प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उज्ज्वल भविष्यको सङ्‌केत दिने घटनाहरू
    प्रहरीधरहरा: अहिले पूरा भइरहेको छ वटा बाइबल भविष्यवाणीहरू
    • उज्ज्वल भविष्यको सङ्‌केत दिने घटनाहरू

      “अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ।”—२ तिमोथि ३:१.

      के तपाईँले यीमध्ये कुनै दुःखद घटना घटेको देख्नुभएको वा सुन्‍नुभएको छ?

      ● प्राणघातक रोगले गर्दा सयौँको ज्यान जान्छ।

      ● अनिकालले गर्दा हजारौँको मृत्यु हुन्छ।

      ● भूकम्पले लाखौँको ज्यान लिन्छ र त्योभन्दा पनि धेरै मानिस घरबारविहीन हुन्छन्‌।

      यसपछिका पृष्ठहरूमा यस्तै घटनाहरूबारे चर्चा गरिएको छ र यी कुराहरू सोच्न लायकका छन्‌। साथै बाइबलमा यस्ता घटनाहरू “अन्तको दिन” भनिने एउटा खास समयावधिमा घट्‌नेछन्‌ भनेर भविष्यवाणी गरिएको विषयमा पनि बुझ्नुहुनेछ।a

      यी लेखहरूको उद्देश्‍य हामी समस्यै-समस्याले भरिएको संसारमा बाँचिरहेका छौँ भन्‍ने कुरामा तपाईँलाई विश्‍वास दिलाउनु होइन किनभने तपाईँ आफैले यस्ता समस्याहरू देखिरहनुभएको होला। बरु यी लेखहरू तपाईँलाई आशा दिन तयार पारिएका हुन्‌। यी लेखहरूमा भएका छ वटा भविष्यवाणीको पूर्तिले “अन्तको दिन” अब चाँडै सकिनेछ भनेर प्रस्ट पार्नेछ। यी शृङ्‌खलाबद्ध लेखहरूमा मानिसहरू यस कुरासित सहमत नहुने बुँदाबारे छलफल गरिनेछ। साथै यी लेखहरूमा तपाईँले भविष्य उज्ज्वल छ भन्‍ने प्रमाण पनि पाउनुहुनेछ।

      [फुटनोट]

      a ईश्‍वरले किन यस्तो खराब परिस्थिति हुन दिनुभएको हो भन्‍ने विषयमा जान्‍न यसै अङ्‌कको पृष्ठ १६ र १७ मा भएको “ईश्‍वरले किन दुष्टता र दुःखकष्ट हटाउनुहुन्‍न” भन्‍ने लेख हेर्नुहोस्‌।

  • भविष्यवाणी १. भूकम्प
    प्रहरीधरहरा: अहिले पूरा भइरहेको छ वटा बाइबल भविष्यवाणीहरू
    • भविष्यवाणी १. भूकम्प

      “ठूलठूला भूकम्प जानेछ।”—लुका २१:११.

      ● हाइटीमा गएको भूकम्पबारे टिभीमा रिपोर्टिङ गरिरहेको एउटा टोलीले भत्किएका संरचनाहरूमुनिबाट एउटा सानो बच्ची रोइरहेको आवाज सुने। तिनीहरूले त्यहाँबाट १६ महिने विनीलाई उद्धार गरे। ऊ भूकम्पबाट बची तर उसका आमाबुबाले भने ज्यान गुमाए।

      तथ्याङ्‌कले के देखाउँछ? हाइटीमा सन्‌ २०१० मा ७.० रेक्टर स्केलको भूकम्प जाँदा ३ लाखभन्दा धेरै मानिसले ज्यान गुमाए अनि १३ लाख मानिस क्षणभरमै घरबारविहीन भए। हाइटीमा गएको यो भूकम्प असाध्यै ठूलो भूकम्प थियो। तर यस्ता भूकम्पहरू अरू ठाउँमा पनि गएका छन्‌। अप्रिल २००९ देखि अप्रिल २०१० सम्म संसारभरि कम्तीमा १८ वटा यस्ता ठूलठूला भूकम्प गए।

      धेरैले कस्तो असहमति जनाउँछन्‌? अहिले हाम्रो समयमा धेरै भूकम्प गएको होइन तर आधुनिक प्रविधिले गर्दा हामीलाई त्यस्ता भूकम्पहरू धेरै गइरहेको छ भनेर पहिलाभन्दा धेरै थाह भएको मात्र हो।

      के त्यस्तो असहमति तार्किक छ? यो कुरा विचार गर्नुहोस्‌: बाइबलले अन्तको दिनमा कति वटा भूकम्प जानेछ भनेर बताउँदैन। तर “ठाउँठाउँमा” “ठूलठूला भूकम्प जानेछ” भनेर चाहिँ बताउँछ। त्यसैले भूकम्पलाई यस अन्तको दिनको महत्त्वपूर्ण चिन्ह भन्‍न सकिन्छ।—मर्कुस १३:८; लुका २१:११.

      तपाईँलाई कस्तो लाग्छ? के बाइबलमा भविष्यवाणी गरिएझैँ ठूलठूला भूकम्प गइरहेको छ?

      भूकम्पहरू गएको कुरालाई मात्र आधार मानेर हामी अन्तको दिनमा बाँचिरहेका छौँ भन्‍न मिल्दैन। अहिले पूरा भइरहेका थुप्रै भविष्यवाणीमध्ये भूकम्प त एउटा मात्र हो। अब दोस्रो भविष्यवाणी विचार गरौँ।

      [पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्यापसन]

      “हामी [भूगर्भशास्त्रीहरू] यसलाई ठूलठूला भूकम्प भन्छौँ तर अरूले भने यसलाई भयानक घटना भन्छन्‌।”—केन हड्‌नट, अमेरिकी भौगर्भिक सर्वेक्षण

      [पृष्ठ ४-मा भएको चित्रको स्रोत]

      © William Daniels/Panos Pictures

  • भविष्यवाणी २. अनिकाल
    प्रहरीधरहरा: अहिले पूरा भइरहेको छ वटा बाइबल भविष्यवाणीहरू
    • भविष्यवाणी २. अनिकाल

      “अनिकाल पर्नेछ।”—मर्कुस १३:८.

      ● एक जना मानिसले नाइजरको क्वाराटाजि गाउँमा शरण लिए। ती मानिसका आफन्त, दाजुभाइ र दिदीबहिनी पनि भोकमरीबाट बच्न त्यस देशको भित्री भूभागबाट त्यहाँ आएका थिए। तैपनि ती मानिस भुईँमा गुन्द्री ओछ्याएर एक्लै पल्टिरहेका थिए। तिनी किन एक्लै पल्टिरहेका थिए? सिडि नाम गरेको त्यस गाउँको मुखियाले यसो भने: “तिनले आफ्नो परिवारको लागि खानेकुरा जुटाउन सकेनन्‌ अनि लाचार महसुस गरेकोले उनीहरूसित आँखा जुधाउन पनि सकेनन्‌।”

      तथ्याङ्‌कले के देखाउँछ? संसारभरि प्रत्येक दिन लगभग ७ जनामध्ये १ जनाले पुग्दो खानेकुरा पाउँदैन। सहारा मरुभूमिको दक्षिणतिर पर्ने देशहरूको अवस्था अझै नाजुक छ। त्यहाँ ३ जनामध्ये १ जना चरम भोकमरीको चपेटामा परेको छ। यो तथ्याङ्‌कलाई सजिलै बुझ्न बुबा, आमा र एउटा बच्चा भएको परिवार कल्पना गर्नुहोस्‌। यदि दुई जनालाई मात्र पुग्ने खानेकुरा छ भने को भोकै बस्ने? बुबा? आमा? कि बच्चा? त्यस्ता गरिब परिवारहरूले हरेक दिन यस्तो छनौट गर्नुपर्छ।

      धेरैले कस्तो असहमति जनाउँछन्‌? पृथ्वीले सबैको लागि प्रशस्तै खानेकुरा उब्जाउँछ। पृथ्वीको स्रोतसाधनलाई सही तरिकामा व्यवस्थापन गरियो भने यो समस्या समाधान हुन्छ।

      के त्यस्तो असहमति तार्किक छ? हुनत हो, किसानहरूलाई उब्जनी गर्न र त्यसको ढुवानी गर्न अहिलेजति सजिलो पहिला कहिल्यै भएको थिएन। मानव सरकारहरूले भोकमरी समस्याको समाधान गर्न पृथ्वीको उब्जनीको राम्ररी व्यवस्थापन गर्न सक्नुपर्ने हो। तर त्यसो गर्न वर्षौँदेखि कोसिस गरे तापनि तिनीहरू सफल हुन सकेका छैनन्‌।

      तपाईँलाई कस्तो लाग्छ? के मर्कुस १३:८ को भविष्यवाणी पूरा भइरहेको छ? प्रविधिमा जति नै उन्‍नति भए तापनि के अनिकालले पूरै संसारलाई गाँजेको छ?

      भूकम्प र अनिकालले अर्को समस्या पनि निम्त्याउँछ, जुन अन्तको दिनको अर्को चिन्ह हो।

      [पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

      “बालबालिका कुपोषणको सिकार नहुने हो भने निमोनिया, झाडापखाला र अन्य रोग लागिहाले तापनि एक तिहाइभन्दा बढी बालबालिकाको ज्यान जोगाउन सकिन्थ्यो।”—एन एम. भेनम्यान, संयुक्‍त राष्ट्र सङ्‌घको बालबालिका कोषको भूतपूर्व कार्यकारी निर्देशक

      [पृष्ठ ५-मा भएको चित्रको स्रोत]

      © Paul Lowe/Panos Pictures

  • भविष्यवाणी ३. महामारी
    प्रहरीधरहरा: अहिले पूरा भइरहेको छ वटा बाइबल भविष्यवाणीहरू
    • भविष्यवाणी ३. महामारी

      “महामारी हुनेछ।”—लुका २१:११.

      ● एउटा अफ्रिकी मुलुकमा गृहयुद्ध मच्चिरहेको थियो। त्यहाँ बोन्जालि नाम गरेका एक जना जनस्वास्थ्य अधिकृत खानीमा काम गर्ने कामदारहरूको उपचारमा दिनरात खटिरहेका थिए। ती कामदारहरू मारबर्ग भाइरसलेa सङ्‌क्रमित भएर मर्नै लागेको अवस्थामा पुगेका थिए। तिनले ठूलो सहरका स्वास्थ्य अधिकृतहरूसित मदत मागे तर तिनलाई मदत गर्न कोही आएन। चार महिनापछि तिनले खोजेको मदत आइपुग्यो तर त्यतिबेलासम्म तिनको मृत्यु भइसकेको थियो। तिनलाई खानीका कामदारहरूबाट मारबर्ग सङ्‌क्रमण भएको थियो।

      तथ्याङ्‌कले के देखाउँछ? धेरै मानिसको ज्यान लिने रोगहरूमध्ये निमोनिया, झाडापखाला, एच आइ भी/एड्‌स, क्षयरोग र औलो पर्छ। हालैको वर्षमा यी पाँच वटा रोगको कारण लगभग १ करोड ७ लाख मानिसको मृत्यु भएको छ। भन्‍नुको मतलब, यी रोगहरूले वर्षभरि नै प्रत्येक तीन सेकेन्डमा एक जनाको ज्यान लिएको छ।

      धेरैले कस्तो असहमति जनाउँछन्‌? संसारको जनसङ्‌ख्या बढ्‌दै गइरहेको छ। त्यसैले रोगबिमार बढ्‌नु स्वाभाविकै हो। सङ्‌क्रमित हुन सक्ने मानिसहरूको सङ्‌ख्या पनि त्यत्ति नै धेरै छ।

      के त्यस्तो असहमति तार्किक छ? संसारको जनसङ्‌ख्या एकदमै बढेको छ। तर रोग पत्ता लगाउने, नियन्त्रण गर्ने र त्यसको उपचार गर्ने मानिसको क्षमता पनि बढेको छ। वास्तवमा भन्‍नुपर्दा मानिसजातिले रोगमाथि नियन्त्रण गर्न सक्नुपर्ने हो नि, होइन र? तर त्यसको ठीक विपरीत भइरहेको छ।

      तपाईँलाई कस्तो लाग्छ? बाइबलमा भविष्यवाणी गरिएझैँ के मानिसहरूलाई प्राणघातक रोगहरू लागिरहेको छ?

