प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ११/१५ पृ. १७-२१
  • होशेको भविष्यवाणीले परमेश्‍वरसित हिंड्‌न मदत गर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • होशेको भविष्यवाणीले परमेश्‍वरसित हिंड्‌न मदत गर्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सरसरती हेर्दा के थाह पाउन सकिन्छ
  • नाटकको पर्दा उघ्रिन्छ
  • इस्राएलसित यहोवाको विवाद हुन्छ
  • यहोवा इस्राएललाई सम्झाउनुहुन्छ
  • नाटकतर्फ फेरि एक नजर
  • पाठ सिक्नुहोस्‌
  • होशेको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—होशे
    हाम्रो राज्य सेवा—२०१३
  • परमेश्‍वरसित हिंड्‌नुहोस्‌ र असल कुरा कटनी गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • ‘यहोवाको मार्ग ठीक छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ११/१५ पृ. १७-२१

होशेको भविष्यवाणीले परमेश्‍वरसित हिंड्‌न मदत गर्छ

“तिनीहरूले . . . परमप्रभुलाई पछ्याउनेछन्‌।”—होशे ११:१०.

१. होशेको पुस्तकमा कस्तो लाक्षणिक नाटक छ?

के तपाईंलाई राम्रा-राम्रा कलाकार अनि रोचक कथावस्तु भएको नाटक हेर्न मनपर्छ? बाइबलको होशेको पुस्तकमा एउटा लाक्षणिक नाटक छ।a त्यो नाटक परमेश्‍वरको अगमवक्‍ता होशेको पारिवारिक जीवन वरपर घुमेको छ र मोशाको व्यवस्थाको करारमार्फत यहोवाले पुरातन इस्राएलसित सम्झौता गर्नुभएको प्रतीकात्मक विवाहसित सम्बन्धित छ।

२. होशेको बारेमा तपाईंलाई के थाह छ?

२ होशे अध्याय १ मा यस नाटकको पात्र-परिचय दिइएको छ। होशे इस्राएलको दस-गोत्रे राज्यमा बसोबास गर्थे (दस-गोत्रे राज्यलाई एप्रैम पनि भनिन्छ किनकि एप्रैम सबैभन्दा ठूलो गोत्र हो)। तिनले इस्राएलका अन्तिम सात शासक र यहूदाका राजा उज्जियाह, योताम, आहाज र हिजकियाहको शासनकालमा भविष्यवाणी गरेका थिए। (होशे १:१) यसरी होशेले घटीमा पनि ५९ वर्ष भविष्यवाणी गरे। ईसापूर्व ७४५ को आसपासमै होशेको पुस्तक लेखिसिद्धिएको थियो। तरैपनि यो पुस्तक आज पनि उपयोगी छ किनभने लाखौं मानिसले यहाँ बताइएअनुसारै जीवन बिताइरहेका छन्‌: “तिनीहरूले . . . परमप्रभुलाई पछ्याउनेछन्‌।”—होशे ११:१०.

सरसरती हेर्दा के थाह पाउन सकिन्छ

३, ४. होशे अध्याय १ देखि ५ मा के-कस्ता कुरा बताइएको छ, छोटकरीमा बताउनुहोस्‌।

३ होशे अध्याय १ देखि ५ सम्म सरसरती हेऱ्‍यौं भने, परमेश्‍वरमाथि विश्‍वास गरेर अनि उहाँको इच्छामुताबिक जीवन बिताएर उहाँसित हिंड्‌ने हाम्रो सङ्‌कल्प दरिलो हुनेछ। इस्राएलीहरू आध्यात्मिक व्यभिचारको दोषी भए तापनि पश्‍चात्ताप गरेको खण्डमा परमेश्‍वरले तिनीहरूलाई दया देखाउनुहुने थियो। होशेले आफ्नी पत्नी गोमेरसित गरेको व्यवहारबाट यो कुरा पुष्टि भयो। होशेको तर्फबाट गोमेरले एउटा सन्तान जन्माएपछि तिनले अरू दुई नाजायज सन्तान जन्माइन्‌। तरैपनि पश्‍चात्तापी इस्राएलीहरूलाई दया देखाउन यहोवा इच्छुक हुनुभएझैं होशेले गोमेरलाई परपुरुषबाट फर्काएर ल्याए।—होशे १:१–३:५.

४ इस्राएलसित यहोवाको विवाद थियो किनभने त्यस देशमा सत्यता, करुणा अथवा परमेश्‍वरको ज्ञान फिटिक्कै थिएन। व्यभिचारी इस्राएल अनि बरालिएका यहूदा राज्यलाई उहाँले सजाय दिनुहुने थियो। तर “कष्टमा” परेपछि यहोवाका जनहरूले उहाँको खोजी गर्ने थिए।—होशे ४:१–५:१५.

नाटकको पर्दा उघ्रिन्छ

५, ६. (क) इस्राएलको दस-गोत्रे राज्यमा वेश्‍यावृत्ति कत्तिको व्याप्त थियो? (ख) पुरातन इस्राएललाई दिइएको चेतावनी हाम्रो लागि पनि महत्त्वपूर्ण छ, किन?

५ परमेश्‍वरले होशेलाई यस्तो आज्ञा दिनुभयो, “जा, गएर एउटी वेश्‍या स्वास्नी ले, र त्यसको वेश्‍यावृतिबाट भएका सन्तानलाई आफ्नो बना, किनभने यस देशले परमप्रभुलाई त्यागेर घोर वेश्‍यावृति गर्नलागेको छ।” (होशे १:२) इस्राएलमा वेश्‍यावृत्ति कत्तिको व्याप्त थियो? हामीलाई यसो भनिएको छ: “वेश्‍यागमन गर्ने आत्माले [दस-गोत्रे राज्यका मानिसहरूलाई] भ्रममा पारेको छ, औ आफ्ना परमेश्‍वरलाई त्यागेर तिनीहरू वेश्‍यागमनमा लागेका छन्‌। . . . तिमीहरूका छोरीहरूले वेश्‍यागमन र तिमीहरूका दुलहीहरूले व्यभिचार [गर्छन्‌] . . . तिनीहरू आफैनै एकान्तमा वेश्‍याकहाँ जान्छन्‌, र देवदासीहरूसित बलिदान चढाउँदछन्‌।”—होशे ४:१२-१४.

६ इस्राएलमा शारीरिक तथा आध्यात्मिक दुवै खाले वेश्‍यावृत्ति व्याप्त थियो। त्यसैकारण त यहोवाले इस्राएलीहरूलाई “सजाय” दिनुहुने थियो। (होशे १:४; ४:९) यो चेतावनी हाम्रो लागि पनि महत्त्वपूर्ण छ किनभने अनैतिक काम गर्ने र अशुद्ध उपासनामा मुछिनेहरूलाई आज पनि यहोवा सजाय दिनुहुन्छ। तर परमेश्‍वरसित हिंड्‌ने व्यक्‍तिहरूले शुद्ध उपासनाको लागि परमेश्‍वरले तोक्नुभएका स्तरहरू पूरा गर्छन्‌ अनि “कुनै व्यभिचारी . . . मानिसले . . . ख्रीष्ट र परमेश्‍वरको राज्यमा कुनै अधिकार पाउनेछैन” भन्‍ने कुराको हेक्का राख्छन्‌।—एफिसी ५:५; याकूब १:२७.

७. होशे र गोमेरबीचको विवाहले कुन कुरालाई सङ्‌केत गऱ्‍यो?

७ होशेले गोमेरलाई विवाह गर्दा तिनी कुमारी नै थिइन्‌ र होशेको तर्फबाट “एउटा छोरो” जन्माउँदा वफादार पत्नी थिइन्‌। (होशे १:३, NRV) लाक्षणिक नाटकमा चित्रण गरिएझैं, ईसापूर्व १५१३ मा इस्राएलीहरू मिश्रको दासत्वबाट मुक्‍त भएको केही समयपछि परमेश्‍वरले तिनीहरूसित करार बाँध्नुभयो र त्यो करार पवित्र विवाहको लागि गरिएको सम्झौताजस्तै थियो। त्यस करारमा सहमति जनाउँदै इस्राएलले “आफ्नो स्वामी” यहोवाप्रति वफादार रहने प्रतिज्ञा गऱ्‍यो। (यशैया ५४:५) हो, होशे र गोमेरबीचको पवित्र विवाहले इस्राएल र परमेश्‍वरबीचको प्रतीकात्मक विवाहलाई सङ्‌केत गऱ्‍यो। तर चाँडै परिस्थितिमा नयाँ मोड आयो!

८. इस्राएलको उत्तरी दस-गोत्रे राज्यको जन्म कसरी भयो र त्यस राज्यमा कस्तो उपासना गरिन्थ्यो?

८ होशेकी पत्नी “फेरि गर्भवती भएर एउटी छोरी जन्माई।” ती छोरी र पछि जन्मेको अर्को सन्तान गोमेरले व्यभिचार गरेपछि जन्मिएका हुन सक्छन्‌। (होशे १:६, ८, NRV) गोमेरले इस्राएललाई चित्रण गरेको हुनाले तपाईं भन्‍नुहोला, ‘इस्राएल कसरी वेश्‍यावृत्तिमा लाग्यो?’ इस्राएलको दस-गोत्रे राज्य ईसापूर्व ९९७ मा यहूदा र बिन्यामिनका दक्षिणी गोत्रबाट टुक्रिएको थियो। यरूशलेमको मन्दिरमा यहोवाको उपासना गर्न आफ्ना मानिसहरू यहूदा नजाऊन्‌ भनेर इस्राएलको उत्तरी दस-गोत्रे राज्यका राजाले बाछोको उपासना सुरु गरे। झूटो देवता बालको उपासना र यस देवताको नाउँमा मनाइने अनैतिक उत्सवहरूले इस्राएलमा गहिरो जरा गाड्यो।

९. होशे १:६ मा भविष्यवाणी गरिएझैं इस्राएललाई के भयो?

९ गोमेरले व्यभिचार गरेर दोस्रो सन्तान जन्माएपछि परमेश्‍वरले होशेलाई भन्‍नुभयो: “त्यसको नाउँ लोरुहामा [जसको अर्थ हो, “तिनलाई दया देखाइएन”] राख, किनभने इस्राएलका घरानालाई टिठाएर म तिनीहरूलाई फेरि कहिल्यै कदापि क्षमा गर्नेछैनँ।” (होशे १:६) ईसापूर्व ७४० मा अश्‍शूरीहरूले इस्राएलीहरूलाई बन्दी बनाएर लैजान दिनुहुँदा यहोवाले ‘तिनीहरूलाई क्षमा गर्नुभएन’ भनी स्पष्ट भयो। तरैपनि, यहोवाले यहूदाका दुई-गोत्रे राज्यलाई भने दया देखाउनुभयो र त्यसलाई उद्धार गर्नुभयो तर धनु, तरवार, लडाइँ, घोडा र घोडचढीहरूद्वारा त होइन। (होशे १:७) ईसापूर्व ७३२ मा एउटा स्वर्गदूतले यहूदाको राजधानी यरूशलेमलाई धम्क्याउने १,८५,००० अश्‍शूरी सेनालाई एकै रातमा मारे।—२ राजा १९:३५.

इस्राएलसित यहोवाको विवाद हुन्छ

१०. गोमेरको व्यभिचारी आचरणले कुन कुरा चित्रण गऱ्‍यो?

१० गोमेरले होशेलाई छोडेर हिंडिन्‌ र परपुरुषसित नाजायज सम्बन्ध राखेर “वेश्‍या स्वास्नी” बनिन्‌। इस्राएल राष्ट्रले मूर्तिपूजक राष्ट्रहरूसित कसरी राजनैतिक साँठगाँठ बढायो र तिनीहरूमाथि नै भर पर्न थाल्यो भन्‍ने कुरा यसले चित्रण गऱ्‍यो। आफूले पाएको भौतिक आशिष्‌को श्रेय इस्राएलले यहोवालाई दिएन तर यस्ता मूर्तिपूजक राष्ट्रका देवी-देवतालाई दियो र झूटो उपासनामा लागेर परमेश्‍वरसित आफूले बाँधेको वैवाहिक करार भङ्‌ग गऱ्‍यो। यसैकारण त आध्यात्मिक वेश्‍यावृत्ति गर्ने इस्राएल राष्ट्रसित यहोवाको विवाद हुनु छक्कलाग्दो कुरा होइन!—होशे १:२; २:२, १२, १३.

११. यहोवाले इस्राएल र यहूदाका मानिसहरूलाई निर्वासनमा पठाउनुहुँदा के व्यवस्थाको करार रद्द भयो?

११ आफ्नो स्वामीलाई त्यागेर हिंडेकोमा इस्राएल राष्ट्रले कस्तो सजाय पायो? परमेश्‍वरले इस्राएलीहरूलाई अश्‍शूर देश कब्जा गर्ने बेबिलोनको “उजाड-स्थानमा” भौंतारिन दिनुभयो। स्मरण रहोस्‌, अश्‍शूर त्यो देश हो जहाँ ईसापूर्व ७४० मा इस्राएलीहरू निर्वासित भएका थिए। (होशे २:१४) यसरी यहोवाले दस-गोत्रे राज्यको अन्त्य गर्नुभयो तर उहाँले इस्राएलको बाह्र-गोत्रे राज्यसित सुरुमा बाँध्नुभएको वैवाहिक करार भने भङ्‌ग गर्नुभएन। हो, ईसापूर्व ६०७ मा बेबिलोनले यरूशलेम ध्वस्त पार्दा र यहूदाका मानिसहरूलाई बन्दी बनाएर लैजाँदा यहोवा चुप लागेर बस्नुभए तापनि उहाँले मोशाको व्यवस्थाको करार रद्द गर्नुभएन, जुन करारमार्फत इस्राएलका बाह्र-गोत्रे राज्यले प्रतीकात्मक अर्थमा परमेश्‍वरसित वैवाहिक सम्बन्ध गाँसेका थिए। यहूदी नेताहरूले येशू ख्रीष्टलाई तिरस्कार गरेर इस्वी संवत्‌ ३३ मा कीला ठोकेर मारेपछि मात्र यहोवाले त्यो करार सदाको लागि रद्द गर्नुभयो।—कलस्सी २:१४.

यहोवा इस्राएललाई सम्झाउनुहुन्छ

१२, १३. होशे २:६-८ ले भन्‍न खोजेको कुरा के हो र ती शब्दहरू इस्राएललाई कसरी लागू भयो?

१२ परमेश्‍वरले इस्राएललाई ‘वेश्‍यावृत्तिदेखि अलग रहने’ सल्लाह दिनुभयो तर इस्राएल आफ्ना प्रेमीहरूको पछि लाग्न छोडेन। (होशे २:२, ५) यहोवाले भन्‍नुभयो, “यसकारण हेर्‌ म त्यसको बाटो काँढाले थुन्‍नेछु, औ त्यसको अगि पर्खाल खडा गरिदिनेछु, र त्यसले बाटै पाउनेछैन। त्यो आफ्ना प्रेमीहरूको पछिपछि कुद्‌नेछ, तर त्यसले तिनीहरूलाई भेट्टाउनेछैन। त्यसले तिनीहरूलाई खोज्नेछ, तर तिनीहरूलाई पाउनेछैन। तब त्यसले भन्‍नेछ, ‘म मेरा पहिलेकै लोग्नेकहाँ फर्केर जानेछु, किनभने त्यस बेला मेरो गति अहिलेको भन्दा असल थियो।’ त्यसले सम्झिन कि मैले त्यसलाई अन्‍न, दाखमद्य र तेल दिएको थिएँ, औ त्यसको सुन र चाँदीको संख्या मैलेनै बढाइदिएको थिएँ। तीचाहिं तिनीहरूले बाल देवताको निम्ति उपयोग गरे।”—होशे २:६-८.

१३ इस्राएलले आफ्ना “प्रेमी” रूपी राष्ट्रहरूको मदत खोज्यो तर अहँ, कुनै पनि राष्ट्रले त्यसलाई मदत गर्न सकेन। इस्राएल बाक्लो झाडीभित्र थुनिएझैं भएकोले राष्ट्रहरूले त्यसलाई मदत गर्न सक्दै सकेनन्‌। अश्‍शूरीहरूले तीन वर्षसम्म घेरा हालेपछि ईसापूर्व ७४० मा इस्राएलको राजधानी सामरिया पतन भयो र त्यसपछि दस-गोत्रे राज्य फेरि कहिल्यै बसालिएन। आफ्ना बाजे-बराज्यूले यहोवाको सेवा गर्दा अवस्था कत्ति राम्रो थियो भनेर मुठीभर इस्राएलीहरूले मात्र थाह पाउने थिए। ती मुठीभर इस्राएलीहरूले बालको उपासना गर्ने थिएनन्‌ र यहोवासित फेरि करार बाँध्ने कोसिस गर्ने थिए।

नाटकतर्फ फेरि एक नजर

१४. होशेले गोमेरसित फेरि वैवाहिक सम्बन्ध गाँस्नुको कारण के थियो?

१४ होशेको पारिवारिक जीवन अनि यहोवा र इस्राएलबीचको सम्बन्ध अझ प्रष्टसँग बुझ्न यी शब्दहरूमा ध्यान दिनुहोस्‌: “परमप्रभुले मलाई भन्‍नुभयो, ‘अरू देवताहरूका पछि लाग्ने र दाखका रोटीहरूसित प्रेम गर्ने इस्राएलीहरूलाई परमप्रभुले प्रेम गर्नुभएझैं जा, नाठाकी प्यारी र व्यभिचारिणी स्त्रीलाई प्रेम गर्‌।’ ” (होशे ३:१) यस आज्ञाअनुसारै होशेले परपुरुषबाट गोमेरलाई किनेर ल्याए। त्यसपछि होशेले आफ्नी पत्नी गोमेरलाई कडा सल्लाह दिंदै भने: “तँ धेरै दिनसम्म मसित बस्नेछस्‌। तैंले वेश्‍यावृति नगर्नू, औ तँ कुनै मानिसकी स्वास्नी हुनलाई नजानू। म पनि तेरो निम्ति त्यस्तै रहनेछु।” (होशे ३:२, ३) गोमेरले होशेको सल्लाह मानेकी कारण होशेले तिनीसित फेरि वैवाहिक सम्बन्ध गाँसे। इस्राएल र यहूदाका मानिसहरूसित यहोवाले गर्नुभएको व्यवहारमा यो कुरा कसरी लागू भयो?

१५, १६. (क) अनुशासित इस्राएल राष्ट्रले के गरेमा परमेश्‍वरले दया देखाउनुहुने थियो? (ख) होशे २:१८ कसरी पूरा भएको छ?

१५ इस्राएल र यहूदाका मानिसहरूले बेबिलोनमा निर्वासित जीवन बिताइरहेको बेला परमेश्‍वरले आफ्ना अगमवक्‍ताहरूमार्फत तिनीहरूसित ‘मायालु कुरा गर्नुभयो।’ परमेश्‍वरको दया पाउन उहाँका जनहरूले पश्‍चात्ताप गर्नुपर्ने थियो र गोमेर आफ्नो पतिकहाँ फर्केझैं तिनीहरू पनि आफ्नो स्वामी यहोवाकहाँ फर्किनुपर्ने थियो। तब भने यहोवाले अनुशासित पत्नीरूपी इस्राएल राष्ट्रलाई बेबिलोनको “उजाड-स्थान[बाट]” उद्धार गरेर यहूदा र इस्राएलमा फर्काएर ल्याउनुहुने थियो। (होशे २:१४, १५) उहाँले त्यो प्रतिज्ञा ईसापूर्व ५३७ मा पूरा गर्नुभयो।

१६ परमेश्‍वरले यो प्रतिज्ञा पनि पूरा गर्नुभयो: “त्यस दिन म तिनीहरूका निम्ति वनका पशुहरू र आकाशका पक्षीहरू र जमीनमा घस्रने जन्तुहरूसित करार बाँध्नेछु। म धनु र तरवार भाँचीकन देशबाट लडाइँ दूर गरिदिनेछु। तिमीहरूलाई कुशलसित सुत्न दिनेछु।” (होशे २:१८) आफ्नो मातृभूमि फर्केका बाँकी यहूदीहरू वनका पशुहरूसित रत्तीभर नडराईकन सुरक्षितसाथ बस्न सके। इस्वी संवत्‌ १९१९ मा आध्यात्मिक इस्राएलका शेष जनहरू झूटो धर्मको विश्‍व साम्राज्य “महान्‌ बेबिलोन[बाट]” मुक्‍त हुँदा पनि यो भविष्यवाणी पूरा भयो। अहिले उनीहरू सुरक्षित अवस्थामा छन्‌ र पार्थिव आशा भएका सँगी विश्‍वासीहरू सँगसँगै आध्यात्मिक प्रमोदवनमा हाँसीखुसीसाथ जीवन बिताइरहेका छन्‌। यी साँचो मसीहीहरूमाझ पशुले जस्तो व्यवहार गर्ने कोही पनि छैन।—प्रकाश १४:८, NRV; यशैया ११:६-९; गलाती ६:१६.

पाठ सिक्नुहोस्‌

१७-१९. (क) परमेश्‍वरका कस्ता गुणहरू अनुकरण गर्न हामीलाई आग्रह गरिएको छ? (ख) यहोवाको दया र अनुकम्पाले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्ने हो?

१७ परमेश्‍वर दयालु र अनुकम्पापूर्ण हुनुभएकोले हामी पनि त्यस्तै हुनुपर्छ। होशेको सुरुका अध्यायहरूबाट सिक्न सकिने एउटा पाठ यही हो। (होशे १:६, ७; २:२३) पश्‍चात्तापी इस्राएलीहरूलाई दया देखाउन परमेश्‍वर इच्छुक हुनु यो प्रेरित हितोपदेश अनुरूप छ: “तिम्रा दोषहरू लुकायौ भने तिम्रो उन्‍नति हुँदैन, तर स्वीकार गरेर ती छोड्यौ भने तिमीले कृपादृष्टि पाउनेछौ।” (हितोपदेश २८:१३) साथै, गल्ती गरेर पश्‍चात्ताप गर्ने व्यक्‍तिहरूका लागि भजनहारका यी शब्दहरू पनि उत्तिकै सान्त्वनादायी छन्‌: “चूर्ण आत्मानै परमेश्‍वरको निम्ति बलिदान हो। हे परमेश्‍वर, चूर्ण र पूरा पश्‍चतापी हृदयलाई तपाईंले तुच्छ ठान्‍नुहुन्‍न।”—भजन ५१:१७.

१८ हामीले उपासना गर्ने परमेश्‍वरको अनुकम्पा र दयालाई होशेको भविष्यवाणीले छर्लङ्‌ग पार्छ। कुनै मसीही उहाँको धार्मिक मार्गबाट चिप्लिहाले तापनि उनीहरू पश्‍चात्ताप गरेर फेरि फर्किन सक्छन्‌। यसो गरेको खण्डमा यहोवाले उनीहरूलाई हार्दिक स्वागत गर्नुहुनेछ। आफूले प्रतीकात्मक अर्थमा वैवाहिक सम्बन्ध गाँसेका पश्‍चात्तापी इस्राएलीहरूलाई उहाँले दया देखाउनुभयो। इस्राएलीहरूले यहोवाको आज्ञा पालन गरेनन्‌ र ‘इस्राएलका पवित्र जनलाई झोंक उठाए तरैपनि उहाँ दयामा पूर्ण भएको हुनाले उहाँले यही सम्झनुभयो, कि तिनीहरू शरीर मात्र हुन्‌।’ (भजन ७८:३८-४१) यस्तो दयाले अनुकम्पापूर्ण परमेश्‍वर यहोवासित हिंडिरहन हामीलाई उत्प्रेरित गर्नुपर्ने हो।

१९ इस्राएलमा हत्या, चोरी र व्यभिचारजस्ता पापी काम जताततै भइरहेको थियो। तरैपनि यहोवाले ‘इस्राएलसित मायालु कुरा गर्नुभयो।’ (होशे २:१४; ४:२) यहोवाको दया र अनुकम्पाबारे मनन गर्दा हाम्रो हृदय जुरमुराउनुपर्ने हो र उहाँसितको हाम्रो व्यक्‍तिगत सम्बन्ध अझ कसिलो हुनुपर्ने हो। त्यसकारण हामी आफैलाई सोधौं: ‘अरूसित व्यवहार गर्दा म कसरी यहोवाको दया र अनुकम्पा राम्रोसँग अनुकरण गर्न सक्छु? मेरो चित्त दुखाउने सँगी मसीही मकहाँ आएर क्षमा माग्यो भने परमेश्‍वरले जस्तै क्षमा दिन के म तयार हुन्छु?’—भजन ८६:५.

२०. परमेश्‍वरले दिनुभएको आशामा भरोसा गर्न सकिने एउटा उदाहरण बताउनुहोस्‌।

२० परमेश्‍वर हामीलाई साँचो आशा दिनुहुन्छ। उदाहरणको लागि, उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म त्यसलाई . . . आकोरको बेंसी . . . आशाको ढोका[को]” रूपमा दिनेछु। (होशे २:१५) यहोवाको पुरातन पत्नीरूपी संगठनसित “आकोरको बेंसी” भएको मातृभूमि फर्किने पक्का आशा थियो। ईसापूर्व ५३७ मा पूरा भएको त्यस प्रतिज्ञाले हामीलाई यहोवाले हाम्रोसामु राखिदिनुभएको पक्का आशामा रमाउने ठोस कारण दिन्छ।

२१. परमेश्‍वरसित हिंड्‌ने सन्दर्भमा ज्ञानले कस्तो भूमिका खेल्छ?

२१ परमेश्‍वरसित हिंडिरहन हामीले उहाँको ज्ञान लिइरहनु र त्यस ज्ञानअनुसार जीवन बिताउनु आवश्‍यक छ। इस्राएलमा यहोवाको ज्ञान छँदै थिएन भने पनि हुन्छ। (होशे ४:१, ६) तर ईश्‍वरीय निर्देशनलाई मूल्यवान्‌ ठान्‍ने र त्यसै अनुरूप जीवन बिताएर प्रचुर आशिष्‌ पाउने व्यक्‍तिहरू पनि थिए। त्यस्ता व्यक्‍तिहरूमध्ये एक होशे थिए। त्यसै गरी एलियाको समयमा बालको सामने घुँडा नटेक्ने ७,००० जनाले पनि आशिष्‌ पाए। (१ राजा १९:१८; रोमी ११:१-४) ईश्‍वरीय निर्देशन पाएकोमा कृतज्ञ भयौं भने हामी परमेश्‍वरसित हिंडिरहन सक्नेछौं।—भजन ११९:६६; यशैया ३०:२०, २१.

२२. धर्मत्यागलाई हामीले कस्तो ठान्‍नुपर्छ?

२२ आफ्ना जनहरूलाई डोऱ्‍याउने व्यक्‍तिहरूले धर्मत्यागलाई तिरस्कार गरेको यहोवा चाहनुहुन्छ। तर होशे ५:१ यसो भन्छ: “हे पूजाहारी हो, यो कुरा सुन। हे इस्राएलका घराना हो, ध्यान दिएर सुन, हे राजाको घराना हो, कान थापेर सुन किनभने न्यायको फैसला तिमीहरूको विरुद्धमा छ, किनभने तिमीहरू मिस्पामा पासो र तबोरमा जाल भएका छौ।” इस्राएलीहरूका लागि धर्मत्यागी नेताहरू पासो र जाल जत्तिकै खतरनाक थिए किनकि तिनीहरूले इस्राएलीहरूलाई मूर्तिपूजा गर्न लोभ देखाउँथे। तबोर डाँडा र मिस्पा झूटो उपासनाका केन्द्रहरू थिए।

२३. होशे अध्याय १ देखि ५ सम्म अध्ययन गरेर तपाईंले कस्तो लाभ उठाउनुभयो?

२३ यहोवा आशा दिनुहुने र उहाँको निर्देशनअनुसार जीवन बिताउने अनि धर्मत्यागलाई तिरस्कार गर्नेलाई आशिष्‌ दिनुहुने दयालु परमेश्‍वर हुनुहुन्छ भनेर होशेको भविष्यवाणीले छर्लङ्‌ग पारेको छ। त्यसकारण आउनुहोस्‌, पुरातन समयका इस्राएलीहरूले जस्तै हामी पनि यहोवाको खोजी गरौं र उहाँलाई खुसी पार्ने सधैं प्रयास गरिरहौं। (होशे ५:१५) यसो गऱ्‍यौं भने असल कुरा कटनी गर्नेछौं र परमेश्‍वरसित विश्‍वासीपूर्वक हिंड्‌ने व्यक्‍तिहरूले अनुभव गर्ने असीम आनन्द र शान्ति महसुस गर्नेछौं।—भजन १००:२; फिलिप्पी ४:६, ७.

[फुटनोट]

a गलाती ४:२१-२६ मा एउटा लाक्षणिक नाटक पाइन्छ। यस विषयमा यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द इस्क्रिप्चर्स्‌-को खण्ड २, पृष्ठ ६९३-६९४ हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• होशे र गोमेरबीचको विवाहले कुन कुरालाई चित्रण गऱ्‍यो?

• इस्राएलीहरूसित यहोवाको कस्तो विवाद थियो?

• होशे अध्याय १ देखि ५ सम्मको कुन पाठ तपाईंलाई असाध्यै मनपऱ्‍यो?

[पृष्ठ १८-मा भएको चित्र]

तपाईंलाई थाह छ, होशेकी पत्नीले कसलाई चित्रण गर्छ?

[पृष्ठ १९-मा भएको चित्र]

ईसापूर्व ७४० मा अश्‍शूरीहरूले सामरियाका बासिन्दाहरूलाई बन्दी बनाएर लगे

[पृष्ठ २०-मा भएको चित्र]

आनन्दित मानिसहरू आफ्नो मातृभूमि फर्कन्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने