सत्यले स्वतन्त्र तुल्याइएको
संयुक्त राज्यमा दश लाखभन्दा बढी मानिसहरू जेलमा परेका छन्। तीमध्ये लगभग ३,००० लाई मृत्युदण्डको सजाय दिइएको छ। आफूलाई त्यस परिस्थितिमा राखेर विचार गर्नुहोस्। तपाईंलाई कस्तो लाग्नेछ? त्यस्तो परिस्थितिको विचार मात्र गर्दा पनि दुःख लाग्छ। तैपनि, एउटा अर्थमा भन्ने हो भने, सबै मानवहरू त्यस्तै परिस्थितिमा छन्। बाइबल यसो भन्छ: “सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित हुनगएका छन्।” (रोमी ३:२३) हो, हामी आदमको सन्तान भएकोले पापी अवस्थाहरूको “कैदमा” परेका छौं। (रोमी ५:१२) मसीही प्रेरित पावलले जस्तै यस कैदका असरहरू हामी दिनदिनै महसुस गर्छौं। तिनले यसो लेखे: “मेरो बुद्धिको व्यवस्थाको विरुद्ध लड़ाइँ गर्ने, र मेरा इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा मलाई ल्याउने, मेरा इन्द्रियहरूमा भिन्नै व्यवस्था म देख्तछु।”—रोमी ७:२३.
हाम्रो पापी स्वभावले गर्दा हामी प्रत्येकले प्रतीकात्मक अर्थमा भन्ने हो भने, मृत्युदण्ड पाएका छौं। किनभने बाइबल यसो भन्छ: “पापको ज्याला मृत्यु हो।” (रोमी ६:२३) भजनरचयिता मोशाले हाम्रो अवस्थाबारे एकदमै उपयुक्त ढंगमा वर्णन गरेका छन्: “हाम्रा आयु ता तीन कोरी र दश वर्ष मात्र छन्, पौरखले चार कोरीसम्म ता होला। तापनि तिनीहरूको घमण्ड ता केवल दुःख र मेहनत मात्र हुन्छन्, किनकि त्यो चाँडै बित्छ, र हामी उड़िजान्छौं।”—भजन ९०:१०; तुलना गर्नुहोस् याकूब ४:१४.
पाप र मृत्युको बन्धनमा परेको मानिसजातिलाई ध्यानमा राख्दै येशूले “सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ,” भन्नुभएको थियो। (यूहन्ना ८:३२) येशूले यसो भन्नुहुँदा आफ्ना अनुयायीहरूले रोमी शासनबाट छुटकारा पाउनेछन् भन्न खोज्नुभएको थिएन तर त्योभन्दा धेरै उत्तम कुरा अर्थात् पाप र मृत्युको बन्धनबाट पाउने छुटकाराबारे भन्दै हुनुहुन्थ्यो! तिनीहरूलाई यो छुटकारा कसरी दिइनेछ? येशूले तिनीहरूलाई भन्नुभयो: “पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ।” (यूहन्ना ८:३६) हो, “पुत्र” अर्थात् येशूले मोलस्वरूप आफ्नो शरीर छुडौतीको बलिदानको रूपमा तिर्नुभएर आदमले गुमाएको कुरा फेरि किन्नुभयो। (१ यूहन्ना ४:१०) यसले गर्दा सबै आज्ञाकारी मानिसजातिको निम्ति पाप र मृत्युको बन्धनबाट छुटकारा पाउनसक्ने बाटो खुल्यो। “उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्” भन्ने उद्देश्यले परमेश्वरको एकमात्र प्रिय पुत्र मर्नुभयो।—यूहन्ना ३:१६.
अतः, हामीलाई स्वतन्त्र तुल्याउने सत्य पूर्णतया येशू ख्रीष्टमा निर्भर छ। परमेश्वरको राज्यले पृथ्वीका मामिलाहरूमाथि पूर्ण नियन्त्रण लिएपछि येशूको पाइलामा हिंड्नेहरूले पाप र मृत्युबाट छुटकारा पाउने आशा गर्नसक्छन्। परमेश्वरको वचनको सत्य स्वीकार्नेहरूले अहिले पनि साँचो स्वतन्त्रता महसुस गर्छन्। कुन कुन तरिकामा?
मृत्युको डरबाट स्वतन्त्रता
आज लाखौं मानिसहरू मृत्युदेखि डराउँछन्। किन? किनभने तिनीहरूको धर्मले मान्छे मरेपछि शरीरलाई छोडेर प्राण आत्मिक संसारमा जान्छ भनी सिकाएको छ। त्यसैकारण त कतिपय मुलुकहरूमा निकै दिन दिनरात मृतकका नातेदारहरू लास वरिपरि जाग्राम बस्छन् र ठूल-ठूलो स्वरले गीत गाउने र ढोलक बजाउने गर्छन्। यसो गर्दा मरेको मान्छे खुशी हुन्छ र पछि तर्साउन आउँदैन भनेर शोकितहरू विश्वास गर्छन्। मरेकाहरूको अवस्थाबारे मसीहीजगत्ले झूटो शिक्षा फैलाएको हुँदा यस्तो प्रथा झनै मजबुत भएको छ।
तथापि, बाइबलले मृत अवस्थाबारे सत्य कुरा बताउँछ। तपाईंको प्राण भनेकै तपाईं हो र मृत्युपछि पनि जीवित रहने यो कुनै रहस्यमय भाग होइन भनी बाइबलले स्पष्ट बताउँछ। (उत्पत्ति २:७; इजकिएल १८:४) यसबाहेक, मरेकाहरू अग्निमय नरकमा यातना भोगिरहेका छैनन् नता अन्य जीवित व्यक्तिहरूलाई तर्साउने कुनै आत्मिक संसारकै भाग हुन्। बाइबल यसो भन्छ, “मरेकाहरूले ता केही पनि जान्दैनन्, . . . मृत्युमा [चिहान], जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धि नै हुन्छ।”—उपदेशक ९:५, १०.
यी बाइबल सत्यले थुप्रै मानिसहरूलाई मृत्युको डरबाट स्वतन्त्र तुल्याएको छ। तिनीहरू नता आफ्ना पितृहरूलाई खुशी पार्न महँगा महँगा बलिहरू चढाउँछन् न पाप गरेको कारण आफ्ना प्रियजनहरूले निर्मम यातना पाइरहेका छन् भनी चिन्ता नै लिन्छन्। परमेश्वरले आफ्नो तोकिएको समयमा मरिसकेका “धर्मी तथा अधर्मीहरूसमेतको पुनरुत्थान” गर्नुहुनेछ भन्ने बाइबलको यस अद्भुत आशाबारे तिनीहरूले सिकेका छन्। (प्रेरित २४:१५; यूहन्ना ५:२८, २९) तसर्थ, मरेकाहरू अहिले केवल आराम गरिरहेका छन्। मानौं, गहिरो निद्रामा परेझैं।—यूहन्ना ११:११-१४ तुलना गर्नुहोस्।
मरेकाहरूको अवस्थाबारे सत्य कुरा र पुनरुत्थानको आशाबारे थाह पाएपछि मृत्युको कारण हुने नैराश्यबाट स्वतन्त्र हुनसक्छौं। आफ्नो चार वर्षको छोरा दुर्घटनाको कारण गुमाउनु परे तापनि पुनरुत्थानको आशाले संयुक्त राज्यमा एक दम्पतीलाई ढाडस दियो। आमा भन्छिन्, “हाम्रो जीवनमा एक प्रकारको शून्यता छाएको छ र आफ्नो छोरालाई पुनरुत्थानमा नभेटुञ्जेल यस्तै भइरहनेछ। तर यो दुःख क्षणिक मात्रै हो भनेर हामीलाई थाह छ किनभने यहोवाले सबैका आँखाबाट आँसु पुछिदिने प्रतिज्ञा गर्नुभएको छ।”—प्रकाश २१:३, ४.
भविष्यको डरबाट स्वतन्त्रता
तपाईंको भविष्य कस्तो छ? हाम्रो पृथ्वीको आणविक संहार पो हुने हो कि? पृथ्वीको वातावरण बिग्रेर बस्नै नहुने हो कि? खस्कँदो नैतिकताले गर्दा अराजक र अस्तव्यस्त पो हुने हो कि? साँच्चै आज थुप्रैले यस्तो डर महसुस गर्छन्।
तर, बाइबलले हामीलाई यस्तो डरबाट स्वतन्त्र तुल्याउँछ। “पृथ्वी चाहिं सदा सर्वदै रहिरहन्छ” भनी बाइबलले हामीलाई आश्वासन दिन्छ। (उपदेशक १:४) यहोवाले हाम्रो पृथ्वीलाई लापरवाह मानवहरूको हातबाट नाश हुन दिन सृष्टि गर्नुभएको होइन। (यशैया ४५:१८) बरु, यहोवाले एकताबद्ध मानव परिवारको निम्ति पृथ्वीलाई प्रमोदवनरूपी घरको रूपमा सृजनुभएको हो। (उत्पत्ति १:२७, २८) उहाँको उद्देश्य परिवर्तन भएको छैन। परमेश्वरले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ भनी बाइबलले बताउँछ। (प्रकाश ११:१८) त्यसपछिको अवस्था वर्णन गर्दै बाइबल यसो भन्छ, “नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”—भजन ३७:११.
यो प्रतिज्ञा हामी पत्याउनसक्छौं किनभने परमेश्वर झूट बोल्नुहुन्न। यहोवाले आफ्नो अगमवक्ता यशैया मार्फत यसो भन्नुभयो: “मेरो मुखबाट निस्कने मेरो वचन . . . मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।” (यशैया ५५:११; तीतस १:२) अतः, २ पत्रुस ३:१३ मा लिपिबद्ध बाइबलको भविष्यवाणी पूरा हुनेछ भनी हामी निर्धक्क हुनसक्छौं। उक्त पदमा यसो भनिएको छ: “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।”
मानिसको डरबाट स्वतन्त्रता
परमेश्वरप्रति आफ्नो भक्ति प्रदर्शन गर्ने निडर पुरुष तथा स्त्रीहरूको उत्कृष्ट उदाहरणहरू बाइबलले दिन्छ। तिनीहरूमध्ये केहीको नाउँ लिने हो भने, गिदोन, बाराक, दबोरा, दानियल, एस्तर, यर्मिया, अबीगेल र याएल हुन्। यी विश्वासी पुरुष तथा स्त्रीहरूले भजनरचयिताको जस्तो मनोवृत्ति देखाए जसले यसो भने: “परमेश्वरमा मैले मेरो भरोसा राखेको छु, म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ र?”—भजन ५६:११.
प्रथम शताब्दीमा पनि धार्मिक अधिकारीहरूले प्रचारकार्य बन्द गर्ने आदेश दिंदा प्रेरित पत्रुस र यूहन्नाले त्यस्तै प्रकारको साहस देखाएका थिए। तिनीहरूले यस्तो जवाफ दिए, “हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्तैसक्तैनौं।” तिनीहरूको दृढ अडानको कारण पछि पत्रुस र यूहन्नालाई झ्यालखानामा थुनियो। चमत्कारपूर्ण ढंगमा छुटकारा पाएपछि तिनीहरू फेरि फर्केर “निर्भयतासँग परमेश्वरको वचन बोले।” धेरै बेर प्रचार गर्न नपाउँदै पत्रुस र अन्य प्रेरितहरूलाई यहूदी सभाघरमा ल्याइयो। प्रधानपूजाहारीले तिनीहरूलाई यसो भने, “हामीले तिमीहरूलाई यस नाउँमा केही शिक्षा नदिनू भनेर कड़ा आज्ञा दिएका थियौं, औ हेर, तिमीहरूले आफ्ना शिक्षाले सारा यरूशलेम भरिसक्यौ।” पत्रुस र अन्य प्रेरितहरूले यस्तो जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ।”—प्रेरित ४:१६, १७, १९, २०, ३१; ५:१८-२०, २७-२९.
आज पनि यहोवाका साक्षीहरू परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने सन्दर्भमा प्रथम शताब्दीका मसीहीहरूको जोस अनुसरण गर्न यथाशक्य प्रयास गर्छन्। तिनीहरूमध्ये जवानहरूसमेत अरूलाई आफ्नो विश्वासबारे बताउन अक्सर निडर हुन्छन्। केही उदाहरणहरू हेरौं।
किशोरी स्टेसी स्वभावैले लजालु छिन्। त्यसैकारण अरूलाई आफ्नो विश्वासबारे बताउनु त सुरुमा चुनौती नै थियो। लजालुपन हटाउन तिनले के गरिन् त? तिनी भन्छिन्: “मैले बाइबल अध्ययन गरें र आफूले बताइरहेको कुरा सत्य हो भनी निश्चित भएँ। यसले गर्दा मलाई धेरै सजिलो भयो र आत्मविश्वास बढ्यो।” स्टेसीको असल आचरणबारे स्थानीय अखबारमा पनि लेखिएको थियो। तिनको स्कूलको शिक्षिकाले लेखेको लेखमा यस्तो टिप्पणी गरिएको थियो: “अधिकांश किशोरकिशोरीहरू दबाब आयो भने त्यसकै लहै लहैमा लाग्छन् तर [स्टेसीलाई] यसो हेर्दा तिनको विश्वासले नै यस्तो दबाबको सामना गर्न बल दिएको जस्तो लाग्छ। . . . उनी परमेश्वरको सेवा गर्नु नै सर्वमहत्त्वपूर्ण हुनुपर्छ भन्ठान्छिन्।”
टमीले पाँच वर्षको उमेरदेखि आफ्नो आमाबाबुसँग बाइबलको शिक्षा लिन थाले। कलिलै उमेरमा पनि तिनले साँचो उपासनाको लागि दृढ अडान लिए। तिनका सहपाठीहरूले धार्मिक चाडपर्वहरूसित सम्बन्धित चित्रहरू कोर्दा टमी चाहिं परमेश्वरले प्रतिज्ञा गर्नुभएको प्रमोदवनका दृश्यहरू कोर्थे। किशोरावस्थामा पुगेपछि टमीले आफ्ना थुप्रै सहपाठीहरूलाई यहोवाका साक्षीहरूको विश्वासबारे राम्ररी थाह नभएको बुझे। आफ्ना साथीहरूको डरले हच्किनुको साटो तिनीहरूका प्रश्नहरूको एक एक गरी जवाफ दिन शिक्षकसित अनुमति मागे। तिनले अनुमति पाए र राम्रोसँग साक्षी दिने मौका पाए।
सत्र वर्षको हुँदा माकरिताले आफ्ना सहपाठीहरूलाई आफ्नो विश्वासबारे बताउने असाध्यै राम्रो मौका पाइन्। तिनी भन्छिन्: “हामी सबैले एक एकवटा वक्तव्य दिनुपर्ने थियो। मैले आफ्नो विषय युवा जनहरूले सोध्ने प्रश्न—त्यसका उपयोगी जवाफहरू (अंग्रेजी) पुस्तकबाट छानें।a मैले त्यस पुस्तकबाट पाँचवटा अध्यायहरू छानें र त्यसका शीर्षकहरू कालोपाटीमा लेखें। कक्षाका साथीहरूलाई ती विषयहरूमध्ये कुन महत्त्वपूर्ण लाग्छ भनेर सोधें।” यसपछि कक्षाका साथीहरूसित छलफल सुरु भयो। माकरिता अन्तमा यसो भन्छिन्, “मैले सबैलाई त्यो पुस्तक देखाएँ र धेरै जनाले मसँग त्यस पुस्तकको प्रति मागे। मेरी शिक्षिकाले समेत एउटा प्रति माग्नुभयो।”
सत्यले तपाईंलाई स्वतन्त्र तुल्याउनसक्छ
हामीले माथिका छलफलहरूबाट के बुझ्यौं भने, बाइबलमा भएको सत्यबारे अध्ययन गरेर त्यस सन्देशलाई हृदयंगम गर्ने सबै उमेरका व्यक्तिहरूले स्वतन्त्रता पाउनसक्छन्। यसले तिनीहरूलाई मृत्यु, भविष्य र मानिसको डरबाट स्वतन्त्र तुल्याउँछ। अन्ततः येशूको छुडौतीको बलिदानले आज्ञाकारी मानिसजातिलाई पाप र मृत्युबाट स्वतन्त्र तुल्याउनेछ। वंशानुगत पापी अवस्थाको कैदबाट मुक्त भई पार्थिव प्रमोदवनमा अनन्त जीवन बिताउन पाउनु कत्ति आनन्दमय हुनेछ!—भजन ३७:२९.
के तपाईं परमेश्वरले प्रतिज्ञा गर्नुभएको आशिष्हरूबारे अझ बढी जान्न चाहनुहुन्छ? चाहनुहुन्छ भने तपाईंले के गर्नुपर्छ? येशूले यसो भन्नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) येशूले आफ्ना चेलाहरूलाई प्रतिज्ञा गर्नुभएको स्वतन्त्रता तपाईं पनि चाहनुहुन्छ भने, तपाईंले यहोवा परमेश्वर र उहाँको पुत्रबारे सिक्नुपर्छ। परमेश्वरको इच्छा के हो, त्यो सिकेर त्यसअनुरूप गर्नुपर्छ किनभने बाइबल यसो भन्छ: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्ना २:१७.
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[पृष्ठ ७-मा भएको चित्र]
परमेश्वरको राज्यमा मानिसजातिले पाप र मृत्युबाट साँच्चै छुटकारा पाउनेछ