प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • राम्रो सल्लाह खोज्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००७ | अक्टोबर
    • १

      राम्रो सल्लाह खोज्नुहोस्‌

      यसो गर्नु किन महत्त्वपूर्ण छ? भर्खरै जन्मेको शिशुलाई आमाबाबुले पहिलो चोटि काखमा लिंदा तिनीहरूको मनमा अकस्मात्‌ तीन थुप्रो भावना आउन सक्छ। बेलाइतमा बस्ने बुबा, ब्रेट यसो भन्छन्‌: “मैले असीम आनन्द र खुसीको अनुभव गरें। तर ठूलो जिम्मेवारीको बोध पनि भयो र बुबाको जिम्मेवारी पूरा गर्न आफू तयार छैनँ जस्तो लाग्यो।” अर्जेन्टिनामा बसोबास गर्ने एउटी आमा, मोनिका यसो भन्छिन्‌: “मेरी सानी छोरीको स्याहारसुसार गर्न सक्छु कि सक्दिनँ भनेर चिन्ता लाग्यो। छोरीलाई एक जिम्मेवार व्यक्‍ति बन्‍न प्रशिक्षण दिन सकूँला कि नसकूँला जस्तो लाग्यो।”

      यी आमाबाबुले व्यक्‍त गरेका खुसी र डर के तपाईं बुझ्न सक्नुहुन्छ? बच्चा हुर्काउनु भनेको एकदमै गाह्रो तर इनामदायी काम हो। मान्छेले गर्ने अनेकन्‌ काममध्ये कठिन तर सन्तुष्टि दिने काम हो। एक जना बुबाले यसो भने: “तपाईंको छोरा वा छोरीको बाल्यावस्था एक चोटि मात्र आउँछ, त्यतिबेला राम्रो प्रशिक्षण दिने मौका गुमाउनुभयो भने त्यो समय फेरि फर्केर आउँदैन।” आफ्ना छोराछोरीको स्वास्थ्य र सुखमा आमाबाबुको भूमिका निकै ठूलो हुने हुँदा अझ राम्रो आमाबाबु कसरी बन्‍ने भनेर भरपर्दो सल्लाह खोज्न तपाईं अत्यन्तै उत्सुक हुनुहुन्छ होला।

      यसो गर्न किन गाह्रो हुन्छ? छोराछोरी हुर्काउने सन्दर्भमा सबैको आ-आफ्नै धारणा पाइन्छ। पहिला-पहिला, भर्खरै आमाबाबु बनेकाहरू छोराछोरी हुर्काउन आफ्ना आमाबाबुको उदाहरण वा धार्मिक विश्‍वासहरूमा भर पर्थे। तर थुप्रै मुलुकमा भने पारिवारिक बन्धन कमजोर हुँदै गइरहेको छ र धर्मले पनि आफ्नो पकड गुमाइसकेको छ। यसकारण धेरैजसो आमाबाबु छोराछोरी हुर्काउन विशेषज्ञहरूको मदत लिन पुगेका छन्‌। यी विशेषज्ञहरूले दिने कुनै-कुनै सल्लाह विश्‍वसनीय सिद्धान्तमा आधारित हुन्छन्‌। कतिपय अवस्थामा भने तिनीहरूले दिने सल्लाह आपसमा मेल खाँदैनन्‌ अनि तुरुन्तै काम नलाग्ने हुन सक्छन्‌।

      कस्तो मदत पाउन सक्नुहुन्छ? छोराछोरी हुर्काउने सन्दर्भमा सबैभन्दा राम्रो ज्ञान भएको व्यक्‍ति अर्थात्‌ मानव जीवनको सृष्टिकर्ता यहोवा परमेश्‍वरसित सल्लाह माग्नुहोस्‌। (प्रेरित १७:२६-२८) उहाँको वचन बाइबलमा पाइने सुस्पष्ट सल्लाह र व्यावहारिक उदाहरणले तपाईंलाई आमाबाबुको भूमिका अझ राम्ररी पूरा गर्दै छोराछोरी हुर्काउन मदत गर्नेछ। उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।”—भजन ३२:८.

      आनन्दित छोराछोरी हुर्काउन परमेश्‍वरले आमाबाबुलाई कस्तो सल्लाह दिनुहुन्छ? (g 8/07)

  • परिवारमा न्यानो वातावरण बनाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००७ | अक्टोबर
    • २

      परिवारमा न्यानो वातावरण बनाउनुहोस्‌

      यसो गर्नु किन महत्त्वपूर्ण छ? छोराछोरीलाई माया चाहिन्छ। माया पाएनन्‌ भने तिनीहरू ओइलाइहाल्छन्‌। सन्‌ १९५० को दशकमा मानवशास्त्री (एन्थ्रोपोलोजिस्ट) एम. एफ. एश्‍ली मन्टागुले यस्तो लेखे: “मानिसको समग्र विकासको लागि नभई नहुने पोषण माया हो; विशेष गरी जन्मेदेखि छ वर्षसम्म माया पाएको खण्डमा [शारीरिक र भावनात्मक तवरमा] स्वस्थ रहन सक्छन्‌।” हालै यस विषयमा गहन अध्ययन गरेका विशेषज्ञहरू मन्टागुको निष्कर्षमा सहमत हुँदै यसो भन्छन्‌: “प्रशस्त मात्रामा मायाको पोषण नपाएको खण्डमा छोराछोरीको स्वास्थ्यमा घातक असर पर्न जान्छ।”

      यसो गर्न किन गाह्रो हुन्छ? एकअर्काप्रति माया नभएको र स्वार्थी संसारमा बाँचिरहेको हुँदा पारिवारिक बन्धनमा तनाव हुन्छ। (२ तिमोथी ३:१-५) छोराछोरी हुर्काउन बेहोर्नुपर्ने आर्थिक र भावनात्मक भारले गर्दा पति-पत्नीबीचको समस्या झनै चर्किएको विवाहित दम्पतीहरूले महसुस गर्न सक्छन्‌। जस्तै: छोराछोरीलाई कसरी अनुशासन र इनाम दिने भनी पति-पत्नीबीच कुरा नमिल्दा तनाव उत्पन्‍न हुन सक्छ। पति-पत्नीले पहिलादेखि नै एकअर्कासित खुलस्त कुराकानी गर्न सकिरहेका छैनन्‌ भने तनाव झनै चर्किन सक्छ।

      कस्तो मदत पाउन सक्नुहुन्छ? नियमित तवरमा सपरिवार सँगै समय बिताउने योजना बनाउनुहोस्‌। विवाहित दम्पतीले पनि सँगै समय बिताउने योजना बनाउनुपर्छ। (आमोस ३:३) छोराछोरी सुतिसकेपछिको समय सदुपयोग गर्नुहोस्‌। सँगै बिताउने यस्तो अनमोल समय टिभीलाई खोस्न नदिनुहोस्‌। नियमित तवरमा एकअर्काप्रति मायाप्रीति व्यक्‍त गरेर वैवाहिक बन्धनलाई रोमान्टिक बनाइरहनुहोस्‌। (हितोपदेश २५:११; श्रेष्ठगीत ४:७-१०) सधैं एकअर्काको “दोष” खोजिरहनुभन्दा हरेक दिन एकअर्काको तारिफ गर्ने मौका खोज्नुहोस्‌।—भजन १०३:९, १०; हितोपदेश ३१:२८.

      म तिमीलाई माया गर्छु भनी छोराछोरीलाई भन्‍नुहोस्‌। यहोवा परमेश्‍वरले आफ्नो छोरा येशूलाई माया गर्छु भनी सबैको अगाडि भन्‍नुभएर आमाबाबुको लागि राम्रो उदाहरण बसाल्नुभएको छ। (मत्ती ३:१७; १७:५) अस्ट्रियामा बसोबास गर्ने एक जना बुबा, फ्लेक यसो भन्छन्‌: “मैले के थाह पाएको छु भने, छोराछोरीहरू केही हदसम्म कुनै-कुनै किसिमका फूलजस्तै हुन्‌। जसरी यी साना बोटहरू घाम र तापको लागि सूर्यतिर फर्कन्छन्‌, त्यसरी नै छोराछोरीहरू पनि माया पाउन अनि परिवारमा तिनीहरूको महत्त्वपूर्ण स्थान छ र तिनीहरूको कदर गरिन्छ भन्‍ने महसुस गर्न आमाबाबुको मुख ताक्छन्‌।”

      तपाईं विवाहित जोडी होस्‌ वा एक्लो आमा/बुबा, परिवारमा एकअर्काप्रति र परमेश्‍वरप्रति प्रेम विकास गर्न सिकाउनुभयो भने तपाईंको पारिवारिक जीवन अझ आनन्दमय हुनेछ।

      तर आमाबाबुले आफ्नो अधिकार प्रयोग गर्ने विषयमा बाइबल के भन्छ? (g 8/07)

      [पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

      ‘प्रेमले एकतामा बाँध्छ।’—कलस्सी ३:१४, NRV

  • तपाईंको अधिकार चलाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००७ | अक्टोबर
    • ३

      तपाईंको अधिकार चलाउनुहोस्‌

      यसो गर्नु किन महत्त्वपूर्ण छ? अध्ययनहरूले देखाएअनुसार “मायालु तर आफ्नो अधिकार चलाउने, छोराछोरीलाई साथ दिने तर आफूले तोकेको सीमा लागू गर्न बेवास्ता नगर्ने आमाबाबुको तुलनामा एकदमै फितलो वा असाध्यै कडा आमाबाबुले हुर्काएका छोराछोरी पढाइमा कमजोर, मानिसहरूसित मिलेर बस्न नसक्ने र आत्म-विश्‍वासका साथ अघि बढ्‌न नसक्ने भएको पाइयो” भनी पेरेन्ट्‌स पत्रिकामा बताइएको छ।

      यसो गर्न किन गाह्रो हुन्छ? तपाईंले चलाउनुहुने अधिकारलाई तपाईंका छोराछोरीले सानो बच्चादेखि किशोरावस्थासम्मै विरोध गर्नेछन्‌। पेरेन्ट पावर! भन्‍ने पुस्तकका लेखक जोन रोजमन्ड यस्तो लेख्छन्‌: “आमाबाबु आफ्नो अधिकार प्रयोग गर्न कतिबेला हिचकिचाउँछन्‌ वा हार मान्छन्‌ भनेर छोराछोरीले सजिलै चाल पाइहाल्छन्‌। ‘घरमा कसको हैकम चल्छ?’ भन्‍ने प्रश्‍न उठ्‌दा आमाबाबु अघि सरेनन्‌ भने छोराछोरीले तुरुन्तै त्यो अधिकार आफ्नो हातमा लिइहाल्छन्‌।”

      कस्तो मदत पाउन सक्नुहुन्छ? आफ्नो अधिकार चलाउँदा छोराछोरी आफूबाट तर्किएलान्‌ वा तिनीहरू निराश होलान्‌ भनेर चिन्ता नगर्नुहोस्‌। परिवारको सुरुवात गर्नुहुने यहोवा परमेश्‍वरले परिवार कसरी चलाउने भन्‍ने सन्दर्भमा आमाबाबु र छोराछोरीसित बराबर अधिकार होस्‌ भन्‍ने उद्देश्‍य राख्नुभएको थिएन। बरु, अधिकार चलाउने जिम्मेवारी उहाँले आमाबाबुलाई दिनुभएको छ र छोराछोरीलाई यस्तो आज्ञा दिनुहुन्छ: “आफ्ना आमा-बाबुको आज्ञा पालन गर।”—एफिसी ३:१४, १५; ६:१-४.

      एकदमै कठोर वा क्रूर नभईकनै तपाईं आफ्नो अधिकार चलाउन सक्नुहुन्छ। कसरी? यहोवाको उदाहरण पछ्याएर। आफ्ना मानव छोराछोरीलाई जबरजस्ती उहाँको इच्छा गराउने शक्‍ति उहाँसित नभएको होइन। तर उहाँ त्यसो गर्नुहुन्‍न। बरु, हामीसित भएका राम्रा गुणहरूलाई ध्यान दिनुभएर हामीलाई आग्रह गर्नुहुन्छ। उहाँको वचन यसो भन्छ: “यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं . . . हुनेथियो!” (यशैया ४८:१८) यहोवाप्रतिको डरले थरथर काँपेर होइन तर उहाँप्रतिको प्रेमले गर्दा आज्ञा पालन गरेको उहाँ चाहनुहुन्छ। (१ यूहन्‍ना ५:३) उहाँले हामीबाट माग गर्ने कुराहरू व्यावहारिक छन्‌ अनि उहाँले तोक्नुभएको नैतिक स्तरअनुसार जीवन बितायौं भने हाम्रो फाइदा हुन्छ भनी उहाँलाई थाह छ।—भजन १९:७-११.

      आमाबाबुको हैसियतमा तपाईंको अधिकार सन्तुलित ढंगमा चलाउने सन्दर्भमा आफ्नो आत्म-विश्‍वास कसरी बढाउँदै लैजान सक्नुहुन्छ? सर्वप्रथम, तपाईंले आफ्नो अधिकार चलाएको परमेश्‍वर चाहनुहुन्छ भनी तपाईं पूरै ढुक्क हुनुपर्छ। दोस्रो, परमेश्‍वरको नैतिक स्तरअनुसार जीवन बिताउनु तपाईं र तपाईंका छोराछोरीको लागि सबैभन्दा बेस हो भनी पक्का हुनुपर्छ।—रोमी १२:२.

      आफ्नो अधिकार चलाउन तपाईंले खास गरी के गर्नुपर्छ? (g 8/07)

      [पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

      “आफ्नो छोरालाई सुधार, . . . र तँलाई सब किसिमको आनन्द मिल्छ।”—हितोपदेश २९:१७

  • परिवारको नियम स्पष्टसित तोक्नुहोस्‌ अनि लागू गरिहाल्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००७ | अक्टोबर
    • ४

      परिवारको नियम स्पष्टसित तोक्नुहोस्‌ अनि लागू गरिहाल्नुहोस्‌

      यसो गर्नु किन महत्त्वपूर्ण छ? अमेरिकाको जर्जिया विश्‍वविद्यालयका समाजशास्त्री रनल्ड सिमन्स्‌ यसो भन्छन्‌: “नियमहरू स्पष्टसित बुझेका र नियम तोडेपछि के हुन्छ भनेर बुझेका छोराछोरी विभिन्‍न परिस्थितिको सामना गर्न बढी सक्षम हुन्छन्‌। नियम स्पष्ट नभएका र सजायबारे पनि नबुझेका केटाकेटी आफ्नै कुरामा मात्र ध्यान दिने, स्वार्थी र दुःखी हुन्छन्‌। यस्ता केटाकेटीले आफूलाई मात्र होइन, अरूलाई पनि दुःख दिन्छन्‌, कसैलाई शान्ति हुँदैन।” परमेश्‍वरको वचनले सरल शब्दमा यसो भन्छ: “छोरालाई प्रेम गर्नेले त्यसलाई बाल्यवस्थादेखिनै अनुशासनमा राख्छ।”—हितोपदेश १३:२४.

      यसो गर्न किन गाह्रो हुन्छ? आफ्ना छोराछोरीको लागि व्यावहारिक सीमा तोक्न र ती लागू गर्न समय चाहिन्छ, प्रयास गर्नुपर्छ र धैर्य गर्नुपर्छ। आमाबाबुले तोकेको सीमालाई उल्लंघन गर्ने छोराछोरीको स्वाभाविक झुकाव हुन्छ। छोराछोरीले यस्तो प्रतिरोध साँच्चै गर्छन्‌ भनेर दुइटी छोरी हुर्काइरहेका माइक र सोन्याले राम्रोसित बुझेका छन्‌। तिनीहरू यसो भन्छन्‌: “छोराछोरी भनेको आफ्नै सोचाइ, चाहना र पाप गर्ने जन्मजात झुकाव भएका साना मान्छेहरू हुन्‌।” यी आमाबाबु आफ्ना छोरीहरूलाई असाध्यै माया गर्छन्‌। तर यो पनि मानि लिन्छन्‌: “कहिलेकाहीं बच्चाहरू अति जिद्दी र स्वार्थी हुन्छन्‌।”

      कस्तो मदत पाउन सक्नुहुन्छ? यहोवाले इस्राएल राष्ट्रसित कस्तो व्यवहार गर्नुभयो, त्यो अनुकरण गर्नुहोस्‌। आफ्ना जनहरूप्रति प्रेम देखाउनुभएको एउटा तरिका हो, तिनीहरूले कुन-कुन नियम पालन गरेको चाहनुहुन्छ भनेर उहाँले स्पष्टसित बताइदिनुभयो। (प्रस्थान २०:२-१७) ती नियमहरू उल्लंघन गर्दा कस्तो परिणाम भोग्नुपर्नेछ भनेर पनि स्पष्टसित भन्‍नुभयो।—प्रस्थान २२:१-९.

      त्यसकारण, तपाईंका छोराछोरीले कुन-कुन नियम पालन गर्नै पर्छ जस्तो लाग्छ, त्यसलाई लेखेरै राख्नुभए कसो होला? कोही-कोही आमाबाबु यस्तो सूची धेरै लामो नबनाई पाँचवटा जति मात्र नियममा सीमित गर्न सुझाव दिन्छन्‌। राम्ररी सोचविचार गरेर तय गरिएका थोरै नियमहरू लागू गर्न सजिलो हुन्छ र छोराछोरीलाई ती सम्झन पनि सजिलो हुन्छ। ती नियम उल्लंघन गरेमा कस्तो सजाय भोग्नुपर्नेछ, त्यो पनि नियमसँगै लेख्नुहोस्‌। तपाईंले तोक्नुभएका सजायहरू व्यावहारिक हुनुपर्छ र ती लागू गर्न तपाईं इच्छुक हुनुपर्छ। ती नियमहरूबारे नियमित तवरमा छलफल गर्नुहोस्‌। यसरी छोराछोरीबाट मात्र होइन तर आमा र बुबाबाट पनि के आशा गरिन्छ, त्यो सबैले थाह पाउनुपर्छ।

      नियम तोडेको खण्डमा तुरुन्तै सजाय दिइहाल्नुहोस्‌। तर यसो गर्दा शान्त, दृढ हुनुहोस्‌ अनि कहिले गर्ने, कहिले नगर्ने मनखुसी नगर्नुहोस्‌। यो कुरा नबिर्सनुहोस्‌: रिस उठेको छ भने, पहिला आफ्नो रिस मर्न दिनुहोस्‌ अनि त्यसपछि मात्र अनुशासन दिनुहोस्‌। (हितोपदेश २९:२२) तथापि, पछि गरौंला भन्दै सजाय दिन ढिला नगर्नुहोस्‌। एक चोटिलाई भैहाल्यो भनेर आफ्नो नियमलाई फितलो नबनाउनुहोस्‌। यसो गर्नुभयो भने छोराछोरीले ती नियमहरूलाई त्यति गम्भीरतापूर्वक लिनुपर्दैन भन्ठान्‍नेछन्‌। बाइबल पनि यसै भन्छ: “खराब कामको दण्ड तुरुन्तै नपाएकोलेनै मानिसले यति साहससित खराब काम गर्दछ।”—उपदेशक ८:११.

      आफ्ना छोराछोरीको भलाइ हुने गरी तपाईं अरू कुन-कुन तरिकामा आफ्नो अधिकार चलाउन सक्नुहुन्छ? (g 8/07)

      [पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

      “तिमीहरूको वचन चाहिं, ‘हो भने, हो’ ‘होइन भने, होइन’ होस्‌।”—मत्ती ५:३७

  • सधैं गर्नुपर्ने कामहरूको तालिका बनाउनुहोस्‌ र त्यसै अनुरूप चल्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००७ | अक्टोबर
    • ५

      सधैं गर्नुपर्ने कामहरूको तालिका बनाउनुहोस्‌ र त्यसै अनुरूप चल्नुहोस्‌

      यसो गर्नु किन महत्त्वपूर्ण छ? दिनानुदिनको दिनचर्या वयस्क जीवनको अभिन्‍न भाग हो। काम, उपासना र मनोरञ्जनको समेत एउटा निश्‍चित समय तालिका हुन्छ। विभिन्‍न काम गर्न समयको चाँजो कसरी मिलाउने अनि तालिकाअनुसारै कामकुरा कसरी गर्ने भनी छोराछोरीलाई सिकाएन भने पछि गएर उनीहरूलाई निकै गाह्रो हुन्छ। अर्कोतर्फ, “अध्ययनहरूले देखाएअनुसार नियमहरू र कामकुराको तालिका हुँदा छोराछोरीले सुरक्षित र ढुक्क महसुस गर्छन्‌ अनि आत्म-संयम र आत्म-विश्‍वस्तता जस्ता गुण विकास गर्न सिक्छन्‌” भनी मनोविज्ञानका प्राध्यापक डा. लरेन्स स्टाइनवर्ग बताउँछन्‌।

      यसो गर्न किन गाह्रो हुन्छ? अहिले मानिसहरू अति व्यस्त छन्‌। धेरैजसो आमाबाबु धेरै घण्टा काम गर्छन्‌। यसकारण आफ्ना छोराछोरीसित नियमित तवरमा समय बिताउन त्यति फुर्सतै हुँदैन। नियमहरू तोक्दा वा तालिका बनाउँदा छोराछोरीले सुरुमा त्यसअनुसार चल्न नमान्‍न सक्छन्‌। तर छोराछोरीलाई मनखुसी गर्न नदिई गर्नैपर्ने कामकुराहरूको तालिका बनाउन र त्यसै अनुरूप चल्न आमाबाबुले आत्म-अनुशासन देखाउनुपर्छ र दृढ संकल्प चाहिन्छ।

      कस्तो मदत पाउन सक्नुहुन्छ? बाइबलको यस सल्लाहमा दिइएको सिद्धान्तलाई लागू गर्नुहोस्‌: “सबै काम शिष्ट रुपले र नियमपूर्वक गर्नू।” (१ कोरिन्थी १४:४०) उदाहरणका लागि, छोराछोरी सानो छँदा थुप्रै आमाबाबुले सधैं एउटै समयमा सुत्नुपर्छ भनेर राम्रो नियम बनाएका हुन्छन्‌। तर सुत्ने समय भनेको रमाइलो समय हुनुपर्छ। टाटियाना ग्रीसमा बस्छिन्‌ र उनका दुइटी छोरी छन्‌। उनी यसो भन्छिन्‌: “छोरीहरू सुत्न ओछ्यानमा गएपछि म उनीहरूलाई सुमसुम्याउँछु अनि उनीहरू स्कूल गएको बेला मैले के-के गरें भनेर बताउँछु। आफ्नो कुरा बताइसकेपछि उनीहरूले आज दिनभरि के-के गरे, म पनि सुनुँ न भन्छु। यसो गर्दा उनीहरूले सजिलो महसुस गर्छन्‌। प्रायजसो उनीहरू खुलेर आफ्नो कुरा बताउँछन्‌।”

      टाटियानाका पति, कोस्टासले छोरीहरूलाई कथा पढेर सुनाउँछन्‌। तिनी भन्छन्‌: “उनीहरू कथाबारे कुरा गर्छन्‌ अनि बिस्तारै आफ्नो विषयमा पनि भन्‍न थाल्छन्‌। छोरीहरूको मनमा के लागिरहेको छ, मलाई भन है भनेर मात्र पुग्दैन। यसो भन्दैमा उनीहरू खुलेर कुरा गरिहाल्दैनन्‌।” छोराछोरी हुर्कंदै गएपछि सुत्ने समय पनि फेरबदल गर्नु उपयुक्‍त हुनेछ। तर तपाईंले तालिकाअनुसार गर्ने बानी बसाल्नुभएको छ भने छोराछोरी यही समयमै तपाईंसित कुराकानी गर्न आउने सम्भावना धेरै हुन्छ।

      साथै, परिवारले दिनमा एक चोटि भए पनि सँगै बसेर खाना खाने बानी बसाल्नु बुद्धिमानी हो। यस्तो बानी बसाल्न खाने समय परिस्थितिअनुसार फेरबदल गर्न सकिने हुनुपर्छ। दुइटी छोरीका बुबा चार्ल्स यसो भन्छन्‌: “कामबाट घर फर्कंदा कहिलेकाहीं ढिलो हुन्छ। म नआउन्जेलसम्म पर्खिरहँदा भोकले चूर होलान्‌ भनेर मेरी श्रीमतीले उनीहरूलाई अलिकता खाजा दिन्छिन्‌ तर सपरिवार सँगै खाना खानको लागि सबैलाई पर्खन लगाउँछिन्‌। अनि दिनभरि हामी सबैले के-के गऱ्‍यौं भनेर बताउँछौं, एउटा बाइबल पद छलफल गर्छौं, आफ्ना समस्याहरूबारे कुरा गर्छौं अनि सँगै हाँस्छौं। हाम्रो परिवार सुखी बनाउन यस्तो बानीले कति धेरै मदत गरेको छ भनेर जति वर्णन गरे पनि साध्यै हुँदैन।”

      यसो गर्न सक्नको लागि परिवारको नियमित तालिकालाई भौतिक कुराहरू आर्जन गर्ने दौडधूपले ओझेलमा पार्न नदिनुहोस्‌। “जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक” भन्‍ने बाइबलको सल्लाह व्यवहारमा उतार्नुहोस्‌।—फिलिप्पी १:१०, NRV.

      छोराछोरीसित खुलस्त कुराकानी गर्न आमाबाबुले अरू के-के गर्न सक्छन्‌? (g 8/07)

      [पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]

      “सबै काम शिष्ट रुपले र नियमपूर्वक गर्नू।”—१ कोरिन्थी १४:४०

  • आफ्ना छोराछोरीको भावना बुझेको कुरा देखाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००७ | अक्टोबर
    • ६

      आफ्ना छोराछोरीको भावना बुझेको कुरा देखाउनुहोस्‌

      यसो गर्नु किन महत्त्वपूर्ण छ? छोराछोरीको लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति भनेको उनीहरूका आमाबाबु हुन्‌। आफूलाई कस्तो लागिरहेको छ भनेर आमाबाबुले बुझेको छोराछोरी चाहन्छन्‌ र आमाबाबुले यसरी थाह पाउनु एकदमै महत्त्वपूर्ण छ। छोराछोरीले आफ्ना भावना व्यक्‍त गर्दा कहिल्यै सहमत नहुने आमाबाबुको बानी बसिसकेको छ भने छोराछोरीले मनको कुरा खुलेर व्यक्‍त गर्ने सम्भावना कम हुन्छ। साथै, कुनै कुरा महसुस गर्ने र सोच्ने आफ्नो क्षमतामाथि नै छोराछोरीको भरोसा गुम्न सक्छ।

      यसो गर्न किन गाह्रो हुन्छ? आफ्नो सोचाइ र भावनालाई निकै बढाइचढाइ गरेर भन्‍ने झुकाव केटाकेटीको हुन्छ। हुन त हो, छोराछोरीले भन्‍ने कुनै-कुनै कुराले आमाबाबुलाई चिन्तित बनाउन सक्छ। जस्तै, निराश भएको बच्चाले “मलाई त मर्नै मन लाग्यो” भन्‍न सक्छ।a यस्तो बेला आमाबाबुलाई झट्टै यसो भनिहालूँ जस्तो लाग्न सक्छ: “त्यस्तो मूर्ख कुरा नगर!” बच्चाले व्यक्‍त गर्ने यस्तो नकारात्मक कुरा वा भावनालाई मानिलिंदा छोराछोरीको नकारात्मक भावनामा सहमत भएसरह हुनेछ जस्तो आमाबाबुलाई लाग्न सक्छ।

      कस्तो मदत पाउन सक्नुहुन्छ? “सुन्‍नलाई छिट्टो, बोल्नलाई ढीलो र रिसाउनलाई धीमा होस्‌” भन्‍ने बाइबलको सल्लाह लागू गर्नुहोस्‌। (याकूब १:१९) याद गर्नुहोस्‌, आफ्ना थुप्रै विश्‍वासी दासहरूले महसुस गरेका नकारात्मक भावनालाई यहोवा परमेश्‍वरले मानि लिनुभयो र ती विवरण बाइबलमा लिपिबद्ध छन्‌। (उत्पत्ति २७:४६; भजन ७३:१२, १३) जस्तै, अय्यूबले असह्‍य परीक्षाहरू भोग्नुपर्दा तिनले बरु मर्न पाए पनि हुन्थ्यो भने।—अय्यूब १४:१३.

      हुन त, अय्यूबका कतिपय सोचाइ र भावनालाई सच्याउनु परेको थियो। अय्यूबका भावनाहरूलाई इन्कार गर्नु वा तिनलाई कुरा गर्नदेखि रोक्नुको सट्टा यहोवाले अय्यूबलाई तिनको मनको कुरा पोख्न दिएर अय्यूबको कदर गर्नुभयो। यहोवाले पछि मात्र मायालु ढंगमा अय्यूबलाई सच्याउनुभयो। एक जना मसीही बुबा यसो भन्छन्‌: “यहोवाले मलाई मेरो मनको कुरा उहाँलाई पोख्न दिनुभएको छ। त्यसकारण मैले पनि मेरा छोराछोरीलाई उनीहरूको सकारात्मक र नकारात्मक दुवै किसिमका भावनाहरू मलाई पोख्न दिनुपर्छ जस्तो लाग्छ।”

      अर्को चोटि आफ्नो बच्चालाई “त्यस्तो मूर्ख कुरा नगर!” वा “जे पायो त्यो प्याच्च नभन है” भनेर हकारिहाल्नुअघि येशूको यो प्रख्यात नियम सम्झनुहोस्‌: “जसो मानिसहरूले तिमीहरूसित गरून्‌ भन्‍ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसित त्यसै गर।” (लूका ६:३१) उदाहरणका लागि, कल्पना गर्नुहोस्‌, काम गर्ने ठाउँमा कसैले तपाईंप्रति कठोर व्यवहार गऱ्‍यो वा हुन सक्छ तपाईंको आफ्नै गल्तीले गर्दा कुनै कुरा तपाईंले आशा गरेजस्तो भएन। आफूले भोग्नुपरेको नैराश्‍य तपाईंको घनिष्ठ मित्रलाई बताउनुभयो र अबउसो काममा जान सक्दिनँ होला भनेर दुखेसो पोख्नुभयो। यस्तो अवस्थामा तपाईं आफ्नो साथीबाट के आशा गर्नुहुन्छ? साथीले ‘मलाई त्यस्तो त लाग्दैन’ भनेको र कुरा राम्रोसँग नसुनिकनै ‘गल्ती त तिम्रै हो नि’ भनेको चाहनुहुन्छ कि? अथवा तपाईंको साथीले यसो भनेको चाहनुहुन्छ: “ओहो! तिमीलाई त साह्रै अप्ठ्यारो पो भएछ। गाह्रो भयो होला, हगि?”

      सल्लाह दिने व्यक्‍तिले साँच्चै आफ्नो कुरा बुझेको र आफूले भोगिरहेको समस्या बुझेको महसुस गर्छन्‌ भने, केटाकेटी होस्‌ या वयस्क, सल्लाह स्वीकार्न सजिलो हुन्छ। परमेश्‍वरको वचन यसो भन्छ: “ज्ञानी मानिसको मनले त्यसको बोली सम्हाल्छ, र त्यसको मुखले बोलेको कुराले बुद्धि बढाउँछ।”—हितोपदेश १६:२३.

      तपाईंले दिने सल्लाह हल्कासित लिइनेछैन भनेर तपाईं कसरी पक्का गर्न सक्नुहुन्छ? (g 8/07)

      [फुटनोट]

      a मर्न चाहन्छु भन्‍ने जस्ता कुरा छोराछोरीले गर्न थाल्दा, त्यसलाई हल्कासित नलिनुहोस्‌।

      [पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]

      “राम्ररी सुन्‍न अघिनै प्रश्‍नको जवाफ दिनु मूर्खता र शिष्टता हो।”—हितोपदेश १८:१३

  • आफ्नो उदाहरणबाट सिकाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००७ | अक्टोबर
    • ७

      आफ्नो उदाहरणबाट सिकाउनुहोस्‌

      यसो गर्नु किन महत्त्वपूर्ण छ? भनेरभन्दा गरेर देखाउनु अझ प्रभावकारी हुन्छ। भनेको कुरा केवल जानकारीमा सीमित हुन्छ। उदाहरणका लागि, आमाबाबुले आफ्ना छोराछोरीलाई अरूको आदर गर्न र साँचो कुरा बोल्न सिकाउन सक्छन्‌। मुखले यसो भन्‍ने आमाबाबु एकअर्कासित वा छोराछोरीसित चिच्याएर कराउँछन्‌ र आफूलाई अप्ठ्यारो पऱ्‍यो कि झूटो बोलेर उम्कने बाटो खोज्छन्‌ भने तिनीहरूले वास्तवमा छोराछोरीलाई ठूलो मान्छेले गर्नुपर्ने व्यवहार यस्तो पो हो भनेर सिकाइरहेका हुन्छन्‌। लेखक डा. साल सिभर भन्छन्‌: “छोराछोरीले सिक्ने सबैभन्दा प्रभावकारी तरिका” आमाबाबुको नक्कल गरेर हो।

      यसो गर्न किन गाह्रो हुन्छ? आमाबाबु सिद्ध छैनन्‌। “सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌” भनी प्रेरित पावलले लेखे। (रोमी ३:२३) मुख सम्हालेर बोल्ने विषयमा चेला याकूबले यस्तो लेखे: “जिब्रोलाई भने कुनै मानिसले पनि तह लाउनसक्‍तैन।” (याकूब ३:८) साथै, छोराछोरीले आमाबाबुको धैर्यको सीमा नै नाघ्ने गरी हैरान पार्नु अनौठो कुरा होइन। प्रायजसो शान्त र आत्म-संयमी, दुइटी छोरीका बुबा, लारी यसो भन्छन्‌: “छोरीहरूले गर्दा म कति छिट्टै झडङ्‌ग रिसाइहाल्छु, आफैलाई छक्क लाग्छ।”

      कस्तो मदत पाउन सक्नुहुन्छ? असल उदाहरण बन्‍ने कोसिस गर्नुहोस्‌, सिद्ध उदाहरण होइन। अनि कहिलेकाहीं आफूले गल्ती गर्दा छोराछोरीलाई राम्रो पाठ सिकाउने मौकाको रूपमा लिनुहोस्‌। दुइटी छोरीका बुबा क्रिस यसो भन्छन्‌: “छोरीहरूसित म झनक्क रिसाएँ वा मैले गलत निर्णय गरेकोले छोरीहरूमा नराम्रो असर पर्न गयो भने आफ्नो गल्ती स्वीकारेर माफी माग्थें। यसो गर्दा आमाबाबुले पनि गल्ती गर्छन्‌ र आफ्नो बानी सुधार्न सबैले प्रयास गर्नुपर्छ भनेर छोरीहरूले सिक्न सके।” अघिल्लो लेखमा बताइएको कोस्टास यसो भन्छन्‌: “आफू झनक्क रिसाउँदा माफी माग्ने गरेको हुँदा मेरी छोरीहरूले पनि गल्ती गर्दा माफी माग्न सिकेका छन्‌।”

      यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) आफूसित अधिकार भएको व्यक्‍तिले भन्‍ने एउटा, गर्ने अर्कै गर्दा छोराछोरीलाई सायद ठूलो व्यक्‍तिलाई जत्तिकै वा अझ बढी रिस उठ्‌न सक्छ। यसकारण हरेक दिनको अन्तमा आफूलाई यी प्रश्‍नहरू सोध्नुभए कसो होला: मैले दिनभरि आफ्नो वचनबाट केही पनि कुरा सिकाइनँ भने छोराछोरीले मेरो व्यवहारबाट कस्तो पाठ सिक्लान्‌? के मैले भनेर सिकाउने र व्यवहारबाट देखाउने पाठ एउटै छ? (g 8/07)

      [पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

      “के तिमी अर्कोलाई सिकाउनेले, आफूलाई पनि सिकाउँदैनौ?” —रोमी २:२१

      [पृष्ठ ९-मा भएको चित्र]

      आमाबाबुले माफी माग्दा छोराछोरीले पनि त्यसो गर्न सिक्छन्‌

  • के गर्भ निरोधको उपाय अपनाउनु गलत हो?
    ब्यूँझनुहोस्‌!—२००७ | अक्टोबर
    • बाइबल के भन्छ

      के गर्भ निरोधको उपाय अपनाउनु गलत हो?

      तपाईंलाई कस्तो लाग्छ? के विवाहित दम्पतीले गर्भ निरोधको उपाय अपनाउनु गलत हो? आफ्नो धार्मिक विश्‍वासको आधारमा जवाफ फरक-फरक होला। क्याथोलिक चर्चको शिक्षाअनुसार सन्तान जन्माउने प्रक्रियालाई रोक्ने जुनसुकै कार्य “सरासर गलत हो।” क्याथोलिक धर्मको शिक्षाअनुसार श्रीमान्‌-श्रीमतीले प्रत्येक चोटि यौनसम्बन्ध राख्दा गर्भधारण हुने सम्भावनालाई सधैं खुला राख्नुपर्छ। यसकारण क्याथोलिक चर्चले गर्भ निरोधको प्रयोगलाई “परमेश्‍वरको नैतिक स्तर विरुद्ध” ठहर गर्छ।

      धेरै जनालाई यस्तो दृष्टिकोण स्वीकार्न गाह्रो लाग्छ। यस विषयमा पिट्‌सवर्ग पोस्ट-ग्याजेट-मा प्रकाशित लेखमा यसो भनिएको थियो: “संयुक्‍त राज्य अमेरिकाका क्याथोलिकहरूमध्ये तीन चौथाइको विचारमा चर्चले कृत्रिम गर्भ निरोधका उपायहरू प्रयोग गर्न दिनुपर्छ। . . . अनि लाखौंले चर्चको निषेधाज्ञा दिनहुँ उल्लंघन गर्छन्‌।” तीनवटी छोरीकी आमा, लिन्डा गर्भ निरोधको उपाय प्रयोग गरेको कुरा स्वीकार्न कुनै संकोच नमानी यसो भन्छिन्‌: “मेरो अन्तस्करणको सोर सुन्‍ने हो भने, मैले पाप गरें जस्तो लाग्दैन।”

      यस विषयमा परमेश्‍वरको वचन के भन्छ?

      जीवन अनमोल छ

      परमेश्‍वरले बच्चाको जीवनलाई अनमोल ठान्‍नुहुन्छ, चाहे त्यो गर्भधारणको प्रारम्भिक चरणमै किन नहोस्‌। प्रेरणा पाएर इस्राएलका राजा दाऊदले यस्तो लेखे: “तपाईंले मलाई मेरी आमाको गर्भैमा रच्नुभयो। . . . मेरो रचना नभई तपाईंका आँखाले मलाई देखेका थिए, . . . र मेरा सबै अङ्‌ग जो दिन दिन बनिंदै आएका थिए, ती नबनिंदै तपाईंका पुस्तकमा ती लेखिएका थिए।” (भजन १३९:१३, १६) गर्भधारण हुने बित्तिकै नयाँ जीवनको सुरुवात हुन्छ। अनि मोशाको व्यवस्थाअनुसार हेर्ने हो भने गर्भमा भएको बच्चालाई हानि पुऱ्‍याउने व्यक्‍तिसमेत दोषी ठहरिन्थ्यो। प्रस्थान २१:२२, २३ मा स्पष्टसित बताइएअनुसार दुई जना पुरुष आपसमा झगडा गर्दा गर्भवती स्त्री वा उनको गर्भमा भएको शिशुलाई घातक चोट लाग्यो भने यो मामिला नियुक्‍त न्यायकर्ताहरूले फैसला गर्नुपर्थ्यो। तिनीहरूले दुर्घटना हुँदाखेरिको परिस्थिति अनि जानाजानी भएको हो वा होइन जस्ता कुराहरू विचार गर्थे तर यसको सजाय “प्राणको सट्टा प्राण” अर्थात्‌ जीवनको साटो जीवन हुन सक्थ्यो।

      यो सिद्धान्त गर्भ निरोधका उपायहरूको प्रयोगसित सम्बन्धित छ किनभने कुनै-कुनै उपायले गर्भपतन गराउँछ। जीवनप्रति आदर देखाउनुपर्छ भनी परमेश्‍वरले दिनुभएको सिद्धान्तसित गर्भपतन गराउने खालका गर्भ निरोधका उपायहरू मेल खाँदैनन्‌। तर गर्भ निरोधका प्रायजसो उपाय गर्भपतन गराउने किसिमका हुँदैनन्‌। यस्ता उपायहरूको प्रयोग नि?

      बाइबलमा कतै पनि मसीहीहरूलाई सन्तान जन्माउनू भन्‍ने आज्ञा दिइएको छैन। परमेश्‍वरले प्रथम मानव दम्पती र नूहको परिवारलाई यसो भन्‍नुभएको थियो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै . . . जाओ।” तर मसीहीहरूलाई भने यस्तो आज्ञा दिइएको थिएन। (उत्पत्ति १:२८; ९:१) यसकारण छोराछोरी जन्माउने कि नजन्माउने, जन्माउने हो भने कति जना जन्माउने अनि कहिले जन्माउने जस्ता कुराहरू विवाहित दम्पतीहरूले आफै निर्णय गर्न सक्छन्‌। बाइबलले पनि गर्भ निरोधलाई निषेध गरेको छैन। यसर्थ, बाइबलको दृष्टिकोणबाट भन्‍ने हो भने, गर्भपतन नहुने किसिमको गर्भ निरोधका उपाय पतिपत्नीले प्रयोग गर्ने निर्णय गरोस्‌ या नगरोस्‌, यो तिनीहरूको व्यक्‍तिगत छनौट हो। त्यसोभए क्याथोलिक चर्चले गर्भ निरोधको प्रयोगलाई गलत ठहराउनुको कारण के हो?

      मानिसको बुद्धि र परमेश्‍वरको बुद्धिबीचको भिन्‍नता

      एउटा क्याथोलिक विश्‍वकोषअनुसार इस्वी संवत्‌ दोस्रो शताब्दीमा मसीही भनौंदाहरूले पहिलो चोटि स्टोइक नियम स्वीकार गरे जसअनुसार विवाहित दम्पतीबीच यौनसम्बन्धको एक मात्र वैध उद्देश्‍य सन्तान जन्माउनु हो। यस्तो धारणा बाइबलमा नभई मानव दर्शनमा आधारित थियो। यो परमेश्‍वरको बुद्धिमा नभई मानिसको बुद्धिमा आधारित थियो। शताब्दीयौंसम्म यही दर्शन रहिरह्‍यो अनि कतिपय क्याथोलिक धर्मविद्‌हरूले यसलाई बढाइचढाइ गरे।a यस्तो शिक्षाको परिणामस्वरूप, केवल आनन्दको लागि यौनसम्बन्ध राख्नु पापपूर्ण हो अनि फलतः सन्तान जन्माउने सम्भावनालाई रोक्ने यौनसम्बन्ध अनैतिक हो भन्‍ने धारणा विकास भयो। तर बाइबलले यस्तो सिकाउँदैन।

      बाइबलको पुस्तक हितोपदेशले पति र पत्नीबीचको उचित यौनसम्बन्धबाट प्राप्त हुने आनन्दलाई कवितामय ढंगमा यसरी वर्णन गरेको छ: “आफ्नै कुण्डको पानी र आफ्नै खोलाबाट बगेको पानी पी। . . . तेरो फोहोरा, तेरो युवावस्थाकी पत्नी आशीर्वादी होस्‌। त्यहीसित तँ सुखी हो। मायालु मृग, राम्री हरिणीझैं त्यो तेरो साथी होस्‌, त्यसकै वक्षमा तँ सन्तुष्ट बन्‌, तँ सधैं त्यसकै प्रेममा डुबिरह।”—हितोपदेश ५:१५, १८, १९.

      पति र पत्नीबीचको यौनसम्बन्ध परमेश्‍वरले दिनुभएको वरदान हो। तर यसको एउटै मात्र उद्देश्‍य सन्तान जन्माउनु होइन। यौनसम्बन्धले पति र पत्नीलाई एकअर्काप्रतिको कोमल-माया र स्नेह व्यक्‍त गर्ने मौका पनि दिन्छ। यसकारण दम्पतीले गर्भ निरोधको कुनै उपाय चलाएर गर्भधारण हुन दिंदैनन्‌ भने यो तिनीहरूको व्यक्‍तिगत निर्णय हो र यसबारे अरूले टीकाटिप्पणी गर्नु उचित हुँदैन।—रोमी १४:४, १०-१३. (g 9/07)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने