाको स्वर्गीय परिवारबारे के बताउँछ?

८ प्रकाश ७:११, १२ पढ्‌नुहोस्‌। ठूलो भीडलाई देख्दा स्वर्गमा भएकाहरूले के गरे? ठूलो भीडका सदस्यहरूले परमेश्‍वरको प्रशंसा गर्दा यहोवाको स्वर्गीय परिवारले रमाहट गरेको युहन्‍नाले देख्छन्‌। ठूलो भीडले जिउँदै महासङ्‌कष्ट पार गर्दा यस दर्शनको पूर्ति हुनेछ र यो देख्दा यहोवाको स्वर्गीय परिवार हर्षित हुनेछन्‌।

९. प्रकाश ७:१३-१५ अनुसार ठूलो भीडकाहरूले अहिले के गरिरहेका छन्‌?

९ प्रकाश ७:१३-१५ पढ्‌नुहोस्‌। ठूलो भीडले “आ-आफ्नो लुगा पाठोको रगतमा धोएर सेता बनाएका छन्‌” भनी युहन्‍ना लेख्छन्‌। यसको मतलब तिनीहरूको अन्तस्करण सफा छ र तिनीहरू यहोवासामु धर्मी ठहरिएका छन्‌। (यसै. १:१८) तिनीहरू बप्तिस्मा गरेका समर्पित ख्रिष्टियन हुन्‌, जसले येसुको बलिदानमा बलियो विश्‍वास राख्छन्‌ र यहोवासित नजिकको सम्बन्ध गाँसेका छन्‌। (युह. ३:३६; १ पत्रु. ३:२१) त्यसैले तिनीहरू परमेश्‍वरको सिंहासनको अगाडि उभिन योग्य भएका छन्‌; तिनीहरू उहाँको आध्यात्मिक मन्दिरको पार्थिव चोकमा “दिनरात उहाँलाई पवित्र सेवा” चढाउँछन्‌। तिनीहरूले अहिले पनि परमेश्‍वरको राज्यलाई प्रथम स्थानमा राख्दै प्रचार गर्ने र चेला बनाउने काममा धेरै हदसम्म सघाइरहेका छन्‌।—मत्ति ६:३३; २४:१४; २८:१९, २०.

जिउँदै महासङ्‌कष्ट पार गरेर आएको आनन्दित ठूलो भीड (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. ठूलो भीड कुन कुरामा ढुक्क हुन सक्छन्‌ र तिनीहरूले कुन प्रतिज्ञा पूरा भएको देख्नेछन्‌?

१० जिउँदै महासङ्‌कष्ट पार गर्ने ठूलो भीड “सिंहासनमा बस्नुहुनेले तिनीहरूलाई सुरक्षित राख्नुहुनेछ” भन्‍ने कुरामा ढुक्क हुन सक्छन्‌। अरू भेडाले लामो समयदेखि पर्खँदै आएको यो प्रतिज्ञा पूरा भएको देख्नेछन्‌: “[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रका. २१:३, ४.

११-१२. (क) प्रकाश ७:१६, १७ अनुसार ठूलो भीडले कस्ता आशिष्‌हरू पाउनेछन्‌? (ख) अरू भेडाले स्मरणार्थमा उपस्थित भएर के गर्न सक्छन्‌ र यसो गर्न तिनीहरूलाई केले उत्प्रेरित गर्छ?

११ प्रकाश ७:१६, १७ पढ्‌नुहोस्‌। अहिले यहोवाका केही सेवकहरू आर्थिक कठिनाइले गर्दा वा देशभित्र मच्चिरहेको कलह वा युद्धले गर्दा भोकभोकै बस्नुपर्ने अवस्था छ। अरू केही भने विश्‍वासको खातिर जेलमा परेका छन्‌। तर यस दुष्ट युगको विनाशबाट जोगिएपछि शारीरिक र आध्यात्मिक भोजनको कुनै कमी हुनेछैन भनेर थाह पाउँदा ठूलो भीडकाहरू असाध्यै खुसी छन्‌। सैतानको संसारमाथि विनाशको बतास छोडिँदा यहोवाले राष्ट्रहरूमाथि पोखाउनुहुने क्रोधको “ताप”-बाट ठूलो भीडलाई जोगाइनेछ। महासङ्‌कष्ट अन्त भएपछि येसुले आरमागेडोन पार गरेर आएका यी मानिसहरूलाई “[अनन्त] जीवन दिने पानी”-तर्फ डोऱ्‍याउनुहुनेछ। सोच्नुहोस्‌ त: ठूलो भीडले कत्ति विशेष आशा पाएको छ। अहिलेसम्म बाँचेका अरबौँ मानिसमध्ये हुन सक्छ तिनीहरू कहिल्यै मर्नेछैनन्‌।—युह. ११:२६.

१२ अरू भेडा आफूले पाएको अद्‌भुत आशाको लागि यहोवा र येसुप्रति धन्यवादी छन्‌। हुनत यहोवाले तिनीहरूलाई स्वर्गीय जीवनको लागि रोज्नुभएको छैन तर उहाँ तिनीहरूलाई अभिषिक्‍त जनहरूलाई जत्तिकै माया र मोल गर्नुहुन्छ। दुवै समूहले परमेश्‍वर र ख्रिष्टको प्रशंसा गर्न सक्छन्‌। तिनीहरूले यसो गर्न सक्ने एउटा तरिका प्रभुको साँझको भोजमा उपस्थित भएर हो।

स्मरणार्थमा परमेश्‍वर र ख्रिष्टको मनैदेखि प्रशंसा गर्नुहोस्‌

स्मरणार्थमा एक भाइ अर्को भाइलाई दाखमद्य पास गर्दै छन्‌।

स्मरणार्थमा पास गरिने रोटी र दाखमद्यले हामीले जीवन पाउन सकौँ भनेर येसुले आफ्नो जीवन बलिदान दिनुभएको कुराको सम्झना गराउँछ (अनुच्छेद १३-१५ हेर्नुहोस्‌)

१३-१४. ख्रिष्टको मृत्युको स्मरणार्थमा बाँकी रहेका अभिषिक्‍त जनहरू र अरू भेडा दुवै किन उपस्थित हुनुपर्छ?

१३ हालैका वर्षहरूमा स्मरणार्थमा उपस्थित हुने प्रत्येक १,००० जनामा रोटी र दाखमद्य खानेहरू कहिलेकाहीँ १ जना मात्र हुन्छ। धेरैजसो मण्डलीमा त स्मरणार्थका प्रतीकहरू खाने एक जना पनि हुँदैनन्‌। स्मरणार्थमा उपस्थित हुने अधिकांश मानिसहरूको पृथ्वीमै बस्ने आशा छ। त्यसोभए तिनीहरू किन प्रभुको साँझको भोजमा उपस्थित हुन्छन्‌? जस्तै: विवाह समारोहबारे विचार गरौँ। कुनै मानिस आफ्नो साथीको विवाहमा किन उपस्थित हुन्छन्‌? विवाह गर्न लागेको जोडीलाई माया र समर्थन गरेको देखाउन। त्यसैगरि अरू भेडा पनि ख्रिष्ट र अभिषिक्‍त जनहरूलाई माया र समर्थन गरेको देखाउन स्मरणार्थमा उपस्थित हुन्छन्‌। येसुले चढाउनुभएको बलिदानप्रति कृतज्ञ भएको देखाउन पनि अरू भेडा स्मरणार्थमा उपस्थित हुन्छन्‌, जुन बलिदानले गर्दा तिनीहरू पृथ्वीमा सधैँभरि बाँच्न सम्भव भएको छ।

१४ अरू भेडा स्मरणार्थमा उपस्थित हुनुको अर्को महत्त्वपूर्ण कारण भनेको तिनीहरू येसुको आज्ञा पालन गर्न चाहन्छन्‌। येसुले आफ्ना वफादार प्रेषितहरूसित त्यो विशेष भोज स्थापना गर्नुहुँदा उहाँले तिनीहरूलाई यसो भन्‍नुभएको थियो: “मेरो सम्झनामा यो गर्ने गर।” (१ कोरि. ११:२३-२६) त्यसैले पृथ्वीमा अभिषिक्‍त जनहरू बाँकी छउन्जेल तिनीहरूले प्रभुको साँझको भोज मनाइरहनेछन्‌। अनि अरू भेडाले सबैलाई तिनीहरूसितै स्मरणार्थमा उपस्थित हुन निम्तो दिन्छन्‌।

१५. स्मरणार्थमा हामी प्रत्येकले कसरी परमेश्‍वर र ख्रिष्टको प्रशंसा गर्न सक्छौँ?

१५ स्मरणार्थमा हामीले गीत र प्रार्थनाद्वारा परमेश्‍वर र ख्रिष्टको प्रशंसा गर्ने मौका पाउँछौँ। यस वर्ष दिइने भाषणको विषय छ: “परमेश्‍वर र ख्रिष्टले तपाईँको लागि गर्नुभएको कुराप्रति कृतज्ञ हुनुहोस्‌!” यस भाषणले यहोवा र येसुप्रतिको तपाईँको कृतज्ञता अझ बढाउनेछ। रोटी र दाखमद्य पास गर्दा त्यहाँ उपस्थित भएकाहरूले ती प्रतीकहरूले येसुको शरीर र रगतलाई जनाउँछ भनेर सम्झनेछन्‌। हामीले जीवन पाउन सकौँ भनेर यहोवाले आफ्नो छोरालाई हाम्रो निम्ति बलिदान दिन पठाउनुभयो भनेर पनि हामी सम्झनेछौँ। (मत्ति २०:२८) स्वर्गमा बस्नुहुने हाम्रा बुबा र उहाँको छोरालाई प्रेम गर्ने सबै जना स्मरणार्थमा उपस्थित हुनेछन्‌।

यहोवाले दिनुभएको आशाको लागि उहाँलाई धन्यवाद चढाउनुहोस्‌

१६. अभिषिक्‍त जनहरू र अरू भेडा कुन-कुन तरिकामा उस्तै छन्‌?

१६ कुनै-कुनै तरिकामा अभिषिक्‍त जनहरू र अरू भेडा उस्तै छन्‌। यहोवा दुवै समूहलाई उत्तिकै माया गर्नुहुन्छ। दुवै समूह यहोवाको नजरमा उत्तिकै बहुमूल्य छन्‌। सोच्नुहोस्‌ त, यहोवाले अभिषिक्‍त जनहरू र अरू भेडालाई किन्‍न एउटै मोल तिर्नुभयो अर्थात्‌ उहाँले दुवै समूहको लागि आफ्नो प्यारो छोराको जीवन दिनुभयो। यी दुई समूहबीचको एउटा भिन्‍नता भनेको तिनीहरूको आशा फरक छ। दुवै समूह परमेश्‍वर र ख्रिष्टप्रति वफादार रहिरहनुपर्छ। (भज. ३१:२३) अनि यो कुरा पनि नबिर्सनुहोस्‌, परमेश्‍वरको पवित्र शक्‍तिले हामी सबैमा उत्तिकै काम गर्छ। यसको मतलब यहोवा प्रत्येकलाई तिनको आवश्‍यकताअनुसार पवित्र शक्‍ति दिनुहुन्छ।

१७. बाँकी रहेका अभिषिक्‍त जनहरू कुन दिनको प्रतीक्षामा छन्‌?

१७ अभिषिक्‍त ख्रिष्टियनहरूले जन्मँदै स्वर्गीय आशा पाएका हुँदैनन्‌। परमेश्‍वरले नै तिनीहरूको मनमा यस्तो आशा हालिदिनुहुन्छ। तिनीहरू आफ्नो आशाबारे सोच्छन्‌, त्यसबारे प्रार्थना गर्छन्‌ र स्वर्गीय इनाम पाउन उत्सुक हुन्छन्‌। स्वर्गमा आफूले कस्तो शरीर पाउँछु भनेर तिनीहरूलाई थाह छैन। (फिलि. ३:२०, २१; १ युह. ३:२) तैपनि तिनीहरू यहोवा, येसु, स्वर्गदूतहरू र अरू अभिषिक्‍त जनहरूलाई भेट्‌ने र स्वर्गीय राज्यमा उहाँहरूसँगै हुने दिनको तीव्र प्रतीक्षामा छन्‌।

१८. अरू भेडा कुन कुराको प्रतीक्षामा छन्‌?

१८ अरू भेडा पृथ्वीमा सधैँभरि जीवन बिताउने प्रतीक्षामा छन्‌ र यो मानिसमा स्वाभाविक रूपमै आउने चाहना हो। (उप. ३:११) तिनीहरू पूरै पृथ्वीलाई प्रमोदवन बनाउने काममा सघाउन उत्सुक छन्‌। तिनीहरू आफ्नै घर बनाउने, बगैँचा लगाउने र आफ्नो परिवारसितै मिलेर स्वस्थ जीवनको आनन्द उठाउने दिनको तीव्र प्रतीक्षा गर्छन्‌। (यसै. ६५:२१-२३) तिनीहरू डाँडाकाँडा, वनजङ्‌गल र समुद्रलगायत यहोवाको सम्पूर्ण सृष्टिलाई नजिकबाट नियाल्ने दिनलाई उत्सुकतासाथ पर्खिरहेका छन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यतिबेला यहोवासितको आफ्नो सम्बन्ध अझ बलियो र अझ घनिष्ठ हुँदै जानेछ भन्‍ने कुरा थाह पाउँदा तिनीहरू असाध्यै खुसी छन्‌।

१९. स्मरणार्थमा हामी प्रत्येकले कस्तो मौका पाउँछौँ र यो वर्ष स्मरणार्थ उत्सव कहिले मनाइनेछ?

१९ यहोवाले आफ्ना प्रत्येक समर्पित सेवकलाई भविष्यको लागि विशेष आशा दिनुभएको छ। (यर्मि. २९:११) हामीले कहिल्यै अन्त नहुने जीवन पाऔँ भनेर परमेश्‍वर र ख्रिष्टले ठूलो त्याग गर्नुभएको छ। ख्रिष्टको मृत्युको स्मरणार्थमा हामी प्रत्येकले यसको लागि उहाँहरूको प्रशंसा गर्ने ठूलो मौका पाउँछौँ। पक्कै पनि स्मरणार्थ उत्सव साँचो ख्रिष्टियनहरू एक ठाउँमा भेला हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण अवसर हो। यस वर्ष यो उत्सव शनिबार, मार्च २७ को दिन सूर्यास्तपछि मनाइनेछ। धेरै जना कुनै बाधाविघ्नविना यो महत्त्वपूर्ण उत्सवमा उपस्थित हुन सक्नेछन्‌। तर केही भने विरोधको बाबजुद यस उत्सवमा उपस्थित हुनेछन्‌। केहीले भने जेलभित्रै यो उत्सव मनाउनेछन्‌। संसारभर यो उत्सव मनाइँदा यहोवा, येसु, स्वर्गदूतहरू र स्वर्ग गइसकेका अभिषिक्‍त जनहरूले पनि स्वर्गबाट हेर्नुहुनेछ। यो उत्सव प्रत्येक मण्डली, समूह र व्यक्‍तिविशेषले राम्ररी मनाउन सकून्‌ भनेर हामी कामना गर्छौँ!

स्मरणार्थ उत्सव यो वर्षजस्तै सप्ताहन्तमा पऱ्‍यो भने जनभाषण र प्रहरीधरहरा-को सभा हुनेछैन। त्यसैले अर्को हप्ताको लागि अध्ययन लेखको तालिका राखिएको छैन

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • सन्‌ १९३५ मा “ठूलो भीड”-बारे कुन नयाँ समझ प्रकट गरियो?

  • महासङ्‌कष्टपछि ठूलो भीडले कस्ता कुराहरूको प्रतीक्षा गर्न सक्छन्‌?

  • स्मरणार्थमा हामी प्रत्येकले कसरी परमेश्‍वर र ख्रिष्टको प्रशंसा गर्न सक्छौँ?

गीत १५० छुटकारा पाउन यहोवालाई खोजौँ!

a मार्च २७, २०२१ यहोवाका साक्षीहरूको लागि विशेष दिन हो। यो साँझ हामी ख्रिष्टको मृत्युको स्मरणार्थ मनाउनेछौँ। यस समारोहमा उपस्थित हुने धेरैजसो मानिस येसुले “अरू भेडा” भन्‍नुभएको समूहका हुनेछन्‌। सन्‌ १९३५ मा त्यस समूहबारे कस्तो चाखलाग्दो सत्य प्रकट गरियो? अरू भेडाले महासङ्‌कष्टपछि हुने कस्ता रोमाञ्चक कुराहरूको प्रतीक्षा गर्न सक्छन्‌? अनि स्मरणार्थमा उपस्थित हुने अरू भेडाले कसरी परमेश्‍वर र ख्रिष्टको अनुकरण गर्न सक्छन्‌?

b थप व्याख्या: अरू भेडामा अन्तको दिनको दौडान जम्मा गरिएका मानिसहरू समावेश छन्‌। तिनीहरू ख्रिष्टको पछि लाग्छन्‌ र पृथ्वीमा सधैँभरि बाँच्ने आशा राख्छन्‌। ठूलो भीड अरू भेडाका सदस्यहरू हुन्‌, जो महासङ्‌कष्टको दौडान ख्रिष्टले मानिसजातिको न्याय गर्नुहुँदा जीवितै हुनेछन्‌ र जिउँदै महासङ्‌कष्ट पार गर्नेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने