-
आफ्नो विवाह समारोहलाई अझै आनन्दित र मर्यादित बनाउनुहोस्प्रहरीधरहरा—२००६ | नोभेम्बर १
-
-
आफ्नो विवाह समारोहलाई अझै आनन्दित र मर्यादित बनाउनुहोस्
“विवाह भएको दिन मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण अनि आनन्दित दिन थियो,” वैवाहिक जीवनमा बाँधिएको ६० वर्ष पुगिसकेका गोर्डन भन्छन्। साँचो मसीहीहरू विवाहको दिनलाई किन एकदमै महत्त्वपूर्ण ठान्छन्? किनभने त्यो दिन आफूले अत्यन्तै माया गरेको मान्छेसित अनि यहोवा परमेश्वरसित पवित्र वाचा बाँधिन्छ। (मत्ती २२:३७; एफिसी ५:२२-२९) हो, विवाह गर्न चाहनेहरू आफ्नो विवाहको दिन रमाइलो होस् भन्ने इच्छा गर्छन् तर उनीहरू विवाहका आरम्भकलाई पनि सम्मान दिन चाहन्छन्।—उत्पत्ति २:१८-२४; मत्ती १९:५, ६.
त्यसोभए, दुलहाले यो रमाइलो अवसरलाई कसरी अझै मर्यादित बनाउन सक्छन्? दुलहीले आफ्नो दुलहाप्रति र यहोवाप्रति कसरी आदर देखाउन सक्छिन्? अनि उपस्थित पाहुनाहरूले विवाहको दिनलाई कसरी अझै आनन्दित बनाउन सक्छन्? यी प्रश्नहरूको जवाफ पाउन बाइबलका केही सिद्धान्त विचार गर्नुहोस्। यी सिद्धान्त प्रयोग गऱ्यौं भने, विवाहजस्तो विशेष सुअवसरमा आइपर्न सक्ने समस्या कम गर्न सकिन्छ।
जिम्मेवारी कसको हो?
थुप्रै मुलुकमा, सरकारबाट विवाह गराइदिने अधिकार पाएको यहोवाको साक्षीले नै साक्षीहरूको विवाह कानुनी रूपमा गराइदिन सक्छन्। सरकारी कार्यालयमै गएर कानुनी रूपमा विवाह गर्नुपर्ने मुलुकहरूमा समेत विवाह गरिसकेपछि उक्त जोडीले बाइबल आधारित भाषणको प्रबन्ध मिलाउन सक्छन्। यस्तो भाषणमा, परमेश्वरले दिनुभएको शिरत्वसम्बन्धी जिम्मेवारी पूरा गर्नुपर्नेबारे गहिरिएर विचार गर्न दुलहालाई आग्रह गरिन्छ। (१ कोरिन्थी ११:३) त्यसकारण, विवाहमा गरिने सम्पूर्ण प्रबन्धको मुख्य जिम्मेवारी दुलहाकै हो। विवाह समारोह र भोजको सम्पूर्ण बन्दोबस्त पहिले नै मिलाइसकिएको भए तापनि यस्तो बन्दोबस्त मिलाउन दुलहालाई अप्ठ्यारो पर्न सक्छ। किन?
एउटा कारण त दुलहा पक्ष र दुलही पक्षका व्यक्तिहरूले विवाहमा यस्तै गर्नुपर्छ भनेर निकै दबाब दिन सक्छन्। थुप्रै विवाह गराइसकेका रोडल्फो यस्तो टिप्पणी गर्छन्: “विशेष गरी नातेदारले पनि विवाह-खर्च बेहोरिदिन लागेका छन् भने उनीहरूले विवाहमा यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ भनेर कर गर्दा कहिलेकाहीं दुलहालाई निकै अप्ठ्यारो पर्छ। उनीहरूले विवाह समारोह र भोज यस्तै हुनुपर्छ भन्नुको पछाडि कुनै खास कारण होला। तर उनीहरूले जसो-जसो भन्यो, त्यसै-त्यसै गर्दा बाइबलमा दुलहाको लागि तोकिएको जिम्मेवारीलाई बेवास्ता गरेको ठहर्छ।”
म्याक्सले विवाह गराइदिन थालेको ३५ वर्षभन्दा धेरै भइसक्यो। तिनको टिप्पणी यस्तो छ: “विवाह समारोह र भोजमा के-कसो गर्ने, त्यो सबै निर्णय दुलहीले नै गर्ने र दुलहाको विचारको त्यत्ति वास्ता नगर्ने झुकाव मैले देखेको छु।” थुप्रैको कानुनी रूपमा विवाह गराइदिइसकेका डेभिड पनि यसो भन्छन्: “शिरत्वसम्बन्धी आफ्नो जिम्मा पूरा गर्ने अनुभव दुलहासित नहुन सक्छ र विवाहको बन्दोबस्त मिलाउन पनि तिनी त्यति सिपालु नहोलान्।” त्यसोभए, दुलहाले कसरी आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्न सक्छन्?
कुराकानीले आनन्द बढाउँछ
विवाहको तयारी गर्ने आफ्नो जिम्मा सफलतासाथ पूरा गर्न दुलहाले प्रस्ट कुराकानी गर्नै पर्छ। बाइबलले पनि स्पष्टै यसो भनेको छ: “परामर्श विनाको योजना विफल हुन्छ।” (हितोपदेश १५:२२) दुलहाले विवाहको तयारीबारे पहिले दुलहीसित अनि त्यसपछि आ-आफ्नो परिवार र बाइबल आधारित सही सल्लाह दिन सक्नेहरूसित छलफल गर्दा योजना सफल हुन सक्छ।
हो, विवाह गर्न पक्का गरिसकेकाहरूले विवाहमा के गर्ने र अरू के-कसो गर्न सकिन्छ भन्ने योजना पहिले आपसमै छलफल गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। किन? भिन्नै पृष्ठभूमिमा हुर्केका दम्पती इभान र डेल्विनले विवाह गरेको निकै भइसक्यो र तिनीहरू आफ्नो वैवाहिक जीवनमा सन्तुष्ट छन्। विवाह समारोहबारे आफ्नो योजना सम्झँदै इभान भन्छन्: “म, विवाहमा साथीभाइ सबैलाई बोलाउन, केक काट्न र मेरी दुलहीले सेतो गाउन लगाएको हेर्न चाहन्थें र मैले त्यसै गर्ने निधो पनि गरिसकेको थिएँ। तर डेल्विनको भने विवाह भोजमा थोरैलाई मात्र निम्तो दिने र केक पनि नकाट्ने इच्छा रहेछ। उनले त विवाहमा लगाइने सेतो गाउनको साटो अरू नै लुगा लगाउने विचारसमेत गरिसकेकी रहिछन्।”
उसोभए, यी भिन्नतालाई त्यस दम्पतीले कसरी मिलाए त? दयालु हुँदै कुरा नलुकाई कुराकानी गरेर। (हितोपदेश १२:१८) इभान अझै यसो भन्छन्: “हामीले अप्रिल १५, १९८४ को वाचटावर-मा भएका विवाहबारे बाइबल आधारित लेखहरू पढ्यौं।a ती लेखले हामीलाई विवाह समारोहबारे परमेश्वरको दृष्टिकोण बुझ्न मदत गऱ्यो। हाम्रो फरक-फरक पृष्ठभूमिलाई पनि विचार गर्दै हामीले आफ्ना इच्छाहरूमा निकै छाँटकाँट गऱ्यौं र दुवैलाई मिल्ने खालका निर्णय गऱ्यौं।”
आर्ट र पेनीले पनि यस्तै निर्णय गरे। आफ्नो विवाहबारे सम्झँदै आर्ट भन्छन्: “पेनी र मैले हाम्रो विवाहमा के-कसो गर्ने भन्नेबारे आ-आफ्नो इच्छा छलफल गऱ्यौं र दुवैलाई मिल्ने सहमतिमा पुग्यौं। विवाहको दिनमा यहोवाको आशिष् रहोस् भनेर हामीले प्रार्थना गऱ्यौं। हामी दुवैका आमाबाबु अनि मण्डलीका परिपक्व विवाहित दम्पतीहरूसित पनि मैले सल्लाह गरें। उहाँहरूले दिनुभएको सल्लाहले निकै फाइदा भयो। त्यसैले हाम्रो विवाहको दिन रमाइलो भयो।”
पहिरन तथा सिंगारमा मर्यादित हुने
विवाहको दिन दुलहा र दुलहीले राम्रो पहिरन लगाउन खोज्नु त स्वाभाविकै हो। (भजन ४५:८-१५) विवाहको निम्ति सुहाउँदो पहिरन खोज्न उनीहरूले आफ्नो समय, मेहनत अनि पैसा खर्च गर्लान्। मर्यादित अनि आकर्षक पहिरन छनौट गर्न बाइबलका कुन-कुन सिद्धान्तले उनीहरूलाई मदत गर्न सक्छ?
दुलहीले लगाउने पहिरनलाई विचार गर्नुहोस्। व्यक्ति-व्यक्ति अनि देशअनुसार हरेकको रुचि अनि छनौट फरक-फरक हुने भए तापनि बाइबलको सल्लाह जहाँ पनि लागू हुन्छ। स्त्रीहरूले “सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र” पहिरिनुपर्छ। मसीही स्त्रीले हर समय पालन गर्नुपर्ने यो सल्लाह विवाहको दिन त झन् पालन गर्नै पर्छ। वास्तवमा, विवाह रमाइलो हुन “बहुमूल्य वस्त्रहरू” नै लगाउनु आवश्यक छैन। (१ तिमोथी २:९, NRV; १ पत्रुस ३:३, ४) यो सल्लाह पालन गर्दा ढुक्क हुन सकिन्छ!
अगाडि उल्लेख गरिएका डेभिड भन्छन्: “प्रायजसो दुलहा-दुलही बाइबल सिद्धान्त प्रयोग गर्ने प्रयास गर्छन् र यसको लागि तिनीहरूको तारिफ गर्नै पर्छ। तर दुलही र दुलहीसँगै बस्ने साथीहरूले अभद्र, छाती धेरै खुलेको वा छ्याङ्ङै देखिने पातलो गाउन लगाएको पनि पाइएको छ।” एक जना परिपक्व प्राचीन बिहे हुनुअघि नै दुलहा-दुलहीलाई भेटेर परमेश्वरको दृष्टिकोण बुझ्न मदत गर्दा रहेछन्। कसरी? विवाहमा लगाउने पहिरन मसीही सभाहरूमा पनि लगाउन मिल्ने खालको छ कि छैन, विचार गर्नुभएको छ? भनेर तिनी भावी दुलहा-दुलहीलाई सोध्ने गर्छन्। हो, सभामा जाँदा लगाउने पहिरन र विवाहमा लगाउने पहिरनको स्टाइल पक्कै फरक हुन्छ। यसबाहेक, विवाहमा लगाउने पहिरन स्थानीय चलनअनुसारको हुन सक्छ तर त्यो पनि उच्च मसीही स्तरअनुसारको हुनुपर्छ। संसारका कसै-कसैलाई बाइबलको नैतिक नियम कडा लागे तापनि साँचो मसीहीहरू संसारको प्रभावमा नपर्न निकै प्रयास गर्छन् र सन्तुष्ट हुन्छन्।—रोमी १२:२; १ पत्रुस ४:४.
पेनी भन्छिन्: “विवाह वा विवाह भोजलाई सबैभन्दा महत्त्वपूर्ण ठान्नुको साटो आर्ट र मैले विवाहको दिन हुने आध्यात्मिक पक्षमा ध्यान दियौं। किनकि आध्यात्मिक पक्ष नै सबैभन्दा महत्त्वपूर्ण थियो। त्यो दिन मैले के लगाएकी थिएँ अथवा के खाएकी थिएँ, त्यो त मलाई त्यत्ति याद छैन। तर उक्त दिन को-कोसित बिताएँ र आफूले माया गरेको मान्छेसित वैवाहिक बन्धनमा बाँधिन पाउँदाखेरिको खुसी अहिले पनि सम्झेकी छु।” आफ्नो विवाहको लागि योजना बनाउँदा मसीही जोडीले यी कुराहरूलाई मनमा राख्नु बेस हुन्छ।
राज्यभवन—मर्यादित स्थान
राज्यभवन उपलब्ध छ भने थुप्रै मसीही जोडी आफ्नो विवाह त्यहीं गर्न चाहन्छन्। किन? एक दम्पतीले यस्तो तर्क गरे: “विवाह, यहोवाले गर्नुभएको पवित्र प्रबन्ध हो भनेर हामीले बुझेका थियौं। त्यसकारण, हाम्रो उपासनास्थल राज्यभवनमा विवाह गर्दा हाम्रो विवाहमा यहोवा परमेश्वर पनि समावेश हुनुपर्छ भनेर विवाहको दिनदेखि नै मनमा ठप्प बस्यो। अन्तभन्दा राज्यभवनमा नै विवाह गर्नुको अर्को फाइदा भनेको विवाहमा आउने हाम्रा आफन्तहरूले पनि यहोवाको उपासनालाई हामी अत्यन्त महत्त्वपूर्ण ठान्छौं भनेर देखाउनु हो।”
राज्यभवनका सम्बन्धित प्राचीनहरूले विवाह समारोहको लागि राज्यभवन प्रयोग गर्ने अनुमति दिए भने, विवाहको लागि गरिएको बन्दोबस्त र योजनाबारे भावी दुलहा-दुलहीले ती प्राचीनहरूलाई जानकारी दिनुपर्छ। तोकिएकै समयमा आइपुगेर दुलहा-दुलहीले विवाहमा आएका पाहुनाहरूको सम्मान गर्न सक्छन्। अनि समारोहमा सबै कुरा मर्यादित होस् भनेर पनि तिनीहरूले पक्का गर्छन्।b (१ कोरिन्थी १४:४०) यसरी तिनीहरूको विवाह संसारको जस्तो तडकभडकले भरिएको हुनेछैन।—१ यूहन्ना २:१५, १६.
विवाहबारे यहोवाको जस्तो दृष्टिकोण छ, निम्तो पाएकाहरूले पनि त्यस्तै दृष्टिकोण राख्न सक्छन्। जस्तै: आफूले निम्तो पाएको विवाह समारोह अरू मसीहीको विवाहभन्दा भव्य होस् भन्ने आशा तिनीहरू गर्दैनन्। अन्यथा कसको विवाह भव्य थियो भन्ने होडबाजी गरेजस्तो हुन्छ। विवाह भोज वा विवाह भाषणपछिको जमघटमा जानुभन्दा राज्यभवनमा दिइने विवाह भाषण सुन्न जानु बढी महत्त्वपूर्ण छ भनेर पनि परिपक्व साक्षीहरूले बुझेका हुन्छन्। कारणवश विवाह भाषण वा भोजमध्ये कुनै एउटामा मात्र जान सकिने भयो भने राज्यभवनको समारोहमा जानु नै राम्रो हो। विलियम नाउँ गरेका प्राचीन भन्छन्: “परिस्थिति र समयले दिएर पनि पाहुनाहरू राज्यभवनमा आउँदैनन् तर विवाह भाषणपछि भोजमा चाहिं आउँछन् भने उनीहरूले विवाह समारोहको पवित्रतालाई बुझेका रहेनछन् भन्ने देखिन्छ। भोजको निम्तो पाएका छैनौं भने पनि राज्यभवनमा हुने समारोहमा उपस्थित भएर हामी दुलहा-दुलहीलाई समर्थन गर्न सक्छौं र विवाहमा उपस्थित अरू आफन्तहरूलाई पनि राम्रो साक्षी दिन सक्छौं।”
विवाहको दिन मात्र होइन, पछिसम्म रहिरहने आनन्द
व्यापारजगत्ले विवाह समारोहलाई पनि नाफा कमाउने व्यापार बनाएका छन्। हालै गरिएको एउटा अध्ययनअनुसार संयुक्त राज्य अमेरिकामा गरिने औसत विवाहमा २२,००० अमेरिकी डलर (लगभग १६,२८,००० रुपियाँ) अथवा एक जना अमेरिकीको [वार्षिक] औसत आम्दानीको आधा खर्च हुन्छ।” व्यापार बढाउने हेतुले गरिएको विज्ञापनको प्रभावमा परेर विवाहलाई भव्य बनाउन कतिपय दुलहा-दुलही ऋण लिन्छन्। तर त्यो एकदिनको रमझमको लागि लिएको ऋणको बोझ नवदम्पती अथवा तिनीहरूको परिवारले वर्षौंसम्म बोक्नुपर्ने हुन्छ। विवाहको जग यसरी बसाल्नु बुद्धिमानी होला र? बाइबल सिद्धान्त थाह नहुने वा बाइबल सिद्धान्तलाई बेवास्ता गर्नेहरूले त यस्तै तडकभडक रुचाउलान्। तर यस सम्बन्धमा साँचो मसीहीहरू भने, अत्यन्त फरक छन्!
धूमधामसित विवाह गर्नुभन्दा आफ्नो क्षमताअनुसार व्यावहारिक भएर अनि आध्यात्मिक कुरामा ध्यान दिंदै विवाह गरेकोले थुप्रै मसीही दम्पतीले परमेश्वरलाई गरेको समर्पणअनुसार आफ्नो समय र सम्पत्ति खर्च गर्न सकेका छन्। (मत्ती ६:३३) विवाह गरेदेखिन् यता १७ वर्षदेखि पूर्ण-समय सेवामा लागेका लइड र एलेग्जान्ड्रालाई विचार गर्नुहोस्। लइड भन्छन्: “कतिलाई त हाम्रो विवाह अति साधारण लाग्यो होला तर एलेग्जान्ड्रा र मलाईचाहिं साह्रै खुसी लाग्यो। हामीलाई आफ्नो विवाह ऋणमा डुब्ने अवसर होइन तर दुई व्यक्तिले अथाह आनन्द उठाओस् भनी यहोवाले गर्नुभएको प्रबन्धमा रमाउने दिन हुनुपर्छ जस्तो लाग्यो।”
एलेग्जान्ड्रा थप्छिन्: “विवाहअघि मैले अग्रगामी गरिरहेकी थिएँ र ऋण काढी-काढी विवाह गरेर म त्यो विशेष सुअवसर गुमाउन चाहन्नथें। हाम्रो विवाहको दिन विशेष दिन भए तापनि त्यो त हाम्रो वैवाहिक जीवनको पहिलो दिन मात्र थियो। ‘विवाहको दिनमा बढ्ता ध्यान केन्द्रित नगर्नुहोस् बरु विवाहित दम्पतीको रूपमा जीवन बिताउन यहोवासित निर्देशन माग्नुहोस्’ भन्ने सल्लाह हामीले पालन गऱ्यौं र यसो गर्दा यहोवाले आशिष् दिनुभएको महसुस गऱ्यौं।”c
तपाईंले विवाह गरेको दिन अवश्य पनि विशेष दिन हो। विवाहको दिन तपाईंले देखाउनुहुने मनोवृत्ति र व्यवहारले विवाहपछि वर्षौंसम्म असर गर्छ। त्यसकारण, यहोवामा भर परेर उहाँसित निर्देशन माग्नुहोस्। (हितोपदेश ३:५, ६) विवाह समारोहको आध्यात्मिक पक्षलाई सबैभन्दा महत्त्वपूर्ण ठान्नुहोस्। परमेश्वरले दिनुभएको जिम्मा पूरा गर्न एकअर्कालाई मदत गर्नुहोस्। यसरी तपाईं आफ्नो विवाहको बलियो जग बसाल्न सक्नुहुन्छ। अनि यहोवाको आशिष् पाएर विवाहको दिन मात्र होइन, पछिसम्म पनि आनन्दित हुन सक्नुहुनेछ।—हितोपदेश १८:२२. (w 06 10/15)
[फुटनोटहरू]
a थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित अवेक! फेब्रुअरी ८, २००२; प्रहरीधरहरा मे १, २०००, पृष्ठ १९-२२ र अप्रिल १५, १९९७, पृष्ठ २३-२६ हेर्नुहोस्।
b दुलहा-दुलहीले राज्यभवनमा हुने समारोहको फोटो खिच्ने अथवा भिडियो रेकर्डिङ गर्ने योजना बनाएका छन् भने विवाह समारोहको मर्यादामा बाधा नपुऱ्याउन उनीहरू पहिल्यै सजग हुनुपर्छ।
c यहोवाका साक्षीहरूद्वारा प्रकाशित पारिवारिक आनन्दको रहस्य पुस्तकको पृष्ठ २६ हेर्नुहोस्।
[पृष्ठ २१-मा भएको चित्र]
विवाहको योजना बनाउँदा कुरा नलुकाईकन एकअर्कासित आदरपूर्वक कुराकानी गर्नुपर्छ
[पृष्ठ २३-मा भएको चित्र]
विवाह समारोहको आध्यात्मिक पक्षलाई सबैभन्दा महत्त्वपूर्ण ठान्नुहोस्
-
-
यहोवाले पवित्र ठान्नुभएका कुरालाई के तपाईं पवित्र ठान्नुहुन्छ?प्रहरीधरहरा—२००६ | नोभेम्बर १
-
-
यहोवाले पवित्र ठान्नुभएका कुरालाई के तपाईं पवित्र ठान्नुहुन्छ?
“होसियारीसाथ हेर . . . कोही पनि करणी गर्ने र पवित्र कुराको मोल नगर्ने मानिस नहोस्।”—हिब्रू १२:१५, १६, NW.
१. अहिले संसारमा देखिएको कुन मनोवृत्ति यहोवाका सेवकहरूले देखाउँदैनन्?
सामान्यतया, संसारमा पवित्र कुराहरूलाई झन्-झनै ध्यान दिन छोडिएको छ। फ्रान्सको समाजशास्त्री एड्गार मोरिनले यसो भने: “परमेश्वर, प्रकृति, जन्मभूमि, इतिहास र तर्कशक्ति सबै नैतिकताका जग हुन्। तर यी कुराहरूले आफ्नो निर्विवाद चिनारीलाई गुमाइसकेका छन्। . . . मानिसहरू आफ्नो मूल्य-मान्यताहरू आफै छनौट गर्छन्।” यसले ‘संसारको आत्मा’ वा ‘अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्मालाई’ झल्काउँछ। (१ कोरिन्थी २:१२; एफिसी २:२) यहोवामा समर्पित भएर राजीखुसीले उहाँको सार्वभौमिकताको अधीनमा बस्नेहरूले यस्तो अनादारपूर्ण मनोवृत्ति देखाउँदैनन्। (रोमी १२:१, २) बरु, तिनीहरूले यहोवाको उपासनामा पवित्रताको महत्त्वपूर्ण भूमिका छ भनेर मानिलिन्छन्। हाम्रो जीवनमा कुन कुराहरू पवित्र हुनुपर्छ? परमेश्वरका सम्पूर्ण सेवकहरूले पवित्र मान्ने पाँचवटा कुराबारे यस लेखमा छलफल गरिनेछ। यसपछिको लेखचाहिं मसीही सभाहरू पवित्र छन् भन्ने कुरामा केन्द्रित हुनेछ। तर “पवित्र” शब्दको वास्तवमा अर्थ के हो?
२, ३. (क) धर्मशास्त्रमा यहोवाको पवित्रतालाई कसरी जोड दिइएको छ? (ख) हामी यहोवाको नाउँलाई कसरी पवित्र मान्छौं?
२ बाइबल लेखिएको हिब्रू भाषामा “पवित्र” शब्दले छुट्याउनु भन्ने अर्थ दिन्छ। उपासनाको सन्दर्भमा, “पवित्र” भन्नाले साधारण प्रयोगभन्दा अलग छुट्याइएको वा पवित्र ठानिएको कुरालाई बुझाउँछ। यहोवा पवित्र हुनुहुन्छ भन्नुको मतलब उहाँजस्तो पवित्र अरू कोही छैन। उहाँलाई “परम-पवित्र” भनिएको छ। (हितोपदेश ९:१०; ३०:३) प्राचीन इस्राएलमा प्रधान पूजाहारीले आफ्नो फेटाको अगाडिपट्टि “परमप्रभुको निम्ति पवित्र” भनी कुँदिएको एउटा सुनको पात्र लगाउँथे। (प्रस्थान २८:३६, ३७) स्वर्गमा यहोवाको सिंहासन वरिपरि भएका करूब र सराफहरूले यस्तो घोषणा गरिरहेको वर्णन बाइबलमा छ: “सेनाहरूका परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।” (यशैया ६:२, ३; प्रकाश ४:६-८) यहाँ पवित्र शब्दलाई दोहोऱ्याइनुले यहोवा सबैभन्दा पवित्र, स्वच्छ र शुद्ध हुनुहुन्छ, उहाँको बराबर कोही आउन सक्दैन भनेर जोड दिन्छ। हो, उहाँ सबै पवित्र कुराको स्रोत हुनुहुन्छ।
३ यहोवाको नाउँ पवित्र छ। भजनरचयिताले यस्तो उद्गार व्यक्त गरे: “तिनीहरूले तपाईंको महान् र भयानक नाउँको प्रशंसा गरून्। उहाँ पवित्र हुनुहुन्छ।” (भजन ९९:३) येशूले हामीलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्।” (मत्ती ६:९) येशूकी आमा मरियमले यसो भनिन्: “मेरो प्राणले परमप्रभुको प्रशंसा गर्दछ . . . सर्वशक्तिमानले मेरो निम्ति ठूलो काम गर्नुभएको छ। औ उहाँको नाउँ पवित्र छ।” (लूका १:४६, ४९) यहोवाका सेवकहरूको हैसियतमा हामी उहाँको नाउँलाई पवित्र मान्छौं। त्यस पवित्र नाउँमा कलंक लाग्ने कुनै काम गर्नदेखि जोगिन्छौं। त्यसबाहेक, हामी पवित्र कुराहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्छौं, मतलब यहोवाले पवित्र ठान्नुभएको कुरालाई हामी पनि पवित्र ठान्छौं।—आमोस ५:१४, १५.
हामी येशूलाई किन गहिरो आदर गर्छौं
४. बाइबलमा येशूलाई किन “पवित्र जन” भनिएको छ?
४ पवित्र परमेश्वर यहोवाले आफ्नो “एकलो पुत्र” येशूलाई पवित्र व्यक्तिको रूपमा सृष्टि गर्नुभयो। (यूहन्ना १:१४; कलस्सी १:१५; हिब्रू १:१-३) त्यसैले, उहाँलाई “परमेश्वरका पवित्र जन” भनिएको छ। (यूहन्ना ६:६९) उहाँ स्वर्गमा हुनुहुँदा जत्ति पवित्र हुनुहुन्थ्यो पृथ्वीमा मानव आमा मरियमको कोखबाट जन्मनुहुँदा पनि त्यत्तिकै पवित्र रहनुभयो किनभने पवित्र आत्माको शक्तिद्वारा मरियमले उहाँलाई जन्म दिएकी थिइन्। स्वर्गदूतले मरियमलाई यसो भनेका थिए: “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ . . . जो जन्मनुहुनेछ सो पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ।” (लूका १:३५) यहोवालाई प्रार्थना गर्दा यरूशलेमका मसीहीहरूले पनि परमेश्वरका उनै पुत्रलाई दुई पटक तपाईंका “पवित्र सेवक येशू” भने।—प्रेरित ४:२७, ३०.
५. येशूले पृथ्वीमा कुन पवित्र काम पूरा गर्नुभयो र उहाँको रगत किन अनमोल छ?
५ पृथ्वीमा हुनुहुँदा येशूले एउटा पवित्र काम पूरा गर्नु थियो। इस्वी संवत् २९ मा येशूको बप्तिस्मा हुँदा उहाँ यहोवाको महान् आध्यात्मिक मन्दिरका प्रधान पूजाहारी नियुक्त हुनुभयो। (लूका ३:२१, २२; हिब्रू ७:२६; ८:१, २) यसबाहेक, उहाँले आफूलाई बलिदान चढाउनुपर्ने थियो। उहाँले बगाउनुभएको रगतले पापी मानिसहरूलाई पापबाट छुटकारा दिनेथियो। (मत्ती २०:२८; हिब्रू ९:१४) त्यसैले, येशूको रगतलाई हामी पवित्र अर्थात् “अनमोल” मान्छौं।—१ पत्रुस १:१९.
६. येशूप्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ र किन?
६ हामीले हाम्रा राजा र प्रधान पूजाहारी ख्रीष्ट येशूको गहिरो आदर गर्छौं भनेर बताउँदै प्रेरित पावलले यस्तो लेखे: “परमेश्वरले [आफ्नो पुत्रलाई] अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु हो भनी स्वीकार गर्नुपर्छ।” (फिलिप्पी २:९-११) हाम्रा अगुवा, अहिले स्वर्गमा शासन गरिरहनुभएका राजा तथा मसीही मण्डलीका शिर येशू ख्रीष्टको अधीनमा खुसीसाथ बसेर यहोवाले पवित्र ठान्नुभएका कुराहरूलाई हामी पनि पवित्र ठान्छौं भनेर देखाउँछौं।—मत्ती २३:१०; कलस्सी १:१८.
७. ख्रीष्टको अधीनमा बसेका छौं भनेर हामी कसरी देखाउँछौं?
७ ख्रीष्टको अधीनमा बस्नुको अर्थ उहाँको डोऱ्याइमा भइरहेको काममा नेतृत्व लिन उहाँले चलाइरहनु भएका पुरुषहरूप्रति उचित आदर देखाउनु पनि हो। आत्मा-अभिषिक्त मसीहीहरू मध्येबाट बनेको परिचालक निकायलगायत यस निकायद्वारा नियुक्त शाखा, जिल्ला, क्षेत्र र मण्डलीका निरीक्षकहरूको कामलाई पवित्र जिम्मेवारी मान्नुपर्छ। त्यसैले, यस प्रबन्धलाई हामीले गहिरो आदर गर्नुपर्छ र यसको अधीनमा बस्नुपर्छ।—हिब्रू १३:७, १७.
एउटा पवित्र जाति
८, ९. (क) कुन तरिकामा इस्राएलीहरू पवित्र जाति थिए? (ख) यहोवाले इस्राएलीहरूलाई पवित्र हुनुपर्ने कुरामा कसरी जोड दिनुभयो?
८ यहोवाले इस्राएल राष्ट्रसित करार बाँध्नुभयो। त्यो सम्बन्धले त्यस नयाँ राष्ट्रलाई एउटा विशेष दर्जा प्रदान गऱ्यो। तिनीहरूलाई पवित्र ठहऱ्याइयो अर्थात् अलग्गै छुट्याइयो। यहोवा स्वयम्ले तिनीहरूलाई यसो भन्नुभयो: “तिमीहरू मेरो निम्ति पवित्र होओ, किनभने म परमप्रभु पवित्र छु, र तिमीहरू मेरै हुनलाई मैले तिमीहरूलाई अन्य मानिसहरूबाट अलग गरेर छुट्याएको हुँ।”—लेवी १९:२; २०:२६.
९ इस्राएल राष्ट्रको स्थापना भएदेखि नै यहोवाले इस्राएलीहरूलाई पवित्र हुनुपर्ने कुरामा जोड दिनुभयो। जस्तै, परमेश्वरले मोशालाई दस आज्ञा दिनुभएको ठाउँ सीनै पर्वतलाई तिनीहरूले छुनु समेत हुँदैन थियो। छोएको खण्डमा मृत्युदण्ड पाउँथे। त्यसको मतलब, सीनै पर्वतलाई त्यतिबेला पवित्र मानिन्थ्यो। (प्रस्थान १९:१२, २३) पूजाहारीगिरी, बासस्थान र त्यसभित्रका सर-सामान सबैलाई पवित्र मान्नुपर्थ्यो। (प्रस्थान ३०:२६-३०) पवित्रताको सन्दर्भमा मसीही मण्डलीको अवस्था कस्तो छ?
१०, ११. अभिषिक्त जनहरूको मसीही मण्डली पवित्र छ भनेर किन भन्न सकिन्छ र यसबाट ‘अरू भेडाले’ के गर्ने मौका पाएका छन्?
१० अभिषिक्त जनहरूको मसीही मण्डली यहोवाको दृष्टिमा पवित्र छ। (१ कोरिन्थी १:२) सम्पूर्ण अभिषिक्त मसीहीहरूको समूह यहोवाको महान् आध्यात्मिक मन्दिरको भाग नभए तापनि कुनै समय पृथ्वीमा भएको बेला तिनीहरूलाई एउटा पवित्र मन्दिरको रूपमा हेरिएको छ। त्यस मन्दिरमा यहोवा आफ्नो पवित्र आत्मामार्फत बास गर्नुहुन्छ। प्रेरित पावलले यस्तो लेखे: “[ख्रीष्ट येशूमा] पूरै घर ठीकसँग एकैसाथ जोडिएर एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ। अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ।”—एफिसी २:२१, २२, NRV; १ पत्रुस २:५, ९.
११ पावलले अभिषिक्त मसीहीहरूलाई अझ यस्तो लेखे: “तिमीहरू परमेश्वरका मन्दिर हौ, औ परमेश्वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाह छैन? . . . परमेश्वरको मन्दिर पवित्र छ, जो तिमीहरू नै हौ।” (१ कोरिन्थी ३:१६, १७) यहोवा पवित्र आत्मामार्फत अभिषिक्त मसीहीहरू माझ ‘बास गर्नुहुन्छ’ र तिनीहरूसित ‘हिंड्नुहुन्छ।’ (२ कोरिन्थी ६:१६) उहाँले आफ्ना विश्वासी ‘दासलाई’ निरन्तर डोऱ्याइरहनुहुन्छ। (मत्ती २४:४५-४७) ‘अरू भेडाले’ यस मन्दिर वर्ग अर्थात् अभिषिक्त जनहरूसँगसँगै अघि बढ्ने सुअवसर पाएका छन् र त्यस सुअवसरको तिनीहरू मोल गर्छन्।—यूहन्ना १०:१६; मत्ती २५:३७-४०.
हाम्रो मसीही जीवनमा पवित्र कुराहरू
१२. हाम्रो जीवनमा कुन कुराहरू पवित्र छन् र किन?
१२ मसीही मण्डलीका अभिषिक्त जन र अरू भेडाको जीवनसित सम्बन्धित थुप्रै कुरालाई पवित्र मानिनु कुनै अचम्म होइन। यहोवासितको हाम्रो सम्बन्ध पवित्र कुरा हो। (१ इतिहास २८:९; भजन ३६:७) यसलाई हामी अति अनमोल मान्छौं। त्यसैले, हाम्रो यो सम्बन्धमा बाधा पुऱ्याउने मौका कसैलाई र केही कुरालाई पनि दिंदैनौं। (२ इतिहास १५:२; याकूब ४:७, ८) यहोवासित घनिष्ठ सम्बन्ध कायम राख्न प्रार्थनाले महत्त्वपूर्ण भूमिका खेल्छ। अगमवक्ता दानियलले प्रार्थनालाई अति पवित्र मान्थे। त्यसैले प्रार्थना गरेको खण्डमा ज्यान नै गुमाउनुपर्छ भनेर थाह पाउँदा-पाउँदै पनि तिनले यहोवालाई प्रार्थना गर्न छाडेनन्। (दानियल ६:७-११) “भक्त” अर्थात् अभिषिक्त मसीहीहरूका ‘प्रार्थनालाई’ मन्दिरमा बालिने धूपसित तुलना गरिएको छ। (प्रकाश ५:८; ८:३, ४; लेवी १६:१२, १३) यसले प्रार्थना कत्ति पवित्र कुरा हो भनेर स्पष्ट पार्छ। ब्रह्माण्डको सार्वभौम परमेश्वरसित प्रार्थनाद्वारा कुरा गर्न पाउनु कत्ति ठूलो सुअवसर! त्यसैले, हामीले आफ्नो जीवनमा प्रार्थनालाई पवित्र मान्नु अचम्म होइन!
१३. कुन शक्ति पवित्र छ र हामीले यसलाई आफ्नो जीवनमा कसरी काम गर्न दिनुपर्छ?
१३ अभिषिक्त मसीहीहरू र अरू भेडाको जीवनलाई डोऱ्याउने शक्ति अर्थात् पवित्र आत्मालाई तिनीहरू अवश्यै पवित्र मान्छन्। पवित्र आत्मा भनेको यहोवाको सक्रिय शक्ति हो। यसले सधैं पवित्र परमेश्वरको इच्छाअनुरूप काम गर्ने भएकोले यसलाई “पवित्र आत्मा” वा “पवित्रताको आत्मा” भन्नु उपयुक्त छ। (यूहन्ना १४:२६; रोमी १:४) यही पवित्र आत्मामार्फत यहोवाले आफ्ना सेवकहरूलाई सुसमाचार प्रचार गर्न शक्ति दिनुहुन्छ। (प्रेरित १:८; ४:३१) यहोवाले आफ्नो त्यो आत्मा उहाँका “आज्ञा मान्नेहरू” र ‘आत्माको भरमा हिंड्नेहरूलाई’ दिनुहुन्छ, शरीरको लालसामा हिंड्नेहरूलाई दिनुहुन्न। (प्रेरित ५:३२; गलाती ५:१६, २५; रोमी ८:५-८) यो असामान्य शक्तिले मसीहीहरूलाई असल गुणहरू अर्थात् “आत्माको फल” फलाउन र “पवित्र आचरण र ईश्वरीय भक्तिका कार्यहरू” गर्न सक्षम बनाउँछ। (गलाती ५:२२, २३; २ पत्रुस ३:११, NW) हामी पवित्र आत्मालाई पवित्र मान्छौं भने त्यसलाई सन्ताप पुऱ्याउने वा त्यसलाई हाम्रो जीवनमा काम गर्न बाधा पुऱ्याउने कुनै पनि कुरा गर्ने छैनौं।—एफिसी ४:३०.
१४. कुन सुअवसरलाई अभिषिक्त मसीहीहरू पवित्र मान्छन् र त्यसमा अरू भेडाले पनि कसरी भाग लिन्छन्?
१४ पवित्र परमेश्वर यहोवाको नाउँ धारण गर्न र उहाँको साक्षी हुन पाउनु एउटा सुअवसर हो। यस सुअवसरलाई हामी पवित्र मान्छौं। (यशैया ४३:१०-१२, १५) यहोवाले अभिषिक्त मसीहीहरूलाई ‘नयाँ करारको सेवक हुन’ योग्य ठहराउनुभएको छ। (२ कोरिन्थी ३:५, ६) त्यसैले, तिनीहरूलाई ‘राज्यको सुसमाचार’ प्रचार गर्ने र “सबै देशका जातिहरूलाई चेला” बनाउने काम सुम्पनुभएको छ। (मत्ती २४:१४; २८:१९, २०) तिनीहरूले यो काम विश्वासीपूर्वक गरिरहेका छन् र लाखौं भेडाखाले मानिसहरूले तिनीहरूका कुरा सुनिरहेका छन्। ती भेडाखाले मानिसहरूले प्रतीकात्मक अर्थमा अभिषिक्त जनहरूलाई यसो भनिरहेका छन्: “हामी तपाईंसित जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्वर तपाईंसित हुनुहुन्छ।” (जकरिया ८:२३) तिनीहरूले आध्यात्मिक अर्थमा “किसान” [ NW] र ‘दाखबारीको मालीको’ हैसियतमा ‘हाम्रा परमेश्वरका अभिषिक्त सेवकको’ लागि खुसीसाथ सेवा गर्छन्। यसरी अरू भेडाले अभिषिक्त जनहरूलाई विश्वभरि गर्नुपर्ने तिनीहरूको सेवकाई पूरा गर्न ठूलो सहयोग पुऱ्याउँछन्।—यशैया ६१:५, ६.
१५. कुन कामलाई प्रेरित पावलले पवित्र माने र हामी पनि किन त्यस्तै दृष्टिकोण राख्छौं?
१५ उदाहरणका लागि, प्रेरित पावलले आफ्नो जन सेवकाईलाई पवित्र मान्थे। तिनले आफूलाई ‘अन्यजातिहरूका निम्ति परमेश्वरको सुसमाचारको सेवा गर्ने ख्रीष्ट येशूको सेवक’ हुँ भने। (रोमी १५:१६) कोरिन्थका मसीहीहरूलाई लेखेको पत्रमा पावलले आफ्नो सेवकाईलाई “धन” भनी बताए। (२ कोरिन्थी ४:१, ७) हामी आफ्नो जन सेवकाईमार्फत “परमेश्वरको [“पवित्र,” NW] वाणी” अरूलाई बताउँछौं। (१ पत्रुस ४:११) तसर्थ, हामी अभिषिक्त जन हौं या अरू भेडा, साक्षी दिने काममा भाग लिन पाउनुलाई पवित्र सुअवसर मान्छौं।
“परमेश्वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं”
१६. “पवित्र कुराको मोल नगर्ने मानिस” नबन्न हामीलाई कुन कुराले मदत दिनेछ?
१६ प्रेरित पावलले आफ्ना सँगी मसीहीहरूलाई “पवित्र कुराको मोल नगर्ने मानिस” नबन्न चेतावनी दिए। त्यस्तो व्यक्ति बन्नुको साटो, बरु तिनीहरूलाई ‘उछिट्टिएर आएको तीतो जराले दुःख दिई धेरै जनालाई बिटुलो पार्ला कि भनी होसियारीसाथ हेर्दै पवित्रताको पछि लाग्न’ सल्लाह दिए। (हिब्रू १२:१४-१६) “तीतो जरा” भन्ने अभिव्यक्तिले मण्डलीले गरेको कामकुरोमा गल्ती कोट्याउने केही मसीहीहरूलाई बुझाउँछ। उदाहरणका लागि, तिनीहरू विवाहको पवित्रता वा नैतिक तवरमा स्वच्छ रहनुपर्ने आवश्यकताबारे यहोवाको दृष्टिकोणसित सहमत नहुन सक्छन्। (१ थिस्सलोनिकी ४:३-७; हिब्रू १३:४) अथवा तिनीहरू “सत्यबाट तर्किएकाहरूले” फिंजाएको धर्मत्यागी कुरा अर्थात् “पवित्र कुराको विरुद्धमा गरिने बेकामको बकबकमा” लाग्न सक्छन्।—२ तिमोथी २:१६-१८, NW.
१७. पवित्रताबारे यहोवाको जस्तो दृष्टिकोण आफ्नो जीवनमा झल्काउन अभिषिक्त जनहरूले किन निरन्तर प्रयास गरिरहनै पर्छ?
१७ आफ्ना अभिषिक्त सँगी भाइहरूलाई पावलले यस्तो लेखे: “ए प्रिय हो, . . . शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं, औ परमेश्वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं।” (२ कोरिन्थी ७:१) पावलको यस भनाइले के देखाउँछ भने, “स्वर्गीय बोलावटका सहभागी” अर्थात् अभिषिक्त मसीहीहरूले आफ्नो जीवनको हर पक्षमा पवित्रताबारे यहोवाको जस्तो दृष्टिकोण झल्काएको प्रमाणित गर्न निरन्तर प्रयास गरिरहनै पर्छ। (हिब्रू ३:१) त्यस्तैगरि, प्रेरित पत्रुसले पनि आफ्ना आत्म-अभिषिक्त भाइहरूलाई यस्तो आग्रह गरे: “आज्ञा पालन गर्ने बालकहरूले झैं तिमीहरूको अजान अवस्थाको समयमा तिमीहरूका अघिअघिका अभिलाषाअनुसार नभएर, तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ।”—१ पत्रुस १:१४, १५.
१८, १९. (क) ‘ठूलो भीडका’ सदस्यहरूले पवित्र कुराहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्छन् भनी कसरी देखाउँछन्? (ख) हाम्रो मसीही जीवनका अर्को कुन पवित्र पक्षबारे यसपछिको लेखमा छलफल गरिनेछ?
१८ “महा सङ्कष्टबाट” बच्ने ‘ठूलो भीडका’ सदस्यहरूबारे चाहिं के भन्न सकिन्छ? तिनीहरूले पनि पवित्र कुराहरूप्रति यहोवाको जस्तै दृष्टिकोण आफ्नो जीवनमा झल्काएको प्रमाण दिनै पर्छ। तिनीहरूले परमेश्वरको आध्यात्मिक मन्दिरको पार्थिव चोकमा यहोवालाई ‘पवित्र सेवा’ चढाइरहेको वर्णन प्रकाशको किताबमा गरिएको छ। तिनीहरूले प्रतीकात्मक अर्थमा ‘आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोई सेतो बनाएर’ ख्रीष्टको छुटकाराको बलिदानमा विश्वास गरेका छन्। (प्रकाश ७:९, १४, १५) यसो गर्दा तिनीहरूले यहोवाको अनुमोदन पाउन सक्छन् अनि ‘शरीर र आत्माको हरेक किसिमको अशुद्धताबाट तिनीहरू आफैलाई शुद्ध पार्छन् र परमेश्वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढाउँदै लान्छन्।’
१९ अभिषिक्त मसीहीहरू र ठूलो भीडका मसीहीहरूको जीवनको एउटा महत्त्वपूर्ण पक्ष यहोवाको उपासना गर्न र उहाँको वचन अध्ययन गर्न नियमित तवरमा भेला हुनु हो। आफ्ना जनहरूको जमघटलाई यहोवा पवित्र ठान्नुहुन्छ। यस महत्त्वपूर्ण पक्षमा पनि पवित्र कुराहरूप्रति यहोवाको जस्तै दृष्टिकोण हामीले किन राख्नुपर्छ र कसरी राख्न सक्छौं? यसपछिको लेखमा छलफल गरिनेछ। (w 06 11/01)
पुनरावलोकन गर्दा
• कस्तो सांसारिक दृष्टिकोण यहोवाका सेवकहरूले देखाउँदैनन्?
• किन यहोवा सबै पवित्र कुराहरूको स्रोत हुनुहुन्छ?
• ख्रीष्टको पवित्रतालाई हामी आदर गर्छौं भनेर कसरी देखाउँछौं?
• कुन कुराहरूलाई हामीले आफ्नो जीवनमा पवित्र मान्नुपर्छ?
[पृष्ठ २५-मा भएको चित्र]
प्राचीन इस्राएलमा पूजाहारीगिरी, बासस्थान र त्यसका सर-सामानहरू सबैलाई पवित्र मानिन्थ्यो
[पृष्ठ २७-मा भएका चित्रहरू]
प्रार्थना र हाम्रो जन सेवकाई पवित्र सुअवसरहरू हुन्
-
-
हाम्रा पवित्र जमघटप्रति आदर देखाउनेप्रहरीधरहरा—२००६ | नोभेम्बर १
-
-
हाम्रा पवित्र जमघटप्रति आदर देखाउने
“म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा तिनीहरूलाई आनन्दित तुल्याउनेछु।”—यशैया ५६:७.
१. हाम्रा सभाहरूप्रति उचित आदर देखाउनुपर्ने कस्ता धर्मशास्त्रीय कारणहरू छन्?
यहोवाले अभिषिक्त मसीहीहरू र अरू भेडालाई आफ्नो “पवित्र पर्वतमा” उहाँको उपासना गर्न भेला गराउनुभएको छ। उहाँले तिनीहरूलाई आफ्नो “प्रार्थनाको घर” अर्थात् आध्यात्मिक मन्दिरमा आनन्दित तुल्याइरहनुभएको छ। त्यो मन्दिर “सब जातिहरूका निम्ति प्रार्थनाको घर” हो। (यशैया ५६:७; मर्कूस ११:१७) यी कुराहरूले यहोवाको उपासना पवित्र, शुद्ध र उच्च छ भनेर देखाउँछन्। अध्ययन र उपासनाको लागि भेला हुने सभाहरूप्रति उचित आदर देखाएर हामी पवित्र कुराहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राखेको प्रमाण दिन्छौं।
२. यहोवाले आफ्नो उपासनाको लागि छान्नुभएको ठाउँलाई पवित्र ठान्नुहुन्थ्यो भनेर कुन कुराले देखाउँछ अनि येशूले पनि त्यस्तै ठान्नुहुन्थ्यो भन्ने कुरा कसरी देखाउनुभयो?
२ प्राचीन इस्राएलमा, यहोवाले आफ्नो उपासनाको लागि छान्नुभएको ठाउँलाई पवित्र मान्नुपर्थ्यो। बासस्थान र त्यसका सर-सामान र भाँडाकुँडाहरूलाई अभिषेक गरेर पवित्र गर्नुपर्थ्यो। यसो गर्दा ‘ती चीजहरू महापवित्र’ हुन्थे। (प्रस्थान ३०:२६-२९) बासस्थानमा दुईवटा कोठा थिए। एउटालाई “पवित्रस्थान” र अर्कोलाई ‘महा-पवित्रस्थान’ भनिन्थ्यो। (हिब्रू ९:२, ३) पछि त्यो बासस्थानको साटो यरूशलेममा मन्दिर बनाइयो। यरूशलेम यहोवाको उपासना गर्ने मुख्य ठाउँ भएको हुनाले त्यसलाई “पवित्र शहर” भनिन्थ्यो। (नहेम्याह ११:१; मत्ती २७:५३) पृथ्वीमा सेवा गर्नुहुँदा येशूले पनि यरूशलेमको मन्दिरप्रति उचित आदर देखाउनुभयो। मानिसहरूले मन्दिर क्षेत्रलाई व्यापार गर्न र सर-सामानहरू लिएर ओहोरदोहोर गर्ने छोटो बाटोको रूपमा प्रयोग गरिरहेका थिए। यसरी मन्दिर क्षेत्रलाई अनादरपूर्ण ढंगमा प्रयोग गरिएको देखेर उहाँ अत्यन्तै रिसाउनुभयो।—मर्कूस ११:१५, १६.
३. इस्राएलका जमघटहरू पवित्र थिए भनेर कुन कुराले देखाउँछ?
३ इस्राएलीहरू यहोवालाई उपासना गर्न र उहाँको व्यवस्था पढेको सुन्न नियमित तवरमा भेला हुन्थे। तिनीहरूका चाडहरूको केही निश्चित दिनलाई पवित्र महा-सभाका चाडहरू भनिन्थ्यो र यसले ती चाडहरू पवित्र हुन्थे भनेर स्पष्ट देखाउँछ। (लेवी २३:२, ३, ३६, ३७) एज्रा र नहेम्याहको समयमा मानिसहरू एकसाथ भेला हुँदा लेवीहरूले ‘तिनीहरूलाई . . . व्यवस्था बुझाइदिन्थे।’ “व्यवस्थाका वचनहरू सुनेर तिनीहरू सबै” रोएकोले लेवीहरूले “यसो भनेर मानिसहरूलाई चूप लगाए, ‘चूप लाग, किनभने आजको दिन पवित्र छ।’ ” त्यसपछि इस्राएलीहरूले ‘ठूलो रमाहटको’ साथ सात दिने छाप्रोबासको चाड मनाए। त्यसको साथै, त्यहाँ “पहिलो दिनदेखि पछिल्लो दिनसम्म दिनहुँ परमेश्वरको व्यवस्थाको पुस्तक पढियो। तिनीहरूले सात दिनसम्म यो चाड मनाए। औ आठौं दिनमा विधिअनुसार आखिरी चाड” अर्थात् पवित्र महा-सभा मनाए। (नहेम्याह ८:७-११, १७, १८) परमेश्वरको व्यवस्था पढिने ती अवसरहरू पवित्र भएकाले उपस्थित सबैले ध्यानपूर्वक सुनी आदर देखाउनुपर्थ्यो।
हाम्रा सभाहरू पवित्र जमघट हुन्
४, ५. हाम्रा सभाहरू पवित्र जमघट हुन् भनेर ती सभाका कुन कुराहरूले देखाउँछन्?
४ हो, यहोवाको उपासना गर्न समर्पण गरिएको विशेष मन्दिरसहितको पवित्र सहर त अहिले पृथ्वीमा छैन। तैपनि, यहोवाको उपासनाको लागि हुने सभाहरू पवित्र जमघट हुन् भनेर हामीले बिर्सनु हुँदैन। हामी बाइबल पढ्न र अध्ययन गर्न हप्ताको तीन चोटि सभामा भेला हुन्छौं। त्यहाँ, नहेम्याहको समयमा जस्तै परमेश्वरको वचनको ‘अर्थ बुझाइन्छ।’ (नहेम्याह ८:८) सबै सभाहरूको सुरु र अन्त प्रार्थनाद्वारा गरिन्छ अनि धेरैजसो सभामा यहोवाको प्रशंसा गर्ने गीत पनि गाइन्छ। (भजन २६:१२) हो, मण्डलीका सभाहरू उपासनाका भाग हुन्। त्यसैले हामीले तीप्रति भक्तिभाव देखाउनुपर्छ र सभा भइरहेको बेला ध्यानपूर्वक सुनी ती सभाहरूप्रति आदर देखाउनुपर्छ।
५ यहोवाका जनहरू उहाँलाई उपासना चढाउन, उहाँको वचन अध्ययन गर्न र न्यानो मसीही संगतिको आनन्द उठाउन एकसाथ भेला हुँदा उहाँले तिनीहरूलाई आशिष् दिनुहुन्छ। सभाहरूमा ‘यहोवाले . . . आशिष् खन्याउनुहुन्छ’ भनेर हामी विश्वस्त हुन सक्छौं। (भजन १३३:१, ३, NRV) यदि ती सभाहरूमा भेला हुन्छौं र त्यहाँ हुने आध्यात्मिक कार्यक्रममा ध्यान दिन्छौं भने हामीले त्यो आशिष् पाउँछौं। साथै, येशूले यसो भन्नुभयो: “जहाँ दुइ कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका बीचमा हुन्छु।” यस पदको प्रसंगलाई हेर्दा, यहाँ बताइएको भेलाले दुई भाइहरूबीचको गम्भीर समस्या सुल्झाउन मसीही प्राचीनहरूले गर्ने सभालाई बुझाउने भए तापनि त्यसको सिद्धान्त हाम्रा मण्डलीका सभाहरूमा पनि लागू हुन्छ। (मत्ती १८:२०) ख्रीष्टको नाउँमा मसीहीहरू एकसाथ भेला हुँदा उहाँ पवित्र आत्मामार्फत त्यहाँ उपस्थित हुनुहुन्छ भने ती जमघटहरूलाई हामीले पवित्र मान्नु पर्दैन र?
६. हामी भेला हुने साना-ठूला दुवै प्रकारका ठाउँहरूबारे के भन्न सकिन्छ?
६ यो कुरा साँचो हो, मानिसले बनाएको मन्दिरमा यहोवा बास गर्नुहुन्न। तैपनि, हाम्रा राज्यभवनहरू साँचो उपासना गर्ने ठाउँ हुन्। (प्रेरित ७:४८; १७:२४) हामी त्यहाँ यहोवाको वचन अध्ययन गर्न, उहाँलाई प्रार्थना चढाउन र उहाँको प्रशंसा गाउन भेला हुन्छौं। त्यही उद्देश्यले हामी सम्मेलन भवनहरूमा पनि भेला हुन्छौं। सभागृह, प्रदर्शनी भवन वा रंगशालाहरू जस्ता ठूलो ठाउँहरू अधिवेशनहरूको लागि भाडामा लिइन्छ। त्यसरी त्यस्ता ठूला भवन तथा स्थानहरू पवित्र जमघटको लागि प्रयोग गरिंदा ती नै उपासना गर्ने ठाउँ हुन्छन्। उपासनाको लागि गरिने ती जमघट साना हुन् या ठूला, हाम्रो आदरको योग्य हुन्छन् र यो कुरा हाम्रो मनोवृत्ति र आनीबानीमा झल्किनुपर्छ।
हाम्रा जमघटहरूप्रति आदर देखाउने तरिकाहरू
७. कुन स्पष्ट तरिकामा हामी हाम्रा जमघटहरूप्रति आदर देखाउन सक्छौं?
७ हाम्रा जमघटहरूप्रति आदर देखाउन सक्ने स्पष्ट तरिकाहरू छन्। एउटा तरिका हो, राज्य गीत सुरु हुनुभन्दा अगाडि नै राज्यभवनमा पुग्नु। धेरैजसो यी गीतहरू प्रार्थनाको रूपमा छन्। तसर्थ, गीत गाउँदा श्रद्धाभावसहित गाउनुपर्छ। भजन २२ उद्धृत गर्दै प्रेरित पावलले येशूबारे यस्तो लेखे: “मेरा भाइहरूलाई तपाईंको नाउँ म बयान गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गाउनेछु।” (हिब्रू २:१२) त्यसैले, सभामा गीत सुरु हुनुअघि नै हामी आ-आफ्नो सीटमा बसिसकेको हुनुपर्छ र गीत गाउँदा शब्दको भावमा ध्यान दिनुपर्छ। यसो गर्ने बानी नै बसाल्नुपर्छ। गीत गाउँदा भजन रचयिताको जस्तै मनोभाव झल्काऔं, जसले यस्तो लेखे: “मेरो पूरा हृदयले सोझा मानिसहरूका सभा र समुदायमा, म परमप्रभुमा धन्यवाद चढाउनेछु।” (भजन १११:१) हो, हामी सभामा चाँडो पुग्नु र सभाको अन्तसम्म बस्नुको एउटा मुख्य कारण गीत गाएर यहोवाको प्रशंसा गाउनु पनि हो।
८. हाम्रा सभाहरूमा गरिने प्रार्थनाप्रति आदर देखाउनुपर्छ भनेर बाइबलको कुन उदाहरणले देखाउँछ?
८ हाम्रा सबै सभाहरूको आध्यात्मिक महत्त्व बढाउने अर्को पक्ष हो, उपस्थित सबैको लागि गरिने हार्दिक प्रार्थना। प्रथम शताब्दीमा एक पटक, यरूशलेमका मसीहीहरू एकसाथ भेला भए र “सबैले एकै मनका भएर परमेश्वरसित सोर उचाली” व्यग्र प्रार्थना गरे। परिणाम? सतावटको बावजूद तिनीहरूले “निर्भयतासँग परमेश्वरको वचन” बोलिरहन सके। (प्रेरित ४:२४-३१) प्रार्थना भइरहेको बेला तिनीहरूले आफ्नो मन अन्त कतै डुलाएको तपाईं कल्पना गर्न सक्नुहुन्छ? पक्कै सक्नुहुन्न। उपस्थित सबैले “एकै मनका भएर” प्रार्थना गरे। हाम्रा सभाहरूमा गरिने प्रार्थनाले उपस्थित सबैको भावनालाई झल्काउँछ। सभामा हुने ती प्रार्थनाहरूलाई हामीले ध्यानपूर्वक सुनी आदर देखाउनुपर्छ।
९. हामी आफ्नो पहिरन र आनीबानीद्वारा पवित्र जमघटहरूप्रति कसरी आदर देखाउन सक्छौं?
९ त्यसबाहेक, हाम्रा पवित्र जमघटहरूलाई हामी गहिरो आदर गर्छौं भनेर आफ्नो पहिरनबाट देखाउन सक्छौं। हाम्रो पहिरन र कपालको स्टाइलले सभाहरूलाई मर्यादित बनाउनुमा थप योगदान पुऱ्याउन सक्छ। प्रेरित पावलले यस्तो सल्लाह दिए: “सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विना क्रोध र विवादसाथ प्रार्थना गरून् भन्ने म चाहन्छु। त्यही किसिमले स्त्रीहरू साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्। कपाल सिंगारेर बाटेको, सुन, मोती र बहुमूल्य लुगाहरूले ता होइन।” (१ तिमोथी २:८-१०) रंगशालाहरूमा आयोजना गरिएका ठूला अधिवेशनहरू धाउँदा मौसमअनुसारको पहिरन लगाउन सक्छौं तर त्यो पहिरन पनि मर्यादित हुनुपर्छ। यसबाहेक, यस्ता जमघटहरूप्रतिको हाम्रो आदरले गर्दा हामी कार्यक्रम चलिरहेको बेला खानेकुरा खाँदैनौं वा चुइङगम चपाउँदैनौं। भद्र पहिरन लगाएर र असल आनीबानी देखाएर हामीले यहोवा परमेश्वर, उहाँको उपासना र सँगी उपासकहरूप्रति आदर देखाइरहेका हुन्छौं।
परमेश्वरको घरानालाई सुहाउने आचरण
१०. हाम्रा मसीही सभाहरूमा आचरण उच्च स्तरको हुनुपर्छ भनेर प्रेरित पावलले कसरी देखाए?
१० मसीही सभाहरू कसरी सञ्चालन गर्नुपर्छ भन्ने सन्दर्भमा प्रेरित पावलको बुद्धिमानी सल्लाह पहिलो कोरिन्थी अध्याय १४ मा पाउँछौं। त्यस अध्यायको अन्तिम पदमा तिनले यस्तो लेखे: “सबै काम शिष्ट रूपले र नियमपूर्वक गर्नू।” (१ कोरिन्थी १४:४०) हाम्रा सभाहरू मसीही मण्डलीले गर्ने गतिविधिको महत्त्वपूर्ण भाग हुन् र यी सभाहरूमा परमेश्वरको घरानालाई सुहाउने आचरण देखाउनुपर्छ।
११, १२. (क) सभाहरू धाउने केटाकेटीको मनमा कुन कुराको छाप पर्नुपर्छ? (ख) केटाकेटीले सभाहरूमा आफ्नो विश्वास कसरी उचित तरिकामा व्यक्त गर्न सक्छन्?
११ विशेषगरि, केटाकेटीलाई हाम्रा सभाहरूमा कस्तो आनीबानी देखाउनुपर्छ भनेर सिकाउनु आवश्यक छ। राज्यभवन र पुस्तक अध्ययन हुने ठाउँहरू खेल्ने ठाउँ होइनन् भनी मसीही आमाबाबुले आफ्ना छोराछोरीलाई सिकाउनुपर्छ। ती ठाउँहरू यहोवालाई उपासना चढाउने र उहाँको वचन अध्ययन गर्ने ठाउँ हुन्। बुद्धिमान् राजा सुलेमानले यस्तो लेखे: “परमेश्वरको भवनमा जाँदा होसियारसित जाओ। सुन्नको लागि नजिक आओ।” (उपदेशक ५:१, NW) वयस्क, “बालक” सबैलाई एकसाथ भेला होऊ भनी मोशाले इस्राएलीहरूलाई सिकाए। तिनले यसो भने: ‘सबैलाई भेला गर र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूको परमेश्वरका भय मान्न सिकून् र यस व्यवस्थाका सबै आज्ञा होशियारीसाथ पालन गरून्। तिमीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु परमेश्वरको भय मान्न सिकून्।’—व्यवस्था ३१:१२, १३.
१२ त्यसैगरि आज पनि स-साना केटाकेटी मुख्यतः सुन्न र सिक्न भनेरै आफ्ना आमाबाबुसित सभामा आउँछन्। तिनीहरूले सभामा भनिएको कुरा सुनेर, कम-से-कम बाइबलका आधारभूत सच्चाइ बुझ्न सक्ने भएपछि छोटो टिप्पणीहरू दिएर आफ्नो विश्वासको “जन घोषणा” गर्न सक्छन्। (रोमी १०:१०, NW) स-साना केटाकेटीले आफूले बुझेको प्रश्नको जवाफ एक-दुई शब्दमा भन्ने प्रयास गरेर टिप्पणी दिन सुरु गर्न सक्छन्। सुरु-सुरुमा त तिनीहरूले पढेर टिप्पणी दिनुपर्ने होला तर समय बित्दै गएपछि आफ्नै शब्दमा भन्ने प्रयास गर्नेछन्। यसो गर्न तिनीहरूलाई रमाइलो लाग्नेछ र लाभदायी पनि हुन्छ। यसरी स-साना केटाकेटीले आफ्नै शब्दमा आफ्नो विश्वास व्यक्त गरेको सुन्दा सभामा उपस्थित वयस्कहरू आनन्दित हुन्छन्। साथै आमाबाबु आफैले पनि टिप्पणी दिएर छोराछोरीको लागि उदाहरण बसाल्छन्। सम्भव छ भने, छोराछोरीलाई बाइबल, गीतको किताब र अध्ययन गरिने प्रकाशनको प्रति दिनु बेस हो। तिनीहरूले यस्ता प्रकाशनहरूप्रति उचित आदर देखाउन सिक्नुपर्छ। यी कुराहरू गर्दा हाम्रा सभाहरू पवित्र जमघट हुन् भनेर छोराछोरीको मनमा छाप पर्नेछ।
१३. सभामा पहिलो चोटि आउनेहरूले के भनेको हामी चाहन्छौं?
१३ निस्सन्देह, हाम्रा सभाहरू चर्चहरूमा हुने कार्यक्रमजस्तो भएको हामी चाहँदैनौं। ती चर्चहरूमा हुने कार्यक्रमहरू आत्मीयता नभएको या अति नै धर्मी वा पवित्र देखाउन खोज्ने वा कानै खाने होहल्ला भएको रक कन्सर्टजस्ता हुन्छन्। हाम्रा राज्यभवनमा हुने सभाहरू न्यानो, मायालु र मित्रैलो भएको चाहन्छौं। तर त्यसको मतलब, आराम र मनोरञ्जनको लागि भेला हुने क्लबजस्तो हुनुपर्छ भन्ने पनि होइन। हामी सभाहरूमा यहोवाको उपासना गर्न भेला हुन्छौं। त्यसैले ती सभाहरू सधैं मर्यादित हुनुपर्छ। नयाँ जिज्ञासुहरू हाम्रा सभाहरूमा पहिलो चोटि आउँदा त्यहाँ हुने कार्यक्रम सुनेर अनि हाम्रो र हाम्रा छोराछोरीको आनीबानी देखेर तिनीहरूले यसो भनेको हामी चाहन्छौं: “साँच्चिनै परमेश्वर तिमीहरूका बीचमा हुनुहुन्छ।”—१ कोरिन्थी १४:२५.
हाम्रो उपासनाको स्थायी पक्ष
१४, १५. (क) हामी कसरी ‘परमेश्वरका भवनको अवहेलना गर्नबाट’ जोगिन सक्छौं? (ख) यशैया ६६:२३ कसरी पूरा भइरहेको छ?
१४ यस लेखको सुरुमा बताइएझैं यहोवाले आफ्ना जनहरूलाई उहाँको “प्रार्थनाको घरमा” अर्थात् आध्यात्मिक मन्दिरमा भेला गराउनुका साथै आनन्दित तुल्याइरहनुभएको छ। (यशैया ५६:७) भौतिक सहयोग गरेर मन्दिरप्रति उचित आदर देखाउनुपर्छ भनेर विश्वासी नहेम्याहले सँगी यहूदीहरूलाई सम्झना दिलाए। तिनले यसो भने: “हामी परमेश्वरका भवनको अवहेलना गर्नेछैनौं।” (नहेम्याह १०:३९, NRV) त्यसबाहेक, यहोवाले हामीलाई उहाँको “प्रार्थनाको घरमा” उपासना गर्न दिनुभएको निमन्त्रणालाई हामीले अवहेलना गर्नु हुँदैन।
१५ उपासनाको लागि नियमित रूपमा एकसाथ भेला हुनुपर्छ भनेर जोड दिंदै यशैयाले यस्तो भविष्यवाणी गरे: “औंसी र विश्राम दिनैपिच्छे, सबै मानिसहरू मलाई सेवा गर्न आउनेछन्, परमप्रभु भन्नुहुन्छ।” (यशैया ६६:२३) यो कुरा आज पूरा हुँदैछ। हरेक हप्ता समर्पित मसीहीहरू यहोवाको उपासना गर्न एकसाथ भेला हुन्छन्। कुन कुन तरिकामा? अन्य गतिविधिका साथै मसीही सभाहरूमा उपस्थित भएर अनि जन सेवकाईमा भाग लिएर। यसरी ‘यहोवालाई सेवा गर्न आउनेहरूमध्ये’ के तपाईं पनि हुनुहुन्छ?
१६. सभामा नियमित भेला हुनुलाई हामीले अहिलेदेखि नै आफ्नो जीवनको स्थायी पक्ष किन बनाउनुपर्छ?
१६ यशैया ६६:२३ यहोवाले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा पूर्णतया पूरा हुनेछ। त्यतिबेला, “सबै मानिसहरू” शाब्दिक अर्थमै महिनैपिच्छे र हप्तैपिच्छे यहोवालाई सदासर्वदा “सेवा गर्न” अर्थात् उपासना गर्न आउनेछन्। नयाँ रीतिरिवाजमा यहोवाको उपासना गर्नको लागि एकसाथ भेला हुनु हाम्रो आध्यात्मिक जीवनको स्थायी पक्ष हुनेछ। त्यसैले, हाम्रा पवित्र जमघटहरूमा नियमित भेला हुनुलाई हामीले अहिलेदेखि नै आफ्नो जीवनको स्थायी पक्ष बनाउनु पर्दैन र?
१७. प्रभुको “दिन नजिक आइरहेको [हामीले] देखेका” हुनाले “झन्” बढ्ता गरी सभामा धाउनु किन खाँचो छ?
१७ अन्त झन्-झनै नजिक भएकोले उपासनाको लागि मसीही सभाहरूमा नियमित उपस्थित हुन पहिलाभन्दा अझ दृढ अठोट गर्नुपर्छ। हाम्रा पवित्र सभाहरूको हामी आदर गर्छौं। त्यसैले जागिर, कामधन्धा, स्कूलको होमवर्क वा रात्री स्कूलले गर्दा सँगी विश्वासीहरूसित नियमित तवरमा भेला हुन पाउने अवसरहरू गुमाउँने छैनौं अर्थात् सभाहरू छुटाउने छैनौं। मसीही भाइहरूसितको संगतिबाट पाइने बल हामीलाई चाहिन्छ। सभाहरूमा हामी एकअर्कालाई चिन्ने, प्रोत्साहन आदानप्रदान गर्ने अनि ‘प्रेम र असल कामको निम्ति’ उत्साहित गर्ने अवसर पाउँछौं। प्रभुको “दिन नजिक आइरहेको [हामीले] देखेका” हुनाले “झन्” बढ्ता गरी सभामा धाउनु खाँचो छ। (हिब्रू १०:२४, २५) तसर्थ, सभामा नियमित उपस्थित भएर, भद्र पहिरन लगाएर र असल आनीबानी देखाएर पवित्र जमघटहरूप्रति हामी सधैं उचित आदर देखाऔं। यसो गर्दा हामीले पवित्र कुराहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्छौं भनी देखाइरहेका हुन्छौं। (w 06 11/01)
पुनरावलोकन गर्दा
• यहोवाका जनहरूको जमघटलाई पवित्र मान्नुपर्छ भनेर कुन कुराले देखाउँछ?
• हाम्रा सभाका कस्ता पक्षहरूले ती पवित्र जमघट हुन् भनी प्रमाणित गर्छन्?
• हाम्रा पवित्र सभाहरूलाई केटाकेटीले आदर गर्छन् भनी कसरी देखाउन सक्छन्?
• नियमित सभा धाउनुलाई हामीले किन आफ्नो जीवनको स्थायी पक्ष बनाउनुपर्छ?
[पृष्ठ ३०-मा भएका चित्रहरू]
यहोवाको उपासनाका लागि हुने सभाहरू जहाँ भए पनि ती पवित्र जमघट हुन्
-