प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बाइबल किन पढ्‌नुपर्छ?
    प्रहरीधरहरा (जन संस्करण)—२०१७ | सङ्‌ख्या १
    • एउटी महिला तखताबाट बाइबल निकाल्दै

      आवरण लेख | पवित्र शास्त्रबाट कसरी अझ धेरै लाभ उठाउन सकिन्छ?

      बाइबल किन पढ्‌नुपर्छ?

      “बाइबलको कुरा बुझ्न एकदमै गाह्रो छ होला जस्तो लाग्थ्यो।”—जुभी

      “पट्‌यारलाग्दो होला जस्तो लाग्थ्यो।”—क्विनी

      “बाइबल हेर्दैमा मोटो भएकोले पढ्‌न मनै लाग्दैनथ्यो।”—इजकिएल

      तपाईंले बाइबल पढ्‌नेबारे विचार गर्नुभए तापनि माथि उल्लेख गरिएजस्तै कारणले गर्दा पढ्‌नुभएको छैन कि? धेरैलाई बाइबल पढ्‌ने काम गाह्रो जस्तो लाग्छ। तर बाइबलले तपाईंको जीवन सुखी र अर्थपूर्ण बनाउन मदत गर्छ भनेर थाह पाउनुभयो भने नि? अनि बाइबल पढाइलाई अझ रोचक बनाउन सक्ने तरिका थाह पाउनुभयो भने नि? बाइबलमा के रहेछ भनेर जाँच्न तपाईं इच्छुक हुनुहुन्‍न र?

      बाइबल पढ्‌न थालेपछि आफूले उठाएको लाभबारे केही व्यक्‍तिहरू के भन्छन्‌, ध्यान दिनुहोस्‌।

      बीस वर्ष नाघेका इजकिएल भन्छन्‌: “पहिले म कुनै गन्तव्य मनमा नराखी गाडी चलाउने मानिसजस्तै थिए। तर बाइबल पढाइले मलाई अर्थपूर्ण जीवन बिताउन मदत गरेको छ। यसमा पाइने व्यावहारिक सुझाव दैनिक जीवनको लागि उपयोगी छ।”

      बीस वर्ष नाघेकी फ्रीडा यसो भन्छिन्‌: “म रिसाइहाल्ने स्वभावकी थिएँ। तर बाइबल पढाइले रिस काबूमा राख्न मदत गऱ्‍यो। यसले गर्दा अरूसित सजिलै घुलमिल हुन सकेकी छु। अहिले मेरा साथीहरू पनि धेरै छन्‌।”

      पचास वर्ष नाघेकी युनिस बाइबलबारे यसो भन्छिन्‌, “यसले मलाई अझ राम्रो व्यक्‍ति हुन मदत गरिरहेको छ। आफूमा भएका खराब आनीबानी हटाउन सकेकी छु।”

      यी लगायत अन्य लाखौं मानिसले झैं बाइबल पढेर तपाईंले पनि अझ आनन्दित जीवन बिताउन सक्नुहुन्छ। (यशैया ४८:१७, १८) यसले तपाईंलाई थुप्रै कुरामा मदत गर्नेछ, जस्तै: (१) सही निर्णय गर्न (२) साँचो मित्र बनाउन (३) तनावको सामना गर्न अनि (४) सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरबारे सत्य कुरा सिक्न। बाइबलमा भएका सल्लाह-सुझाव परमेश्‍वरबाट आएका हुन्‌। त्यसैले त्यसअनुसार चल्दा तपाईंको हानि कहिल्यै हुँदैन। परमेश्‍वरले खराब सल्लाह-सुझाव कहिल्यै दिनुहुन्‍न।

      महत्त्वपूर्ण कुरा, पढ्‌न सुरु गर्नु हो। के-कस्ता तरिका अपनाउँदा बाइबल पढाइ सुरु गर्न सजिलो हुन्छ र पढाइबाट अझ धेरै आनन्द उठाउन सक्नुहुन्छ?

  • पढाइ कसरी सुरु गर्न सक्छु?
    प्रहरीधरहरा (जन संस्करण)—२०१७ | सङ्‌ख्या १
    • आवरण लेख | पवित्र शास्त्रबाट कसरी अझ धेरै लाभ उठाउन सकिन्छ?

      पढाइ कसरी सुरु गर्न सक्छु?

      एउटी महिला बाइबल पढ्‌नुअघि प्रार्थना गर्दै

      बाइबल पढाइबाट अझ धेरै आनन्द र लाभ उठाउन तपाईंलाई केले मदत गर्छ? धेरैलाई मदत मिलेको पाँच वटा सुझाव विचार गर्नुहोस्‌।

      उपयुक्‍त वातावरण तयार पार्नुहोस्‌। शान्त ठाउँ रोज्नुहोस्‌। पढ्‌दै गरेको कुरामा ध्यान दिन सकियोस्‌ भनेर ध्यान खलबलाउने कुराहरूलाई सकेसम्म टाढा राख्नुहोस्‌। पर्याप्त उज्यालो भएको र स्वच्छ हावा बहने ठाउँ रोज्नुहोस्‌। यसो गर्दा अझ धेरै लाभ उठाउन सक्नुहुन्छ।

      सही मनसाय राख्नुहोस्‌। बाइबल स्वर्गमा बस्नुहुने बुबा यहोवाले दिनुभएको किताब हो। त्यसैले आमाबाबुबाट सिक्न इच्छुक बच्चाको जस्तै मनोवृत्ति राखेमा तपाईंले अझ धेरै लाभ उठाउन सक्नुहुन्छ। यदि बाइबलप्रति नकारात्मक भावना छ वा पहिल्यैदेखि कुनै सोचाइ बनाइसक्नुभएको छ भने त्यसलाई हटाउन कोसिस गर्नुहोस्‌। यसो गर्नुभयो भने परमेश्‍वरले तपाईंलाई सिकाउनुहुनेछ।—भजन २५:४.

      पढ्‌नुअघि प्रार्थना गर्नुहोस्‌। बाइबलमा परमेश्‍वरका विचारहरू छन्‌। त्यसैले यसमा भएका कुराहरू बुझ्न उहाँकै मदत चाहिन्छ। परमेश्‍वरले ‘उहाँसित माग्नेहरूलाई पवित्र शक्‍ति दिने’ प्रतिज्ञा गर्नुभएको छ। (लूका ११:१३) पवित्र शक्‍तिले तपाईंलाई परमेश्‍वरको विचार बुझ्न मदत गर्छ। अनि समय बित्दै जाँदा यसले तपाईंलाई “परमेश्‍वरका गहिरा कुराहरूसमेत” बुझ्न मदत गर्छ।—१ कोरिन्थी २:१०.

      बुझ्ने उद्देश्‍यले पढ्‌नुहोस्‌। विषयवस्तु ढाक्ने उद्देश्‍यले मात्र नपढ्‌नुहोस्‌। के पढ्‌दै हुनुहुन्छ, त्यसमा राम्ररी विचार गर्नुहोस्‌। आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘म जुन व्यक्‍तिको विषयमा पढ्‌दै छु, उसमा कस्ता गुणहरू छन्‌? यसलाई म आफ्नो जीवनमा कसरी लागू गर्न सक्छु?’

      निश्‍चित लक्ष्य राख्नुहोस्‌। बाइबल पढाइबाट लाभ उठाउन चाहनुहुन्छ भने केही कुरा सिक्ने लक्ष्य राख्नुहोस्‌। जस्तै: परमेश्‍वरबारे अझ धेरै कुरा सिक्ने, अझ राम्रो व्यक्‍ति बन्‍ने, असल पति वा असल पत्नी बन्‍ने। अनि यी लक्ष्यमा पुग्न मदत गर्ने बाइबलका भागहरू छान्‍नुहोस्‌।a

      यी पाँच सुझावले तपाईंलाई बाइबल पढाइ सुरु गर्न मदत गर्नेछ। तर तपाईंको पढाइलाई कसरी अझ रोचक बनाउन सक्नुहुन्छ? अर्को लेखमा केही सुझावहरू दिइएको छ

      a बाइबलको कुनचाहिं भागमा यस्ता विषयबारे चर्चा गरिएको छ भनेर पक्का हुनुहुन्‍न भने यहोवाका साक्षीहरूसित मदत माग्नुहोस्‌।

      पढाइबाट लाभ उठाउनुहोस्‌

      • हतार नगरी समय लगाएर पढ्‌नुहोस्‌

      • पढेको कुरामा डुब्नुहोस्‌, मनमा चित्र उतार्नुहोस्‌

      • पढ्‌दै गरेको बाइबल पदहरूको प्रसङ्‌ग बुझ्ने कोसिस गर्नुहोस्‌

      • पढेको कुराबाट के पाठ सिक्न सकिन्छ, विचार गर्नुहोस्‌

  • पढाइलाई केले रोचक बनाउँछ?
    प्रहरीधरहरा (जन संस्करण)—२०१७ | सङ्‌ख्या १
    • एउटी महिला बाइबल अध्ययन सामग्रीहरू प्रयोग गरेर बाइबल पढ्‌दै

      आवरण लेख | पवित्र शास्त्रबाट कसरी अझ धेरै लाभ उठाउन सकिन्छ?

      पढाइलाई केले रोचक बनाउँछ?

      बाइबल पढ्‌न तपाईंलाई कस्तो लाग्छ? पट्‌याइँलाग्दो वा रमाइलो? यो कुरा धेरै हदसम्म तपाईं कसरी पढ्‌नुहुन्छ, त्यसमा भर पर्छ। बाइबल पढाइलाई रोचक र रमाइलो बनाउन के गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्‌।

      आधुनिक भाषाको भरपर्दो अनुवाद छान्‍नुहोस्‌। नबुझिने शब्दहरू वा पुरानो जमानाका शब्दहरू प्रयोग गरिएको बाइबल पढ्‌नुभयो भने पढाइबाट आनन्द उठाउन सक्नुहुन्‍न। त्यसैले बुझ्न सजिलो र मन छुने शब्दहरू प्रयोग गरिएको बाइबल छान्‍नुहोस्‌। अनि अनुवाद सही हुनुपर्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌।a

      आधुनिक प्रविधि प्रयोग गर्नुहोस्‌। अहिले बाइबल छापिएको किताबको रूपमा मात्र नभई डिजिटल फर्म्याटमा पनि उपलब्ध छ। कुनै-कुनै बाइबल अनलाइन पढ्‌न सकिन्छ वा कम्प्युटर, ट्‌याबलेट, मोबाइल फोन आदिमा डाउनलोड गरेर पनि पढ्‌न सकिन्छ। कुनै-कुनै संस्करणमा थप विशेषताहरू पनि हुन्छन्‌। यसको प्रयोग गरेर तपाईंले त्यसै विषयसित सम्बन्धित अन्य बाइबल पदहरू खोज्न सक्नुहुन्छ वा विभिन्‍न बाइबल अनुवाद तुलना गरेर हेर्न सक्नुहुन्छ। तपाईंलाई पढ्‌नभन्दा सुन्‍न मन पर्छ भने कुनै-कुनै भाषामा बाइबलको अडियो रेकर्डिङ पनि उपलब्ध छ। धेरैलाई सार्वजनिक यातायातमा यात्रा गर्दा, लुगा धुँदा वा अन्य कुनै क्रियाकलापमा लागेको बेला सुन्‍न मन पर्छ। तपाईं पनि आफूलाई उपयुक्‍त हुने माध्यम प्रयोग गर्न सक्नुहुन्छ कि?

      बाइबल अध्ययन सामग्रीहरू प्रयोग गर्नुहोस्‌। बाइबल अध्ययन सामग्रीहरू प्रयोग गर्दा पढाइबाट अझ धेरै लाभ उठाउन सक्नुहुन्छ। बाइबलमा उल्लेख गरिएका ठाउँहरूको नक्सा प्रयोग गरेर आफूले बाइबलमा पढेको ठाउँ कहाँ पर्दो रहेछ भनेर थाह पाउन सक्नुहुन्छ। यसले गर्दा मनमा चित्र उतार्न सजिलो हुन्छ। यसै पत्रिकामा भएका लेखहरू वा jw.org वेबसाइटको “बाइबलको शिक्षा” भन्‍ने भागमा गएर तपाईंले बाइबलले सिकाउने शिक्षा बुझ्न सक्नुहुन्छ।

      विभिन्‍न तरिका अपनाउनुहोस्‌। सुरुदेखि अन्तसम्म पढ्‌न झिजो लाग्छ भने तपाईंलाई मन पर्ने भागबाट बाइबल पढ्‌न सुरु गरे कसो होला? यसो गर्दा पढाइप्रति तपाईंको रुचि बढ्‌न सक्छ। बाइबलमा उल्लेख गरिएका प्रख्यात व्यक्‍तिहरूबारे थाह पाउन चाहनुहुन्छ भने ती पात्रहरूबारे बताइएको विवरण छानेर पढ्‌न सक्नुहुन्छ। यसको एउटा उदाहरण “बाइबलमा उल्लिखित पात्रहरूलाई चिन्‍ने उद्देश्‍यसहित बाइबल पढ्‌नुहोस्‌” भन्‍ने पेटीमा दिइएको छ। अथवा तपाईं विषयवस्तुअनुसार वा घटना घटेको क्रमअनुसार पनि बाइबल पढ्‌न सक्नुहुन्छ। यीमध्ये कुनै तरिका अपनाउनुभए कसो होला

      a धेरै मानिसलाई पवित्र बाइबल—नयाँ संसार अनुवाद सही, भरपर्दो र पढ्‌न सजिलो लागेको छ। यहोवाका साक्षीहरूद्वारा प्रकाशित यो बाइबल १३० भन्दा धेरै भाषामा उपलब्ध छ। तपाईंले jw.org वेबसाइट वा JW लाइब्रेरी एपबाट यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। अथवा तपाईं चाहनुहुन्छ भने यहोवाका साक्षीहरूले यो बाइबल तपाईंको घरमै ल्याइदिन सक्छन्‌।

      बाइबलमा उल्लिखित पात्रहरूलाई चिन्‍ने उद्देश्‍यसहित बाइबल पढ्‌नुहोस्‌

      केही वफादार स्त्री

      अबीगेल

      १ शमूएल अध्याय २५

      एस्तर

      एस्तर अध्याय २-५, ७-९

      मरियम

      (येशूकी आमा) मत्ती अध्याय १-२; लूका अध्याय १-२; साथै यूहन्‍ना २:१-१२; प्रेषित १:१२-१४; २:१-४ पनि हेर्नुहोस्‌

      राहाब

      यहोशू अध्याय २, ६; साथै हिब्रू ११:३०, ३१; याकूब २:२४-२६ पनि हेर्नुहोस्‌

      रिबेका

      उत्पत्ति अध्याय २४-२७

      सारा

      उत्पत्ति अध्याय १७-१८, २०-२१, २३; साथै हिब्रू ११:११; १ पत्रुस ३:१-६ पनि हेर्नुहोस्‌

      हन्‍ना

      १ शमूएल अध्याय १-२

      केही उल्लेखनीय पुरुष

      अब्राहाम

      उत्पत्ति ११-२४; साथै २५:१-११ पनि हेर्नुहोस्‌

      दाऊद

      १ शमूएल अध्याय १६-३०; २ शमूएल अध्याय १-२४; १ राजा अध्याय १-२

      नूह

      उत्पत्ति अध्याय ५-९

      पत्रुस

      मत्ती अध्याय ४, १०, १४, १६-१७, २६; प्रेषित अध्याय १-५, ८-१२

      पावल

      प्रेषित अध्याय ७-१९, १३-२८

      मोशा

      प्रस्थान अध्याय २-२०, २४, ३२-३४; गन्ती अध्याय ११-१७, २०, २१, २७, ३१; व्यवस्था अध्याय ३४

      येशू

      सुसमाचारका चार पुस्तक मत्ती, मर्कूस, लूका र यूहन्‍ना

      यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबल अध्ययन सामग्री

      • JW.ORG—यो वेबसाइटमा थुप्रै अध्ययन सामग्री पाइन्छ। यसमा “बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ” भन्‍ने भाग पनि छ। साथै JW लाइब्रेरी एप डाउनलोड गर्ने तरिकाबारे पनि बताइएको छ

      • “त्यो असल भूमिलाई हेर्नुहोस्‌” (अङ्‌ग्रेजी)—यस पुस्तिकामा बाइबलमा उल्लिखित ठाउँहरूको नक्सा तथा फोटोहरू पाइन्छ

      • धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्‌ग्रेजी)—दुई वटा खण्ड भएको यो बाइबल इन्साइक्लोपीडियामा बाइबलमा उल्लेख गरिएका मानिस, ठाउँ तथा शब्दहरूको व्याख्या गरिएको छ

      • “धर्मशास्त्र—परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको र उपयोगी” (अङ्‌ग्रेजी)—यो किताबले बाइबलका प्रत्येक पुस्तक कहिले, कहाँ र किन लेखियो भनेर बताएको छ। यसमा प्रत्येक पुस्तकको विषयवस्तुको सारांश पनि दिइएको छ

      • बाइबल—परमेश्‍वरको वचन कि मानिसको? (अङ्‌ग्रेजी)—गहन अनुसन्धान गरेर तयार पारिएको यो सानो किताबले बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको पुस्तक हो भन्‍ने कुराको प्रमाण दिएको छ

      • बाइबल—यसले दिने सन्देश के हो?—यस ३२ पृष्ठे पुस्तिकामा बाइबलबारे आधारभूत ज्ञान दिइएको छ

  • बाइबलले मेरो जीवन कसरी सुधार्न सक्छ?
    प्रहरीधरहरा (जन संस्करण)—२०१७ | सङ्‌ख्या १
    • एक दम्पती भान्छामा सँगै काम गर्दै

      आवरण लेख | पवित्र शास्त्रबाट कसरी अझ धेरै लाभ उठाउन सकिन्छ?

      बाइबलले मेरो जीवन कसरी सुधार्न सक्छ?

      बाइबलमा सृष्टिकर्ताले दिनुभएको सल्लाहहरू पाइन्छ। त्यसैले यो साधारण किताब होइन। (२ तिमोथी ३:१६) यसमा पाइने सन्देशले हाम्रो जीवनमा गहिरो प्रभाव पार्न सक्छ। बाइबल आफै यसो भन्छ: “परमेश्‍वरको वचन जीवित र प्रबल . . . छ।” (हिब्रू ४:१२) यसले हाम्रो जीवनलाई मुख्य दुई तरिकामा सुधार्न सक्छ। हाम्रो दैनिक जीवनको लागि चाहिने डोऱ्‍याइ दिन्छ अनि परमेश्‍वर र उहाँका प्रतिज्ञाहरूबारे बुझ्न मदत गर्छ।—१ तिमोथी ४:८; याकूब ४:८.

      अहिल्यै तपाईंको जीवन सुधार्छ। एकदमै व्यक्‍तिगतजस्तो देखिने मामिलाहरूमा पनि बाइबलले मदत गर्छ। यसले निम्न क्षेत्रमा व्यावहारिक सल्लाह-सुझाव दिन्छ

      • अरूसितको सम्बन्ध। —एफिसी ४:३१, ३२; ५:२२, २५, २८, ३३.

      • भावनात्मक र शारीरिक स्वास्थ्य। —भजन ३७:८; हितोपदेश १७:२२.

      • नैतिक मूल्यमान्यता।—१ कोरिन्थी ६:९, १०.

      • आर्थिक मामिला।—हितोपदेश १०:४; २८:१९; एफिसी ४:२८.a

      एसियामा बस्ने एक जवान दम्पतीले बाइबलमा पाइने सल्लाह-सुझावको एकदमै कदर गरे। भर्खरै विवाह गरेका अरू दम्पतीले जस्तै तिनीहरूले पनि एक-अर्काको व्यक्‍तित्व बुझ्न र खुलस्त कुराकानी गर्न केही छाँटकाँट गर्नुपऱ्‍यो। तर तिनीहरूले बाइबलबाट पढेका कुराहरू लागू गर्न थाले। परिणाम कस्तो भयो? भिसेन्ट भन्छन्‌: “बाइबलमा पढेका कुराहरू लागू गर्दा वैवाहिक जीवनमा आएका समस्याहरू मायालु तरिकामा सुल्झाउन सकें। हो, ती सुझावहरू लागू गर्दा हामीले आनन्दित जीवन बिताउन सकेका छौं।” तिनकी पत्नी एनालू यसो भन्छिन्‌: “बाइबलमा पाइने उदाहरणहरूबाट हामीले मदत पायौं। अहिले वैवाहिक जीवनबाट आनन्द उठाएकी छु र हामीले अर्थपूर्ण लक्ष्यहरू राख्न सकेका छौं।”

      परमेश्‍वरलाई चिन्‍न मदत गर्छ। वैवाहिक जीवनको विषयमा माथि उल्लिखित टिप्पणी गरेका भिसेन्ट यसो पनि भन्छन्‌: “बाइबल पढाइले मलाई यहोवासित पहिलाभन्दा घनिष्ठ बनाएको छ।” भिसेन्टको अनुभवले एउटा महत्त्वपूर्ण कुरालाई जोड दिन्छ। त्यो हो, बाइबलले परमेश्‍वरलाई अझ राम्ररी चिन्‍न तपाईंलाई मदत गर्छ। परमेश्‍वरलाई चिन्दा तपाईंले उहाँबाट पाइने सल्लाह-सुझावबाट लाभ उठाउनुका साथै उहाँलाई साथीको रूपमा हेर्न सक्नुहुन्छ। अनि उज्ज्वल भविष्यको विषयमा उहाँले बताउनुभएको कुरा पनि बुझ्न सक्नुहुन्छ। त्यसबेला तपाईंले “साँच्चैको जीवन”-को आनन्द उठाउन सक्नुहुनेछ, त्यो पनि सधैंभरिको लागि। (१ तिमोथी ६:१९) यस्तो आशा अरू कुनै पुस्तकले दिएको छैन।

      बाइबल पढ्‌न थाल्नुभयो र बाइबल पढाइलाई निरन्तरता दिनुभयो भने तपाईंले पनि यी लाभहरू उठाउन सक्नुहुन्छ—अहिल्यै तपाईंको जीवन सुध्रन्छ अनि परमेश्‍वरलाई चिन्‍न सक्नुहुन्छ। तर बाइबल पढ्‌दा तपाईंको मनमा अरू प्रश्‍नहरू पनि उठ्‌न सक्छन्‌। प्रश्‍नहरू उठेमा आजभन्दा २ हजार वर्षअघिका इथियोपियाली अफिसरको उदाहरण विचार गर्नुहोस्‌। तिनको मनमा बाइबलसम्बन्धी थुप्रै प्रश्‍न उठेको थियो। पढिरहेको कुरा बुझ्नुभएको छ कि छैन भनेर सोध्दा तिनले यस्तो जवाफ दिए: “कसैले नबुझाईकन म कसरी बुझ्न सक्छु र?”b त्यसपछि तिनले फिलिप नाम गरेका येशू ख्रीष्टका एक जना चेलाको मदत खुसीसाथ स्वीकारे। फिलिप बाइबलको दक्ष शिक्षक थिए। (प्रेषित ८:३०, ३१, ३४) तपाईं पनि बाइबलबारे अझ धेरै बुझ्न चाहनुहुन्छ भने हामी तपाईंलाई www.jw.org/ne मा गएर अनुरोध पठाउन वा यस पत्रिकामा भएको तपाईंलाई पायक पर्ने ठेगानामा पत्राचार गर्न आग्रह गर्छौं। नजिकैका यहोवाका साक्षीहरूलाई भेट्‌न वा तपाईंको इलाकाको राज्यभवनमा जान पनि सक्नुहुन्छ। त्यसोभए आजैदेखि बाइबल पढेर यसको डोऱ्‍याइअनुसार चल्दै अझ राम्रो जीवन बिताउने हो कि?

      बाइबलमाथि साँच्चै भरोसा गर्न सकिन्छ कि सकिंदैन भनेर सोच्दै हुनुहुन्छ भने के बाइबल भरपर्दो किताब हो? भन्‍ने छोटो भिडियो हेर्नुहोस्‌। jw.org/ne मा गएर तपाईंले यो भिडियो पाउन सक्नुहुन्छ

      a बाइबलमा पाइने अन्य व्यावहारिक सुझावको लागि हाम्रो वेबसाइट jw.org/ne हेर्नुहोस्‌। बाइबलको शिक्षा > बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ अन्तर्गत हेर्नुहोस्‌।

      b यस अङ्‌कमा भएको “बुझाइमा सानो भिन्‍नता मात्रै हो कि?” भन्‍ने लेख पनि हेर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने