-
सुहाउँदो आवाजईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्
-
-
अध्याय ८
सुहाउँदो आवाज
वक्ता उपयुक्त आवाजमा बोल्दैनन् भने श्रोता उँघ्न थाल्छन्। प्रचारमा प्रकाशकले एकदमै मधुरो स्वरमा कुरा गरे भने तिनले घरधनीको ध्यान खिच्न सक्दैनन्। सभामा श्रोताले उपयुक्त आवाजमा टिप्पणी दिएनन् भने उपस्थित भएकाहरूले त्यसबाट चाहिने प्रोत्साहन पाउन सक्दैनन्। (हिब्रू १०:२४, २५) अर्कोतर्फ वक्ताले बेला न कुबेला आफ्नो आवाज ठूलो पारे भने श्रोतालाई अप्ठ्यारो महसुस हुन सक्छ, सायद झोक चल्न पनि सक्छ।—हितो. २७:१४
श्रोतालाई विचार गर्नुहोस्। तपाईं कहाँ र कोसित कुरा गर्दै हुनुहुन्छ? एक जना व्यक्तिसित? परिवारसित? प्रचारको लागि भेला भएको सानो समूहसित? पूरै मण्डलीमा? वा अधिवेशनमा? पक्कै पनि एउटा अवस्थामा उपयुक्त हुने आवाज अर्को अवस्थामा उपयुक्त हुँदैन।
परमेश्वरका सेवकहरू थुप्रै अवसरमा विशाल श्रोतासामु बोलेका छन्। सुलेमानको समयमा यरूशलेमको मन्दिर उद्घाटन गर्दा ध्वनि उपकरण थिएनन्। त्यसैले सुलेमान अग्लो मञ्चमा उभिए र तिनले मानिसहरूलाई “ठूलो सोरले” आशीर्वाद दिए। (१ राजा ८:५५; २ इति. ६:१३) शताब्दिऔंपछि इ.सं. ३३ पेन्तिकोसमा यरूशलेममा ख्रीष्टियनहरूको सानो समूहमाथि पवित्र शक्ति खन्याइसकेपछि तिनीहरू वरिपरि थुप्रै मानिसहरू जम्मा भए। जम्मा हुनेहरूमध्ये कसैले-कसैले चासो देखाए भने कसैले-कसैले तिनीहरूको खिल्ली उडाए। परिस्थितिलाई ध्यान दिंदै पत्रुस “उठे अनि ठूलो स्वरमा” बोले। (प्रेषि. २:१४) त्यतिबेला सशक्त साक्षी दिइयो।
आफ्नो आवाज उपयुक्त छ कि छैन तपाईं कसरी पत्ता लगाउन सक्नुहुन्छ? एउटा तरिका हो, श्रोताको प्रतिक्रिया हेर्नु। तपाईंले भनेको कुरा सुन्न केही श्रोतालाई गाह्रो भइरहेको छ भने आवाज अलि ठूलो पार्नुपर्छ।
तपाईंले एक जनासित कुरा गरिरहेको होस् वा मानिसहरूको समूहसित, श्रोतामा को-को छन् भनेर बिर्सनुहुँदैन। राम्ररी सुन्न नसक्नेहरूका लागि तपाईंले आफ्नो आवाज ठूलो पार्नुपर्ने हुन्छ। तर ढल्कँदो उमेरले गर्दा तुरुन्तै प्रतिक्रिया नदेखाउनेहरूसामु कराएर केही फाइदा हुँदैन। त्यसो गर्नुलाई बेसोमती ठानिन्छ। कुनै-कुनै संस्कृतिमा ठूलो सोरमा बोल्दा उक्त व्यक्तिलाई रिस उठेको छ वा तिनी हडबडाएका छन् भन्ने ठानिन्छ।
ध्यान भङ्ग गर्ने आवाज विचार गर्नुहोस्। परिस्थितिअनुसार प्रचारमा आवाज कहिले ठूलो त कहिले सानो पार्नुपर्छ। सायद तपाईंलाई गाडीको आवाजले, उपद्रो गर्ने केटाकेटीले, कुकुर भुकिरहेकोले, चर्को गीत-सङ्गीतले वा टिभीको चर्को आवाजले बाधा देला। अर्कोतर्फ सँगसँगै घर भएको टोलछिमेकमा छिमेकीलाई समेत असर पर्नेगरि ठूलो सोरमा बोल्नुभयो भने घरधनीलाई अप्ठ्यारो लाग्न सक्छ।
मण्डलीमा वा अधिवेशनमा भाषण दिने भाइहरूले पनि विभिन्न परिस्थितिको सामना गर्नुपर्छ। आवाज राम्रोसित सुन्न सकिनेगरि बनाइएको हलमा भाषण दिनु र बाहिर खुल्ला ठाउँमा भाषण दिनुमा आकाश-जमिनको फरक हुन्छ। दक्षिण अमेरिकामा सेवा गर्ने दुई जना मिसनरी भाइ चासो देखाउने व्यक्तिको आँगनमा भाषण दिंदै थिए। त्यतिबेला नजिकै चोकमा भुईंचम्पा पड्कँदै थियो भने श्रोताले ल्याएको भाले पनि बासेको बास्यै थियो।
भाषण दिइरहेको बेला ध्यान खलबलाउने आवाज आउँदा वक्ताले आफ्नो स्वर ठूलो पार्नुपर्ने हुन सक्छ अथवा केहीबेर भाषण रोक्नुपर्ने हुन सक्छ। उदाहरणका लागि जस्तापाताले छाएको भवनमा सभा गरिंदैछ भने एक्कासि मुसलधारे पानी पर्दा वक्ताले भनेका कुनै पनि कुरा श्रोताले सुन्न सक्दैनन्। बच्चा रोइदिंदा वा मानिसहरू ढिला आइपुग्दा पनि ध्यान खलबलिन्छ। यस्ता बाधा आइपर्दा स्वर ठूलो पार्नुपर्ने हो कि वा एकैछिन भाषण रोक्नुपर्ने हो, अवस्थाअनुसार कदम चाल्नुहोस्। यसो गर्नुभयो भने मात्र तपाईंको प्रस्तुतिबाट श्रोताले लाभ उठाउन सक्नेछन्।
आवाज ठूलो बनाउने उपकरण छ भने त बेसै भयो। तर त्यस्तो उपकरण छ भन्दैमा वक्ताले आफ्नो आवाज ठूलो पार्नै पर्दैन भन्नेचाहिं होइन। बिजुली गइरहने ठाउँमा वक्ता माइकविना नै आफ्नो भाषण अघि बढाउन बाध्य हुन्छन्।
छलफल गरिने विषयवस्तु विचार गर्नुहोस्। तपाईं कत्ति ठूलो आवाजमा बोल्नुपर्छ भन्ने कुरा भाषणको विषयवस्तुमा पनि भर पर्छ। जोडदार ढङ्गमा बोल्नुपर्ने खालको विषय छ भने मधुरो आवाजमा बोलेर प्रस्तुतिलाई फितलो नबनाउनुहोस्। उदाहरणका लागि कसैलाई कडाइका साथ हप्काएको विवरण बाइबलबाट पढ्दै हुनुहुन्छ भने त्यतिखेर तपाईंको आवाज प्रेम देखाउने सन्दर्भमा दिइएको सल्लाह पढ्दाखेरिको आवाजभन्दा ठूलो हुनुपर्छ। विषयअनुसार आफ्नो आवाज घटबढ गर्नुहोस् तर आफैतिर ध्यान खिच्ने तरिकाले होइन।
आफ्नो लक्ष्य विचार गर्नुहोस्। श्रोतालाई जोसिलो हुन प्रेरणा दिन चाहनुहुन्छ भने तपाईंले आफ्नो स्वर अरू बेलाभन्दा केही ठूलो बनाउनुपर्छ। श्रोताको सोचाइ परिवर्तन गर्न चाहनुहुन्छ भने धेरै ठूलो आवाजमा बोलेर तिनीहरूलाई तपाईंको कुरा सुन्न मनै नपर्ने नबनाउनुहोस्। कसैलाई सान्त्वना दिन प्रयास गर्दै हुनुहुन्छ भने दयालु हुँदै बोल्नु राम्रो हो।
आवाज ठूलो पार्दा हुने फाइदा: व्यस्त मानिसको ध्यान खिच्न चाहनुहुन्छ भने आवाज ठूलो पार्दा फाइदा हुन्छ। आमाबाबुलाई यो कुरा थाह छ, त्यसैकारण त तिनीहरू छोराछोरीलाई खेल्न पुग्यो भनेर जनाउन ठूलो स्वरले बोलाउने गर्छन्। मण्डलीको सभा वा सम्मेलन सुरु गर्ने बेला भएको जनाउ दिन पनि अध्यक्षले ठूलो आवाजमा बोल्नुपर्ने हुन्छ। प्रचारमा गएको बेला घरबाहिर एक सुरले काम गरिरहेकाहरूको ध्यान खिच्न प्रकाशकले ठूलो स्वरमा ‘नमस्कार’ भन्न सक्छन्।
अरूको ध्यान खिचिसकेपछि भने ठिक्कको आवाजमा नै बोल्नुपर्छ। स्वर अलि दबिएको छ भने वक्ताले पूरा तयारी गरेका रहेनछन् वा आफूले भनेको कुरामा आफै विश्वस्त छैनन् भन्ने भान पर्न सक्छ।
आज्ञा दिंदा स्वर ठूलो पारेका छौं भने मानिसहरू काम गर्न उत्प्रेरित हुन्छन्। (प्रेषि. १४:९, १०) त्यसैगरि ठूलो स्वरले कराउँदा खतराबाट पनि जोगिन सक्छौं। जस्तै, फिलिप्पीमा कैदीहरू भागे भन्ठानेर एक जना जेलरले आत्महत्या गर्नै लागेको बेला पावलले ठूलो स्वरले कराउँदा जेलरको ज्यान जोगिएको थियो। बाइबल विवरण यसो भन्छ: “ठूलो सोरले कराउँदै पावलले भने: ‘आफूलाई कुनै चोट नपुऱ्याउनुहोस्, किनकि हामी सबै जना यहीं छौं!’” फलस्वरूप पावल र सिलासले ती जेलर र तिनका घरमा हुनेहरूलाई साक्षी दिए र सबैले सत्य स्वीकारे।—प्रेषि. १६:२७-३३.
तपाईंको आवाज कसरी सुधार्न सकिन्छ? उपयुक्त आवाजमा बोल्न सिक्न कसै-कसैले अझै मेहनत गर्नुपर्ने हुन्छ। स्वर मसिनो भएकोले कुनै व्यक्तिले पर्याप्त मात्रामा स्वर ठूलो पारेर बोल्न सक्दैनन् होला। तर स्वर मसिनो भए तापनि प्रयास गऱ्यो भने सुधार्न सकिन्छ। तपाईंको सास फेर्ने तरिका र तपाईंको आसनमा विचार पुऱ्याउनुहोस्। सीधा उठ्नुहोस् वा सीधा बस्नुहोस्। छाती तन्काउनुहोस् र लामो सास तान्नुहोस्। यसो गर्दा आफ्नो श्वास-प्रश्वासलाई नियन्त्रणमा राख्न सकिने भएकोले बोल्दा पनि आफ्नो स्वरलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ।
कति जनाको समस्याचाहिं ज्यादै ठूलो स्वरमा बोल्नु हो। सायद घरबाहिरै काम गर्ने वा हल्लाखल्ला हुने ठाउँमा काम गर्ने भएकोले त्यसरी ठूलो स्वरमा बोल्ने बानी परेको हुन सक्छ। अथवा यस्ता व्यक्तिहरू ठूलो-ठूलो स्वरले बोल्ने र कुरा बीच-बीचमै काट्ने बानी भएको परिवारमा हुर्केका हुन सक्छन्। परिणामस्वरूप अरूभन्दा ठूलो स्वरमा बोलेर मात्रै कुराकानीमा समावेश हुन सकिन्छ भनेर तिनीहरूलाई लाग्न सक्छ। “कोमल करुणा, दया, विनम्रता, कोमलता र धीरज धारण गर” भन्ने बाइबलको सल्लाह लागू गर्ने कोसिस गर्दा अरूसित बोल्नेबेला आफ्नो आवाजमा तिनीहरूले छाँटकाँट गर्न सक्छन्।—कल. ३:१२.
राम्रो तयारी गर्दा, प्रचारमा नियमित भाग लिएर अनुभव हासिल गर्दा र यहोवासित प्रार्थना गर्दा उपयुक्त आवाजमा बोल्न मदत पाउनेछौं। मञ्चबाट भाषण दिंदा होस् वा प्रचारमा कसैसित कुरा गर्दा होस्, तपाईंले भनेका कुराबाट तिनीहरूले कसरी मदत पाउन सक्छन् भनेर ध्यान दिनुहोस्।—हितो. १८:२१.
-
-
स्वर परिवर्तनईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्
-
-
अध्याय ९
स्वर परिवर्तन
भावलाई जोड दिंदा तपाईंले भन्न खोजेको कुरा श्रोताले राम्ररी बुझ्नेछन्। तर स्वर, स्वरको गति र स्वरको तिखोपनमा विविधता ल्याउँदा तपाईंको भाषण सुनमा सुगन्ध भनेझैं हुन्छ। अझै महत्त्वपूर्ण कुरा त तपाईंले भनेको कुराप्रति तपाईं आफै कस्तो महसुस गर्नुहुन्छ भनेर श्रोताले बुझ्नेछन्। श्रोतालाई भाषण कस्तो लाग्छ भन्ने कुरा भाषणप्रति तपाईंले देखाएको मनोवृत्तिमा निर्भर हुन्छ। मञ्चबाट भाषण दिंदा होस् वा प्रचार गर्दा, जहाँ भए पनि यसो गर्नु महत्त्वपूर्ण छ।
मानिसको आवाज साँच्चै अचम्मलाग्दो छ। हामी किसिम-किसिमको आवाज निकाल्न सक्छौं। आवाजलाई राम्रोसँग प्रयोग गरिएको छ भने यसले भाषण जीवन्त बनाउन सक्छ, मानिसको मन छुन सक्छ, मानिसमा विभिन्न भावना उत्पन्न गराउन सक्छ र कदम चाल्न जुर्मुऱ्याउन सक्छ। तर यी सब गर्न तपाईंले भाषण दिंदा प्रयोग गर्ने टिपोटमा कुन-कुन ठाउँमा स्वर र स्वरको गति परिवर्तन गर्ने र स्वरको तिखोपन मिलाउने भनेर चिनो लगाउँदैमा पुग्दैन। यस्तो चिनो लगाइएको ठाउँमा पुगेपछि मात्र स्वर परिवर्तन गर्नुभयो भने त्यो बनावटी सुनिन्छ। यसो गर्दा श्रोतालाई तपाईंको भाषण रोचक लाग्नु त कहाँ हो कहाँ, कहिले भाषण सकिएला भनेर दिक्क पो लाग्छ। स्वाभाविक स्वर परिवर्तन मनभित्रबाटै निस्कनुपर्छ।
स्वर परिवर्तन गर्न राम्ररी ध्यान दिइएको छ भने श्रोताको ध्यान अनावश्यक रूपमा वक्तातर्फ जाँदैन। बरु छलफल गरिंदै गरेको विषयको भाव बुझ्न यसले श्रोतालाई मदत गर्छ।
स्वर ठूलो वा सानो बनाउनुहोस्। तपाईंको स्वर ठूलो वा सानो बनाएर आवाजमा विविधता ल्याउन सकिन्छ। तर यसको अर्थ तपाईंले एकै किसिमले स्वर ठूलो बनाउनु वा सानो बनाउनु चाहिं होइन। त्यसो गर्दा त तपाईंले भन्न खोजेको कुराको अर्थै अर्को पर्न जान्छ। तपाईंले छिनछिनमा आवाज ठूलो बनाउनुभयो भने श्रोतालाई नराम्रो प्रभाव पर्न जान्छ।
तपाईंको स्वर विषय सुहाउँदो हुनुपर्छ। प्रकाश १४:६, ७ वा प्रकाश १८:४ मा दिइएको जस्तो तुरुन्तै पालना गर्नुपर्ने आदेश पढ्दा होस् वा प्रस्थान १४:१३, १४ मा दिइएको जस्तो विश्वस्त भएर बताइएको कुरा पढ्दा होस्, विषयवस्तुले मागेअनुसार स्वर ठूलो बनाउनुपर्छ। त्यसैगरि यर्मिया २५:२७-३८ मा दिइएको जस्तो कडा शब्दमा गरिएको निन्दा पढ्दै हुनुहुन्छ भने स्वरमा विविधता ल्याउँदा ती खास भाग र अरू भागबीचको भिन्नता प्रस्टै देखिन्छ।
तपाईंको भाषणको उद्देश्य के हो, त्यो पनि नबिर्सनुहोस्। के तपाईं श्रोतालाई कदम चाल्न जुर्मुऱ्याउन चाहनुहुन्छ? के तपाईं आफ्नो प्रस्तुतिको मुख्य बुँदा प्रस्टै छुट्टिएको चाहनुहुन्छ? राम्ररी सोचविचार गरेर आवश्यकताअनुसार स्वर ठूलो पार्दा यी उद्देश्य हासिल गर्न सकिन्छ। तर जहिले मन लाग्यो तहिले स्वर ठूलो बनाउँदा तपाईं आफ्नो उद्देश्य पूरा गर्न सक्नुहुन्न। किन? किनकि तपाईंले भन्ने कुरा ठूलो स्वरले होइन न्यानो पाराले र भावसहित बताउनुपर्ने हुन सक्छ। यसबारे हामी अध्याय ११ मा छलफल गर्नेछौं।
राम्ररी सोचविचार गरी स्वर एक्कासि सानो पारेर बोल्दा वक्ताले अब के भन्ने होलान् भनेर श्रोता उत्सुक हुन्छन्। तर श्रोतालाई उत्सुक बनाउन अक्सर तपाईंले स्वर सानो पार्नेबित्तिकै तुरुन्तै ठूलो स्वरमा बोल्नुपर्ने हुन्छ। चिन्ता वा डर व्यक्त गर्नको लागि पनि मसिनो तर तीखो स्वरमा बोल्न सकिन्छ। भर्खरै भनिएको कुराभन्दा कम महत्त्वपूर्ण कुरा बताउँदा पनि स्वर सानो बनाउन सकिन्छ। तर तपाईंको स्वर जहिले पनि सानो छ भने तपाईंको विषयप्रति तपाईं आफै पक्का हुनुहुन्न वा विषयप्रति तपाईंलाई चासो नै छैन भनेर श्रोतालाई लाग्न सक्छ। हो, सानो स्वरले बोल्दा सुझबुझ चलाउनै पर्छ।
स्वरको गति घटबढ गर्नुहोस्। विचार व्यक्त गर्दा शब्दहरू फरर्र निस्कन्छन्। हामी एकदमै उत्साहित छौं भने एकै सासमा सबै कुरा भनिहाल्छौं। तर आफूले भनेको कुरा अरूले राम्ररी सम्झून् भन्ने चाहँदा हामी बिस्तारै कुरा गर्छौं।
तर जनसमक्ष बोल्ने नयाँ वक्तामध्ये धेरैले स्वरको गतिमा परिवर्तन नगरी एकैनासले बोल्ने गर्छन्। किन? किनभने तिनीहरू शब्दमा बढी नै ध्यान दिन्छन्। आफूले भन्न चाहेको कुरा सबै लेखेका हुन्छन्। हुन त तिनीहरू लेखेको एक-एक शब्द हेरेर त भाषण नदेलान्। तर भाषणको एक-एक शब्द याद भएकोले तिनीहरू मुखस्त भाषण सुनाउँछन्।
-