यहोवाका साक्षीहरू ग्रीसमा दोषमुक्त भए
ब्यूँझनुहोस्! संवाददाताद्वारा
गाजीको क्रेटान गाउँका अर्थोडक्स पादरीले प्रवचन दिंदै यसो भने: “हाम्रै गाउँमा यहोवाका साक्षीहरूको भवन छ। तिनीहरूलाई धपाउन मलाई तपाईंहरूको सहयोग चाहिएको छ।” केही दिनपछि साँझपखतिर केही अज्ञात व्यक्तिहरूले राज्यभवनका झ्यालहरू झऱ्यामझुरुम फुटाले र गोली हाने। यसरी ग्रीसमा धार्मिक स्वतन्त्रताबारे फेरि विवाद खडा गरियो।
यो घटनाले गर्दा चार जना स्थानीय यहोवाका साक्षीहरू अर्थात् कीरीआकोस बाक्सेभानीस, भासीलीस हादजाकीस, कोस्तास माक्रीदाकीस तथा तीतोस मानुसाकीसले धार्मिक सभाहरू सञ्चालन गर्ने अनुमतिका लागि शिक्षा तथा धार्मिक मामिलासम्बन्धी मन्त्रीकहाँ निवेदन पेश गरे। अनुमतिपत्र प्राप्त भएपछि प्रहरीको संरक्षण पाइन्छ भन्ने आशा तिनीहरूले गरेका थिए। तर परिस्थिति तिनीहरूले सोचेजस्तो हुने थिएन।
त्यस पादरीले आफ्नो इलाकामा यहोवाका साक्षीहरूको राज्यभवन भएकोले साक्षीहरू र तिनीहरूका सभाहरूमाथि प्रतिबन्ध लगाइयोस् भनेर इराक्लीओनस्थित प्रहरीहरूको प्रधानकार्यालयमा चिठी पठाए। परिणामस्वरूप प्रहरीले तहकिकात र केरकार गऱ्यो। पछि अभियोक्ताले साक्षीहरू विरुद्ध फौजदारी मुद्दा दायर गरे र उक्त मुद्दा अदालतमा बहस गरिने भयो।
सन् १९८७ अक्टोबर ६ का दिन इराक्लीओनको फौजदारी मुद्दा हेर्ने अदालतले “शान्तिपूर्ण भेला हुने स्वतन्त्रता छ . . . त्यसको लागि अनुमतिपत्र चाहिंदैन त्यसैले तिनीहरूमाथि लगाइएको अभियोग बर्खास्त गरिएको छ” भन्दै ती चार प्रतिवादीहरूलाई दोषमुक्त घोषित गऱ्यो। तथापि, यसको दुइ दिनपछि अभियोक्ताले पुनरावेदन जारी गरे र उक्त मुद्दाको बहस उच्च अदालतमा गरिने भयो। अनि अदालतले फेब्रुअरी १५, १९९० का दिन ती चार साक्षीहरूलाई दुइ महिनाको जेल सजाय र लगभग १०० अमेरिकी डलर जरिवाना तिर्नुपर्ने फैसला सुनायो। त्यसपछि प्रतिवादीहरूले ग्रीक सर्वोच्च अदालतमा पुनरावेदन पेश गरे।
मार्च १९, १९९१ मा सर्वोच्च अदालतले पुनरावेदन बर्खास्त गऱ्यो र साक्षीहरूलाई दोषी ठहऱ्यायो। यसको दुइ वर्षपछि सेप्टेम्बर २०, १९९३ मा सर्वोच्च अदालतले आफ्नो निर्णय घोषणा गरिसकेपछि प्रहरीले राज्यभवनलाई सिलबन्द गऱ्यो। प्रहरीको कागजातअनुसार क्रेटको अर्थोडक्स चर्चले नै यो सबै गराएको प्रष्ट भयो।
धार्मिक स्वतन्त्रतामा बन्देज लगाउन पाइने मनसाय राखी केही कानुनहरू १९३८ मा पारित गरिएका रहेछन् र ती कानुनहरू अझै पनि ग्रीसमा कार्यान्वयन भएकोले नै यस्तो परिस्थिति भोग्नुपरेको थियो। यदि कसैले धार्मिक संघ-संस्थान खोल्न चाहन्छ भने शिक्षा तथा धार्मिक मामिलासम्बन्धी मन्त्रालयलगायत स्थानीय अर्थोडक्स चर्चका पादरीसित अनुमति लिनुपर्छ भन्ने नियम ती कानुनमा उल्लेख गरिएको थियो। यी पुराना कानुनहरूको कारण यहोवाका साक्षीहरूले केही दशक निकै समस्याहरू भोग्नु परेको थियो।
धार्मिक स्वतन्त्रता र मानव अधिकार
सर्वोच्च अदालतले दोषी ठहराएको थाह पाएपछि ती चार साक्षीहरूले अगस्त ७, १९९१ मा फ्रान्स, स्ट्रासबर्गस्थित मानव अधिकारसम्बन्धी युरोपेली अदालतमा मुद्दा दायर गरे। ती प्रार्थीहरूले तिनीहरूमाथि लगाइएको अभियोगले युरोपेली महासन्धिको धारा ९ उल्लंघन भएको दाबी गरे। जुन धारामा विचार, विवेक तथा धार्मिक स्वतन्त्रताका साथै सार्वजनिक वा व्यक्तिगत रूपमा एक्लै वा समूहमा आफ्नो धार्मिक मतलाई प्रकट गर्ने स्वतन्त्रता समावेश गरेको छ।
ग्रीसले युरोपेली महासन्धिको धारा ९ उल्लंघन गरेको हो भनेर मे २५, १९९५ मा २५ सदस्यीय आयोगले सर्वसम्मति-साथ निर्णय गऱ्यो। साक्षीहरूमाथि लगाइएको अभियोग धार्मिक स्वतन्त्रता विपरीत छ र प्रजातान्त्रिक मुलुकमा त्यसप्रकारको अभियोगको केही महत्त्व छैन भन्ने विचार तिनीहरूले व्यक्त गरे। त्यस्तो मुद्दा ठीक हो वा होइन, त्यसबारे यस्तो निर्णय सुनाइयो: “प्रार्थीहरू . . . त्यस संगठनका सदस्यहरू हुन्, जसका धार्मिक संस्कार तथा विधिहरूले धेरैजसो युरोपेली मुलुकमा मान्यता पाएको छ।” अन्तमा, उक्त आयोगले मानव अधिकारसम्बन्धी युरोपेली अदालतमा यो मुद्दा प्रस्तुत गऱ्यो।
यहोवाका साक्षीहरूलाई रोक्न सकिंदैन
सुनुवाइ मे २०, १९९६ मा गरिने तय भयो। अदालतमा २०० भन्दा धेरै मानिसहरू जम्मा भएका थिए र तिनमा विद्यार्थीहरूलगायत स्थानीय विश्वविद्यालयका प्राध्यापक, पत्रकार तथा ग्रीस, जर्मनी, फ्रान्स र बेल्जियमका केही साक्षीहरू पनि थिए।
एथेन्स विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक तथा साक्षीहरूको वकिल श्री. फेथोन भेग्लेरासले प्रतिवाद गर्दै मुलुकका अख्तियारप्राप्त व्यक्तिहरूले अपनाएको नीति र न्यायले युरोपेली महासन्धिको मात्र होइन ग्रीसकै संविधानसमेत उल्लंघन गरेको बताए। “त्यसैकारण अदालतले यहोवाका साक्षीहरूको मुद्दालाई नभई राष्ट्रिय व्यवस्था र त्यसको प्रयोगमाथि बहस गरेको हो।”
ग्रीस सरकारको वकिल राष्ट्रको विधानका न्यायाधीश थिए। तिनले तथ्यहरूबारे छलफल गर्नुको साटो ग्रीक अर्थोडक्स चर्चको अडान, राष्ट्र र जनतासित त्यसको घनिष्ठ सम्बन्ध तथा अन्य धर्महरूलाई नियन्त्रणमा राख्नुपर्ने तथाकथित आवश्यकतामाथि चर्चा गरे। त्यसबाहेक ग्रीसमा १९६० देखि यहोवाका साक्षीहरूको संख्या धमाधम बढ्न थालेको कुरा पनि तिनले उल्लेख गरे। मतलब, अर्थोडक्स चर्चकै एकाधिकारमाथि सफल चुनौती दिइयो!
धार्मिक स्वतन्त्रताले अनुमोदन पायो
सेप्टेम्बर २६ मा फैसला सुनाइने भयो। सबै सशंकित थिए, त्यसमा पनि विशेषगरि यहोवाका साक्षीहरू धुकचुक थिए। च्याम्बरका सभापति श्री. रुडोल्फ बर्नहार्डतले यो फैसला पढेर सुनाए: ग्रीसले युरोपेली महासन्धिको धारा ९ उल्लंघन गरेको नौ जना सदस्यीय अदालतको सर्वसम्मति-ले ठहर गऱ्यो। र प्रार्थीहरूले खर्च गर्नुपरेको लगभग १७,००० अमेरिकी डलर जरिवाना पनि बेहोरियो। सबैभन्दा महत्त्वपूर्ण कुरा त, उक्त निर्णयले धार्मिक स्वतन्त्रताको हकमा उल्लेखनीय तर्कहरू पनि पेश गऱ्यो।
ग्रीसको व्यवस्थाले “राजनैतिक, प्रशासनिक र चर्चका अख्तियारप्राप्त मान्यजनहरूलाई धार्मिक स्वतन्त्रतामा हस्तक्षेप गर्ने बढ्तै छुट दिएको” कुरा पनि उल्लेख गऱ्यो। अनुमतिपत्र लिनुपर्ने नियम बनाएर मुलुकले “केही खास अर्थोडक्स धर्म र त्यसमध्ये अझ यहोवाका साक्षीहरूको धार्मिक आस्थामा दखल पुऱ्याउन अरट्ठो नियम बनाएर प्रतिबन्ध लगाउन खोजेको हो” भनी बताइयो। अर्थोडक्स चर्चले दशकौंदेखि अपनाएको डरलाग्दा दाउपेचहरूलाई यस अन्तरराष्ट्रिय अदालतले पर्दाफास गऱ्यो।
“महासन्धिले प्रदान गर्ने धार्मिक स्वतन्त्रताले कुनै पनि धर्म वा उक्त धार्मिक आस्था प्रकट गर्ने माध्यम वैधानिक हो वा होइन भन्ने निर्णय गर्ने राष्ट्रको अधिकारलाई मान्यता दिंदैन” भनेर अदालतले जोड दियो। त्यसले अझै यसो पनि भन्यो, “ग्रीसको कानुनअनुसार यहोवाका साक्षीहरूलाई ‘मान्यताप्राप्त धर्म’ भन्न मिल्छ . . . र सरकार आफैले यहोवाका साक्षीहरू मान्यताप्राप्त धर्म हो भनेर स्वीकारेको पनि छ।”
यो ठट्टा मात्र होइन
त्यसको केही दिनसम्म ग्रीसका प्रमुख समाचारपत्रहरूले यस मुद्दाबारे लेख छापेका थिए। सेप्टेम्बर २९, १९९६ मा काथीमरीनी-को आइतबार निस्केको संस्करणले यस्तो टिप्पणी गऱ्यो: “स्ट्रासबर्गस्थित मानव अधिकारसम्बन्धी युरोपेली अदालतले ‘ख्वाएको ल्वाप्पा’ ‘एउटा ठट्टा मात्र हो’ भनेर ग्रीसले बेवास्ता गर्न खोज्यो। तर यो सबक अन्तरराष्ट्रियजगत्मै जतनसित लिपिबद्ध गरिएको तथ्य साबित भयो। उक्त अदालतले ग्रीसलाई मानव अधिकारसम्बन्धी महासन्धिको धारा ९ सम्झाउनुपऱ्यो र सर्वसम्मति भई ग्रीक विधानको भर्त्सना पनि गऱ्यो।”
एथेन्सको इथ्नोस दैनिकले सेप्टेम्बर २८, १९९६ मा यस्तो लेख छाप्यो, युरोपेली अदालतले “ग्रीसको भर्त्सना गऱ्यो। यसका साथै यहोवाका साक्षी भएकोले यो दुर्दशामा पर्ने नागरिकहरूले अदालतमा गर्नुपरेको खर्च राष्ट्रले नै बेहोर्नुपर्छ भन्ने आदेश जारी गऱ्यो।”
प्रार्थीहरूको वकिलमध्ये एक, श्री. पानोस बीट्साकीसलाई रेडियो अन्तरवार्ताका लागि निम्त्याइयो। तिनले यसो भने: “हामी १९९६ मा अर्थात् २१ औं शताब्दीको नजीकै छौं। अतः स्पष्ट छ, कुनै पनि सरकारी निकायले धार्मिक भेदभाव राख्नु, कसैलाई धर्मको नाउँमा उल्लीबिल्ली पार्नु अथवा धार्मिक स्वतन्त्रतामा दखल पुऱ्याउनु पटक्कै सुहाउँदैन। . . . सरकारले आफ्नो नीति पुनः एक पटक राम्ररी केलाउने र वर्तमान युगमा यसप्रकारको मूर्खतापूर्ण अनि बेकारको भेदभाव बन्द गर्ने मौका पाएको छ।”
मानुसाकीस तथा अरू विरुद्ध ग्रीस मुद्दाको सन्दर्भमा सुनाइएको यस निर्णयले गर्दा ग्रीसले आफ्नो विधानलाई युरोपेली अदालतअनुरूप बनाउला भन्ने आशा राखिएको छ। ताकि ग्रीसस्थित यहोवाका साक्षीहरूले प्रशासकीय, प्रहरी वा चर्चको हस्तक्षेपबिना धार्मिक स्वतन्त्रताको पूरापूर सदुपयोग गर्न सकून्। यसबाहेक धार्मिक स्वतन्त्रताबारे युरोपेली अदालतले ग्रीक न्यायालय विरुद्ध सुनाएको यो दोस्रो फैसला हो।a
यहोवाका साक्षीहरू परमेश्वरको वचनसित नबाझिने जुनसुकै कामकुरामा “उच्च अख्तियारवालाहरूका” अधीनमा बस्छन् भनेर विश्वभरि थाह भएको कुरा हो। (रोमी १३:१, ७) तिनीहरू कुनै पनि तरिकामा खतरा होइनन्। बरु, तिनीहरूका प्रकाशन तथा जनसेवकाईले सबैलाई न्यायपालक नागरिक बन्न र शान्तिप्रिय जीवन बिताउन उत्प्रेरित गर्छ। तिनीहरूको धर्म, नैतिकवान् अनि स्थापित धर्म हो र तिनीहरूले आफ्नो टोलछिमेकमा निकै सहयोग पुऱ्याएका छन्। बाइबल आधारित तिनीहरूको शैक्षिक कार्यक्रममा उल्लेख गरिएझैं बाइबलको उच्च नैतिक स्तरलाई कायम गर्ने तिनीहरूको संकल्प र छिमेकीप्रतिको प्रेमको सकारात्मक प्रभाव २०० भन्दा धेरै मुलुकहरूमा परेको छ।
युरोपेली अदालतले सुनाएको फैसलाले ग्रीसस्थित यहोवाका साक्षीहरू तथा अन्य सानातिना धर्महरूलाई पहिलेभन्दा धेरै धार्मिक स्वतन्त्रता प्राप्त हुनेछ भन्ने आशा गरिएको छ।
[फुटनोट]
a पहिलो निर्णय १९९३ मा सुनाइएको कोकिनाकिस विरुद्ध ग्रीस मुद्दा थियो।—प्रहरीधरहरा (अंग्रेजी), सेप्टेम्बर १, १९९३, पृष्ठ २७ हेर्नुहोस्।
[पृष्ठ १२-मा भएको चित्र]
सेप्टेम्बर २०, १९९३ मा प्रहरीले सिलबन्द गरेको पहिलेको राज्यभवन
[पृष्ठ १२-मा भएको चित्र]
स्ट्रासबर्गस्थित मानव अधिकारसम्बन्धी युरोपेली अदालत
[पृष्ठ १३-मा भएको चित्र]
मुद्दामा परेका साक्षीहरू: ती. मानुसाकीस, भी. हादजाकीस, के. माक्रीदाकीस, के. बाक्सेभानीस