शास्त्रपदको व्याख्या
लुका १:३७—“परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन”
“आफूले भनेको कुनै पनि कुरा पूरा गर्न परमेश्वरको लागि असम्भव हुँदैन।”—लुका १:३७, नयाँ संसार अनुवाद।
“परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।”—लुका १:३७, नयाँ संशोधित संस्करण।
लुका १:३७ को अर्थ
सर्वशक्तिमान् परमेश्वरले मानिसको नजरमा असम्भव देखिने काम पनि पूरा गर्न सक्नुहुन्छ। आफूले भनेको कुरा वा आफ्नो प्रतिज्ञा पूरा गर्नदेखि यहोवालाई कुनै कुराले रोक्न सक्दैन।
यहोवाa परमेश्वर आफूले भनेको कुरा सधैँ पूरा गर्नुहुन्छ। त्यसैले लुका १:३७ मा चलाइएको मौलिक ग्रीक अभिव्यक्तिलाई यसरी पनि अनुवाद गर्न सकिन्छ: “किनकि परमेश्वरका प्रतिज्ञाहरू अचुक छन्” वा “किनकि परमेश्वरको लागि सबै कुरा सम्भव छ।” यी अभिव्यक्तिहरूले यो महत्त्वपूर्ण सत्यलाई जोड दिन्छ: परमेश्वरले भन्नुभएको कुरा वा उहाँको प्रतिज्ञा पूरा भएरै छोड्छ किनकि उहाँको लागि कुनै कुरा असम्भव छैन।—यसैया ५५:१०, ११.
बाइबलमा परमेश्वरका प्रतिज्ञाहरू पूरा हुने विषयमा यस्तै अभिव्यक्तिहरू चलाइएको छ। उदाहरणको लागि, यहोवाले स्वर्गदूतमार्फत अब्राहामकी बाँझी पत्नी सारा बुढेसकालमा गर्भवती हुनेछिन् भनेर बताउनुभयो। उहाँले यसो पनि भन्नुभयो: “यहोवाको लागि कुनै कुरा असम्भव छ र?” (उत्पत्ति १८:१३, १४) परमेश्वरको सृष्टिबारे मनन गरेपछि उहाँका सेवक अय्युबले यो कुरा स्विकारे: “आफूले ठानेको कुनै पनि कुरा पूरा गर्नु तपाईँको लागि असम्भव छैन।” (अय्युब ४२:२) साथै येसुका अनुयायीहरूले आफू परमेश्वरबाट उद्धार पाउन लायकको छैनँ भनेर चिन्ता व्यक्त गर्दा उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “परमेश्वरको लागि भने सबै कुरा सम्भव छ।”—मत्ति १९:२५, २६.b
लुका १:३७ को प्रसङ्ग
लुका १:३७ को कुरा गब्रिएल स्वर्गदूतले मरियम नाम गरेकी यहुदी कन्यालाई भनेका थिए। यसअघि गब्रिएलले मरियमलाई उनले “सर्वोच्च परमेश्वरका छोरा”-लाई जन्म दिनेछिन् र “उहाँको नाम येसु राख्नू” भनेर बताएका थिए। उहाँ परमेश्वरको राज्यको राजा हुनुहुने थियो, जुन रा१ज्यले सदासर्वदा शासन गर्ने थियो।—लुका १:२६-३३; प्रकाश ११:१५.
मरियमले यो कसरी सम्भव छ भनेर सोधिन् किनकि उनी अविवाहित र “कुमारी” थिइन्। (लुका १:३४, ३५) परमेश्वरले आफ्नो सक्रिय शक्ति अर्थात् पवित्र शक्ति चलाउनुहुनेछ भनेर गब्रिएलले बताए। त्यतिबेला परमेश्वरका छोरा येसु स्वर्गमा हुनुहुन्थ्यो। त्यसैले उहाँले पवित्र शक्ति चलाउनुभएर आफ्नो छोराको जीवन मरियमको गर्भमा सारिदिनुभयो। (युहन्ना १:१४; फिलिप्पी २:५-७) यसरी उनी चमत्कारपूर्ण तरिकामा गर्भवती भइन्। परमेश्वरको शक्तिमाथि मरियमको भरोसा बलियो बनाउन स्वर्गदूतले उनलाई उनकी नातेदार इलिसिबा “बुढेसकालमा गर्भवती भएकी छिन्” र तिनले एउटा छोरा जन्माउनेछिन् भनेर बताए। इलिसिबा बाँझी भएकीले तिनी र तिनका पति जकरियाको कुनै सन्तान थिएन। (लुका १:३६) तिनीहरूका छोरा पछि बप्तिस्मा गराउने युहन्ना भनेर चिनिए। परमेश्वरले उनको सेवाको कामबारे पहिल्यै बताउनुभएको थियो।—लुका १:१०-१६; ३:१-६.
त्यसपछि गब्रिएलले सायद मरियम र इलिसिबा दुवैबारे विचार गर्दै लुका १:३७ मा लेखिएको कुरा बताए। यस पदबाट आज पनि परमेश्वरका उपासकहरूले उहाँ आफ्ना प्रतिज्ञाहरू सधैँ पूरा गर्नुहुन्छ भनेर प्रोत्साहन पाउँछन्। ती प्रतिज्ञाहरूमा अहिलेका मानव सरकारहरूको ठाउँ स्वर्गको राज्यले लिने प्रतिज्ञा पनि समावेश छ र यस राज्यको राजा येसु ख्रिष्ट हुनुहुन्छ।—दानिएल २:४४; ७:१३, १४.
लुकाको किताबको विषयवस्तुबारे बुझ्न यो छोटो भिडियो हेर्नुहोस्।
a परमेश्वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” लेख हेर्नुहोस्।
b यस्तै अभिव्यक्तिहरू गन्ती २३:१९; यहोसु २१:४५; १ राजा ८:५६; अय्युब ३७:५; भजन १३५:६; यर्मिया ३२:१७; दानिएल ४:३५ मा पनि पाइन्छ।