प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एउटा सङ्‌घर्षको कथा
    प्रहरीधरहरा (जन संस्करण)—२०१६ | सङ्‌ख्या ४
    • आवरण लेख | बाइबल कसरी जोगियो?

      एउटा सङ्‌घर्षको कथा

      एक जना मानिसको हातमा बाइबल छ र तिनलाई बाइबलको कुरामा शङ्‌का लागेको जस्तो देखिन्छ

      अरू धार्मिक ग्रन्थहरूभन्दा बाइबल एकदमै फरक छ। यो किताबले लामो समयदेखि मानिसहरूको विश्‍वासमा प्रभाव पार्दै आएको छ। त्यसैगरि मानिसहरूले यस किताबमा भएका कुराहरूको असाध्यै खोजीनिती र आलोचना गरेका छन्‌।

      उदाहरणको लागि, केही विद्वान्‌ अहिलेका बाइबलहरू मौलिक लेखोटहरूको भरपर्दो प्रतिलिपि हो भन्‍ने कुरामा शङ्‌का गर्छन्‌। धर्मबारे खोजअनुसन्धान गर्ने एक प्राध्यापक भन्छन्‌, “हामीले मौलिक लेखोटको हुबहु प्रतिलिपि बनाएका छौँ भनेर यकिनका साथ भन्‍न सक्दैनौँ। हामीसँग त्रुटिले भरिएका प्रतिलिपिहरू मात्र छन्‌ अनि तीमध्ये अधिकांश प्रतिलिपि मौलिक लेखोट तयार भएको शताब्दियौँपछि तयार पारिएका हुन्‌। त्यसैले यी प्रतिलिपिहरू मौलिक लेखोटभन्दा अनगिन्ती तरिकामा फरक छन्‌।”

      अरू कतिपय भने आफ्नो धार्मिक पृष्ठभूमिको कारण बाइबल सही छ भन्‍ने कुरामा शङ्‌का गर्छन्‌। फैजलको उदाहरण विचार गर्नुहोस्‌। तिनले सानैदेखि परिवारबाट बाइबल पवित्र ग्रन्थ हो तर यसमा फेरबदल गरिएको छ भनेर सिकेका थिए। तिनी भन्छन्‌, “त्यसैले कसैले मसित बाइबलको कुरा गर्न खोज्दा मलाई तिनीहरूको कुरामा शङ्‌का लाग्थ्यो। नलागोस्‌ पनि किन, तिनीहरूसित मौलिक बाइबल थिएन। फेरबदल गरिएको बाइबल मात्र थियो।”

      बाइबलमा फेरबदल गरिएको भए पनि नभए पनि के त्यसले फरक पार्छ? आउनुहोस्‌, यी प्रश्‍नहरू विचार गरौँ: सुन्दर भविष्यबारे बाइबलमा गरिएको भविष्यवाणी मौलिक बाइबलमा थियो कि थिएन भनेर तपाईँलाई थाह नभए पनि के तपाईँ त्यस प्रतिज्ञामा विश्‍वास गर्न सक्नुहुन्छ? (रोमी १५:४) अहिलेको बाइबल मानिसहरूले सारेर तयार पारेको त्रुटि नै त्रुटिले भरिएको लेखोट मात्र हो भने के तपाईँ जागिर, परिवार वा उपासनासम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गर्दा बाइबलका सिद्धान्तहरूमा भर पर्नुहुन्थ्यो?

      हुनत बाइबलका किताबहरूको मौलिक लेखोटहरू नष्ट भइसकेका छन्‌ तर अहिले पनि बाइबलका हजारौँ पुराना पाण्डुलिपि छन्‌। यी पाण्डुलिपिहरू कुहिनबाट, विरोधबाट र यिनमा लेखिएका कुराहरू फेरबदल गरिने दुष्प्रयासबाट कसरी जोगिए? यी पाण्डुलिपिहरू जोगिएको कुराले गर्दा तपाईँसँग अहिले भएको बाइबल सही छ भनेर कसरी विश्‍वस्त हुन सक्नुहुन्छ? यी प्रश्‍नहरूको जवाफ पाउन यसपछिका लेखहरू पढ्‌नुहोस्‌।

  • बाइबल कुहिनबाट जोगियो
    प्रहरीधरहरा (जन संस्करण)—२०१६ | सङ्‌ख्या ४
    • आवरण लेख | बाइबल कसरी जोगियो?

      बाइबल कुहिनबाट जोगियो

      खतरा: बाइबल लेखकहरू र प्रतिलिपिकहरूले मुख्यतया पपाइरस र चर्मपत्रमा लेखे।a (२ तिमोथि ४:१३) बाइबल यस्ता सामग्रीहरूमा लेखिएकोले यसलाई जोगाउन किन गाह्रो हुन सक्थ्यो?

      पपाइरस सजिलै च्यातिन्छ, खुइलिन्छ र मक्किन्छ। मिश्रका पुरातात्त्विक कुराहरूको अध्ययन गर्ने रिचार्ड पार्किन्सन र स्टिफन क्वर्की यसो भन्छन्‌, “समयको दौडान पपाइरसको पत्र कुहिन सक्छ अनि यसको त्यान्द्रो र धूलो मात्र बाँकी रहन्छ। यसको मुठालाई सञ्चय गरेर राखिँदा पनि यसमा ढुसी पर्न सक्छ वा ओसिएर कुहिन सक्छ अनि मुसा वा किराले पनि खान सक्छ। जमिनमुनि राखिएको छ भने विशेषगरि धमिराले खाइदिन सक्छ।” उत्खनन गरेर भेटिएका केही पपाइरस असाध्यै उज्यालो वा ओसिलो ठाउँमा राखिएकोले ती छिट्टै बिग्रिए।

      चर्मपत्र पपाइरसभन्दा टिकाउ हुन्छ तर यसलाई जतन गरेर चलाइएन भने यो पनि बिग्रिन्छ। साथै यसलाई अत्यधिक चिसो वा तातो ठाउँमा, ओसिलो ठाउँमा वा घाममा राखिँदा पनि बिग्रिन्छ।b चर्मपत्र किराहरूले पनि खान्छ। त्यसैले थुप्रै पुराना लेखोट नाश भइसकेका छन्‌। यदि बाइबल पनि यसरी नै कुहिएको भए यसमा भएको सन्देश हराएर जाने थियो।

      बाइबल कसरी जोगियो? यहुदीहरूको नियमले गर्दा सबै राजाले “व्यवस्थाको पुस्तकमा लेखिएका कुरा” अर्थात्‌ बाइबलको सुरुको पाँच वटा किताब ‘सार्नुपर्थ्यो र आफ्नो लागि एउटा पुस्तक बनाउनुपर्थ्यो।’ (व्यवस्था १७:१८) साथै पेसेवर प्रतिलिपिकहरूले थुप्रै पाण्डुलिपि तयार पारिसकेका थिए, जसले गर्दा इस्वी संवत्‌ प्रथम शताब्दीसम्ममा इस्राएलका सबै सभाघरमा र टाढा पर्ने म्यासिडोनियामा समेत धर्मशास्त्रका मुठाहरू पाइन्थ्यो। (लुका ४:१६, १७; प्रेषित १७:११) केही असाध्यै पुराना पाण्डुलिपि हाम्रो समयसम्म कसरी जोगिए?

      १. माटोको घ्याम्पो; २. मृतसागरमा फेला परेका पाण्डुलिपिहरूको एउटा टुक्रा

      मृतसागरमा फेला परेका पाण्डुलिपिहरू सयौँ वर्षसम्म सुरक्षित रहे किनभने ती पाण्डुलिपिहरू सुक्खा हावापानी भएको ठाउँका गुफाहरूमा माटोका घ्याम्पाहरूमा राखिएका थिए

      बाइबलका केही पाण्डुलिपि भेटिएको गुफा

      नयाँ नियमको बाइबलविद्‌ फिलिप डब्ल्यु. कम्फर्ट भन्छन्‌, “धर्मशास्त्रका मुठाहरू जोगाउन ती मुठाहरूलाई घ्याम्पो वा गाग्रीमा राख्ने यहुदीहरूको चलन थियो।” प्राप्त प्रमाणअनुसार ख्रिष्टियनहरूले पनि त्यसै गरेका थिए। त्यसैले बाइबलका केही पाण्डुलिपि माटोका घ्याम्पाहरूमा, अँध्यारो कोठाहरूमा, गुफाहरूमा अनि एकदमै सुक्खा ठाउँहरूमा भेटिएका छन्‌।

      निष्कर्ष: बाइबलका पाण्डुलिपिहरूका हजारौँ टुक्रा अहिले पनि पाइन्छ। कुनै-कुनै त २ हजार वर्षभन्दा पुराना छन्‌। बाइबलका पाण्डुलिपिहरूजत्तिको पुराना अरू कुनै लेखोट अहिलेसम्म जोगिएका छैनन्‌ र अरू कुनै लेखोटको यत्ति धेरै पाण्डुलिपि फेला परेको छैन।

      a पपाइरस भनेको पानीमा पाइने पपाइरस भन्‍ने बोटबाट बनाइएको लेखन सामग्री हो। चर्मपत्र जनावरको छालाबाट बनाइन्छ।

      b उदाहरणको लागि, संयुक्‍त राज्य अमेरिकाको स्वतन्त्रताको घोषणापत्रको दस्ताबेज चर्मपत्रमा लेखिएको थियो। यो दस्ताबेज लेखिएको २५० वर्ष पनि भएको छैन तर अहिले यो खुइलिएर पढ्‌नै नसकिने भइसकेको छ।

  • विरोधीहरूले बाइबललाई नामेट पार्न सकेनन्‌
    प्रहरीधरहरा (जन संस्करण)—२०१६ | सङ्‌ख्या ४
    • आवरण लेख | बाइबल कसरी जोगियो?

      विरोधीहरूले बाइबललाई नामेट पार्न सकेनन्‌

      खतरा: धेरै राजनैतिक नेता र धर्मगुरुले बाइबलको सन्देशसित मेल नखाने किसिमको योजना बनाए। तिनीहरूले अक्सर आफ्नो अधिकार चलाएर मानिसहरूलाई आफूसित बाइबल राख्न, छाप्न वा अनुवाद गर्न रोक्न खोजे। यी दुइटा उदाहरण विचार गर्नुहोस्‌:

      • ईसापूर्व १६७ तिर: सेल्युकाली राजा एन्टिओकस एपिफानसले यहुदीहरूमाथि ग्रीक धर्म लाद्‌न कोसिस गरेका थिए। तिनले हिब्रू धर्मशास्त्रका सबै प्रति नाश गर्ने आदेश दिएका थिए। इतिहासकार हाइन्रिक ग्रेट्‌सले बताएअनुसार राजाले नियुक्‍त गरेका अफिसरहरूले “आफूले भेटेजति व्यवस्थाका मुठाहरू च्याते र जलाइदिए अनि धर्मशास्त्रबाट बल र सान्त्वना खोज्ने सबैलाई मारे।”

      • मध्ययुग: केही क्याथोलिक धर्मगुरुलाई आफ्नो चर्चका सदस्यहरूले क्याथोलिक धर्मसिद्धान्त नभई बाइबलले सिकाउने कुरा प्रचार गरेको पटक्कै मन परेको थिएन। त्यसैले धर्मगुरुहरूले ल्याटिन भाषामा लेखिएको भजनको किताबबाहेक बाइबलका अरू किताब आफूसित राख्ने चर्चका सदस्यहरूलाई धर्मविरोधी भन्‍ने गर्थे। एउटा चर्चको निकायले आफ्ना मानिसहरूलाई यस्तो कडा आज्ञा दियो: “धर्मविरोधीहरूलाई खोज्न कुनै कसर बाँकी नराख्नू। तिनीहरूलाई एक चोटि मात्र होइन, पटक-पटक खोज्न जानू। . . . आफूलाई शङ्‌का लागेका सबै घर अनि जमिनमुनि बनाइएका सबै कोठामा पसेर खानतलास गर्नू। . . . जुन घरमा धर्मविरोधी भेटिन्छ, त्यो घरलाई नाश गरिदिनू।”

      यदि शत्रुहरू बाइबललाई नामेट पार्न सफल भएका भए यसको सन्देश हराएर जाने थियो।

      विलियम टिन्डेलको अङ्‌ग्रेजी अनुवाद बाइबलको एउटा पाना

      विलियम टिन्डेलले अङ्‌ग्रेजी भाषामा अनुवाद गरेको बाइबलमाथि प्रतिबन्ध लगाइयो, ती बाइबलहरू जलाइए र तिनलाई इस्वी संवत्‌ १५३६ मा मृत्युदण्ड दिइयो। तैपनि तिनले अनुवाद गरेको बाइबल आजसम्मै छ

      बाइबल कसरी जोगियो? राजा एन्टिओकसको अभियान इस्राएलमा केन्द्रित थियो तर यहुदीहरू विभिन्‍न मुलुकमा बसाइँ सरिसकेका थिए। विज्ञहरूको अनुमानअनुसार इस्वी संवत्‌ प्रथम शताब्दीसम्ममा ६० प्रतिशतभन्दा धेरै यहुदी इस्राएलबाहिर बसोबास गर्न थालिसकेका थिए। ती यहुदीहरूले आफ्ना सभाघरहरूमा धर्मशास्त्रका प्रतिहरू राख्थे। यही धर्मशास्त्र तिनीहरूपछिका पुस्ताले अनि ख्रिष्टियनहरूले समेत प्रयोग गरे।—प्रेषित १५:२१.

      मध्ययुगमा बाइबल मन पराउनेहरूले जतिसुकै खेदो आए पनि बाइबल अनुवाद गर्न र त्यसका नकल प्रतिहरू बनाउन छोडेनन्‌। पन्ध्रौँ शताब्दीको बीचतिर मुभेबल टाइप प्रेस आविष्कार हुनुभन्दा अघि नै बाइबलका केही अंश ३३ वटा जति भाषामा उपलब्ध भइसकेको हुन सक्छ। त्यसपछि अत्यन्तै द्रुत गतिमा बाइबल अनुवाद भयो अनि छापियो।

      निष्कर्ष: शक्‍तिशाली राजाहरू अनि चर्चको बहकाउमा परेका पादरीहरूको धम्कीको बाबजुद मानव इतिहासमा व्यापक वितरण भएको र सबैभन्दा धेरै भाषामा अनुवाद भएको किताब बाइबल हो। यसले कतिपय देशका नियमकानुन र भाषाहरूका साथै लाखौँ मानिसको जीवनमा ठूलो प्रभाव पारेको छ।

  • बाइबलको सन्देश फेरबदल गरिने दुष्प्रयासबाट जोगियो
    प्रहरीधरहरा (जन संस्करण)—२०१६ | सङ्‌ख्या ४
    • एक जना प्रतिलिपिक बाइबल सार्दै छन्‌

      मेसोरेटहरूले होसियारीसाथ धर्मशास्त्रको नकल प्रतिहरू बनाए

      आवरण लेख | बाइबल कसरी जोगियो?

      बाइबलको सन्देश फेरबदल गरिने दुष्प्रयासबाट जोगियो

      खतरा: बाइबल कुहिनबाट जोगियो अनि विरोधीहरूले पनि यसलाई नामेट पार्न सकेनन्‌। तर केही प्रतिलिपिक र अनुवादकले बाइबलको सन्देश फेरबदल गर्ने प्रयास गरेका छन्‌। कहिलेकाहीँ तिनीहरूले बाइबललाई आधार बनाएर धार्मिक सिद्धान्तहरू बनाउनुको साटो आफ्ना सिद्धान्तहरूलाई अघि सार्न बाइबलमा फेरबदल गर्ने प्रयास गरेका छन्‌। यी उदाहरणहरू विचार गर्नुहोस्‌:

      • उपासनास्थल: ईसापूर्व चौथो र दोस्रो शताब्दीबीच सामरियाली पेन्टाटुककाa लेखकहरूले प्रस्थान २०:१७ को अन्तमा “तिमीहरूले गिरिज्जिम पर्वतमा वेदी बनाउनू” भन्‍ने वाक्य घुसाए। यसो गरेर सामरियालीहरूले गिरिज्जिम पर्वतमा मन्दिर बनाउनु धर्मशास्त्रसित मेल खान्छ भनेर प्रमाणित गर्न खोजेका थिए।

      • त्रिएकको शिक्षा: बाइबल लेख्न सिद्धिएको ३०० वर्ष नबित्दै त्रिएकमा विश्‍वास गर्ने एक जना लेखकले १ युहन्‍ना ५:७ मा यो वाक्य थपे: “स्वर्गमा पिता, वचन र पवित्र आत्मा छन्‌ र ती तीन एक हुन्‌।” यो वाक्य मौलिक लेखोटमा छैन। बाइबलविद्‌ ब्रुस मेट्‌जगर यसो भन्छन्‌: “छैठौँ शताब्दीपछिका पुराना ल्याटिन तथा [ल्याटिन] भल्गेटका पाण्डुलिपिहरूमा त्यो वाक्य झन्‌ धेरै देखा पर्न थाल्यो।”

      • परमेश्‍वरको नाम: थुप्रै बाइबल अनुवादकले एउटा यहुदी अन्धविश्‍वासलाई आधार बनाएर धर्मशास्त्रबाट परमेश्‍वरको नाम हटाउने निर्णय गरे। तिनीहरूले परमेश्‍वरको नाम हटाएर त्यसको ठाउँमा “ईश्‍वर” वा “प्रभु”-जस्ता पदवीहरू राखे, जबकि बाइबलमा त्यस्ता पदवीहरू सृष्टिकर्तालाई मात्र होइन तर मानिसहरूलाई, झूटो उपासनामा प्रयोग गरिने चिजबिजलाई अनि सैतानलाई समेत प्रयोग गरिएको छ।—युहन्‍ना १०:३४, ३५; १ कोरिन्थी ८:५, ६; २ कोरिन्थी ४:४. b

      बाइबल कसरी जोगियो? पहिलो, हुनत केही बाइबल प्रतिलिपिक लापरवाह वा बेइमानसमेत थिए तर थुप्रै भने निपुण र असाध्यै होसियार थिए। इस्वी संवत्‌ छैठौँ र दसौँ शताब्दीको बीचतिर मेसोरेट भनेर चिनिने यहुदी शास्त्रीहरूले हिब्रू धर्मशास्त्रको नकल प्रति बनाए र यसलाई अहिले मेसोरेटिक लेखोट भनिन्छ। कुनै गल्ती नहोस्‌ भनेर तिनीहरूले एक-एक शब्द र अक्षर गन्थे भन्‍ने धारणा व्याप्त छ। तिनीहरूले प्रयोग गरेको मानक लेखोटमा कुनै गल्ती भएको जस्तो लागेमा ती मार्जिनमा लेख्थे। मेसोरेटहरूले बाइबल लेखोटमा कुनै फेरबदल गरेनन्‌। प्राध्यापक मोसा गोसेन-गोट्‌स्टाइनले यस्तो लेखे: “बाइबल लेखोटमा जानाजानी फेरबदल गर्नु भनेको तिनीहरूको लागि जघन्य अपराध गर्नुसरह थियो।”

      दोस्रो, अहिले प्रशस्त पाण्डुलिपिहरू उपलब्ध भएकोले पनि बाइबलविद्‌हरूलाई गल्ती भेट्टाउन सजिलो भएको छ। उदाहरणको लागि, धर्मगुरुहरूले तिनीहरूको ल्याटिन बाइबल नै मौलिक बाइबल लेखोटमा आधारित छ भनेर शताब्दियौँसम्म सिकाए। तर यस लेखको सुरुतिर उल्लेख गरिएको १ युहन्‍ना ५:७ को त्यो शङ्‌कास्पद वाक्य तिनीहरूले घुसाएका थिए। त्यो गल्ती प्रख्यात अङ्‌ग्रेजी बाइबल किङ जेम्स भर्सन-मा पनि देखियो! तर अरू पाण्डुलिपिहरू भेटिएपछि के पत्ता लाग्यो? ब्रुस मेट्‌जगरले लेखे: “[पहिलो युहन्‍ना ५:७ मा थपिएको] वाक्य ल्याटिनबाहेक अरू कुनै पुराना पाण्डुलिपिहरूमा (सिरियाक, कप्टिक, आर्मेनियन, इथियोपिक, अरबिक, स्लाभोनिक) पाइँदैन।” यसकारण किङ जेम्स भर्सन-का संशोधित संस्करणहरू र अरू बाइबलबाट त्यो शङ्‌कास्पद वाक्य हटाइएको छ।

      चेस्टर बेट्टि P46, इस्वी संवत्‌ २०० तिरको एउटा बाइबल पाण्डुलिपि

      चेस्टर बेट्टि P46, इस्वी संवत्‌ २०० तिरको एउटा बाइबल पाण्डुलिपि

      के पुराना पाण्डुलिपिहरू हेर्दा बाइबलको मौलिक सन्देशमा कुनै फेरबदल भएको छैन भन्‍न सकिन्छ? इस्वी संवत्‌ १९४७ मा मृतसागरमा पाण्डुलिपिहरू भेटिए। ती भेटिएपछि शास्त्रविद्‌हरूले बल्ल हजार वर्षभन्दा अघि बाइबलका मुठाहरूमा लेखिएका कुराहरू हिब्रू मेसोरेटिक लेखोटसित दाँजेर हेर्न सके। एउटा टोलीले मृतसागरमा भेटिएका पाण्डुलिपिहरूको अध्ययन-अनुसन्धान गरेको थियो। त्यस टोलीको एक जना सदस्यको निष्कर्षअनुसार एउटा मुठा मात्र दाँजेर हेर्दा “हजार वर्षभन्दा लामो समयको दौडान यहुदी प्रतिलिपिकहरूले बाइबलका लेखोटहरूको नकल प्रति बनाउँदा त्यसमा कुनै गल्ती भएको थिएन भन्‍ने अकाट्य प्रमाण पाइन्छ। किनभने तिनीहरूले असाध्यै होसियार र वफादार भएर नकल प्रतिहरू बनाएका थिए।”

      आयरल्याण्डको डब्लिनस्थित चेस्टर बेट्टि लाइब्रेरीमा पपाइरसहरूको सँगालो पाइन्छ र त्यसमा ख्रिष्टियन ग्रीक धर्मशास्त्रका प्रायः सबैजसो किताब छन्‌। ती पाण्डुलिपिहरूमा इस्वी संवत्‌ दोस्रो शताब्दीतिरका पुराना पाण्डुलिपिहरू पनि छन्‌, जुन बाइबल लेख्न सिद्धिएको १०० वर्षजति पछिका हुन्‌। दि एङ्‌कर बाइबल डिक्सनरी यसो भन्छ: “उपलब्ध पपाइरसहरूले बाइबलका लेखोटहरूसम्बन्धी प्रशस्त नयाँ जानकारी दिन्छ। तर त्यति मात्र होइन, समयको दौडान बाइबलका नकल प्रतिहरू बनाउने काम असाध्यै वफादारीपूर्वक गरिएको थियो भनेर पनि प्रमाण दिन्छ।”

      “पुराना कृतिहरूमध्ये अरू कुनै पनि कृतिको यसको जस्तो हुबहु नकल प्रति बनाइएको छैन”

      निष्कर्ष: असाध्यै पुराना तथा प्रशस्त उपलब्ध पाण्डुलिपिहरूले गर्दा बाइबलको लेखोटमा फेरबदल भएको छैन बरु त्यसलाई अझै मौलिक लेखोटसित मिल्दोजुल्दो बनाउन मदत गरेको छ। ख्रिष्टियन ग्रीक धर्मशास्त्रबारे सर फेड्रिक केन्यनले यस्तो लेखे: “अरू कुनै पनि पुरानो लेखोटको यसको जस्तो पुरानो र प्रशस्त प्रमाण छैन। हामीसित भएको लेखोटलाई त्यसको मौलिक लेखोटसित दाँज्दा खासै फेरबदल भएको छैन भन्‍ने कुरामा निष्पक्ष शास्त्रविद्‌हरू सहमत हुनेछन्‌।” हिब्रू धर्मशास्त्रबारे शास्त्रविद्‌ विलियम हेन्रि ग्रिनले यसो भने: “पुराना कृतिहरूमध्ये अरू कुनै पनि कृतिको यसको जस्तो हुबहु नकल प्रति बनाइएको छैन।”

      a यो सामरियालीहरूबाट मान्यताप्राप्त बाइबलको सुरुका पाँच वटा किताबको सँगालो हो।

      b थप जानकारीको लागि www.jw.org/ne मा उपलब्ध पवित्र बाइबल—नयाँ संसार अनुवाद-को अतिरिक्‍त लेख क४ र क५ हेर्नुहोस्‌।

  • बाइबल किन जोगियो?
    प्रहरीधरहरा (जन संस्करण)—२०१६ | सङ्‌ख्या ४
    • एक जना पुरुष बाइबल पढ्‌दै छन्‌

      आवरण लेख | बाइबल कसरी जोगियो?

      बाइबल किन जोगियो?

      हो, बाइबल जोगिएको छ। त्यसैले तपाईँले बाइबल पाउन र पढ्‌न सक्नुहुन्छ। यदि तपाईँले राम्रो अनुवाद रोज्नुभयो भने मौलिक लेखोटहरूमै भएको कुरा पढ्‌दै हुनुहुन्छ भनेर ढुक्क हुन सक्नुहुन्छ।a तर बाइबल कुहिनबाट, घोर विरोधबाट र यसको सन्देश फेरबदल गर्ने दुष्प्रयासबाट जोगिनुको कारण के हो? यी सब अवरोधको बाबजुद बाइबल जोगिनु कस्तो अचम्मलाग्दो कुरा! यो किताब किन विशेष छ?

      “मसँग भएको बाइबल परमेश्‍वरले दिनुभएको उपहार हो भन्‍ने कुरामा मलाई कुनै शङ्‌का छैन”

      बाइबलको गहिरो खोज-अनुसन्धान गर्ने धेरैजसो मानिस प्रेषित पावलको जस्तै निष्कर्षमा पुगेका छन्‌, जसले यस्तो लेखे: “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो।” (२ तिमोथि ३:१६) तिनीहरू बाइबल परमेश्‍वरको वचन भएकोले र उहाँले नै यसलाई जोगाउनुभएकोले यो अहिलेसम्म उपलब्ध भएको हो भनेर विश्‍वास गर्छन्‌। यस शृङ्‌खलाको पहिलो लेखमा बताइएका फैजलले बाइबलबारे सुनेको कुरा सही हो कि होइन भनेर आफैले बाइबल अध्ययन गरेर जाँच्ने निर्णय गरे। अध्ययन गर्दै जाँदा तिनी छक्क परे किनभने विभिन्‍न चर्चले सिकाउने शिक्षा बाइबलआधारित रहेनछ भनेर तिनले चाँडै थाह पाए। साथै परमेश्‍वरको वचनबाट पृथ्वीको लागि उहाँले राख्नुभएको उद्देश्‍यबारे थाह पाउँदा तिनी असाध्यै खुसी भए।

      तिनी भन्छन्‌: “मसँग भएको बाइबल परमेश्‍वरले दिनुभएको उपहार हो भन्‍ने कुरामा मलाई कुनै शङ्‌का छैन। परमेश्‍वरले ब्रह्‍माण्ड बनाउन सक्नुहुन्छ भने के हामीलाई एउटा किताब दिन र त्यसलाई जोगाउन सक्नुहुन्‍न र? सक्नुहुन्‍न भन्छौँ भने हामीले उहाँको शक्‍ति सीमित छ भनिरहेका हुन्छौँ। सर्वशक्‍तिमान्‌ परमेश्‍वरको शक्‍ति सीमित छ भन्‍ने म को हुँ र?”—यसैया ४०:८.

      a प्रहरीधरहरा, २०१५, डिसेम्बर १५ मा प्रकाशित “नयाँ संसार अनुवाद बुझ्न सजिलो र सही अनुवाद” शीर्षकको लेख हेर्नुहोस्‌।

      हामी बाइबल सही छ भनेर कसरी पक्का हुन सक्छौँ?

      यी शृङ्‌खलाबद्ध लेखहरूमा बाइबल कसरी जोगियो भनेर बताइएको थियो। तर बाइबल काल्पनिक कथाहरू र दन्त्यकथाहरूको सँगालो नभई साँच्चै “परमेश्‍वरको वचन” हो भनेर तपाईँ कसरी पक्का हुन सक्नुहुन्छ? (१ थिस्सलोनिकी २:१३) www.jw.org/ne मा उपलब्ध के बाइबल भरपर्दो किताब हो? भन्‍ने छोटो भिडियो हेर्नुहोस्‌। (‘खोज्ने’ बटनमा क्लिक गरेर भिडियोको शीर्षक टाइप गर्नुहोस्‌)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने