-
दाखबारीका दृष्टान्तहरूद्वारा पर्दाफास हुन्छसबैभन्दा महान् पुरुष
-
-
अध्याय १०६
दाखबारीका दृष्टान्तहरूद्वारा पर्दाफास हुन्छ
येशू मन्दिरमा हुनुहुन्छ। कुन अख्तियारले उहाँ ती कामहरू गर्दै हुनुहुन्छ भनी जान्न खोज्ने धर्म-गुरुहरूलाई येशूले भर्खरै अकमक्क पारिदिनुभएको छ। तिनीहरू अकमक्क परिरहेकै बेला येशू सोध्नुहुन्छ: “तिमीहरूलाई कस्तो लाग्छ?” त्यसपछि तिनीहरू कुन प्रकारका मानिसहरू हुन् भनी उहाँले एउटा दृष्टान्तद्वारा तिनीहरूलाई देखाउनुहुन्छ।
येशू सोध्नुहुन्छ: “एक जना मानिसका दुई छोरा थिए। जेठोकहाँ गएर तिनले यसो भने, ‘बाबु, जाऊ गएर आज दाखबारीमा काम गर।’ उसले ‘हवस् बुबा,’ भन्यो तर ऊ गएन। अनि कान्छोकहाँ गएर तिनले त्यसै भन्दा उसले ‘नाइँ, म जान्नँ’ भन्यो तर पछि ऊ चुकचुकायो र दाखबारीमा गयो। यी दुईमध्ये कसले आफ्नो बुबाको इच्छा पूरा गऱ्यो?”
उहाँका विरोधीहरूले जवाफ दिन्छन्: “कान्छोचाहिंले।”
त्यसकारण येशू व्याख्या गर्नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरूभन्दा अगाडि परमेश्वरको राज्यमा पस्नेछन्।” कर उठाउनेहरू र वेश्याहरूले यथार्थमा सुरुमा परमेश्वरको सेवा गर्न इन्कार गरेका थिए। तर त्यो कान्छो छोरोजस्तै तिनीहरूले पश्चात्ताप गरे र परमेश्वरको सेवा गर्न थाले। त्यसको विपरीत, जेठो छोरोजस्तै ती धर्म-गुरुहरूले परमेश्वरको सेवा गर्छौं त भने, तर येशू भन्नुहुन्छ: “[बप्तिस्मा गराउने] यूहन्ना आए र तिमीहरूलाई सत्यको बाटो देखाए, तैपनि तिमीहरूले ऊमाथि विश्वास गरेनौ। तर कर उठाउनेहरू र वेश्याहरूले ऊमाथि विश्वास गरे र तिमीहरूले यो देख्दादेख्दै पनि पछि चुकचुकाउँदै ऊमाथि विश्वास गरेनौ।”
ती धर्म-गुरुहरूले परमेश्वरको सेवा गर्नमा हेलचेक्य्राइँ मात्र गरेका होइनन् तर तिनीहरू वास्तवमा खराब, दुष्ट मानिसहरू हुन् भनी येशू अब देखाउनुहुन्छ। येशू वर्णन गर्नुहुन्छ: “एक जना घरमालिक थियो, जसले दाखबारी लगाएर त्यसको वरिपरि बार हाल्यो। त्यसपछि उसले दाख पेल्ने कोल खन्यो र एउटा मचान खडा गऱ्यो। अनि मोहीहरूलाई जिम्मा लगाएर आफूचाहिं विदेशतिर लाग्यो। जब फल टिप्ने बेला भयो, तब उसले आफ्ना दासहरूलाई कुत उठाउन मोहीहरूकहाँ पठायो। तर मोहीहरूले उसका दासहरूलाई समातेर एक जनालाई कुटे, अर्कोलाई मारे अनि अर्कोलाई चाहिं ढुङ्गाले हाने। फेरि उसले पहिलेको भन्दा धेरै दास पठायो तर तिनीहरूले उनीहरूलाई पनि त्यसै गरे।”
“दासहरू” भनेका भविष्यवक्ताहरू हुन् जसलाई “घरमालिक” यहोवा परमेश्वरले आफ्नो “दाखबारी”-का “मोहीहरूकहाँ” पठाउनुभयो। यी मोहीहरू भनेको इस्राएल राष्ट्रका प्रमुख प्रतिनिधिहरू हुन्। बाइबलमा यस राष्ट्रलाई परमेश्वरको “दाखबारी” भनी इङ्गित गरिएको छ।
ती “मोहीहरूले” “दासहरूलाई” दुर्व्यवहार गर्ने र तिनीहरूलाई मार्ने भएकाले येशू व्याख्या गर्नुहुन्छ: “अन्तमा, ‘मेरो छोरालाई त आदर गर्नेछन्’ भन्ने सोच्दै उसले आफ्नो छोरालाई पठायो। तर छोराचाहिं आएको देखेर ती मोहीहरूले आपसमा यसो भन्न थाले, ‘यो त हकवाला हो, त्यसैले आओ, यसलाई मारेर यसको सम्पत्ति हात पारौं।’ तिनीहरूले उसलाई समाते र दाखबारीबाहिर लगेर मारे।”
अनि धर्म-गुरुहरूलाई सम्बोधन गर्दै येशू सोध्नुहुन्छ: “अब, दाखबारीको मालिक आएपछि उसले ती मोहीहरूलाई के गर्ला?”
धर्म-गुरुहरूले जवाफ दिन्छन्: “तिनीहरू दुष्ट भएकोले उसले रत्तीभर दया नदेखाई तिनीहरूलाई नाश गर्नेछ र आफ्नो दाखबारी त्यस्ता मोहीहरूलाई दिनेछ जसले समयमै कुत बुझाउँछन्।”
यसप्रकार तिनीहरूले अनजानमा आफैले आफूमाथि इन्साफको घोषणा गर्छन् किनकि इस्राएल राष्ट्र अर्थात् यहोवाको “दाखबारी”-का इस्राएली “मोहीहरू”-मा तिनीहरू पनि समावेश छन्। यसप्रकारका मोहीहरूबाट यहोवाले आशा राख्नुभएको फल तिनीहरूले उहाँको छोरा साँचो मसीहमाथि विश्वास राखून् भन्ने हो। तिनीहरूले यसप्रकारको फल दिन नसकेकोले येशू तिनीहरूलाई चेतावनी दिनहुन्छ: “के तिमीहरूले धर्मशास्त्रमा [भजन ११८:२२, २३ मा] कहिल्यै पढेका छैनौ, ‘जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ। यहोवाले त्यसो गर्नुभएको हो र यो हाम्रो नजरमा अति अचम्मको छ’? त्यसैले म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यमा पस्ने मौका तिमीहरूको हातबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले त्यस राज्यको लागि सुहाउँदो फल फलाउँछ। साथै, जो यो ढुङ्गोमाथि बजारिन्छ, त्यो चकनाचूर हुनेछ र जसमाथि यो ढुङ्गो खस्छ, त्यो धूलोपीठो हुनेछ।”
येशू तिनीहरूकै बारेमा बोलिरहनुभएको छ भनी शास्त्री र मुख्य पुजारीहरू अब बुझ्छन् र उहाँलाई अर्थात् जायज “हकवाला”-लाई मार्न चाहन्छन्। यसकारण परमेश्वरको राज्यमा शासक हुने विशेषाधिकार राष्ट्रको रूपमा तिनीहरूबाट खोसिनेछ र उपयुक्त फल उत्पादन गर्न सक्ने ‘दाखबारीका मोहीहरूको’ एउटा नयाँ राष्ट्र सृजना गरिनेछ।
येशू एक जना भविष्यवक्ता हुनुहुन्छ भनी स्वीकार्ने भीडको डरले गर्दा धर्म-गुरुहरू त्यस अवसरमा येशूलाई मार्ने प्रयास गर्दैनन्। मत्ती २१:२८-४६; मर्कूस १२:१-१२; लूका २०:९-१९; यशैया ५:१-७.
▪ येशूले बताउनुभएको पहिलो दृष्टान्तका दुई छोराहरूले कसलाई प्रतिनिधित्व गर्छन्?
▪ दोस्रो दृष्टान्तमा “घरमालिक,” “दाखबारी,” “मोहीहरू,” “दासहरू,” र “हकवाला”-ले क-कसलाई प्रतिनिधित्व गर्छन्?
▪ ‘दाखबारीका मोहीहरूलाई’ के हुनेछ र तिनीहरूको ठाउँ कसले लिनेछन्?
-
-
विवाह भोजको दृष्टान्तसबैभन्दा महान् पुरुष
-
-
अध्याय १०७
विवाह भोजको दृष्टान्त
येशूले दुई वटा दृष्टान्त बताएर शास्त्री र मुख्य पुजारीहरूको पर्दाफास गर्नुभएको छ। अतः तिनीहरू उहाँलाई मार्न चाहन्छन्। तर येशूले तिनीहरूलाई भन्ने कुरा अझ बाँकी नै छ। उहाँ अर्को दृष्टान्त बताउँदै तिनीहरूलाई भन्नुहुन्छ:
“स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे। अनि तिनले विवाह-भोजका निम्तालुहरूलाई बोलाउन आफ्ना दासहरू पठाए तर तिनीहरू आउन मानेनन्।”
यहोवा परमेश्वर ती राजा हुनुहुन्छ जसले आफ्ना छोरा, येशू ख्रीष्टको निम्ति विवाह-भोज तयार पार्नुहुन्छ। अन्तमा दुलही वर्गका १,४४,००० अभिषिक्त चेलाहरू स्वर्गमा येशूसँग सम्मिलित हुनेछन्। राजाका प्रजाहरू इस्राएलका मानिसहरू हुन् जोसँग ईसापूर्व १५१३ मा व्यवस्थाको करार बाँधिएको थियो र त्यसपछि तिनीहरूले “पूजाहारीहरूको एक राज्य” हुन पाउने सुअवसर पाए। त्यस अवसरमा तिनीहरूलाई विवाह-भोजको निम्तो प्रथम पटक दिइयो।
तथापि इस्वी संवत् २९ को शरद् ऋतुदेखि अथवा येशू र उहाँका चेलाहरूले [राजाका दासहरूले] राज्य-प्रचारको काम सुरु गरेदेखि मात्र निम्तो पाएकाहरूलाई प्रथम पटक बोलाइयो। तर इस्वी संवत् २९ देखि इस्वी संवत् ३३ सम्ममा दासहरूद्वारा यसप्रकार बोलाइएका जन्मजात इस्राएलीहरूले आउने इच्छा गरेनन्। त्यसकारण परमेश्वरले तिनीहरूलाई अर्को एउटा मौका दिनुभयो भन्दै येशू बयान गर्नुहुन्छ:
“तिनले फेरि यसो भनेर अरू दासहरू पठाए: ‘निम्तालुहरूलाई यसो भन: “हेर, मैले दिवा-भोज तयार पारेको छु, मेरा गोरु र मोटा-मोटा पशुहरू काट्न लगाइसकेको छु अनि सबै थोक तयार भइसकेका छन्। विवाह-भोजमा आउनुहोस्।” ’ ” निम्तो पाएकाहरूका निम्ति यो दोस्रो र अन्तिम बोलावट इस्वी संवत् ३३ को पेन्तिकोसमा सुरु भयो। त्यस बेला येशूका चेलाहरूमाथि पवित्र शक्ति खनाइएको थियो। यो बोलावट इस्वी संवत् ३६ सम्म कायम रह्यो।
तथापि इस्राएलीहरूमध्येका बहुमतले यस बोलावटको पनि हेलचेक्य्राइँ गरे। येशू भन्नुहुन्छ: “तर तिनीहरूले वास्तै गरेनन्; एक जना आफ्नो खेततिर गयो, अर्कोचाहिं व्यापारतिर लाग्यो अनि बाँकी अरूले तिनका दासहरूलाई पक्रेर दुर्व्यवहार गरे र तिनीहरूलाई मारे।” येशू अगाडि भन्नुहुन्छ: “तब राजा क्रुद्ध भए अनि आफ्नो सेना पठाएर ती हत्याराहरूलाई नाश गरे र तिनीहरूको सहर जलाइदिए।” यो घटना इस्वी संवत् ७० मा हुन गयो जब रोमीहरूले यरूशलेमलाई ध्वस्त पारिदिए र ती हत्याराहरू मारिए।
यसै बीच के भयो भनी येशू व्याख्या गर्नुहुन्छ: “त्यसपछि तिनले आफ्ना दासहरूलाई भने: ‘विवाह-भोज त तयार छ तर निम्तालुहरू योग्य भएनन्। त्यसैले सहरका मूल बाटोहरूमा जाओ र ज-जसलाई भेट्टाउँछौ, सबैलाई विवाह-भोजको निम्तो देओ।’ ” दासहरूले त्यसै गरे र “विवाह-घर पाहुनाहरूले भरियो।”
सहरबाहिरका बाटोहरूबाट बोलाएर पाहुनाहरू जम्मा गर्ने काम इस्वी संवत् ३६ देखि सुरु भयो। खतना नभएका गैर-यहूदीहरूबाट जम्मा गरिएकाहरूमा रोमी अधिकारी कर्नीलियस र तिनका परिवार पहिला थिए। सुरुमा बोलावट अस्वीकार गर्नेहरूको ठाउँ लिन यी गैर-यहूदीहरूलाई जम्मा गर्ने काम २१ औं शताब्दीसम्म चलिरहेको छ।
बीसौं शताब्दीमै विवाह-समारोहको कोठा पाहुनाहरूले भरिन्छ। त्यसपछि के हुन्छ, येशू यसो भन्दै वर्णन गर्नुहुन्छ: “जब राजा पाहुनाहरूलाई हेर्न आए, तब तिनले एक जना मानिसलाई विवाहमा जाँदा लगाउनुपर्ने पोसाक नलगाई आएको देखे। त्यसैले तिनले उसलाई सोधे: ‘मित्र, विवाहमा लगाउनुपर्ने पोसाक नलगाई भित्र छिर्ने आँट तिमीले कसरी गऱ्यौ?’ उसले जवाफै दिन सकेन। त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने: ‘त्यसको हातखुट्टा बाँधेर त्यसलाई बाहिर अन्धकारमा फालिदेओ, जहाँ रोदन अनि वेदनाको चीत्कार हुनेछ।’ ”
विवाहको पोसाक नलगाई आउने पाहुनाले चर्चजगत्का नकली ख्रीष्टियनहरूको प्रतिनिधित्व गर्छ। परमेश्वरले तिनीहरूलाई कहिल्यै पनि प्रतीकात्मक इस्राएली भनी स्वीकार्नुभएको छैन। परमेश्वरले तिनीहरूलाई कहिल्यै पनि राज्यको उत्तराधिकारीको रूपमा पवित्र शक्तिद्वारा अभिषेक गर्नुभएको छैन। त्यसकारण तिनीहरू बाहिर अन्धकारमा फालिनेछन् जहाँ तिनीहरू नाश हुनेछन्।
येशू यसो भन्दै आफ्नो दृष्टान्त टुङ्ग्याउनुहुन्छ: “किनकि निम्तालुहरू त धेरै छन् तर चुनिएकाहरू भने थोरै हुन्छन्।” हो, इस्राएल राष्ट्रबाट ख्रीष्टकी दुलही वर्गको सदस्य हुन धेरैलाई बोलाइएको थियो तर थोरै जन्मजात इस्राएलीहरू मात्र छानिए। स्वर्गीय इनाम पाउने १,४४,००० पाहुनाहरूमध्ये धेरैजसो गैर-यहूदीहरू नै हुनेछन्। मत्ती २२:१-१४; प्रस्थान १९:१-६; प्रकाश १४:१-३.
▪ सुरुमा विवाहको भोजमा निम्तो पाएकाहरू को हुन् र तिनीहरूलाई कहिले निम्तो दिइएको थियो?
▪ निम्तालुहरूले प्रथम बोलावट कहिले पाउँछन् र बोलाउने काममा प्रयोग गरिएका दासहरू को हुन्?
▪ दोस्रो बोलावट कहिलेसम्म कायम रहन्छ र त्यसपछि अरू कसलाई निम्तो दिइन्छ?
▪ विवाहको पोसाक नलगाउने मानिसले कसलाई इङ्गित गर्छ?
▪ बोलावट पाएका धेरै मानिसहरू को हुन् र छानिएका थोरैचाहिं को हुन्?
-
-
येशूलाई फसाउन तिनीहरू असफल हुन्छन्सबैभन्दा महान् पुरुष
-
-
अध्याय १०८
येशूलाई फसाउन तिनीहरू असफल हुन्छन्
येशू मन्दिरमा शिक्षा दिइरहनुभएको छ। भर्खरै तीन वटा दृष्टान्त दिएर आफ्ना धार्मिक दुस्मनहरूको दुष्टतालाई उदाङ्ग पारिदिनुभएकोले फरिसीहरू उहाँसित क्रोधित हुन्छन्। उहाँलाई गिरफ्तार गर्नका लागि कुनै आपत्तिजनक कुरा उहाँको मुखबाट निकालेर उहाँलाई फसाउने सल्लाह तिनीहरू गर्छन्। तिनीहरू एउटा षड्यन्त्र रच्छन् र उहाँलाई फसाउने कोसिस गर्न हेरोदवादीहरूसित आफ्ना चेलाहरू पठाउँछन्।
यिनीहरू भन्छन्: “गुरुज्यू, हामीलाई थाह छ, तपाईं सत्यवादी हुनुहुन्छ र परमेश्वरको मार्ग ठीकसित सिकाउनुहुन्छ अनि तपाईं कसैको बहकाउमा पर्नुहुन्न, किनकि तपाईं मानिसहरूको मुख हेरेर व्यवहार गर्नुहुन्न। त्यसकारण तपाईंलाई कस्तो लाग्छ, हामीलाई भन्नुहोस्: सम्राट्लाई कर तिर्नु उचित हो कि होइन?”
येशू तिनीहरूको चापलुसी कुरामा लाग्नु हुन्न। उहाँले ‘होइन, कर तिर्नु मनासिब वा उचित होइन’ भन्नुभयो भने तिनीहरूले उहाँमाथि रोमको विरुद्धमा राजद्रोह गरेको दोष लगाउनेछन् भनी उहाँलाई थाह छ। अनि ‘कर तिर्नुपर्छ’ भन्नुभयो भने रोमी दमनलाई मन नपराउने यहूदीहरूले उहाँलाई घृणा गर्नेछन्। त्यसकारण उहाँ जवाफ दिनुहुन्छ: “ए कपटीहरू, तिमीहरू किन मेरो परीक्षा गर्छौ? कर तिर्ने सिक्का मलाई देखाओ।”
तिनीहरूले उहाँकहाँ एक दिनारको सिक्का ल्याएपछि येशू सोध्नुहुन्छ: “यसमा कसको चित्र र नाम छ?”
“सम्राट्को” भनी तिनीहरू जवाफ दिन्छन्।
“जे-जे सम्राट्का हुन्, सम्राट्लाई र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।” येशूको यो गजबको जवाफ सुनेर तिनीहरू जिल्ल पर्छन् र उहाँलाई छाडेर आफ्नो बाटो लाग्छन्।
येशूका खिलाफमा फरिसीहरूले केही गर्न नसकेको देखेर पुनर्जीवनमा विश्वास नगर्ने सदुकीहरू उहाँकहाँ आएर सोध्छन्: “गुरुज्यू, ‘यदि कुनै मानिस निःसन्तान मऱ्यो भने उसको भाइले आफ्नो दाइकी पत्नीसित विवाह गरेर दाइको निम्ति सन्तान जन्माउनुपर्छ’ भनेर मोशाले भनेका छन्। हामीसँग सात जना दाजुभाइ थिए अनि जेठोले विवाह गऱ्यो र कुनै सन्तान नजन्माई मऱ्यो। त्यसैले भाइले दाइकी पत्नीसित विवाह गऱ्यो। यही क्रम माइलो, साइँलो हुँदै सातौं भाइसम्म चल्यो। अन्तमा त्यो स्त्री पनि मरी। त्यसोभए, तिनीहरू पुनर्जीवित हुँदा त्यो स्त्री ती सात जना दाजुभाइमध्ये कसकी पत्नी हुनेछे? किनकि त्यो सबैकी पत्नी भइसकेकी थिई।”
प्रत्युत्तरमा येशू जवाफ दिनुहुन्छ: “तिमीहरूले गलत बुझिरहेका छौ, किनकि तिमीहरूले न धर्मशास्त्र न त परमेश्वरको शक्तिलाई नै बुझेका छौ। किनकि मृत्युबाट ब्यूँतिएपछि न पुरुषले न स्त्रीले नै विवाह गर्नेछन् तर तिनीहरू स्वर्गदूतहरूजस्तै हुनेछन्। मरेकाहरू ब्यूँतने विषयमा के तिमीहरूले पोथ्रासम्बन्धी मोशाको विवरण पढेका छैनौ? परमेश्वरले तिनलाई यसो भन्नुभएको थियो: ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।’ उहाँ मरेकाहरूको होइन, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले साँच्चै गलत बुझिरहेका छौ।”
भीड फेरि येशूको जवाफ सुनेर छक्क पर्छ। कुनै-कुनै शास्त्रीहरूसमेत भन्छन्: “गुरुज्यू, तपाईंले सत्य कुरा भन्नुभयो।”
येशूले सदुकीहरूलाई चुप पार्नुभएको देखेपछि फरिसीहरू उहाँकहाँ एक जुट भएर आउँछन्। फेरि उहाँको परीक्षा गर्न तिनीहरूमध्येका एक जनाले सोध्छन्: “गुरुज्यू, व्यवस्थाको सबैभन्दा ठूलो आज्ञा कुन हो?”
येशू जवाफ दिनुहुन्छ: “पहिलो यही हो, ‘हे इस्राएल सुन, यहोवा हाम्रा परमेश्वर एक मात्र यहोवा हुनुहुन्छ। त्यसैले तिमीले यहोवा तिम्रा परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।’ दोस्रोचाहिं यो हो: ‘तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’ यीभन्दा ठूलो आज्ञा अर्को छैन।” वास्तवमा येशू थप्नुहुन्छ: “यिनै दुई आज्ञामा सारा व्यवस्था र भविष्यवक्ताहरूको शिक्षा अडिएको छ।”
शास्त्री समर्थन गर्दै भन्छन्: “गुरुज्यू, तपाईंले सत्य कुरा भन्नुभयो, ‘उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ, उहाँबाहेक अरू कोही छैन।’ उहाँलाई आफ्नो सारा मनले, सारा समझले र सारा बलले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु, सबै अग्निभेटी र बलिदानभन्दा धेरै उत्तम हो।”
शास्त्रीले बुद्धिमानीसाथ दिएको जवाफ सुनेर येशू उनलाई भन्नुहुन्छ: “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ।”
तीन दिनसम्म—आइतबार, सोमबार र मङ्गलबार—येशू मन्दिरमा शिक्षा दिनुहुन्छ। मानिसहरू खुसीसाथ उहाँको कुरा सुन्छन् तर धर्म-गुरुहरूचाहिं उहाँको हत्या गर्न चाहन्छन्। तर अहिलेसम्मको तिनीहरूका प्रयासहरू विफल भएका छन्। मत्ती २२:१५-४०; मर्कूस १२:१३-३४; लूका २०:२०-४०.
▪ येशूलाई फसाउन फरिसीहरू कस्तो षड्यन्त्र रच्छन् र यदि उहाँले हो अथवा होइन भनी जवाफ दिएमा परिणाम के हुने थियो?
▪ येशूलाई फसाउने सदुकीहरूको चाललाई उहाँले कसरी बेकाम पारिदिनुहुन्छ?
▪ येशूलाई परीक्षामा पार्न अर्को कस्तो प्रयास फरिसीहरू गर्छन् र परिणाम कस्तो हुन्छ?
▪ यरूशलेममा आफ्नो आखिरी सेवाको बेला येशूले मन्दिरमा कति दिन शिक्षा दिनुहुन्छ र त्यसले के-कस्तो प्रभाव पार्छ?
-
-
येशू आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छसबैभन्दा महान् पुरुष
-
-
अध्याय १०९
येशू आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छ
येशूले आफ्ना धार्मिक विरोधीहरूलाई बिलकुलै चुप पारिदिनुभएकोले तिनीहरू अब उप्रान्त केही सोध्न डराउँछन्। त्यसकारण तिनीहरूको अज्ञानतालाई उदाङ्ग पार्न उहाँ नै अघि सर्नुहुन्छ। उहाँ सोध्नुहुन्छ: “ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? ऊ कसको छोरा हो?”
फरिसीहरू जवाफ दिन्छन्: “दाऊदको।”
ख्रीष्ट अर्थात् मसीहका शारीरिक पूर्वज दाऊद हुन् भन्ने कुरा येशूले इन्कार नगरे तापनि उहाँ सोध्नुहुन्छ: “त्यसोभए, पवित्र शक्तिको प्रेरणा पाएर [भजन ११० मा] दाऊदले कसरी उनलाई ‘प्रभु’ भनेर सम्बोधन गर्दै यसो भन्न सके त, ‘यहोवाले मेरा प्रभुलाई भन्नुभयो: “मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि नराखुन्जेल मेरो दाहिने हाततिर बस” ’? यदि दाऊदले उनलाई ‘प्रभु’ भनी सम्बोधन गर्छन् भने ऊ कसरी तिनको छोरा हुन्छ?”
ख्रीष्ट अर्थात् परमेश्वरका अभिषिक्त जनको सही परिचय थाह नभएकोले फरिसीहरू चुप लाग्छन्। फरिसीहरूले विश्वास गरेअनुसार मसीह दाऊदका एक जना मानव सन्तान मात्र हुनुहुन्न। उहाँ स्वर्गमा पनि हुनुहुन्थ्यो र दाऊदभन्दा उच्च अथवा दाऊदका प्रभु हुनुहुन्थ्यो।
अब भीड र आफ्ना चेलाहरूतर्फ फर्कंदै शास्त्री र फरिसीहरूसँग होसियार रहन येशू भन्नुहुन्छ। तिनीहरूले “आफैलाई मोशाको व्यवस्थाको शिक्षक” बनाएर परमेश्वरको नियम सिकाउने भएकाले येशू भन्नुहुन्छ: “तिनीहरूले तिमीहरूलाई जे-जे भन्छन्, ती सबै गर।” तर उहाँ कुरा थप्दै भन्नुहुन्छ: “तर तिनीहरूले गरेजस्तै चाहिं नगर किनभने तिनीहरू भन्न त भन्छन् तर गर्दैनन्।”
तिनीहरू कपटीहरू हुन्। महिनौंअघि एक फरिसीको घरमा खाइरहनुभएको बेला जसरी उहाँले तिनीहरूको निन्दा गर्नुभएको थियो, सोही तरिकामा तिनीहरूको फेरि पनि निन्दा गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ: “तिनीहरू जे-जति गर्छन्, ती सब मानिसहरूले देखून् भनेर गर्छन्।” अनि उदाहरणहरू प्रस्तुत गर्दै उहाँ यसो भन्नुहुन्छ:
“तिनीहरू आफ्ना जन्तर ठूलठूला बनाउँछन्।” निधारमा वा पाखुरामा बाँधिने यी बट्टाहरू स-साना हुन्छन् र तिनीहरूमा व्यवस्थाको चार भाग लेखिएको हुन्छ: प्रस्थान १३:१-१०, ११-१६; र व्यवस्था ६:४-९; ११:१३-२१। तर फरिसीहरूले ती बट्टाहरूको आकार बढाएर आफू व्यवस्थाका लागि अति नै जोसिलो भएको भान पार्न चाहन्छन्।
येशू अगाडि भन्नुहुन्छ, तिनीहरू “आफ्ना लुगाको झुम्का लामा-लामा पार्छन्।” गन्ती १५:३८-४० मा इस्राएलीहरूलाई तिनीहरूको लुगामा झुम्का बनाउनू भन्ने आदेश दिइएको थियो तर फरिसीहरूले आफ्नो लुगाको झुम्का अरूहरूको भन्दा लामो बनाउँछन्। प्रत्येक कुरा देखावटी मात्र हुन्छ! येशू भन्नुहुन्छ, तिनीहरू “मुख्य-मुख्य आसन खोज्छन्।”
दुःखको कुरा, उहाँका चेलाहरूमा पनि ठूलो हुने चाहना छ। त्यसकारण उहाँ तिनीहरूलाई सल्लाह दिनुहुन्छ: “तर तिमीहरू भने आफूलाई रब्बी भन्न नलगाओ, किनकि तिमीहरूको गुरु एकै जना हुनुहुन्छ र तिमीहरूचाहिं सबै दाजुभाइ हौ। साथै, तिमीहरू पृथ्वीमा कसैलाई पिता नभन, किनकि तिमीहरूका पिता एकै जना हुनुहुन्छ, जो स्वर्गमा बस्नुहुन्छ। न त कसैले तिमीहरूलाई ‘नेता’ भनोस्, किनकि तिमीहरूका नेता एकै जना हुनुहुन्छ, जो ख्रीष्ट हुनुहुन्छ।” सबैभन्दा ठूलो हुने इच्छा चेलाहरूले छाड्नुपर्छ! येशू सावधान गराउनुहुन्छ, “तिमीहरूमाझ जो सबैभन्दा ठूलो हो, ऊ तिमीहरूको सेवक बनोस्।”
त्यसपछि शास्त्री र फरिसीहरूलाई धिक्कार्दै बारम्बार तिनीहरूलाई कपटी भन्नुहुन्छ। उहाँ भन्नुहुन्छ, तिनीहरू “मानिसहरू नपसून् भनेर स्वर्गको राज्यको ढोका बन्द” गरिदिन्छन् र “विधवाहरूको घर हडप्ने र लामा-लामा देखावटी प्रार्थना गर्ने” गर्छन्।
येशू भन्नुहुन्छ, “धिक्कार छ तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो!” तिनीहरूको पक्षपातपूर्ण व्यवहारबाट स्पष्ट देखिने परमेश्वरको सेवासित सम्बन्धित कमजोरीको उहाँ भर्त्सना गर्नुहुन्छ। उदाहरणका लागि तिनीहरू भन्छन्, “यदि कसैले मन्दिरको कसम खान्छ भने त्यो केही होइन तर कसैले मन्दिरको सुनको कसम खान्छ भने उसले त्यो पूरा गर्नै पर्छ।” परमेश्वरको उपासनासम्बन्धी मूल्यलाई महत्त्व नदिई मन्दिरको सुनलाई बढी महत्त्व दिएर तिनीहरू आफ्नो नैतिक अन्धोपन जाहेर गर्छन्।
अनि पहिले गरेझैं येशूले फेरि ती फरिसीहरूको निन्दा गर्नुहुन्छ किनभने तिनीहरूले महत्त्वहीन जडीबुटीको दशांश दिनमा विशेष ध्यान दिएर “न्याय, कृपा र विश्वासीपन जस्ता व्यवस्थाका गहकिला कुराहरूलाई चाहिं” बेवास्ता गरेका छन्।
येशू फरिसीहरूलाई ‘भुसुना चाल्ने, तर उँटलाई चाहिं निलिहाल्ने अन्धा अगुवाहरू’ भन्नुहुन्छ! तिनीहरू मद्यबाट भुसुनासमेत छानेर निकाल्छन्। भुसुना कीरा हो भनेर मात्र तिनीहरूले त्यसो गरेका होइनन् तर भुसुना व्यवस्थाअनुसार अशुद्ध हो भनेर गरेका हुन्। तापनि तिनीहरूले व्यवस्थाका गहकिला कुराहरूको बेवास्ता गर्नु व्यवस्थाअनुसार अशुद्ध ठानिएको उँटलाई निलेकै समान हो। मत्ती २२:४१–२३:२४; मर्कूस १२:३५-४०; लूका २०:४१-४७; लेवी ११:४, २१-२४.
▪ दाऊदले भजन ११० मा भनेका कुराहरूबारे येशूले फरिसीहरूलाई प्रश्न गर्दा तिनीहरू किन चुप लागि बस्छन्?
▪ फरिसीहरू जन्तर र आफ्ना लुगाका झुम्काहरूलाई किन ठूलो पार्छन्?
▪ येशू चेलाहरूलाई के सल्लाह दिनुहुन्छ?
▪ फरिसीहरू मनमानी ढङ्गले कस्तो पक्षपात गर्छन् र गहकिला कुराहरूलाई महत्त्व नदिएकोमा येशूले तिनीहरूको कसरी निन्दा गर्नुहुन्छ?
-