प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ९/१५ पृ. २६-२९
  • “सेप्टुआजिन्ट” विगत अनि वर्तमान दुवैका लागि उपयोगी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सेप्टुआजिन्ट” विगत अनि वर्तमान दुवैका लागि उपयोगी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • युनानीभाषी यहूदीहरूको लागि तयार पारिएको
  • प्रथम शताब्दीमा उपयोगी
  • वर्तमान समयमा उपयोगी
  • विश्‍व परिवर्तन गर्ने बाइबल अनुवाद
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • बाइबल किन यत्ति थरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • कुरा गर्न रुचाउनुहुने परमेश्‍वर—यहोवा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • बाइबल हाम्रो समयसम्म कसरी आइपुगेको छ—भाग एक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ९/१५ पृ. २६-२९

“सेप्टुआजिन्ट” विगत अनि वर्तमान दुवैका लागि उपयोगी

एथियोपियाका एक प्रभावशाली व्यक्‍ति यरूशलेमबाट आफ्नो घर फर्किरहेका थिए। आफ्नो शानदार बग्गीमा मरुभूमि हुँदै यात्रा गरिरहँदा उनले ठूलठूलो स्वरले एउटा धार्मिक बेरुवाबाट पढिरहेका थिए। आफूले पढिरहेका ती शब्दहरूको व्याख्याले उनलाई यस्तो असर गऱ्‍यो कि त्यसैघडीदेखि उनको जीवनमा आमूल परिवर्तन आयो। (प्रेरित ८:२६-३८) तिनले सबैभन्दा पहिलो बाइबल अनुवाद ग्रीक सेप्टुआजिन्ट-बाट यशैया ५३:७, ८ पढिरेहका थिए। शताब्दीयौंको दौडान बाइबल सन्देश फैलाउन बाइबलको यो अनुवादले यस्तो महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ कि यो अनुवादलाई विश्‍वलाई नै परिवर्तन गर्ने बाइबल अनुवाद भनियो।

कहिले अनि कस्तो परिस्थितिमा सेप्टुआजिन्ट तयार परियो? यो अनुवादको किन आवश्‍यकता पऱ्‍यो? शताब्दीयौंको दौडान यो कत्तिको उपयोगी साबित भएको छ? सेप्टुआजिन्ट-ले आज हामीलाई कुन-कुन कुरा सिकाउन सक्छ?

युनानीभाषी यहूदीहरूको लागि तयार पारिएको

सा.यु.पू. ३३२ मा महान्‌ सिकन्दरले टायरको फिनिशिया शहरलाई नष्ट गरेर मिश्रमा प्रवेश गर्दा उनलाई एक उद्धारकको रूपमा स्वागत गरियो। त्यहाँ उनले अलेक्जेन्ड्रिया शहर स्थापना गरे जुन पुरातन संसारको शैक्षिक केन्द्र भयो। आफूले जितेको भूमिमा बस्ने मानिसहरूबीच युनानी संस्कृति फैलाउने इच्छाले गर्दा सिकन्दरले आफ्नो विशाल राज्यमा युनानी (कोइन) भाषालाई साझा भाषाको रूपमा चलाए।

सा.यु.पू. तेस्रो शताब्दीमा अलेक्जेन्ड्रियामा यहूदीहरूको जनसंख्यामा निकै वृद्धि भयो। बेबिलोनको निर्वासनपछि प्यालेस्टाइन बाहिर छरिएर बसोबास गरिरहेका धेरै यहूदीहरू अलेक्जेन्ड्रियामा बसाइँ सरे। यी यहूदीहरू हिब्रू भाषा कत्तिको जान्दथे? म्याक्लिन्टक र स्ट्रङको साइक्लोपीडिया यसो भन्छ: “बेबिलोनको कैदबाट मुक्‍त भएर फर्केका यहूदीहरूले पुरातन हिब्रू भाषा झन्डै-झन्डै बिर्सेका थिए। प्यालेस्टाइनको सभाघरहरूमा पढिने मोशाका पुस्तकहरू तिनीहरूलाई कल्दीहरूको भाषामा व्याख्या गरिदिनु पर्थ्यो। . . . अलेक्जेन्ड्रियाका यहूदीहरूलाई हिब्रू भाषाको ज्ञान झन्‌ थोरै हुन सक्छ; तिनीहरूको चलनचल्तीको भाषा अलेक्जेन्ड्रियाको युनानी भाषा थियो।” स्पष्टतः अलेक्जेन्ड्रियामा हिब्रू धर्मशास्त्रलाई युनानी भाषामा अनुवाद गर्ने उपयुक्‍त वातावरण थियो।

हिब्रू नियमको एउटा संस्करण युनानी भाषामा अनुवाद गरिएको थियो र यो टोलोमी फिलाडेलफसको शासनको दौडान सिध्याइयो (सा.यु.पू. २८५-२४६) भनी सा.यु.पू. दोस्रो शताब्दीका एरिस्टोबुलस नाउँ गरेका एक जना यहूदीले लेखे। एरिस्टोबुलसले उल्लेख गरेको “नियम”-को अर्थबारे फरक-फरक विचारहरू छन्‌। एक थरीले उनले केवल पेन्टाटुकलाई संकेत गरेका थिए भन्‍ने विचार व्यक्‍त गरे भने अर्को थरीले उनले सम्पूर्ण हिब्रू धर्मशास्त्रबारे नै बताइरहेका हुन सक्छन्‌ भन्‍ने विचार व्यक्‍त गरे।

जे होस्‌, भनिन्छ, पहिलो पटक धर्मशास्त्रलाई हिब्रूबाट युनानीमा अनुवाद गर्दा ७२ जना युनानी विद्वान्‌हरूको संलग्नता थियो। पछि गएर मोटामोटी ७० जना भनेर चलाउन थालियो। त्यसैले, यस संस्करणलाई सेप्टुआजिन्ट भनियो, जसको अर्थ “७०” हो र यसलाई रोमन संख्या ७० अर्थात्‌ LXX नाउँ दिइयो। सा.यु.पू. दोस्रो शताब्दीको अन्ततिर हिब्रू धर्मशास्त्रका सबै पुस्तकहरू युनानी भाषामा पढ्‌न सकिन्थ्यो। त्यसैले, सेप्टुआजिन्ट भन्‍ने नाउँले युनानी भाषामा अनुवाद गरिएको सम्पूर्ण हिब्रू धर्मशास्त्रलाई संकेत गर्न चलाउन थालियो।

प्रथम शताब्दीमा उपयोगी

युनानी भाषा बोल्ने यहूदीहरूले येशू ख्रीष्ट र उहाँका चेलाहरूको समयको दौडान र त्यो भन्दा पहिले व्यापक रूपमा सेप्टुआजिन्ट चलाउँथे। यरूशलेममा सा.यु. ३३ पेन्तिकोसमा भेला हुने धेरै जसो यहूदी तथा यहूदी मत मान्‍ने व्यक्‍तिहरू एसिया, मिश्र, लिबिया, रोम तथा क्रेटका जिल्लाबाट आउँथे र यी स्थानहरूमा युनानी भाषा बोलिन्थ्यो। तिनीहरूको सेप्टुआजिन्ट-बाटै पढ्‌ने बानी थियो भन्‍ने कुरामा कुनै शंका छैन। (प्रेरित २:९-११) त्यसैले, प्रथम शताब्दीमा सुसमाचार फैलाउनमा यो संस्करण निकै प्रभावकारी साबित भयो।

उदाहरणको लागि, साइरेनी, अलेक्जेन्ड्रिया, सिलिसिया र एशियाका मानिसहरूसित कुरा गर्दा चेला स्तिफनसले यसो भने: “यूसुफले आफ्ना बाबु याकूबलाई र आफ्ना जम्मै कुटुम्बलाई [कनानबाट], जो पचहत्तर प्राणी थिए, उनीकहाँ डाकिपठाए।” (प्रेरित ६:८-१०; ७:१२-१४) उत्पत्ति ४६ अध्यायको हिब्रू पदले यूसुफको कुटुम्बहरूको संख्या सत्तरी थियो भनी बताउँछ। तर सेप्टुआजिन्ट-ले पचहत्तर संख्या चलाउँछ। स्तिफनसले सेप्टुआजिन्ट-बाटै उद्धृत गरेको कुरा स्पष्ट हुन्छ।—उत्पत्ति ४६:२०, २६, २७.

आफ्नो दोस्रो अनि तेस्रो मिसिनरी भ्रमणको दौडान प्रेरित पावलले सम्पूर्ण एसिया माइनर तथा ग्रीसको भ्रमण गर्दा परमेश्‍वरसित डराउने धेरै गैरयहूदी तथा “भक्‍त ग्रीकहरू[लाई]” प्रचार गरे। (प्रेरित १३:१६, २६; १७:४) यी मानिसहरू परमेश्‍वरसित डराउन वा तिनीहरूले परमेश्‍वरको उपासना गर्न थालेका थिए किनकि सेप्टुआजिन्ट-बाट तिनीहरूले परमेश्‍वरबारे केही ज्ञान प्राप्त गरिसकेका थिए। यी युनानी भाषा बोल्ने मानिसहरूलाई प्रचार गर्दा पावलले अक्सर त्यस अनुवादका अंशहरू उद्धृत वा आफ्नै शब्दमा व्याख्या गर्थे।—उत्पत्ति २२:१८; गलाती ३:८.

मसीही युनानी धर्मशास्त्रमा हिब्रू धर्मशास्त्रबाट सीधै लिइएका करिब ३२० वटा उद्धरणहरू तथा सम्भवतः कुल ८९० वटा उद्धरण र प्रसंगहरू छन्‌। तीमध्ये अधिकांश सेप्टुआजिन्ट-मा आधारित छन्‌। फलतः हिब्रू हस्तलिखित पुस्तकबाट नभई उक्‍त अनुवादबाट लिइएका उद्धरणहरू प्रेरित मसीही युनानी धर्मशास्त्रको भाग बन्‍न पुग्यो। कस्तो उल्लेखनीय तथ्य! राज्यको सुसमाचार सारा संसारमा प्रचार गरिनेछन्‌ भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो। (मत्ती २४:१४) यो भविष्यवाणी पूरा गर्न यहोवाले विश्‍वभरिका मानिसहरूले पढ्‌ने विभिन्‍न भाषाहरूमा आफ्नो प्रेरित वचन अनुवाद गर्न दिनुहुनेछ।

वर्तमान समयमा उपयोगी

सेप्टुआजिन्ट आज पनि उपयोगी छ र पछि-पछि हिब्रू धर्मशास्त्रको प्रतिलिपि उतार्ने क्रममा चाल नपाउने तरिकामा हुन सक्ने गल्तीहरूलाई पत्ता लगाउने काममा यसको प्रयोग गर्ने गरिन्छ। उदाहरणको लागि, उत्पत्ति ४:८ को विवरणले यसो भन्छ: “कयिनले आफ्नो भाइ हाबिललाई भने, ‘आऊ, हामी बाहिर खेतमा जाऔं।’ औ जब तिनीहरू खेतमा थिए तब आफ्नो भाइ हाबिलको विरुद्धमा उठेर कयिनले तिनलाई मारे।”

सा.यु. दशौं शताब्दी पछिको हिब्रू हस्तलिपिमा उद्धरण चिन्हभित्र रहेको वाक्य पाइँदैन। यद्यपि, पुरानो सेप्टुआजिन्ट हस्तलिपि तथा केही पुरातन सन्दर्भहरूमा यो वाक्य उल्लेख गरिएको छ। ती हिब्रू हस्तलिपिहरूमा चलाइएको एउटा शब्दले अक्सर सम्पूर्ण वाक्यको भाव झल्काउँथ्यो र थप शब्दहरू राख्नु आवश्‍यक थिएन। त्यसो भए त्यो वाक्यांश छुट्‌नुको खास कारण के हो त? उत्पत्ति ४:८ मा दुइवटा क्रमबद्ध वाक्यखण्डहरू छन्‌ जुन “खेतमा” भन्‍ने अभिव्यक्‍तिमा गएर अन्त हुन्छ। म्याक्लिन्टक र स्ट्रङको साइक्लोपीडिया यसो भन्छ: “सम्भवतः हिब्रू प्रतिलिपि उतार्नेहरूलाई ती दुइवटा वाक्यखण्डहरूलाई औचित्यहीन तुल्याउने उस्ता-उस्तै शब्दहरूले . . . झुक्याएको हुन सक्थ्यो।” त्यसैले प्रतिलिपि उतार्नेहरूले ‘आऊ, हामी बाहिर खेतमा जाऔं’ भन्‍ने अघिल्लो अभिव्यक्‍तिलाई वास्ता नगरेर हटाएको हुन सक्छ। स्पष्टतः सेप्टुआजिन्ट तथा अन्य हाल अस्तित्वमा रहेका पुराना हस्तलिपिहरूलाई पछि प्रतिलिपि उतारिएका हिब्रू पदहरूको गल्ती पत्ता लगाउन प्रयोग गर्न सकिन्छ।

अर्कोतिर, सेप्टुआजिन्ट-का प्रतिहरूमा पनि गल्ती हुन सक्छन्‌ र कहिलेकाहीं युनानी संस्करणलाई सच्याउन हिब्रू पदलाई आधार मानिन्छ। त्यसैले, हिब्रू हस्तलिपिलाई युनानी तथा अन्य भाषाका अनुवादहरूसित तुलना गर्दा अनुवाद त्रुटिहरू अनि प्रतिलिपि उतार्नेहरूको गल्तीहरू पत्ता लगाउन सक्नुका साथै परमेश्‍वरको वचनको सही भाव नै बुझिरहेका छौं भन्‍ने कुरामा पक्का गराउँछ।

आज अस्तित्वमा रहेका सेप्टुआजिन्ट-को सम्पूर्ण प्रतिहरू सा.यु. चौथौं शताब्दीतिरको हो। यो हस्तलिपिलगायत त्यसपछिका प्रतिहरूमा हिब्रूमा टेट्राग्रामाटनले (YHWH) प्रतिनिधित्व गर्ने ईश्‍वरीय नाउँ यहोवा पाइँदैन। यी प्रतिहरूमा टेट्राग्रामाटन प्रयोग गरिएका सबै हिब्रू पदहरूमा “परमेश्‍वर” तथा “प्रभु” अर्थ बुझाउने युनानी शब्दहरू प्रयोग गरिएका छन्‌। यद्यपि, सन्‌ १९६१ मा प्यालेस्टाइनमा पत्ता लागेको तथ्यले यस विषयमा प्रकाश पार्छ। कुमरानको भग्नावशेषको इलाकामा पत्ता लागेको गुफामा एउटा टोलीले युनानी भाषामा लेखिएको १२ अगमवक्‍ताहरूका (होशे देखि मलाकीसम्म) पुरातन छालाको बेरुवाका टुक्राहरू भेट्टाए। ती लेखोटहरू सा.यु.पू. ५० देखि सा.यु. ५० सम्मका थिए। यस पुरातन टुक्राहरूमा टेट्राग्रामाटनको ठाउँमा “परमेश्‍वर” र “प्रभु” अर्थ बुझाउने युनानी शब्दहरू लेखिएका थिएनन्‌। यसरी प्रारम्भिक सेप्टुआजिन्ट संस्करणमा ईश्‍वरीय नाउँ नै प्रयोग गरिएको थियो भन्‍ने कुरा पक्का भयो।

सन्‌ १९७१ मा पुरातन पपाइरस बेरुवाका टुक्राहरू (फोएड २६६ पपाइरी) प्रकाशित गरियो। सा.यु.पू. दोस्रो वा प्रथम शताब्दीका यस सेप्टुआजिन्ट-का टुक्राहरूले कुन कुरालाई प्रकट गर्छ? त्यसमा पनि ईश्‍वरीय नाउँ सुरक्षित थियो। सेप्टुआजिन्ट-का यी पुरातन टुक्राहरूले येशू अनि उहाँका प्रथम शताब्दीका चेलाहरूलाई परमेश्‍वरको नाउँ थाह थियो अनि तिनीहरूले त्यो नाउँ चलाउँथे भन्‍ने कुराको बलियो प्रमाण उपलब्ध गराउँछ।

आज बाइबल, इतिहासमै सबैभन्दा बृहत्‌ रूपमा अनुवाद गरिएको पुस्तक हो। मानव परिवारका ९० प्रतिशत भन्दा धेरै मानिसहरूले यसका केही अंश भए पनि आफ्नै भाषामा पढ्‌न सकेका छन्‌। हाल आंशिक तथा पूर्ण गरी ४० भन्दा धेरै भाषाहरूमा उपलब्ध आधुनिक भाषामा सही अनुवाद न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स-को लागि हामी विशेष आभारी छौं। न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स—विथ रेफरेन्सेस्‌-मा सेप्टुआजिन्ट तथा अन्य पुरातन हस्तलिपिहरूका सयौं पादटिप्पणी सान्दर्भिकाहरू समावेश छन्‌। साँच्चै भन्‍ने हो भने, वर्तमान समयका बाइबल विद्यार्थीहरूका लागि सेप्टुआजिन्ट सधैं चासो अनि महत्त्वको विषय रहिरहनेछ।

[पृष्ठ २६-मा भएको चित्र]

चेला फिलिपले “सेप्टुआजिन्ट”-बाट पढिएको भागलाई व्याख्या गरे

[पृष्ठ २९-मा भएका चित्रहरू]

प्रेरित पावलले अक्सर “सेप्टुआजिन्ट”-बाट उद्धृत गर्थे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने