जीवनी
‘जहाँ रोपियौँ, त्यहीँ फस्टाउन’ यहोवाले मदत गर्नुभयो
“जहाँ रोपिन्छौ, त्यहीँ फस्टाऊ!” स्वीडेनका एक दम्पती म्याट्स र एन-काट्रिनलाई विभिन्न ठाउँमा ‘रोपियो।’ हुनत यो सल्लाह सुन्दा अनौठो लाग्न सक्छ। तर यसले उहाँहरूलाई निकै मदत गऱ्यो। कसरी?
भाइ र बहिनी कासहोल्म १९७९ मा गिलियड स्कुल जानुभयो। “जहाँ रोपिन्छौ, त्यहीँ फस्टाऊ!” भन्ने सल्लाह उहाँहरूले गिलियडका प्रशिक्षक ज्याक रेडफोर्डबाट पाउनुभएको थियो। अनि वर्षौँको दौडान विभिन्न ठाउँमा ‘रोपिँदा’ उहाँहरूलाई यो सल्लाहले मदत गऱ्यो। उहाँहरूले इरान, जायर, तान्जानिया, मरिसस, म्यानमार र युगाण्डामा सेवा गर्नुभयो। अब आउनुहोस्, उहाँहरूबाटै सुनौँ।
तपाईँहरूले कसरी सत्य सिक्नुभयो?
म्याट्स: दोस्रो विश्वयुद्धको बेला मेरो बुबा पोल्याण्डमा हुनुहुन्थ्यो। त्यतिबेला उहाँले क्याथोलिक चर्चको नराम्रो व्यवहार देख्नुभयो। त्यो उहाँलाई पटक्कै चित्त बुझेको थिएन। तैपनि उहाँ अक्सर यसो भन्ने गर्नुहुन्थ्यो, “साँचो धर्म पक्कै हुनुपर्छ।” उहाँले सही कुरा भन्नुभएको थियो भनेर मैले पछि बुझेँ। म थुप्रै सेकेन्डह्यान्ड किताबहरू किनेर पढ्ने गर्थेँ। त्यसमध्ये एउटा अनन्त जीवनतर्फ लैजाने सत्य (अङ्ग्रेजी) भन्ने निलो रङ्गको किताब थियो। त्यो किताबको नाम देख्नेबित्तिकै मलाई पढौँ-पढौँ जस्तो लाग्यो। मैले रातभरिमा त्यो किताब पढेर सिद्ध्याएँ। बिहानसम्ममा त मैले साँचो धर्म भेट्टाएको कुरामा पक्का भएँ।
अप्रिल १९७२ देखि मैले यहोवाका साक्षीहरूको थुप्रै किताबहरू पढ्न थालेँ। मैले ती किताबहरूबाट आफ्नो मनमा उब्जेका थुप्रै प्रश्नहरूको जवाफ पाएँ। येसुले एउटा उदाहरणमा असल मोती खोज्दै हिँड्ने व्यापारीबारे बताउनुभएको थियो। उसले उच्चकोटिको एउटा मोती फेला पारेपछि आफूसित भएको सबै थोक बेचेर त्यो किनेको थियो। मैले पनि त्यसै गरेँ। मैले विश्वविद्यालयमा पढ्ने र डाक्टर बन्ने लक्ष्य राखेको थिएँ। तर उच्चकोटिको “मोती” अर्थात् सत्य भेट्टाएपछि आफ्नो लक्ष्य त्यागेँ। (मत्ति १३:४५, ४६) मैले डिसेम्बर १०, १९७२ मा बप्तिस्मा गरेँ।
त्यसको एक वर्षभित्र मेरो आमाबुबा र भाइले पनि सत्य स्विकार्नुभयो र बप्तिस्मा गर्नुभयो। जुलाई १९७३ मा मैले पूर्ण-समय सेवा सुरु गरेँ। हाम्रो मण्डलीमा जोसिला अग्रगामीहरू थिए। तिनीहरूमध्ये एक जना एन-काट्रिन थिइन्। उनी असाध्यै राम्री थिइन् र यहोवालाई प्रेम गर्थिन्। हामीले एकअर्कालाई मन पराउन थाल्यौँ र १९७५ मा विवाह गऱ्यौँ। त्यसपछिको चार वर्ष हामीले स्वीडेनको स्ट्रमसन्ड भन्ने ठाउँमा सेवा गऱ्यौँ। त्यो असाध्यै राम्रो ठाउँ थियो र त्यहाँका थुप्रै मानिसहरू बाइबलको कुरा सिक्न चाहन्थे।
एन-काट्रिन: मेरो बुबा विश्वविद्यालयमा पढ्दै हुनुहुन्थ्यो। पढाइ सकिने समयतिर उहाँले सत्य भेट्टाउनुभयो। त्यतिबेला म तीन महिनाको मात्र थिएँ। तर बुबाले मलाई सभा र प्रचारमा सँगै लैजानुहुन्थ्यो। ममीलाई यो कुरा मन परेन। त्यसैले उहाँले साक्षीहरू झूटा हुन् भनेर साबित गर्न खोज्नुभयो। तर उहाँले त्यसो गर्न सक्नुभएन। बरु आफूले पनि बप्तिस्मा गर्नुभयो। मैले १३ वर्षको उमेरमा बप्तिस्मा गरेँ अनि १६ वर्ष पुगेपछि अग्रगामी थालेँ। मैले आवश्यकता धेरै भएको उमिउ भन्ने ठाउँमा सेवा गरेँ र पछि विशेष अग्रगामी भएँ।
हाम्रो विवाह भएपछि हामीले थुप्रैलाई सत्य सिक्न मदत गऱ्यौँ। तिनीहरूमध्ये एक जना मिभर नाम गरेकी एक किशोरी पनि थिइन्। उनी खेलकुदमा आफ्नो करिअर बनाउन चाहन्थिन्। तर सत्य सिकेपछि उनले त्यो लक्ष्य त्यागिन् अनि मेरो बहिनीसँगै अग्रगामी गर्न थालिन्। उनीहरू दुवै जना १९८४ मा गिलियड गए र अहिले इक्वेडरमा मिसनरी सेवा गर्दै छन्।
मिसनरीको रूपमा विभिन्न ठाउँमा जाँदा “जहाँ रोपिन्छौ, त्यहीँ फस्टाऊ!” भन्ने सल्लाह तपाईँहरूले कसरी लागू गर्नुभयो?
म्याट्स: हाम्रो मिसनरी असाइनमेन्ट धेरै चोटि परिवर्तन भयो। एक अर्थमा हामीलाई नयाँ-नयाँ ठाउँमा ‘रोपियो।’ तर जहाँसुकै भए पनि हामीले येसुमै “जरा गाडेर” फस्टाउन प्रयास गऱ्यौँ। (कल. २:६, ७) यसको लागि हामीले खासगरि उहाँको नम्रता अनुकरण गऱ्यौँ। जस्तै, स्थानीय भाइबहिनी हाम्रो तरिकाअनुसार नै चलून् भन्ने आशा गरेनौँ। बरु उहाँहरूको सोचाइ र रहनसहन बुझ्ने प्रयास गऱ्यौँ। यसरी येसुको अनुकरण गर्दा हामीले “खोलाको छेउमा रोपिएको रूखजस्तै” फस्टाउन सकेको महसुस गऱ्यौँ।—भज. १:२, ३.
विभिन्न मण्डलीको भ्रमण गर्न हामी धेरै यात्रा गर्थ्यौँ
एन-काट्रिन: भर्खरै रोपिएको बोट फस्टाउन घाम पनि चाहिन्छ। यहोवा हाम्रो लागि “सूर्य”-जस्तै हुनुभयो। (भज. ८४:११) उहाँले हामीलाई सधैँ न्यानो माया देखाउने आध्यात्मिक परिवार दिनुभयो। जस्तै, इरानको तेहरान सहरको एउटा सानो मण्डलीमा सेवा गर्दा त्यहाँका भाइबहिनीहरूले हामीलाई बाइबलकालीन समयका मानिसहरूले जस्तै अतिथि-सत्कार गर्नुभयो। हामी इरानमै बस्न चाहन्थ्यौँ तर जुलाई १९८० मा त्यहाँ यहोवाका साक्षीहरूको काममा प्रतिबन्ध लगाइयो र हामीलाई ४८ घण्टाभित्रै देश छोड्न भनियो। त्यसपछि हामीलाई अफ्रिकाको जायरमा (अहिले कङ्गो भनिन्छ) खटाइयो।
जायरमा सेवा गर्दाका मीठा पलहरू, १९८२
हामीलाई अफ्रिकामा खटाइएको कुरा थाह पाएपछि मलाई एकदमै डर लाग्यो र म रोएँ। त्यहाँ धेरै सर्प आउँछ र रोग पनि धेरै लाग्छ भनेर मैले सुनेको थिएँ। त्यहाँ लामो समय सेवा गरेको हाम्रो दुई जना साथीले हामीलाई यसो भने, “पहिला त्यहाँ गएर त हेर तिमीहरूलाई अफ्रिका पक्कै मन पर्नेछ।” हुन पनि त्यस्तै भयो। त्यहाँका भाइबहिनीहरूले हामीलाई असाध्यै माया गर्नुभयो। तर छ वर्षपछि हामीले जायर छोड्नुपर्ने भयो। किनभने त्यहाँ पनि हाम्रो काममाथि प्रतिबन्ध लगाइयो। मलाई आफै देखेर हाँसउठ्यो किनभने म यसरी प्रार्थना गर्दै थिएँ, “हे यहोवा, हामीलाई यहीँ बस्न दिनुहोस्।”
तपाईँहरूले कस्ता आशिष्हरू पाउनुभएको छ?
तान्जानियाको विभिन्न मण्डलीको भ्रमणमा जाँदा हामी भ्यानमै सुत्थ्यौँ, १९८८
म्याट्स: हामीले विभिन्न देशका मिसनरीहरूसित घनिष्ठ मित्रता गाँस्न सक्यौँ। कुनै-कुनै ठाउँमा हामीले थुप्रै बाइबल अध्ययनहरू सञ्चालन गऱ्यौँ। हामी एकै जनाले २० वटासम्म अध्ययन गराउँथ्यौँ। अफ्रिकाका भाइबहिनीले हामीलाई देखाउनुभएको माया र अतिथि-सत्कार हामी कहिल्यै बिर्सन्नौँ। तान्जानियाको विभिन्न मण्डलीको भ्रमणमा जाँदा त्यहाँका भाइबहिनीहरूले हाम्रो निम्ति उहाँहरूको “औकातभन्दा पनि धेरै” गर्नुभयो। (२ कोरि. ८:३) भ्रमणमा जाँदा हामी आफ्नो भ्यानमै सुत्थ्यौँ। हुनत भाइबहिनीहरू गरिब हुनुहुन्थ्यो। तैपनि उहाँहरूले हामीलाई चाहिने सबै कुराको प्रबन्ध मिलाइदिनुहुन्थ्यो। हरेक दिनको अन्तमा एन र म सँगै बसेर दिन कस्तो भयो भनेर कुराकानी गर्थ्यौँ र यहोवाले हामीलाई साथ दिनुभएकोमा धन्यवाद दिन्थ्यौँ। यसरी कुराकानी गर्ने समय हाम्रो लागि विशेष हुन्थ्यो।
एन-काट्रिन: संसारको विभिन्न ठाउँका भाइबहिनीहरूलाई चिन्न पाउनु मैले पाएको ठूलो आशिष् हो। हामीले थुप्रै नयाँ भाषाहरू सिक्यौँ। जस्तै: फारसी, फ्रान्सेली, लुगान्डा र स्वाहिली। अनि हामीले विभिन्न ठाउँको रहनसहनबारे पनि थाह पायौँ। हामीले नयाँ भाइबहिनीहरूलाई तालिम दिन पायौँ, असल साथीहरू बनायौँ अनि उहाँहरूसँगै “काँधमा काँध मिलाएर” यहोवाको सेवा गऱ्यौँ।—सप. ३:९.
हामीले यहोवाको सुन्दर-सुन्दर सृष्टि हेर्ने मौका पनि पायौँ। हरेक चोटि यहोवाबाट नयाँ असाइनमेन्ट पाउँदा उहाँसँगै यात्रा गर्दै छौँ र उहाँ हाम्रो गाइड हुनुहुन्छ जस्तो लाग्थ्यो। यहोवाले हामीलाई थुप्रै कुराहरू सिकाउनुभयो, जुन हामी आफैले कहिल्यै सिक्न सक्ने थिएनौँ।
तान्जानियाको विभिन्न ठाउँमा प्रचार गर्दै
चुनौतीहरूचाहिँ के-कस्ता थिए अनि तपाईँहरूले कसरी त्यसको सामना गर्नुभयो?
म्याट्स: हामी कहिलेकाहीँ बेस्सरी बिरामी पऱ्यौँ। हामीलाई मलेरिया पनि भयो। एनको केही पटक अचानक अप्रेसन गर्नुपरेको थियो। हाम्रा आमाबुबाको उमेर ढल्कँदै गइरहेको थियो। हामीलाई उहाँहरूको पनि असाध्यै चिन्ता लाग्थ्यो। मेरो आमाबुबालाई भाइले हेरचाह गऱ्यो अनि एनका आमाबुबालाई उनको दुई जना भाइ र बहिनीले हेरचाह गरे। यसले गर्दा हामी आफ्नो असाइनमेन्टमा रहिरहन सक्यौँ। उनीहरूले कहिल्यै गुनासो गरेनन्। बरु हाँसीखुसी त्यो जिम्मेवारी पूरा गरे। (१ तिमो. ५:४) हामी टाढा थियौँ। त्यसैले आमाबुबाको हेरचाह गर्न धेरै गर्न सक्दैन थियौँ। यसले गर्दा कहिलेकाहीँ असाध्यै दोषी भावनाले सताउँथ्यो।
एन-काट्रिन: सन् १९८३ मा हामी जायरमै छँदा हैजाले गर्दा मेरो झन्डै ज्यान गएको थियो। डाक्टरले म्याट्सलाई यसो भने, “उहाँको अवस्था नाजुक छ। तुरुन्तै कतै लगिहाल्नुहोस्!” हामी भोलिपल्टै स्वीडेन जान प्लेन चढ्यौँ तर त्यो यात्रुहरू होइन, सामान बोक्ने प्लेन थियो। त्यो प्लेन चढ्नुबाहेक हामीसित अर्को विकल्प थिएन।
म्याट्स: अब हामीले मिसनरी सेवा छोड्नुपर्छ होला जस्तो लाग्यो। त्यसैले हामी धुरुधुरु रोयौँ। डाक्टरले एन अब निको हुँदिनन् होला भनेका थिए तर उनी निको भइन्। त्यसको एक वर्षपछि हामी जायर फर्क्यौँ अनि लुबुम्बाशीको सानो स्वाहिली मण्डलीमा सेवा गर्न थाल्यौँ।
एन-काट्रिन: लुबुम्बाशीमै छँदा मेरो गर्भ तुहियो। हुनत हाम्रो बच्चा जन्माउने योजना थिएन। तैपनि त्यसरी बच्चा खेर जाँदा मलाई त्यो पीडा सहन एकदमै गाह्रो भयो। त्यही समयतिर यहोवाले हामीलाई आसै नगरेको उपहार दिनुभयो। हामीले थुप्रै नयाँ बाइबल अध्ययनहरू सुरु गर्न सक्यौँ। प्रकाशकहरूको सङ्ख्या ३५ बाट ७० पुग्यो अनि सभाको उपस्थिति ४० बाट २२० पुग्यो। हामी प्रचारकार्यमा व्यस्त हुन थाल्यौँ र यहोवाले हाम्रो प्रयासमा थुप्रै आशिष् दिनुभयो। त्यसले गर्दा मलाई आफ्नो पीडा सहन अलि सजिलो भयो। तर हामीलाई अहिले पनि हाम्रो बच्चाको याद आउँछ र ऊबारे बेलाबेला कुरा गर्छौँ। यहोवाले हाम्रो मनको घाउ पूरै निको पार्नुहुने समय हामी पर्खँदै छौँ।
म्याट्स: पछि एनले असाध्यै थकित र कमजोर महसुस गरिन्। त्यही समयतिर मलाई पनि ठूलो आन्द्राको क्यान्सर भएको पत्ता लाग्यो। त्यो पनि स्टेज-फोर पुगिसकेको थियो र ठूलो अप्रेसन गर्नुपर्ने भयो। तर अहिले मेरो स्वास्थ्य राम्रो छ र ऐनले पनि सकेजति गर्दै छिन्।
हामीले मात्र गाह्रो परीक्षाहरू भोग्नुपरेको होइन भनेर हामीलाई थाह छ। रूवाण्डामा १९९४ मा भएको जातीय संहारपछि थुप्रै भाइबहिनीले शरणार्थी जीवन बिताउनुपऱ्यो। हामी उहाँहरूलाई भेट्न शरणार्थी शिविरहरूमा गयौँ। यस्तो गाह्रो अवस्थामा पनि ती भाइबहिनीले विश्वास अनि सहनशीलता देखाइरहनुभएको थियो र अतिथि-सत्कार गर्न छोड्नुभएको थिएन। यो देख्दा यहोवाले आफ्ना जनहरूलाई जस्तोसुकै गाह्रो अवस्थामा पनि सम्हाल्नुहुनेछ भनेर हामी ढुक्क हुन सक्यौँ।—भज. ५५:२२.
एन-काट्रिन: सन् २००७ मा हामी युगाण्डा शाखा कार्यालयको समर्पण कार्यक्रममा गएका थियौँ। कार्यक्रमपछि हामी मिसनरीहरू र बेथेल सेवकहरू गरेर जम्मा २५ जना केन्याको नाइरोबीतर्फ जाँदै थियौँ। केन्याको सिमानामा पुग्नै लाग्दा अगाडिबाट आइरहेको एउटा भ्यान हाम्रो बसमा आएर ठोक्कियो। ड्राइभर र हाम्रो पाँच जना साथीहरूको घटनास्थलमै मृत्यु भयो। एक जना बहिनीचाहिँ अस्पतालमा बित्नुभयो। हामी उहाँहरूलाई नयाँ संसारमा फेरि भेट्ने प्रतीक्षामा छौँ।—अय्यु. १४:१३-१५.
दुर्घटनाले गर्दा लागेको शारीरिक चोटपटक त निको हुँदै गयो तर हामी दुई जना र हामीसँगै यात्रा गरेको अरू भाइबहिनीहरूलाई भावनात्मक र मानसिक रूपमा धेरै गाह्रो भयो। कहिलेकाहीँ त राती मेरो मुटु एकदमै ढुकढुक गर्थ्यो। हार्ट-अट्याक नै हुन लाग्यो जस्तो लाग्थ्यो। त्यस्तो हुँदा एकदमै डर लाग्थ्यो तर व्यग्र प्रार्थना र बाइबलका केही पदहरूले हामीलाई निकै सान्त्वना दियो। हामीले डाक्टरको मदत पनि लियौँ। पहिलेको तुलनामा अहिले धेरै सजिलो भएको छ। हाम्रो जस्तै अवस्था भोगिरहेकाहरूलाई सान्त्वना दिन सकौँ भनेर हामी यहोवालाई प्रार्थना पनि गर्छौँ।
गाह्रो अवस्थाको सामना गर्नुपर्दा यहोवाले तपाईँहरूलाई “काँचो अण्डालाई झैँ” सम्हाल्नुभयो भनेर बताउनुभएको थियो। तपाईँहरूले के भन्न खोज्नुभएको हो?
म्याट्स: यो स्वाहिली भनाइ हो। काँचो अण्डा फुट्न सक्ने भएकोले त्यसलाई बोक्दा एकदमै होसियार हुनुपर्छ। यहोवाले हामीलाई प्रत्येक असाइनमेन्टमा त्यसरी नै सम्हाल्नुभयो। हामीलाई आफूलाई चाहिएको कुराको कहिल्यै अभाव भएन। साँच्चै भनौँ भने हामीले चाहिने भन्दा धेरै कुरा पायौँ। परिचालक निकायले पनि हाम्रो अवस्था सधैँ बुझिदिनुभयो। यसले गर्दा हामीले यहोवाको माया र साथ पाएको महसुस गर्न सक्यौँ।
एन-काट्रिन: हामीले यहोवाको माया महसुस गरेको एउटा अनुभव बताउन चाहन्छु। एक दिन अचानक हामीलाई स्वीडेनबाट फोन आयो। मेरो बुबा आईसियुमा हुनुहुन्छ भन्ने खबर पायौँ। त्यही समयतिर म्याट्सलाई मलेरिया भएको थियो र उहाँ भर्खरै तङ्ग्रिँदै हुनुहुन्थ्यो। अनि हामीसित टिकट किन्ने पैसा पनि थिएन। त्यसैले हामीले आफ्नो गाडी बेच्ने निर्णय गऱ्यौँ। एकछिनपछि हामीलाई अर्को दुई वटा कल आयो। एउटा कल हाम्रो अवस्थाबारे थाह पाएको एक जना दम्पतीबाट आएको थियो। उहाँहरू हाम्रो लागि एउटा टिकट किनिदिन चाहनुहुन्थ्यो। अर्को कलचाहिँ एक जना वृद्ध दिदीबाट आएको थियो। उहाँले खाँचोमा परेकाहरूलाई दिन भनेर केही पैसा जम्मा गर्नुभएको रहेछ। उहाँ त्यो पैसा हामीलाई दिन चाहनुहुन्थ्यो। केही मिनेटभित्रै यहोवाले हामीलाई अचम्मलाग्दो तरिकामा मदत गर्नुभयो।—हिब्रू १३:६.
पूर्ण-समय सेवामा बिताएको ५० वर्षलाई फर्केर हेर्दा तपाईँहरू के भन्नुहुन्छ?
अहिले हामी म्यानमारमा सेवा गर्दै छौँ
एन-काट्रिन: मैले बाइबलको यस भनाइको सत्यता आफैले अनुभव गरेकी छु, “शान्त होऊ र ममाथि भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।” हामीले यहोवामाथि भरोसा गऱ्यौँ भने उहाँले हाम्रो लागि लड्नुहुनेछ। (यसै. ३०:१५; २ इति. २०:१५, १७) आफूले पाएको जुनसुकै असाइनमेन्ट तनमनले पूरा गर्दा हामीले सोचेको भन्दा कता हो कता धेरै आशिष् पाएका छौँ। हामीले यति धेरै आशिष् अन्त कतै पनि पाउने थिएनौँ।
म्याट्स: मैले सिकेको मुख्य पाठ भनेको जुनसुकै अवस्थामा यहोवामाथि भर पऱ्यौँ भने उहाँले हाम्रो निम्ति कदम चाल्नुभएको अनुभव गर्न सक्नेछौँ। (भज. ३७:५) उहाँले आफ्नो प्रतिज्ञाअनुसारै हामीलाई सधैँ सम्हाल्नुभएको छ। यो कुरा हामीले अहिले म्यानमारमा बेथेल सेवा गर्दा पनि अनुभव गरिरहेका छौँ।
यहोवाको सेवामा अझ धेरै गर्न चाहने थुप्रै जवानहरूले हामीले जस्तै यहोवाको अटल प्रेम अनुभव गर्न सकून् भन्ने हामी चाहन्छौँ। जहाँसुकै रोपिए तापनि यहोवाले तिनीहरूलाई फस्टाउन मदत गर्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ।