तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
कोभिड-१९ महामारीको दौडान सभाभवनहरूलाई सुरक्षित बनाउँदै
अक्टोबर १, २०२२
“सरकारले सुरक्षासम्बन्धी कुनै रोक नलगाएको अवस्थामा परिचालक निकायले सबै मण्डलीलाई अप्रिल १ को हप्तादेखि सभाभवनमै उपस्थित भएर सभा सुरु गर्न प्रोत्साहन दिन्छ।” यो घोषणा मार्च २०२२ को सुरुतिर jw.org मा गरिँदा संसारभरिका यहोवाका साक्षीहरू धेरै खुसी भए। तर कोभिड-१९ महामारी पूर्णतया हटिसकेको थिएन।a सभाभवनमा उपस्थित भएकाहरूलाई भाइरसको संक्रमणदेखि जोगाउन के-कस्ता छाँटकाँट गर्नुपर्ने भयो? अनि कस्ता सरसामान जुटाउनुपऱ्यो? के सभाभवनहरूमा लगभग दुई वर्षपछि फेरि सभा गर्न सम्भव हुने थियो?
वास्तवमा हाम्रा भाइहरूले सभाभवनहरूमा फेरि सभा गर्न सकियोस् भनेर महिनौँ अघिदेखि नै तयारी गर्दै थिए।
फरक आवश्यकता, फरक समाधान
सन् २०२० मा भेटेरै सभा गर्न बन्द गरिएको एक महिनापछि न्यू योर्कको वारविकस्थित विश्वव्यापी डिजाइन/निर्माण विभागले महामारीको कारण सभाभवनको प्रयोगमा कस्तो असर पर्न सक्छ भनेर अनुसन्धान गर्न थाल्यो। साथै सभा सञ्चालन गरिने ठाउँलाई सुरक्षित बनाउन के गर्न सकिन्छ भनेर पनि विचार गऱ्यो।
संसारको एउटा ठाउँमा आवश्यक पर्ने कुरा अर्को ठाउँमा त्यति आवश्यक नहुन सक्छ। विश्वव्यापी डिजाइन/निर्माण विभागमा काम गर्ने म्याथ्यु डे साङटिस् यसो भन्छन्, “केही देशहरूमा हात धुने ठाउँ नै छैन। अझ सभाभवनमा धाराको पानी नहुँदा पानी किन्नुपर्ने वा स्थानीय खोला अथवा इनारबाट ल्याउनुपर्ने हुन्छ। साथै केही देशहरूमा एयरकण्डिसन, भेन्टिलेसन र स्वास्थ्य अनि सरसफाइसम्बन्धी नियमहरूमा केही छाँटकाँट गरियो।”
हाम्रा भाइहरूले कसरी ती चुनौतीहरूको सामना गरे? थुप्रै सभाभवनमा “साधारण र सस्ता तरिकाहरू अपनाउँदा समस्याको समाधान” भएको कुरा म्याथ्यु बताउँछन्। उदाहरणको लागि, पापुआ न्यु गिनीमा २० लिटर प्लास्टिकको ग्यालेनहरूमा धाराहरू जोडेर हात धुने ठाउँहरू बनाइयो। यसरी भाइहरूले जम्मा ४० अमेरिकी डलर खर्च गरेर विकट ठाउँका सभाभवनहरूमा समेत हात धुने प्रबन्ध मिलाउन सके। अफ्रिकाका सभाभवनहरूमा भने हात धुन चाहिने ६ हजारभन्दा धेरै गुणस्तरीय सामानहरू एसियाका बिक्रेताहरूबाट खरिद गरियो।
सरसफाइको सन्दर्भमा आमाबुबाले छोराछोरीका लागि राम्रो उदाहरण बसालेका छन्
सभाभवनमा ताजा हावा छिर्न सकोस् भनेर नयाँ पङ्खाहरू र भेन्टिलेसनहरू जडान गरियो वा पुरानोलाई मर्मतसम्भार गरियो। भाइबहिनीहरूको हातहातमा माइक पास गर्न नपरोस् भनेर थुप्रै मण्डलीले माइक स्ट्यान्डहरू किने। धेरैले प्रयोग गर्ने ढोकाको ह्यान्डल र धाराजस्ता कुराहरूबाट सजिलै भाइरस सर्ने भएकोले ती कुराहरूलाई कम प्रयोग गर्न र निरन्तर सफा गर्न प्रयास गरियो। केही मण्डलीले शौचालयमा आफै पानी आउने सेनसर धाराहरू पनि जडान गरे। यी आवश्यक परिवर्तनहरू गर्दा चिलीमा प्रत्येक मण्डलीको लागि लगभग १ हजार ४ सय अमेरिकी डलर खर्च भयो।
माइक हातहातमा पास गरिएन
सभाभवनको सुरक्षालाई प्राथमिकता दिनुका साथै भाइहरूले अनुदानको रकम बचत गर्न पनि प्रयास गरे। उदाहरणको लागि, केही ठाउँमा भाइहरूले सरकारले दिएको छुट प्रयोग गर्दै माइक स्ट्यान्डहरू र हात धुने ठाउँहरू बनाउन चाहिने सामानहरू किने। अनुदानको बचत गर्न शाखाहरूले एकैचोटि धेरै सामान किने। शाखाहरू र विश्वव्यापी किनमेल विभागले अक्सर सीधै उत्पादकहरूबाट सामान किन्ने प्रबन्ध पनि मिलाए। यसले गर्दा सामानहरू सस्तोमा किन्न सकियो र कम समयमै ढुवानी भयो।
स्यानिटाइज गर्ने ठाउँ
“मैले सुरक्षित महसुस गरेँ”
सभाभवनलाई किटाणुमुक्त बनाउन गरिएका प्रबन्धहरूले त्यहाँ आउनेहरू सुरक्षित हुनेछन् भनेर ढुक्क बनायो। फेरि सभाभवन जान सकिने कुरा थाह पाउँदा पेरूमा बस्ने बहिनी डल्सिनले आफूलाई “अलि डर लागेको” कुरा बताइन्। तिनी भन्छिन्, “महामारी सुरु हुनेबित्तिकै मलाई कोभिड लाग्यो। त्यसैले फेरि सङ्क्रमण हुने हो कि भन्ने डरले सभाभवन जान अप्ठेरो लागिरहेको थियो। तर त्यहाँ पुगेपछि एल्डरहरूले सुरक्षाका उपायहरू अपनाउनुभएको याद गरेँ। जस्तै: हात स्यानिटाइज गर्ने ठाउँहरू, माइक स्ट्यान्डहरू अनि प्रत्येक सभा अघि र पछि सभाभवन किटाणुमुक्त बनाउन गरिएका प्रबन्धहरू। यी प्रबन्धहरूले गर्दा मैले सुरक्षित महसुस गरेँ।”b
सभाभवनलाई किटाणुमुक्त बनाउँदै
जाम्बियाकी सारा बहिनीले फरक चुनौतीको सामना गरिन्। तिनी भन्छिन्, “केही महिनाअघि कोभिडको कारण मेरो श्रीमान् बित्नुभयो। कोभिडपछि उहाँबिना पहिलो पटक सभा जाँदा कस्तो हुने होला भनेर मलाई चिन्ता लागेको थियो।” सभाभवन जानेबारे अहिले तिनी कस्तो महसुस गर्छिन्? तिनी भन्छिन्, “सभाभवनमै उपस्थित हुँदा यस अन्तको दिनमा यहोवा हामीसितै हुनुहुन्छ भन्ने कुरामा म ढुक्क हुन सकेँ। अहिले एल्डरहरू र भाइबहिनीहरूबाट पहिलेभन्दा पनि धेरै प्रेम, प्रोत्साहन अनि साथ पाएको महसुस गर्छु।”
सभामा फेरि उपस्थित हुन पाउँदा रमाउँदै
विश्वभरिका हाम्रा प्यारा भाइबहिनीहरू फेरि सभाभवन जान पाएकोमा कृतज्ञ छन्। तपाईँहरूले donate.jw.org लगायत अन्य तरिकामा दिनुभएको अनुदानको लागि धेरै धन्यवाद! यी अनुदानहरूले शुद्ध उपासनाका केन्द्रहरू आरामदायी र भेला हुन सुरक्षित छन् भन्ने कुरामा हामीलाई ढुक्क बनाएको छ।
a आवश्यक पर्नेहरूका लागि भिडियो कन्फरेन्स् वा टेलिफोनमार्फत सभामा उपस्थित हुने प्रबन्ध पनि मिलाइएको थियो।
b साथै सभाभवनमा उपस्थित हुने सबैलाई अनिवार्य रूपमा मास्क लगाउन प्रोत्साहन दिइएको थियो।