प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १/१ पृ. ६-११
  • सबैले यहोवाको महिमा गरून्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैले यहोवाको महिमा गरून्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “सेनाहरूका परमप्रभु [यहोवा]” बोल्नुहुन्छ
  • महिमित आध्यात्मिक मन्दिर
  • “म तिमीहरूसँगै छु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • तिमीहरूका हातहरू बलिया होऊन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • हाग्गै र जकरियाको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • “म सबै जातिलाई हल्लाउनेछु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १/१ पृ. ६-११

सबैले यहोवाको महिमा गरून्‌!

“पूर्वमा परमप्रभुको [“यहोवाको,” NW] महिमा गर।”—यशैया २४:१५.

१. आज मसीहीजगत्‌को कस्तो मनोवृत्ति विपरीत उहाँका अगमवक्‍ताहरूले कुन तरिकामा यहोवाको नाउँ लिन्थे?

यहोवा—परमेश्‍वरको महिमित नाउँ! पहिले पहिलेका विश्‍वासी अगमवक्‍ताहरू त्यस नाउँमा बोल्न पाउँदा कत्ति हर्षित हुन्थे! रमाउँदै तिनीहरू आफ्नो सार्वभौम प्रभु यहोवाको महिमा गर्थे जसको नाउँले उहाँ महान्‌ उद्देश्‍यकर्ता हुनुहुन्छ भन्‍ने परिचय दिन्छ। (यशैया ४०:५; यर्मिया १०:६, १०; इजकिएल ३६:२३) कम महत्त्वका अगमवक्‍ताहरू भनेर चिनिने अगमवक्‍ताहरूले समेत यहोवालाई सशक्‍त ढंगमा महिमा चढाउँथे। तिनीहरूमध्ये हाग्गै पनि थिए। जम्मा ३८ पदहरू मात्रै भएको हाग्गैको पुस्तकमा परमेश्‍वरको नाउँ भने ३५ पटक प्रयोग गरिएको छ। त्यस्तो बहुमूल्य नाउँ, यहोवाको ठाउँमा मसीहीजगत्‌का अति मुख्य प्रेरितहरूले आफ्नो बाइबल अनुवादमा “परमप्रभु” पदावली राख्दा यस्ता भविष्यवाणीहरू निर्जीव देखिन्छन्‌।—२ कोरिन्थी ११:५ तुलना गर्नुहोस्‌।

२, ३. (क) इस्राएलको पुनर्स्थापनासम्बन्धी एउटा उल्लेखनीय अगमवाणीको पूर्ति कसरी भयो? (ख) शेष यहूदी तथा तिनीहरूका सहयोगीहरू कस्तो आनन्दमा सहभागी भए?

२ यशैया १२:२ मा त्यस नाउँको दुइ रूप प्रयोग गरिएको छ।a अगमवक्‍ता यस्तो घोषणा गर्छन्‌: “हेर, परमेश्‍वर मेरा उद्धारक हुनुहुन्छ। म विश्‍वास गर्नेछु। म डराउनेछैनँ, किनकि परमप्रभु परमेश्‍वर [“याह यहोवा,” NW] मेरा शक्‍ति र भजन हुनुहुन्छ। उहाँमानै मेरो उद्धार छ।” (यशैया २६:४ पनि हेर्नुहोस्‌।) त्यसैकारण इस्राएलले बेबिलोनको कैदबाट छुटकारा पाउनुभन्दा झन्डै २०० वर्षअघि अगमवक्‍ता यशैया मार्फत याह यहोवाले उहाँ तिनीहरूको शक्‍तिशाली उद्धारक हुनुहुन्थ्यो भनेर आश्‍वासन दिइरहनुभएको थियो। तिनीहरूले सा.यु.पू. ६०७ देखि ५३७ सम्म कैदी जीवन बिताउनुपऱ्‍यो। यशैयाले यसो पनि लेखे: “म परमप्रभु [“यहोवा,” NW] हुँ, जसले सारा थोकलाई बनायो, . . . जसले कोरेसका बारेमा भन्छ, त्यो मेरो गोठाला हो, र मेरो सबै इच्छा त्यसले पूरा गर्छ। यरूशलेमको बारेमा पनि यसो भन्छ, त्यो फेरि बनाइनेछ। औ मन्दिरको बारेमा चाहिं, ‘तेरो जग बसालिनेछ।’ ” यी कोरेस को थिए? उल्लेखनीय कुरा, तिनी सा.यु.पू. ५३९ मा बेबिलोनलाई जित्ने फारसका राजा कोरेस साबित भए।—यशैया ४४:२४, २८.

३ यशैयामा लिपिबद्ध यहोवाका शब्दहरूअनुरूप कोरेसले कैदमा परेको इस्राएललाई यस्तो आदेश दिए: “अहिले तिनीहरूका बीचमा हुने उहाँको प्रजाको हरेक मानिसलाई म यो भन्दछु, ‘परमेश्‍वर त्यससँग रहून्‌। त्यो मानिस यहूदाको यरूशलेममा उक्लेर जाओस्‌, र यरूशलेम शहरमा हुनुहुने परमेश्‍वरको भवन त्यसले फेरि निर्माण गरोस्‌।’ ” अत्यन्त हर्षित भएका शेष यहूदीहरूलगायत गैरइस्राएली नेथिनिम तथा सुलेमानका चाकरहरूका सन्तान यरूशलेम फर्के। तिनीहरू त्यहाँ सा.यु.पू. ५३७ को झुप्रो-बासको चाड मनाउने समयमा पुगे र तिनीहरूले यहोवालाई उहाँको वेदीमा भेटीहरू चढाए। लगत्तै अर्को वर्षको दोस्रो महिनामा तिनीहरूले दोस्रो मन्दिरको जग बसाले र आनन्दित हुँदै चर्को स्वरले यहोवाको प्रशंसा गरे।—एज्रा १:१-४; २:१, २, ४३, ५५; ३:१-६, ८, १०-१३.

४. यशैया अध्याय ३५ र ५५ कसरी पूर्ति भयो?

४ पुनर्स्थापनासम्बन्धी यहोवाले गर्नुभएको भविष्य वाणी इस्राएलमा महिमित तरिकाले पूर्ति हुनुपर्ने थियो: “उजाड़ र निर्जल-भूमि हर्षित हुनेछ। मरुभूमि रमाउनेछ। वसन्तको फूलझैं त्यो फक्रनेछ। . . . तिनीहरूले परमप्रभुको महिमा र हाम्रा परमेश्‍वरको प्रताप देख्नेछन्‌।” “तिमीहरू आनन्दसाथ जानेछौ, र शान्तिमा डोराइनेछौ। पर्वत र डाँड़ाहरू तिनीहरूका सामने गाउँदै निस्कनेछन्‌, . . . त्यो परमप्रभुको नाउँको निम्ति हुनेछ। त्यो कहिल्यै नमेटिने सदा सर्वदाको चिह्नको निम्ति हुनेछ।”—यशैया ३५:१, २; ५५:१२, १३.

५. इस्राएलको आनन्द किन क्षणिक थियो?

५ तथापि, त्यो आनन्द क्षणिक थियो। वरपरका मानिसहरूले मन्दिर निर्माण गर्न यहूदीहरूसित वैवाहिक सम्बन्ध गाँस्न खोजे। सुरुमा त यहूदीहरू झुकेनन्‌। बरु तिनीहरूले यसो भने: “यो भवन जो हामी हाम्रा परमेश्‍वरका निम्ति निर्माण गरिरहेका छौं त्यसमा तिमीहरूको केही सम्बन्ध छैन। फारसका महाराजा कोरेसले हामीलाई आज्ञा गर्नुभएझैं हाम्रा परमप्रभु इस्राएलका परमेश्‍वरका निम्तिको यो भवन हामी मात्र निर्माण गर्नेछौं।” त्यसपछि वरपरका मानिसहरूले घोर विरोध गर्न थाले। तिनीहरूले “यहूदीहरूको मन निराश गराइदिए, र त्यो भवन निर्माण गर्न त्रासमा पारिदिए।” तिनीहरूले कोरेसका उत्तराधिकारी आर्ट-जारसेजलाई चुक्ली लगाए। फलतः तिनले मन्दिर निर्माणमा प्रतिबन्ध लगाए। (एज्रा ४:१-२४) त्यसपछि १७ वर्षसम्म काम ठप्प रोकियो। दुःखको कुरा, त्यसपछि यहूदीहरूले भौतिकवादी जीवन बिताउन थाले।

