के जीवन पहिलाको जस्तै सामान्य होला? महामारीपछिको अवस्थाको सामना गर्न बाइबलले कसरी मदत गर्छ?
“हामी पहिलाजस्तै सामान्य दिनचर्यामा फर्कन चाहन्छौँ।”—एङ्गेला मर्केल, जर्मनीकी शासक।
तपाईँ यस कुरामा सहमत हुनुहुन्छ होला। किनभने संसारभरका मानिसहरूलाई कोभिड-१९ महामारीले असर पुऱ्याइरहेको छ। तर “सामान्य दिनचर्या” भनेको के हो? मानिसहरू के आशा गर्दैछन्?
पहिलाकै दिनचर्यामा फर्कने। केहीलाई आफ्ना साथीभाइहरूसित पहिलाजस्तै अङ्गालो हाल्न, हात मिलाउन र अझ धेरै समय बिताउन पाए हुन्थ्यो जस्तो लाग्छ। तिनीहरू विभिन्न ठाउँमा यात्रा गर्न पनि चाहन्छन्। डाक्टर एन्थोनि फसीलेa बताएअनुसार, “केही मानिसहरूको विचारमा पहिलाको दिनचर्यामा फर्कनु भनेको रेष्टुरेन्टहरू, फिल्म हलहरू र यस्तै अन्य सार्वजनिक ठाउँहरूमा मजाले जान पाउनु हो।”
जीवन अझ राम्रो बनाउने। केही मानिसहरू यो समयलाई महामारीअघिको जीवनभन्दा अझ राम्रो बनाउने मौकाको रूपमा हेर्छन्। तिनीहरूलाई केही कुराहरू परिवर्तन भइदिए हुन्थ्यो जस्तो लाग्छ। जस्तै: बढी समय र शक्ति खर्च गर्नुपर्ने जागिर, जात र आर्थिक अवस्थाको आधारमा गरिने भेदभाव र बिग्रँदै गएको मानसिक स्वास्थ्य। विश्व आर्थिक फोरमका संस्थापक क्लाउज स्वाब यसो भन्छन्, “महामारीले हामीलाई जीवन र संसारको अवस्थाबारे सोच्ने अनि त्यसमा केही परिवर्तन गर्ने मौका दिएको छ। तर यो मौका सधैँभरि रहनेछैन।”
कतिपयले भने महामारीको समयमा थुप्रै समस्याहरू भोगे। त्यसैले तिनीहरूलाई पहिलाजस्तै “सामान्य” जीवन बिताउनु भनेको एकादेशको कथाजस्तै लाग्न थालिसक्यो। जस्तै, थुप्रैले आफ्नो जागिर, घर, सुस्वास्थ्य र यहाँसम्म कि, आफ्ना प्रियजनहरूसमेत गुमाए।
महामारीपछिको जीवन कस्तो हुने हो भनेर कसैले पनि तोकेरै बताउन सक्दैन। (उपदेशक ९:११) तर बाइबलले हामीलाई भविष्यप्रति सकारात्मक दृष्टिकोण राख्न र जस्तोसुकै अवस्था आइपरे पनि त्यसको सामना गर्न मदत दिन्छ। त्यति मात्र होइन, बाइबलले भविष्यको पक्का आशा दिन्छ, जुन तपाईँले कल्पना नै गर्नुभएको थिएन होला।
कोभिड-१९ महामारीबारे सही दृष्टिकोण राख्ने
“यस युगको आखिरी समय”-मा रोगहरू व्यापक रूपमा फैलिनेछ वा “महामारी हुनेछ” भनेर वर्षौँअघि नै बाइबलमा भविष्यवाणी गरिएको थियो। (लुका २१:११; मत्ति २४:३) यो कुरा विचार गर्दा कोभिड-१९ महामारीलगायत युद्धहरू, ठूलठूला भूकम्पहरू अनि अनिकाल हुनु भनेको बाइबलका भविष्यवाणीहरू पूरा हुनु हो भनेर थाह पाउन सक्छौँ।
यस कुराबाट कस्तो मदत मिल्छ? हुनत अहिलेको महामारीको अवस्था सुध्रिएला तर बाइबलले हामी “असाध्यै कठिन समय”-मा बाँचिरहेका छौँ भनेर चेतावनी दिन्छ। (२ तिमोथि ३:१) यो कुरा थाह पाउँदा हामी अहिलेको चुनौतीपूर्ण अवस्थामा विभिन्न समस्याहरू आइपर्नेछन् भनेर स्विकार्न मदत पाउँछौँ।
बाइबलले हामीलाई सही दृष्टिकोण राख्न मदत दिन्छ: जीवन झनै कठिन भइरहेको यस संसारमा अब चाँडै एउटा ठूलो परिवर्तन हुनेछ। कस्तो परिवर्तन?
तपाईँले आसै नगर्नुभएको भविष्य
बाइबलमा हामीले भोगिरहेका समस्याहरूबारे मात्र होइन तर अब चाँडै राम्रो समय आउनेछ भनेर पनि भविष्यवाणी गरिएको छ। मानव सरकारहरूले हासिल गर्न सक्ने भन्दा कता हो कता उज्ज्वल भविष्यबारे बाइबलले बताउँछ, जुन परमेश्वरले मात्र दिन सक्नुहुन्छ। “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”—प्रकाश २१:४.
यहोवालेb यस्तो प्रतिज्ञा गर्नुभएको छ: “हेर! म सबै थोक नयाँ बनाउँदै छु।” (प्रकाश २१:५) उहाँले महामारीको कारण निम्तिएका समस्यालगायत संसारका सबै समस्याहरूको समाधान गर्नुहुनेछ। त्यतिबेला निम्न परिवर्तनहरू हुनेछन्:
शारीरिक र मानसिक सुस्वास्थ्य पाउनेछौँ अनि रोगबिमार र मृत्यु भोग्नुपर्ने छैन।—यसैया २५:८; ३३:२४.
सन्तोषजनक काम पाउनेछौँ। अहिलेको जस्तो लखतरान हुने वा निराश बनाउने काम गर्नुपर्ने छैन।—यसैया ६५:२२, २३.
गरिबी र भोकमरीको अन्त हुनेछ।—भजन ७२:१२, १३; १४५:१६.
विगतका तीता सम्झनाहरूले सताउनेछैन। साथै मरिसकेका प्रियजनहरू फेरि जीवित भएको हेर्न पाउनेछौँ।—यसैया ६५:१७; प्रेषित २४:१५.
यस कुराबाट कस्तो मदत मिल्छ? बाइबल यसो भन्छ: “यो आशा हाम्रो जीवनको लङ्गर हो।” (हिब्रू ६:१९) भविष्यको यस्तो सुन्दर आशाले हामीलाई स्थिर रहन मदत गर्छ। साथै यसले हामीलाई अहिलेका कठिन परिस्थितिहरूको सामना गर्न, चिन्ता-फिक्री कम गर्न र भावनात्मक रूपमा सन्तुलित र खुसी रहन मदत गर्छ।
तर के तपाईँ बाइबलका प्रतिज्ञाहरूमा साँच्चै भरोसा गर्न सक्नुहुन्छ? “बाइबल—सत्य कुराको भरपर्दो स्रोत” भन्ने लेख हेर्नुहोस्।
महामारीपछिको समस्या सामना गर्न मदत गर्ने बाइबल सिद्धान्तहरू
जीवनको मोल गर्नुहोस्
बाइबल पद: “बुद्धिले भने मानिसको जीवन बचाउँछ।”—उपदेशक ७:१२.
यसले तपाईँको लागि कस्तो अर्थ राख्छ? बिरामी पर्नदेखि जोगिन बुद्धिमानी निर्णयहरू गर्नुहोस्। तपाईँको वरपरको अवस्थाबारे सजग रहनुहोस्। स्वास्थ्य र सुरक्षासम्बन्धी नियमहरू पालन गर्नुहोस्। सङ्क्रमण कत्तिको फैलिरहेको छ भनेर याद गर्नुहोस् र कति जति मानिसहरूले खोप लगाएका छन् भन्ने कुरा पनि विचार गर्नुहोस्।
होसियार हुनुहोस्
बाइबल पद: “बुद्धिमान् मानिस होसियार हुन्छ र खराबीदेखि परै बस्छ तर मूर्ख मानिसले सोचविचार नगरी कदम चाल्छ र आफूमा बढ्तै भरोसा राख्छ।”—हितोपदेश १४:१६.
यसले तपाईँको लागि कस्तो अर्थ राख्छ? आफ्नो स्वास्थ्यको ख्याल राख्न आवश्यक सावधानी अपनाइरहनुहोस्। कोरोना भाइरसको सङ्क्रमण लामो समयसम्म रहनेछ भनेर विशेषज्ञहरूले अनुमान लगाएका छन्।
भरपर्दो जानकारी खोज्नुहोस्
बाइबल पद: “सुधो मानिसले सुनेको सबै कुरा पत्याउँछ तर चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।”—हितोपदेश १४:१५.
यसले तपाईँको लागि कस्तो अर्थ राख्छ? कुन सल्लाह लागू गर्ने भनेर होसियारीपूर्वक छान्नुहोस्। तपाईँको छनौटले तपाईँलाई असर गर्छ। त्यसैले गलत जानकारीको आधारमा निर्णय गर्नुभयो भने यसले तपाईँको स्वास्थ्यलाई हानि पुऱ्याउन सक्छ।
सकारात्मक हुनुहोस्
बाइबल पद: “उहिले-उहिलेका दिन किन अहिलेका भन्दा राम्रा थिए भनेर नसोध। किनकि यसरी सोध्नु बुद्धिमानी होइन।”—उपदेशक ७:१०.
यसले तपाईँको लागि कस्तो अर्थ राख्छ? उत्तम जीवन बिताउन कटिबद्ध हुनुहोस्। महामारीअघि आफ्नो जीवन कत्ति राम्रो थियो भन्ने सोचेर नबस्नुहोस्। अनि महामारीको कारण आफूले गर्न नसकेका कुराहरूमा अल्झिएर पनि नबस्नुहोस्।
अरूको आदर गर्नुहोस्
बाइबल पद: “हरप्रकारका मानिसहरूको आदर गर।”—१ पत्रुस २:१७.
यसले तपाईँको लागि कस्तो अर्थ राख्छ? महामारी र यसले निम्त्याएका समस्याहरूप्रति मानिसहरूको आ-आफ्नै धारणा छ। तिनीहरूको धारणाको कदर गर्नुहोस् तर आफूले गरेका बुद्धिमानी निर्णयहरूअनुसारै चल्नुहोस्। खोप नलगाएका, वृद्धवृद्धा र गम्भीर स्वास्थ्य समस्यासित जुझिरहेकाहरूप्रति विचारशील हुनुहोस्।
धीरजी हुनुहोस्
बाइबल पद: “प्रेम धीरजी र दयालु हुन्छ।”—१ कोरिन्थी १३:४.
यसले तपाईँको लागि कस्तो अर्थ राख्छ? कोहीकोहीलाई महामारीअघि सजिलै गर्न सकिने कामहरू अहिले गर्न सक्दिनँ भनेर चिन्ता लाग्छ। तिनीहरूप्रति दयालु हुनुहोस्। महामारीको कारण लागेका प्रतिबन्धहरू खुकुलो हुँदै जाँदा तपाईँले गर्न सक्ने कामकुराहरू पनि बढ्दै जान्छन्। त्यसैले आफूप्रति पनि धीरजी हुनुहोस्।
बाइबलले मानिसहरूलाई महामारीको सामना गर्न कसरी मदत गर्दै छ?
बाइबलमा प्रतिज्ञा गरिएको उज्ज्वल भविष्यको आशाबाट यहोवाका साक्षीहरूले सान्त्वना पाएका छन् र यसले तिनीहरूलाई महामारीमा मात्र ध्यान दिएर नबस्न मदत गरेको छ। उपासनाको लागि एक ठाउँमा भेला हुने बाइबलको आज्ञा पालन गरेर तिनीहरू एकअर्कालाई साथ दिन्छन्। (हिब्रू १०:२४, २५) महामारीको दौडान भिडियो कन्फरेन्सिङमार्फत भइरहेका यहोवाका साक्षीहरूको सभामा जो-कोही पनि उपस्थित हुन सक्छन्।
महामारीको दौडान उपासनाका लागि यहोवाका साक्षीहरूको सभामा जोडिँदा निकै मदतकारी भएको थुप्रैले अनुभव गरेका छन्। उदाहरणका लागि, कोभिड-१९ सङ्क्रमित एक महिला भिडियो कन्फरेन्सिङमार्फत यहोवाका साक्षीहरूको सभामा जोडिइन्। भाइरसको कारण स्वास्थ्य अवस्था गाह्रो भए पनि ती सभाहरूले तिनलाई भावनात्मक रूपमा निकै मदत गऱ्यो। तिनले यसो भनिन्: “मलाई आफू यस परिवारकै भाग हुँ जस्तो लाग्छ। बाइबल पढ्दा म मनोशान्ति पाउँछु। यसले मलाई मेरो समस्याहरूमा भन्दा भविष्यको आशामा ध्यान दिन मदत गर्छ। म जीवनभर परमेश्वरलाई चिन्न चाहन्थेँ। मलाई यसरी परमेश्वरसित नजिक हुन मदत गर्नुभएकोमा धेरै-धेरै धन्यवाद।”
a संयुक्त राज्य अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशक।