के जनावरहरू स्वर्ग जान्छन्?
बाइबलको जवाफ
बाइबलले सीमित सङ्ख्याका मानिसहरू मात्र स्वर्ग जान्छन् भनेर सिकाउँछ। (प्रकाश १४:१, ३) तिनीहरूले त्यहाँ राजा र पुजारीको रूपमा येसुसँगै शासन गर्नेछन्। (लुका २२:२८-३०; प्रकाश ५:९, १०) अरू थुप्रै मानिसहरू भने यसै पृथ्वीमा फेरि जीवित हुनेछन्।—भजन ३७:११, २९.
बाइबलले कुकुर वा अरू कुनै घरपालुवा जनावर स्वर्ग जान्छ भनेर बताउँदैन र यो सही पनि हो। बाइबलमा “स्वर्गीय बोलावट” पाउन केही कदम चाल्नुपर्छ भनेर बताइएको छ। (हिब्रू ३:१) यी कदमहरूमा ज्ञान लिनु, विश्वास गर्नु र परमेश्वरका आज्ञाहरू मान्नु समावेश छ। (मत्ति १९:१७; युहन्ना ३:१६; १७:३) तर जनावरहरूले भने यी कदमहरू चाल्न सक्दैनन्। त्यसैले मानिसहरूलाई मात्र सधैँभरि बाँच्ने आशासहित सृष्टि गरिएको थियो, जनावरहरूलाई त होइन।—उत्पत्ति २:१६, १७; ३:२२, २३.
स्वर्ग जान सुरुमा त मरेकाहरू फेरि जीवित हुनु जरुरी छ। (१ कोरिन्थी १५:४२) बाइबलमा मरेकाहरू फेरि जीवित भएका केही विवरणहरू पाइन्छन्। (१ राजा १७:१७-२४; २ राजा ४:३२-३७; १३:२०, २१; लुका ७:११-१५; ८:४१, ४२, ४९-५६; युहन्ना ११:३८-४४; प्रेषित ९:३६-४२; २०:७-१२) तर तिनीहरू सबै मानिस नै थिए, जनावर त होइन।
जनावरहरू मरेपछि तिनीहरूलाई के हुन्छ?
बाइबलले मानिस र जनावर दुवै “जीवित” प्राणी हुन् भनेर बताउँछ। मानिस र जनावर दुवै “भूमिको माटोबाट” बनाइएका हुन् र तिनीहरूमा “जीवनको सास” हालिएको छ। त्यसैले मानिस र जनावरको जीवन उस्तै हो भन्न सकिन्छ।—उत्पत्ति १:२४; २:७; गन्ती ३१:२८.
बाइबलले जनावर र मानिस दुवै मर्छन् भनेर पनि बताएको छ। (प्रस्थान १९:१३) जनावर र मानिस मरेपछि माटोमै मिल्छन्। (उपदेशक ३:१९, २०) भन्नुको मतलब, तिनीहरूको कुनै अस्तित्व नै रहँदैन।a
के जनावरहरूले पाप गर्छन्?
गर्दैनन्। पाप गर्नु भनेको परमेश्वरको स्तरविपरीतका कुराहरू सोच्नु वा त्यसलाई व्यवहारमा देखाउनु हो। नैतिक चेतना भएको प्राणीले मात्र पाप गर्ने सम्भावना हुन्छ। तर जनावरहरूमा नैतिक चेतना हुँदैन। बरु तिनीहरू अक्सर सहज ज्ञानको भरमा चल्छन्। (२ पत्रुस २:१२) त्यसैले जनावरहरूले पाप नगरे पनि आयु पुगेपछि तिनीहरू मर्छन्।
के जनावरहरूलाई दुर्व्यवहार गर्नु ठीक हो?
होइन। परमेश्वरले मानिसहरूलाई जनावरहरूमाथि अधिकार दिनुभयो तर जनावरहरूलाई दुर्व्यवहार गर्ने अनुमति भने दिनुभएन। (उत्पत्ति १:२८; भजन ८:६-८) परमेश्वर सबै जीवजन्तुको, यहाँसम्म कि चराचुरुङ्गीको पनि ख्याल राख्नुहुन्छ। (योना ४:११; मत्ति १०:२९) त्यसैले उहाँले आफ्ना उपासकहरूलाई जनावरहरूप्रति कठोर व्यवहार नगर्न आज्ञा दिनुभयो।—प्रस्थान २३:१२; व्यवस्था २५:४; हितोपदेश १२:१०.