प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख ८१
  • बोर लाग्दा म के गरूँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बोर लाग्दा म के गरूँ?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँले के बुझ्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • छोराछोरीलाई बोर लाग्दा के गर्ने?
    परिवारका लागि
  • के प्रमोदवनमा अनन्त जीवन पट्टाइलाग्दो हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • के तपाईं सधैंभरि बाँच्न चाहनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
युवाहरू सोध्छन्‌
ijwyp लेख ८१
एक किशोरसित थुप्रै इलेक्ट्रोनिक सामग्री छन्‌ तर तिनी पलङमा पल्टेर मास्तिर हेर्दै छन्‌

युवाहरू सोध्छन्‌

बोर लाग्दा म के गरूँ?

कसै-कसैलाई पानी परेको दिनमा केही नगरी कतै नगई दिनभर घरमै बस्नु जस्तो दिक्कलाग्दो कुरा अरू केही हुँदैन। रोबर्ट नाम गरेका युवक यसो भन्छन्‌, “त्यस्तो बेला त मलाई के गरूँ के गरूँ हुन्छ, कस्तो उकुसमुकुस हुन्छ।”

के तपाईँले पनि कहिल्यै त्यस्तो महसुस गर्नुभएको छ? छ भने यस लेखले तपाईँलाई मदत गर्न सक्छ!

  • तपाईँले के बुझ्नुपर्छ?

  • तपाईँ के गर्न सक्नुहुन्छ?

  • तपाईँका साथीहरू के भन्छन्‌?

तपाईँले के बुझ्नुपर्छ?

  • इन्टरनेट चलाउँदैमा तपाईँले बोर महसुस गर्नुहुन्‍न भन्‍ने छैन।

    हुनत इन्टरनेट चलाउँदा समय बितेको पत्तो हुँदैन तर यसले आफ्नै दिमाग चलाएर केही नयाँ कुरा गर्न खासै प्रेरणा दिँदैन अनि तपाईँलाई झन्‌ बोर लाग्छ। एक्काइस वर्षीय जेरेमी यसो भन्छन्‌, “आफू एकोहोरो स्क्रिन मात्र हेरिरहेको हुन्छ, दिमागले केही सोचिरहेकै हुँदैन।”

    यस कुरामा एलेना नाम गरेकी युवती पनि सहमत छिन्‌। उनी यसो भन्छिन्‌, “इन्टरनेटमा हामीले गर्न सक्ने कुराको पनि एउटा सीमा हुन्छ। इन्टरनेट चलाउँदा हामी कल्पनाको दुनियाँमा रमाइरहेका हुन्छौँ अनि चलाउन बन्द गरेपछि हामीलाई झनै बोर लाग्न सक्छ।”

  • तपाईँको मनोवृत्तिले फरक पार्छ।

    आफूसित गर्ने काम धेरै छ भने बोर लाग्दैन भन्‍नु के सही हो? त्यो धेरै हदसम्म तपाईँ आफूले गरिरहेको कुरामा कत्तिको चासो राख्नुहुन्छ, त्यसमा भर पर्छ। उदाहरणको लागि, कारेन नाम गरेकी युवती यसो भन्छिन्‌: “स्कुलमा दिनभरि विभिन्‍न कुरा गर्नुपर्ने हुन्थ्यो, त्यसैले फुर्सदै हुँदैनथ्यो। तैपनि मलाई स्कुल जान साह्रै बोर लाग्थ्यो। काम जेसुकै होस्‌, मन लाएर गरेका छौँ भने हामीलाई बोर लाग्दैन।”

के तपाईँलाई थाह थियो? “कस्तो बोर, के गर्ने होला” भन्‍ने सोच्नुहुन्छ भने त्यो तपाईँको लागि एउटा राम्रो मौका हुन सक्छ। यो अवस्था उर्वर माटोजस्तो हो, जहाँ नयाँ-नयाँ कुराहरूप्रतिको रुचि मौलाउन सक्छ।

गमलामा भएको बोटमा गितार, कलम र कापी अनि पेन्टिङ गर्ने सरसामान उम्रिएको जस्तो देखिन्छ

आफूसित भएको समय उर्वर माटोजस्तो हो, जहाँ नयाँ-नयाँ कुराहरूप्रतिको रुचि मौलाउन सक्छ

तपाईँ के गर्न सक्नुहुन्छ?

विभिन्‍न कुरामा चासो राख्नुहोस्‌। नयाँ साथीहरू बनाउनुहोस्‌। नयाँ कुरामा रुचि जगाउनुहोस्‌। नयाँ विषयहरूमा अनुसन्धान गर्नुहोस्‌। विभिन्‍न कुरामा चासो राख्ने व्यक्‍तिहरूलाई एक्लै बस्नुपर्दा पनि त्यति बोर लाग्दैन अनि तिनीहरूलाई अरूसँग हुँदा बोर लाग्ने सम्भावना पनि कमै हुन्छ।

बाइबल सिद्धान्त: “तिम्रो हातमा जे काम छ, त्यो आफ्नो पूरा बल लगाएर गर।”—उपदेशक ९:१०.

“मैले हालसालै म्यान्डरिन चाइनिज भाषा सिक्न थालेँ। अहिले हरेक दिन अभ्यास गर्दा मलाई यस्तो कुरामा पहिल्यै दिमाग प्रयोग नगरेकोमा चुकचुक लाग्छ। मलाई कुनै एउटा खास प्रोजेक्ट बनाएर त्यसअनुसार काम गर्न मन पर्छ। यसो गर्दा मेरो मन त्यही कुरामा तल्लीन हुन्छ अनि म आफ्नो समयलाई अझ राम्ररी सदुपयोग गर्न सक्छु।”—मेलिन्डा।

आफ्नो लक्ष्यमा ध्यान दिनुहोस्‌। आफूले कुनै कुरा गर्नुपछाडिको उद्देश्‍य बुझ्नुभएको छ भने त्यस कुरामा तपाईँको चासो अझै बढ्‌नेछ। आफ्नो लक्ष्यमा ध्यान दिनुभएको छ भने तपाईँलाई स्कुलको पढाइ पनि त्यति बोर लाग्ने छैन।

बाइबल सिद्धान्त: “मानिसको लागि . . . आफ्नो कामबाट सन्तुष्टि पाउनुभन्दा उत्तम कुरा अरू केही छैन।”—उपदेशक २:२४.

“स्कुल सिद्धिने-सिद्धिने बेलातिर म हरेक दिन आठ घण्टा पढ्‌थेँ किनकि मैले सुरु-सुरुतिर त्यति पढेको थिइनँ। आफ्नो लक्ष्य हासिल गर्ने कुरामा ध्यान दिएकोले मलाई बोर लागेको महसुसै भएन। मैले स्कुलको पढाइ सकाउने आफ्नो लक्ष्यमा ध्यान दिएँ र त्यसले गर्दा म मेहनत गरेर पढ्‌न जुरमुरिएँ।”—हाना।

आफूले परिवर्तन गर्न नसक्ने कुराहरू पनि छन्‌ भनेर स्विकार्नुहोस्‌।

आफूलाई एकदम रमाइलो लाग्ने काम गर्दा पनि कुनै-कुनै कुरा एकनासले गरिरहनुपर्ने हुन्छ। अनि असाध्यै मन मिल्ने साथीहरूले पनि कहिलेकाहीँ पहिला बनाइसकेको योजना रद्द गर्न सक्छन्‌ र त्यसपछि तपाईँलाई के गरूँ के गरूँ हुन सक्छ। त्यस्तो परिस्थिति आइपर्दा दुःखी हुनु र मनमा नकारात्मक भावनाहरू खेलाउनुको साटो सकारात्मक सोचाइ राख्ने प्रयास गर्नुहोस्‌।

बाइबल सिद्धान्त: “हृदयमा आनन्द हुनेहरूको लागि हरेक दिन भोजजस्तै हुन्छ।”—हितोपदेश १५:१५.

“आफू एक्लै बस्नुपर्ने समयमा पनि रमाउन सिक भनेर मलाई एक जना साथीले सुझाव दिइन्‌। अरूसित छँदा मात्र होइन, आफू एक्लै हुँदा पनि रमाउन सिक्नुपर्छ; यो कुरा जिन्दगीमा सबैले सिक्नै पर्छ भनेर तिनले बताइन्‌।”—आइभी।

तपाईँका साथीहरू के भन्छन्‌

हाना

“मलाई रमाइलो जीवन बिताइरहेका मान्छेहरू देख्दा डाह लाग्थ्यो। तर मैले के बुझेँ भने तिनीहरू पनि साधारण मानिसहरू नै हुन्‌ तर फरक यति हो कि तिनीहरूले केही न केही कुरा गरिरहेका हुन्छन्‌। मैले पनि केही न केही गर्न थालेँ। मैले आफूलाई रुचि लाग्ने कुराहरू गर्न थालेँ अनि रोचक विषयहरूमा अनुसन्धान गर्न थालेँ। संसारमा भएका कुराहरूबारे जति धेरै सिक्दै जान्छौँ, त्यति नै रमाइलो लाग्न थाल्छ अनि हामीलाई बोर पनि लाग्दैन।”—हाना।

केलब

“भर्खरै किशोरावस्थामा टेक्दा म बोर लाग्यो कि भिडियो गेम खेल्थेँ। तर ठूलो हुँदै जाँदा मैले के महसुस गरेँ भने भिडियो गेमको रमाइलो त खेलुन्जेलको लागि मात्र हुँदो रहेछ। भिडियो गेम खेल्दा हामी त्यसैमा मग्न भइरहेका हुन्छौँ तर खेल्न सिद्धिएपछि आफूले केही उपलब्धि हासिल गरेको जस्तो लाग्दैन। त्यसैले मैले समय बिताउने अझ राम्रो तरिकाहरू भेट्टाएँ।”—केलब।

मिकेला

“मलाई पहिला कहिले दिन बित्ला जस्तो लाग्थ्यो, असाध्यै बोर महसुस गर्थेँ। तर मैले पछि यो कुरा बुझेँ, अरूहरूले मसित समय बिताएको चाहन्छु भने म पनि उनीहरूसित घुलमिल हुन अग्रसर हुनुपर्छ। मैले त्यसै गर्न थालेँ र नतिजा राम्रो भयो। मलाई अहिले एक्लै छँदा ‘बोर हुने समय’ रमाइलो लाग्न थालेको छ किनकि त्यस्तो समय हतपती आउँदैन।”—मिकेला।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने