-
‘झन् बढी उत्कट ध्यान दिनुहोस्’प्रहरीधरहरा—२००२ | सेप्टेम्बर १५
-
-
‘झन् बढी उत्कट ध्यान दिनुहोस्’
“हामीले सुनेका कुराहरूलाई हामी झन् बढी उत्कट ध्यान दिनुपर्दछ, नत्रता हामी तिनीहरूबाट तर्केर जानेछौं।”—हिब्रू २:१.
१. ध्यान विकर्षण हुँदा कसरी परिणाम घातक साबित हुन सक्छ उदाहरण दिनुहोस्।
संयुक्त राज्य अमेरिकामा मात्र सवारी दुर्घटनाको कारण वर्षेनी ३७,००० मानिसहरूको मृत्यु हुने गर्छ। विशेषज्ञहरूअनुसार सवारीचालकहरूले ध्यान दिएर गाडी चलाएको भए यति धेरै दुर्घटनाहरू हुँदैनथ्यो। कुनै संकेत र विज्ञापनपाटी वा आफ्नै मोबाइल फोनको कारण केही सवारीचालकहरूको ध्यान विकर्षण हुन्छ। अनि अरू कोही मानिसहरूचाहिं गाडी हाँक्दै खाने गर्छन्। यस्ता सबै परिस्थितिमा ध्यान विकर्षण हुँदा परिणाम घातक साबित हुन सक्छ।
२, ३. पावलले हिब्रू मसीहीहरूलाई के सल्लाह दिए र तिनको सल्लाह किन उपयुक्त थियो?
२ सवारीसाधनहरू बनाइनुभन्दा झन्डै २,००० वर्षअघि प्रेरित पावलले हिब्रू मसीहीहरूको निम्ति विपत्तिजनक साबित भइरहेको केही अलमल्याउने कुराबारे बताए। पुनरुत्थान हुनुभएका येशू ख्रीष्ट परमेश्वरको दाहिने बाहुलीतर्फ बसालिनुभएकोले अरू स्वर्गदूतलाई भन्दा उहाँलाई उच्च ओहदा दिइयो भन्ने कुरामा पावलले जोड दिए। त्यसपछि प्रेरित पावलले यसो भने: “यसकारण हामीले सुनेका कुराहरूलाई हामी झन् बढी उत्कट ध्यान दिनुपर्दछ, नत्रता हामी तिनीहरूबाट तर्केर जानेछौं।”—हिब्रू २:१.
३ येशूको सन्दर्भमा हिब्रू मसीहीहरूले किन “झन् बढी उत्कट ध्यान” दिनुपर्दथ्यो? किनभने येशू पृथ्वीबाट जानुभएको झन्डै ३० वर्ष भइसकेको थियो। आफ्ना मालिकको अनुपस्थितिमा केही हिब्रू मसीहीहरू सच्चाइबाट तर्केर जान थालेका थिए। आफ्नो पुरानो उपासना शैली अर्थात् यहूदी धर्मतर्फ तिनीहरूको मन फिर्न थाल्यो।
तिनीहरूले झन् बढी ध्यान दिनुपर्थ्यो
४. केही हिब्रू मसीहीहरू किन यहूदी धर्ममै फर्कन लालायित भएका हुन सक्छन्?
४ किन कोही मसीही यहूदी धर्ममै फर्कन लालायित भएका थिए? व्यवस्था अन्तर्गतको उपासना प्रक्रियामा केही स्पष्ट देखिने कुराहरू समावेश थिए। मानिसहरूले पूजाहारीहरूलाई देख्न सक्थे र बलि चढाइँदा आउने बास्ना सुँघ्न सक्थे। तथापि, केही खास पक्षहरूमा मसीहीधर्म धेरै फरक थियो। मसीहीहरूको प्रधान पूजाहारी येशू ख्रीष्ट हुनुहुन्थ्यो तर उहाँ पृथ्वीमा देखा नपरेको तीन दशक भइसकेको थियो। (हिब्रू ४:१४) तिनीहरूको मन्दिर त थियो तर यसको पवित्र स्थान स्वयम् स्वर्गमै थियो। (हिब्रू ९:२४) मसीहीहरूले व्यवस्थाअनुसार चलेको बेलामा जस्तो शारीरिक खतना गर्नु पर्दैनथ्यो तर “आत्मामा हृदयको खतना” गर्नुपर्थ्यो। (रोमी २:२९) अतः हिब्रू मसीहीहरूलाई मसीहीधर्म अस्पष्ट लागेको हुन सक्छ।
५. पावलले व्यवस्था अन्तर्गतको उपासना प्रक्रियाभन्दा येशूले स्थापना गर्नुभएको उपासना प्रक्रिया उत्कृष्ट छ भनेर कसरी देखाए?
५ हिब्रू मसीहीहरूले ख्रीष्टले स्थापना गर्नुभएको उपासना प्रक्रियाको एउटा अत्यन्तै उल्लेखनीय पक्षलाई बुझ्नुपर्ने थियो। यो देखिने कुरामा भन्दा पनि विश्वासमा आधारित थियो र अगमवक्ता मोशालाई सुम्पिएको व्यवस्थाभन्दा उत्कृष्ट थियो। पावलले यस्तो लेखे: “बोका र बाछाको रगत, र बिटुलिएको माथि छर्किने कोरलीको खरानीले शरीरको शुद्धेइँमा पवित्र तुल्याउँछ भनेता, जीवित परमेश्वरको सेवा गर्नालाई ख्रीष्टको रगतले तिमीहरूका विवेकलाई शक्तिहीन कामहरूबाट कति बढता गरी शुद्ध पार्ला? जसले अनन्त आत्माद्वारा आफैलाई परमेश्वरकहाँ निष्खोट अर्पण गर्नुभयो।” (हिब्रू ९:१३, १४) हो, व्यवस्था अन्तर्गत चढाइने बलिहरूको आधारमा पाइने क्षमाभन्दा येशू ख्रीष्टको छुडौतीको बलिदानमाथि विश्वासको आधारमा पाइने क्षमा थुप्रै तरिकामा सर्वोत्कृष्ट थियो।—हिब्रू ७:२६-२८.
६, ७. (क) कस्तो परिस्थितिले गर्दा हिब्रू मसीहीहरूले ढिलासुस्ती नगरी “सुनेका कुराहरूलाई . . . झन् बढी उत्कट ध्यान” दिनुपर्थ्यो? (ख) पावलले हिब्रू मसीहीहरूलाई पत्र लेख्दा यरूशलेमको विनाश हुन कति समय बाँकी थियो? (पादटिप्पणी हेर्नुहोस्।)
६ हिब्रू मसीहीहरूले येशूबारे सुनेको कुरामा झन् बढी उत्कट ध्यान दिनुपर्ने अर्को कारण पनि थियो। उहाँले यरूशलेमको विनाश हुनेछ भनी भविष्यवाणी गर्नुभएको थियो। येशूले यसो भन्नुभयो: “तँमाथि ती दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन् र सबैतिरबाट तँलाई थुनिराख्नेछन्, र तँलाई र तँभित्र भएका बाल-बच्चाहरूलाई जमीनमा पछार्नेछन्, औ ढुङ्गामाथि ढुङ्गा पनि छोडिनेछैन। किनकि तैंले आफूमाथि कृपादृष्टि भएको समयलाई बुझ्नसकिनस्।”—लूका १९:४३, ४४.
७ यो कहिले हुने थियो? येशूले दिन र घण्टाबारे केही बताउनुभएन। बरु, उहाँले यस्तो निर्देशन दिनुभयो: “जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान। तब यहूदियामा हुनेहरू डाँडाहरूतिर भागून्। औ शहरभित्र हुनेहरू निस्किजाऊन्, र गाउँमा हुनेहरू त्यहाँभित्र नपसून्।” (लूका २१:२०, २१) येशूले यी शब्दहरू भन्नुभएको झन्डै ३० वर्षको दौडान यरूशलेमका केही मसीहीहरूले अविलम्बी हुनुपर्छ भन्ने कुरालाई बिर्से र अलमलिए। भन्ने हो भने, तिनीहरू गाडी चलाउँदा अलमलिएको मानिसजस्तै भए। आफ्नो सोचाइमा छाँटकाँट नगरेको खण्डमा तिनीहरूमाथि विपत्ति आइपर्ने पक्का थियो। तिनीहरूले यसबारे विचार गरे कि गरेनन् यकिनसित भन्न नसके तापनि यरूशलेमको विनाश भने पक्का थियो!a आध्यात्मिक तवरमा सुस्ताएका यरूशलेमका मसीहीहरू पावलको सल्लाह सुनेर सजग भए होलान्।
आज “झन् बढी उत्कट ध्यान” दिनुपर्ने
८. हामीले किन परमेश्वरको वचनको सत्यप्रति “झन् बढी उत्कट ध्यान” दिनुपर्छ?
८ प्रथम शताब्दीका मसीहीहरूले जस्तै हामीले पनि परमेश्वरको वचनको सत्यप्रति “झन् बढी उत्कट ध्यान” दिनुपर्छ। किन? किनभने हाम्रो सम्मुख पनि विनाश नजिकै छ जुन विनाश एउटा राष्ट्रको मात्र नभई सम्पूर्ण दुष्ट रीतिरिवाजको हो। (प्रकाश ११:१८; १६:१४, १६) हो, यहोवाले न्याय सुनाउनुहुने दिन र घडीबारे हामीलाई थाह छैन। (मत्ती २४:३६) यद्यपि, हामी बाँचिरहेको समय नै “आखिरी दिन” हो भनी प्रमाणित गर्ने बाइबल भविष्यवाणीहरू हाम्रै आँखाअघि पूरा भइरहेका छन्। (२ तिमोथी ३:१-५) तसर्थ, हामीलाई अलमल्याउन सक्ने कुनै पनि कुराप्रति हामी सजग हुनुपर्छ। हामीले परमेश्वरको वचनमा ध्यान दिनुपर्छ र अविलम्बी भावलाई कायम राख्नुपर्छ। त्यसो गर्दा मात्र हामी “आउनलागेका कुराहरूबाट उम्कन” सक्छौं।—लूका २१:३६.
-
-
‘झन् बढी उत्कट ध्यान दिनुहोस्’प्रहरीधरहरा—२००२ | सेप्टेम्बर १५
-
-
a हिब्रूहरूलाई यो पत्र सा.यु. ६१ तिर लेखिएको हुन सक्छ। यदि त्यसो हो भने यसको पाँच वर्षपछि नै सेस्टियस ग्यालसको सेनाले यरूशलेममा घेरा हालेका थिए। चाँडै ती सेनाहरू फर्के जसले गर्दा सजग मसीहीहरू भाग्न पाए। त्यसको चार वर्षपछि सेनापति टाइटसको नेतृत्वमा आएको सेनाको हातबाट उक्त शहरले विनाश भोग्नुपऱ्यो।
-