प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 जुलाई पृ. २-७
  • के तपाईँ चेला बनाउने काममा मदत गर्न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ चेला बनाउने काममा मदत गर्न सक्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले प्रचार गर्ने र सिकाउने आज्ञा दिनुभयो
  • प्रेमले हामीलाई चेला बनाउन उत्प्रेरित गर्छ
  • अन्य चुनौतीहरू कसरी पार गर्न सक्छौँ?
  • चेला बनाउँदा पाइने आनन्द अनुभव गर्नुहोस्‌
  • चेला बनाउने कामबाट आनन्द उठाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “जाओ . . . चेला बनाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • “त्यसैले जाओ र . . . चेला बनाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • ख्रिष्टका आज्ञाहरू पालन गर्न तपाईँ अरूलाई कसरी मदत गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 जुलाई पृ. २-७

अध्ययन लेख २६

के तपाईँ चेला बनाउने काममा मदत गर्न सक्नुहुन्छ?

“परमेश्‍वरले नै . . . तिमीहरूमा इच्छा पैदा गर्नुहुन्छ र त्यो पूरा गर्ने शक्‍ति पनि दिनुहुन्छ।”—फिलि. २:१३.

गीत ६४ रम्दै सरिक होऊ कटनीकार्यमा

परिचयa

१. यहोवाले तपाईँको लागि के-के गर्नुभएको छ?

तपाईँ कसरी यहोवाको साक्षी बन्‍नुभयो? सुरुमा तपाईँले आफ्नो बुबाआमा, सहकर्मी वा सहपाठीबाट अथवा घरघरको साक्षीकार्यमार्फत “सुसमाचार” सुन्‍नुभयो होला। (मर्कु. १३:१०) त्यसपछि कसैले आफ्नो समय र शक्‍ति खर्च गरेर तपाईँलाई बाइबल अध्ययन गराए होलान्‌। अध्ययनको दौडान तपाईँले यहोवालाई प्रेम गर्न थाल्नुभयो र उहाँ पनि तपाईँलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरा सिक्नुभयो। यहोवाले तपाईँलाई सत्यतर्फ खिच्नुभयो र अहिले येसु ख्रिष्टको चेलाको हैसियतमा तपाईँसित अनन्त जीवनको आशा छ। (युह. ६:४४) यहोवाले कसैलाई चलाएर तपाईँलाई सत्य सिकाउनुभएकोमा र उहाँको एक जना सेवकको रूपमा तपाईँलाई स्विकार्नुभएकोमा तपाईँ उहाँप्रति पक्कै कृतज्ञ हुनुहुन्छ।

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ अहिले हामीलाई बाइबलको सत्य थाह भएकोले हामीसित अरूलाई जीवनको बाटोमा हिँड्‌न मदत गर्ने सुअवसर छ। हामीलाई घरघरको साक्षीकार्यमा भाग लिन सजिलो लाग्छ होला तर बाइबल अध्ययनको प्रस्ताव राख्न र अध्ययन सञ्चालन गर्न भने चुनौतीपूर्ण लाग्न सक्छ। के तपाईँ पनि त्यस्तै महसुस गर्दै हुनुहुन्छ? हुनुहुन्छ भने यस लेखमा छलफल गरिएका केही सुझावहरूले सायद तपाईँलाई पनि मदत गर्नेछ। चेला बनाउन हामीलाई कुन कुराले उत्प्रेरित गर्छ, त्यसबारे हामी छलफल गर्नेछौँ। बाइबल अध्ययन सञ्चालन गर्न हामीलाई रोकिरहेको चुनौतीहरू कसरी पार गर्न सक्छौँ, त्यसबारे पनि छलफल गर्नेछौँ। हामी सुसमाचारको प्रचारक मात्र नभई किन शिक्षक पनि हुनुपर्छ, सुरुमा त्यसबारे छलफल गरौँ।

येसुले प्रचार गर्ने र सिकाउने आज्ञा दिनुभयो

३. हामी किन प्रचार गर्छौँ?

३ पृथ्वीमा हुनुहुँदा येसुले आफ्ना अनुयायीहरूलाई एउटा आज्ञा दिनुभयो, जसको दुइटा पाटो छ। पहिलो, उहाँले तिनीहरूलाई राज्यको सुसमाचार प्रचार गर्ने आज्ञा दिनुभयो र त्यो कसरी गर्न सकिन्छ भनेर पनि देखाउनुभयो। (मत्ति १०:७; लुका ८:१) मानिसहरूले राज्य सन्देशप्रति सकारात्मक वा नकारात्मक प्रतिक्रिया देखाउँदा के गर्ने भनेर पनि उहाँले तिनीहरूलाई सिकाउनुभयो। (लुका ९:२-५) यो साक्षीकार्य व्यापक हुनेछ र उहाँका अनुयायीहरूले “सबै जातिलाई साक्षी” दिनेछन्‌ भनेर उहाँले भविष्यवाणी गर्नुभयो। (मत्ति २४:१४; प्रेषि. १:८) मानिसहरूले राज्य सन्देशप्रति जस्तोसुकै प्रतिक्रिया देखाए तापनि चेलाहरूले मानिसहरूलाई परमेश्‍वरको राज्य के हो र यसले के गर्नेछ भनेर बताउनुपर्थ्यो।

४. मत्ति २८:१८-२० अनुसार हामीले प्रचार गर्नुको अलावा अर्को के पनि गर्नुपर्छ?

४ येसुले दिनुभएको आज्ञाको दोस्रो पाटो के थियो? उहाँले आफ्ना अनुयायीहरूलाई आफूले आज्ञा गरेको सबै कुरा पालन गर्न सम्भाव्य चेलाहरूलाई सिकाउन निर्देशन दिनुभयो। कसै-कसैले प्रचार गर्ने र सिकाउने आज्ञा प्रथम शताब्दीका चेलाहरूको लागि मात्र हो भन्‍ने गर्छन्‌ तर यो सत्य होइन। यो महत्त्वपूर्ण काम “यस युगको आखिरी समयसम्म” अर्थात्‌ हाम्रो समयसम्म चलिरहनेछ भनेर येसुले सङ्‌केत गर्नुभयो। (मत्ति २८:१८-२० पढ्‌नुहोस्‌।) येसुले उक्‍त आज्ञा ५०० भन्दा बढी चेलाकहाँ देखा पर्नुहुँदा दिनुभएको हुनुपर्छ। (१ कोरि. १५:६) आफ्ना सबै चेलाहरूले अरूलाई यहोवाबारे सिक्न मदत गर्नुपर्छ भनेर येसुले युहन्‍नालाई दर्शनमार्फत बताउनुभयो।—प्रका. २२:१७.

५. प्रचार गर्ने र सिकाउने कामबीचको सम्बन्ध बुझाउन प्रेषित पावलले १ कोरिन्थी ३:६-९ मा कस्तो उदाहरण चलाए?

५ प्रेषित पावलले चेला बनाउने कामलाई खेतीपातीसँग तुलना गर्दै हाम्रो काम बिउ छर्ने मात्र होइन भनेर बताए। तिनले कोरिन्थीहरूलाई यसरी सम्झाए: “मैले रोपेँ, अपोल्लसले पानी हाले . . . तिमीहरूचाहिँ खेतीपाती गरिएको परमेश्‍वरको खेत [हौ]।” (१ कोरिन्थी ३:६-९ पढ्‌नुहोस्‌।) “परमेश्‍वरको खेत”-को कामदारको रूपमा हामी बिउ छर्ने मात्र नभई त्यसमा पानी हाल्छौँ र त्यो बोट कत्तिको बढ्यो भनेर बेलाबेलामा निरीक्षण पनि गर्छौँ। (युह. ४:३५) तर त्यस बिउलाई हुर्काउने परमेश्‍वर नै हुनुहुन्छ भनेर हामीलाई थाह छ।

६. सिकाउने काममा के-के समावेश छ?

६ हामी “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरू खोज्दै छौँ। (प्रेषि. १३:४८) तिनीहरूलाई चेला बनाउन हामीले तिनीहरूलाई बाइबलबाट सिकिरहेको कुरा (१) बुझ्न, (२) स्विकार्न र (३) व्यवहारमा लागू गर्न मदत गर्नै पर्छ। (युह. १७:३; कल. २:६, ७; १ थिस्स. २:१३) बाइबल विद्यार्थीहरूलाई प्रेम देखाएर र तिनीहरू सभामा आउँदा न्यानो स्वागत गरेर मण्डलीका सबैले तिनीहरूलाई आध्यात्मिक उन्‍नति गर्न मदत दिन सक्छन्‌। (युह. १३:३५) साथै विद्यार्थीको मनमा “गहिरो जरा गाडेर बसेका” विश्‍वास र रीतिथितिलाई उखेलेर फ्याँक्न अध्ययन सञ्चालकले धेरै समय र शक्‍ति खर्च गर्नुपर्ने हुन्छ। (२ कोरि. १०:४, ५) विद्यार्थीलाई जीवनमा छाँटकाँट गर्दै बप्तिस्मासम्म पुऱ्‍याउन महिनौँ लाग्न सक्छ तर त्यस्तो मेहनत खेर जानेछैन।

प्रेमले हामीलाई चेला बनाउन उत्प्रेरित गर्छ

७. प्रचार गर्ने र चेला बनाउने काममा भाग लिन हामीलाई कुन कुराले उत्प्रेरित गर्छ?

७ हामी प्रचार गर्ने र चेला बनाउने काममा किन भाग लिन्छौँ? पहिलो कारण, हामी यहोवालाई प्रेम गर्छौँ। प्रचार गर्ने र चेला बनाउने आज्ञा पालन गर्न यथासक्दो गरेर तपाईँ परमेश्‍वरप्रति आफ्नो प्रेम देखाउँदै हुनुहुन्छ। (१ युह. ५:३) यो कुरा विचार गर्नुहोस्‌: यहोवाप्रतिको प्रेमले गर्दा नै घरघरको साक्षीकार्यमा भाग लिन तपाईँ उत्प्रेरित हुनुभयो। यो आज्ञा पालन गर्न के तपाईँलाई सजिलो भयो? सायद भएन। पहिलो चोटि घरघरको साक्षीकार्यमा भाग लिँदा के तपाईँलाई डर लागेको थियो? पक्कै पनि थियो होला। तर तपाईँले त्यो काम गरेको येसु चाहनुहुन्छ भनेर तपाईँले बुझ्नुभयो र त्यो आज्ञा पालन गर्नुभयो। अनि समय बित्दै जाँदा तपाईँलाई साक्षीकार्यमा भाग लिन सजिलो लाग्न थाल्यो। अब बाइबल अध्ययन सञ्चालन गर्ने बारेमा नि? सायद यसबारे सोच्दा मात्र पनि तपाईँलाई डर लाग्छ होला। तर त्यस्तो डर हटाउन र बाइबल अध्ययनको प्रस्ताव राख्नको लागि साहस जुटाउन यहोवासित मदत माग्नुभयो भने उहाँले चेला बनाउने तपाईँको मनोबललाई अझ बलियो बनाइदिन सक्नुहुन्छ।

८. मर्कुस ६:३४ अनुसार अरूलाई सिकाउन हामीलाई अर्को कुन कुराले उत्प्रेरित गर्छ?

८ दोस्रो कारण, छिमेकीप्रतिको प्रेमले तिनीहरूलाई सत्य सिकाउन हामीलाई उत्प्रेरित गर्छ। एकचोटि येसु र उहाँका चेलाहरू लामो समय साक्षीकार्यमा भाग लिएकोले थकित हुनुभएको थियो। उहाँहरू आराम गर्न एकान्त ठाउँमा जाँदै हुनुहुन्थ्यो तर एउटा ठूलो भीडले उहाँहरूलाई भेट्टायो। ती मानिसहरूलाई देखेर येसु टिठाउनुभयो र तिनीहरूलाई “धेरै कुरा” सिकाउन थाल्नुभयो। (मर्कुस ६:३४ पढ्‌नुहोस्‌।) आफू निकै थकित भए तापनि येसु किन तिनीहरूलाई सिकाउन अग्रसर हुनुभयो? किनकि उहाँले आफूलाई ती मानिसहरूको ठाउँमा राखेर हेर्नुभयो। तिनीहरूले अत्यन्तै दुःख भोगिरहेका छन्‌ र तिनीहरूलाई आशाको आवश्‍यकता छ भन्‍ने कुरा येसुले देख्नुभयो। त्यसैले उहाँ तिनीहरूलाई मदत गर्न चाहनुहुन्थ्यो। आज पनि मानिसहरूको अवस्था त्यस्तै छ। तिनीहरू बाहिर खुसी देखिए तापनि भित्रभित्रै दुःखी हुन सक्छन्‌। तिनीहरू गोठालो नभएका भेडाहरूजस्तै असहाय छन्‌ र तिनीहरूलाई बाटो देखाउने कोही छैन। तिनीहरूले परमेश्‍वरलाई चिनेका छैनन्‌ र तिनीहरूसित कुनै आशा छैन भनेर प्रेषित पावलले बताए। (एफि. २:१२) तिनीहरू “विनाशतर्फ लैजाने . . . बाटो”-मा हिँडिरहेका छन्‌। (मत्ति ७:१३) हाम्रो इलाकाका मानिसहरूको आध्यात्मिक अवस्था विचार गऱ्‍यौँ भने तिनीहरूलाई मदत गर्न प्रेम र करुणाले हामीलाई उत्प्रेरित गर्छ। तिनीहरूलाई मदत गर्ने सबैभन्दा राम्रो तरिका भनेको तिनीहरूलाई बाइबल अध्ययनको प्रस्ताव राख्नु हो।

९. फिलिप्पी २:१३ अनुसार यहोवाले तपाईँलाई कसरी मदत गर्न सक्नुहुन्छ?

९ सायद तपाईँ अध्ययनको तयारी र सञ्चालनको लागि धेरै समय दिनुपर्ने भएकोले अध्ययनको प्रस्ताव राख्न हिचकिचाउनुभएको होला। यदि त्यसो हो भने यहोवालाई आफ्नो मनका भावनाहरू पोख्नुहोस्‌। चासो दिने व्यक्‍ति भेट्टाउन र तिनीसित अध्ययन सञ्चालन गर्ने इच्छा विकास गर्न उहाँसित मदत माग्नुहोस्‌। (फिलिप्पी २:१३ पढ्‌नुहोस्‌।) यहोवाले उहाँको इच्छासित मेल खाने प्रार्थनाहरूको जवाफ दिनुहुन्छ भनेर प्रेषित युहन्‍नाले हामीलाई आश्‍वासन दिएका छन्‌। (१ युह. ५:१४, १५) त्यसैले यहोवाले तपाईँलाई चेला बनाउने काममा भाग लिने इच्छा विकास गर्न मदत गर्नुहुनेछ भन्‍ने कुरामा तपाईँ ढुक्क हुन सक्नुहुन्छ।

अन्य चुनौतीहरू कसरी पार गर्न सक्छौँ?

१०-११. बाइबल अध्ययन सञ्चालन गर्न हामी किन हिचकिचाउन सक्छौँ?

१० विभिन्‍न चुनौतीहरूको कारण चेला बनाउने काममा हामीले चाहेजति भाग लिन नसके पनि अरूलाई सिकाउन येसुले दिनुभएको आज्ञालाई हामी गम्भीरतापूर्वक लिन्छौँ। आउनुहोस्‌, तीमध्ये केही चुनौती के-के हुन्‌ अनि हामी ती चुनौतीहरू कसरी पार गर्न सक्छौँ, त्यसबारे विचार गरौँ।

११ आफ्नो परिस्थितिले गर्दा चाहेजति गर्न सक्दिनँ जस्तो हामीलाई लाग्न सक्छ। उदाहरणको लागि, केही प्रकाशकहरूले बुढ्यौली वा स्वास्थ्य समस्याको सामना गरिरहेका छन्‌। के तपाईँको अवस्था पनि त्यस्तै छ? छ भने हामीले कोभिड-१९ महामारीको दौडान सिकेका पाठहरूमध्ये एउटा विचार गर्नुहोस्‌। हामीले फोन वा अरू इलेक्ट्रोनिक डिभाइस चलाएर प्रभावकारी बाइबल अध्ययन सञ्चालन गर्न सिक्यौँ। त्यसैले तपाईँ घरमै बसेर बाइबल अध्ययन सुरु गर्न र सञ्चालन गर्न सक्नुहुन्छ। यसको अर्को फाइदा पनि छ। कोही-कोही अध्ययन गर्न त चाहन्छन्‌ तर भाइबहिनीहरूले साक्षीकार्यको लागि छुट्ट्याएको समयमा तिनीहरू व्यस्त हुन सक्छन्‌। तर तिनीहरूसित बिहान सबेरै वा राती मात्र अध्ययन गर्ने समय हुन सक्छ। के तपाईँ त्यस्तो समयमा कसैलाई अध्ययन गराउन सक्नुहुन्छ? येसुले पनि निकोदेमसलाई रातको समयमा शिक्षा दिनुभयो किनभने तिनलाई त्यही समय उपयुक्‍त लाग्यो।—युह. ३:१, २.

१२. हामी प्रभावकारी शिक्षक हुन सक्छौँ भन्‍ने आत्मविश्‍वास बढाउन हामीलाई कस्ता कुराहरूले मदत गर्छ?

१२ हामीसित बाइबल अध्ययन सञ्चालन गर्ने आत्मविश्‍वास नहुन सक्छ। कसैलाई अध्ययन गराउन हामीसित धेरै ज्ञान वा सीप हुनुपर्छ जस्तो हामीलाई लाग्न सक्छ। त्यसो हो भने तपाईँको आत्मविश्‍वास बढाउन मदत गर्ने तीन वटा कुरा विचार गर्नुहोस्‌। पहिलो, अरूलाई सिकाउन तपाईँ यहोवाको नजरमा योग्य हुनुहुन्छ। (२ कोरि. ३:५) दोस्रो, “स्वर्ग र पृथ्वीको सबै अधिकार” पाउनुभएको येसुले नै अरूलाई सिकाउन तपाईँलाई निर्देशन दिनुभएको छ र यसबाट उहाँ तपाईँलाई भरोसा गर्नुहुन्छ भन्‍ने देखिन्छ। (मत्ति २८:१८) अनि तेस्रो, तपाईँ अरू भाइबहिनीबाट मदत पाउन सक्नुहुन्छ। येसु पनि आफूले के बोल्ने भन्‍ने विषयमा आफ्नो बुबामाथि भर पर्नुभयो। तपाईँ पनि त्यसै गर्न सक्नुहुन्छ। (युह. ८:२८; १२:४९) साथै बाइबल अध्ययन सुरु गर्न र सञ्चालन गर्न तपाईँ आफ्नो क्षेत्र सेवा समूह निरीक्षक, योग्य अग्रगामी वा अनुभवी प्रकाशकसित मदत माग्न सक्नुहुन्छ। उहाँहरूको बाइबल अध्ययनमा बसेर पनि तपाईँ आफ्नो आत्मविश्‍वास बढाउन सक्नुहुन्छ।

१३. हामी नयाँ तरिका अँगाल्न किन इच्छुक हुनुपर्छ?

१३ नयाँ तरिका र नयाँ साधन चलाउन हामीलाई गाह्रो लाग्न सक्छ। बाइबल अध्ययन सञ्चालन गर्ने तरिका अहिले परिवर्तन भएको छ। बाइबल अध्ययनको लागि प्रयोग गरिने मुख्य प्रकाशन सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताब प्रयोग गर्दा हामीले पहिलाको भन्दा बेग्लै तरिकामा तयारी र सञ्चालन गर्नुपर्छ। यस किताबमा पढ्‌नुपर्ने अनुच्छेदहरू थोरै छन्‌ र विद्यार्थीसित छलफल गर्नुपर्ने भागहरू धेरै छन्‌। विद्यार्थीलाई सिकाउँदा हामी धेरै भिडियोहरू र JW लाइब्रेरी-जस्ता साधनहरू चलाउँछौँ। तपाईँलाई ती साधनहरू चलाउन आउँदैन भने कसैको मदत मागेर चलाउन सिक्नुहोस्‌। वर्षौँदेखि एउटै तरिका चलाइरहेको हुनाले नयाँ तरिका अँगाल्न हामीलाई सजिलो हुँदैन। तर यहोवा र अरू भाइबहिनीको मदत स्विकार्दा तपाईँलाई नयाँ तरिका अँगाल्न सजिलो लाग्नेछ र नयाँ तरिकाअनुसार अध्ययन सञ्चालन गर्दा अझ रमाइलो पनि लाग्नेछ। एक जना अग्रगामीले भनेअनुसार अध्ययन गर्ने यो तरिका “विद्यार्थी र शिक्षक दुवैको लागि स्फूर्तिदायी” छ।

१४. भावशून्य इलाकामा सेवा गर्दा हामीले कुन कुरा मनमा राख्नुपर्छ र हाम्रो लागि १ कोरिन्थी ३:६, ७ किन प्रोत्साहनदायी छ?

१४ हामी बाइबल अध्ययन सुरु गर्न गाह्रो इलाकामा बसिरहेका हुन सक्छौँ। मानिसहरूले हाम्रो सन्देशप्रति चासो नदेखाउन सक्छन्‌ वा त्यसको विरोधसमेत गर्न सक्छन्‌। त्यस्तो इलाकामा हामी कसरी सकारात्मक भई सेवा गरिरहन सक्छौँ? यस सङ्‌कटग्रस्त संसारमा मानिसहरूको अवस्था छिटोछिटो परिवर्तन हुन सक्छ। आज चासो नदेखाउने मानिसले पछि आफ्नो आध्यात्मिक आवश्‍यकता महसुस गर्न सक्छन्‌ भनेर नबिर्सनुहोस्‌। (मत्ति ५:३) पहिला सधैँ हाम्रो साहित्य लिन अस्वीकार गरेकाहरूले पछि बाइबल अध्ययनको प्रस्ताव स्विकारेका छन्‌। यहोवा फसलका मालिक हुनुहुन्छ भन्‍ने कुरा पनि हामीलाई थाह छ। (मत्ति ९:३८) हामीले रोप्ने र पानी हाल्ने काम गरिरहेको उहाँ चाहनुहुन्छ तर त्यसलाई हुर्काउने त उहाँ नै हुनुहुन्छ। (१ कोरि. ३:६, ७) अहिले हामीले बाइबल अध्ययन सञ्चालन गर्न नसके पनि यहोवाले हामीलाई नतिजाको आधारमा नभई हाम्रो प्रयासको आधारमा इनाम दिनुहुन्छ भन्‍ने कुरा विचार गर्दा हामी धेरै प्रोत्साहन पाउँछौँ।b

चेला बनाउँदा पाइने आनन्द अनुभव गर्नुहोस्‌

तस्बिरहरूको सँगालो: एक पुरुष चेला बन्छन्‌। १. ती पुरुष दिनभरिको कामपछि थकित भएका छन्‌। २. साँझको प्रचारकार्यमा एक दम्पतीले ती पुरुषलाई प्रचार गर्छन्‌। ३. ती पुरुषले सुरुमा साक्षी दिएको भाइसित अध्ययन सुरु गर्छन्‌। ४. ती पुरुष बप्तिस्मा गर्छन्‌। ५. भर्खरै बप्तिस्मा गरेका ती भाइले अर्को पुरुषलाई प्रचार गर्छन्‌। ६. ती दम्पती, ती भाइ र ती पुरुष प्रमोदवनमा सँगै खाना खाएर रमाइलो गर्दै छन्‌।

प्रचार गर्ने र सिकाउने कामले कुनै मानिसलाई कसरी मदत गर्न सक्छ, हेर्नुहोस्‌ (अनुच्छेद १५-१७ हेर्नुहोस्‌)c

१५. कसैले बाइबल अध्ययनको प्रस्ताव स्विकार्दा र सिकेको कुराअनुसार चल्दा यहोवा कस्तो महसुस गर्नुहुन्छ?

१५ कसैले बाइबल सत्य स्विकार्दा र त्यो अरूसित बाँड्‌दा यहोवा रमाउनुहुन्छ। (हितो. २३:१५, १६) अहिले भइरहेको काम देखेर यहोवा पक्कै पनि आनन्दित हुनुहुन्छ। उदाहरणको लागि, विश्‍वव्यापी महामारीको बाबजुद सेवा वर्ष २०२० मा ७७ लाख ५ हजार ७ सय ६५ वटा बाइबल अध्ययन सञ्चालन भए र २ लाख ४१ हजार ९ सय ९४ जनाले आफ्नो जीवन यहोवालाई समर्पण गरे र बप्तिस्मा गरे। यी नयाँ चेलाहरूले पनि बाइबल अध्ययन सञ्चालन गर्नेछन्‌ र नयाँ चेलाहरू बनाउनेछन्‌। (लुका ६:४०) चेला बनाउने काममा भाग लिँदा पक्कै पनि हामीले यहोवालाई खुसी बनाइरहेका हुन्छौँ।

१६. हामी कस्तो लक्ष्य राख्न सक्छौँ?

१६ चेला बनाउने काम गाह्रो छ तर यहोवाको मदत पाएर नयाँ व्यक्‍तिहरूलाई उहाँबारे सिकाउने काममा हामी योगदान दिन सक्छौँ। के तपाईँ पनि कम्तीमा एउटा बाइबल अध्ययन सुरु गर्ने र सञ्चालन गर्ने लक्ष्य राख्न सक्नुहुन्छ? हामीले हरेक मौकामा मानिसहरूसित बाइबल अध्ययनको प्रस्ताव राख्यौँ भने त्यसको नतिजा देखेर हामी आफै छक्क पर्नेछौँ। यहोवाले हाम्रो प्रयासमाथि आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ।

१७. बाइबल अध्ययन सञ्चालन गर्दा हामीले कस्तो अनुभव गर्न सक्नेछौँ?

१७ मानिसहरूलाई बाइबलको सत्य प्रचार गर्न र सिकाउन पाउनु हाम्रो लागि सम्मानको कुरा हो। यस कामबाट हामीले साँचो आनन्द पाउँछौँ। थिस्सलोनिकामा बस्ने धेरै मानिसहरूलाई चेला बन्‍न मदत गरेका प्रेषित पावलले आफ्नो भावना यसरी व्यक्‍त गरे: “हाम्रा प्रभु येसुको उपस्थितिको बेला उहाँसामु हाम्रो आशा, खुसी अनि विजयको मुकुट को हुनेछ? के तिमीहरू नै हुनेछैनौ र? वास्तवमा तिमीहरू नै हाम्रो महिमा अनि खुसी हौ।” (१ थिस्स. २:१९, २०; प्रेषि. १७:१-४) आज धेरै भाइबहिनीले त्यस्तै महसुस गर्छन्‌। आफ्नो श्रीमान्‌सँगै मिलेर धेरैलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गरेकी एक बहिनी स्टेफनी यसो भन्छिन्‌: “मानिसहरूलाई आफ्नो जीवन यहोवालाई समर्पण गर्न मदत गर्नुभन्दा ठूलो आनन्द अरू कुनै छैन।”

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • हामी किन सुसमाचारको प्रचारक र शिक्षक हुनुपर्छ?

  • अरूलाई चेला बनाउन हामीलाई कुन कुराले उत्प्रेरित गर्छ?

  • बाइबल अध्ययन सञ्चालन गर्न बाधा दिने चुनौतीहरू हामी कसरी पार गर्न सक्छौँ?

गीत ५७ सबै किसिमका मानिसलाई प्रचार गरौँ!

a यहोवाले हामीलाई अरूलाई प्रचार गर्ने मात्र नभई येसुले दिनुभएको सबै आज्ञा पालन गर्न सिकाउने सुअवसर पनि दिनुभएको छ। अरूलाई सिकाउन हामीलाई कुन कुराले उत्प्रेरित गर्छ? प्रचार गर्ने र चेला बनाउने काममा हामीले कस्ता चुनौतीहरूको सामना गर्नुपर्छ? हामी ती चुनौतीहरू कसरी पार गर्न सक्छौँ? यस लेखमा हामी यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ।

b चेला बनाउने काममा हाम्रो भूमिका कस्तो छ भनेर बुझ्न मार्च २०२१ अङ्‌कको प्रहरीधरहरा-मा प्रकाशित “मण्डलीको रूपमा बाइबल विद्यार्थीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गरौँ!” भन्‍ने लेख हेर्नुहोस्‌।

c तस्बिरको व्याख्या: बाइबल अध्ययनले कुनै मानिसको जीवनमा ल्याउने परिवर्तनहरू हेर्नुहोस्‌: एक जना मानिसलाई आफ्नो जीवनको कुनै उद्देश्‍य छैन जस्तो लागेको थियो। तिनले परमेश्‍वरलाई चिनेका थिएनन्‌। साक्षीकार्यको दौडान भाइबहिनीहरूले तिनलाई भेट्‌छन्‌ र तिनले बाइबल अध्ययनको प्रस्ताव स्विकार्छन्‌। बाइबलको सत्य सिकिसकेपछि तिनले आफ्नो जीवन समर्पण गर्छन्‌ र बप्तिस्मा गर्छन्‌। पछि तिनले पनि अरूलाई चेला बन्‍न मदत गर्छन्‌। अन्तमा तिनीहरू सबैले प्रमोदवनमा अनन्त जीवनको आनन्द उठाउँछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने