प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ८/१५ पृ. ८-१०
  • “तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • राजा आसा कस्ता मानिस थिए?
  • युद्धभूमिमा
  • प्रोत्साहन र चेतावनी
  • “तपाईंले मूर्खता गर्नुभयो”
  • शान्ति छाएको समयमा बुद्धिमानी कदम चाल्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • सारा हृदयले यहोवाको सेवा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • यहोवा कसरी हाम्रो नजिक आउनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • के तपाईँ पनि आसाले जस्तै साहस देखाउनुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ८/१५ पृ. ८-१०

“तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ”

सेनाको नेतृत्व गरिरहेका राजा आसा यहूदियाको पहाडी इलाकाहरूबाट हतारिएर तल बेंसीमा झर्छन्‌। तल बेंसीमा पुगेपछि तिनी एक छिन रोकिन्छन्‌ र लामो सुस्केरा हाल्छन्‌। तिनीसामु शत्रुहरूको विशाल सेना तैनाथ छ। ती कूशी सेनाको सङ्‌ख्या दस लाख छ। राजा आसाको सेना भने शत्रुहरूको तुलनामा आधाजस्तो मात्र छ।

युद्धको सँघारमा पुगेका राजाको मनमा कुन कुरा खेल्छ—जर्नेलहरूलाई हुकुम गर्ने? सेनाको उत्साह बढाउने? आफ्नो परिवारलाई चिठी पठाउने? अहँ, यीमध्ये कुनै पनि होइन। यस्तो सङ्‌कटको बेला राजा आसा प्रार्थना गर्छन्‌।

राजा आसाले गरेको प्रार्थना केलाउनुअघि र उक्‍त समयमा के भयो भनी बुझ्नुअघि तिनी कस्ता मानिस थिए, हेरौं। तिनले किन प्रार्थना गरे? के तिनले परमेश्‍वरको मदत खोज्नु जायज थियो? राजा आसाको यस विवरणबाट यहोवाले आफ्ना सेवकहरूको गतिविधिलाई आशिष्‌ दिने सन्दर्भमा के सिक्न सक्छौं?

राजा आसा कस्ता मानिस थिए?

इस्राएल दुइटा राज्यमा टुक्रिएपछिको २० वर्षको दौडान यहूदा मूर्तिपूजक प्रचलनहरूमा चुर्लुम्मै डुबेको थियो। आसा ईसापूर्व ९७७ मा राजा भए। त्यतिबेलाको राजघरानासमेत कनानी प्रजनन देवहरूको पूजाआजामा मुछिएको थियो। आसाको शासनबारे ईश्‍वरप्रेरित विवरणले बताएअनुसार तिनले “परमेश्‍वरको दृष्टिमा जे कुरो असल र ठीक थियो त्यही गरे।” तिनले “विदेशी वेदीहरू र डाँडाहरूमा भएका पूजा-थानहरू हटाए, देवी बनाएका खामाहरू भत्काइदिए, र अशेरा देवीहरूलाई ढालिदिए।” (२ इति. १४:२, ३) आसाले यहूदा राज्यबाट “पुरुषगामीहरूलाई” पनि निकालिदिए जसले धर्मको नाममा पुरुषहरूबीच यौनसम्बन्ध राख्थे। झूटा प्रचलनहरू हटाउने आसाको अभियान यतिमा मात्र सीमित थिएन। तिनले मानिसहरूलाई “तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको अगुवाइ खोज्न” र परमेश्‍वरको “व्यवस्था र आज्ञा पालन गर्न” हुकुम गरे।”—१ राजा १५:१२, १३; २ इति. १४:४.

साँचो उपासनाप्रति आसाको जोस देखेर यहोवा खुसी हुनुभयो र उहाँको आशिष्‌ले गर्दा तिनको शासनकालमा वर्षौंसम्म शान्ति छायो। त्यसकारण राजा आसाले यसो भन्‍न सके: “हामीले परमप्रभु हाम्रा परमेश्‍वरको अगुवाइ खोजेको हुनाले उहाँले पनि हामीलाई खोजेर हाम्रा चारैतिर हामीलाई सुरक्षित राख्नुभएको छ।” यस शान्तिपूर्ण अवस्थाको सदुपयोग गरेर मानिसहरूले यहूदा राज्यका सहरहरूलाई सुदृढ पारे। बाइबल विवरण यसो भन्छ: “तिनीहरूले ती शहरहरू निर्माण गरे, र तिनीहरूको उन्‍नति भयो।”—२ इति. १४:१, ६, ७.

युद्धभूमिमा

यहोवामाथि विश्‍वास देखाउनेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भनेर आसालाई थाह थियो। त्यसकारण बाइबलमा उल्लेख गरिएको सबैभन्दा ठूलो सैन्य दलको सामना गर्नुपर्दा तिनले मदतको लागि यहोवालाई प्रार्थना गरे। परमेश्‍वरमा भरोसा राखेमा र उहाँको साथ पाएमा शत्रुहरूको सेना जति नै ठूलो वा शक्‍तिशाली भए पनि डराउनु पर्दैन भनेर आसालाई थाह थियो। यस लडाइँमा यहोवाको नाम मुछिएको थियो। त्यसैले तिनले यसरी पुकारे: “हे परमप्रभु हाम्रा परमेश्‍वर, हाम्रो सहायता गर्नुहोस्‌, किनभने हामी तपाईंमाथि भर परेका छौं। हामी तपाईंकै नाउँमा यस ठूलो सेनाको विरुद्धमा सामना गर्न आएका छौं। हे परमप्रभु, तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्छ, यसर्थ मानिस कसरी तपाईंको विरुद्धमा खडा हुनसक्छ र?” (२ इति. १४:११) आसाले वास्तवमा यसो भनिरहेका थिए: ‘हे यहोवा, यस कूशी सेनाले तपाईंलाई आक्रमण गर्दै छ। तपाईंको नाम बहन गर्नेहरूलाई यी कमजोर मानिसहरूको हातमा पर्न दिएर आफ्नो नामको अनादर हुन नदिनुहोस्‌।’ यसैकारण “परमप्रभुले आसा र यहूदालाई कूशीहरूमाथि विजयी तुल्याउनुभयो, र कूशीहरू भागे।”—२ इति. १४:१२.

आज पनि यहोवाका जनले शक्‍तिशाली विरोधीहरूको सामना गर्छन्‌। हामी तिनीहरूसित युद्धभूमिमा साँच्चिकै हातहतियार उठाएर लडाइँ गर्दैनौं। तैपनि यहोवाले दिनुहुने हातहतियार चलाएर युद्ध गर्ने सबै विश्‍वासी जनलाई उहाँले विजयी बनाउनुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौं। हाम्रो लडाइँ विभिन्‍न प्रकारका शत्रुहरू विरुद्ध हुन सक्छ। जस्तै: नैतिक स्तरको कुनै वास्ता नराख्ने स्वच्छन्द मनोवृत्ति, आफ्नै कमीकमजोरी, आफ्नो परिवारलाई बिगार्ने हानिकारक प्रभाव। हामीले जस्तोसुकै चुनौतीको सामना गर्नु परे तापनि आसाको प्रार्थनाबाट प्रोत्साहन पाउन सक्छौं। तिनको विजय यहोवाकै विजय थियो। परमेश्‍वरमा भरोसा राख्ने सबैले कस्तो परिणाम भोग्नेछन्‌ भनेर त्यसले देखायो। यहोवाविरुद्ध कुनै पनि मानव शक्‍ति खडा हुन सक्दैन।

प्रोत्साहन र चेतावनी

लडाइँबाट घर फर्किरहेका आसालाई भविष्यवक्‍ता अजर्याह भेट्‌न आए। उनले राजालाई यसरी प्रोत्साहनका साथै चेतावनी दिए: “हे आसा, सबै यहूदा र बिन्यामीन, मेरो कुरा सुन। जब तिमीहरू परमप्रभुसँग हुन्छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ। तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ। . . . तिमीहरू शक्‍तिशाली हुनुपर्छ, र तिमीहरूको साहस घट्‌नुहुँदैन। किनभने तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ।”—२ इति. १५:१, २, ७.

यी शब्दले हाम्रो विश्‍वास बलियो बनाउन सक्छ। यसले विश्‍वासी भई यहोवाको सेवा गरुन्जेल उहाँ हाम्रो साथमा हुनुहुनेछ भनी देखाउँछ। मदतको लागि परमेश्‍वरलाई पुकार्दा उहाँले हाम्रो पुकारा सुन्‍नुहुनेछ भनेर ढुक्क हुन सक्छौं। अजर्याहले भने: “तिमीहरू शक्‍तिशाली हुनुपर्छ, र तिमीहरूको साहस घट्‌नुहुँदैन।” सही कुरा गर्न अक्सर निकै साहस चाहिन्छ तर यहोवाको मदत पाएर हामी अवश्‍य यसो गर्न सक्छौं।

आसाकी हजुरआमा माकाले “अश्‍तारोत देवीको पूजा गर्नलाई एउटा घिनलाग्दो कुरो . . . राखेकी थिइन्‌।” त्यसकारण तिनलाई “राजमाताको” उच्च ओहदाबाट हटाउनु आसाको लागि सजिलो काम थिएन। तर तिनले साहस बटुले र त्यस मूर्तिलाई जलाइदिए। (१ राजा १५:१३) यस्तो कटिबद्धता र साहस देखाएकोले राजा आसाले इनाम पाए। आफ्ना नातेदारहरू यहोवाप्रति वफादार होऊन्‌ या नहोऊन्‌, यहोवाप्रति र उहाँको सही स्तरप्रति हामी पनि अडिग रहनुपर्छ। यसो गऱ्‍यौं भने हाम्रो वफादारीलाई यहोवाले इनाम दिनुहुनेछ।

आसाको साथमा यहोवा हुनुहुँदो रहेछ भनी देखेपछि धर्मत्यागी उत्तरी राज्यबाट थुप्रै इस्राएली यहूदा फर्केको हेर्न पाउनु आसाले पाएको एउटा इनाम थियो। तिनीहरूले शुद्ध उपासनाको अत्यन्तै मोल गरे। त्यसैले यहोवाका सेवकहरूसित बस्न तिनीहरूले आफ्नो सबै घरबार छोडेर आए। तब आसा र सम्पूर्ण यहूदाले खुसीसित ‘आफ्ना पूरा मन-तनले [यहोवाको] अगुवाइ खोज्न करार बाँधे।’ परिणाम कस्तो भयो? ‘उहाँ पनि तिनीहरूले पाऊन्‌ भनी स्वयम्‌ प्रकट हुनुभयो। यसैकारण परमप्रभुले तिनीहरूलाई चारैतिरबाट सुरक्षित गर्नुभयो।’ (२ इति. १५:९-१५) यहोवाको सही स्तरलाई प्रेम गर्नेहरूले शुद्ध उपासना अङ्‌गालेको देख्दा हामी कत्ति रमाउँछौं!

भविष्यवक्‍ता अजर्याहको शब्दमा एउटा चेतावनी पनि लुकेको थियो। उनले भने: “तिमीहरूले [यहोवालाई] त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।” हामीलाई त्यस्तो कहिल्यै नहोस्‌ किनभने परिणाम दुःखदायी हुनेछ! (२ पत्रु. २:२०-२२) यहोवाले आसालाई किन त्यो चेतावनी दिनुभयो भनेर बाइबलमा बताइएको छैन तर तिनले त्यो सुनेनन्‌।

“तपाईंले मूर्खता गर्नुभयो”

आसाको शासनकालको ३६ औं वर्षमा इस्राएलका राजा बाशा यहूदामाथि आक्रमण गर्न उत्रिए। आफ्नो प्रजा आसा र शुद्ध उपासनाप्रति वफादार नहोऊन्‌ भनेर बाशाले यरूशलेमबाट आठ किलोमिटर उत्तरमा पर्ने सीमावर्ती सहर रामालाई मजबुत बनाए। कूशी सेना आक्रमण गर्न आउँदा आसाले परमेश्‍वरको मदत खोजेका थिए तर अहिले भने तिनले मानिसको मदत खोजे। तिनले अरामका राजालाई इस्राएलको उत्तरी राज्यमाथि आक्रमण गर्न आग्रह गर्दै सौगात पठाए। अरामीहरूले आक्रमण गर्न थाल्दा बाशाले रामालाई मजबुत बनाउन छोडिदिए।—२ इति. १६:१-५.

आफू आसादेखि अप्रसन्‍न भएको खबर पुऱ्‍याउन यहोवाले भविष्यवक्‍ता हनानीलाई पठाउनुभयो। परमेश्‍वरले कूशीहरूलाई के गर्नुभयो भनी आसालाई थाह थियो। त्यसैले “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ” भनेर आसाले बुझ्नुपर्ने थियो। सायद आसाले कसैबाट गलत सल्लाह पाए वा बाशा र उनको सेनालाई त्यत्ति ठूलो खतरा ठानेनन्‌। त्यसैले आफू सक्षम छु भनी आसाले सोचे होलान्‌। जे होस्‌, आसा आफ्नै बुद्धिमा भर परे र यहोवामाथि भरोसा राख्नदेखि चुके। हनानीले यसो भने: “यस कुरामा तपाईंले मूर्खता गर्नुभयो। अब उप्रान्त तपाईंले युद्ध गरिरहनुपर्नेछ।”—२ इति. १६:७-९.

आसा भविष्यवक्‍ता हनानीसँग असाध्यै रिसाए र तिनलाई थुनामा राखे। (२ इति. १६:१०) आसाले यस्तो सोचेका पो हुन्‌ कि: ‘म परमेश्‍वरप्रति वफादार रहेको वर्षौं भइसक्यो। त्यसैले मलाई यसरी हप्काउन मिल्छ र?’ अथवा ढल्कँदो उमेरले गर्दा कतै आसाको सुद्धी हराएको थियो कि? यसबारे बाइबल केही बताउँदैन।

आफ्नो शासनकालको ३९ औं वर्षमा खुट्टा कुहिने रोगले गर्दा आसा असाध्यै बिरामी भए। बाइबल विवरण यसो भन्छ: “तिनले परमप्रभुको अगुवाइ खोजेनन्‌, तर बैद्यहरूको सल्लाह लिए।” त्यतिबेला आसाले परमेश्‍वरसितको सम्बन्धलाई बेवास्ता गरेजस्तो देखिन्छ। यस्तो अवस्था र मनस्थितिमा तिनी आफ्नो शासनकालको ४१ औं वर्षमा मरे।—२ इति. १६:१२-१४.

तर आसाले गरेका गल्तीहरूले तिनका राम्रा गुण र शुद्ध उपासनाप्रति तिनको जोसलाई महत्त्वहीन बनाएन। तिनले जीवनभरि नै यहोवाको सेवा गरिरहे। (१ राजा १५:१४) त्यसोभए तिनको जीवनबाट हामी कस्तो पाठ सिक्न सक्छौं? यहोवाले हामीलाई विगतमा कसरी मदत गर्नुभयो भनेर हामीले सम्झनुपर्छ किनभने ती मीठा सम्झनाले हामीलाई नयाँ चुनौती सामना गर्नुपर्दा उहाँलाई पुकार्न झकझक्याउनेछ। तर विश्‍वासी भई परमेश्‍वरको सेवा गरेको वर्षौं भइसकेकोले बाइबलआधारित सल्लाह चाहिंदैन भन्‍ने सोचाइ राख्नु हुँदैन। हामीले यहोवाको सेवा गरेको जतिसुकै धेरै समय भए तापनि गल्ती गऱ्‍यौं भने उहाँले हप्काउनुहुनेछ। उहाँले हप्काउँदा नम्र भई स्वीकाऱ्‍यौं भने हाम्रो हित हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा हो, स्वर्गमा बस्नहुने बुबालाई त्यागेनौं भने उहाँले पनि हामीलाई कहिल्यै त्याग्नुहुनेछैन। यहोवाप्रति विश्‍वासी रहने सबैमाथि उहाँको दृष्टि रहन्छ। उहाँले आफ्नो पवित्र शक्‍ति दिएर तिनीहरूलाई प्रतिफल दिनुहुन्छ। यहोवाले आसालाई त्यसै गर्नुभयो र हामीलाई पनि गर्नुहुनेछ।

[पृष्ठ ९-मा भएको चित्र]

यहोवा विश्‍वासी जनलाई प्रतिफल दिनुहुन्छ

[पृष्ठ १०-मा भएको चित्र]

सही कुरा गर्न साहस चाहिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने