के ख्रिष्टियनहरूले विश्रामदिन मान्नुपर्छ?
बाइबलको जवाफ
ख्रिष्टियनहरूले साप्ताहिक विश्रामदिन मान्नु आवश्यक छैन। ख्रिष्टियनहरू “ख्रिष्टको व्यवस्था”-को अधीनमा छन्, जुन व्यवस्थामा विश्रामदिन मान्नु समावेश छैन। (गलाती ६:२; कलस्सी २:१६, १७) हामी कसरी यो कुरामा पक्का हुन सक्छौँ? पहिला, विश्रामदिनको सुरुवातबारे विचार गरौँ।
विश्रामदिन भनेको के हो?
“विश्रामदिन”-को लागि चलाइएको हिब्रू शब्दको अर्थ हो, “आराम गर्नु; रोकिनु।” बाइबलमा पुरातन इस्राएल राष्ट्रलाई आज्ञा दिइँदा विश्रामदिनबारे पहिलो पटक उल्लेख गरिएको थियो। (प्रस्थान १६:२३) उदाहरणको लागि, दस आज्ञामध्ये चौथो आज्ञा यस्तो थियो: “विश्रामदिन मनाउन नबिर्सनू र त्यसलाई पवित्र मान्नू। तिमीहरूले छ दिनसम्म मेहनत गरेर आफ्नो सबै काम सिद्ध्याउनू। तर सातौँ दिन भने यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो। त्यो दिन तिमीहरूले . . . कुनै काम नगर्नू।” (प्रस्थान २०:८-१०) विश्रामदिन शुक्रबार सूर्यास्त हुँदा सुरु हुन्थ्यो र शनिबार सूर्यास्त हुँदा अन्त हुन्थ्यो। त्यस दौडान इस्राएलीहरू आफ्नो इलाकाबाहिर जान मिल्दैन थियो। साथै आगो बाल्न, दाउरा बटुल्न र भारी बोक्न पनि मिल्दैन थियो। (प्रस्थान १६:२९; ३५:३; गन्ती १५:३२-३६; यर्मिया १७:२१) विश्रामदिनको नियम उल्लङ्घन गर्ने व्यक्ति मृत्युदण्ड पाउन योग्य ठहरिन्थ्यो।—प्रस्थान ३१:१५.
यहुदी क्यालेन्डरअनुसार अरू केही दिनलाई पनि विश्रामदिन भनिन्थ्यो। अनि सातौँ र पचासौँ वर्षलाई चाहिँ विश्रामवर्ष भनिन्थ्यो। विश्रामवर्षहरूमा जमिन बाँझै छोड्नुपर्थ्यो अनि इस्राएलीहरूलाई ऋण तिर्नको लागि दबाब दिन मिल्दैनथ्यो।—लेवी १६:२९-३१; २३:६, ७, ३२; २५:४, ११-१४; व्यवस्था १५:१-३.
येसुको बलिदानले विश्रामदिनको नियमलाई बेकामको तुल्यायो
ख्रिष्टियनहरूलाई किन विश्रामदिनको नियम लागू हुँदैन?
मोसामार्फत ज-जसलाई व्यवस्था दिइएको थियो, ती व्यक्त्तिहरूलाई मात्र विश्रामदिनको नियम लागू हुन्थ्यो। (व्यवस्था ५:२, ३; इजकिएल २०:१०-१२) परमेश्वरले कहिल्यै तीबाहेक अरू व्यक्त्तिहरूलाई विश्रामदिन मान्न भन्नुभएन। तर पछि येसु ख्रिष्टको फिरौतीको बलिदानले गर्दा यहुदीहरूसमेत दस आज्ञालगायत “मोसाको व्यवस्थाबाट मुक्त” भए। (रोमी ७:६, ७; १०:४; गलाती ३:२४, २५; एफिसी २:१५) त्यसैले ख्रिष्टियनहरू अहिले मोसाको व्यवस्थाअनुसार नभई प्रेमको उत्तम व्यवस्थाअनुसार चल्छन्।—रोमी १३:९, १०; हिब्रू ८:१३.
विश्रामदिनबारे गलत धारणाहरू
गलत धारणा: परमेश्वरले सातौँ दिनमा आराम गर्नुहुँदा विश्रामदिनको सुरुवात गर्नुभयो।
तथ्य: बाइबल भन्छ: “परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यस दिनलाई पवित्र घोषणा गर्नुभयो किनकि . . . सबै कुरा सृष्टि गरेपछि परमेश्वरले सातौँ दिनदेखि विश्राम लिइरहनुभएको छ।” (उत्पत्ति २:३) यस पदमा सृष्टिको सातौँ दिनमा परमेश्वरले के-के गर्नुभयो भनेर बताइएको हो। मानिसलाई दिइएको नियमबारे बताइएको त होइन। बाइबलमा मोसाको समयभन्दा अघि कसैले पनि विश्रामदिन मनाएको विवरण पाइँदैन।
गलत धारणा: मोसाको व्यवस्था दिइनुअघि नै इस्राएलीहरूले नै विश्रामदिन मान्थे।
तथ्य: मोसाले इस्राएलीहरूलाई भने: “यहोवा हाम्रा परमेश्वरले हामीसित होरेबमा एउटा करार गर्नुभएको थियो।” त्यो ठाउँ सिनै डाँडाको नजिक पर्थ्यो। त्यस करारमा विश्रामदिनको नियम पनि समावेश थियो। (व्यवस्था ५:२, १२) विश्रामदिन मान्दा इस्राएलीहरूले गरेको अनुभवबाट त्यो नियम तिनीहरूको लागि नयाँ थियो भन्ने कुरा थाह हुन्छ। यदि मिश्रमा छँदै तिनीहरूले विश्रामदिन मान्थे भने विश्रामदिनले कसरी परमेश्वरले भन्नुभएझैँ मिश्रबाट छुटकारा पाएको कुरा याद दिलाउँथ्यो र? (व्यवस्था ५:१५) तिनीहरूलाई सातौँ दिनमा मन्न नबटुल्न किन भन्नुपर्थ्यो र? (प्रस्थान १६:२५-३०) अनि विश्रामदिनको नियम उल्लङ्घन गर्ने पहिलो व्यक्त्तिको मामिला कसरी सम्हाल्ने भनेर तिनीहरूलाई किन थाह भएन?—गन्ती १५:३२-३६.
गलत धारणा: विश्रामदिन सधैँभरि मान्नुपर्ने करार हो र यो अहिले पनि लागू हुन्छ।
तथ्य: केही बाइबल अनुवादहरूमा विश्रामदिनलाई “अविराम करार” भनिएको छ। (प्रस्थान ३१:१६, नयाँ संशोधित संस्करण) तर हिब्रू भाषामा अनुवाद गरिएको “अविराम” शब्दले “अनिश्चित कालको लागि” भन्ने अर्थ दिन्छ, जुन सधैँभरिको लागि नहुन पनि सक्छ। उदाहरणको लागि, बाइबलमा इस्राएलीहरूको समयको पुजारीगिरीबारे बताइँदा पनि यही शब्द प्रयोग गरिएको छ, जुन प्रबन्ध परमेश्वरले दुई हजार वर्षअघि नै अन्त गरिसक्नुभयो।—प्रस्थान ४०:१५; हिब्रू ७:११, १२.
गलत धारणा: येसुले विश्राम दिन मान्नुभएकोले ख्रिष्टियनहरूले पनि विश्रामदिन मान्नुपर्छ।
तथ्य: येसुले विश्रामदिन मान्नुभयो किनभने येसु एक यहुदी हुनुहुन्थ्यो र जन्मैदेखि मोसाको व्यवस्थाको अधीनमा हुनुहुन्थ्यो। (गलाती ४:४) येसुको मृत्युपछि विश्रामदिनलगायत मोसाको व्यवस्था खारेज भयो।—कलस्सी २:१३, १४.
गलत धारणा: ख्रिष्टियन भए तापनि प्रेषित पावलले विश्रामदिन माने।
तथ्य: पावल विश्रामदिनमा सभाघरभित्र गए तर यहुदीहरूसँगै विश्रामदिन मान्न चाहिँ होइन। (प्रेषित १३:१४; १७:१-३; १८:४) त्यतिबेलाको समयमा उपासनाको लागि भेला भएकाहरूमाझ अतिथि वक्ताहरूलाई बोलाउने चलन थियो। त्यसैले पावल पनि विश्रामदिन मान्न होइन, बरु सभाघरमा भेला भएकाहरूलाई सुसमाचार सुनाउन गएका थिए। (प्रेषित १३:१५, ३२) पावलले विश्रामदिनमा मात्र होइन “हरेक दिन” सुसमाचार प्रचार गरे।—प्रेषित १७:१७.
गलत धारणा: ख्रिष्टियनहरूको विश्रामदिन आइतबार पर्छ।
तथ्य: बाइबलमा आइतबारको दिनलाई आराम गर्ने र उपासना गर्ने दिनको रूपमा छुट्ट्याउन आज्ञा दिइएको छैन। सुरु-सुरुका ख्रिष्टियनहरूको लागि आइतबार पनि अरू दिन जस्तै काम गर्ने दिन थियो। एउटा विश्वकोशa यसो भन्छ: “चौथो शताब्दीमा गैर-ख्रिष्टियन रोमी सम्राट् कन्स्टेन्टाइनले आइतबारकोb दिनमा केही किसिमका कामकुरा नगर्ने आदेश दिए। त्यसपछिदेखि आइतबार पनि विश्रामदिनजस्तै हुन थाल्यो।”
आइतबारको दिन विशेष थियो जस्तो देखिने विवरणहरूबारे चाहिँ के भन्न सकिन्छ? बाइबलमा प्रेषित पावलले “हप्ताको पहिलो दिन” अर्थात् आइतबार भाइबहिनीहरूसँगै खाना खाए भनिएको छ। (प्रेषित २०:७) किनभने तिनी भोलिपल्ट त्यहाँबाट बिदा भएर जाँदै थिए। त्यसैगरि कुनै-कुनै मण्डलीलाई “हप्ताको पहिलो दिन” अर्थात् आइतबार राहतकार्यको लागि केही पैसा छुट्ट्याएर राख्न भनिएको थियो। तर आफ्नो खर्चको हिसाब राख्नको लागि दिइएको यो एउटा व्यवहारिक सुझाव मात्र थियो। त्यसरी छुट्ट्याएको पैसा तिनीहरूले सभाघरमा ल्याउनु पर्दैन थियो बरु आ-आफ्नै घरमा राख्न सक्थे।—१ कोरिन्थी १६:१, २.
गलत धारणा: हरेक हप्ता आराम गर्न र उपासना गर्नको लागि कुनै एक दिन छुट्ट्याउनु ठीक होइन।
तथ्य: बाइबलमा प्रत्येक ख्रिष्टियनलाई यसबारे आफै निर्णय गर्न भनिएको छ।—रोमी १४:५.
a The International Standard Bible Encyclopedia.
b नयाँ क्याथोलिक विश्वकोश, दोस्रो संस्करण, खण्ड १३, पृष्ठ ६०८ पनि हेर्नुहोस्।