मानिसहरूले युद्ध अन्त गर्न सक्दैनन्
युद्ध र हिंसा कसरी अन्त हुनेछ?
बाइबलले बताएअनुसार मानिसहरूले नभई ईश्वरले ‘पृथ्वीबाट युद्ध नामेट पार्नुहुन्छ।’—भजन ४६:९.
ईश्वरले मानव सरकारलाई हटाउनुहुनेछ
ईश्वरले आरमागेडोनको युद्धमा सबै मानव सरकारको अन्त गरिदिनुहुनेछ।a (प्रकाश १६:१६) त्यतिबेला ‘पृथ्वीभरिका राजाहरूलाई सर्वशक्तिमान् ईश्वरको महान् दिनको लडाइँको निम्ति जम्मा’ गरिनेछ। (प्रकाश १६:१४) ईश्वरले लड्नुहुने आरमागेडोनको युद्धले नै सबै युद्धको अन्त गर्नेछ।
ईश्वरले पृथ्वीमा मानव सरकारहरूलाई हटाएर आफ्नो राज्य ल्याउनुहुनेछ। त्यस राज्यले स्वर्गबाट शासन गर्नेछ र त्यो कहिल्यै अन्त हुनेछैन। (दानिएल २:४४) ईश्वरले आफ्नो छोरा येसु ख्रिष्टलाई राजाको रूपमा नियुक्त गर्नुभएको छ। (यसैया ९:६, ७; मत्ति २८:१८) येसुले आफ्ना चेलाहरूलाई त्यही राज्यकोb लागि प्रार्थना गर्न सिकाउनुभएको थियो। (मत्ति ६:९, १०) त्यसपछि सबै मानिसजाति एकतामा रहनेछन् र राजा येसुको अधीनमा बस्नेछन्।
आज मानव शासकहरू आफ्नो स्वार्थ पूरा गर्न अख्तियारको दुरुपयोग गर्छन् तर येसुले त्यसो गर्नुहुनेछैन। उहाँले कसैको जात, राष्ट्र र पृष्ठभूमिको आधारमा पक्षपात गर्नुहुनेछैन बरु सधैँ ठीकसित न्याय गर्नुहुनेछ। (यसैया ११:३, ४) मानिसहरूले आफ्नो हकअधिकारको लागि लडाइँ गर्नुपर्नेछैन। किन? किनकि येसुले सबै मानिसको भलो हुनेगरि शासन गर्नुहुनेछ। बाइबल भन्छ: “मदतको लागि पुकार्ने गरिबहरूको तिनले उद्धार गर्नेछन्, दीनदुःखी र असहायहरूको पनि तिनले उद्धार गर्नेछन्। . . . तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्।”—भजन ७२:१२-१४.
ईश्वरको राज्यले पृथ्वीका सबै हातहतियार नष्ट गर्नेछ। (मिका ४:३) त्यस राज्यले युद्ध गर्ने र शान्ति भङ्ग गर्न खोज्ने सबै दुष्ट मानिसलाई समेत नाश गर्नेछ। (भजन ३७:९, १०) पृथ्वीको जुनसुकै ठाउँमा गए तापनि हरेक पुरुष, स्त्री र केटाकेटीले सुरक्षित महसुस गर्नेछन्।—इजकिएल ३४:२८.
ईश्वरको राज्यले युद्ध र हिंसाका मूल कारणहरू पूर्ण रूपमा हटाउनेछ। जस्तै, गरिबी, भोकमरी र आवासको समस्या। त्यसैले मानिसजातिको जीवन सुखमय हुनेछ। सबैले पोषणयुक्त खानेकुरा खान पाउनेछन् र सबैसित बस्नको लागि आरामदायी घर हुनेछ।—भजन ७२:१६; यसैया ६५:२१-२३.
ईश्वरको राज्यले युद्धको सबै असर हटाउनेछ। यसमा शारीरिक चोट मात्र नभई युद्धले गर्दा मानिसहरूले भोग्नुपरेको मानसिक र भावनात्मक चोट पनि समावेश छ। मरिगएका थुप्रै मानिस फेरि जीवित हुनेछन्। (यसैया २५:८; २६:१९; ३५:५, ६) सबै परिवारहरूको पुनर्मिलन हुनेछ र युद्धका तीता अनुभवहरूले फेरि कहिल्यै सताउनेछैन। किनभने ‘पहिलेका कुराहरू बितिसकेका हुनेछन्।’—प्रकाश २१:४.
ईश्वरले पाप हटाउनुहुनेछ
ईश्वरको राज्यले पूरै पृथ्वीमा शासन गर्नेछ र सबै जना मिलेर एक मात्र साँचो ईश्वर यहोवाकोc उपासना गर्नेछन्, जो ‘प्रेम र शान्तिका ईश्वर’ हुनुहुन्छ। (२ कोरिन्थी १३:११) सबै मानिसहरूले एकअर्कासित शान्ति कायम गर्न सिक्नेछन्। (यसैया २:३, ४; ११:९) शान्ति कायम गर्न सिक्ने यस्ता मानिसहरू पापका असरहरूबाट स्वतन्त्र हुँदै जानेछन्।—रोमी ८:२०, २१.
ईश्वरले सैतान र त्यसका प्रेतहरूलाई नाश गर्नुहुनेछ
ईश्वरको राज्यले मानिसहरूलाई युद्ध गर्न उक्साउने सैतान र त्यसका प्रेतहरूलाई नाश गर्नेछ। (प्रकाश २०:१-३, १०) ती दुष्टहरूलाई हटाएपछि पृथ्वीमा “शान्ति छाउनेछ।”—भजन ७२:७.
युद्ध र हिंसा हटाउने ईश्वरको प्रतिज्ञा अवश्य पूरा हुनेछ भन्ने कुरामा तपाईँ ढुक्क हुन सक्नुहुन्छ। उहाँसित युद्ध अन्त गर्ने इच्छा र शक्ति दुवै छ।
ईश्वरसित युद्ध र हिंसा अन्त गर्न चाहिने बुद्धि र शक्ति छ। (अय्युब ९:४) उहाँको लागि कुनै कुरा असम्भव छैन।—अय्युब ४२:२.
मानिसहरूले दुःख भोगेको देख्दा ईश्वरलाई पनि दुःख लाग्छ। (यसैया ६३:९) साथै “हत्याहिंसा मन पराउनेलाई उहाँ घृणा गर्नुहुन्छ।”—भजन ११:५.
ईश्वरले सधैँ आफ्नो वचन पूरा गर्नुहुन्छ; उहाँ कहिल्यै झूट बोल्नुहुन्न।—यसैया ५५:१०, ११; तितस १:२.
ईश्वरले अब चाँडै साँचो र चिरस्थायी शान्ति ल्याउनुहुनेछ।
ईश्वरले युद्ध अन्त गर्नुहुनेछ
a हाम्रो वेबसाइट jw.org/ne मा “आरमागेडोनको युद्ध भनेको के हो?” भन्ने लेख हेर्नुहोस्।
b हाम्रो वेबसाइट jw.org/ne मा ईश्वरको राज्य के हो? भिडियो हेर्नुहोस्।