      भूकम्प, अनिकाल र महामारीले लाखौँ मानिसलाई सताइरहेको छ। अरू लाखौँ मानिसले भने मानिसहरूकै हातबाट दुःख भोगिरहेका छन्‌। तिनीहरूमध्ये धेरैजसोले त तिनीहरूलाई रक्षा गर्नुपर्ने व्यक्‍तिकै हातबाट दुर्व्यवहार भोग्नुपरेको छ। यस विषयमा बाइबलको भविष्यवाणी विचार गर्नुहोस्‌।

      [फुटनोट]

      a मारबर्ग भाइरस इबोला भाइरससित सम्बन्धित छ। मारबर्ग भाइरसले गर्दा ज्वरो आउँछ र रक्‍तस्राव हुने गर्छ।

      [पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

      “कसैलाई सिंह वा त्यस्तै केहीले खानु डरलाग्दो कुरा हो। तर त्यो घटनाजत्तिकै डरलाग्दो कुरा भित्रभित्रै कुनै जीवाणुले खानु र जताततै त्यस्तो भइरहेको देख्नु हो।”—महामारी रोकथाम विशेषज्ञ माइकल ओस्टरहोम

      [पृष्ठ ६-मा भएको चित्रको स्रोत]

      © William Daniels/Panos Pictures

  • भविष्यवाणी ४. स्वाभाविक स्नेह नभएका मानिसहरू
    प्रहरीधरहरा: अहिले पूरा भइरहेको छ वटा बाइबल भविष्यवाणीहरू
    • भविष्यवाणी ४. स्वाभाविक स्नेह नभएका मानिसहरू

      “मानिसहरू . . . स्वाभाविक स्नेह नभएका . . . हुनेछन्‌।”—२ तिमोथि ३:१-५.

      ● क्रिस उत्तरी वेल्समा घरेलु हिंसाको सिकार भएकाहरूलाई मदत गर्ने समूहसित आबद्ध छिन्‌। क्रिस भन्छिन्‌, “एक चोटि हामीकहाँ एउटी महिला आएकी थिइन्‌। उनलाई मैले चिन्‍नै सकिनँ किनभने उनले असाध्यै पिटाइ खाएकीले चिन्‍नै नसकिने भएकी थिइन्‌। अरू कतिपयले भने गहिरो भावनात्मक चोट सहेका हुन्छन्‌ र उनीहरू भुईँमा हेरेको हेऱ्‍यै गर्छन्‌। हामीसित आँखा जुधाउनै सक्दैनन्‌।”

      तथ्याङ्‌कले के देखाउँछ? एउटा अफ्रिकी मुलुकमा हरेक ३ जना महिलामध्ये १ जना बाल यौन दुर्व्यवहारको सिकार भएकी हुन्छिन्‌। त्यही देशमा गरिएको एउटा सर्वेक्षणअनुसार एक तिहाइभन्दा धेरै पुरुषलाई आफ्नी पत्नीलाई पिट्‌नु ठीकै हो जस्तो लाग्थ्यो। तर घरेलु हिंसाको सिकार हुनेहरू महिलाहरू मात्र होइनन्‌। उदाहरणको लागि, क्यानाडामा १० जना पुरुषमध्ये झन्डै ३ जनाले आफ्नो जोडीबाट कुटाइ खाएका हुन्छन्‌ वा अन्य दुर्व्यवहारको सिकार भएका हुन्छन्‌।

      धेरैले कस्तो असहमति जनाउँछन्‌? पहिला पनि घरेलु हिंसा हुने गर्थ्यो। अहिले आएर त्यसले धेरै मानिसको ध्यान खिचेको मात्र हो।

      के त्यस्तो असहमति तार्किक छ? हालैका वर्षहरूमा घरेलु हिंसाको सचेतना एकदमै बढेको छ। तर के यस्तो सचेतना बढ्‌दैमा घरेलु हिंसाका घटनाहरू कम भएका छन्‌? अहँ, त्यसो त पटक्कै भएको छैन। अहिले स्वाभाविक स्नेह नभएका मानिसहरूको सङ्‌ख्या झन्‌झन्‌ बढिरहेको छ।

      तपाईँलाई कस्तो लाग्छ? के २ तिमोथि ३:१-५ को भविष्यवाणी पूरा भइरहेको छ? के धेरै मानिसमा आफ्नो परिवारका सदस्यहरूप्रति स्वाभाविक स्नेहको कमी देखिन्छ?

      अहिले पूरा भइरहेको पाँचौँ भविष्यवाणी हाम्रो घर अर्थात्‌ पृथ्वीसित सम्बन्धित छ। यसबारे बाइबल के भन्छ, विचार गर्नुहोस्‌।

      [पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]

      “भनिन्छ, समाजमा हुने अपराधहरूमध्ये एकदमै कम मात्र रिपोर्ट गरिने अपराध घरेलु हिंसा पनि हो। औसतमा हेर्ने हो भने दुर्व्यवहारको सिकार भएकी महिलाले प्रहरीलाई खबर गर्नुअघिसम्म उनी ३५ चोटि आफ्नो जोडीबाट दुर्व्यवहारको सिकार भइसकेकी हुन्छिन्‌।”—वेल्सको घरेलु दुर्व्यवहारको हेल्पलाइनकी प्रवक्‍ता

  • भविष्यवाणी ५. पृथ्वीलाई बिगार्ने काम
    प्रहरीधरहरा: अहिले पूरा भइरहेको छ वटा बाइबल भविष्यवाणीहरू
    • भविष्यवाणी ५. पृथ्वीलाई बिगार्ने काम

      “[ईश्‍वरले] पृथ्वीका विनाशकारीहरूलाई विनाश [गर्नुहुनेछ]।”—प्रकाश ११:१८.

      ● नाइजेरियाको केपरमा बस्ने पिरि ताडी जम्मा गर्ने काम गर्छन्‌। नाइजर नदीको मुहानमा भारी मात्रामा तेल चुहावट भएको कारण तिनको व्यापार-व्यवसाय ठप्प भयो। तिनी भन्छन्‌, “यसले गर्दा हाम्रा माछाहरू मरे, हाम्रो छाला बिग्रियो र हाम्रो खोलानाला प्रदूषित भयो। हाम्रो जीविकोपार्जन गर्न केही बाँकी रहेन।”

      तथ्याङ्‌कले के देखाउँछ? केही विज्ञअनुसार प्रत्येक वर्ष मानिसहरूले ६५ लाख टन फोहोर समुद्रमा फाल्ने गर्छन्‌। त्यसमध्ये लगभग ५० प्रतिशत फोहोर प्लास्टिक हो, जुन कुहिन सयौँ वर्ष लाग्छ। यसरी मानिसहरूले पृथ्वीलाई प्रदूषित बनाइरहेका छन्‌। यति मात्र होइन, उनीहरूले प्राकृतिक स्रोतसाधनको जथाभाबी प्रयोग गरिरहेका छन्‌। अध्ययनहरूले देखाएअनुसार मानिसहरूले एक वर्षमा प्रयोग गरेको प्राकृतिक स्रोतसाधन पृथ्वीलाई पुनःउत्पादन गर्न १ वर्ष ५ महिना लाग्छ। अस्ट्रेलियाको सिड्‌नी मर्निङ हेरल्ड अखबारले यस्तो रिपोर्ट गऱ्‍यो: “यदि जनसङ्‌ख्याको वृद्धि र प्राकृतिक स्रोतसाधनको प्रयोग अहिलेकै गतिमा हुँदै गयो भने सन्‌ २०३५ सम्ममा हामीलाई दुइटा पृथ्वी चाहिनेछ।”

      धेरैले कस्तो असहमति जनाउँछन्‌? मानिसहरू जस्तोसुकै समस्याको समाधान गर्न जुक्‍ति निकाल्न सक्छन्‌। त्यसैले हामी अहिले भइरहेका समस्याहरू समाधान गरेर पृथ्वीलाई जोगाउन सक्छौँ।

      के त्यस्तो असहमति तार्किक छ? धेरै व्यक्‍ति र समूह वातावरण संरक्षण गर्न सचेतना जगाउने काममा दिनरात नभनी लागिरहेका छन्‌। तर पनि पृथ्वीमा जताततै प्रदूषण बढिरहेको छ।

      तपाईँलाई कस्तो लाग्छ? के तपाईँलाई ईश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसारै यस पृथ्वीलाई जोगाउन उहाँले हस्तक्षेप गर्नुपर्छ जस्तो लाग्छ?

      भर्खरै विचार गरिएका पाँच भविष्यवाणीको साथै अन्तको दिनमा हुने एउटा राम्रो कामबारे पनि बाइबलमा भविष्यवाणी गरिएको छ। अब छैटौँ भविष्यवाणी विचार गरौँ।

      [पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]

      “मेरो सुन्दर ठाउँ अहिले आएर विषाक्‍त फोहोरको डङ्‌गुरजस्तै भएको छ।”—इरिन टाम्बर, सन्‌ २०१० मा मेक्सिकोको खाडीमा तेल चुहावटले पारेको असरले गर्दा चिन्तित अमेरिकाको गल्फ कोस्टकी बासिन्दा।

      [पृष्ठ ८-मा भएको पेटी]

      के परमेश्‍वरलाई दोष दिन मिल्छ?

      आज हामीले देखिरहेको नराम्रो अवस्थाबारे बाइबलमा पहिल्यै भविष्यवाणी गरिएको थियो। त्यसोभए के यस्तो नराम्रो अवस्थाको दोष परमेश्‍वरलाई दिन मिल्छ? के परमेश्‍वरले गर्दा हामीले दुःखकष्ट भोग्नुपरेको हो? तपाईँले यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ११ मा पाउन सक्नुहुन्छ।

      [पृष्ठ ८-मा भएको चित्रको स्रोत]

      U.S. Coast Guard photo

  • भविष्यवाणी ६. विश्‍वव्यापी प्रचारकार्य
    प्रहरीधरहरा: अहिले पूरा भइरहेको छ वटा बाइबल भविष्यवाणीहरू
    • भविष्यवाणी ६. विश्‍वव्यापी प्रचारकार्य

      “राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।”—मत्ति २४:१४.

      ● भायाटिया नाम गरेकी महिला प्रशान्त महासागरमा पर्ने टुवामोटु प्रायद्वीपको एउटा दुर्गम टापुमा बस्छिन्‌। टुवामोटुमा झन्डै ८० वटा स-साना टापु छन्‌ र यी टापुहरू फैलिएको इलाका ८ लाख २ हजार ९ सय वर्ग किलोमिटरभन्दा ठूलो छ। यहाँको जनसङ्‌ख्या लगभग १६ हजार मात्र छ। तैपनि भायाटिया र तिनका छिमेकीहरूलाई यहोवाका साक्षीहरूले भेटिसकेका छन्‌। किन? किनभने यहोवाका साक्षीहरू मानिसहरू जहाँसुकै बसे तापनि तिनीहरूलाई राज्यको सुसमाचार सुनाउन चाहन्छन्‌।

      तथ्याङ्‌कले के देखाउँछ? राज्यको सन्देश फैलिएर पृथ्वीको कुनाकुनासम्म पुगेको छ। सन्‌ २०१० मा मात्र यहोवाका साक्षीहरूले २३६ मुलुक र टापुमा यो सुसमाचार सुनाउन १ अरब ६० करोडभन्दा धेरै घण्टा बिताए। यो औसतमा हरेक यहोवाको साक्षीले दैनिक आधा घण्टा प्रचार गर्नु बराबर हो। बितेको दशकमा तिनीहरूले २० अरबभन्दा धेरै बाइबलआधारित साहित्य प्रकाशित गर्नुका साथै वितरण गरे।

      धेरैले कस्तो असहमति जनाउँछन्‌? बाइबलको सन्देश हजारौँ वर्षदेखि प्रचार भइरहेको छ।

      के त्यस्तो असहमति तार्किक छ? हुनत हो, बाइबलको सन्देश धेरैले प्रचार गरेका छन्‌। तर तिनीहरूमध्ये धेरैले छोटो समयको लागि र सानो इलाकामा मात्र प्रचार गरेका छन्‌। अर्कोतर्फ, यहोवाका साक्षीहरूले व्यवस्थित तरिकामा विश्‍वभरि करोडौँ मानिसलाई प्रचार गर्दै छन्‌। मानव इतिहास केलाउने हो भने तिनीहरूले केही शक्‍तिशाली र निरङ्‌कुश शासक वा सरकारबाट घोर विरोधको सामना गर्नुपरे तापनि प्रचार गर्न छोडेका छैनन्‌।a (मर्कुस १३:१३) साथै यहोवाका साक्षीहरूले प्रचार गरेबापत तलब पाउँदैनन्‌। बरु तिनीहरू राजीखुसीले आफ्नो समय दिन्छन्‌ र प्रकाशनहरू पनि निश्‍शुल्क वितरण गर्छन्‌। तिनीहरूको काम पूर्णतया स्वैच्छिक अनुदानद्वारा सञ्चालन हुन्छ।

      तपाईँलाई कस्तो लाग्छ? के ‘राज्यको सुसमाचार’ विश्‍वभरि प्रचार भइरहेको छ? के यो भविष्यवाणीको पूर्तिले भविष्य उज्ज्वल छ भनेर सङ्‌केत गर्छ?

      [फुटनोट]

      a थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा अङ्‌ग्रेजीमा प्रकाशित “परीक्षाहरू आइपर्दा विश्‍वासी,” “बैजनी त्रिकोण” र “यहोवाका साक्षीहरू दृढ भई नाजी आक्रमणको सामना गर्छन्‌” भिडियोहरू हेर्नुहोस्‌।

      [पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

      “यहोवाले अनुमति दिनुभएसम्म हामी जोडतोडले राज्यको सुसमाचार प्रचार गरिरहनेछौँ र मानिसहरूसम्म पुग्न कुनै कसर बाँकी राख्नेछैनौँ।”—यहोवाका साक्षीहरूको वार्षिक पुस्तक २०१० (अङ्‌ग्रेजी)

  • उज्ज्वल भविष्य नजिकै छ!
    प्रहरीधरहरा: अहिले पूरा भइरहेको छ वटा बाइबल भविष्यवाणीहरू
    • उज्ज्वल भविष्य नजिकै छ!

      “अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ . . . बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌ अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌।”—भजन ३७:१०, ११.

      के तपाईँ यो भविष्यवाणी पूरा भएको हेर्न चाहनुहुन्छ? पक्कै चाहनुहुन्छ होला। यो भविष्यवाणी चाँडै पूरा हुनेछ भनेर विश्‍वास गर्न सकिने केही ठोस कारण छन्‌।

      यसअघिका लेखहरूमा हामीले बाइबलमा गरिएका केही भविष्यवाणीहरू छलफल गऱ्‍यौँ अनि ती भविष्यवाणीहरूले हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ भनेर स्पष्ट प्रमाण दिन्छ। (२ तिमोथि ३:१-५) ईश्‍वरले बाइबलका लेखकहरूलाई ती घटनाहरूबारे भविष्यवाणी गर्न प्रेरणा दिनुभयो ताकि हामीले आशा पाऔँ। (रोमी १५:४) ती भविष्यवाणीहरूले अहिले पूरा भइरहेको कुराले हामीले भोगिरहेका समस्याहरू चाँडै समाधान हुनेछ भनेर देखाउँछ।

      अन्तको दिन सिद्धिएपछि के हुनेछ? परमेश्‍वरको राज्यले सम्पूर्ण मानिसजातिमाथि शासन गर्नेछ। (मत्ति ६:९) त्यतिबेला पृथ्वीमा जीवन कस्तो हुनेछ भन्‍नेबारे बाइबलले बताउने यी कुराहरूमा ध्यान दिनुहोस्‌:

      ● भोकमरी हुनेछैन। “पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ; पहाडका टाकुराहरूमा समेत अन्‍नको कुनै कमी हुनेछैन।”—भजन ७२:१६.

      ● रोगबिमार हुनेछैन। “कुनै बासिन्दाले यसो भन्‍नेछैन: ‘म बिरामी छु।’”—यसैया ३३:२४.

      ● पृथ्वीलाई सुन्दर बगैँचा बनाइनेछ। “उजाड र सुक्खा भूमिले हर्ष मनाउनेछ। मरुभूमि रमाउनेछ र केशरको फूलझैँ फक्रनेछ।”—यसैया ३५:१.

      चाँडै पूरा हुने बाइबलका मन छुने भविष्यवाणीहरूमध्ये यी त केही मात्र हुन्‌। यहोवाका साक्षीहरू उज्ज्वल भविष्य नजिकै छ भन्‍ने कुरामा यत्तिको ढुक्क हुन सक्नुको कारण तिनीहरूलाई सोध्नुभए कसो होला?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने