के पढ्ने भनी सुलेमानको बुद्धिमानी सल्लाह
“पुस्तकहरूको उपयोगको केही अन्त छैन, औ धेरै अध्ययनले थकाउँछ।” (उपदेशक १२:१२) लगभग ३,००० वर्षअघि यी शब्दहरू लेख्दा इस्राएलका बुद्धिमान् राजा सुलेमानले पढ्न निरुत्साहित गरिरहेका थिएनन्। बरु, तिनले छानेर पढ्नुपर्ने आवश्यकताबारे बताइरहेका थिए। आज हरेक वर्ष अरबौं पृष्ठ पढ्ने सामग्रीहरू छापिने समयमा त्यो सम्झौटो झनै कत्ति बढी सामयिक छ!
सुलेमानले सङ्केत गरेका “पुस्तकहरू” उत्थानदायी वा स्फूर्तिदायी थिएनन् भन्ने कुरा प्रस्ट छ। त्यसकारण तिनमा बढ्ता ध्यान दिंदा सकारात्मक र चिरस्थायी नतिजाहरू ल्याउनुको सट्टा “थकाउँछ” भनी तिनले तर्क गरे।
त्यसोभए पाठकहरूलाई लाभ पुऱ्याउने स्वस्थकर तथा भरपर्दो निर्देशन भएको पुस्तक कुनै पनि छैन भनी सुलेमानले भन्न खोजिरहेका थिए त? अँह, तिनले यसो भनिरहेका थिएनन् किनभने तिनी आफैले यस्तो लेखे: “बुद्धिमानका वचनहरू गोठालाका लाठोझैं, ठीक स्थानमा ठोकेका कीलाझैं छन्। ती वचनले मानिसको समुदायलाई डोस्याउँछ, किनकि ती एउटै गोठालाबाट आएका हुन्।” (उपदेशक १२:११) वास्तवमा, त्यस्ता लिखित वचनहरू पनि छन् जसले “लाठोझैं” काम गरेर सकारात्मक उत्प्रेरणा दिन सक्छन्। यसले कुनै पनि व्यक्तिलाई ठीक मार्गमा हिंड्न प्रेरित गर्न सक्छ। यसको अलावा, “ठोकेका कीलाझैं” यसले हाम्रो कटिबद्धतालाई बलियो र स्थिर बनाउन मदत गर्न सक्छ।
यस्ता बुद्धिमानी शब्दहरू हामी कहाँ पाउन सक्छौं? सुलेमानले बताएअनुसार एउटै गोठाला यहोवाबाट आउने वचन, सबै वचनहरूमध्ये सर्वोत्कृष्ट वचन हो। (भजन २३:१) त्यसकारण कुनै पनि व्यक्ति भर पर्न सक्ने सबैभन्दा उत्तम पुस्तक भनेको परमेश्वरद्वारा प्रेरित पुस्तक बाइबल हो। यस्तो प्रेरित वचन नियमित तवरमा पढ्दा यसले “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध” हुन मदत गर्न सक्छ।—२ तिमोथी ३:१६, १७.