“सेनाहरूका परमप्रभु [यहोवा]” बोल्नुहुन्छ

६. (क) इस्राएलको परिस्थितिप्रति यहोवाले कस्तो सकारात्मक प्रतिक्रिया व्यक्‍त गर्नुभयो? (ख) हाग्गै नाउँको सम्भाव्य अर्थ किन उपयुक्‍त छ?

६ तापनि यहूदीहरूलाई तिनीहरूको दायित्त्व बोध गराउन यहोवाले विशेषगरि हाग्गै र जकरिया अगमवक्‍ताहरू पठाउनुभएर “आफ्नो बल तथा शक्‍ति” प्रकट गर्नुभयो। हाग्गैको नाउँ चाडसित सम्बन्धित छ। किनकि तिनको नाउँको अर्थ, “चाडमा जन्मिएको” हुनसक्छ। अतः तिनले झुप्रो-बासको चाडको पहिलो दिनदेखि नै भविष्यवाणी भन्‍न थाल्नु सुहाउँदो कुरा हो। त्यो चाडमा यहूदीहरू “औधी हर्षित” हुनुपर्थ्यो। (व्यवस्था १६:१५) हाग्गै मार्फत यहोवाले ११२ दिनभित्र चारवटा सन्देशहरू पठाउनुभयो।—हाग्गै १:१; २:१, १०, २०.

७. हाग्गैका प्रारम्भिक शब्दहरूले हामीलाई कसरी प्रोत्साहित गर्नुपर्ने हो?

७ अगमवाणीको थालनीमै हाग्गैले यसो भने: “सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।” (हाग्गै १:२क) ती “सेनाहरू” को होलान्‌? तिनीहरू यहोवाका स्वर्गदूतीय पल्टन हुन्‌ र तिनीहरूलाई बाइबलमा कहिलेकाहीं सैन्य शक्‍ति भनेर पनि सम्बोधन गरिएको छ। (अय्यूब १:६; २:१; भजन १०३:२०, २१; मत्ती २६:५३) सार्वभौम प्रभु यहोवाले नै पृथ्वीमा हामीलाई साँचो उपासना पुनर्स्थापित गर्ने कार्यमा डोऱ्‍याउन यी अविजेय आकाशीय शक्‍तिहरू प्रयोग गरिरहनुभएको छ भन्‍ने कुराले के आज हामीलाई प्रोत्साहित गर्दैन र?—२ राजा ६:१५-१७ तुलना गर्नुहोस्‌।

८. इस्राएलीहरूलाई कस्तो झुकाउले प्रभाव पारेको थियो र यसको परिणाम के भयो?

८ हाग्गैको पहिलो सन्देशको विषयवस्तु के थियो? मानिसहरूले भनेका थिए: “परमप्रभुको भवन बनाउने समय अझ आएको छैन।” ईश्‍वरीय उपासनाको पुनर्स्थापनालाई प्रतिनिधित्व गर्ने मन्दिर निर्माण कार्यलाई तिनीहरूले कहिल्यै प्राथमिकता दिएनन्‌। तिनीहरू आफ्नैनिम्ति भव्य घरहरू बनाउँदै थिए। भौतिकवादी झुकाउले गर्दा यहोवाको उपासनाप्रति तिनीहरूको जोस सुस्त भएको थियो। फलतः तिनीहरूमाथि उहाँको आशिष्‌ हटाइएको थियो। तिनीहरूको भूमि बञ्जर हुन थालिसकेको थियो र कठ्यांग्रिने जाडो यामको लागि तिनीहरूसित लत्ताकपडा थिएनन्‌। तिनीहरू आर्थिक अभावमा पिल्सिएका थिए। मानौं तिनीहरूले आ-आफ्नो कमाइ प्वालैप्वाल भएको थैलीमा राखिरहेका थिए।—हाग्गै १:२ख-६.

९. यहोवाले कसरी सशक्‍त तथा प्रोत्साहनदायी तरिकाले हप्काउनुभयो?

९ दुइ पटक यहोवाले जोडसित हप्काउनुभयो: “तिमीहरू आफ्ना आफ्ना चालको विचार गर।” प्राप्त प्रमाणअनुसार यरूशलेमका बडाहाकिम यरूबाबेल र प्रधानपूजाहारी यहोशूलेb सकारात्मक प्रतिक्रिया जनाए र सबै मानिसलाई “परमप्रभु आफ्ना परमेश्‍वरको वचन [सुन्‍न] र, हाग्गै अगमवक्‍ताको कुरा [मान्‍न]” साहसपूर्वक प्रोत्साहन दिए। “र सो प्रजाले परमप्रभुको डर माने।” यसबाहेक, “परमप्रभुको दूत हाग्गैले परमप्रभुको यो समाचार प्रजालाई सुनाए, म तिमीहरूसँगै छु भनी परमप्रभु भन्‍नुहुन्छ।”—हाग्गै १:५, ७-१४.

१०. स्राएलका लागि यहोवाले आफ्नो शक्‍ति कसरी प्रयोग गर्नुभयो?

१० यरूशलेमका केही बूढापाकाहरूले पहिलेको मन्दिरको तुलनामा पुनर्स्थापित मन्दिर ‘भव्य’ हुनेछैन भन्ठानेका थिए होलान्‌। तथापि, ५१ दिनपश्‍चात्‌ यहोवाले हाग्गैलाई दोस्रो सन्देश घोषणा गर्न उत्प्रेरित गर्नुभयो। तिनले यस्तो घोषणा गरे: “परमप्रभु भन्‍नुहुन्छ, . . . ‘हे यरूबाबेल साहस गर्‌, र हे यहोसादाकको छोरो यहोशू प्रधान पूजाहारी, साहस गर्‌।’ परमप्रभु भन्‍नुहुन्छ, ‘हे देशका सबै प्रजा हो, साहस गर, काम शुरू गर किनभने म तिमीहरूका साथमा छु’ भनी सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ। . . . ‘तिमीहरू नडराऊ।’ ” निर्धारित समयमा यहोवाले आफ्नो सर्वोच्च शक्‍ति ‘स्वर्ग र पृथ्वीलाई हल्लाउन’ प्रयोग गर्नुहुनेथियो। यसबाहेक हर प्रकारका विरोधलगायत सम्राटले गरेको प्रतिबन्धलाई समेत नाकाम तुल्याउन सकिने कुरा उहाँले पक्का गर्नुभयो। पाँच वर्षभित्र मन्दिरको सम्पूर्ण निर्माण कार्य टुंगियो।—हाग्गै २:३-६.

११. परमेश्‍वरले दोस्रो मन्दिरलाई कसरी ‘अझ बढता महिमाले’ परिपूर्ण पार्नुभयो?

११ त्यतिखेर यो उल्लेखनीय प्रतिज्ञा पूरा भयो: “ ‘सबै जाति जातिका धन-सम्पत्तिहरू आउनेछ, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु’ भनी सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।” (हाग्गै २:७) यी “धन-सम्पत्तिहरू” उहाँको महान्‌ उपस्थितिको महिमा प्रतिबिम्ब भएको देखेर त्यस मन्दिरमा उपासना गर्न आउने गैरइस्राएलीहरू साबित भए। यो पुनर्स्थापित मन्दिर सुलेमानको समयमा निर्माण गरिएको मन्दिरको तुलनामा कस्तो थियो? परमेश्‍वरको अगमवक्‍ताले यसरी घोषणा गरे: “यस भवनको पछिको महिमा अघिको भन्दा अझ बढ़ता हुनेछ भनी सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।” (हाग्गै २:९) पुनर्स्थापित मन्दिर सुलेमानले बनाएको मन्दिरभन्दा धेरै समयसम्म रहनु यो भविष्यवाणीको प्रारम्भिक पूर्ति हो। सा.यु. २९ मा मसीह देखापर्नुहुँदा पनि त्यो मन्दिर अस्तित्वमा थियो। यसबाहेक, सा.यु. ३३ मा उहाँका धर्मत्यागी शत्रुहरूले उहाँको हत्या गर्नुअघि स्वयं मसीहले त्यस मन्दिरमा सत्य प्रचार गर्नुभएर यसको महिमा गर्नुभयो।

१२. पहिलेका दुइ मन्दिरहरूले कुन उद्देश्‍य पूरा गरे?

१२ मसीहले पूजाहारीको रूपमा गर्नुहुने सेवाका महत्त्वपूर्ण कार्यहरू प्रतिबिम्बित गर्न र मसीह प्रकट नहोउञ्जेल यस पृथ्वीमा यहोवाको शुद्ध उपासनालाई कायम राख्न यरूशलेमको पहिलो र दोस्रो मन्दिरले प्रमुख भूमिका निर्वाह गऱ्‍यो।—हिब्रू १०:१.

महिमित आध्यात्मिक मन्दिर

१३. (क) आध्यात्मिक मन्दिरको सम्बन्धमा सा.यु. २९ देखि ३३ सम्म के कस्ता घटनाहरू भए? (ख) यी घटनाक्रममा येशूको छुडौतीको बलिदानले कस्तो महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्‍यो?

१३ पुनर्स्थापनासम्बन्धी हाग्गैको भविष्यवाणीले के पछिल्लो समयको लागि पनि केही खास अर्थ राख्छ? पक्कै पनि राख्छ! यरूशलेमको मन्दिर पुनर्स्थापित भएपछि पृथ्वीभरि नै यो साँचो उपासनाको केन्द्र भयो। तर यसले त्योभन्दा अझ महिमित आध्यात्मिक मन्दिरलाई पूर्वचित्रित गर्थ्यो। सा.यु. २९, यर्दन नदीमा येशूको बप्तिस्मा हुँदा यहोवाले येशूलाई प्रधानपूजाहारीको रूपमा अभिषेक गर्नुभयो र पवित्र आत्मा उहाँमाथि ढुकुरझैं ओर्लियो। त्यस उप्रान्त यो आध्यात्मिक मन्दिर परिचालन हुनथाल्यो। (मत्ती ३:१६) बलिदानरूपी मृत्युपश्‍चात्‌ येशूले आफ्नो पार्थिव सेवकाई पूरा गर्नुभएपछि स्वर्ग अर्थात्‌ मन्दिरको महापवित्र ठाउँमा उहाँको पुनरुत्थान भयो। र त्यहाँ उहाँले यहोवासमक्ष आफ्नो बलिदान अर्पण गर्नुभयो। यो अर्पण गरिएको बलिदान छुडौतीको मोल भयो। यसले उहाँका चेलाहरूका पाप ढाक्यो र पेन्तिकोस सा.यु. ३३ का दिन, तिनीहरूलाई यहोवाको आध्यात्मिक मन्दिरको उपपूजाहारीको रूपमा अभिषेक गर्ने बाटो खोल्यो। पृथ्वीमा भएको मन्दिरको चोकमा तिनीहरूले मृत्युसम्मै विश्‍वासपूर्वक सेवा गरेको हुँदा भविष्यमा तिनीहरूको स्वर्गीय पुनरुत्थान हुनेथियो र तिनीहरूले निरन्तर पूजाहारीको सेवा चढाइरहने थिए।

१४. (क) प्रारम्भिक मसीही मण्डलीको जोसिलो क्रियाकलापको दौडान कस्तो आनन्द प्राप्त भयो? (ख) यो आनन्द किन क्षणिक थियो?

१४ हजारौं पश्‍चात्तापी यहूदी र पछि गैरयहूदीहरू त्यस मसीही मण्डलीमा ओइरिए। अनि पृथ्वीमा शासन गर्ने परमेश्‍वरको आउँदै गरेको राज्यको सुसमाचार घोषणा गर्ने काममा सहभागी भए। लगभग ३० वर्षपछि प्रेरित पावलले “स्वर्गमनि भएका सारा सृष्टिमा” त्यो सुसमाचार प्रचार गरिसकियो भन्‍न सके। (कलस्सी १:२३) तर प्रेरितहरूको मृत्युपश्‍चात्‌ ठूलो धर्मत्याग सुरु भयो र सत्यको ज्योति धिपधिपाउन थाल्यो। गैरमसीही शिक्षा तथा दर्शनहरूमा आधारित मसीहीजगत्‌का पन्थवादले साँचो मसीही धर्मलाई ढाक्न थाल्यो।—प्रेरित २०:२९, ३०.

१५, १६. (क) सन्‌ १९१४ मा अगमवाणी कसरी पूरा भयो? (ख) उन्‍नाइसौं शताब्दीको अन्तमा र २० औं शताब्दीको प्रारम्भमा जम्मा गर्ने कस्तो काम भयो?

१५ त्यसरी कैयौं शताब्दी बिते। अन्ततः सन्‌ १८७० को दशकमा निष्कपट मसीहीहरूको एउटा समूह बाइबलको गहिरो अध्ययन गर्न व्यस्त हुन थाल्यो। धर्मशास्त्रबाट तिनीहरूले “अन्य जातिको समय” सन्‌ १९१४ मा अन्त हुनेछ भनेर औंल्याउनसके। त्यतिखेरै पृथ्वीको मसीह राजा हुने “अधिकार[प्राप्त]” ख्रीष्ट येशूको स्वर्गमा राज्यारोहण भयो र लाक्षणिक सात “काल” (२,५२० वर्ष लामो पशुको जस्तो मानव शासन) सिद्धियो। (लूका २१:२४; इजकिएल २१:२६, २७; दानिएल ४:२५) हाल यहोवाका साक्षीहरू भनेर चिनिने यी बाइबल स्टुडेन्टस्‌ विशेषगरि सन्‌ १९१९ उप्रान्त पृथ्वीभरि परमेश्‍वरको आउँदै गरेको राज्यको सुसमाचार जोडतोडले फैलाउँदैछन्‌। सन्‌ १९१९ मा यिनीहरूमध्ये केही हजारले सं.रा.अ., सिडार प्वाइन्ट, ओहायोमा सम्पन्‍न अधिवेशनमा गरिएको आह्वानप्रति सकारात्मक प्रतिक्रिया जनाए। सन्‌ १९३५ सम्म तिनीहरूको संख्या बढ्‌दै गयो र त्यस वर्ष ५६,१५३ जनाले क्षेत्र सेवकाईको रिपोर्ट दिए। त्यही वर्ष ५२,४६५ जनाले येशूको मृत्युको वार्षिक स्मरणार्थको प्रतीक रोटी र दाखरसमा भाग लिएका थिए। यसरी तिनीहरूले यहोवाको स्वर्गस्थित महान्‌ आध्यात्मिक मन्दिरमा ख्रीष्ट येशूसित पूजाहारीहरू हुने आ-आफ्नो आशालाई प्रतीकात्मक रूप दिए। तिनीहरूले मसीहको राज्यमा उहाँसितै सह-शासकको रूपमा पनि सेवा गर्नेछन्‌।—लूका २२:२९, ३०; रोमी ८:१५-१७.

१६ तथापि, यी अभिषिक्‍त मसीहीहरूको कुल संख्या १,४४,००० मै सीमित छ भनेर प्रकाश ७:४-८ अनि १४:१-४ ले देखाउँछ। तीमध्ये कतिपय त प्रथम शताब्दीमै अर्थात्‌ ठूलो धर्मत्याग सुरु हुनुअगावै जम्मा गरिसकिएका थिए। उन्‍नाइसौं शताब्दीको अन्तदेखि २० औं शताब्दीमा यहोवाले उक्‍त समूहलाई जम्मा गर्ने काम पूरा गर्नुभएको छ। त्यतिखेरै ती मानिसहरू उहाँको वचनद्वारा शुद्ध पारिए, येशूको प्रायश्‍चितको बलिदानमाथिको विश्‍वासद्वारा धर्मी ठहराइए, र अन्ततः १,४४,००० संख्या पूरा भएपछि तिनीहरू अभिषिक्‍त मसीहीहरूको रूपमा छाप लगाइए।

१७. (क) सन्‌ १९३० को दशकदेखि कस्तो जम्मा गर्ने काम भइरहेको छ? (ख) यस सम्बन्धमा यूहन्‍ना ३:३० किन चाखलाग्दो छ? (लूका ७:२८ पनि हेर्नुहोस्‌।)

१७ अभिषिक्‍त जनका सबै सदस्यहरू छानिसकेपछि के हुन्छ? सन्‌ १९३५, वाशिङटन डी.सी., सं.रा.अ.-मा आयोजित ऐतिहासिक अधिवेशनमा प्रकाश ७:९-१७ को “ठूलो भीड़” को हो, प्रष्ट बुझाइयो। स्पष्टीकरणअनुसार यो “ठूलो भीड़[ले]” यसै पार्थिव प्रमोदवनमा अनन्त जीवन प्राप्त गर्छ। तिनीहरू १,४४,००० का शेष जनहरू जम्मा गरिसकेपछि जम्मा गरिने थिए। अभिषिक्‍त येशूको स्पष्ट परिचय दिएपछि बप्तिस्मा दिने यूहन्‍नाले मसीहबारे यसो भने: “उहाँ बढ़नु, तर म चाहिं घट्‌नु आवश्‍यक छ।” तिनको पुनरुत्थान “अरू भेड़ा[को]” जस्तै यही पृथ्वीमा हुनेछ। (यूहन्‍ना १:२९; ३:३०; १०:१६; मत्ती ११:११) त्यस बखत मसीहको निम्ति चेलाहरू छान्‍ने तिनको काम बन्द हुनै लागेको थियो किनभने येशूले १,४४,००० मध्ये हुने मानिसहरूलाई छान्‍न थालिसक्नुभएको थियो। तर सन्‌ १९३० को दशकमा भने यो प्रक्रिया उल्टियो। थोरै मानिसहरूलाई मात्र १,४४,००० मध्ये हुन ‘बोलाइए र चुनिए’ भने “अरू भेड़ा[को]” “ठूलो भीड़” धमाधम बढ्‌न थाल्यो। यो दुष्ट रीतिरिवाज आरमागेडोनमा नष्ट हुने समय नजीकिंदै जाँदा यो ठूलो भीड धमाधम बढ्‌छ।—प्रकाश १७:१४ख.

१८. (क) “अहिले बाँचिरहेका लाखौं मानिसहरू कहिल्यै मर्नेछैनन्‌” भनेर हामी किन दृढतापूर्वक भन्‍नसक्छौं? (ख) हामीले हाग्गै २:४ लाई किन जोसिलो भई पालन गर्नुपर्छ?

१८ सन्‌ १९२० दशकको प्रारम्भमा यहोवाका साक्षीहरूले “अहिले बाँचिरहेका लाखौं मानिसहरू कहिल्यै मर्नेछैनन्‌” शीर्षकमा जनभाषण दिएका थिए। यो वाक्य त्यतिखेर अति आशावादी देखिएको हुनसक्छ। तर आज उक्‍त वाक्य दृढतापूर्वक भन्‍न सकिन्छ। झन्‌ झन्‌ प्रष्टिंदै गइरहेको बाइबलका भविष्यवाणीहरू र मरणान्त अवस्थामा पुगेको यस संसारको अराजकता दुवैले शैतानको रीतिरिवाजको अन्त निकै नजीक छ भन्‍ने बलियो संकेत दिन्छन्‌! सन्‌ १९९६ को स्मरणार्थ प्रतिवेदनले स्मरणार्थमा उपस्थित १,२९,२१,९३३ मध्ये ८,७५७ ले (.०६८ प्रतिशत) मात्र प्रतीकमा भाग लिएर स्वर्गीय आशाको संकेत गरे। साँचो उपासनाको पुनर्स्थापना पूरा हुनै लागेको छ। त्यसैले कहिल्यै ढिलासुस्ती नगर्नुहोस्‌। हो, हाग्गै २:४ यसो भन्छ: “हे देशका सबै प्रजा हो, साहस गर, काम शुरू गर किनभने म तिमीहरूका साथमा छु भनी सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।” हामीलाई यहोवाको कार्यमा भौतिकवाद वा सांसारिक कामकुराले कहिल्यै सुस्त पार्न नसकोस्‌ भनी पूर्णतया निश्‍चयी हुनसकौं।—१ यूहन्‍ना २:१५-१७.

१९. हामी कसरी हाग्गै २:६, ७ को पूर्तिमा सहभागी हुनसक्नेछौं?

१९ हाग्गै २:६, ७ को आधुनिक पूर्तिमा भाग लिन पाउनु हाम्रो आनन्ददायी विशेषाधिकार हो: “सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, ‘अब थोरै बेर बाँकी छ, र म फेरि आकाश, पृथ्वी, समुद्र र जमीन सबैलाई हल्लाउनेछु। औ सबै जातिहरूलाई हल्लाउनेछु, र सबै जाति जातिका धन-सम्पत्तिहरू आउनेछ, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु’ भनी सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।” यस २० औं शताब्दीभरि संसारमा लोभ, भ्रष्टाचार र घृणा सर्वव्याप्त छ। पक्कै पनि यसको अन्तिम घडी आइपुगेको छ र यहोवाले आफ्ना साक्षीहरूलाई ‘उहाँको बदला दिने दिनको घोषणा गर्न’ लाउनुभएर यसलाई ‘हल्लाउन’ थालिसक्नुभएको छ। (यशैया ६१:२) यसरी यहोवाले हल्लाउन थाल्नुभएको काम आरमागेडोनमा संसारको विनाशसँगसँगै चरमोत्कर्षमा पुग्नेछ तर त्यो समय नआउञ्जेल यहोवाले उहाँको सेवाको निम्ति “सबै जाति जातिका धन-सम्पत्ति” अर्थात्‌ पृथ्वीका नम्र भेडाखाले मानिसहरू जम्मा गर्नुहुँदैछ। (यूहन्‍ना ६:४४) यो “ठूलो भीड़[ले]” हाल उहाँको उपासनाको भवनको पार्थिव चोकमा ‘पवित्र सेवा चढाइरहेका’ छन्‌।—प्रकाश ७:९, १५.

२०. अति प्रिय सम्पत्ति कहाँ पाइन्छ?

२० यहोवाको आध्यात्मिक मन्दिरमा सेवा गर्दा हुने फाइदा कुनै पनि भौतिक धनसम्पत्तिभन्दा बहुमूल्य छ। (हितोपदेश २:१-६; ३:१३, १४; मत्ती ६:१९-२१) यसबाहेक, हाग्गै २:९ यसो भन्छ: “ ‘यस भवनको पछिको महिमा अघिको भन्दा अझ बढ़ता हुनेछ,’ भनी सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ। ‘अनि यस ठाउँमा म शान्ति ल्याउनेछु,’ भनी सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।” यी शब्दहरूले आज हाम्रोनिम्ति के अर्थ राख्छन्‌? अर्को लेखले बताउनेछ।

[फुटनोटहरू]

a “याह यहोवा” अभिव्यक्‍ति विशेष जोड दिन प्रयोग गरिन्छ। धर्मशास्त्रमाथि अन्तरदृष्टि, (अंग्रेजी) खण्ड १, पृष्ठ १२४८ हेर्नुहोस्‌।

b एज्रा र बाइबलका अन्य पुस्तकहरूमा येशूअ।

पुनरावृत्तिका लागि प्रश्‍नहरू:

◻ यहोवाको नाउँको सन्दर्भमा हामीले कुन कुन अगमवक्‍ताहरूको अनुकरण गर्नुपर्ने हो?

◻ यहोवाले पुनर्स्थापित इस्राएललाई दिनुभएको शक्‍तिशाली सन्देशबाट हामी कस्तो प्रोत्साहन पाउँछौं?

◻ आज कुन महिमित आध्यात्मिक मन्दिर परिचालित छ?

◻ उन्‍नाइसौं र २० औं शताब्दीका दौडान क्रमिकरूपमा के कस्ता जम्मा हुने कामहरू भए र कुन महान्‌ प्रत्याशाका साथ?

[पृष्ठ ७-मा भएको चित्र]

यहोवाका स्वर्गदूतीय सेनाले पृथ्वीमा रहेका उहाँका साक्षीहरूलाई डोऱ्‍याउनुका साथै सँभाल्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने