प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इशारा र अनुहारको हावभाव
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
    • अध्याय १२

      इशारा र अनुहारको हावभाव

      तपाईंले के गर्नुपर्छ?

      हात, कुम वा पूरै शरीरको हावभावबाट विचार, भावना वा मनोवृत्ति व्यक्‍त गर्नुपर्छ।

      बोलेको शब्दलाई जोड दिन र आफ्नो भावना व्यक्‍त गर्न आँखा, मुख र शिर प्रयोग गर्नुपर्छ।

      यसो गर्नु किन महत्त्वपूर्ण छ?

      इशारा र अनुहारको हावभावबाट तपाईंले भनेको कुराबारे कल्पना गर्न र बोलेको कुरालाई जीवन्त बनाउन सकिन्छ। इशारा र अनुहारको हावभावले तपाईंमा भावनाहरू उत्पन्‍न हुन सक्छन्‌। त्यसले गर्दा तपाईंको आवाज जीवन्त हुन्छ।

      कुनै-कुनै संस्कृतिमा मानिसहरू इशारा गर्न लाज मान्दैनन्‌ भने कतै-कतै त्यत्ति इशारा गरिंदैन। तैपनि सबैले नै अनुहारको हावभावबाट वा कुनै न कुनै किसिमको इशारा गरेर बोल्छन्‌। एक जनासित कुरा गर्दा होस्‌ वा मानिसहरूसामु बोल्दा होस्‌, हामी कुनै न कुनै किसिमको इशारा गरिरहेका हुन्छौं।

      येशू र उहाँका चेलाहरू कुराकानी गर्दा सजिलै इशारा गर्थे। एक पटक येशूलाई उहाँकी आमा र भाइहरू उहाँसित कुरा गर्न चाहन्छन्‌ भनी बताइयो। त्यतिखेर येशूले यस्तो जवाफ दिनुभयो: “को हुन्‌ मेरी आमा अनि को हुन्‌ मेरा भाइहरू?” त्यसपछि बाइबलमा यस्तो लेखिएको छ: “आफ्नो हात चेलाहरूतिर तेर्स्याउँदै उहाँले भन्‍नुभयो: ‘हेर, मेरी आमा अनि मेरा भाइहरू!’” (मत्ती १२:४८, ४९) प्रेषित १२:१७ र १३:१६ मा पनि प्रेषित पत्रुस र प्रेषित पावलले कुराकानी गर्दा सजिलै इशारा गरेको विवरण दिइएको छ।

      विचार तथा भावनाहरू बोलेर मात्र होइन तर इशाराबाट र अनुहारको हावभावबाट पनि व्यक्‍त गरिन्छ। इशारा गरिएन र अनुहारको हावभाव देखाइएन भने बोल्ने मानिस भावशून्य छन्‌ भन्‍ने भान पर्न जान्छ। तर विचार व्यक्‍त गर्ने यी माध्यम सही तरिकाले प्रयोग गरिएका छन्‌ भने तपाईंले भन्‍न खोजेको कुरा झनै प्रभावकारी हुनेछ। फोनमार्फत कुरा गर्दा पनि सही तरिकामा इशारा गर्दा र अनुहारको हावभाव देखाउँदा तपाईंको कुराकानी कत्तिको महत्त्वपूर्ण छ र तपाईं त्यसबारे कस्तो महसुस गर्नुहुन्छ, तपाईंको आवाजबाटै स्पष्ट हुन्छ। त्यसैले चाहे तपाईं स्वतःस्फूर्त तरिकाले बोलिरहेको होस्‌ वा पढिरहेको होस्‌, अथवा श्रोताले तपाईंलाई हेरिरहेका होऊन्‌ वा आफ्नै बाइबलमा हेरिरहेका होऊन्‌, तपाईंले इशारा गर्नु र अनुहारको हावभाव देखाउनुको महत्त्व बेग्लै छ।

      तपाईंको इशारा र अनुहारको हावभाव स्वतः आउनुपर्छ, किताब पढेर सिक्न सकिंदैन। किनभने तपाईंले किताब पढेर कसरी हाँस्ने वा कसरी रुष्ट हुने भनी सिकेको होइन। इशाराले पनि तपाईंभित्र लुकेको भावना व्यक्‍त गर्नुपर्छ। तपाईंको इशारा जति स्वाभाविक हुन्छ त्यति नै राम्रो हुन्छ।

      साधारणतया इशारा दुई किसिमका हुन्छन्‌: वर्णनात्मक र जोड दिन गरिने इशारा। वर्णनात्मक इशारा कुनै गतिविधिबारे जानकारी दिन वा लम्बाइ, चौडाइ, उँचाइ जस्ता कुरा बताउन वा स्थानबारे वर्णन गर्न प्रयोग गरिन्छ। स्कूलमा इशारा गर्ने बुँदामा काम गर्दै हुनुहुन्छ भने एक-दुइटा मात्र इशारा गर्ने नगर्नुहोस्‌। भाषणभरि स्वाभाविक रूपमा इशारा गर्ने प्रयास गर्नुहोस्‌। यसो गर्न गाह्रो भइरहेको छ भने दिशा, दूरी, आकार, स्थान वा तुलना गर्ने जस्ता शब्दहरू खोज्नुहोस्‌। आफ्नो भाषणमा डुब्दा तपाईंले अरूमा कस्तो छाप पार्दै हुनुहुन्छ भन्‍ने चिन्ता हुँदैन। सामान्यतया तपाईं जसरी कुराकानी गर्नुहुन्छ वा बोल्नुहुन्छ त्यस्तै गर्नुहोस्‌। आत्तिनुभएको छैन भने इशारा स्वतः आउँछ।

      जोड दिन गरिने इशाराले भावना तथा विश्‍वस्तता प्रकट गर्छ। यस्तो इशाराले कुनै पनि विचारलाई जोड दिन्छ, जीवन्त पार्छ र सबल बनाउँछ। त्यसैकारण जोड दिन गरिने इशारा देखाउनु महत्त्वपूर्ण छ। तर सावधान! यस्तो इशारा अनौठो बानीमा सजिलै परिणत हुन सक्छ। बारम्बार एउटै इशारा गर्दा तपाईंको भाषण प्रभावकारी हुनु त कता हो कता श्रोताले तपाईंको इशारामा मात्र ध्यान दिन्छन्‌। तपाईंको पनि यस्तै समस्या छ भनेर स्कूल निरीक्षकले बताए भने केही समयका लागि वर्णनात्मक इशारा मात्र गर्नुहोस्‌। केही समयपछि जोड दिन गरिने इशारा फेरि प्रयोग गर्नुहोस्‌।

      जोड दिन गरिने इशारा कुन हदसम्म गर्ने र कुन प्रकारको प्रयोग गर्ने भन्‍ने कुरा निधो गर्न कोसित कुरा गर्दै हुनुहुन्छ, उनीहरूको भावना विचार गर्नुहोस्‌। श्रोतातर्फ औंला ठड्याएर कुरा गर्दा तिनीहरूलाई अप्ठेरो महसुस हुन्छ। कतै-कतै पुरुषले केही खास किसिमको हावभाव देखाएको राम्रो मानिंदैन। जस्तै, पुरुषले आश्‍चर्य व्यक्‍त गर्दा मुखमा हात राखे भने अरूले तिनलाई स्वास्नीमान्छेको जस्तो हावभाव देखाउने मान्छे रहेछ भन्ठान्छन्‌। अनि कतै-कतै भने महिलाले हात हल्लाइ-हल्लाइ कुरा गर्नुलाई बेसोमति ठानिन्छ। त्यसैले यस्ता ठाउँमा ख्रीष्टियन दिदीबहिनीले अनुहारबाटै विभिन्‍न भाव व्यक्‍त गर्नुपर्छ। अनि सानो समूहमा बढाइ-चढाइ इशारा गर्दा प्रायजसो ठाउँमा तपाईंको कुराकानीलाई हाँसोमा उडाइदिन्छन्‌।

      अनुभव बटुल्दै गएपछि र कुराकानी गर्न सजिलो लाग्दै गएपछि जोड दिन गरिने कुनै पनि इशाराबाट तपाईंको भावना स्वतः व्यक्‍त हुन्छ, तपाईं विश्‍वस्त र निष्कपट हुनुहुन्छ भनेर स्पष्ट हुन्छ। यस्तो इशाराले तपाईंको बोली अर्थपूर्ण हुन्छ।

      तपाईंको अनुहारको हावभाव: वास्तवमा तपाईंलाई कस्तो लागिरहेको छ, त्यो कुरा शरीरका अन्य अङ्‌गबाट भन्दा अनुहारबाट देखिन्छ। तपाईंले शिर ढल्काएको तरिका, तपाईंका आँखा र मुखबाट पनि भाव व्यक्‍त भइरहेको हुन्छ। एउटै शब्द नबोली तपाईंले अनुहारबाट भावशून्यता, घृणा, आश्‍चर्य, दङ्‌ग परेको अवस्था वा प्रसन्‍नता व्यक्‍त गर्न सक्नुहुन्छ। अनुहारको हावभाव बोलिएको कुरासित मेल खाएमा श्रोताले त्यो कल्पना गर्न र महसुस गर्न सक्छन्‌। सृष्टिकर्ताले हाम्रो अनुहारमा मात्रै ३० भन्दा धेरै किसिमका मांसपेशी राखिदिनुभएको छ। तपाईं मुस्कुराउँदा तीमध्ये आधा जति मांसपेशी सक्रिय हुन्छन्‌।

      मञ्चबाट भाषण दिइरहेको होस्‌ वा प्रचारमा भाग लिइरहेको होस्‌, तपाईं मानिसहरूको मन आनन्दित पार्ने राम्रो सन्देश बाँड्‌ने कोसिस गर्न चाहनुहुन्छ। तपाईं मुस्कुराउँदा त्यस्तो चाहना देखिन्छ। अर्कोतर्फ यदि तपाईंको अनुहारमा केही पनि भाव छैन भने तपाईंको निष्कपटतामाथि शङ्‌का उब्जन्छ।

      मुस्कुराउँदा तपाईं अरूबारे सोच्नुहुँदो रहेछ भन्‍ने देखिन्छ। आज मानिसहरू नचिनेको व्यक्‍तिदेखि डराउँछन्‌; त्यसैकारण मुस्कुराउनु महत्त्वपूर्ण छ। तपाईं मुस्कुराउँदा अरूले सजिलो महसुस गर्छन्‌ र तपाईंले भन्‍ने कुरा तिनीहरूले स्वीकार्ने सम्भावना धेरै हुन्छ।

  • अनुहार हेरेर कुरा गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
    • अध्याय १३

      अनुहार हेरेर कुरा गर्नुहोस्‌

      तपाईंले के गर्नुपर्छ?

      अनुहार हेरेर कुरा गर्नुपर्छ। स्थानीय इलाकामा राम्रो मानिन्छ भने एकछिन आँखामा नै हेरेर कुरा गर्नुपर्छ। सरसर्ती आँखा घुमाउने होइन व्यक्‍ति-व्यक्‍तिलाई हेर्नुपर्छ।

      यसो गर्नु किन महत्त्वपूर्ण छ?

      थुप्रै संस्कृतिमा प्रायः कसैमा चासो लिएको देखाउन आँखामा नै हेरेर कुरा गर्ने चलन छ। त्यसलाई विश्‍वस्त भई बोलेको प्रमाणको रूपमा पनि लिइन्छ।

      हाम्रो मनोवृत्ति र भावना आँखाबाटै झल्किन्छ। आँखाले अचम्म लागेको वा डराएको कुरा देखाउँछ। आँखाबाटै अनुकम्पा वा माया देखाउन सकिन्छ। कहिलेकाहीं जति लुकाउन खोजे तापनि आँखाबाट शङ्‌का र पीडा पनि व्यक्‍त भइरहेको हुन्छ। धेरै दुःख भोगेका आफ्ना देशवासीका विषयमा एक जना वृद्धले यसो भने: “हाम्रो आँखा हेर्नुहोस्‌, आँखाले नै जवाफ दिन्छन्‌।”

      हामी कता हेरिरहेका छौं त्यसैको आधारमा मानिसले हामीबारे र हामीले भन्‍ने कुराबारे अनुमान लगाउँछन्‌। कतिपय संस्कृतिमा आफूसित मित्रैलो तरिकाले आँखामा नै हेरेर कुरा गर्ने व्यक्‍तिलाई भरोसा गर्ने झुकाव छ। यसको ठीक विपरीत भुइँतिर हेरेर वा अन्त कतै हेरेर कुरा गर्ने व्यक्‍तिलाई मानिसहरू त्यति भरोसा गर्दैनन्‌। बरु उसको योग्यतामा शङ्‌का गर्न सक्छन्‌। तर कतिपय ठाउँमा भने आँखामा नै हेरेर कुरा गर्नुलाई असभ्य भएको, रिस देखाएको वा हाँक दिएको ठानिन्छ। विशेषगरि लोग्नेमान्छेले स्वास्नीमान्छेलाई वा स्वास्नीमान्छेले लोग्नेमान्छेलाई एकटक लगाएर हेर्दा अथवा मान्यजन वा उच्च ओहदाको व्यक्‍तिसित आँखामै हेरेर कुरा गर्दा यस्तो ठानिन्छ। अनि कतिपय ठाउँमा कम उमेरका व्यक्‍तिले पाका व्यक्‍तिको आँखामै हेरेर कुरा गर्दा अनादर गरेको ठानिन्छ।

      तर असभ्य ठानिंदैन भने आँखामै हेरेर कुराकानी गर्दा महत्त्वपूर्ण कुरामा अझै जोड दिन सक्छौं। आँखामै हेरेर बोल्ने व्यक्‍ति आफ्नो कुरामा विश्‍वस्त छन्‌ भन्‍ने बुझिन्छ। एक पटक चेलाहरूले असाध्यै छक्क पर्दै येशूलाई सोधे: “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?” येशूले के गर्नुभयो? बाइबलमा यस्तो लेखिएको छ: “सीधै तिनीहरूको अनुहारमा हेरेर येशूले भन्‍नुभयो: ‘मानिसहरूको तर्फबाट यो असम्भव छ तर परमेश्‍वरको तर्फबाट भने सबै कुरा सम्भव छ।’” (मत्ती १९:२५, २६) प्रेषित पावलले पनि आफ्ना श्रोताको प्रतिक्रिया ध्यान दिएर हेरेको विवरण बाइबलमा बताइएको छ। एक पटक पावलले कुरा गरिरहँदा गर्भैदेखि लङ्‌गडो व्यक्‍ति त्यहीं थियो। त्यसबारे प्रेषित १४:९, १० मा यस्तो लेखिएको छ: “यस मानिसले पावलको कुरा सुनिरहेको थियो। अनि पावलले उसलाई एकटक लगाएर हेरिरहेका थिए र उसलाई निको पार्न लायकको विश्‍वास उसमा छ भन्‍ने देखेपछि ठूलो सोरमा तिनले यसो भने: ‘आफ्नो खुट्टाको भरमा सीधा भएर उठ।’”

      प्रचारको लागि केही सुझाव: प्रचारमा मानिसहरूसित कुरा गर्दा मित्रैलो हुनुहोस्‌ र न्यानोपन झल्काउनुहोस्‌। उपयुक्‍त हुँदा चासो लाग्ने साझा विषयमा कुराकानी थाल्न विचार बुझ्ने प्रश्‍न सोध्नुहोस्‌। यसो गर्दा आँखामा हेरेर कुरा गर्ने प्रयास गर्नुहोस्‌ वा मिल्दैन भने आदरपूर्वक र दयालु तरिकामा अनुहारमा हेरेर कुरा गर्ने प्रयास गर्नुहोस्‌। आँखाबाटै खुसी व्यक्‍त गर्न सक्ने व्यक्‍ति मुसुक्क हाँसेका छन्‌ भने हाम्रो पनि मन रमाउँछ। यस्तो भावबाट अर्को व्यक्‍तिले तपाईंबारे धेरै कुरा जान्‍न सक्छन्‌ र कुराकानी गर्दा तपाईंले पनि तिनलाई निकै सजिलो महसुस गराइरहनुभएको हुन्छ।

      अरूको आँखामा हेर्नु उपयुक्‍त ठानिन्छ भने आँखाको भाव पढेर अब के गर्ने वा के भन्‍ने, छनक पाउन सक्नुहुन्छ। कुनै व्यक्‍ति रिसाएका छन्‌ कि अथवा तिनलाई चासो छैन कि, तिनको आँखा हेरेर थाह पाउन सक्नुहुन्छ। तपाईंले भनेको कुरा तिनले बुझेनन्‌ भने पनि चाल पाउन सक्नुहुन्छ। तिनी अधीर भइरहेका छन्‌ भने त्यो पनि तपाईं आँखामा हेरेरै ठम्याउन सक्नुहुन्छ। तिनलाई धेरै चासो छ भने त्यो पनि देखिन्छ। तिनको आँखाको भाव हेरेर तपाईंले कुरा गरिरहेको गति थपघट गर्नुपर्ने हो कि, तिनलाई कुराकानीमा समावेश गर्न अझै प्रयास गर्नुपर्ने हो कि, कुराकानी चट्टै रोक्नुपर्ने हो कि अथवा बाइबल अध्ययन गर्ने तरिका देखाउने हो, सबै थाह पाउन सक्नुहुन्छ।

      साक्षी दिइरहेको होस्‌ वा गृह बाइबल अध्ययन गराइरहेको होस्‌, आदरपूर्वक घरधनीको आँखामा हेरेर कुरा गर्ने प्रयास गर्नुहोस्‌। तर तिनलाई एकोहोरो नहेर्नुहोस्‌। यसो गर्दा तिनलाई अप्ठ्यारो महसुस हुन सक्छ। (२ राजा ८:११; NRV) स्वाभाविक र मित्रैलो तरिकामा घरधनीको अनुहार बेलाबेलामा हेर्नुहोस्‌। धेरै ठाउँमा यसलाई निष्कपट चासो लिएको ठानिन्छ। हुन त बाइबल पढ्‌दा वा अन्य प्रकाशन पढ्‌दा तपाईंले छापा नै हेर्नुपर्छ। तर कुनै बुँदालाई जोड दिन घरधनीको आँखामा नै पुलुक्क हेर्नुहुन्छ होला। पढ्‌दै गर्दा बेलाबेलामा घरधनीलाई हेर्दा तिनको प्रतिक्रिया बुझ्न सकिन्छ।

      अनुहार हेरेर कुरा गर्न तपाईंलाई लाज लाग्छ भने हार नमान्‍नुहोस्‌। अभ्यास गर्दा यस्तो समस्यामाथि विजयी हुन सक्नुहुन्छ। यसरी अनुहार हेरेर कुरा गर्दा तपाईंको कुराकानी अझै प्रभावकारी हुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने