के तपाईं समझदार हुनुहुन्छ?
इस्राएलमाथि न्यायकर्ताहरू नियुक्त गर्न मोशाले “ज्ञानी, समझदार र अनुभवी मानिसहरू” खोजे। (व्यवस्था १:१३) यस्तो नियुक्तिको आधार, उमेर ढल्कँदै गएपछि प्राप्त हुने अनुभव मात्र थिएन। बुद्धि र समझ पनि महत्त्वपूर्ण थियो।
समझदार व्यक्तिले आफ्नो बोली र आचरणमा विवेक झल्काउँछ। वेब्सटर्स नाइन्थ न्यु कोलेजियट डिक्सनरी-अनुसार समझदार मानिससित “चनाखो भएर चुपो लाग्ने क्षमता” हुन्छ। हो, “चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय” छ अनि समझदार मानिसले यी दुईबीचको भिन्नता राम्ररी बुझेको हुन्छ। (उपदेशक ३:७) प्रायसजो, चुप लाग्नुपर्ने ठोस कारण हुन्छ किनभने बाइबल यसो भन्छ: “मानिसहरू जति धेरै बोल्छन् उतिनै धेरै पाप गर्ने सम्भावना हुन्छ। बुद्धिमान मानिस चूप लागिबस्छ।”—हितोपदेश १०:१९.
मसीहीहरू अरूसित व्यवहार गर्दा समझदार हुन सतर्क हुन्छन्। बढी बोल्ने वा आफ्नै कुरामा ढिपी कस्ने व्यक्ति सधैं सबैभन्दा महत्त्वपूर्ण वा नभई नहुने व्यक्ति हुँदैन। नबिर्सनुहोस्, मोशा “आफ्ना कुरा[मा] . . . शक्तिशाली” थिए तर धीरज, नम्रता अनि आत्मसंयम खेती नगरुञ्जेल इस्राएल राष्ट्रलाई प्रभावशाली ढंगमा डोऱ्याउन सकेनन्। (प्रेरित ७:२२) तसर्थ, अरूमाथि अख्तियार हुने व्यक्तिहरू विशेष गरी विनीत अनि झुक्ने स्वभावको हुनुपर्छ।—हितोपदेश ११:२.
येशू ख्रीष्टले “आफ्नो सारा सम्पत्ति” सुम्पनुभएका जनहरूलाई परमेश्वरको वचनमा “विश्वासी र बुद्धिमान” भनिएको छ। (मत्ती २४:४५-४७) तिनीहरू आवेगमा आएर यहोवालाई उछिन्दै अघि बढ्दैनन् न त परमेश्वरको निर्देशन सुस्पष्ट भएको बेला ढिलासुस्ती नै गर्छन्। तिनीहरूलाई बोल्नुपर्ने समय कहिले हो अनि थप स्पष्टीकरण पर्खेर चुपो लाग्नुपर्ने समय कहिले हो भनेर थाह छ। सबै मसीहीहरूले तिनीहरूको विश्वास अनुसरण गर्ने मात्र होइन तर दास वर्गजस्तै समझदार हुने प्रयास गर्नु बेस हो।—हिब्रू १३:७.