जीवनी
मैले हरेक निर्णय गर्दा यहोवालाई पहिलो स्थानमा राखेँ
सन् १९८४ को एक बिहानी भेनेजुएलाको कराकसमा एउटा आवासीय क्षेत्रमा भएको मेरो आरामदायी घरबाट म कामतर्फ जाँदै थिएँ। बाटोमा जाँदै गर्दा म हालै प्रकाशित प्रहरीधरहरा-को एउटा लेखबारे सोचिरहेको थिएँ। त्यो लेख हाम्रा छिमेकीहरू हामीलाई कसरी हेर्छन् भन्नेबारे थियो। वरपरका घरहरूलाई हेर्दै मैले सोचेँ: ‘के मेरा छिमेकीहरू मलाई बैङ्कको एक जना सफल कर्मचारीको रूपमा मात्र हेर्छन्? अथवा परिवारको पालनपोषण गर्दै परमेश्वरको सेवा पनि गरिरहेको व्यक्तिको रूपमा हेर्छन्?’ मैले मनमनै यस प्रश्नको जवाफ दिएँ तर म आफ्नो जवाफसित सन्तुष्ट थिइनँ। त्यसैले मैले ठोस कदम चाल्ने निर्णय गरेँ।
मेरो जन्म मे १९, १९४० मा लेबनानको अमियुन सहरमा भएको थियो। केही समयपछि हाम्रो परिवार ट्रिपोली सहरमा सऱ्यो। म सुखी पारिवारिक वातावरणमा हुर्केँ। हामीले यहोवा परमेश्वरलाई चिनेका थियौँ र उहाँलाई प्रेम गर्थ्यौँ। तीन दिदी र दुई भाइमध्ये म कान्छो हुँ। मेरा आमाबुबाको लागि पैसा नै सबथोक थिएन। बरु हाम्रो परिवारको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको बाइबल अध्ययन, ख्रिष्टियन सभाहरू र परमेश्वरलाई चिन्न अरूलाई मदत गर्नु थियो।
हाम्रो मण्डलीमा थुप्रै अभिषिक्त ख्रिष्टियनहरू हुनुहुन्थ्यो। उहाँहरूमध्ये एक जना मिसेल अबुद हुनुहुन्थ्यो र उहाँले हाम्रो मण्डली पुस्तक अध्ययन सञ्चालन गर्नुहुन्थ्यो। उहाँले न्यु योर्कमा सत्य सिक्नुभयो र १९२१ मा लेबनानमा पनि प्रचारकार्य सुरु गर्नुभयो। विशेषगरि उहाँले गिलियडबाट स्नातक गर्नुभएका दुई दिदीहरू आन र गुएन बिभरलाई आदरपूर्ण व्यवहार र मदत गर्नुभएको म अझै सम्झन्छु। उहाँहरू पनि हाम्रो मिल्ने साथी हुनुभयो। वर्षौँपछि अमेरिकामा आनलाई भेट्न पाउँदा म निकै खुसी भएँ। केही समयपछि मैले गुएनलाई पनि भेटेँ। उहाँको विवाह विल्फ्रेड गुचसित भएको थियो र उहाँहरू इङ्गल्यान्डको लन्डनमा भएको शाखा कार्यालयमा सेवा गर्दै हुनुहुन्थ्यो।
लेबनानमा हाम्रो साक्षीकार्य
म सानो छँदा लेबनानमा थोरै साक्षीहरू मात्र थिए। तर हामीले बाइबलबाट सिकेका कुराहरू अरूलाई जोसका साथ बाँड्यौँ। केही धर्मगुरुहरूले हाम्रो विरोध गरे तापनि हामी पछि हटेनौँ। केही घटनाहरू मेरो दिमागमा अझ ताजै छ।
एक दिन म मेरी दिदी सानासँगै एउटा अपार्टमेन्टमा मानिसहरूलाई बाइबलको सन्देश सुनाउँदै थिएँ। हामीले कुरा गरिरहेको ठाउँमा एक जना पादरी आइपुगे। तिनलाई कसैले बोलाएको हुनुपर्छ। ती पादरीले मेरी दिदीलाई गाली गर्न थाले। तिनले आक्रोशित हुँदै दिदीलाई भऱ्याङबाट धकेलिदिए र दिदी घाइते हुनुभयो। कसैले प्रहरीलाई खबर गरिदिए र प्रहरीहरू आएर दिदीलाई मदत गर्न कसैलाई अह्राए। तिनीहरूले ती पादरीलाई चौकीमा लगे र तिनको साथमा एउटा बन्दुक भेटियो। प्रहरी प्रमुखले तिनलाई सोधे: “तिमी को हौ? धर्मगुरु कि गुन्डाहरूको नाइके?”
मलाई राम्ररी याद भएको अर्को घटनाचाहिँ हामी एउटा बस भाडामा लिएर एउटा विकट गाउँमा प्रचार गर्न जाँदाको हो। हाम्रो समय रमाइलो गरी बितिरहेको थियो। त्यति नै बेला एक जना स्थानीय पादरीले हाम्रो बारेमा सुने र भीड जम्मा गरेर हामीलाई आक्रमण गर्न आए। तिनीहरूले हामीलाई दुर्व्यवहार गरे र ढुङ्गाले समेत प्रहार गरे अनि मेरो बुबाको टाउकोमा चोट लाग्यो। उहाँको अनुहार रक्ताम्मे भएको म अझै पनि सम्झन्छु। मेरी आमाले बुबालाई बसमा लैजानुभयो र हामी पनि अत्तालिँदै उहाँहरूको पछिपछि गयौँ। तर आमाले बुबाको घाउ सफा गर्दै यसो भन्नुभएको म कहिल्यै बिर्सन्नँ: “यहोवा, कृपया तिनीहरूलाई क्षमा गरिदिनुहोस्। तिनीहरू के गर्दै छन्, त्यो तिनीहरूलाई थाह छैन।”
अर्को एकचोटि हामी आफन्तहरूलाई भेट्न गाउँ गएका थियौँ। हाम्रो हजुरबुबाको घरमा हामीले एक जना विशिष्ट पादरीलाई भेट्यौँ। मेरो आमाबुबा यहोवाका साक्षी हुन् भनेर तिनलाई थाह थियो। त्यतिबेला म छ वर्षको मात्र थिएँ तर ती पादरीले मलाई नै “तिमीले चाहिँ किन अहिलेसम्म बप्तिस्मा नगरेको?” भनेर सोधे। मैले म सानै छु अनि बप्तिस्मा गर्न मैले बाइबलबाट अझ धेरै कुरा सिक्नुपर्छ र विश्वास बलियो बनाउनुपर्छ भनेर जवाफ दिएँ। तर तिनलाई मेरो जवाफ मन परेन। त्यसैले तिनले मेरो हजुरबुबालाई ‘तपाईँको नातिले ठूलो मान्छेको आदर गर्न सिकेको रहेनछ’ भनेर बताए।
तर हामीले भोगेका नराम्रा अनुभवहरू थोरै मात्र छन्। लेबनानका प्रायजसो मानिसहरू मित्रैलो हुन्छन् र अतिथिसत्कार गर्न मन पराउँछन्। त्यसैले हामीले बाइबलबाट धेरै जनासित रमाइलो कुराकानी गर्न सक्यौँ र तिनीहरूमध्ये थुप्रैलाई बाइबल अध्ययन पनि गरायौँ।
हाम्रो परिवारले अर्कै देशमा सर्ने निर्णय गऱ्यो
म स्कुलमै छँदा भेनेजुएलाको एक जवान दाइ लेबनान आउनुभएको थियो। उहाँ हाम्रो मण्डलीको सभामा पनि आउनुभयो र मेरी दिदी वफासित डेटिङ गर्न थाल्नुभयो। छिट्टै उहाँहरूको विवाह भयो र उहाँहरू भेनेजुएला जानुभयो। पत्रहरू लेखेर दिदीले बुबालाई पूरै परिवार लिएर भेनेजुएलामा सर्न मनाउन खोज्नुभयो किनकि उहाँलाई हाम्रो धेरै याद आउँथ्यो। अन्ततः उहाँले हामीलाई भेनेजुएला बोलाइ छाड्नुभयो!
हामी १९५३ मा भेनेजुएला आइपुग्यौँ र कराकसमा राष्ट्रपति भवननजिकै बस्न थाल्यौँ। म त्यतिबेला सानै भएकोले राष्ट्रपतिको सवारी भएको हेर्न पाउँदा निकै रमाइलो लाग्थ्यो। तर त्यहाँको भाषा, रहनसहन, खानेकुरा र मौसम हाम्रो लागि सबै नयाँ भएकोले मेरो आमाबुबालाई सजिलो भएन। उहाँहरूलाई बिस्तारै बानी पर्दै थियो। त्यति नै बेला हाम्रो परिवारमा एउटा दुःखद घटना घट्यो।
बायाँबाट दायाँ: मेरो बुबा। मेरी आमा। सन् १९५३ मा म मेरो परिवारसँगै भेनेजुएला सर्दा
एउटा दुःखद घटना
मेरो बुबा अचानक बिरामी पर्न थाल्नुभयो। यो कुरा हामीलाई एकदमै नौलो लाग्यो किनभने उहाँ बलियो र स्वस्थ व्यक्ति हुनुहुन्थ्यो। उहाँ पहिला कहिल्यै बिरामी पर्नुभएको थिएन। उहाँलाई प्याङ्क्रियाटिक क्यान्सर भएको पत्ता लाग्यो र उहाँको शल्यक्रिया नै गर्नुपर्ने भयो। दुःखको कुरा, एक हप्तापछि उहाँको मृत्यु भयो।
हामी कत्ति दुःखी भएका थियौँ, त्यो शब्दमा व्यक्त गर्नै सक्दैनौँ। त्यतिबेला म १३ वर्षको मात्र थिएँ। बुबा बित्नुहोला भनेर हामीले सोचेकै थिएनौँ। त्यसैले हामी फेरि कहिल्यै खुसी हुन सक्दैनौँ जस्तो लाग्यो। केही समय त मेरी आमालाई आफ्नो श्रीमान्को वियोगको पीडा सहन निकै गाह्रो भयो। तर हामी जीवनमा अघि बढ्नुपर्थ्यो र यहोवाको मदतले हामीले यो सहन सक्यौँ। सोह्र वर्षको उमेरमा मैले कराकसमा आफ्नो स्कुलको पढाइ सिध्याएँ र परिवारको भौतिक आवश्यकता पूरा गर्न मैले पनि केही गर्नुपर्छ भनेर महसुस गर्न थालेँ।
मेरी दिदी साना र भिनाजु रुबेन जसले मेरो आध्यात्मिक प्रगतिमा निकै सघाउनुभयो
त्यही समयतिर मेरी दिदी सानाको विवाह रुबेन आराउहोसँग भयो। उहाँ गिलियड स्कुलबाट स्नातक गरेर भेनेजुएला फर्कनुभएको थियो। उहाँहरूले न्यु योर्क सर्ने निर्णय गर्नुभयो। मेरो परिवारले मलाई विश्वविद्यालयमा थप अध्ययन गर्न पठाउने निर्णय गऱ्यो। त्यसैले म न्यु योर्क गएँ अनि दिदी-भिनाजुसँग बसेर पढाइ सुरु गरेँ। उहाँहरूले मलाई आध्यात्मिक उन्नति गर्न निकै मदत गर्नुभयो। साथै हामीले सङ्गत गरिरहेको ब्रुक्लिन स्पेनिश मण्डलीमा थुप्रै परिपक्व दाइहरू हुनुहुन्थ्यो। मैले मिल्टन हेन्सेल र फ्रेडरिक फ्रान्ज दाइहरूलाई पनि राम्ररी चिन्ने मौका पाएँ। उहाँहरू दुवै जना ब्रुक्लिन बेथेलमा सेवा गर्नुहुन्थ्यो।
सन् १९५७ मा मेरो बप्तिस्मा
विश्वविद्यालयको पहिलो वर्ष सिद्धिनै लाग्दा मैले आफ्नो जीवनलाई कतातिर लगिरहेको छु भनेर सोच्न थालेँ। मैले प्रहरीधरहरा-का लेखहरूमा यहोवाको सेवामा अर्थपूर्ण लक्ष्यहरू राखेका ख्रिष्टियनहरूबारे पढेको थिएँ र यसबारे गहिरिएर सोचेको थिएँ। हाम्रो मण्डलीका अग्रगामीहरू र बेथेल सेवकहरू साँच्चै आनन्दित देखिन्थे। त्यसैले म पनि तिनीहरूजस्तै हुन चाहन्थेँ। तर मैले अझै बप्तिस्मा गरेको थिइनँ। मैले आफ्नो जीवन यहोवालाई समर्पण गर्नुपर्छ भनेर बुझेको थिएँ। त्यसैले मार्च ३०, १९५७ मा मैले बप्तिस्मा गरेँ।
महत्त्वपूर्ण निर्णयहरू
बप्तिस्मा गरेपछि मैले पूर्ण-समय सेवा गर्ने विषयमा सोच्न थालेँ। म साँच्चै पूर्ण-समय सेवा सुरु गर्न चाहन्थेँ तर यो कदम चाल्न सजिलो छैन भनेर मैले महसुस गरेँ। विश्वविद्यालयको पढाइ र अग्रगामी सेवा दुवैलाई सँगै अघि बढाउन पक्कै पनि सजिलो हुने थिएन। तर मैले आफ्नो पढाइ छोड्ने र भेनेजुएला फर्केर अग्रगामी सेवा सुरु गर्ने मन बनाइसकेको थिएँ। त्यसैले परिवारलाई मनाउने क्रममा म र मेरो परिवारबीच थुप्रै पत्रहरू आदानप्रदान भए।
म १९५७ को जूनमा कराकस फर्केँ तर मेरो परिवारको आर्थिक अवस्था राम्रो थिएन। परिवारको आवश्यकता पूरा गर्न मैले पनि काम गर्नुपर्ने देखिन्थ्यो। त्यति नै बेला मलाई बैङ्कमा जागिर खाने प्रस्ताव आयो। तर अग्रगामी सेवा गर्ने मेरो ठूलो इच्छा थियो र म यसैको लागि न्यु योर्कबाट फर्केको थिएँ। मैले दुवै काम सँगै गर्ने सङ्कल्प गरेँ। धेरै वर्षसम्म मैले बैङ्कमा पूर्ण-समय जागिर खाएँ र अग्रगामी सेवा पनि गरेँ। म त्यतिबेला अति नै व्यस्त थिएँ तर आनन्दित पनि त्यति नै थिएँ!
सिल्भियालाई भेटेर तिनीसित विवाह गरेपछि मेरो जीवनमा खुसीको बहार छायो। तिनी जर्मनीकी थिइन् र तिनी यहोवालाई धेरै माया गर्थिन्। तिनी आमाबुबासितै भेनेजुएला सरेकी थिइन्। पछि हाम्रो दुई छोराछोरी जन्मिए, छोरा मिसेल (माइक) र छोरी समिरा। मैले आमाको पनि ख्याल राख्नुपर्ने भयो। उहाँ हामीसितै बस्न आउनुभयो। पारिवारिक जिम्मेवारीले गर्दा मैले अग्रगामी सेवा छोड्नुपर्ने भयो तर मैले अग्रगामी मनोभाव भने कायमै राखेँ। हाम्रो अवस्थाले दिएसम्म छुट्टीको बेला सिल्भिया र मैले सहायक अग्रगामी सेवा गर्थ्यौँ।
अर्को महत्त्वपूर्ण निर्णय
यस लेखको सुरुमा मैले जुन अवस्था उल्लेख गरेको थिएँ, त्यतिबेला छोराछोरीहरू स्कुलमै पढ्दै थिए। म यो कुरा स्विकार्छु कि त्यतिबेला मेरो जीवन निकै आरामदायी थियो र बैङ्कका अरू कर्मचारीहरूले मलाई आदर गर्थे। तैपनि खासगरि म यहोवाको सेवकको रूपमा चिनिएको चाहन्थेँ। त्यस दिन मेरो मनमा उठेको प्रश्नले मलाई सताइरह्यो। त्यसपछि म र मेरी श्रीमती बसेर हाम्रो खर्चको हिसाब गऱ्यौँ। मैले आफ्नो जागिर छोडेँ भने बैङ्कबाट उपदानको रूपमा एकमुस्ट रकम पाउने थिएँ। हाम्रो कुनै ऋण थिएन। त्यसैले जीवन सरल बनाएको खण्डमा त्यो पैसा परिवारको आवश्यकता पूरा गर्न लामो समयसम्म पुग्ने देखिन्थ्यो।
यो निर्णय गर्न सजिलो थिएन। तैपनि मेरी प्यारी श्रीमती र आमाले यसमा मलाई पूरा साथ दिनुभयो। मैले फेरि पूर्ण-समय सेवा सुरु गर्न सक्छु भनेर सोच्दा मलाई निकै खुसी लागिरहेको थियो। मैले अग्रगामी सेवा सुरु गर्नै लागेको थिएँ। त्यति नै बेला हाम्रो जीवनमा हामीले सोच्दै नसोचेको अर्को एउटा कुरा भयो।
हामीले सोच्दै नसोचेको उपहार
हाम्रो कान्छो छोरा ग्याब्रिएल हामीले सोच्दै नसोचेको उपहार थियो
एकदिन हाम्रो डाक्टरमार्फत सिल्भिया गर्भवती भएको कुरा हामीले थाह पायौँ। यो हाम्रो लागि निकै खुसीको खबर थियो तर मैले अग्रगामी सुरु गर्ने आफ्नो निर्णयबारे पनि सोचेँ। के मैले अग्रगामी सेवा गर्न सक्ने थिएँ? हामी छिट्टै मानसिक र भावनात्मक रूपमा तयार भयौँ र परिवारको नयाँ सदस्यको पर्खाइमा बस्यौँ। तर हामीले निकै सोचविचार गरेर बनाएको हाम्रो योजना नि?
हामीले आफ्ना लक्ष्यहरूबारे विचार गऱ्यौँ र सुरुको योजनाअनुसारै गर्ने निर्णय गऱ्यौँ। अप्रिल १९८५ मा हाम्रो छोरा ग्याब्रिएलको जन्म भयो। मैले आफ्नो बैङ्कको जागिरबाट राजीनामा दिएँ र जून १९८५ देखि नियमित अग्रगामी सुरु गरेँ। पछि म शाखा समितिको सदस्य नियुक्त भएँ। तर हाम्रो शाखा कार्यालय कराकसमा थिएन। त्यसैले म हप्ताको दुई वा तीन चोटि आफ्नो घरबाटै बेथेल सेवा गर्न जान थालेँ। त्यहाँसम्मको दूरी लगभग ८० किलोमिटर (५० माइल) थियो।
हामी अर्को ठाउँमा सऱ्यौँ
शाखा कार्यालय ला भिक्टोरिया सहरमा अवस्थित थियो। त्यसैले हामीले मलाई बेथेल आवत्जावत् गर्न सजिलो होस् भनेर सपरिवार ला भिक्टोरियामा सर्ने निर्णय गऱ्यौँ। यसो गर्नु हामी सबैको लागि सजिलो थिएन। मेरो यस्तो निर्णयमा कुनै आनाकानी नगरी साथ दिएकोमा म मेरो परिवारलाई धन्यवाद दिन्छु र तिनीहरूप्रति आभारी छु। मेरी दिदी बाहा आमाको हेरविचार गर्न इच्छुक हुनुहुन्थ्यो। माइकको विवाह भइसकेको थियो तर समिरा र ग्याब्रिएल हामीसँगै थिए। त्यसैले ला भिक्टोरियामा सर्दा तिनीहरूले कराकसमा भएका साथीहरूलाई पनि छोडेर आउनुपर्थ्यो। साथै सुविधासम्पन्न राजधानी सहरमा बसेकी मेरी प्यारी सिल्भियाले पनि सानो सहरमा बस्न छाँटकाँट गर्नुपऱ्यो। अनि हामी सबैले सानो घरमा बस्ने बानी बसाल्नुपऱ्यो। कराकसबाट ला भिक्टोरियामा सर्न हामी सबैले थुप्रै त्याग गर्नुपऱ्यो।
हाम्रो परिस्थिति फेरि परिवर्तन भयो। ग्याब्रिएलको विवाह भयो र समिरा छुट्टै बस्न थालिन्। पछि २००७ मा म र सिल्भियालाई बेथेलमा बोलाइयो र आजसम्म पनि हामी बेथेलमै सेवा गर्दै छौँ। मेरो जेठो छोरा माइक एल्डरको रूपमा सेवा गर्दै छ र आफ्नी श्रीमती मोनिकासँगै अग्रगामी सेवा पनि गर्दै छ। ग्याब्रिएलचाहिँ इटालीमा आफ्नी श्रीमती आम्रासँगै एल्डरको रूपमा सेवा गर्दै छ। समिराचाहिँ अग्रगामी गर्नुको साथै स्वयम्सेवकको रूपमा घरबाटै बेथेलको काममा सघाइरहेकी छिन्।
बायाँबाट दायाँ: भेनेजुएला शाखामा मेरी श्रीमती सिल्भियासँगै। हाम्रो जेठो छोरा माइक र बुहारी मोनिका। हाम्री छोरी समिरा। हाम्रो छोरा ग्याब्रिएल र बुहारी आम्रा
मैले गरेका निर्णयहरूको लागि म खुसी छु
मैले मेरो जीवनमा ठूलठूला निर्णयहरू गर्नुपऱ्यो। तर त्यसमा मलाई कुनै पछुतो छैन। मैले गरेका निर्णयहरूको लागि म खुसी छु। यहोवाको सेवा गर्दा मैले पाएका जिम्मेवारीहरू र सुअवसरहरूको लागि म मनैदेखि कृतज्ञ छु। यहोवासित घनिष्ठ मित्रता कायम राख्नु कत्ति महत्त्वपूर्ण रहेछ भन्ने कुरा मैले वर्षौँको दौडान महसुस गरेँ। हामीले गर्नुपर्ने निर्णय सानो होस् या ठूलो, यहोवा परमेश्वरले हामीलाई शान्ति दिन सक्नुहुन्छ, “जुन मानिसको समझभन्दा बाहिरको छ।” (फिलि. ४:६, ७) सिल्भिया र म बेथेल सेवाको आनन्द उठाउँदै छौँ र हामीले गरेका निर्णयहरूमा यहोवाले आशिष् दिनुभएको हामीले महसुस गरेका छौँ किनभने हामीले हरेक निर्णय गर्दा यहोवालाई पहिलो स्थानमा राख्यौँ।