प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 मार्च पृ. २-७
  • के तपाईँ यहोवालाई जीवन समर्पण गर्न तयार हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ यहोवालाई जीवन समर्पण गर्न तयार हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समर्पण भनेको के हो?
  • तपाईँले किन यहोवालाई आफ्नो जीवन समर्पण गर्नुपर्छ?
  • के तपाईँ समर्पण र बप्तिस्मा गर्न तयार हुनुहुन्छ?
  • कोही-कोही किन पछि हट्‌छन्‌?
  • यहोवासित नजिक भइरहनुहोस्‌
  • बप्तिस्मापछि पनि ‘निरन्तर येसुको पछि लाग्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • तपाईँले किन समर्पण र बप्तिस्मा गर्नुपर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 मार्च पृ. २-७

अध्ययन लेख ९

गीत ७५ “म हाजिर छु। मलाई पठाउनुहोस्‌”

के तपाईँ यहोवालाई जीवन समर्पण गर्न तयार हुनुहुन्छ?

“यहोवाले मेरो लागि गर्नुभएका सबै उपकारको साटो म उहाँलाई के चढाऊँ?”​—भज. ११६:१२.

सिक्न सकिने कुरा

यस लेखले तपाईँलाई यहोवासित नजिकको सम्बन्ध विकास गर्न मदत गर्नेछ। यस्तो सम्बन्धले तपाईँको मनमा यहोवालाई आफ्नो जीवन समर्पण गर्ने र बप्तिस्मा गर्ने इच्छा जगाउन सक्छ।

१-२. कुनै व्यक्‍तिले बप्तिस्मा गर्नुअघि के गर्नुपर्छ?

विगत पाँच वर्षमा १० लाखभन्दा धेरैले बप्तिस्मा गरे। तिनीहरूमध्ये थुप्रैले प्रथम शताब्दीका चेला तिमोथिले जस्तै “शैशवकालदेखि नै” सत्य सिकेका थिए। (२ तिमो. ३:१४, १५) अरू कतिले भने वयस्क भएपछि वा कसै-कसैले उमेर ढल्किसकेपछि यहोवाबारे सिकेका थिए। केही वर्षअघि ९७ वर्षकी बज्यैले बप्तिस्मा गर्नुभयो!

२ तपाईँ बाइबल अध्ययन गर्दै हुनुहुन्छ वा साक्षी परिवारमा हुर्कँदै हुनुहुन्छ भने तपाईँले पनि बप्तिस्मा गर्नेबारे सोचिरहनुभएको छ होला। त्यो निकै प्रशंसनीय लक्ष्य हो! तर बप्तिस्मा गर्नुअघि तपाईँले आफ्नो जीवन यहोवालाई समर्पण गर्नुपर्छ। यस लेखमा हामी समर्पण गर्नुको अर्थ के हो भनेर बुझ्नेछौँ। साथै तपाईँ तयार हुनुहुन्छ भने समर्पण र बप्तिस्मा गर्नदेखि किन पछि हट्‌नुपर्दैन भनेर पनि बुझ्नेछौँ।

समर्पण भनेको के हो?

३. यहोवामा समर्पित केही व्यक्‍तिबारे बताउनुहोस्‌।

३ बाइबलअनुसार समर्पणको अर्थ कुनै कुरालाई पवित्र उद्देश्‍यको लागि अलग्गै छुट्ट्याउनु हो। इस्राएलीहरू राष्ट्रको रूपमा यहोवामा समर्पित थिए। तर तिनीहरूमध्ये कसै-कसैलाई विशेष तरिकामा यहोवामा समर्पित गरिएको थियो। जस्तै: हारुन। तिनको फेटाको अगिल्तिर सुनको एउटा चम्किलो पाता बाँधिएको हुन्थ्यो र त्यो “समर्पणको पवित्र चिन्ह” थियो। सुनको त्यस पाताले तिनी विशेष तरिकामा यहोवाको सेवा गर्न छुट्ट्याइएको कुरालाई सङ्‌केत गर्थ्यो। तिनी इस्राएलको प्रधानपुजारी नियुक्‍त भएका थिए। (लेवी ८:९) नाजिरीहरू पनि विशेष तरिकामा यहोवामा समर्पित थिए। “नाजिरी” भन्‍ने शब्द हिब्रू शब्द नाजिर-बाट लिइएको हो, जसको अर्थ “छुट्ट्याइएको व्यक्‍ति” वा “समर्पित व्यक्‍ति” हो। नाजिरीहरूले मोसाको व्यवस्थामा तिनीहरूका लागि दिइएका नीतिनियमअनुसार जीवन बिताउनुपर्थ्यो।​—गन्ती ६:२-८.

४. (क) यहोवालाई जीवन समर्पण गरेकाहरू कुन अर्थमा पवित्र उद्देश्‍यको लागि छुट्ट्याइएका हुन्छन्‌? (ख) आफूलाई “इन्कार” गर्नुको अर्थ के हो? (चित्र पनि हेर्नुहोस्‌।)

४ यहोवालाई जीवन समर्पण गर्दा तपाईँले येसु ख्रिष्टको चेला बन्‍ने र यहोवाको इच्छालाई जीवनमा सबैभन्दा महत्त्वपूर्ण ठान्‍ने छनौट गरिरहनुभएको हुन्छ। यहोवालाई जीवन समर्पण गर्नुमा के समावेश छ? येसुले यसो भन्‍नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्‌।” (मत्ति १६:२४) यहाँ “आफूलाई इन्कार गरोस्‌” भनेर अनुवाद गरिएको ग्रीक अभिव्यक्‍तिलाई “आफ्नो लागि जिउन छोडोस्‌” भनेर पनि अनुवाद गर्न सकिन्छ। यहोवाको समर्पित सेवकको रूपमा तपाईँले उहाँको इच्छासित बाझिने कुराहरूलाई इन्कार गर्नुपर्छ। (२ कोरि. ५:१४, १५) त्यसमा अवैध यौनसम्बन्धजस्ता “शरीरका कामहरू”-लाई इन्कार गर्नु समावेश छ। (गला. ५:१९-२१; १ कोरि. ६:१८) के यस्ता नीतिनियमले तपाईँको जीवनलाई गाह्रो बनाउँछ? यदि तपाईँ यहोवालाई प्रेम गर्नुहुन्छ र उहाँले दिनुभएका नीतिनियम तपाईँकै भलाइका लागि हुन्‌ भनेर ढुक्क हुनुहुन्छ भने गाह्रो बनाउनेछैन। (भज. ११९:९७; यसै. ४८:१७, १८) यस कुरालाई बुझ्न निकोलस भाइले के भने, विचार गरौँ। तिनले यसो भने: “तपाईँ यहोवाको स्तरलाई कि त जेलको बारसित तुलना गर्न सक्नुहुन्छ, जसले तपाईँलाई आफूखुसी गर्नदेखि रोक्छ वा सिंहको खोरमा लगाइएको बारसित तुलना गर्न सक्नुहुन्छ, जसले तपाईँलाई खतराहरूदेखि जोगाउँछ।”

एक भाइ खोरभित्रका सिंहहरू हेर्दै छन्‌।

तपाईँ यहोवाको स्तरलाई आफूखुसी गर्नदेखि रोक्ने जेलको बार ठान्‍नुहुन्छ कि खतराहरूदेखि जोगाउन सिंहको खोरमा लगाइएको बार ठान्‍नुहुन्छ? (अनुच्छेद ४ हेर्नुहोस्‌)


५. (क) यहोवालाई कसरी जीवन समर्पण गरिन्छ? (ख) समर्पण र बप्तिस्माबीच कस्तो भिन्‍नता छ? (तस्बिर पनि हेर्नुहोस्‌।)

५ यहोवालाई कसरी जीवन समर्पण गरिन्छ? यहोवालाई प्रार्थनामा उहाँको मात्र उपासना गर्ने र उहाँको इच्छालाई जीवनमा पहिलो स्थान दिने वाचा गरेर। समर्पण गर्दा तपाईँले यहोवालाई सधैँ “आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम” गर्ने वाचा गरिरहनुभएको हुन्छ। (मर्कु. १२:३०) समर्पण भनेको नितान्त व्यक्‍तिगत कुरा हो; यो केवल तपाईँ र यहोवाबीचको कुरा हो। तर बप्तिस्मा गर्दा तपाईँले समर्पण गर्नुभएको कुरा सबैले थाह पाउँछन्‌। तपाईँको समर्पण एउटा पवित्र भाकल हो। तपाईँले त्यस भाकलअनुरूप जीवन बिताउने लक्ष्य राख्नुपर्छ र यहोवा पनि तपाईँबाट त्यही चाहनुहुन्छ।​—उप. ५:४, ५.

भाइबहिनीहरू यहोवालाई व्यक्‍तिगत रूपमा प्रार्थना गर्दै छन्‌।

यहोवालाई जीवन समर्पण गर्नु भनेको उहाँलाई प्रार्थनामा उहाँको मात्र उपासना गर्छु अनि उहाँको इच्छालाई जीवनमा पहिलो स्थान दिन्छु भनेर वाचा गर्नु हो (अनुच्छेद ५ हेर्नुहोस्‌)


तपाईँले किन यहोवालाई आफ्नो जीवन समर्पण गर्नुपर्छ?

६. यहोवालाई जीवन समर्पण गर्न कुनै व्यक्‍तिलाई केले उत्प्रेरित गर्छ?

६ तपाईँले समर्पण गर्नुको मुख्य कारण हो, यहोवाप्रतिको तपाईँको प्रेम। त्यो प्रेम “आध्यात्मिक समझ” र “सही ज्ञान”-मा अर्थात्‌ यहोवाबारे तपाईँले सिक्नुभएका कुराहरूमा आधारित छ, यो केवल एउटा भावना मात्र होइन। (कल. १:९) बाइबल अध्ययन गरेर तपाईँ यी कुराहरूमा विश्‍वस्त हुनुभयो: (१) यहोवा वास्तविक हुनुहुन्छ, (२) बाइबल उहाँको प्रेरित वचन हो र (३) उहाँ आफ्नो इच्छा पूरा गर्न आफ्नो सङ्‌गठनलाई प्रयोग गर्नुहुन्छ।

७. यहोवालाई जीवन समर्पण गर्नुअघि हामीले के गर्नुपर्छ?

७ यहोवालाई जीवन समर्पण गर्नेहरूलाई बाइबलको आधारभूत शिक्षा थाह हुनुपर्छ र तिनीहरूले बाइबलको स्तरअनुरूप जीवन बिताउनुपर्छ। तिनीहरू अवस्थाले दिएसम्म आफ्नो विश्‍वासबारे अरूलाई बताउँछन्‌। (मत्ति २८:१९, २०) यहोवाप्रतिको प्रेम बढेकोले तिनीहरू उहाँको मात्र भक्‍ति गर्न चाहन्छन्‌। के तपाईँको पनि यहोवाप्रतिको प्रेम बढेको छ? छ भने आफ्नो बाइबल अध्ययन सञ्चालक वा आमाबुबालाई खुसी पार्न मात्र तपाईँले समर्पण र बप्तिस्मा गर्नुहुनेछैन न त ‘साथीहरूले गरेकोले मैले पनि गर्नुपर्छ’ भन्‍ने सोचाइ राख्नुहुन्छ।

८. यहोवालाई जीवन समर्पण गर्न कृतज्ञताले कसरी उत्प्रेरित गर्छ? (भजन ११६:१२-१४)

८ यहोवाले तपाईँको लागि गर्नुभएका कुराहरूबारे सोच्दा तपाईँ उहाँप्रति कृतज्ञ हुनुहुनेछ र तपाईँको मनमा उहाँलाई आफ्नो जीवन समर्पण गर्ने इच्छा जाग्नेछ। (भजन ११६:१२-१४ पढ्‌नुहोस्‌।) यहोवा “हरेक असल वरदान र हरेक उत्तम उपहार”-का स्रोत हुनुहुन्छ। (याकु. १:१७) उहाँले दिनुभएको सबैभन्दा ठूलो उपहार उहाँको छोरा येसुको फिरौतीको बलिदान हो। यस उत्तम उपहारबारे सोच्नुहोस्‌ त! फिरौतीको बलिदानले गर्दा नै तपाईँले यहोवासित घनिष्ठ सम्बन्ध विकास गर्न सक्नुभयो। अनि सधैँभरि जिउने आशा पनि पाउनुभयो। (१ युह. ४:९, १०, १९) यहोवालाई जीवन समर्पण गर्दा तपाईँले उहाँले देखाउनुभएको सबैभन्दा ठूलो प्रेम र उहाँले दिनुभएका अन्य आशिष्‌हरूप्रति कृतज्ञता देखाइरहनुभएको हुनेछ। (व्यव. १६:१७; २ कोरि. ५:१५) हामी कस्ता कुराहरूको लागि कृतज्ञ हुन सक्छौँ भनेर सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ४६ बुँदा ४ मा बताइएको छ। त्यस बुँदामा यहोवालाई उपहार दिनुहोस्‌ भन्‍ने तीन मिनेटको भिडियो पनि छ।

के तपाईँ समर्पण र बप्तिस्मा गर्न तयार हुनुहुन्छ?

९. समर्पण गर्ने सन्दर्भमा तपाईँले किन आफूलाई अरूसित तुलना गर्नु हुँदैन?

९ तपाईँलाई आफू समर्पण र बप्तिस्माको लागि तयार भइसकेको छैन जस्तो लाग्न सक्छ। सायद यहोवाको स्तरअनुसार जिउन तपाईँले जीवनमा अझै केही छाँटकाँट गर्नुपर्छ होला वा आफ्नो विश्‍वासलाई बलियो बनाउन तपाईँलाई अझ केही समय चाहिन सक्छ। (कल. २:६, ७) सबै विद्यार्थीको उन्‍नति एकैनासको हुँदैन अनि सबै जवान समर्पण र बप्तिस्माको लागि एउटै उमेरमा तयार हुन्छन्‌ भन्‍ने छैन। त्यसैले आफूले गर्न सक्ने कुराहरूको आधारमा आफ्नो आध्यात्मिक उन्‍नति जाँच्ने कोसिस गर्नुहोस्‌, अरूसित तुलना गरेर होइन।​—गला. ६:४, ५.

१०. आफू समर्पण र बप्तिस्माको लागि तयार छैन जस्तो लागे पनि तपाईँ के गर्न सक्नुहुन्छ? (“साक्षी परिवारमा हुर्किरहेका भाइबहिनीका लागि” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१० आफू समर्पणको लागि तयार छैन जस्तो लागे पनि त्यसलाई आफ्नो लक्ष्य बनाइरहनुहोस्‌। जीवनमा आवश्‍यक छाँटकाँटहरू गर्न यहोवासित मदत माग्नुहोस्‌। (फिलि. २:१३; ३:१६) उहाँले तपाईँको प्रार्थना सुन्‍नुहुनेछ र तपाईँलाई मदत गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।​—१ युह. ५:१४.

साक्षी परिवारमा हुर्किरहेका भाइबहिनीका लागि

साक्षी परिवारमा हुर्किरहेका भाइबहिनीले jw.org मा भएको युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ किताबको खण्ड २ को “के मैले बप्तिस्मा गर्नुपर्छ?” भन्‍ने लेखबाट ठूलो मदत पाउन सक्छन्‌।

मार्च २०१६ अङ्‌कको प्रहरीधरहरा-मा भएको दुई वटा अध्ययन लेखमा पनि तपाईँले मदतकारी जानकारी पाउन सक्नुहुन्छ। शीर्षक: “जवानहरू हो—के तपाईं बप्तिस्मा गर्न तयार हुनुहुन्छ?” र “जवानहरू हो—तपाईं बप्तिस्माको लागि कसरी तयारी गर्न सक्नुहुन्छ?”

यी लेखहरू अध्ययन गर्न र गहिरिएर मनन गर्न समय निकाल्नुभयो भने तपाईँले धेरै लाभ उठाउनुहुनेछ।

कोही-कोही किन पछि हट्‌छन्‌?

११. यहोवाले हामीलाई वफादार रहन कसरी मदत गर्नुहुन्छ?

११ कोही-कोही समर्पण र बप्तिस्माको लागि तयार भए पनि पछि हट्‌छन्‌। तिनीहरूको मनमा यस्तो डर हुन सक्छ: ‘मैले बप्तिस्मा गरेपछि गम्भीर पाप गरेँ र बहिष्कार भएँ भने के गर्ने?’ तपाईँलाई पनि यस्तै लाग्छ भने यहोवाले तपाईँलाई ‘उहाँको सेवक कहलाइन र उहाँलाई पूर्ण रूपले प्रसन्‍न बनाउन’ हरकिसिमको मदत दिनुहुन्छ भनेर ढुक्क हुनुहोस्‌। (कल. १:१०) उहाँले तपाईँलाई सही कुरा गर्न बल पनि दिनुहुनेछ। उहाँले अरू थुप्रैलाई त्यस्तै बल दिनुभएको छ। (१ कोरि. १०:१३) यही कारणले गर्दा मण्डलीबाट थोरै मात्र बहिष्कार हुन्छन्‌। यहोवा आफ्ना सेवकहरूलाई वफादार रहन मदत गर्नुहुन्छ।

१२. गम्भीर गल्ती गर्नदेखि हामी कसरी जोगिन सक्छौँ?

१२ हरेक त्रुटिपूर्ण मानिसमा गलत कुराहरू गर्ने झुकाव हुन्छ। (याकु. १:१४) तर प्रलोभनहरू आइपर्दा सही काम गर्ने या गलत काम गर्ने, तपाईँ आफै छनौट गर्न सक्नुहुन्छ। आखिर आफ्नो जीवन कसरी जिउने भन्‍ने कुरा तपाईँकै नियन्त्रणमा छ। यस कुरासित कोही-कोही सहमत नहोलान्‌ तर तपाईँ कुइच्छाहरूलाई कसरी नियन्त्रणमा राख्ने भनेर सिक्न सक्नुहुन्छ। अनि कुइच्छाहरू जाग्यो भने पनि गलत काम नगर्ने छनौट गर्न सक्नुहुन्छ। गलत कुराहरूबाट अलग रहन तपाईँले गर्न सक्ने केही कुरा छन्‌। जस्तै: दिनहुँ यहोवालाई प्रार्थना गर्नुहोस्‌, परमेश्‍वरको वचन अध्ययन गर्ने राम्रो बानी बसाल्नुहोस्‌, सभाहरूमा उपस्थित हुनुहोस्‌ र आफ्नो विश्‍वासबारे अरूलाई बताउनुहोस्‌। यी कुराहरू गरिरहनुभयो भने तपाईँले समर्पणको वाचाअनुसार जीवन बिताउन बल पाउनुहुनेछ। अनि यो कुरा कहिल्यै नबिर्सनुहोस्‌, यहोवाले पनि तपाईँलाई मदत गर्नुहुनेछ।​—गला. ५:१६.

१३. युसुफले हाम्रो लागि कस्तो उदाहरण बसालेका छन्‌?

१३ प्रलोभन आइपऱ्‍यो भने के गर्ने भनेर तपाईँले पहिल्यै निर्णय गर्नुभएको छ भने समर्पणको वाचाअनुसार जीवन बिताउन केही हदसम्म सजिलो हुन सक्छ। यस सन्दर्भमा बाइबलमा राम्रा उदाहरणहरू पाउँछौँ। तिनीहरू पनि हामीजस्तै त्रुटिपूर्ण मानिस नै थिए। युसुफको उदाहरण विचार गरौँ। पोतिफरकी पत्नीले युसुफलाई उनीसित सुत्न बारम्बार फकाउन खोजिन्‌। तर त्यस्तो अवस्थामा के गर्ने भनेर युसुफको मनमा कुनै दुबिधा थिएन। बाइबलमा युसुफ आफ्नी मालिक्नीको प्रस्ताव “अस्वीकार गर्थे” भनेर बताइएको छ। तिनले यसो भने: “यस्तो घोर दुष्ट काम गरेर म कसरी परमेश्‍वरको विरुद्धमा पाप गर्न सक्छु र?” (उत्प. ३९:८-१०) स्पष्ट छ, आफ्नी मालिक्नीले फकाउन खोज्नुअघि नै युसुफलाई के गर्नुपर्छ भनेर थाह थियो। त्यसैले प्रलोभन आइपर्दा तिनलाई त्यसको प्रतिरोध गर्न सजिलो भयो।

१४. हामी कसरी गलत कुरालाई तिरस्कार गर्न सिक्न सक्छौँ?

१४ तपाईँ कसरी युसुफले जस्तै प्रलोभनको प्रतिरोध गर्न सक्नुहुन्छ? प्रलोभनहरू आइपऱ्‍यो भने के गर्ने भनेर अहिल्यै निर्णय गर्नुहोस्‌। यहोवाले घृणा गर्नुहुने कुराहरूलाई तुरुन्तै तिरस्कार गर्न सिक्नुहोस्‌। त्यस्ता कुराहरूबारे सोच्दा पनि नसोच्नुहोस्‌। (भज. ९७:१०; ११९:१६५) यसो गर्नुभयो भने प्रलोभन आइपर्दा ‘के गर्ने कसो गर्ने’ भनेर तपाईँ अलमलमा पर्नुहुनेछैन। किनकि त्यस्तो अवस्थामा कस्तो कदम चाल्नुपर्छ भनेर तपाईँले पहिल्यै निर्णय गरिसक्नुभएको हुनेछ।

१५. कुनै व्यक्‍तिले यहोवालाई ‘जोडतोडले खोजिरहन’ के गर्न सक्छन्‌? (हिब्रू ११:६)

१५ सायद तपाईँ सत्य भेट्टाएको कुरामा पक्का हुनुहुन्छ र आफ्नो सारा हृदयले यहोवाको सेवा गर्न पनि चाहनुहुन्छ होला। तर केही कुराले समर्पण र बप्तिस्मा गर्नदेखि तपाईँलाई रोकिरहेको हुन सक्छ। यस्तो अवस्थामा राजा दाउदले जस्तै यहोवालाई यसरी बिन्ती गर्नुहोस्‌: “हे परमेश्‍वर, मलाई राम्ररी जाँच्नुहोस्‌ र मेरो हृदयलाई जान्‍नुहोस्‌। मलाई पारख गरेर हेर्नुहोस्‌ र मेरो मनको चिन्ता थाह पाउनुहोस्‌। मलाई हानिकारक मार्गमा लैजाने कुनै कुरा ममा छ कि, हेर्नुहोस्‌ अनि मलाई अनन्त मार्गमा डोऱ्‍याउनुहोस्‌।” (भज. १३९:२३, २४) यस्तो प्रार्थनाले तपाईँ यहोवाको मदत खोज्दै हुनुहुन्छ अनि समर्पण र बप्तिस्माको लक्ष्यतर्फ अघि बढ्‌दै हुनुहुन्छ भनेर देखाउँछ। अनि यहोवा “जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ।”​—हिब्रू ११:६ पढ्‌नुहोस्‌।

यहोवासित नजिक भइरहनुहोस्‌

१६-१७. साक्षी परिवारमा हुर्किरहेकाहरूलाई यहोवा कसरी आफूतर्फ खिच्नुहुन्छ? (युहन्‍ना ६:४४)

१६ येसुले आफ्ना चेलाहरूलाई यहोवाले नै तिनीहरूलाई खिच्नुभएको हो भनेर बताउनुभयो। (युहन्‍ना ६:४४ पढ्‌नुहोस्‌।) यो कुरा कत्ति गहन छ र यसले तपाईँको लागि कस्तो अर्थ राख्छ, विचार गर्नुहोस्‌। यहोवाले आफूतर्फ खिच्ने प्रत्येक व्यक्‍तिमा केही असल कुरा देख्नुहुन्छ। उहाँ प्रत्येक व्यक्‍तिलाई “विशेष सम्पत्ति” अर्थात्‌ “अनमोल सम्पत्ति” ठान्‍नुहुन्छ। (व्यव. ७:६, फुटनोट) हो, उहाँ तपाईँलाई पनि त्यस्तै ठान्‍नुहुन्छ।

१७ तर तपाईँ साक्षी परिवारमा हुर्कँदै हुनुहुन्छ होला। तपाईँलाई ‘यहोवाले मलाई उहाँतर्फ खिच्नुभएकोले होइन बरु मेरो आमाबुबाले यहोवाको सेवा गरेकोले मैले पनि गरेको हुँ’ जस्तो लाग्न सक्छ। तर उहाँ तपाईँलाई केवल एउटा समूहको भाग मात्र ठान्‍नुहुन्‍न बरु तपाईँलाई विशेष ठान्‍नुहुन्छ। किनकि उहाँ असल हृदय भएको प्रत्येक व्यक्‍तिलाई आफूतर्फ खिच्नुहुन्छ। यसमा साक्षी परिवारमा हुर्किरहेका तपाईँ जवानहरू पनि पर्नुहुन्छ। साथै बाइबलमा यसो भनिएको छ: “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकु. ४:८; १ इति. २८:९) त्यसैले तपाईँले यहोवाको नजिक हुन कदम चाल्दा उहाँ पनि तपाईँको नजिक हुनुहुनेछ।​—२ थिस्सलोनिकी २:१३ तुलना गर्नुहोस्‌।

१८. अर्को लेखमा हामी के छलफल गर्नेछौँ? (भजन ४०:८)

१८ यहोवालाई जीवन समर्पण गरेर बप्तिस्मा गर्दा तपाईँले येसुको जस्तै मनोभाव झल्काइरहनुभएको हुनेछ। उहाँ आफ्नो बुबाले भन्‍नुभएको सबै कुरा गर्न तयार हुनुभयो। (भजन ४०:८ पढ्‌नुहोस्‌; हिब्रू १०:७) अर्को लेखमा बप्तिस्मापछि पनि वफादार भई यहोवाको सेवा गरिरहन तपाईँलाई केले मदत गर्छ भनेर छलफल गर्नेछौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • यहोवालाई जीवन समर्पण गर्नुको अर्थ के हो?

  • यहोवालाई जीवन समर्पण गर्न कृतज्ञताले कसरी उत्प्रेरित गर्छ?

  • हामी गम्भीर गल्ती गर्नदेखि कसरी जोगिन सक्छौँ?

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने