साइबेरियामा निर्वासित!
भासीली कालिनको वृत्तान्तमा आधारित
वरपर गोला-बारुदहरू पड्किरहेको ठाउँमा एक जना मानिस चुपचापसँग बाइबल पढिरहेको देख्नुभयो भने, त्यो मानिस किन त्यसरी शान्त भएर रहनसकेको होला भनेर तपाईं बुझ्न चाहनुहुन्न र? त्यस्तै दृश्य बुबाले ५६ वर्षअघि देख्नुभएको थियो।
जुलाई १९४२ तिर दोस्रो विश्वयुद्ध घमासानसित चलिरहेको थियो। हातहतियारले सुसज्जित जर्मन सेनाहरू मेरो बुबाको गाउँ युक्रेनको भिलशानिट्सामा आउँदा उहाँ एक जना पाको मानिसको घरभित्र छिर्नुभयो। चारैतिर गोला-बारुदहरू पड्किरहेको बेला त्यो मानिस मकै भुट्दै बाइबल पढिरहेका थिए।
त्यसको पाँच वर्षपछि, तत्कालीन सोभियत गणतन्त्रमा पर्ने युक्रेनको पश्चिमपट्टिको सुन्दर इभाना-फ्रान्कोफ्स्क शहरको नजिकै मेरो जन्म भयो। पछि बुबाले त्यस यहोवाका साक्षीसितको उहाँको अविस्मरणीय भेटघाट अनि युद्धताकाका बीभत्स घटनाहरूबारे पनि मलाई सुनाउनुभयो। त्यस्तो अवस्थाले गर्दा मानिसहरू लाचार अनि विचलित हुँदै सोध्न थाले, ‘किन यति धेरै अन्याय? हजारौं निर्दोष मानिसहरू किन मर्दैछन्? परमेश्वरले किन हेरिरहनु भएको? किन? किन? किन?’
बुबाले, त्यस वृद्ध मानिससित निकै तर्कवितर्क गर्नुभएछ। तिनले एकपछि अर्को गर्दै थुप्रै बाइबल पदहरू देखाएर बुबालाई धेरै अघिदेखि अल्मलाइरहेका प्रश्नहरूको जवाफ दिएछन्। परमेश्वरले समयमा सबै युद्ध हटाउने र पृथ्वीलाई मनमोहक प्रमोदवनमा परिणत गर्ने लक्ष्य राख्नुभएको छ भनी तिनले बुबालाई बताएका रहेछन्।—भजन ४६:९; यशैया २:४; प्रकाश २१:३, ४.
त्यसपछि हतार हतार बुबा घर फर्केर यसो भन्न थाल्नुभएछ: “तिमीहरूले सुन्यौ भने छक्क पर्छौ। आज यहोवाका साक्षीसित कुरा गरेको पहिलो खेपमै मलाई छ्यांग भयो! मैले सच्चाइ भेट्टाएँ!” क्याथोलिक चर्चमा नियमित तवरमा भेला हुने गर्ने भए तापनि, त्यहाँका धर्मगुरुहरूले उहाँले सोध्नुभएका प्रश्नहरूको जवाफ कहिल्यै दिन सकेका रहेनछन्। त्यसैकारण, आमाबुबा दुवैले बाइबल अध्ययन थाल्नुभयो। उहाँहरूले आफ्ना तीन जना छोराछोरीहरू अर्थात् दुई वर्षकी मेरी दिदी लगायत सात र एघार वर्षका दुई दाजुहरूलाई पनि सिकाउन थाल्नुभयो। त्यसको केही समय नबित्दै एउटा कोठाबाहेक पूरै घर बमले क्षतिग्रस्त भएछ।
मेरी छ दिदीबहिनी र एक भाइ भएको ठूलो परिवारमा आमा हुर्कनुभएको थियो। उहाँको बुबा त्यस ठाउँका धनी मानिस हुनुभएकोले आफ्नो प्रभुत्व र ओहोदाको ख्याल गर्नुहुन्थ्यो। त्यसैले हाम्रो परिवारले भेट्टाएको नयाँ विश्वासलाई नातेदारहरूले सुरुसुरुमा विरोध गरेका रहेछन्। तथापि, समय बित्दै जाँदा ती विरोधीहरूमध्ये थुप्रैले प्रतिमाहरूको प्रयोग जस्ता थुप्रै गैरशास्त्रीय धार्मिक कामकुराहरू त्यागेर मेरा आमाबुबासित साँचो उपासना गर्न थालेछन्।
त्यतिबेला धर्मगुरुहरूले खुल्लमखुल्ला साक्षीहरू विरुद्ध मानिसहरूलाई बहकाउने गर्थे। परिणामस्वरूप, स्थानीय बासिन्दाहरूले मेरा आमाबुबाको घरको झ्यालहरू तोडफोड गरेर धम्काउँदा रहेछन्। यसो भए तापनि उहाँहरूले बाइबल अध्ययन गरी नै रहनुभयो। फलस्वरूप १९४७ मा मेरो जन्म हुँदा हाम्रो परिवारले यहोवालाई आत्मा र सत्यतामा उपासना गर्न थालिसकेका थिए।—यूहन्ना ४:२४.
