तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
हाम्रा भाइबहिनी र वातावरणलाई फाइदा पुग्ने कामहरू
अप्रिल १, २०२५
पृथ्वीमा मानिसजातिले पुऱ्याएको हानिलाई हटाउन यहोवा परमेश्वरले चाँडै कदम चाल्नुहुनेछ भनेर हामी यहोवाका साक्षीहरूले बुझेका छौँ। (प्रकाश ११:१८) तैपनि पृथ्वीमा भइरहेको हानिलाई बढ्न नदिन हामी अहिले सक्दो प्रयास गर्दै छौँ। जस्तै, हामीले यहोवाको उपासनामा प्रयोग गरिने भवनहरू वातावरणलाई हानि नपुग्ने तरिकामा बनाएका छौँ।
हाम्रा यी परियोजनाहरू वातावरणलाई सकेसम्म कम हानि पुग्ने तरिकामा तयार पारिएको छ। त्यसोभए हामीले के-कस्ता परियोजनाहरू सकाएका छौँ? अनि यसले गर्दा कसरी भाइबहिनीको अनुदानको उचित प्रयोग भएको छ?
सम्मेलन भवनलाई शीतल बनाउन गरिएको प्रयास
पहिला मोजाम्बिकमा भएको मटोला सम्मेलन भवनमा साधारण पाताको छाना थियो र त्यो भवन चारैतिरबाट खुल्ला थियो। सूर्यको रापले गर्दा त्यो छाना निकै तात्ने भएकोले भवनभित्र अत्यधिक गर्मी हुन्थ्यो। त्यहाँका एक स्थानीय भाइ यसो भन्छन्: “गर्मीले गर्दा हामी असिनपसिन हुन्थ्यौँ। कार्यक्रम सकिनेबित्तिकै भाइबहिनीहरू चिसो हावा खान हतारहतार बाहिर निस्किहाल्थे।” भाइबहिनीलाई कार्यक्रममा ध्यान दिन सजिलो होस् भनेर सम्मेलन भवनलाई अझ आरामदायी बनाउन हामीले के गऱ्यौँ?
हामीले वातावरणलाई हानि नपुग्ने तरिकामा यसको समाधान गऱ्यौँ। हामीले हावाबाट चल्ने पङ्खा र इन्सुलेसन जडान गऱ्यौँ। इन्सुलेसनले घामको अत्यधिक तापलाई भवनभित्र पस्न दिँदैन र पङ्खाहरूले गर्दा भवनभित्र मजाले ताजा हावा छिर्न पाउँछ। ती पङ्खाहरू प्रयोग गर्न उर्जा चाहिँदैन। बरु हावाको मदतले नै यसले भवनभित्रको तातो हावालाई बाहिर फाल्छ। यसको लागि प्रति पङ्खा लगभग ५० अमेरिकी डलर खर्च भयो।
मटोला सम्मेलन भवनमा हावाबाट चल्ने पङ्खाहरू
यस समाधानले गर्दा सम्मेलन भवनभित्र ताजा हावा छिर्न सकेको छ। अनि भवनभित्र कार्बन डाइअक्साइडको मात्रा घटेको छ र अक्सिजनको मात्रा धेरै भएको छ। हावा नगुम्सिने भएकोले भवनहरूमा पहिलाजस्तो ढुसी परेको छैन र भवनहरू पहिलाजस्तो बिग्रिएका पनि छैनन्। नतिजास्वरूप, उपस्थित हुनेहरूलाई कार्यक्रममा अझ राम्ररी ध्यान दिन सजिलो भएको छ। अगाडि उल्लेख गरिएका भाइ अझै यसो भन्छन्: “अहिले हामी कार्यक्रम सकिनेबित्तिकै हतारहतार बाहिर निस्किदैनौँ। बरु हामी खाजा खाने समयमा भवनभित्रै बस्छौँ र साथीहरूसँग कुराकानी गर्छौँ। नयाँ छतमुनि बस्न पाउँदा ठूलो रूखमुनि बसेर शीतल हावा खाएको जस्तै लाग्छ।”
अहिले हाम्रा भाइबहिनीले सम्मेलन र अधिवेशनहरूबाट अझ धेरै लाभ उठाउन सकेका छन्
सूर्यबाट पाइने उर्जाको प्रयोग
संसारको विभिन्न ठाँउमा रहेका हाम्रा थुप्रै भवनहरूमा हामीले सोलार प्यानलहरू जडान गरेका छौँ। यी सोलार प्यानलहरूले घामको किरणलाई विद्युतमा परिणत गर्छ। यसले गर्दा हामी विद्युतको लागि पेट्रोल र कोइलाजस्ता जैविक इन्धनहरूमा त्यति निर्भर भएका छैनौँ। यस्ता सोलार प्यानलको प्रयोगले प्रदुषण कम गर्न र भाइबहिनीले दिएको अनुदानको बचत गर्न मदत गरेको छ।
सन् २०२२ मा स्लोभेनिया शाखा कार्यालयमा सोलार प्यानलहरू जडान गरिए। यी सोलार प्यानलहरूले भवनमा प्रयोग हुने उर्जाको ३० प्रतिशत उर्जा प्रदान गर्छ। यी प्यानलहरूले शाखालाई चाहिने भन्दा बढी विद्युत उत्पादन गर्दा बाँकी रहेको उर्जा वरपर बस्ने मानिसहरूले प्रयोग गर्छन्। यी सोलार प्यानलहरूको कुल खर्च ३ लाख ६० हजार अमेरिकी डलर पऱ्यो। तर अहिले शाखाको बिजुलीको बिल कम आउने भएकोले केही रकम बचत हुन्छ। यसरी चार वर्षमा बचत हुने रकमले यी प्यानलहरू जडान गर्न लागेको खर्च बेहोर्छ।
स्लोभेनिया शाखा
सन् २०२४ मा हामीले श्रीलङ्का शाखा कार्यालयमा सोलार प्यानलहरू र ठूलो ब्याट्री जडान गऱ्यौँ। यस परियोजनामा लगभग ३० लाख अमेरिकी डलर खर्च भयो। यी सोलार प्यानलहरूले भवनमा प्रयोग हुने उर्जाको ७० प्रतिशत उर्जा प्रदान गर्छ। त्यसैले तीन वर्षमा बचत हुने रकमले यी प्यानलहरू जडान गर्न लागेको खर्च बेहोर्छ। त्यही वर्ष हामीले नेदरल्याण्ड्स शाखा कार्यालयमा पनि सोलार प्यानलहरू जडान गऱ्यौँ। यसमा लगभग ११ लाख अमेरिकी डलर खर्च भयो। यी प्यानलहरूले भवनमा प्रयोग हुने उर्जाको ३५ प्रतिशत उर्जा प्रदान गर्छ। त्यसैले नौ वर्षमा बचत हुने रकमले यी प्यानलहरू जडान गर्न लागेको खर्च बेहोर्छ।
नेदरल्याण्ड्स शाखा
हामीले मेक्सिकोमा भएका स-साना अनुवाद कार्यालयहरूमा पनि सोलार प्यानलहरू जडान गऱ्यौँ। चिवावामा भएको ताराउमाराको (मध्य) सानो अनुवाद कार्यालयबारे विचार गरौँ। जाडोमा त्यहाँको तापक्रम शून्य डिग्री सेल्सियसभन्दा कम र गर्मीमा ४० डिग्री सेल्सियसभन्दा बढी हुन्छ। तैपनि बिजुलीको बिल धेरै आउने भएकोले त्यहाँका भाइबहिनीले न्यानो वा शीतल बनाउने उपकरणहरू प्रयोग गर्दैनन्। अनुवाद कार्यालयमा सेवा गर्ने जोनाथन यसो भन्छन्: “हामी जाडोमा ब्ल्याङ्केटहरू प्रयोग गर्थ्यौँ र बाक्लो लुगा लगाउँथ्यौँ अनि गर्मीमा चाहिँ झ्यालहरू खुल्लै राख्थ्यौँ।”
सन् २०२४ मा त्यहाँको अनुवाद कार्यालयमा सोलार प्यानल जडान गरियो। यसको लागि २१ हजार ४ सय ८० अमेरिकी डलर खर्च भयो। तर पाँच वर्षमा बचत हुने रकमले यी प्यानलहरू जडान गर्न लागेको खर्च बेहोर्छ। अहिले हाम्रा भाइबहिनीले न्यानो र शीतल बनाउने उपरकरणहरू मजाले प्रयोग गर्न सकेका छन्। जोनाथन अझै यसो भन्छन्: “हामीले पहिलाभन्दा ध्यान दिएर काम गर्न र आफ्नो असाइनमेन्टमा रमाउन सकेका छौँ। साथै सङ्गठनको स्रोतसाधन यसरी बुद्धिमानीपूर्वक र वातावरणलाई हानि नपुग्ने तरिकामा प्रयोग भएको देख्न पाउँदा हामी निकै खुसी छौँ।”
ताराउमाराको (मध्य) अनुवाद विभागका भाइबहिनीले अहिले अझ आरामदायी वातावरणमा काम गर्न सकेका छन्
आकाशको पानीको सदुपयोग
अफ्रिकाका केही सभाभवनहरूमा पानीको अभाव छ। त्यसैले भाइहरूले थुप्रै किलोमिटर यात्रा गरेर सभाभवनसम्म पानी ल्याउनुपर्थ्यो। अरू सभाभवनहरूमा भने भाइहरूले ट्याङ्करमा ल्याइने पानी किन्ने गर्थे, जुन एकदमै महँगो थियो र वातावरणको लागि त्यति राम्रो थिएन।
भाइबहिनीको लागि पानीको व्यवस्था गर्न हामीले आकाशको पानीलाई सभाभवनको छतबाट सङ्कलन गरेर ठूलठूला ट्याङ्कीहरूमा जम्मा गर्ने प्रबन्ध मिलायौँ। सभाभवनमा सबैभन्दा प्रभावकारी तरिकामा पानीको प्रबन्ध गर्न भाइहरूले उपकरणहरू जडान गर्नुअघि नै त्यस ठाउँको मौसम र हावापानीबारे राम्ररी पत्ता लगाउनुभयो। यी उपकरणहरूलाई सभाभवनमा जडान गर्न ६ सयदेखि ३ हजार अमेरिकी डलर लाग्यो। तर भाइबहिनीहरूले पानीको लागि पैसा तिर्नु नपर्ने भएकोले यी उपकरणहरूले सभाभवनको खर्च घटायो।
दक्षिण अफ्रिकाको एउटा सहरमा भएको सभाभवनमा राखिएको पानी ट्याङ्की
आकाशको पानीको सदुपयोग गर्ने यो तरिकाले हाम्रा भाइबहिनीलाई निकै फाइदा पुऱ्याएको छ। मोजाम्बिककी एक बहिनी नोएमिया यसो भन्छिन्: “पहिला-पहिला सभाभवनसम्म पानी ल्याउन हामीले लामो यात्रा गर्नुपर्थ्यो। सभाभवनमा आइपुग्दासम्म त हामी थाकेर लखतरान भइसकेका हुन्थ्यौँ। साथै पानीको अभावले गर्दा सरसफाइमा ध्यान दिन पनि गाह्रो थियो। तर अहिले पानीको राम्रो प्रबन्धले गर्दा सबैले हात धुन सक्छन्। सभाभवनमा पुग्दा हामी थाकेका हुँदैनौँ बरु मजाले सभाबाट लाभ उठाउन सक्छौँ। यस्तो राम्रो प्रबन्धको लागि धेरै-धेरै धन्यवाद!”
दक्षिण अफ्रिकामा एक बहिनी र तिनको छोरा आकाशको पानी प्रयोग गरेर हात धुँदै छन्
यस्ता परियोजनाहरूको लागि सङ्गठनले कहाँबाट खर्च जुटाउँछ? विश्वव्यापी कार्यको लागि donate.jw.org लगायत अन्य माध्यमबाट तपाईँहरूले दिनुभएको अनुदानले गर्दा नै यी परियोजनाहरू सफल हुन सकेका हुन्। तपाईँहरूले उदार भई दिनुभएको अनुदानको लागि धेरै धन्यवाद!