तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
जीवन परिवर्तन गर्ने लिपि
अक्टोबर १, २०२१
सन् १९१२, जुन १ को प्रहरीधरहरा-मा यस्तो लेखिएको थियो: “हाम्रा धेरैजसो पाठकहरू सायद दृष्टिविहीनहरूलाई चिन्नुहुन्छ। उहाँहरूको लागि पनि पढ्न सकिने प्रकाशन निश्शुल्क पाउन सकिन्छ। . . . यी प्रकाशनहरू दृष्टिविहीनहरूले पढ्न सकिनेगरि अक्षरहरू कुँदिएर छापिएको छ।” त्यस प्रहरीधरहरा-मा यस्तो पनि लेखिएको थियो: “सुन्दर नयाँ संसार आउँदैछ भन्ने सन्देशले थुप्रै दृष्टिविहीनको मन छोएको छ।”
यी शब्दहरू लेखिँदा विश्वव्यापी तवरमा मान्य अङ्ग्रेजी ब्रेल लिपि स्थापित भएको थिएन। तैपनि यहोवाका साक्षीहरूले “अक्षर कुँदिएको” अर्थात् ब्रेल लिपिमा लेखिएका प्रकाशनहरू प्रयोग गरेर मानिसहरूलाई सत्य बाँड्दै थिए। अनि अहिले पनि हामी त्यसै गर्दै छौँ। अहिले हाम्रा ब्रेल प्रकाशनहरू ५० वटा भन्दा धेरै भाषामा उपलब्ध छन्। ती कसरी बनाइन्छ?
खोपिएको एउटा अक्षरमा कम्तीमा एउटा अनि बढीमा छ वटा थोप्ला हुन्छ। अक्षरहरू खोप्न थोप्लाहरूलाई छ वटा कोठा भएका बाकसमा मिलाएर राखिन्छ
सार्ने अनि छाप्ने
ब्रेल प्रकाशन तयार पार्न गर्नुपर्ने पहिलो काम भनेको अक्षरहरू ब्रेल लिपिमा सार्नु हो। न्यु योर्कको प्याटर्सनमा रहेको टेक्स्ट प्रोसेसिङ सर्भिसमा सेवा गर्ने भाइ माइकल मिलेन यसो भन्नुहुन्छ, “विगतमा हामीले ब्रेलमा अक्षर सार्न अरूले बनाएका सफ्टवेयर प्रयोग गर्थ्यौँ तर हामी त्यो सफ्टवेयर आवश्यक सबै भाषाको लागि प्रयोग गर्न सक्दैनथ्यौँ। अहिले हामी वाचटावर ट्रान्स्लेसन सिस्टम प्रयोग गर्छौँ, यसले गर्दा थुप्रै भाषाका ब्रेल लिपिमा अक्षरहरू सार्न मदत मिलेको छ। मलाई लाग्छ यो जस्तो सफ्टवेयर संसारमा अन्त कतै छैन।”
ब्रेल प्रकाशनमा चित्रहरूको व्याख्या पनि समावेश गरिएको हुन्छ। उदाहरणको लागि, सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! प्रकाशनको अघिल्लो पृष्ठमा भएको चित्र ब्रेल संस्करणमा यसरी व्याख्या गरिएको छ: “एक जना मानिस दायाँबायाँ सुन्दर बोटबिरुवा र डाँडाकाँडा भएको घुमाउरो बाटोमा हिँड्न थाल्दै छन्।” एक जना दृष्टिविहीन अग्रगामी अनि सहायक सेवक भाइ जामसेद यसो भन्छन्, “यस्ता चित्रहरूको व्याख्या मेरो लागि अमूल्य छन्।”
सार्ने काम सिद्धिएपछि ती प्रकाशनहरू छाप्न शाखा कार्यालयमा पठाइन्छ। त्यहाँ ब्रेल लिपिका अक्षर बाक्लो कागजमा खोपिन्छ, जसले गर्दा अक्षरहरू खोपिँदा अनि पछि बारम्बार प्रयोग गर्दा कागज च्यातिँदैन। त्यसपछि पानाहरू जम्मा गरिन्छ र गाँसिन्छ अनि अरू प्रकाशनहरूजस्तै मण्डलीहरूमा ढुवानी गरिन्छ अथवा हुलाकमा दृष्टिविहीनहरूको लागि निश्शुल्क सामग्री पठाउने सुविधा छ भने छुट्टै पठाइन्छ। आवश्यक परेको बेलामा शाखा कार्यालयले दृष्टिविहीन वा राम्ररी आँखा नदेख्नेहरूलाई तुरुन्तै ब्रेल प्रकाशनहरू पठाउने प्रबन्ध पनि मिलाउँछन्। यसो गर्दा ती भाइबहिनीहरूले सभाको लागि चाहिने प्रकाशनहरू तुरुन्तै पाउन सक्नुहुन्छ।
यी सबै काम गर्न धेरै समय अनि पैसा चाहिन्छ। अझ भन्ने हो भने, न्यु योर्कको वाल्किलमा रहेको छापाखानामा ब्रेल लिपिको दुई वटा मात्र बाइबल उत्पादन गर्न अनि ५० हजार साधारण बाइबल उत्पादन गर्न उति नै समय लाग्छ। अङ्ग्रेजी भाषाको ब्रेल लिपिको बाइबल २५ वटा खण्डमा छुट्याइएको छ। यो उत्पादन गर्न साधारण बाइबलको तुलनामा १२३ गुणा बढी खर्च लाग्छ। एउटा बाइबलको २५ वटा खण्डको बाहिरी गाता बनाउन नै करिब १५० अमेरिकी डलर (लगभग १७ हजार ८ सय नेपाली रुपैयाँ) पर्छ।
अङ्ग्रेजी भाषाको ब्रेल लिपिको नयाँ संसार अनुवाद २५ वटा खण्डमा छुट्याइएको छ।
ब्रेल प्रकाशनहरू तयार गर्न मदत गर्नेहरू आफ्नो कामप्रति कस्तो महसुस गर्नुहुन्छ? दक्षिण अफ्रिकाको शाखामा सेवा गर्ने बहिनी नाडिया यसो भन्छिन्, “दृष्टिविहीन अथवा राम्ररी आँखा नदेख्ने हाम्रा भाइबहिनीको जीवन सजिलो छैन। त्यसैले उहाँहरूको लागि कुनै उपयोगी कुरा बनाउन पाउनु मेरो लागि ठूलो आशिष् हो। यो यहोवा उहाँहरूलाई धेरै माया गर्नुहुन्छ भन्ने कुराको प्रमाण हो।”
ब्रेल पढ्न सिक्नुहोस्
यदि कुनै दृष्टिविहीनले ब्रेल लिपि पढ्न सक्दैनन् भने नि? केही वर्षअगाडि हामीले ब्रेल पढ्न सिक्नुहोस् (अङ्ग्रेजी) पुस्तिका विमोचन गरेका थियौँ, जसमा ब्रेल लिपि खोपिनुका साथै अक्षरहरू पनि छापिएको थियो। यो पुस्तिका आँखा देख्ने अनि नदेख्ने व्यक्तिहरूले मिलेर प्रयोग गर्ने तरिकामा बनाइएको छ। यस पुस्तिकासँगै ब्रेल लेख्न चाहिने अरू सामग्री पनि उपल्बध गराइन्छ। यी प्रयोग गरेर ब्रेल सिकिरहेको व्यक्तिले आफै ब्रेल लिपिका अक्षरहरू खोप्न सक्छन्। यसरी आफै खोपेर अभ्यास गर्दा ब्रेलका अक्षरहरू चिन्न अनि याद राख्न सजिलो हुन्छ।
“मलाई यी निकै मनपर्छ”
आँखा नदेख्ने वा राम्ररी हेर्न नसक्ने भाइबहिनीहरूलाई यी प्रकाशनहरूले कसरी मदत गरेको छ? हाइटीमा बस्ने एक जना भाइ अर्नस्ट मण्डलीका सभाहरूमा त उपस्थित हुन्थे तर तिनीसित ब्रेल प्रकाशन भने थिएन। त्यसैले आफ्नो असाइनमेन्ट प्रस्तुत गर्न अनि टिप्पणीहरू दिन उहाँले एक-एक कुरा याद राख्नुपर्थ्यो। तिनी यसो भन्छन्, “तर अहिले म जुनसुकै बेला हात उठाउन अनि टिप्पणी दिन सक्छु। म साँच्चै अरू भाइबहिनीसित एक भएको महसुस गर्छु। हामी सबैले एउटै आध्यात्मिक भोजनबाट लाभ उठाउन सकिरहेका छौँ।”
अस्ट्रियाको एक जना एल्डर यान राम्ररी आँखा देख्दैनन् तैपनि प्रहरीधरहरा अध्ययन अनि मण्डली बाइबल अध्ययन सञ्चालन गर्छन्। तिनी यसो भन्छन्, “मैले पढेको अरू ब्रेल प्रकाशनको तुलनामा हाम्रो प्रकाशन निकै स्पष्ट छ। उदाहरणको लागि, हाम्रो प्रकाशनमा पृष्ठ सङ्ख्या, फुटनोट सजिलै भेट्टाउन सकिन्छ अनि राम्ररी चित्रको व्याख्या गरिएको हुन्छ।”
दक्षिण कोरियाकी एक अग्रगामी बहिनी सान उक आँखा देख्दिनन् अनि कान पनि सुन्दिनन्। विगतमा मण्डलीका सभाहरूबाट लाभ उठाउन तिनलाई अरूको मदत चाहिन्थ्यो तर अहिले तिनी आफैले ब्रेल लिपिमा उपलब्ध बाइबल अध्ययन सामग्री पढ्न सक्छिन्। तिनी भन्छिन्, “अरू ब्रेल प्रकाशनहरू पढ्न निकै गाह्रो हुन्छ किनभने त्यसमा कहिलेकाहीँ ब्रेलका अक्षर राम्ररी खोपिएको हुँदैन, लाइन बाङ्गो टिङ्गो हुन्छ अनि कागज पनि एकदम पातलो हुन्छ। तर यहोवाका साक्षीहरूले राम्रो खालको कागज प्रयोग गर्ने भएकोले अनि अक्षर पनि राम्ररी खोपिने भएकोले पढ्न निकै सजिलो हुन्छ।” तिनी अझै यसो भन्छिन्, “विगतमा म अरूको मदतले मात्र बाइबल आधारित प्रकाशनहरू अध्ययन गर्न सक्थेँ। तर अहिले म आफै ती अध्ययन गर्न सक्छु। प्रत्येक हप्ता हुने हाम्रा सभाहरूको लागि तयारी गर्न अनि त्यसमा भाग लिन सकेकोमा म एकदमै खुसी छु। हाम्रो सबै ब्रेल प्रकाशन म पढ्छु। मलाई यी निकै मनपर्छ।”
हाम्रा अरू प्रकाशनमा जस्तै ब्रेल प्रकाशनहरूमा पनि यस्तो लेखिएको हुन्छ: “यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।” donate.jw.org मा उल्लेख गरिएका तरिकाहरूमार्फत अनुदान दिनुभएकोमा तपाईँहरूलाई धन्यवाद छ। तपाईँले उदार भई दिनुभएको अनुदानले गर्दा दृष्टिविहीन अनि राम्ररी नदेख्ने मानिसहरू लगायत अरू सबैले आध्यात्मिक भोजन पाउन सकेका छन्।