निर्वासनमा
म चार वर्षको मात्र भए तापनि, अप्रिल ८, १९५१ का दिन विहान भएका घटनाहरू अझ पनि मैले भुल्न सकेको छैन। कुकुरहरू लिएको सेना हाम्रो घरभित्र पस्यो। तिनीहरूले हामीलाई देश निकाला गरिएको आदेश पत्र देखाएर घरको खानतलासी गर्न थाले। मेसिनगन र कुकुर लिएका सिपाहीहरू ढोकामै उभिरहे। हामीलाई दुई घण्टा भित्र तैयार हुने आदेश दिइयो। हामी छिटोछिटो आ-आफ्ना काममा लाग्दा सैन्य पोसाक लगाएका केही मानिसहरू हाम्रो टेबुल अगाडि कुरेर बसे। त्यसबेला के भइरहेको हो भनेर नबुझेकोले म रोएँ।
आफूहरू अबदेखि यहोवाका साक्षीहरू नभएको र तिनीहरूसित केही सम्बन्ध पनि छैन भन्ने लेखिएको पत्रमा दस्तखत गर्न मेरा आमाबुबालाई आदेश दिइयो। उहाँहरूले त्यसमा दस्तखत गर्नुभएको खण्डमा आफ्नै गाउँघरमा बस्ने अनुमति दिइने थियो। तर बुबाले अटल भई भन्नुभयो: “तपाईंहरूले हामीलाई जहाँसुकै लैजानुभए तापनि यहोवा, हाम्रा परमेश्वर हामीसित हुनुहुनेछ भनी मलाई पक्का विश्वास छ।”
“के तिमीलाई आफ्नो परिवार अनि बालबच्चाको चिन्ता छैन,” भन्दै अफिसरले बुबालाई सम्झाए। “तिमीहरूलाई आरामदायी ठाउँमा लगिंदैछ भन्ने नठान। तिमीहरूलाई त हिउँ नै हिउँले ढाकेको र सडकमै हिम भालुहरू हिंड्डुल गर्ने धेरै टाढा उत्तरी भेगमा पठाइँदै छ।”
त्यसबेला, “साइबेरिया” भन्नेबित्तिकै बिरानो तथा अनकन्टार ठाउँको सम्झना आउँथ्यो। तथापि, बिरानो ठाउँको डरभन्दा यहोवामाथिको विश्वास र उहाँप्रतिको हार्दिक प्रेम नै बलियो साबित भयो। हाम्रा मालसामानहरू बैलगाडामा राखेर हामीलाई शहरसम्म पुऱ्याइयो र त्यहाँबाट मालगाडीमा २०/३० परिवारलाई सँगै राखेर लगियो। यसरी हामीले साइबेरियाको हिउँ नै हिउँले ढाकिएको घना जंगल अर्थात् एकलासे क्षेत्रको यात्रा सुरु गऱ्यौं।
बाटोभरि हामीले रेलवे स्टेशनहरूमा मानिसहरूलाई निर्वासनमा लगिरहेका अरू रेलहरू पनि देख्यौं अनि त्यस्ता मालगाडीहरूमा “यहोवाका साक्षीहरू” भन्ने पाटी झुन्ड्याइएका थिए। त्यसले गर्दा यहोवाका हजारौं साक्षी र तिनीहरूका परिवारहरूलाई पनि उत्तर र सुदूर पूर्वमा समेत पठाइँदै रहेछ भनेर थुप्रैलाई थाह भयो।
अप्रिल १९५१ मा यसरी यहोवाका साक्षीहरूलाई चारैतिरबाट जम्मा गरेर निर्वासनमा पठाइएको घटना राम्ररी अभिलेख गरिएको छ। यसबारे इतिहासकार वल्टर कोलार्सले सोभियत गणतन्त्रमा धर्म (अंग्रेजी) नामक आफ्नो पुस्तकमा यसरी लेखे: “रूसमा यो ‘साक्षीहरूको’ निर्मूल नभई धर्म परिवर्तन गर्ने तिनीहरूको क्रियाकलापमा थपिएको नयाँ सुरुआत मात्र थियो। निर्वासनमा जाँदा बीच बीचमा मालगाडी रोकिएको बेला समेत तिनीहरूले आफ्नो विश्वासबारे बताउने प्रयास गरे। निर्वासनमा पठाएर सोभियत सरकारले तिनीहरूको विश्वास फैलाउन झनै मदत गरेजस्तो भयो। यी ‘साक्षीहरूलाई’ अनकन्टार गाउँमा अरूबाट छुट्टै, यातना वा दासत्वको कष्टदायी शिविरमै राखिए तापनि झनै फराकिलो संसारमा ल्याइयो।”
हाम्रो परिवारले पीठो, मकै र सिमी जस्ता केही खानेकुरा सँगै लैजाने अनुमति पाएकोले अरू परिवारले जस्तो दुःख पाएन। अझ मेरो हजुरबुबाले सुँगुर काट्ने अनुमति समेत पाउनुभएकोले हामी र अरू साक्षीहरूले भोजनको चिन्ता गर्नुपरेन। बाटोभरि मालगाडीहरूमा साक्षीहरूले हृदयदेखि गाइरहेका गीतहरू सुनिन्थ्यो। यहोवाले हामीलाई स्थिर रहने शक्ति दिनुभयो।—हितोपदेश १८:१०.
झन्डै तीन हप्तासम्म रूस वारपार हुनेगरी यात्रा गरिसकेपछि चिसो, बिरानो र अनकन्टार साइबेरिया पुग्यौं। हामीलाई इरकुट्स जिल्लाको चंस्क क्षेत्रमा पर्ने टोरेया स्टेशनमा पुऱ्याइयो। त्यहाँबाट हामीलाई हिम जंगल हुँदै निकै टाढाको सानो गाउँसम्म पुऱ्याइयो। जसलाई निर्वासन पत्रमा “आजीवन बसोबास” गर्ने ठाउँ भनेर वर्णन गरिएको थियो। त्यसपछि हिम गाडामा १५ परिवारको सरसामान कोचेर ट्याक्टरद्वारा हिलै हिलोले भरिएको अनि खाल्डाखुल्डी परेको बाटोमा तानेर लगियो। झन्डै २० परिवारलाई डंगडंगती परेको ठूलो कोठा भएको ब्यारेकमा राखियो। अख्तियारवालाहरूले पहिले नै त्यहाँका स्थानीय बासिन्दाहरूलाई यहोवाका साक्षीहरू असाध्यै खराब छन् भनेर कान फुकिसकेका रहेछन्। त्यसैले सुरु सुरुमा मानिसहरू हामीसित राम्रो चिनजान बढाउन डराउँथे।
निर्वासनमा हुँदा गरेको काम
साक्षीहरूलाई रूख ढाल्न खटाइएको हुँदा अत्यन्त कठिन परिस्थितिहरूका बावजूद काम गर्नुपर्थ्यो। मुढो चिर्ने, टुक्रा पार्ने, अनि टाँगामा राख्ने, त्यसपछि मालगाडीमा लाद्ने जम्मै काम हातैले गर्नुपर्थ्यो। हूलका हूल भुसुनाले गर्दा काम गर्न झनै कठिन हुन्थ्यो। भुसुनाले बुबालाई असाध्यै दुःख दिएछ। उहाँको शरीरभरि डाबरै डाबर थियो। स्थिर रहन मदत दिनुहोस् भनी उहाँ यहोवालाई खुरन्धार प्रार्थना गर्नुहुन्थ्यो। तथापि, यी सब कठिनाइहरूका बावजूद यहोवाका थुप्रै साक्षीहरू विश्वासमा अडिग रहे।
चाँडै नै हामीलाई फेरि इरकुट्स शहरमा ल्याइयो र त्यहाँ पहिले पहिले झ्यालाखानाको रूपमा चलाइने गरेको घरमा बसेर हाम्रो परिवार ईंटा कारखानामा काम गर्न थाल्यो। त्यहाँ ठूलठूला भट्टिहरूबाट हातैले ईंटा निकाल्नुपर्थ्यो। यसबाहेक दिनभरमा बनाउनुपर्ने ईंटाको कोटाहरू झन् झन् बढाइ रहने हुनाले कलिला बालबच्चाहरूले समेत तिनीहरूलाई सघाउनुपऱ्यो। यस्तो परिस्थितिले हामीलाई प्राचीन मिश्रको दासत्वमा पर्दा इस्राएलीहरूले भोग्नुपरेको दुःखको सम्झना आउँथ्यो।—प्रस्थान ५:९-१६.
समय बित्दै जाँदा साक्षीहरू पहिले पहिले दाबी गरिएझैं “जनताका शत्रुहरू” होइन रहेछन् बरु परिश्रमी अनि इमान्दार मानिसहरू रहेछन् भन्ने कुरा प्रस्ट भयो। यहोवाका साक्षीहरूमध्ये कसैले कहिल्यै अख्तियारवालाहरूको अपमान गरेको अनि सत्तामा भएकाहरूको निर्णयको विरोध गरेको देखिएन। यहाँसम्म कि थुप्रैले तिनीहरूको विश्वासलाई मूल्यांकन गर्न थाले।
हाम्रो आध्यात्मिक जीवन
निर्वासनमा पठाउनुअघि, यात्राको दौडान अनि तिनीहरू राखिएको ठाउँहरूको बारम्बार खानतलासी लिएको भए तापनि थुप्रै साक्षीहरू प्रहरीधरहरा अनि बाइबल समेत लुकाउन सफल भए। पछि हातैले वा अरू माध्यमद्वारा यिनीहरूका प्रतिलिपिहरू बनाइए। ब्यारेकहरूमा मसीही सभाहरू नियमित तवरमा सञ्चालन गरिन्थ्यो। ब्यारेकका निरीक्षक भित्र पस्दा हामीले गीत गाइरहेका देखेर गीत नगाउने आदेश दिन्थे। हामी चुप लाग्थ्यौं। तर तिनी त्यहाँबाट जानेबित्तिकै हामी फेरि गाउन सुरु गर्थ्यौं। हामीलाई रोक्न असम्भव थियो।
हाम्रो प्रचार कार्य पनि रोकिएन। साक्षीहरू जहाँ पनि, जोसित पनि कुरा गर्थे। मेरा दाज्यू र आमाबुबा उहाँहरूले कसरी अरूसित कुरा गर्ने प्रबन्ध मिलाउनुभयो भनेर मलाई अक्सर बताउनुहुन्थ्यो। उहाँहरूको यस्तो प्रयासले गर्दा नम्र मानिसहरूले बिस्तारै बिस्तारै बाइबलको सच्चाइ स्वीकार्न थाले। यसरी १९५० दशकको प्रारम्भसम्ममा इरकुट्सभर यहोवाको राज्यबारे सबैले थाह पाइसकेका थिए।
पहिले पहिले साक्षीहरूलाई राजनैतिक शत्रुहरू ठानिन्थ्यो। तर पछि आधिकारिक रूपमा हाम्रो संगठन पूर्णतया धार्मिक संगठन हो भनेर स्वीकारियो। यद्यपि, अख्तियारवालाहरूले हाम्रो क्रियाकलापलाई रोक्न विभिन्न प्रयास गरे। त्यसैले उनीहरूले शंका गर्न नपाऊन् भनेर हामी बाइबल अध्ययनका लागि दुई तीन परिवार मात्र भएको सानो समूहमा भेला हुनथाल्यौं। फेब्रुअरी १९५२ तिर एक बिहान होसियारीसाथ खोजतलास गरियो। त्यसको लगत्तै दस साक्षीहरू गिरफ्तार भए र हामीमध्ये बाँकीलाई चाहिं भिन्नाभिन्नै ठाउँमा लगियो। हाम्रो परिवारलाई इरकुट्स शहरबाट करिब ३० किलोमिटर टाढा, झन्डै सय जना मात्र बसोबास गरिरहेको गाउँ, ईस्क्रामा पठाइयो।
बदलिंदो परिस्थितिको बावजूद स्थिर
त्यस गाउँका प्रशासकहरूले हाम्रो राम्रो स्वागत सत्कार गरे जुन कुराको हामीले अनुमानै लगाएका थिएनौं। मानिसहरू भद्र अनि मित्रैला थिए। कोही कोही त हामीलाई सघाउन समेत आए। सत्र वर्गमिटरको कोठामा बस्नु परेका तीन परिवारमध्ये हाम्रो परिवार पनि थियो। बत्तीको नाउँमा टुकी मात्रै थियो।
भोलिपल्ट बिहानै त्यहाँ चुनाव थियो। हाम्रा आमाबुबाले परमेश्वरको राज्यलाई पहिल्यै भोट दिइसकेको कुरा बताउनुभयो। तर यो कुरा मानिसहरूले बुझ्ने त कुरै भएन। त्यसैले घरका ठूलाबडाहरू दिनभर थुनामा बस्नुपऱ्यो। पछि, केही मानिसहरूले उहाँहरूको विश्वासबारे सोधपुछ गर्दा हाम्रो परिवारले परमेश्वरको राज्य नै मानिसजातिको एकमात्र आशा हो भनेर बताउने मौका पायो।
चार वर्षसम्म हामी बसेको ईस्क्राको गाउँ र त्यहाँ नजिकै सरसंगत गर्न कोही पनि साक्षीहरू थिएनन्। साथै गाउँबाट अन्यत्र जान पनि हामीले निरीक्षकहरूको विशेष स्वीकृति लिनु पर्थ्यो अनि हामीलाई अरूदेखि टाढा राख्न त्यो गाउँमा पठाइएकोले तिनले यस्तो अनुमति विरलै दिन्थे। तैपनि आफूले पाएका ताजा आध्यात्मिक भोजन बाँड्न साक्षीहरू सधैं एकअर्कासित सम्पर्क राख्ने प्रयत्न गर्थे।
सन् १९५३ मा स्टालिनको मृत्यु भएपछि साक्षीहरूको सजाय अवधि २५ बाट घटाएर दस वर्ष गरियो। साइबेरियामा हुनेहरूले त्यहाँबाट डेरा सर्न कुनै विशेष कागजपत्र भर्नु नपर्ने भयो। तथापि, केही समय बित्न नपाउँदै अख्तियारवालाहरूले खानतलास गर्न थाले र बाइबल वा बाइबलका साहित्यहरू राख्ने जतिलाई गिरफ्तार गर्न थाले। साक्षीहरूलाई राख्न विशेष किसिमका शिविरहरू बनाइएका थिए। समयको दौडान इरकुट्स वरिपरिका झन्डै ४०० भाइहरू अनि २०० बहिनीहरूलाई यी शिविरहरूमा राखियो।
सोभियत गणतन्त्रमा हामीले भोगेका सतावटको समाचार सारा संसारभरिका साक्षीहरूसम्म पुग्यो। त्यसैले १९५६ सालको मध्यतिर र १९५७ को फेब्रुअरी महिनासम्म संसारभर भिन्नाभिन्नै ठाउँमा भएका १९९ वटा जिल्ला अधिवेशनहरूमा हाम्रोलागि निवेदन पत्रजम्मा गरियो। अधिवेशनमा उपस्थित जम्माजम्मी ४,६२,९३६ जनाले त्यसबेलाका सोभियत प्रधानमन्त्री निकाली ए. बलग्यानिनलाई सम्बोधन गरेर लेखिएको निवेदन पत्रलाई समर्थन गरे। अरू कुराहरूका साथै, त्यसमा हामीलाई छाडियोस् अनि “प्रहरीधरहरा पत्रिकाका साथै यहोवाका संसारभरका साक्षीहरूले प्रयोग गर्ने अन्य बाइबल प्रकाशनहरू रूसी, युक्रेनी तथा अन्य भाषाहरूमा पनि उपलब्ध गराउने र प्रकाशित गर्ने अधिकार” दिइयोस् भनी अपिल गरिएको थियो।
यतिञ्जेल हाम्रो परिवारलाई इरकुट्सबाट २० किलोमिटर टाढा रहेको दुर्गम गाउँ खुड्याकोभामा पठाइसकेको थियो। हामीले त्यहाँ सात वर्ष बितायौं। सन् १९६० मा मेरो दाजु फ्योडर इरकुट्समा बसाईं सर्नुभयो भने त्यसको एक वर्षपछि अर्को दाजुले विवाह गर्नुभयो अनि दिदी पनि अन्तै बसाईं सर्नुभयो। सन् १९६२ मा प्रचार गरेकोले फ्योडरलाई गिरफ्तार गरेर थुनामा राखियो।
मेरो आध्यात्मिक उन्नति
अरूसित भेटेर बाइबल अध्ययन गर्न हाम्रो गाउँ खुड्याकोभाबाट २० किलोमिटर टाढा हिंडेर वा साइकल चढेर जानुपर्थ्यो। त्यसैले अरू साक्षीहरूसित सजिलै सम्पर्क कायम गरिरहन सकियोस् भनेर हामीले इरकुट्स सर्ने प्रयास गऱ्यौं। तथापि, त्यस इलाकाका प्रमुख यसको विरुद्धमा थिए र हामीलाई सर्नदेखि रोक्ने सक्दो प्रयास गरे। तैपनि, केही समयपछि तिनले हामीसित राम्रो व्यवहार गर्न थाले फलस्वरूप हामी इरकुट्सबाट झन्डै दस किलोमिटर टाढा पिभाभारीखा गाउँमा सर्न सक्यौं। त्यहाँ यहोवाका साक्षीहरूको मण्डली पनि भएको हुनाले मेरो जीवनले नयाँ मोड लियो। त्यहाँ संगठित मण्डली पुस्तक अध्ययन समूहहरू र आध्यात्मिक गतिविधिहरूको रेखदेख गर्ने भाइहरू पनि थिए। त्यहाँ पुग्न पाएकोमा म साह्रै आनन्दित भएँ!
यतिञ्जेलसम्ममा मैले बाइबलको सत्यतालाई असाध्यै प्रेम गर्न थालिसकेको थिएँ र बप्तिस्मा पनि लिन चाहन्थें। अगस्त १९६५ मा अरू थुप्रै साक्षीहरूसँगै सानो ओल्खा नदीमा बप्तिस्मा लिएपछि मेरो इच्छा पूरा भयो। अरूले झट्ट हेर्दा हामी नदीमा पौडी खेलेर पिकनिकको आनन्द उठाइरहेको जस्तो देखिन्थ्यौं। मैले बप्तिस्मा लिएको केही समयपछि ईश्वरतान्त्रिक सेवकाई स्कूल निरीक्षकको रूपमा पहिलो जिम्मेवारी पाएँ। त्यसपछि १९६५ नोभेम्बरमा हामीले आनन्द गर्ने अर्को कारण पनि पायौं त्यो थियो फ्योडर थानाबाट छुट्नु।
क्रियाकलापको विस्तार
सन् १९६५ मा सबै निर्वासित मानिसहरूलाई भेला गराएर “आजीवन बसोबास” गर्ने ठाउँबाट मुक्त गरिएको र आफ्नो इच्छाअनुसार बसाईं सर्नसक्ने अधिकार दिइएको घोषणा गरियो। हामी त्यतिबेला कत्ति खुसी भयौं होला के तपाईं कल्पना गर्न सक्नुहुन्छ? त्यतिबेला हामीमध्येबाट धेरै जना अन्य भू-भागहरूमा बसाईं सरे भने कतिले चाहिं हाम्रो आध्यात्मिकता तथा आध्यात्मिक क्रियाकलापहरूमा उन्नति गर्न यहोवाले आशिष् र सहायता दिनुभएको ठाउँमै जीवन बिताउने निर्णय गरे। यिनीहरूमध्ये थुप्रैले आफ्ना बालबच्चा, नातिनातिना र पनातिपनातिनाहरूलाई साइबेरियामै हुर्काए। यसले गर्दा साइबेरिया पहिले सोचेजस्तो डरलाग्दो ठाउँ रहेनछ भन्ने प्रमाणित गऱ्यो।
सन् १९६७ मा मैले युक्रेनबाट साइबेरियामा निर्वासित भएको परिवारकी मारिया नामकी युवतीलाई भेटें। हामी दुवै केटाकेटी छँदा युक्रेनको गाउँ भिलशानीट्सामा बसोबास गर्ने गर्थ्यौं। हामीले १९६८ मा विवाह गऱ्यौं र अन्ततः हाम्रो एक छोरा यारोस्लाफ अनि पछि एक छोरी ओक्साना भए।
हामी अझै पनि अन्त्येष्टि तथा विवाह समारोहहरूमा थुप्रै भाइबहिनीहरू भेला भएर आध्यात्मिक संगतीको आनन्द उठाउने गर्थ्यौं। अनि यस्ता अवसरहरूमा उपस्थित गैर-साक्षी नातेदारहरू तथा साथीभाइहरूलाई हामी बाइबलको सच्चाइबारे बताउने गर्थ्यौं। हामीले पुनरुत्थानको आशा वा यहोवाले गर्नुभएको विवाहको प्रबन्ध अनि भविष्यमा नयाँ संसारमा प्राप्त गर्नसकिने आशिष्हरूबारे बाइबलबाट खुल्लमखुल्ला शिक्षा दिने यस्ता कार्यक्रमहरूमा सुरक्षा अधिकृतहरू पनि प्रायजसो उपस्थित हुन्थे।
एकपल्ट, मैले अन्त्येष्टिको भाषण सिद्धयाउनै लागेको बेला एउटा कार आएर टक्क रोकियो। अनि कारबाट एक जना मानिस फुत्त निस्केर मलाई कार भित्र पस्ने आदेश दिए। म रत्तिभर डराइनँ। जे भए पनि हामी परमेश्वरमाथि विश्वास गर्नेहरू हौं अपराधीहरू त थिएनौं नि। तथापि, मेरो खल्तीमा मण्डलीको सेवकाई रिपोर्टहरू थियो। यसले गर्दा मलाई थुनामा राख्न सकिन्थ्यो। त्यसैले तिनीहरूसित जानुअघि, आफ्नी पत्नीलाई पैसा दिने अनुमति मागें। त्यसपछि तिनीहरूकै अगाडि मैले शान्तपूर्वक मेरो पर्स अनि मण्डलीका रिपोर्टहरू पनि तिनलाई दिएँ।
मारिया र मैले १९७४ को प्रारम्भदेखि लुकीछिपी घरमै बाइबल साहित्यहरू तैयार पार्नथाल्यौं। हाम्रो छोरा सानै भएको हुनाले उसले थाह नपाओस् भनी हामी राति काम गर्ने गर्थ्यौं। तथापि, हामी के गर्दा रहेछौं भन्ने थाह पाउने उत्सुकता लागेको हुनाले उसले सुतेझैं गरी हामीले गरिरहेका कामहरू चियाएर हेरेछ। पछि उसले भन्यो: “परमेश्वरको पत्रिकाहरू कसले बनाउँछ भन्ने मलाई थाह छ के।” त्यसबेला हामी अलिकति डरायौं, तर यस महत्त्वपूर्ण कामको लागि हाम्रो परिवारलाई सुरक्षित राख्नुहोस् भनेर यहोवालाई सधैं बिन्ती गर्थ्यौं।
अन्ततः, अख्तियारवालाहरूले हामी यहोवाका साक्षीहरूसित झन् राम्रो व्यवहार गर्न थालेको हुनाले युसोलिसीबिरस्की शहरको मीर आर्ट्स एण्ड लीजर सेन्टरमा ठूलो सभाको आयोजना गर्ने योजना बनायौं। हामीले हाम्रा सभाहरू बाइबल अध्ययन र मसीही संगतीका लागि मात्र संचालन गर्न लागेका हौं भनी शहरका अधिकारीहरूलाई निर्धक्क पाऱ्यौं। जनवरी १९९० मा पूरा हल खचाखच भरिनेगरी ७०० भन्दा धेरै मानिसहरू उपस्थित भए अनि यसले गर्दा अन्य थुप्रै जनसमुदायको पनि ध्यान आकर्षित भयो।
सभापछि एक जना संवाददाताले सोधे, “तपाईंहरूले केटाकेटीहरूलाई कहिलेदेखि प्रशिक्षण दिन थाल्नुभयो?” तिनका साथै अरू आगन्तुकहरूले चार घण्टासम्म साना केटाकेटीहरू पहिलो जनसभामै ध्यान दिएर सुनिरहेका देखेर आश्चर्य प्रकट गरे। लगत्तै यहोवाका साक्षीहरूबारे स्थानीय अखबारमा राम्रो लेख छापियो। त्यसमा लेखिएको थियो: “[यहोवाका साक्षीहरूबाट] सिक्नसक्ने राम्रा कुराहरू छन्।”
ठूलो वृद्धिमा आनन्द गर्ने
सन् १९९१ मा सोभियत संघमा सातवटा भिन्नाभिन्नै अधिवेशनहरू सम्पन्न भए। त्यसमा जम्माजम्मी ७४,२५२ जना भेला भएका थिए। सोभियत संघका पूर्व गणतन्त्र राज्यहरू स्वतन्त्र भएपछि यहोवाका साक्षीहरूको परिचालक निकायले मलाई मस्को जाने कार्यभार सुम्प्यो। त्यहाँ मैले राज्यसम्बन्धी क्रियाकलापलाई बढाउनसक्छु कि भनेर आग्रह गरियो। यतिञ्जेलसम्म हाम्रो छोरा यारोस्लाफले विवाह गरेर छोरी पनि पाइसकेको थियो। ओक्सानाचाहिं किशोरी भइसकेकी थिइन्। त्यसैले १९९३ मा मारिया र मैले मस्कोमा पूर्णसमय सेवकाई थाल्यौं। त्यसै साल मलाई रूसका यहोवाका साक्षीहरूको क्षेत्रीय धार्मिक संगठनको प्रशासनिक केन्द्रमा संयोजक नियुक्त गरियो।
अहिले मारिया र म सेन्ट पिटर्सवर्ग बाहिर पर्ने हाम्रो नयाँ शाखा कार्यालयमा बस्छौं र त्यहीं काम गर्छौं। अहिले रूसमा द्रुत गतिले राज्य उद्घोषकहरूको संख्यामा वृद्धि भइरहेको छ र अरू भाइहरूसित मिलेर यिनीहरूको रेखदेख गर्न पाउनु मेरोलागि सम्मानको कुरा हो। सोभियत संघका पूर्व गणतन्त्र राज्यहरूमा अहिले २,६०,००० भन्दा धेरै साक्षीहरू छन् भने रूसमा मात्रै १,००,००० छन्!
प्रायः मारिया र म, हाम्रो प्यारो घरजस्तो भैसकेको साइबेरियामा विश्वासी भई राज्य सेवा गरिरहेका प्रिय नातेदारहरू र साथीहरूलाई सम्झने गर्छौं। अहिले त्यहाँ ठूलठूला अधिवेशनहरू हुन्छन् अनि इरकुट्स र वरपरका इलाकाहरूमा करिब २,००० साक्षीहरू सक्रिय छन्। हो, यशैया ६०:२२ मा उल्लिखित कुराहरू त्यहाँ पनि पूरा भैरहेको छ: “थोरै चाहिं हजार हुनेछ, र तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ।”
[पृष्ठ १२-मा भएको चित्र]
इरकुट्समा हुँदा बुबा, हाम्रो परिवार अनि हामीसितै निर्वासनमा रहेका अरूसित १९५९ मा
[पृष्ठ १५-मा भएको चित्र]
ईस्क्रामा निर्वासनमा रहेका केटाकेटीहरू
[पृष्ठ १७-मा भएको चित्र]
हामीले बिहे गरेको वर्ष
[पृष्ठ १७-मा भएको चित्र]
हाल मारियासित