-
‘एउटा बहुमूल्य मोती भेट्टाउने’प्रहरीधरहरा—२००५ | फेब्रुअरी १
-
-
‘एउटा बहुमूल्य मोती भेट्टाउने’
“स्वर्गको राज्यमा बलजफत हुँदैछ, र बलजफत गर्ने मानिसहरूले जबरदस्तसँग खोस्तछन्।”—मत्ती ११:१२.
१, २. (क) परमेश्वरको राज्यसम्बन्धी एउटा दृष्टान्तमा येशूले हतपति नभेटिने कुन गुणबारे बताउनुभयो? (ख) मूल्यवान् मोतीको दृष्टान्तमा येशूले के भन्नुभयो?
के तपाईंले अत्यन्तै बहुमूल्य ठान्नुहुने त्यस्तो कुनै कुरा छ जुन प्राप्त गर्न तपाईं आफूसित भएका सबै कुरा दिन वा त्याग्न तयार हुनुहुन्छ? मानिसहरू आफ्नो कुनै लक्ष्य जस्तै पैसा, ख्याति, शक्ति वा ओहदा प्राप्तिको लागि प्रतिबद्धताको कुरा गर्छन् तर आफूले एकदमै चाहेको एउटा कुरा प्राप्त गर्न आफूसित भएका सबै कुरा त्याग्न इच्छुक मानिस भने हतपति भेटिंदैनन्। परमेश्वरको राज्यसम्बन्धी थुप्रै विचारणीय दृष्टान्तहरूमध्ये एउटामा येशू ख्रीष्टले हतपति नभेटिने तर मनमोहक यस गुणबारे नै बताउनुभयो।
२ यो येशूले आफ्ना चेलाहरूलाई मात्र बताउनुभएको दृष्टान्त अथवा उखान हो र यसलाई अक्सर मूल्यवान् मोतीको दृष्टान्त भनिन्छ। येशूले यसो भन्नुभयो: “स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारीजस्तो हो, र त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो किन्यो।” (मत्ती १३:३६, ४५, ४६) यो उखानबाट आफ्ना श्रोताहरूले कुन कुरा सिकेको येशू चाहनुहुन्थ्यो? अनि येशूका शब्दहरूबाट हामी कसरी लाभ उठाउन सक्छौं?
बहुमूल्य मोतीहरू
३. पुरातन समयमा असल मोतीहरू किन निकै मूल्यवान् मानिन्थ्यो?
३ पुरातन समयदेखि नै शृङ्गारसामग्रीको रूपमा मोतीको ठूलो मोल गरिंदै आएको छ। एउटा स्रोतको टिप्पणीअनुसार रोमी लेखक प्लाइनी दी एल्डरको विचारमा “मूल्यवान् कुराहरूमध्ये सबैभन्दा उत्कृष्ट चाहिं” मोती थियो। सुन, चाँदी वा अन्य मणिहरूजस्तो नभई मोती भनेको जीवित कुराबाट बन्छ। कुनै-कुनै प्रकारका सिपीले ढुङ्गाका ससाना टुक्राजस्ता यसलाई कोतर्ने अनावश्यक वस्तुहरूलाई समेत नाकर अर्थात् मोतीहरूको आमा भनिने लेसोले ढाकेर चहकिलो मोतीमा परिणत गर्छन्। पुरातन समयमा सबैभन्दा उत्कृष्ट मोतीहरू इस्राएलको भूमिभन्दा टाढा पर्ने लाल समुद्र, फारसको खाडी र हिन्द महासागरबाट जम्मा गरिन्थ्यो। यसैकारणले त येशूले “असल मोतीहरू खोज्ने एउटा व्यापारी” भनेर बताउनुभयो। साँच्चै मूल्यवान् मोती भेट्टाउन निकै प्रयास गर्नुपर्ने हुन्छ।
४. मोती खोज्ने व्यापारीबारे येशूको दृष्टान्तको प्रमुख पाठ के हो?
४ असल मोतीहरू पहिलेदेखि नै महँगा भए तापनि येशूको दृष्टान्तमा उहाँले त्यसको वित्तीय मोलबारे प्रमुख पाठ सिकाउन खोज्नुभएको थिएन भन्ने कुरा प्रस्ट छ। यस दृष्टान्तमा येशूले परमेश्वरको राज्यलाई एउटा बहुमूल्य मोतीसित मात्र तुलना गर्नुभएन तर “असल मोतीहरू खोज्ने एउटा व्यापारी” र त्यो भेट्टाएपछि तिनले के गर्छन्, त्यसतर्फ ध्यान खिच्नुभयो। एउटा सामान्य पसलेजस्तो नभई मोती खोज्ने व्यापारी वा डिलरलाई त्यस व्यापारको पारखी भन्न सकिन्थ्यो जससित आफूले भेट्टाएको मोती साँच्चै असाधारण हो कि होइन भनेर त्यसका कलात्मक वा अदृश्य गुणहरू गहिरिएर केलाउन सक्ने विवेक हुन्थ्यो। साँचो मोती हो कि होइन भन्ने कुरा तिनले हेर्नेबित्तिकै चिन्न सक्थे अनि कमसल वा नक्कलीबाट झुक्किने थिएनन्।
५, ६. (क) येशूको दृष्टान्तको व्यापारीबारे खास उल्लेखनीय पक्ष के हो? (ख) खेतमा गाडी राखेको धनसम्बन्धी दृष्टान्तले व्यापारीको कुन कुरा प्रकट गर्छ?
५ यस खास व्यापारीबारे अर्को एउटा उल्लेखनीय पक्ष पनि छ। साधारण व्यापारीले पहिले मोतीको बजार भाउ बुझेर पछि त्यसलाई बेच्दा कति नाफा कमाउन सकिन्छ भनेर अनुमान लगाउन खोज्लान्। अनि त्यस्तो मोती तुरुन्तै बेच्नको लागि बजारमा माग छ कि छैन भनेर पनि विचार गर्लान्। अर्को शब्दमा भन्ने हो भने, तिनी आफूसित मोती राख्न नभई त्यस लगानीबाट सकेसम्म चाँडो अनि धेरै मुनाफा कमाउन बढी ध्यान दिनेछन्। तर येशूको दृष्टान्तको व्यापारीको कुरा भने त्यसो होइन। तिनको खास चासो पैसा कमाउने वा भौतिक लाभमा थिएन। वास्तवमा, तिनी आफूले खोजिरहेको कुरा प्राप्त गर्न “आफूसँग भएका सबै” अर्थात् हुन सक्छ आफ्नो सारा धनसम्पत्ति त्याग्न इच्छुक थिए।
६ प्रायजसो व्यापारीको नजरमा येशूको दृष्टान्तका त्यस व्यक्तिले गरेको काम सायद मूर्खतापूर्ण थियो। एक जना चनाखो व्यापारीले त्यस्तो जोखिमपूर्ण व्यापारिक कदम चाल्ने सोचाइसमेत राख्ने थिएनन्। तर येशूको दृष्टान्तका व्यापारीको भने कुन कुरालाई बहुमूल्य ठान्ने भन्ने सन्दर्भमा बेग्लै स्तर थियो। तिनको इनाम कुनै आर्थिक लाभमा नभई सर्वोत्कृष्ट मोलको कुनै कुरा प्राप्त गर्दा हुने आनन्द र सन्तुष्टिमा थियो। येशूले बताउनुभएको यो जस्तै अर्को दृष्टान्तमा यस बुँदालाई स्पष्ट पारिएको छ। उहाँले यसो भन्नुभयो: “स्वर्गको राज्य खेतमा गाडी राखेको धनजस्तो हो, जो एउटा मानिसले भेटेर लुकाई राख्यो, र आनन्दित भएर उसले आफूसँग भएको सबै बेच्यो, र त्यो खेत किन्यो।” (मत्ती १३:४४) हो, त्यो धन पत्ता लगाएर प्राप्त गर्नुको आनन्दको तुलनामा आफूसित भएका सबै कुरा दिनु त्यस व्यक्तिको लागि कुनै ठूलो कुरा थिएन। के आज पनि त्यस्ता मानिसहरू छन्? के त्यस्तो त्याग गरेर प्राप्त गर्न लायकको कुनै धन छ?
ठूलो मोललाई राम्ररी बुझेकाहरू
७. आफूले परमेश्वरको राज्यलाई साँच्चै ठूलो मोलको ठानेको कुरा येशूले कसरी देखाउनुभयो?
७ यो दृष्टान्तमा येशूले “स्वर्गको राज्य[बारे]” बताउँदै हुनुहुन्थ्यो। उहाँ आफैले पनि परमेश्वरको राज्यको ठूलो मोललाई साँच्चै बुझ्नुभएको थियो। सुसमाचारका पुस्तकहरूको विवरणले त्यस तथ्यको जोडदार प्रमाण दिन्छ। सा.यु. २९ मा बप्तिस्मा लिइसक्नुभएपछि येशूले “प्रचार गर्दै भन्न लाग्नुभयो, ‘पश्चाताप गर। किनभने स्वर्गको राज्य नजीक आइपुगेको छ।’ ” साढे तीन वर्षसम्म उहाँले परमेश्वरको राज्यबारे असंख्य मानिसहरूलाई सिकाउनुभयो। उहाँले त्यस इलाकाभरि यात्रा गरेर “शहर शहर र गाउँ गाउँ हुँदो प्रचार गर्दै र परमेश्वरको राज्यको सुसमाचार सुनाउँदै हिंड्नुभयो।”—मत्ती ४:१७; लूका ८:१.
८. परमेश्वरको राज्यले के-के गर्नेछ भनी देखाउन येशूले के गर्नुभयो?
८ त्यस इलाकाभरि अनगन्ती चमत्कारहरू गरेर जस्तै—बिरामीलाई निको पारेर, भोकालाई खुवाएर, प्राकृतिक शक्तिहरूलाई नियन्त्रणमा राखेर अनि मरेकाहरूलाई समेत ब्यूँताएर येशूले परमेश्वरको राज्यले के-के गर्नेछ भनेर पनि देखाउनुभयो। (मत्ती १४:१४-२१; मर्कूस ४:३७-३९; लूका ७:११-१७) अन्तमा, उहाँले आफ्नो जीवन अर्पण गरेर अनि शासनाको खम्बामा शहीदको रूपमा मरेर परमेश्वर र उहाँको राज्यप्रति आफ्नो वफादारिता प्रमाणित गर्नुभयो। त्यस व्यापारीले “बहुमूल्य मोती” पाउनको लागि आफूसित भएका सबै कुरा खुसीसाथ दिएझैं येशू पनि परमेश्वरको राज्यको लागि नै जिउनुभयो र त्यसैको लागि मर्नुभयो।—यूहन्ना १८:३७.
९. हतपति नदेखिने कस्तो गुण येशूका प्रारम्भिक चेलाहरूमाझ देखियो?
९ येशूले आफ्नो जीवन मात्र परमेश्वरको राज्यमा केन्द्रित गर्नुभएन तर उहाँले आफ्ना अनुयायीहरूको सानो समूह पनि जम्मा गर्नुभयो। यी व्यक्तिविशेषहरूले पनि परमेश्वरको राज्यको ठूलो मोललाई साँच्चै बुझेका थिए। तिनीहरूमध्ये एक जना अन्द्रियास थिए जो सुरुमा बप्तिस्मा दिने यूहन्नाका चेला थिए। येशू “परमेश्वरका थुमा” हुनुहुन्छ भन्ने यूहन्नाको साक्षी सुनेपछि अन्द्रियास र यूहन्नाका अर्को चेला जो सम्भवतः जब्दीका छोरा थिए र जसको नाउँ पनि यूहन्ना नै थियो, तिनीहरू तत्कालै येशूतर्फ आकर्षित भए अनि उहाँमाथि विश्वास गर्न लागे। तर कुरा त्यतिमै टुङ्गिएन। अन्द्रियास तुरुन्तै आफ्नो भाइ शिमोनकहाँ गएर यसो भने: “हामीले मसीहलाई भेट्टाएका छौं।” त्यसको लगत्तै शिमोन (जो केफास वा पत्रुस भनेर चिनिए) र फिलिप अनि तिनको साथी नथनेलले पनि येशू नै मसीह हुनुहुन्छ भनेर चिने। वास्तवमा, नथनेल येशूलाई यसो भन्न उत्प्रेरित भए: “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ, तपाईं इस्राएलका राजा हुनुहुन्छ।”—यूहन्ना १:३५-४९.
कदम चाल्न उत्प्रेरित
१०. येशूले आफ्ना चेलाहरूलाई पहिलो चोटि भेटेको केही समयपछि फेरि भेटेर बोलाउनुहुँदा तिनीहरूले कस्तो प्रतिक्रिया देखाए?
१० मसीहलाई भेट्टाएपछि अन्द्रियास, पत्रुस, यूहन्ना र अन्य व्यक्तिहरूले महसुस गरेको उत्साहलाई बहुमूल्य मोती भेट्टाउने व्यापारीले महसुस गरेको उत्साहसित तुलना गर्न सकिन्छ। अब तिनीहरूले के गर्ने थिए? येशूलाई पहिलो चोटि भेट्ने बित्तिकै तिनीहरूले के गरे भनेर सुसमाचारका पुस्तकहरूले हामीलाई त्यति बताएको छैन। तिनीहरूमध्ये प्रायजसो आ-आफ्नै सामान्य दिनचर्यामा फर्केजस्तो देखिन्छ। तथापि, त्यसको लगभग छ महिनादेखि एक वर्षपछि येशूले फेरि अन्द्रियास, पत्रुस, यूहन्ना र यूहन्नाको दाइ याकूबलाई गालीलको समुद्रमा माछा मारिरहेको भेट्टाउनुभयो।a तिनीहरूलाई देखेपछि येशूले यसो भन्नुभयो: “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जलाहारी तुल्याउनेछु।” तिनीहरूले कस्तो प्रतिक्रिया देखाए? पत्रुस र अन्द्रियासबारे मत्तीको विवरण यसो भन्छ: “तब उत्तिखेरै जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।” याकूब र यूहन्नाबारे भने हामी यसो लेखिएको पाउँछौं: “तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोडेर तिनीहरू उहाँको पछि लागे।” लूकाको थप विवरणअनुसार “ती सबै छोडेर तिनीहरू उहाँका पछि लागे।”—मत्ती ४:१८-२२; लूका ५:१-११.
११. येशूका चेलाहरूले तुरुन्तै प्रतिक्रिया देखाइहाल्नुको कारण सम्भवतः के हुन सक्छ?
११ के चेलाहरूले यसरी तुरुन्तै निर्णय गर्दा आवेगमा आएर गरेका थिए? त्यसो त पटक्कै होइन! येशूसित पहिलो चोटि भेटेपछि तिनीहरू आ-आफ्नो परिवारको माछा व्यवसायमा फर्के तापनि तिनीहरूले त्यतिबेला देखेका र सुनेका कुराले तिनीहरूको मन अनि हृदयमा गहिरो छाप पारेको थियो भन्ने कुरामा कुनै शङ्का छैन। झन्डै एक वर्षजति बितिसकेको हुँदा तिनीहरूले ती विषयहरूमा गहिरिएर विचार गर्ने प्रशस्त समय पाएका थिए। अब भने निर्णय गर्नुपर्ने घडी आएको थियो। के तिनीहरूको हृदय पनि त्यस व्यापारीको जस्तो हुने थियो जसले एउटा बहुमूल्य मोती भेट्टाएपछि येशूले वर्णन गर्नुभएझैं त्यो मोती किन्नको लागि गर्नुपर्ने काम गर्न तुरुन्तै ‘गए?’ हो, कुरा त्यस्तै थियो। आफूले देखेका र सुनेका कुराले तिनीहरूको हृदय छोयो। तिनीहरूले अब कदम चालिहाल्नुपर्ने समय आएको महसुस गरे। त्यसैले उक्त विवरणले बताएझैं कुनै आनाकानी नगरी तिनीहरूले आफूसित भएका सबै कुरा त्यागे अनि येशूका अनुयायीहरू बने।
१२, १३. (क) येशूको कुरा सुन्ने धेरैजसोले कस्तो प्रतिक्रिया देखाए? (ख) आफ्ना विश्वासी चेलाहरूबारे येशूले के भन्नुभयो र उहाँका शब्दहरूले कुन कुरा सङ्केत गर्छ?
१२ सुसमाचारका पुस्तकहरूमा उल्लिखित अरू कतिपय व्यक्तिहरूभन्दा यी विश्वासी जनहरूको प्रतिक्रिया कति भिन्न थियो! येशूले थुप्रैलाई निको पार्नुभएको थियो वा खुवाउनुभएको थियो तर तिनीहरू आ-आफ्नै दिनचर्यामा लागिरहे। (लूका १७:१७, १८; यूहन्ना ६:२६) येशूले उहाँको अनुयायी बन्ने निमन्त्रणा दिनुहुँदा कोही-कोही त त्यो जिम्मेवारी स्वीकार्नदेखि भाग्न समेत खोजे। (लूका ९:५९-६२) यसको ठीक विपरीत, विश्वास गर्ने व्यक्तिहरूबारे येशूले पछि यसो भन्नुभयो: “बप्तिस्मा दिने यूहन्नाका दिनदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ, र बलजफत गर्ने मानिसहरूले जबरदस्तसँग खोस्तछन्।”—मत्ती ११:१२.
१३ यो पदबारे बाइबलविद् हाइनरीक मायर यसो भन्छन्: “आउँदै गरेको मसीही राज्यबारे त्यस्तो उत्सुकता, बेजोड प्रयास र सङ्घर्ष थियो भनेर वर्णन गरिएको छ . . . त्यस राज्यप्रतिको चासो त्यत्तिको उत्सुक र जोडदार (शान्त र प्रतीक्षारत होइन) छ।” मोती खोज्ने व्यापारीले जस्तै यी केही व्यक्तिहरूले साँच्चै मूल्यवान् कुरा के हो भनेर तुरुन्तै चिने अनि परमेश्वरको राज्यको खातिर आफूसित भएका सबै कुरा खुसीसाथ त्यागे।—मत्ती १९:२७, २८; फिलिप्पी ३:८.
अरूले पनि सँगसँगै खोज्न थाले
१४. राज्य प्रचारकार्यको लागि येशूले आफ्ना प्रेरितहरूलाई कसरी तयार पार्नुभयो र परिणाम कस्तो भयो?
१४ आफ्नो सेवकाईको दौडान येशूले परमेश्वरको राज्यको खोजी गर्न अरूलाई प्रशिक्षण र मदत दिनुभयो। सर्वप्रथम उहाँले चेलाहरूमध्येबाट १२ जनालाई छान्नुभयो अनि तिनीहरूलाई प्रेरितहरू नियुक्त गर्नुभयो अथवा तिनीहरू येशूबाट पठाइएकाहरू थिए। यिनीहरूलाई आफ्नो सेवकाई कसरी पूरा गर्ने भनेर येशूले विस्तृत निर्देशन दिनुका साथै तिनीहरूले भविष्यमा सामना गर्नुपर्ने चुनौती तथा कठिनाइहरूबारे चेतावनी दिनुभयो। (मत्ती १०:१-४२; लूका ६:१२-१६) त्यसपछि लगभग दुई वर्षसम्म त्यस इलाकाको प्रचारकार्यमा तिनीहरू येशूसँगसँगै गए अनि उहाँसित नजिकको सम्बन्ध राख्न सके। तिनीहरूले उहाँको कुरा सुने, उहाँले गर्नुभएका शक्तिशाली कामहरू देखे अनि उहाँको व्यक्तिगत उदाहरण हेरे। (मत्ती १३:१६, १७) निस्सन्देह, यी सबै कुराहरूले तिनीहरूको हृदयमा यतिबिघ्न गहिरो छाप पाऱ्यो कि त्यस व्यापारीजस्तै तिनीहरू पनि अत्यन्तै जोस र तनमनका साथ परमेश्वरको राज्यको पछि लागे।
१५. येशूका अनुयायीहरू रमाउनुपर्ने खास कारणबारे येशूले के भन्नुभयो?
१५ यी १२ जना प्रेरितबाहेक येशूले “सत्तरी जनालाई नियुक्त गर्नुभयो, र तिनीहरूलाई दुई-दुई गरी आफू जान लाग्नुभएको हरेक शहर र गाउँमा आफूभन्दा अगाडि पठाउनुभयो।” उहाँले तिनीहरूलाई भविष्यमा आइपर्ने परीक्षा तथा कठिनाइहरूबारे पनि बताउनुभयो अनि मानिसहरूलाई यसो भन्ने निर्देशन दिनुभयो: “परमेश्वरको राज्य तिमीहरूको नजिक आइपुगेको छ।” (लूका १०:१-१२) ती ७० जना औधी रमाएर फर्के अनि येशूलाई यस्तो रिपोर्ट सुनाए: “हे प्रभु, तपाइँको नाउँले भूतहरू पनि हाम्रा वशमा आए।” तिनीहरूले परमेश्वरको राज्यप्रति देखाएको जोसले गर्दा तिनीहरू अझ बढी रमाउनेछन् भनी येशूले बताउँदा तिनीहरू छक्क परे होलान्। उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “आत्माहरू तिमीहरूका वशमा छन् भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्वर्गमा लेखिएका छन् भनेरनै रमाओ।”—लूका १०:१७, २०.
१६, १७. (क) येशूले आफ्ना विश्वासी चेलाहरूसित बिताउनुभएको अन्तिम रातमा तिनीहरूलाई के भन्नुभयो? (ख) येशूका शब्दहरूले ती प्रेरितहरूलाई कस्तो आनन्द र आश्वासन दियो?
१६ अन्ततः येशूले आफ्ना प्रेरितहरूसित बिताउनुभएको अन्तिम रात सा.यु. ३३ नीसान १४ का दिन उहाँले स्थापना गर्नुभएको उत्सव प्रभुको साँझको भोज भनेर चिनिन थाल्यो अनि उहाँले तिनीहरूलाई त्यो स्मरणार्थ उत्सव मनाउने आज्ञा दिनुभयो। त्यस साँझको दौडान येशूले उहाँसित बाँकी रहेका ११ जनालाई यसो भन्नुभयो: “तिमीहरू मेरो परीक्षामा मसितै रहेकाहरू हौ, औ मेरा पिताले मेरो निम्ति नियुक्त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्त गर्छु, र तिमीहरूले मेरो राज्यमा मेरो टेबलमा खाने र पिउनेछौ, औ इस्राएलका बाह्रै कुलको इन्साफ गरेर सिंहासनहरूमा बस्नेछौ।”—लूका २२:१९, २०, २८-३०.
१७ येशूका यी शब्दहरू सुन्दा ती प्रेरितहरूको हृदय कस्तो आनन्द र सन्तुष्टिले भरिएको हुनुपर्छ! तिनीहरूलाई कुनै पनि मानवले पाउन सक्ने सबैभन्दा उच्च आदर र सुअवसर दिइएको थियो। (मत्ती ७:१३, १४; १ पत्रुस २:९) त्यस व्यापारीले जस्तै तिनीहरूले पनि परमेश्वरको राज्यको पछि लाग्न आफूसित भएका सबै कुरा त्यागेका थिए। अब भने तिनीहरूले गरेका ती सबै त्यागहरू बेकारमा थिएनन् भन्ने आश्वासन दिइएको थियो।
१८. ती ११ जना प्रेरितबाहेक परमेश्वरको राज्यबाट अन्ततः क-कसले लाभ उठाउनेछन्?
१८ त्यस रात येशूसित भएका प्रेरितहरूले मात्र परमेश्वरको राज्यबाट लाभ उठाउने थिएनन्। महिमित स्वर्गीय राज्यमा जम्मा १,४४,००० जना येशू ख्रीष्टसित सहशासक हुन राज्य करारमा सामेल होऊन् भन्ने यहोवाको इच्छा थियो। साथै, प्रेरित यूहन्नाले एउटा दर्शनमा “कसैले गन्न नसक्ने . . . एक ठूलो भीड, सिंहासन र थुमाको अगाडि . . . उभिरहेका” देखे र “यसो भनेर ती कराउँदा रहेछन्, ‘सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।’ ” यिनीहरू परमेश्वरको राज्यका पार्थिव प्रजाहरू हुन्।b—प्रकाश ७:९, १०; १४:१, ४.
१९, २०. (क) सबै देशका मानिसहरूसामु कस्तो मौका खुला छ? (ख) अर्को लेखमा कुन प्रश्नबारे छलफल गरिनेछ?
१९ येशू स्वर्गमा जानुभन्दा अलिक समयअघि उहाँले आफ्ना विश्वासी अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ। र हेर, म सब दिन, अँ, जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:१९, २०) त्यसैले सबै देशका मानिसहरू येशू ख्रीष्टका चेलाहरू बन्ने थिए। चाहे स्वर्गीय इनाम होस् वा पार्थिव, असल मोती भेट्टाउने व्यापारीले झैं यिनीहरूले पनि आफ्नो हृदय परमेश्वरको राज्यमा केन्द्रित गर्ने थिए।
२० येशूका शब्दहरूले सङ्केत गरेझैं चेला बनाउने काम “जगत्को अन्तसम्म” चलिरहने थियो। त्यसैले हाम्रो समयमा के त्यो व्यापारीजस्ता व्यक्तिहरू अझै छन् जो परमेश्वरको राज्यको लागि आफ्ना सबै कुराहरू त्याग्न इच्छुक छन्? यस प्रश्नबारे अर्को लेखमा छलफल गरिनेछ।
[फुटनोटहरू]
a हुनसक्छ, जब्दीका छोरा यूहन्ना येशूको पछि लागे अनि उनीहरूसित पहिलो चोटि भेटेपछि येशूले गर्नुभएका केही कुराहरू देखेको कारण यूहन्नाले आफ्नो नाउँको सुसमाचारको पुस्तकमा ती विवरणहरू त्यत्तिको जीवन्त ढङ्गमा लेख्न सके। (यूहन्ना, अध्याय २-५) तैपनि, येशूले बोलाउनुभन्दा केही समयअघि तिनी आफ्नो परिवारको माछा व्यवसायमै फर्केका थिए।
b थप विवरणको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकको अध्याय १० हेर्नुहोस्।
-
-
आज “बहुमूल्य मोती” खोज्नेप्रहरीधरहरा—२००५ | फेब्रुअरी १
-
-
आज “बहुमूल्य मोती” खोज्ने
“राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ।”—मत्ती २४:१४.
१, २. (क) येशूको समयमा यहूदीहरूले परमेश्वरको राज्यबारे कस्तो महसुस गर्थे? (ख) परमेश्वरको राज्यबारे राम्ररी बुझाउन येशूले के गर्नुभयो अनि परिणाम कस्तो भयो?
येशू पृथ्वीमा आउनुहुँदा परमेश्वरको राज्य, यहूदीहरूमाझ अत्यन्तै गहिरो चासोको विषय थियो। (मत्ती ३:१, २; ४:२३-२५; यूहन्ना १:४९) तथापि, सुरुमा तिनीहरूमध्ये धेरैजसोले यो कत्तिको व्यापक हुनेछ र यसले कसरी आफ्नो अख्तियार चलाउनेछ भनेर पूर्णतया बुझेका थिएनन् अनि यो स्वर्गीय सरकार हुनेछ भनेर पनि बुझेका थिएनन्। (यूहन्ना ३:१-५) येशूका अनुयायीहरू भएका कोही-कोहीले समेत परमेश्वरको राज्य के हो वा ख्रीष्टका सँगी शासकहरू हुने आशिष् प्राप्त गर्नको लागि के गर्नुपर्छ भनेर पूर्णतया बुझेका थिएनन्।—मत्ती २०:२०-२२; लूका १९:११; प्रेरित १:६.
२ समय बित्दै जाँदा येशूले धैर्यपूर्वक आफ्ना चेलाहरूलाई थुप्रै पाठ सिकाउनुभयो र यसमध्ये एउटा अघिल्लो लेखमा छलफल गरिएको बहुमूल्य मोतीको दृष्टान्त पनि थियो र त्यसले तिनीहरूलाई स्वर्गीय राज्य खोज्नको लागि कडा परिश्रम गर्नुपर्ने महत्त्वलाई जोड दियो। (मत्ती ६:३३; १३:४५, ४६; लूका १३:२३, २४) यसले तिनीहरूको हृदयमा गहिरो छाप पारेको हुनुपर्छ किनभने चाँडै नै तिनीहरू परमेश्वरको राज्यको सुसमाचारका अथक तथा साहसी उद्घोषकहरू बनेर पृथ्वीको अन्तसम्म पुगे र यो तथ्यबारे प्रेरितको पुस्तकमा यथेष्ट प्रमाण दिइएको छ।—प्रेरित १:८; कलस्सी १:२३.
३. हाम्रो समयलाई सङ्केत गर्दै येशूले परमेश्वरको राज्यबारे के भन्नुभयो?
३ त्यसोभए आज नि? त्यस राज्यअन्तर्गत पार्थिव प्रमोदवनले प्रदान गर्ने आशिष्हरूबारे लाखौंलाई प्रचार गरिएको छ। “जगत्को अन्त[बारे]” आफ्नो महत्त्वपूर्ण भविष्यवाणीमा येशूले स्पष्टसित यसो भन्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:३, १४; मर्कूस १३:१०) भीमकाय अवरोध र चुनौतीहरू अनि सतावटको बावजुद यो विशाल कार्य गरिनेछ भनेर पनि उहाँले बताउनुभयो। तैपनि उहाँले यस्तो आश्वासन दिनुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती २४:९-१३) यो सबै गर्नको लागि येशूको दृष्टान्तका व्यापारीले देखाएको जस्तो आत्मत्याग र प्रतिबद्धता चाहिन्छ। परमेश्वरको राज्यको खोजी गर्न यस्तो विश्वास र जोस देखाउने व्यक्तिहरू के आज पनि छन्?
सत्य पत्ता लगाउँदाको आनन्द
४. परमेश्वरको राज्यसम्बन्धी सत्यले आज मानिसहरूमा कस्तो असर पार्छ?
४ आफूले “बहुमूल्य मोती” भनेर थाह पाएको कुरा भेट्टाएपछि येशूको दृष्टान्तका व्यापारी औधी रमाएका थिए। त्यही आनन्दले गर्दा तिनी त्यो मोती प्राप्त गर्न जे गर्न पनि तयार भए। (हिब्रू १२:१) आज, परमेश्वर र उहाँको राज्यसम्बन्धी सत्यले पनि मानिसहरूलाई त्यसरी नै आकर्षित र उत्प्रेरित गर्छ। यसले भाइ ए. एच. म्याकमिलनको टिप्पणीलाई स्मरण गराउँछ। परमेश्वर र मानिसजातिको लागि उहाँको उद्देश्यसम्बन्धी आफ्नो व्यक्तिगत खोजबारे तिनले फेथ अन द मार्च भन्ने पुस्तकमा यस्तो लेखे: “मैले भेट्टाएको कुरा अरू हजारौं मानिसहरूले वर्षेनी भेट्टाइरहेका छन्। अनि ती मानिसहरू तपाईं र मजस्तै मानिसहरू हुन् किनभने तिनीहरू विभिन्न राष्ट्रियता, जाति, पृष्ठभूमि र उमेरका छन्। सत्यले कुनै पनि किसिमको पक्षपात गर्दैन। यसले सबै प्रकारका मानिसहरूलाई आकर्षित गर्छ।”
५. सन् २००४ सेवा वर्षको रिपोर्टमा कस्ता राम्रा परिणामहरू देख्न सकिन्छ?
५ वर्षेनी, इमानदार हृदय भएका लाखौं मानिसहरूले परमेश्वरको राज्यबारे सुसमाचार सुनेर यहोवालाई आफ्नो जीवन समर्पण गर्न र उहाँको इच्छा गर्न उत्प्रेरित हुँदा ती शब्दहरूको सत्यता देख्न सकिन्छ। सेप्टेम्बर २००३ देखि अगस्त २००४ सम्मको सन् २००४ सेवा वर्षमा पनि यस्तै भयो। ती १२ महिनाको दौडान २,६२,४१६ जनाले यहोवाप्रति आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा जनसमक्ष प्रकट गरे। यो कार्य २३५ मुलुकमा सम्पन्न भयो अनि यहोवाका साक्षीहरूले हरेक हप्ता ६०,८५,३८७ गृह बाइबल अध्ययन सञ्चालन गरेर विभिन्न पृष्ठभूमि अनि विभिन्न जाति, कुल र भाषा भाषाका मानिसहरूलाई परमेश्वरको वचनको जीवनदायी सत्य स्वीकार्न मदत गरिरहेका छन्।—प्रकाश ७:९.
६. वर्षौंदेखि एकनासले वृद्धि भइरहनुको कारण के हो?
६ यो सबै कसरी सम्भव भयो? सही मनसाय भएका यी मानिसहरूलाई यहोवाले आफूतिर खिच्नुहुन्छ भन्ने कुरामा कुनै शङ्का छैन। (यूहन्ना ६:६५; प्रेरित १३:४८) तथापि, परमेश्वरको राज्यको खोजी गर्न आफ्नो जीवन बिताएका व्यक्तिहरूको आत्मत्यागी मनोभाव र अथक प्रयासलाई पनि हल्कासित लिनु हुँदैन। भाइ म्याकमिलनले ७९ वर्षको उमेरमा यस्तो लेखे: “बिरामी र मरणशील मानिसजातिलाई गरिएको प्रतिज्ञाबारे मैले पहिलो चोटि सुनेदेखि बाइबलको त्यो सन्देशले ममा जगाएको आशा आजसम्म जस्ताको तस्तै छ। सर्वशक्तिमान् परमेश्वर यहोवा र मानिसजातिप्रति उहाँका राम्रा उद्देश्यहरूबारे जान्न खोजिरहेका मजस्तै अरू व्यक्तिहरूलाई मदत गर्न सकूँ भनेर मैले त्यतिबेला नै बाइबलका शिक्षाहरूबारे अझ बढी सिक्ने निर्णय गरें।”
७. बाइबल सत्य भेट्टाउनेहरूको आनन्द र उत्सुकतालाई कुन अनुभवले चित्रण गर्छ?
७ त्यस्तो उत्सुकता आज यहोवाका सेवकहरूमा पनि देखिन्छ। उदाहरणका लागि, अस्ट्रियाको भियनाकी डानियलालाई लिनुहोस्। उनले यसो भनिन्: “बच्चैदेखि परमेश्वर मेरो सबैभन्दा मिल्ने साथी हुनुभएको छ। म सधैं उहाँको नाउँ जान्न चाहन्थें किनभने ‘परमेश्वर’ मात्र भन्दा उहाँसित पटक्कै नजिक महसुस हुँदैनथ्यो। तर मैले यसको लागि १७ वर्षको होउन्जेलसम्म पर्खनुपऱ्यो जब यहोवाका साक्षीहरूले मेरो ढोका घचघच्याए। परमेश्वरबारे मैले जान्न चाहेका सबै कुराहरू उहाँहरूले मलाई बताउनुभयो। मैले बल्ल सत्य पाएँ अनि कस्तो आनन्द लाग्यो! म यति धेरै उत्साहित भएकी थिएँ कि मैले सबैलाई प्रचार गर्न थालें।” उनको यस्तो जोसले गर्दा केही समयपछि नै स्कूलका साथीहरूबाट उनले गिल्ला सहनुपऱ्यो। डानियलाले अझै यसो भनिन्, “तर यो त मेरो लागि बाइबलका भविष्यवाणीहरू पूरा भएको हेर्न पाउनु जस्तै भयो किनभने येशूका अनुयायीहरू उहाँको नाउँको खातिर घृणा गरिनेछन् र सताइनेछन् भनेर मैले सिकेकी थिएँ। म असाध्यै खुसी र चकित भएँ।” चाँडै, डानियलाले यहोवालाई आफ्नो जीवन समर्पण गरिन्, बप्तिस्मा लिइन् र मिसनरी सेवाको लक्ष्यलाई पछ्याउन थालिन्। विवाह गरेपछि डानियलाले आफ्नो श्रीमान् हेल्मुटसित भियनामा बसोबास गर्ने अफ्रिकी, चिनियाँ, फिलिपिनो र इन्डियनहरूलाई प्रचार गर्न थालिन्। डानियला र हेल्मुट अहिले दक्षिणपश्चिम अफ्रिकामा मिसनरी सेवा गर्दैछन्।
तिनीहरू लत्तो छोड्दैनन्
८. थुप्रैले परमेश्वरप्रति प्रेम र उहाँको राज्यप्रति वफादारिता देखाएको एउटा इनामदायी तरिका कुन हो?
८ निस्सन्देह, आज यहोवाका जनहरूले परमेश्वरप्रति प्रेम र उहाँको राज्यप्रति वफादारी देखाउने एउटा तरिका मिसनरी सेवा हो। येशूको दृष्टान्तका व्यापारीजस्तै यो सेवा स्वीकार्ने व्यक्तिहरू परमेश्वरको राज्यको खातिर टाढा-टाढासम्म यात्रा गर्न इच्छुक हुन्छन्। हुन त, यी मिसनरीहरूले परमेश्वरको राज्यको सुसमाचार भेट्टाउन टाढा-टाढा यात्रा गरेका होइनन्; तिनीहरू पृथ्वीको टाढा-टाढा बसोबास गर्ने मानिसहरूकहाँ सम्म सुसमाचार पुऱ्याएर उनीहरूलाई येशू ख्रीष्टका चेलाहरू बन्न सिकाउँदैछन् र मदत गर्दैछन्। (मत्ती २८:१९, २०) थुप्रै मुलुकमा तिनीहरूले असामान्य किसिमका कठिनाइहरू सहनुपर्छ। तर तिनीहरूको धीरजले गर्दा प्रचुर मात्रामा आशिष् पाउँछन्।
९, १०. मध्य अफ्रिकी गणतन्त्रजस्ता टाढा-टाढाका मुलुकहरूमा मिसनरीहरूले कस्तो रोमाञ्चकारी अनुभव गरिरहेका छन्?
९ उदाहरणका लागि, मध्य अफ्रिकी गणतन्त्रमा गत वर्ष ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवमा १६,१८४ जना उपस्थित भए र यो संख्या त्यस मुलुकका राज्य प्रकाशकहरूको संख्याको सात गुणा थियो। त्यस देशका धेरैजसो ठाउँहरूमा बिजुली नभएको हुँदा मानिसहरू अक्सर आफ्नो दिनचर्याका कामहरू बाहिर रूखको छहारीमुनि बसेर गर्ने गर्छन्। त्यसकारण मिसनरीहरूले पनि त्यसरी नै बाहिर रूखको छहारीमुनि बसेर बाइबल अध्ययनहरू सञ्चालन गर्नु कुनै अनौठो कुरा होइन। बाहिर उज्यालो र शितल हुनुका साथै एउटा अर्को फाइदा पनि छ। त्यहाँका मानिसहरू स्वभावैले बाइबलप्रति गहिरो चासो देखाउँछन् अनि अन्य कतिपय मुलुकहरूमा खेलकुद वा मौसमबारे कुरा गर्नु जस्तै यहाँ चाहिं धार्मिक विषयहरूमा कुरा गर्नु सामान्य हो। अक्सर बटुवाहरू के भइरहेको छ भनेर हेर्छन् अनि अध्ययनमा आफै सामेल हुन्छन्।
१० एक जना मिसनरीले घरबाहिर अध्ययन सञ्चालन गरिरहेको बेला सडकपारि बस्ने एक जना जवान मानिस आएर उनको घरमा अहिलेसम्म कोही पनि नआएको हुँदा मिसनरी उनको घरमा पनि आएर उनीसित बाइबल अध्ययन गर्नुपर्ने कुरा व्यक्त गरे। यो कुरा स्वीकार्न मिसनरी पक्कै खुसी भए अनि ती जवान मानिसले एकदमै चाँड-चाँडो प्रगति गरिरहेका छन्। त्यस देशमा प्रहरीले अक्सर साक्षीहरूलाई सडकमा रोक्ने गर्छन्, तिनीहरूलाई अदालतमा हाजिर हुने पुर्जी दिन वा जरिबाना तिराउन नभई प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाका नयाँ अंकहरू लिन वा तिनीहरूलाई असाध्यै मन परेको लेखको लागि धन्यवाद दिन त्यसो गर्ने गर्छन्।
११. लामो समयदेखि मिसनरी सेवा गर्दै आएकाहरू परीक्षाहरूको बावजुद आफ्नो सेवाबारे कस्तो महसुस गर्छन्?
११ आजभन्दा ४०/५० वर्षअघि मिसनरी सेवा थालेका थुप्रै व्यक्तिहरू अहिले पनि विश्वासीपूर्वक क्षेत्रमा सेवा गरिरहेका छन्। हाम्रो लागि विश्वास र लगनशीलताको कस्तो राम्रो उदाहरण! गत ४२ वर्षको दौडान एउटा दम्पतीले तीनवटा देशमा मिसनरीको रूपमा सेवा गरिसकेका छन्। पति यसो भन्छन्: “थुप्रै अप्ठ्यारा परिस्थितिहरू पनि अनुभव गरेका छौं। उदाहरणका लागि, हामीले ३५ वर्षसम्म औलो विरुद्ध सङ्घर्ष गर्नुपऱ्यो। तैपनि, मिसनरी हुने हाम्रो निर्णयमा हामी कहिल्यै पछुताएका छैनौं।” तिनकी पत्नी अझ यसो भन्छिन्: “हामी कृतज्ञ हुनुपर्ने कारणहरू थुप्रै छन्। क्षेत्र सेवकाई एकदमै आनन्ददायी हुन्छ अनि बाइबल अध्ययनहरू सुरु गर्न सजिलो छ। विद्यार्थीहरू सभामा आएर एकआपसमा चिनजान बढाएको देख्न पाउँदा हरेक पटक पारिवारिक जमघटजस्तो लाग्छ।”
तिनीहरू “सब कुरालाई पनि हानिको” ठान्छन्
१२. परमेश्वरको राज्यको मोललाई साँच्चै बुझेको कुरा कसरी प्रकट हुन्छ?
१२ व्यापारीले बहुमूल्य मोती भेट्टाएपछि “गएर आफूसँग भएका सबै बेचेर त्यो किन्यो।” (मत्ती १३:४६) मूल्यवान् ठानिने कुराहरू त्याग्ने इच्छुकता नै परमेश्वरको राज्यको मोललाई साँच्चै बहुमूल्य ठान्नेहरूको चिनारी हो। परमेश्वरको राज्यको महिमामा ख्रीष्टसितै सहभागी हुने प्रेरित पावलले यसो भने: “मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको निम्ति म सब कुरालाई पनि हानिको ठान्छु, जसको निम्ति मैले सबै कुरा गुमाएँ, र ख्रीष्टलाई प्राप्त गरूँ भनेर तिनलाई रद्दी सम्झन्छु।”—फिलिप्पी ३:८.
१३. चेक गणतन्त्रका एक जना व्यक्तिले परमेश्वरको राज्यप्रति आफ्नो प्रेम कसरी प्रकट गरे?
१३ त्यसै गरी, आज पनि धेरै जना परमेश्वरको राज्यका आशिष्हरू प्राप्त गर्न आफ्नो जीवनमा ठूल्ठूला परिवर्तनहरू गर्न इच्छुक छन्। उदाहरणका लागि, सन् २००३ अक्टोबरमा चेक गणतन्त्रको एउटा स्कूलका ६० वर्षीय प्रधानाध्यापकले बाइबल अध्ययन सहायक ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ भन्ने पुस्तक पाए। यो पढेपछि बाइबल अध्ययन गर्नको लागि तिनले तुरुन्तै आफ्नो इलाकाका यहोवाका साक्षीहरूसित सम्पर्क राखे। तिनले राम्रो आध्यात्मिक प्रगति गरे अनि चाँडै सबै सभाहरू धाउन थाले। तर मेयरको लागि चुनावमा उठ्ने अनि पछि संसदको सदस्य बन्नको लागि चुनावी दौडमा भाग लिने तिनको योजना नि? तिनले बेग्लै दौड अर्थात् परमेश्वरको राज्यको उद्घोषकको रूपमा जीवनको दौडमा भाग लिने निधो गरे। तिनले यसो भने, “मैले आफ्नो स्कूलका विद्यार्थीहरूलाई थुप्रै बाइबल साहित्यहरू दिन सकें।” तिनले सन् २००४ जुलाई महिनामा सम्पन्न अधिवेशनमा यहोवाप्रति आफ्नो समर्पणलाई पानीमा डुबुल्की मारेर जनसमक्ष प्रकट गरे।
१४. (क) परमेश्वरको राज्यको सुसमाचारले लाखौंलाई के गर्न उत्प्रेरित गरेको छ? (ख) हामी प्रत्येकले आफूलाई कस्ता विचारणीय प्रश्नहरू सोध्न सक्छौं?
१४ संसारभरिका अरू लाखौं मानिसहरूले पनि परमेश्वरको राज्यको सुसमाचारप्रति त्यस्तै प्रतिक्रिया देखाएका छन्। तिनीहरू दुष्ट संसारबाट निस्केर आएका छन्, आफ्नो पुरानो व्यक्तित्व त्यागेका छन्, आफ्नो पुरानो संगत छोडेका छन् अनि सांसारिक लक्ष्यहरू त्यागेका छन्। (यूहन्ना १५:१९; एफिसी ४:२२-२४; याकूब ४:४; १ यूहन्ना २:१५-१७) तिनीहरूले यो सबै गर्नुको कारण के हो? किनभने तिनीहरू वर्तमान रीतिरिवाजले दिन सक्ने कुनै पनि कुराभन्दा परमेश्वरको राज्यका आशिष्हरूलाई धेरै मूल्यवान् ठान्छन्। परमेश्वरको राज्यको सुसमाचारबारे के तपाईंलाई पनि त्यस्तै लाग्छ? के तपाईं आफ्नो जीवन शैली, मूल्यमान्यता अनि लक्ष्यहरू यहोवाले चाहनुभएअनुसार बनाउन आवश्यक छाँटकाँट गर्न उत्प्रेरित हुनुहुन्छ? त्यसो गर्दा तपाईंले अहिले अनि भविष्यमा प्रचुर मात्रामा आशिष्हरू पाउनुहुनेछ।
कटनी चरमोत्कर्षमा पुग्दैछ
१५. आखिरी दिनमा परमेश्वरका जनहरूले के गर्नेछन् भनेर भविष्यवाणी गरिएको थियो?
१५ भजनहारले यस्तो लेखे: “तिम्रा पराक्रमको दिनमा तिम्रो प्रजाले राजी-खुशीले आफैलाई अर्पण गर्नेछन्।” आफूलाई अर्पण गर्नेहरूमध्ये बिहानको “शीतजस्तै . . .जवानी” भएका युवाहरू र “सुसमाचार सुनाउने स्त्रीहरूको एक ठूलो दल” पनि छन्। (भजन ६८:११; ११०:३) यी आखिरी दिनमा यहोवाका जनहरूमध्येका पुरुष तथा स्त्री, जवान अनि वृद्धले देखाएको लगनशीलता र आत्मत्यागको परिणाम कस्तो भएको छ?
१६. परमेश्वरका सेवकहरूले उहाँको राज्यबारे सिक्न अरूलाई मदत गर्नको लागि के गरिरहेका छन् एउटा उदाहरण दिनुहोस्।
१६ भारतकी एउटी अग्रगामी अथवा परमेश्वरको राज्यको पूर्ण-समय उद्घोषकले त्यस मुलुकका बीस लाखभन्दा बढी बहिराहरूलाई परमेश्वरको राज्यबारे सिक्न कसरी मदत गर्ने होला भनेर सोचिरहेकी थिइन्। (यशैया ३५:५) उनले साङ्केतिक भाषा सिक्न एउटा इन्स्टिच्युटमा भर्ना हुने निर्णय गरिन्। त्यहाँ उनले थुप्रै बहिराहरूलाई परमेश्वरको राज्य आशाबारे बताउन सकिन् अनि बाइबल अध्ययन समूहहरू पनि स्थापना भए। केही हप्ताभित्रै एक दर्जनभन्दा बढी मानिसहरू राज्यभवनका सभाहरूमा आउन थाले। पछि, एउटा विवाह भोजमा उक्त अग्रगामीले कोलकत्ताबाट आएका एक जना जवान बहिरालाई भेटिन् र तिनका थुप्रै प्रश्नहरू हुनुका साथै यहोवाबारे अझ बढी सिक्ने गहिरो चासो पनि थियो। तर एउटा समस्या थियो। ती जवान व्यक्ति लगभग १,६०० किलोमिटर टाढा कोलकत्तामा फर्केर कलेजको पढाइ सुरु गर्नुपर्ने थियो र त्यहाँ साङ्केतिक भाषाको ज्ञान भएका साक्षीहरू कोही पनि थिएनन्। निकै प्रयास गरेर यस जवान व्यक्तिले बैंगलोरमा नै पढ्नको लागि आफ्नो बुबालाई मनाए किनभने यसो गर्दा तिनले आफ्नो बाइबल अध्ययनलाई निरन्तरता दिन सक्ने थिए। तिनले राम्रो आध्यात्मिक प्रगति गरे अनि लगभग एक वर्षपछि यहोवालाई आफ्नो जीवन समर्पण गरे। त्यसपछि तिनले अरू थुप्रै बहिराहरूसित बाइबल अध्ययन गर्न थाले र तीमध्ये एक जना तिनका बालसखा थिए। यस क्षेत्रमा मदत गर्नको लागि अहिले भारत शाखाले अग्रगामीहरूको लागि साङ्केतिक भाषा सिक्ने प्रबन्ध मिलाइरहेको छ।
१७. पृष्ठ १९ देखि २२ मा दिइएको सन् २००४ सेवा वर्षको रिपोर्टबारे तपाईंलाई विशेष गरी प्रोत्साहनदायी लागेको कुरा बताउनुहोस्।
१७ यस पत्रिकाको पृष्ठ १९ देखि २२ मा तपाईंले सन् २००४ सेवा वर्षमा यहोवाका साक्षीहरूले क्षेत्रमा गरेको गतिविधिबारे विश्वव्यापी रिपोर्ट पाउनुहुनेछ। यसलाई अलिक समय लगाएर केलाउनुहोस् अनि पृथ्वीभरि यहोवाका जनहरूले “बहुमूल्य मोती” खोज्न देखाइरहेको एकाग्रचित्त सेवाको प्रमाण आफै हेर्नुहोस्।
“पहिले उहाँको राज्य . . . खोजी गर”
१८. व्यापारीको दृष्टान्तमा येशूले कुन जानकारी दिनुभएन र किन?
१८ व्यापारीबारे येशूले बताउनुभएको दृष्टान्तलाई फेरि विचार गर्दा हामी कुन कुरा याद गर्न सक्छौं भने, ती व्यापारीले आफूसित भएका सबै कुरा बेचेपछि आफ्नो जीविका कसरी चलाउनेछन् भनेर येशूले केही पनि बताउनुभएन। व्यावहारिक हुँदै कसै-कसैले यस्तो प्रश्न गर्लान्: ‘ती व्यापारीसित अब केही बचत बाँकी नभएपछि तिनले भोजन, लत्ताकपडा र आवासको प्रबन्ध कसरी गर्ने थिए? त्यो बहुमूल्य मोतीले गर्दा तिनलाई के फाइदा भयो र?’ शारीरिक दृष्टिकोणबाट हेर्ने हो भने ती व्यावहारिक प्रश्नहरू हुने थिए। तर के येशूले आफ्ना चेलाहरूलाई यस्तो आग्रह गर्नुभएको थिएन र: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्”? (मत्ती ६:३१-३३) यस दृष्टान्तको मुख्य बुँदा परमेश्वरप्रति पूरा तनमनको भक्ति र परमेश्वरको राज्यप्रति जोस देखाउनुपर्ने आवश्यकता हो। के यसबाट हामी कुनै पाठ सिक्न सक्छौं?
१९. बहुमूल्य मोतीबारे येशूको दृष्टान्तबाट हामी कुन मुख्य पाठ सिक्न सक्छौं?
१९ हामीले अद्भुत सुसमाचारबारे चाहे भर्खरै सिकेका हौं वा परमेश्वरको राज्य खोज्न अनि यसका आशिष्हरूबारे अरूलाई बताउन दशकौं बिताइसकेका किन नहोऔं, हामीले परमेश्वरको राज्यलाई आफ्नो प्रमुख चासो र ध्यानको विषय बनाइ राख्नै पर्छ। यी कठिन समय हुन् तर हामीले खोजिरहेको कुरा वास्तविक हो र त्यस व्यापारीले भेट्टाएको मोतीजस्तै यो पनि अतुलनीय छ भनेर विश्वास गर्ने ठोस कारणहरू छन्। विश्व घटनाहरू अनि पूरा भएका बाइबल भविष्यवाणीहरूले हामी “जगत्को अन्त[मा]” बाँचिरहेका छौं भन्ने विश्वसनीय प्रमाण दिन्छ। (मत्ती २४:३) त्यस व्यापारीले जस्तै हामी पनि परमेश्वरको राज्यको लागि पूरा तनमनको जोस देखाऔं अनि सुसमाचार घोषणा गर्ने सुअवसरमा रमाऔं।—भजन ९:१, २.
-