-
सिकाउन मदत गर्ने दृष्टान्त र उदाहरणईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्
-
-
दाऊदले आफ्नो सफाइ दिने मौका नै नपाएकोले त्यो प्रभावकारी साबित भयो। धेरै भेडा भएको धनी मानिस अनि आफ्नो एक मात्र सानो पाठीलाई साह्रै माया गरेर पालन-पोषण गर्ने गरिब मानिसबारे त्यो कथा बताइएको थियो। दाऊद पनि पहिला गोठालो थिए। त्यसकारण पाठीको मालिकको मनमा के बित्यो, दाऊद राम्ररी बुझ्न सक्थे। त्यसैले दाऊदलाई त्यो गरिब गोठालोको पाठी खोस्ने धनी मानिससित रिस उठ्यो र तिनी यसरी रिसाउनु उचित थियो। दाऊदले यस्तो प्रतिक्रिया देखाइसकेपछि नातानले तिनलाई सीधै यसो भने: “त्यो मानिस तपाईंनै हो!” यो कुरा तिनको मुटुमै गढ्यो र तिनले साँचो पश्चाताप गरे। (२ शमू. १२:१-१४) उदाहरण र दृष्टान्त प्रयोग गर्न तपाईं जति-जति सिपालु हुँदै जानुहुन्छ, संवेदनशील विषय पनि कुशलतासाथ सँभाल्न सिक्नुहुनेछ।
अरूलाई सिकाउन मदतकारी हुने उदाहरणहरू बाइबलमा उल्लेख गरिएका घटनाहरूबाट पनि लिन सकिन्छ। येशूले पनि थोरै शब्दमा नै बाइबलको घटनालाई उदाहरणको रूपमा चलाउनुभयो। उहाँले यसो भन्नुभयो: “लूतकी पत्नीलाई सम्झ!” (लूका १७:३२) आफ्नो उपस्थितिबारे व्याख्या गर्दा येशूले “नूहको दिन”-बारे चर्चा गर्नुभयो। (मत्ती २४:३७-३९) हिब्रू अध्याय ११ मा प्रेषित पावलले १६ जना पुरुष तथा स्त्रीलाई विश्वासको उदाहरणको रूपमा प्रस्तुत गरेका छन्। तपाईं बाइबलसित जति-जति परिचित हुँदै जानुहुन्छ, बाइबलमा बताइएको घटना अनि मानिसहरूबारे सशक्त उदाहरण दिन त्यति नै सक्षम हुनुहुनेछ।—रोमी १५:४; १ कोरि. १०:११.
कहिलेकाहीं मुख्य बुँदालाई जोड दिन वास्तविक घटनासित सम्बन्धित आधुनिक अनुभव चलाउनु लाभदायी हुन सक्छ। तर कुनै अनुभव साँचो हो भन्ने प्रमाण छ भने मात्र त्यस्तो अनुभव बताउनुहोस्। कसैलाई अप्ठ्यारोमा पार्ने वा तपाईंको मूल-विषयसित सम्बन्धित नभएको विवाद खडा गर्ने उदाहरण चलाउनदेखि होसियार हुनुहोस्। कुनै खास कारण वा उद्देश्य भएकोले नै तपाईं उदाहरण प्रयोग गर्दै हुनुहुन्छ भनेर नबिर्सनुहोस्। तपाईंको प्रस्तुतिको उद्देश्यसित मेल नखाने वा मूल-विषयबाट श्रोताको ध्यान अन्तै जान सक्ने अनावश्यक स-सानो विवरण नबताउनुहोस्।
के मानिसहरूले बुझ्नेछन्? तपाईंले प्रयोग गर्ने दृष्टान्त र उदाहरण जस्तोसुकै भए तापनि त्यसले कुनै न कुनै उद्देश्य हासिल गरेको हुनै पर्छ। तपाईंले बताएको दृष्टान्त र उदाहरण छलफल गरेको विषयसित कसरी सम्बन्धित छ, त्यो नबताईकनै आफ्नो उद्देश्य हासिल गर्न सकिन्छ?
आफ्ना चेलाहरूलाई “संसारका ज्योति” भनिसकेपछि उहाँले दियो बालेर कहाँ राखिन्छ भनेर छोटकरीमा बताउनुभयो र त्यसले तिनीहरूले पूरा गर्नुपर्ने कस्तो जिम्मेवारीलाई सङ्केत गर्छ, त्यो पनि बताउनुभयो। (मत्ती ५:१४, १५) हराएको भेडाको दृष्टान्त बताइसकेपछि कुनै पापीले पश्चाताप गर्दा स्वर्गमा कत्ति रमाहट हुन्छ भन्ने कुरा बताउनुभयो। (लूका १५:७) मदतगार सामरीको कथा बताइसकेपछि उहाँले आफ्नो श्रोतालाई सीधै प्रश्न सोध्नुभयो र प्रस्ट सल्लाह पनि दिनुभयो। (लूका १०:३६, ३७) तर अर्कोतर्फ विभिन्न किसिमको जमिनको दृष्टान्त र बीउ छर्ने दृष्टान्तको अर्थ येशूले नम्र भएर सोध्ने जतिलाई मात्र बताउनुभयो, सबैलाई त होइन। (मत्ती १३:१-३०, ३६-४३) येशूले दाखबारीमा काम गर्ने हत्यारा मोहीहरूसम्बन्धी एउटा दृष्टान्त आफ्नो मृत्यु हुनुभन्दा तीन दिनअघि बताउनुभयो। उहाँले त्यस दृष्टान्तको अर्थ बताउनुभएन; बताउनु आवश्यक पनि थिएन। “मुख्य पुजारीहरू र फरिसीहरूले उहाँले . . . तिनीहरूकै विषयमा पो भनिरहनुभएको रहेछ भनी . . . बुझे।” (मत्ती २१:३३-४५) त्यसकारण तपाईंले कस्तो किसिमको दृष्टान्त बताउनुभयो, तपाईंको श्रोताको मनोवृत्ति कस्तो छ, दृष्टान्त बताउनुको उद्देश्य के हो, यी सबै कुराले तपाईंले दृष्टान्त र छलफल गरेको विषयबीचको सम्बन्ध बताउनुपर्छ कि पर्दैन अनि बताउनै पर्ने भए कति बताउनुपर्छ, त्यो निर्धारण गर्छ।
दृष्टान्त र उदाहरण राम्रोसँग प्रयोग गर्न जान्नको लागि समय लाग्छ, तर तपाईंको मेहनतको फल मीठो हुन्छ। राम्ररी सोचविचार गरेर छानिएको दृष्टान्तले मन छुने मात्र होइन मनमा गहिरो छाप पनि पार्छ। साधारण किसिमले भनेको कुराभन्दा दृष्टान्त प्रयोग गरेर सुनाएको सन्देश धेरै गुणा प्रभावकारी हुन्छ।
-
-
चिरपरिचित अवस्थालाई दृष्टान्तको रूपमा प्रयोग गर्नुहोस्ईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्
-
-
अध्याय ४६
चिरपरिचित अवस्थालाई दृष्टान्तको रूपमा प्रयोग गर्नुहोस्
तपाईंले बताउने दृष्टान्त छलफल गरिरहेको विषयसित मिलेको हुनै पर्छ। दृष्टान्तलाई एकदमै प्रभावकारी बनाउने हो भने श्रोताको अवस्थासित पनि मिलेको हुनै पर्छ।
कुनै समूहसित कुरा गर्दै हुनुहुन्छ भने त्यहाँ भएका श्रोताअनुसार तपाईं कस्तो दृष्टान्त छान्नुहुन्छ? येशूले के गर्नुभयो? भीडसँग कुरा गर्दा होस् वा चेलाहरूसँग कुरा गर्दा, येशूले इस्राएलका मानिसहरूलाई अनौठो लाग्ने अरू ठाउँको जीवनशैलीलाई दृष्टान्तको रूपमा बताउनुभएन। त्यसो गरेको भए येशूका श्रोताहरूलाई कालो अक्षर भैंसी बराबर भनेझैं हुन्थ्यो। उदाहरणको लागि येशूले मिश्रको राजघरानाको जीवनशैलीबारे बताउनुभएन वा भारतको धार्मिक रीतिरिवाजबारे पनि कुरा गर्नुभएन। तर उहाँले सबै देशका मानिसहरूले जानेबुझेका कामकुराबारे दृष्टान्त बताउनुभयो। लुगामा टालो सिलाउने, व्यापार गर्ने, बहुमूल्य कुरा गुमाउने र विवाह भोजमा उपस्थित हुनेबारे उहाँले दृष्टान्त बताउनुभयो। विभिन्न परिस्थितिमा मानिसहरू कस्तो प्रतिक्रिया देखाउँछन्, त्यो उहाँले बुझ्नुभयो र त्यसैअनुसार दृष्टान्त प्रयोग गर्नुभयो। (मर्कू. २:२१; लूका १४:७-११; १५:८, ९; १९:१५-२३) येशूले खासगरि इस्राएलमा नै प्रचार गर्नुभएकोले त्यहाँका मानिसहरूको दैनिक जीवनसित सम्बन्धित कुरालाई नै दृष्टान्तको रूपमा चलाउनुभयो। त्यसैकारण उहाँले खेती-किसानी, भेडाले गोठालोप्रति देखाउने प्रतिक्रिया र मद्य भण्डार गर्न जनावरको छाला प्रयोग गर्ने जस्ता कुराहरू उल्लेख गर्नुभयो। (मर्कू. २:२२; ४:२-९; यूह. १०:१-५) उहाँले सबैलाई थाह भएको ऐतिहासिक घटनातर्फ पनि श्रोताको ध्यान खिच्नुभयो। जस्तै, पहिलो मानव जोडीको सृष्टि, नूहको दिनको जलप्रलय, सदोम र गमोराको विनाश, लूतकी पत्नीको मृत्यु इत्यादि। (मत्ती १०:१५; १९:४-६; २४:३७-३९; लूका १७:३२) दृष्टान्त छान्दा के तपाईं पनि आफ्ना श्रोताको दैनिक गतिविधि र तिनीहरूको सांस्कृतिक पृष्ठभूमिलाई ध्यान दिनुहुन्छ?
थुप्रै श्रोतासित होइन तर एक-दुई जनासँग वा केही मानिससित कुरा गर्दै हुनुहुन्छ भने तपाईंले कस्तो दृष्टान्त बताउनुपर्छ? त्यहाँ उपस्थित श्रोतालाई सुहाउने दृष्टान्त बताउने कोसिस गर्नुहोस्। सुखार नजिकै सामरी आइमाईसित कुरा गर्दा येशूले “जीवन दिने पानी,” “कहिल्यै तिर्खाउनेछैन,” “पानी ऊभित्र मुहान बनेर उम्रिनेछ र त्यसले उसलाई अनन्त जीवन दिनेछ” जस्ता अलङ्कार प्रयोग गर्नुभयो। यस्ता कुरा ती आइमाईका लागि नौला थिएनन्। (यूह. ४:७-१५) माछा मार्ने जाल धोइरहेका मानिसहरूसित कुरा गर्दा येशूले माछा मार्ने कामसँग सम्बन्धित अलङ्कार प्रयोग गर्नुभयो। (लूका ५:२-११) माथिका दुवै घटनामा येशूले खेती-किसानीबारे दृष्टान्त चलाउन सक्नुहुन्थ्यो, किनभने तिनीहरू खेती-किसानी गरिने इलाकामा नै बसोबास गरिरहेका थिए। तर तिनीहरूले दिनदिनै गरिरहेको कामलाई सङ्केत गर्दै दृष्टान्त चलाउँदा त्यो औधी प्रभावकारी साबित भयो र तिनीहरूको मनमा ठप्प बस्यो। तपाईं पनि त्यस्तै गर्ने प्रयास गर्नुहोस्।
येशू ‘इस्राएलको घरानाका हराएका भेडाहरूलाई’ मात्र खोज्न आउनुभएको थियो। तर पावललाई भने इस्राएलीहरूलाई मात्र होइन, जाति-जातिका मानिसहरूलाई पनि खोज्न पठाइयो। (मत्ती १५:२४; प्रेषि. ९:१५) के यसले गर्दा पावलको कुरा गर्ने शैलीमा फरक पऱ्यो? पक्कै पनि। कोरिन्थका ख्रीष्टियनहरूलाई पत्र लेख्दा पावलले दौडमा भाग लिनेहरूबारे बताए, मूर्तिलाई चढाइएको खानेकुराबारे उल्लेख गरे र विजय यात्राबारे कुरा गरे। यी सब अन्यजातिका मानिसहरूका लागि चिरपरिचित विषय थिए।—१ कोरि. ८:१-१०; ९:२४, २५; २ कोरि. २:१४-१६.
अरूलाई सिकाउँदा के तपाईं पनि येशू र पावलले जस्तै राम्ररी सोचविचार गरेर दृष्टान्त र उदाहरण छान्नुहुन्छ? श्रोताको पृष्ठभूमि र दैनिक क्रियाकलापमा पनि विचार पुऱ्याउनुहुन्छ? पक्कै पनि प्रथम शताब्दीपछि संसारले धेरै पटक काँचुली फेरिसक्यो। टेलिभिजन हेरेर मानिसहरू संसारको हालखबर थाह पाउन सक्छन्। देश-विदेशको घटना मानिसहरूलाई प्रायः नौलो लाग्दैन। यदि तपाईंको इलाकाका मानिसहरू संसारको अवस्थासँग परिचित छन् भने त्यस्तै घटनालाई दृष्टान्तको रूपमा बताउँदा केही बिग्रँदैन। तैपनि मानिसलाई तिनीहरूको जीवनसित सम्बन्धित कुरा दृष्टान्तको रूपमा बताउँदा तिनीहरूको मन छुन सकिन्छ। जस्तै: तिनीहरूको घर, परिवार, काम, खानेकुरा, त्यहाँको मौसम इत्यादि।
श्रोतालाई बुझाउन निकै व्याख्या गर्नुपर्ने खालको दृष्टान्त बताउँदै हुनुहुन्छ भने सायद तपाईं श्रोतालाई थाह नभएको कुराको दृष्टान्त दिंदै हुनुहुन्छ। त्यस्ता दृष्टान्त प्रयोग गर्दा भाषणबाट दिनुपर्ने निर्देशन नै ओझेलमा पर्न सक्छ। परिणाम, श्रोताले तपाईंको दृष्टान्त सम्झिरहन सक्लान् तर तपाईं बाइबलबाट जुन कुरा बताउन चाहनुहुन्थ्यो, त्यो भने सम्झन सक्दैनन्।
येशूले जटिल कुरासँग तुलना गर्दै दृष्टान्त दिनुभएन बरु दैनिक जीवनका घटनाहरूसित सम्बन्धित सामान्य किसिमको दृष्टान्त बताउनुभयो। उहाँले ठूला कुरा बुझाउन साना कुराको उदाहरण दिनुभयो, जटिल कुरा बुझाउन सरल कुराको उदाहरण दिनुभयो। दैनिक जीवनका घटनाहरूसित बाइबल सत्यलाई जोड्दै उहाँले मानिसहरूलाई बाइबल सत्य सजिलै स्वीकार्न र त्यसलाई सम्झिरहन मदत दिनुभयो। हाम्रो लागि कस्तो गजबको उदाहरण!
-