-
अन्तिम निस्तार-चाडको समयमा नम्रतासबैभन्दा महान् पुरुष
-
-
येशू र उहाँका दल सहरमा आइपुगेपछि निस्तार-चाड मनाउने घरतर्फ उहाँहरू जानुहुन्छ। उहाँहरू सिंढी चढेर माथिल्लो तलाको कोठामा पस्नुहुन्छ, जहाँ एकान्तमा निस्तार-चाड मनाउने सबै तयारी भएको उहाँहरूले पाउनुहुन्छ। येशूले धेरै दिनदेखि यस अवसरको प्रतीक्षा गर्नुभएको छ। उहाँ भन्नुहुन्छ: “मैले दुःख भोग्नुअघि तिमीहरूसित निस्तार-चाडको यो भोज खाने अति इच्छा गरेको थिएँ।”
परम्पराअनुसार, निस्तार-चाडमा भाग लिनेले चार कचौरा मद्य पिउँछन्। तेस्रो कचौरा स्वीकारेपछि धन्यवाद चढाउँदै येशू भन्नुहुन्छ: “तिमीहरूले यो लेओ र पालैसित यसबाट पिओ। किनकि म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्य नआएसम्म अबदेखि म दाखमद्य पिउँदिनँ।”
भोजन चलिरहेकै बेलामा येशू जुरुक्क उठ्नुहुन्छ र खास्टो एकातिर पन्छाएर एउटा तौलिया लिनुहुन्छ र एउटा बाटामा पानी खन्याउनुहुन्छ। साधारणतया पाहुनाहरूको खुट्टा धोइदिने कामको बन्दोबस्त घरधनीले गर्नुपर्छ। तर यस अवसरमा कुनै घरधनी त्यहाँ उपस्थित नभएकोले येशूले नै यो सेवाको जिम्मा लिनुहुन्छ। कुनै एक जना प्रेषितले यसो गर्ने मौका छोप्न सक्थे; तापनि तिनीहरूका बीचमा प्रतिद्वन्द्वको भाव अझै रहेकोले सो काम कसैले गर्दैनन्। अब येशूले तिनीहरूका खुट्टा धुन लाग्दा तिनीहरू बडो अप्ठ्यारो मान्छन्।
येशू पत्रुसकहाँ आउँदा उनी आपत्ति गर्दै भन्छन्: “तपाईंले कुनै हालतमा मेरो खुट्टा धुन मिल्दैन।”
येशू भन्नुहुन्छ: “मैले धोइदिइनँ भने तिम्रो मसित केही भाग हुनेछैन।”
पत्रुस भन्छन्, “प्रभु, मेरो खुट्टा मात्र होइन तर मेरो हात र टाउको पनि धोइदिनुहोस्।”
येशू जवाफ दिनुहुन्छ: “जसले नुहाइसकेको छ, ऊ पूरै सफा भएकोले उसको खुट्टा मात्र धोए पुग्छ। अनि तिमीहरू पनि सफा छौ तर सबै जना त होइन।” यहूदा इस्करियोतले आफूलाई धोका दिने योजना गर्दैछ भन्ने कुरा येशूलाई थाह भएकोले उहाँ यसो भन्नुहुन्छ।
आफूलाई धोका दिने यहूदालगायत बाह्रै जनाको खुट्टा येशूले धोएपछि उहाँ आफ्नो खास्टो ओड्नुहुन्छ र फेरि टेबुलमा बस्नुहुन्छ। अनि उहाँ सोध्नुहुन्छ: “मैले तिमीहरूका निम्ति के गरें, तिमीहरूलाई थाह छ? तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ। तिमीहरूले ठीकै भनेका हौ, किनकि म त्यही हुँ। यदि प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएँ भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरें तिमीहरूले पनि त्यसै गर्नुपर्छ। तिमीहरूलाई म साँच्चै भन्छु, दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन, न त पठाइएको व्यक्ति उसलाई पठाउनेभन्दा ठूलो हुन्छ। तिमीहरूलाई यी कुराहरू थाह छ, त्यसैले यी कुराहरू गर्छौ भने तिमीहरू आनन्दितहौ।”
नम्र सेवाबारे कति राम्रो पाठ! प्रेषितहरूले आफ्ना लागि प्रथम स्थान खोज्नु हुँदैन र अरूहरूले आफ्नो सधैं सेवा गर्नुपर्छ भनी आफूलाई अति महत्त्वपूर्ण ठान्नु हुँदैन। येशूले कायम गर्नुभएको उदाहरण तिनीहरूले अनुसरण गर्नुपर्छ। उहाँले कुनै रीति बसाल्न खुट्टा धुनुभएको होइन। बरु जस्तोसुकै तल्लो स्तरको अथवा मन नपर्ने काम भए पनि कुनै भेदभावविना राजीखुसीसाथ गर्न तत्पर हुनुपर्छ भनेर हामी यसबाट सिक्छौं। मत्ती २६:२०, २१; मर्कूस १४:१७, १८; लूका २२:१४-१८; ७:४४; यूहन्ना १३:१-१७.
-
-
स्मरणार्थको भोजसबैभन्दा महान् पुरुष
-
-
अध्याय ११४
स्मरणार्थको भोज
येशूले आफ्ना प्रेषितहरूका खुट्टा धोइसकेपछि यसो भन्दै भजन ४१:९ उद्धरण गर्नुहुन्छ: “जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्न खुट्टा उचालेको छ।” अनि अत्यन्तै विचलित भएर उहाँ व्याख्या गर्नुहुन्छ: “तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”
प्रेषितहरू दुःखित हुँदै एक-एक गरी येशूलाई भन्छन्: “के त्यो म हुँ?” यहूदाले समेत त्यसै गरी सोध्छ। टेबुलमा येशूको छेउमा बसेका यूहन्ना उहाँको छातीमा अडेस लाग्दै सोध्छन्: “प्रभु, कसले?”
येशू जवाफ दिनुहुन्छ: “मसँग एउटै कचौरामा चोप्ने बाह्र जनामध्ये एक हो। यो कुरा साँचो हो कि मानिसको छोरा आफ्नो विषयमा लेखिएअनुसारै जाँदैछ तर मानिसको छोरालाई धोका दिनेलाई धिक्कार छ! त्यो मानिस त जन्मँदै नजन्मेको भए त्यसको लागि बेस हुनेथियो।” यसपछि यहूदाको मन दुष्ट भइसकेकोले मौका छोपेर सैतान फेरि यहूदाभित्र पस्छ। केही समयपछि त्यही रात येशूले यहूदालाई “विनाशको छोरा” भन्नु उपयुक्त छ।
येशू अब यहूदालाई भन्नुहुन्छ: “तिमी जे गर्दैछौ, झट्टै सिध्याइहाल।” येशूले भन्नुभएको कुराको अर्थ अरू प्रेषितहरूले बुझ्दैनन्। यहूदाले पैसाको कन्तुर बोक्ने गरेकोले येशूले उसलाई “चाडको लागि हामीलाई चाहिने कुरा किन” भन्नुभएको वा गरिबहरूलाई केही दिन अह्राउनुभएको होला भनी कसै-कसैले सोच्छन्।
यहूदा त्यहाँबाट हिंडेपछि येशूले आफ्ना विश्वासी प्रेषितहरूसित एउटा बिलकुलै नयाँ समारोह अर्थात् स्मरणार्थ उत्सवको सुरुवात गर्नुहुन्छ। उहाँ रोटी लिनुहुन्छ, धन्यवाद चढाउन प्रार्थना गर्नुहुन्छ, रोटी भाँच्नुहुन्छ र तिनीहरूलाई यसो भन्दै दिनुहुन्छ: “लेओ।” उहाँ व्याख्या गर्नुहुन्छ: “यो तिमीहरूका लागि दिइने मेरो शरीरको प्रतीक हो। मेरो सम्झनामा यो गर्नेगर।”
सबैले रोटी खाइसकेपछि येशूले दाखमद्य भएको एउटा कचौरा लिनुहुन्छ। निस्तार-चाडमा प्रयोग गरिने यो सायद चौथो कचौरा हुन सक्छ। यो कचौरा लिएर उहाँ फेरि धन्यवादको प्रार्थना चढाउनुहुन्छ, तिनीहरूलाई दिनुहुन्छ र त्यसबाट पिउन लगाउँदै भन्नुहुन्छ: “यो कचौरा त्यो नयाँ करारको प्रतीक हो, जो तिमीहरूका लागि बगाइने मेरो रगतको आधारमा बाँधिनेछ।”
यथार्थमा यो येशूको मृत्युको एउटा स्मरणार्थ हो। प्रत्येक वर्ष नीसान १४ का दिन येशूले भन्नुभएअनुसार उहाँको सम्झनामा यो समारोह गरिरहनुपर्छ। यसले येशू र स्वर्गमा बस्नुहुने उहाँका बुबाले मानवजातिका निम्ति मृत्युको दण्डबाट उम्कन सम्भव पार्न गर्नुभएको कुराको सम्झना गराउनेछ। ख्रीष्टका अनुयायी हुने यहूदीहरूका निम्ति यो समारोहले निस्तार-चाडको ठाउँ लिनेछ।
येशूको बगेको रगतद्वारा लागू हुने नयाँ करारले पुरानो व्यवस्थाको करारको ठाउँ लिन्छ। यहोवा परमेश्वर र पवित्र शक्तिद्वारा अभिषिक्त १,४४,००० ख्रीष्टियनहरूबीच बाँधिने यो करारको मध्यस्थकर्ता येशू ख्रीष्ट हुनुहुन्छ। पाप क्षमा गर्नुको अलावा यो करारद्वारा राजा अनि पुजारीको काम गर्ने एउटा स्वर्गीय राष्ट्र गठन गर्न सम्भव हुनेछ। मत्ती २६:२१-२९; मर्कूस १४:१८-२५; लूका २२:१९-२३; यूहन्ना १३:१८-३०; १७:१२; १ कोरिन्थी ५:७.
▪ एक जना मित्रबारे येशूले बाइबलको कुन भविष्यवाणीबाट उद्धरण गर्नुहुन्छ र त्यो कसरी लागू गर्नुहुन्छ?
▪ प्रेषितहरू किन साह्रै दुःखी हुन्छन् र प्रत्येकले के सोध्छन्?
▪ येशूले यहूदालाई के गर्न भन्नुहुन्छ तर ती निर्देशनलाई अरू प्रेषितहरूले कस्तो अर्थ लगाउँछन्?
▪ यहूदा गइसकेपछि येशूले कुन समारोहको सुरुवात गर्नुहुन्छ र त्यसबाट के उद्देश्य पूरा हुन्छ?
▪ नयाँ करार क-कसका बीच बाँधिन्छ र यस करारद्वारा कुन काम पूरा हुन्छ?
-
-
एउटा विवाद उत्पन्न हुन्छसबैभन्दा महान् पुरुष
-
-
अध्याय ११५
एउटा विवाद उत्पन्न हुन्छ
साँझमा केही समयअघि आफ्ना प्रेषितहरूका खुट्टा धोइदिएर येशूले नम्रताबारे पाठ सिकाउनुभएको थियो। त्यसपछि नजिक आइरहेको आफ्नो मृत्युको स्मरणार्थ मनाउने चलन उहाँले सुरु गर्नुभयो। भर्खरै जुन कुरा भएको छ, त्यसलाई दृष्टिगत गर्दा एउटा अचम्मको घटना घट्छ। प्रेषितहरूबीच सबैभन्दा ठूलो को हो भन्ने कुरालाई लिएर तिनीहरू चर्को बहस गरिरहेका छन्! स्पष्टतया यो पहिलेदेखि नै चलिरहेको विवाद हो।
डाँडामा येशूको रूप परिवर्तन भएपछि आफूहरूमध्ये सबैभन्दा ठूलो को हो भन्ने विषय लिएर प्रेषितहरूले वाद-विवाद गरेको तपाईंलाई सम्झना होला। यसका साथै याकूब र यूहन्नाले त राज्यमा प्रमुख स्थान पाऊँ भनी अनुरोध नै गरेका थिए र यसले गर्दा प्रेषितहरूबीच झगडा झन् बढेको थियो। अहिले फेरि आफ्नो अन्तिम रातमा पनि त्यसै कुरालाई लिएर तिनीहरूबीच कलह देख्दा येशू कत्ति दुःखित हुनुहुन्छ! उहाँ के गर्नुहुन्छ?
प्रेषितहरूको व्यवहार देखेर तिनीहरूलाई हप्काउनुको सट्टा येशू तिनीहरूसँग फेरि धैर्यसाथ तर्क गर्नुहुन्छ: “संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन् र तिनीहरूमाथि अख्तियार जमाउनेहरूलाई चाहिं परोपकारी भनिन्छ। तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन। . . . कोचाहिं ठूलो हो, खान बस्ने कि सेवा गर्ने? खान बस्नेचाहिं होइन र?” अनि आफ्नै उदाहरण सम्झना गराउँदै उहाँ भन्नुहुन्छ: “तर म त तिमीहरूबीच सेवकजस्तै छु।”
तिनीहरूसित जतिसुकै कमीकमजोरी भए तापनि तिनीहरूले येशूलाई उहाँका परीक्षाहरूमा साथ दिएका छन्। त्यसकारण उहाँ भन्नुहुन्छ: “मेरो पिताले मलाई राज्य दिने करार गर्नुभएजस्तै म पनि तिमीहरूलाई राज्य दिने करार गर्छु।” येशू र उहाँका वफादार अनुयायीहरूबीच यो व्यक्तिगत करारको कारण तिनीहरू उहाँसँग उहाँको राजकीय प्रभुत्वमा सहभागी हुन सक्नेछन्। राज्यसम्बन्धी यो करारमा १,४४,००० सीमित संख्या मात्र सम्मिलित हुनेछन्।
ख्रीष्टसँग परमेश्वरको राज्यमा शासन गर्न सहभागी हुन पाउनेजस्तो अद्भुत आशा प्रेषितहरूका सामुन्ने भए तापनि हाल परमेश्वरसित तिनीहरूको सम्बन्ध बलियो छैन। येशू भन्नुहुन्छ: “आज राती ममाथि आइपर्ने कुराहरूले गर्दा तिमीहरू सबैले ठेस खानेछौ।” तथापि पत्रुसका निम्ति आफूले प्रार्थना गरिदिएको कुरा बताउँदै येशू आग्रह गर्नुहुन्छ: “तिमी पश्चात्ताप गरेर फर्कनेबित्तिकै आफ्ना भाइहरूलाई बलियो बनाऊ।”
येशू व्याख्या गर्नुहुन्छ: “ए साना केटाकेटी हो, अब अलिक बेर म तिमीहरूसित हुन्छु। तिमीहरूले मलाई खोज्नेछौ तर मैले यहूदीहरूलाई भनेझैं अब म तिमीहरूलाई पनि भन्छु, ‘म जहाँ जान्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।’ तिमीहरूलाई म एउटा नयाँ आज्ञा दिंदैछु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर। तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्।”
पत्रुस सोध्छन्: “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?”
येशू प्रत्युत्तरमा भन्नुहुन्छ: “म जहाँ जाँदैछु, मेरो पछि लागेर तिमी अहिल्यै त्यहाँ आउन सक्दैनौ तर पछि भने तिमी त्यहाँ आउनेछौ।”
“प्रभु, म किन अहिल्यै तपाईंको पछि लाग्न सक्दिनँ?” पत्रुस जान्न चाहन्छन्। “तपाईंको लागि म आफ्नो ज्यानसमेत दिनेछु।”
येशू सोध्नुहुन्छ: “तिमीले मेरो लागि ज्यान दिने? तिमीलाई म साँच्चै भन्छु, तिमीले मलाई तीन पटक तिरस्कार नगरेसम्म कुनै हालतमा भाले बास्नेछैन।”
पत्रुस आपत्ति जनाउँदै भन्छन्: “तपाईंसँगै मर्नु पऱ्यो भने पनि म कुनै हालतमा तपाईंलाई तिरस्कार गर्नेछैन।” अरू सबै चेलाहरूले पनि त्यसै भन्दा पत्रुस फुर्ती लगाउँदै अझ यसो भन्छन्: “तपाईंमाथि आइपर्ने कुराहरूले गर्दा अरू सबैले ठेस खाए पनि म भने कहिल्यै ठेस खानेछैन!”
एक पटक प्रचार अभियानमा प्रेषितहरूलाई गालील पठाउँदा येशूले तिनीहरूलाई पैसाको थैली र खाजाको पोको नलिइकनै पठाउनुभएको थियो र त्यही बेलालाई सङ्केत गर्दै येशू सोध्नुहुन्छ: “के तिमीहरूलाई कुनै कुराको अभाव भयो?”
“अहँ, भएन!,” तिनीहरू जवाफ दिन्छन्।
उहाँ भन्नुहुन्छ: “तर अब थैली हुनेले त्यो बोकोस्, त्यसैगरि खाजाको पोको पनि। अनि तरबार नहुनेले आफ्नो लुगा बेचेर भए पनि एउटा तरबार किनोस्। किनकि म तिमीहरूलाई भन्छु, लेखिएको यो कुरा ममा पूरा हुनै पर्छ: ‘ऊ कुकर्मीहरूको साथमा गनियो।’ त्यसैले मेरो विषयमा जे भनिएको थियो, त्यो पूरा हुँदैछ।”
येशू त्यस समयतर्फ सङ्केत गर्नुहुँदैछ जब उहाँ दुष्टहरू अर्थात् कुकर्मीहरूसँगै झुन्ड्याइनुहुनेछ। त्यसपछि आफ्ना अनुयायीहरूले कडा सतावट भोग्नुपर्नेछ भन्ने कुरा पनि उहाँ सङ्केत गर्दै हुनुहुन्छ। तिनीहरू भन्छन्: “प्रभु, हेर्नुहोस् त! यहाँ दुई वटा तरबार छन्।”
उहाँ जवाफ दिनुहुन्छ: “यति भए पुग्छ।” तिनीहरूसँग तरबार भएकोले तिनीहरूलाई अर्को महत्त्वपूर्ण शिक्षा दिने मौका येशूले चाँडै पाउनुहुनेछ भनी हामी देख्नेछौं। मत्ती २६:३१-३५; मर्कूस १४:२७-३१; लूका २२:२४-३८; यूहन्ना १३:३१-३८; प्रकाश १४:१-३.
▪ प्रेषितहरूबीच चलेको वाद-विवाद सुन्दा किन अचम्म लाग्छ?
▪ येशूले त्यस विवाद कसरी समाधान गर्नुहुन्छ?
▪ आफ्ना चेलाहरूसँग येशूले गर्नुभएको करारद्वारा के सम्भव हुन्छ?
▪ येशूले कुन नयाँ आज्ञा दिनुहुन्छ र यो कत्तिको महत्त्वपूर्ण छ?
▪ पत्रुसले ज्यादै आत्म-विश्वासको प्रदर्शन कसरी गर्छन् र येशू के भन्नुहुन्छ?
▪ पैसाको थैली र खाजाको पोको लिएर हिंड्ने विषयमा येशूले पहिले दिनुभएको निर्देशन अहिलेको निर्देशनभन्दा किन भिन्न छ?
-
-
आफ्नो प्रस्थानको निम्ति प्रेषितहरूलाई तयार पार्नुहुन्छसबैभन्दा महान् पुरुष
-
-
अध्याय ११६
आफ्नो प्रस्थानको निम्ति प्रेषितहरूलाई तयार पार्नुहुन्छ
स्मरणार्थको भोज समाप्त भएको छ तर येशू र उहाँका प्रेषितहरू अझै माथिल्लो तलाको कोठामा नै हुनुहुन्छ। चाँडै अब येशू तिनीहरूको माझमा हुनुहुनेछैन। तापनि उहाँसँग अझ धेरै कुराहरू भन्न बाँकी नै छ। तिनीहरूलाई सान्त्वना दिंदै उहाँ भन्नुहुन्छ: “तिमीहरूको मन विचलित नहोस्। परमेश्वरमाथि विश्वास गर, अनि ममाथि पनि विश्वास गर।”
येशू अगाडि भन्नुहुन्छ: “मेरो बुबाको घरमा बस्ने ठाउँ धेरै छ। . . . म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जाँदैछु। . . . म जहाँ हुन्छु, तिमीहरू पनि त्यहीं हुनेछौ। अनि म जहाँ जाँदैछु, त्यहाँ जाने बाटो तिमीहरूलाई थाह छ।” येशूले स्वर्ग जाने कुरा गर्दै हुनुहुन्छ भनी प्रेषितहरू राम्ररी बुझ्दैनन्। त्यसैले थोमा सोध्छन्: “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामीलाई थाह छैन। तब कसरी हामीलाई त्यहाँ जाने बाटो थाह हुन्छ र?”
येशू जवाफ दिनुहुन्छ: “बाटो, सत्य र जीवन मै हुँ।” हो, उहाँलाई स्वीकार गर्दै उहाँको जीवनपद्धतिको अनुकरण गरेर मात्र बुबाको स्वर्गीय घरमा प्रवेश गर्न पाइनेछ किनकि येशू भन्नुहुन्छ: “मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।”
फिलिप अनुरोध गर्छन्: “प्रभु हामीलाई बुबा देखाइदिनुहोस्, त्यति भए हामीलाई पुग्छ।” पुरातन समयमा मोशा, एलिया र यशैयाले परमेश्वरको दर्शन पाएका थिए। त्यस्तै दर्शन अब येशूले पनि दिनुभएको फिलिप चाहन्छन्। तर ती दर्शनहरूभन्दा धेरै उत्तम कुरा प्रेषितहरूले पाएका छन् भनी येशू भन्नुहुन्छ: “मैले तिमीहरूसित यति लामो समय बिताएँ, तैपनि तिमी मलाई चिन्दैनौ, फिलिप? जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।”
येशूले आफ्नो बुबाको व्यक्तित्वलाई यति पूर्ण रूपले झल्काउनुभएको छ कि उहाँसँग बस्ने र उहाँको गतिविधि हेर्नेले यथार्थमा बुबालाई नै देखेसरह हुन्छ। तथापि छोराभन्दा बुबा महान् हुनुहुन्छ र यो कुरा स्वीकार्दै येशू भन्नुहुन्छ: “म तिमीहरूलाई जे भन्छु, त्यो आफ्नै तर्फबाट भन्दिनँ।” येशूले आफ्ना शिक्षाको सारा श्रेय स्वर्गमा हुनुहुने बुबालाई नै दिनुहुन्छ।
येशूले अब भन्नुहुने यो कुरा सुन्न पाउनु प्रेषितहरूका निम्ति कत्ति प्रोत्साहनजनक हुन्छ: “जसले ममाथि विश्वास गर्छ, मैले गरेको काम उसले पनि गर्नेछ; र तीभन्दा पनि ठूला कामहरू गर्नेछ।” येशूले यहाँ आफूसित भन्दा चेलाहरूसित चमत्कार गर्ने शक्ति बढी हुनेछ भन्नुभएको होइन। बरु उहाँको भनाइको अर्थ तिनीहरूले धेरै समयसम्म अझ विस्तृत क्षेत्रमा र धेरै मानिसहरूका निम्ति सेवाको काम गर्नेछन्।
आफू गइसकेपछि पनि येशूले आफ्ना चेलाहरूलाई अलपत्र छाड्नुहुनेछैन। उहाँ प्रतिज्ञा गर्नुहुन्छ: “तिमीहरूले मेरो नाममा जेसुकै मागे तापनि म त्यो गर्नेछु।” उहाँ अझ यसो भन्नुहुन्छ: “बुबालाई म बिन्ती गर्नेछु र उहाँले तिमीहरूसित सधैंभरि रहिरहने अर्को मदतगार तिमीहरूलाई दिनुहुनेछ, अर्थात् सत्य प्रकट गर्ने पवित्र शक्ति।” पछि स्वर्ग गइसकेपछि येशूले आफ्ना चेलाहरूमाथि त्यो अर्को मदतगार अर्थात् पवित्र शक्ति खन्याइदिनुहुन्छ।
येशूले भन्नुभएझैं उहाँको जाने समय नजिक आइसक्यो: “अब केही बेरपछि संसारले मलाई देख्नेछैन।” येशू अदृश्य हुनुहुनेछ जसलाई कुनै मानिसले देख्न सक्दैन। तर फेरि आफ्ना विश्वासी प्रेषितहरूसित उहाँ यो प्रतिज्ञा गर्नुहुन्छ: “तिमीहरूले भने देख्नेछौ, किनकि म जीवितै छु अनि तिमीहरू पनि जीवितै रहनेछौ।” हो, पुनर्जीवित भएपछि येशू तिनीहरूका सामुन्ने मानव रूपमा देखा पर्ने मात्र होइन तर केही समयपछि तिनीहरूलाई अदृश्य व्यक्तिको रूपमा जीवित पारेर आफूसँगै स्वर्गमा राख्नुहुनेछ।
येशू अब एउटा साधारण नियम बताउनुहुन्छ: “जसले मेरा आज्ञाहरू ग्रहण गर्छ र ती पालन गर्छ, मलाई प्रेम गर्ने ऊ नै हो। जसले मलाई प्रेम गर्छ, उसलाई मेरो बुबाले पनि प्रेम गर्नुहुनेछ र म उसलाई प्रेम गर्नेछु अनि ऊसामु म खुलेर प्रकट हुनेछु।”
यसै बेला प्रेषित यहूदा, जसलाई थेदियस पनि भनिन्छ, बीचमै कुरा काट्दै भन्छन्: “प्रभु, तपाईं किन हामीसामु खुलेर प्रकट हुन चाहनुहुन्छ तर संसारसामु भने प्रकट हुन चाहनुहुन्न?”
येशू जवाफ दिनुहुन्छ: “यदि कसैले मलाई प्रेम गर्छ भने उसले मेरो वचन पालन गर्नेछ र मेरो बुबाले उसलाई प्रेम गर्नुहुनेछ . . . जसले मलाई प्रेम गर्दैन, उसले मेरा वचनहरू पालन गर्दैन।” उहाँका आज्ञाकारी अनुयायीहरूले ध्यान दिएजस्तो संसारले ख्रीष्टका शिक्षाहरूमा ध्यान दिंदैन। त्यसकारण उहाँ आफूलाई तिनीहरूका सामुन्ने प्रकट गर्नु हुन्न।
पृथ्वीमा आफ्नो सेवाको कामको दौडान येशूले प्रेषितहरूलाई धेरै कुराहरू सिकाउनुभएको छ। ती सबै कुरा तिनीहरूले कसरी सम्झिराख्नेछन्, जबकि अहिले पनि तिनीहरूले धेरै कुराहरू बुझ्नै सकेका छैनन्? येशूको यो प्रतिज्ञा कत्ति आनन्दको कुरा हो: “बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात् पवित्र शक्तिले तिमीहरूलाई बाँकी अरू कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।”
तिनीहरूलाई अझै सान्त्वना दिंदै येशू भन्नुहुन्छ: “म तिमीहरूलाई शान्ति छोडेर जान्छु, म तिमीहरूलाई मेरो शान्ति दिन्छु। . . . तिमीहरूको मन विचलित नहोस्।” हो, येशू जाँदै हुनुहुन्छ तर उहाँ व्याख्या गर्नुहुन्छ: “यदि तिमीहरू मलाई प्रेम गर्छौ भने म बुबाकहाँ जाँदैछु भन्ने थाह पाएर खुसी हुनेछौ, किनकि मभन्दा बुबा महान् हुनुहुन्छ।”
येशू अब तिनीहरूसँग थोरै समयका लागि मात्र रहनुहुनेछ। उहाँ भन्नुहुन्छ: “अबउसो तिमीहरूसित म धेरै कुरा गर्नेछैन, किनकि यस संसारको शासक आउँदैछ। त्यसले ममाथि कुनै नियन्त्रण जमाउन सक्दैन।” यहूदामा प्रवेश गरेर त्यसलाई आफ्नो कब्जामा लिने सैतान अर्थात् दियाबल नै संसारको शासक हो। तर येशूमा कुनै पनि त्रुटिपूर्ण कमजोरीहरू नभएकोले परमेश्वरको सेवा गर्नबाट सैतानले उहाँलाई अलमलाउन सक्दैन।
एउटा आत्मीय सम्बन्धबाट आनन्द उठाउने
स्मरर्णाथको भोजपछि येशू प्रेषितहरूसित अनौपचारिक ढङ्गमा आत्मीयता साथ कुरा गर्दै प्रोत्साहन दिंदै हुनुहुन्छ। मध्यरात भएको हुन सक्छ। अतः येशू आग्रह गर्नुहुन्छ: “उठ, हामी यहाँबाट जाऔं।” तथापि त्यहाँबाट हिंड्नुअघि तिनीहरूलाई माया गर्दै येशू बोल्ने काम जारी नै राख्नुहुन्छ र एउटा प्रेरणादायी दृष्टान्त बताउनुहुन्छ।
“म साँचो दाखको बोट हुँ र मेरो बुबा किसान हुनुहुन्छ” भन्दै उहाँ कुरा सुरु गर्नुहुन्छ। इस्वी संवत् २९ को शरद् ऋतुमा येशूले बप्तिस्मा गर्दा महान् किसान यहोवा परमेश्वरले उहाँलाई पवित्र शक्तिले अभिषेक गरेर त्यो प्रतीकात्मक दाखको बोट रोप्नुभएको थियो। तर त्यो दाखको बोटले आफूलाई मात्र इङ्गित गर्दैन भन्दै येशू भन्नुहुन्छ: “मेरो हरेक हाँगा जसले फल फलाउँदैन, त्यसलाई उहाँ काट्नुहुन्छ अनि हरेक जसले फल फलाउँछ, त्यसले अझ धेरै फल फलाओस् भनेर त्यसलाई उहाँ छाँट्नुहुन्छ। . . . जसरी दाखको बोटबाट अलग भएर हाँगा आफैले फल फलाउन सक्दैन, त्यसरी नै मसित एकतामा रहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ। म दाखको बोट हुँ अनि तिमीहरू हाँगाहरू हौ।”
यसको ५१ दिनपछि पेन्तिकोसको दिनमा पवित्र शक्ति तिनीहरूमाथि खन्याइसकेपछि प्रेषितहरू र अरूहरू दाखको बोटका हाँगाहरू बन्छन्। अन्तमा १,४४,००० जना त्यस प्रतीकात्मक दाखको बोटका हाँगाहरू हुनेछन्। त्यस दाखको बोटको मूल डाँठ येशू ख्रीष्टसित मिलेर यी १,४४,००० जना एउटा प्रतीकात्मक दाखको बोट बन्छन् जसले परमेश्वरको राज्यका फलहरू फलाउँछन्।
फल फलाउने रहस्यबारे येशू यसप्रकार व्याख्या गर्नुहुन्छ: “जो मसित एकतामा रहन्छ अनि म जोसित एकतामा रहन्छु, उसले धेरै फल फलाउँछ; किनभने मबाट अलग भएर तिमीहरू केही पनि गर्न सक्दैनौ।” तथापि कसैले फल फलाउन सकेन भने येशू भन्नुहुन्छ: “ऊ फ्याँकिएको हाँगा हुनेछ र सुक्नेछ; अनि मानिसहरूले ती हाँगाहरू बटुलेर आगोमा फ्याँक्नेछन् र ती जल्नेछन्।” तर अर्कोतिर येशू प्रतिज्ञा गर्नुहुन्छ: “तिमीहरू मसित एकतामा छौ र मेरा वचनहरू तिमीहरूको मनमा छ भने तिमीहरूलाई जे इच्छा लाग्छ, माग अनि त्यो तिमीहरूले पाउनेछौ।”
आफ्ना प्रेषितहरूलाई येशू अझै भन्नुहुन्छ: “तिमीहरूले धेरै फल फलाइरह्यौ अनि मेरा चेलाहरू हौ भनी प्रमाणित गऱ्यौ भने मेरो बुबाको महिमा हुन्छ।” परमेश्वरले ती हाँगाहरूबाट चाहनुभएको फल भनेको तिनीहरूले ख्रीष्टमा भएका जस्तै गुणहरू, विशेषगरि प्रेमको प्रदर्शन गर्नु हो। ख्रीष्ट परमेश्वरको राज्यको उद्घोषक हुनुभएकोले त्यो राम्रो फल फलाउनका लागि उहाँले गर्नुभएजस्तै गरी तिनीहरूले पनि चेला बनाउने गतिविधिमा भाग लिनु आवश्यक छ।
“तिमीहरू सधैं मेरो प्रेम पाउन लायकको भइरहो” भनेर येशू अब आग्रह गर्नुहुन्छ। तर उहाँका प्रेषितहरूले यो कसरी गर्न सक्छन्? उहाँ भन्नुहुन्छ: “यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गऱ्यौ भने तिमीहरू सधैं मेरो प्रेम पाउन लायकका भइरहनेछौ।” कुरा जारी राख्दै येशू व्याख्या गर्नुहुन्छ: “म तिमीहरूलाई यो आज्ञा दिन्छु, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू पनि आपसमा प्रेम गर। आफ्ना मित्रहरूको लागि आफ्नो ज्यान अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू हुँदैन।”
अब केही घण्टापछि आफ्ना प्रेषितहरू र आफूमाथि विश्वास गर्ने सबैका निम्ति आफ्नो ज्यान दिएर येशूले यो उत्तम प्रकारको प्रेम प्रदर्शन गर्नुहुनेछ। उहाँको उदाहरणबाट उहाँका अनुयायीहरू पनि एकअर्काप्रति त्यस्तै प्रकारको आत्मत्यागी प्रेम प्रदर्शन गर्न प्रेरित हुनुपर्ने हो। यसप्रकारको प्रेम नै तिनीहरूको चिनारी हुनेछ भनी येशूले केही समयअघि यसो भन्नुभएको थियो: “तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्।”
आफ्ना मित्रहरू चिनाउँदै येशू भन्नुहुन्छ: “मैले तिमीहरूलाई दिएको आज्ञा पालन गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ। अबदेखि म तिमीहरूलाई दास भन्दिनँ, किनभने आफ्नो मालिकले के गर्छ, दासलाई थाह हुँदैन। तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने आफ्नो बुबाबाट मैले जे-जे सुनेको छु, ती सबै तिमीहरूलाई प्रकट गरेको छु।”
येशूका घनिष्ठ मित्रहरू हुन पाउनु कत्ति अनमोल सम्बन्ध हो! तर यो सम्बन्धबाट सधैं आनन्द उठाउन उहाँका अनुयायीहरूले ‘फल फलाइरहनुपर्छ।’ तिनीहरूले यसो गरे भने येशू भन्नुहुन्छ, “तिमीहरूले मेरो नाममा बुबासित जेसुकै मागे पनि उहाँले तिमीहरूलाई दिऊन्।” यो इनाम परमेश्वरको राज्यको फल फलाउँदा पाइने महान् इनाम हो! प्रेषितहरूलाई “आपसमा प्रेम गरिरहो” भनी फेरि आग्रह गरेपछि संसारले तिनीहरूलाई घृणा गर्नेछन् भनेर येशू व्याख्या गर्नुहुन्छ। तथापि तिनीहरूलाई ढाडस दिंदै उहाँ यसो भन्नुहुन्छ: “यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरूले यो जानिराख, तिमीहरूलाई घृणा गर्नुअघि संसारले मलाई घृणा गरेको छ।” तर संसारले उहाँका अनुयायीहरूलाई घृणा गर्ने कारण बताउँदै येशू भन्नुहुन्छ: “अब तिमीहरू यस संसारका होइनौ तर मैले तिमीहरूलाई यस संसारबाट रोजेको छु। त्यसैले संसारले तिमीहरूलाई घृणा गर्छ।”
संसारले घृणा गर्ने कारणलाई अझ खुलस्तसित बताउँदै येशू भन्नुहुन्छ: “तिमीहरू मेरा चेलाहरू भएकाले तिमीहरूविरुद्ध तिनीहरूले यी कुराहरू गर्नेछन्, किनभने मलाई पठाउनुहुनेलाई [यहोवा परमेश्वरलाई] तिनीहरू चिन्दैनन्।” यथार्थमा येशूका चमत्कारपूर्ण कामहरूले उहाँलाई घृणा गर्नेहरूलाई दोषी ठहराउँछन् भनी येशू यसो भन्नुहुन्छ: “अरू कसैले नगरेको काम मैले पनि तिनीहरूमाझ नगरेको भए तिनीहरूमा कुनै पाप हुनेथिएन; तर अब तिनीहरूले मेरो काम देख्नुका साथै मेरो बुबा र मलाई घृणा पनि गरेका छन्।” यसप्रकार येशूले भनेअनुसार धर्मशास्त्रमा लेखिएको यो कुरा पूरा हुन्छ: “तिनीहरूले विनाकारण मलाई घृणा गरे।”
तिनीहरूलाई फेरि सान्त्वना दिंदै येशूले मदतगार अर्थात् परमेश्वरको सक्रिय शक्ति, पवित्र शक्ति पठाउने प्रतिज्ञा गर्नुहुन्छ। “त्यो मदतगार आएपछि, त्यसले मेरो विषयमा साक्षी दिनेछ। त्यसपछि तिमीहरूले पनि साक्षी दिनुपर्छ।”
जाने बेलामा दिनुभएको थप सल्लाह
येशू र उहाँका प्रेषितहरूले माथिल्लो तलाको कोठा छाड्नै लाग्नुभएको छ। उहाँ कुरा जारी राख्दै भन्नुहुन्छ: “तिमीहरूले ठेस नखाओस् भनेर मैले यी कुराहरू भनेको हुँ।” अनि उहाँ एउटा गम्भीर चेतावनी दिनुहुन्छ: “मानिसहरूले तिमीहरूलाई सभाघरबाट बहिष्कार गर्नेछन्। भन्ने हो भने, यस्तो समय आउँदैछ, जब तिमीहरूलाई मार्नेजति हरेकले परमेश्वरलाई पवित्र सेवा चढाइरहेको छु भन्ठान्नेछ।”
यस चेतावनीबाट प्रेषितहरू अति नै विचलित हुन्छन्। संसारले तिनीहरूलाई घृणा गर्नेछ भनी येशूले पहिल्यै भने तापनि तिनीहरूको हत्या हुनेछ भन्ने कुरा यति प्रत्यक्ष गरी उहाँले प्रकट गर्नुभएको थिएन। येशू व्याख्या गर्नुहुन्छ: “यी कुराहरू मैले तिमीहरूलाई पहिल्यै बताइनँ, किनकि म तिमीहरूसितै थिएँ।” तर अब आफू जानुभन्दा अघि तिनीहरूलाई यस सूचनाद्वारा सतर्क गराउनु कति राम्रो हो!
येशू अगाडि भन्नुहुन्छ: “तर म अब भने मलाई पठाउनुहुनेकहाँ जाँदैछु, तैपनि तिमीहरूमध्ये कसैले पनि मलाई ‘तपाईं कहाँ जाँदै हुनुहुन्छ?’ भनेर सोध्दैनौ।” केही समयअघि यही साँझ तिनीहरूले उहाँ कहाँ जाँदै हुनुहुन्छ भनी सोधेका थिए। तर अहिले उहाँले भन्नुभएका कुराहरू सुनेर तिनीहरूको होसहवास नै उडेकोले यसबारे उहाँलाई अझ केही सोध्नै सक्दैनन्। यसबारे येशू स्वयम् भन्नुहुन्छ: “मैले तिमीहरूलाई यी कुराहरू भनेकोले तिमीहरूको मन दुःखले भरिएको छ।” तिनीहरूले भयङ्कर सतावटको सामना गर्नुपर्नेछ र तिनीहरू मारिनेछन् भनेर मात्र होइन तर तिनीहरूका मालिक पनि तिनीहरूलाई छाडेर जाँदै हुनुहुन्छ भनी थाह पाएर प्रेषितहरू दुःखित हुन्छन्।
अतः येशू व्याख्या गर्नुहुन्छ: “तिमीहरूकै फाइदाको लागि म जाँदैछु। किनभने म गइनँ भने कुनै हालतमा मदतगार तिमीहरूकहाँ आउनेछैन तर यदि म गएँ भने म त्यसलाई तिमीहरूकहाँ पठाउनेछु।” मानवको रूपमा येशू एक पटकमा एक ठाउँमा मात्र उपस्थित हुन सक्नुहुन्छ; तर उहाँ स्वर्गमा भएपछि उहाँका चेलाहरू जहाँ भए तापनि उहाँले मदतगार अर्थात् परमेश्वरको पवित्र शक्ति पठाउन सक्नुहुन्छ। त्यसकारण येशू जानुमा फाइदा छ।
येशू भन्नुहुन्छ, पवित्र शक्तिले “पापको विषयमा, परमेश्वरको स्तरबमोजिमको असल कामको विषयमा र न्यायको विषयमा संसारलाई चित्तबुझ्दो प्रमाण दिनेछ।” संसारको पाप अर्थात् संसारले परमेश्वरका छोराप्रति गरेको अविश्वास उदाङ्ग हुनेछ। यसबाहेक येशू बुबाकहाँ गएपछि परमेश्वरको स्तरबमोजिमको असल काम गर्नुभएको कुराको चित्तबुझ्दो प्रमाण हुनेछ। येशूको सत्यनिष्ठा भङ्ग गर्न सैतान र त्यसको दुष्ट संसार असफल हुनु नै संसारको शासक प्रतिकूल न्याय भोग्न योग्य छ भन्ने चित्तबुझ्दो प्रमाण हो।
येशू अझै भन्नुहुन्छ: “मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धैरै छन् तर अहिले तिमीहरू ती बुझ्न सक्दैनौ।” त्यसकारण येशू प्रतिज्ञा गर्नुहुन्छ कि पवित्र शक्ति अर्थात् परमेश्वरको सक्रिय शक्ति उहाँले तिनीहरूमाथि खन्याउनुभएपछि त्यसले तिनीहरूलाई आफ्नो समझशक्तिअनुसार यी कुराहरू बुझ्न मदत गर्नेछ।
येशू मर्नुहुनेछ र पुनर्जीवित भएपछि तिनीहरूकहाँ देखा पर्नुहुनेछ भनी प्रेषितहरू बुझ्दै-बुझ्दैनन्। यसकारण तिनीहरू आपसमा सोध्छन्: “ ‘अलिक बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ अनि फेरि त्यसको अलिक बेरपछि तिमीहरूले मलाई देख्नेछौ, किनकि म बुबाकहाँ जाँदैछु’ भनेर उहाँले हामीलाई के भन्न खोज्नुभएको होला?”
तिनीहरूले उहाँलाई केही सोध्ने इच्छा गर्दैछन् भनी बुझेर उहाँ व्याख्या गर्नुहुन्छ: “तिमीहरूलाई म साँच्चै भन्छु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ तर संसारले आनन्द मनाउनेछ; तिमीहरू शोकाकुल हुनेछौ तर तिमीहरूको शोक हर्षमा परिवर्तन हुनेछ।” त्यसै दिन अपरान्ह येशू मारिंदा धर्म-गुरुहरू रमाउँछन् तर चेलाहरू दुःखी हुन्छन्। तथापि येशू पुनर्जीवित भएपछि तिनीहरूको दुःख आनन्दमा परिणत हुन्छ! जब पेन्तिकोसको दिनमा उहाँले परमेश्वरको पवित्र शक्ति तिनीहरूमाथि खन्याएर तिनीहरूलाई उहाँका साक्षीहरू हुने सामर्थ्य दिनुहुन्छ, तब तिनीहरूको आनन्द बढ्दै जान्छ!
एक जना स्त्रीले सुत्केरी हुँदा भोग्ने कष्टसित प्रेषितहरूको अवस्था तुलना गर्दै येशू भन्नुहुन्छ: “बालक जन्माउने बेला स्त्रीलाई पीडा हुन्छ, किनकि उसको बेला आइपुगेको छ।” तर बालक जन्माइसकेपछि तिनले त्यो वेदना बिर्सिन्छिन् भनी येशू भन्नुहुन्छ र उहाँका प्रेषितहरूलाई यसप्रकार प्रोत्साहन दिनुहुन्छ: “त्यसैगरि तिमीहरूलाई पनि अहिले पक्कै पीडा भइरहेको छ तर जब म [पुनर्जीवित भएर] तिमीहरूलाई फेरि भेट्नेछु, तब तिमीहरूको मन आनन्दित हुनेछ अनि तिमीहरूको खुसी कसैले पनि खोस्न सक्नेछैन।”
यसबेलासम्म प्रेषितहरूले येशूको नाउँमा कहिल्यै केही मागेका छैनन्। तर अब येशू भन्नुहुन्छ: “तिमीहरूले बुबासित केही माग्यौ भने मेरो नाममा उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ। . . . बुबा आफैले तिमीहरूलाई माया गर्नुहुन्छ, किनकि तिमीहरूले मलाई माया गरेका छौ अनि म बुबाको प्रतिनिधि भएर आएको हुँ भनेर विश्वास गरेका छौ। म बुबाको तर्फबाट यस संसारमा आएको हुँ। अनि म यो संसार छोडेर बुबाकहाँ जाँदैछु।”
येशूका यी वचनहरू सुनेर प्रेषितहरू धेरै नै प्रोत्साहित हुन्छन्। तिनीहरू भन्छन्: “तपाईं परमेश्वरको तर्फबाट आउनुभएको हो भनेर यसैबाट हामीलाई विश्वास भयो।” येशू सोध्नुहुन्छ: “के तिमीहरू अहिले विश्वास गर्छौ? हेर, यस्तो समय आउँदैछ अनि भन्ने हो भने, त्यो समय आइसकेको छ, जब तिमीहरू सबै तितरबितर भएर आ-आफ्नो घर जानेछौ र मलाई एक्लै छोड्नेछौ।” यो जति नै पत्यार नलाग्ने कुरा भए तापनि त्यस रात नबित्दै यो पूरा हुन्छ!
येशू कुरा टुङ्ग्याउँदै भन्नुहुन्छ: “मद्वारा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ। संसारमा तिमीहरूले सङ्कष्ट झेलिरहेका छौ तर साहसी होओ! मैले यस संसारलाई जितेको छु।” सैतान र त्यसको संसारले येशूको सत्यनिष्ठा भङ्ग गर्ने हर प्रयास गर्दागर्दै पनि येशूले वफादार भई परमेश्वरको इच्छा पूरा गरेर संसारलाई जित्नुभयो।
माथिल्लो तलाको कोठामा अन्तिम प्रार्थना
प्रेषितहरूलाई येशू प्रगाढ प्रेम गर्नुहुन्छ र तिनीहरूसित बिछोड हुने समय पनि नजिकै छ। त्यसैले उहाँ तिनीहरूलाई तयार पार्दै हुनुहुन्छ। अब तिनीहरूलाई विस्तृत रूपमा सल्लाह र सान्त्वना दिएपछि स्वर्गतिर हेर्दै उहाँ आफ्ना बुबासित बिन्ती गर्नुहुन्छ: “आफ्नो छोराको महिमा गर्नुहोस्, ताकि तपाईंको छोराले पनि तपाईंको महिमा गरोस्, किनकि तपाईंले दिनुभएका सबै मानिसहरूलाई तपाईंको छोराले अनन्त जीवन दिन सकोस् भनेर तपाईंले उसलाई तिनीहरू सबैमाथि अधिकार दिनुभएको छ।”
कस्तो रोमाञ्चकारी विषय येशू यहाँ सुरु गर्नुहुन्छ—अनन्त जीवन! “सबैमाथि अधिकार” पाएकोले आफूले दिएको फिरौतीको बलिदानका लाभहरू येशूले सारा मरणशील मानवजातिका निम्ति सम्भव गराउनुहुनेछ। तथापि बुबाको अनुमोदन पाउनेहरूलाई मात्र उहाँले “अनन्त जीवन” प्रदान गर्नुहुन्छ। अनन्त जीवनको यही विषयलाई आधार बनाउँदै येशू आफ्नो प्रार्थना जारी राख्नुहुन्छ:
“अनन्त जीवन पाउन तिनीहरूले तपाईं एक मात्र साँचो परमेश्वरको अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिइरहनुपर्छ।” हो, हामीले परमेश्वर र उहाँका छोरा दुवैको ज्ञान लिनुमा उद्धार निर्भर छ। तर आफूसित बौद्धिक ज्ञान मात्र भएर पुग्दैन।
उहाँहरूसित आत्मीय मित्रता विकास गर्दै उहाँहरूलाई नजिकबाट चिन्नु आवश्यक छ। उहाँहरूकै विचारधारा र दृष्टिकोण अपनाउनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, अरूहरूसित व्यवहार गर्दा उहाँहरूकै अनुपम गुणहरूको अनुकरण गर्ने प्रयास गर्नुपर्छ।
यसपछि येशू प्रार्थना गर्नुहुन्छ: “तपाईंले मलाई दिनुभएको काम पूरा गरेर मैले पृथ्वीमा तपाईंको महिमा गरेको छु।” यसरी अहिलेसम्म आफूले पाएको जिम्मेवारी पूरा गर्दै र भविष्यमा पनि आफ्नो सफलताबारे विश्वस्त हुँदै उहाँ बिन्ती गर्नुहुन्छ: “हे बुबा, संसारको उत्पत्ति हुनुअघि तपाईंसँगसँगै मैले जुन महिमा पाएको थिएँ, त्यही महिमाले अहिले तपाईंसँगै मलाई पनि महिमित पार्नुहोस्।” हो, पहिले आफूले पाएको स्वर्गीय महिमा पुनर्जीवनद्वारा फिर्ता पाऊँ भनी उहाँ बिन्ती गर्नुहुन्छ।
पृथ्वीमा आफ्नो प्रमुख कामको सारांश गर्दै येशू भन्नुहुन्छ: “तपाईंले संसारबाट मलाई दिनुभएका मानिसहरूसामु मैले तपाईंको नाम प्रकट गरेको छु। तिनीहरू तपाईंकै थिए र तपाईंले तिनीहरू मलाई दिनुभयो अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन्।” सेवाको काममा येशूले परमेश्वरको नाम यहोवा प्रयोग गर्नुभयो र त्यसको शुद्ध उच्चारण पनि गरेर देखाउनुभयो। तर उहाँले आफ्ना प्रेषितहरूलाई परमेश्वरको नाम प्रकट मात्र गर्नु भएन। उहाँले यहोवाको व्यक्तित्व र उद्देश्यबारे तिनीहरूको ज्ञान र कदर बढाइदिनुभयो।
यहोवा आफूभन्दा महान् भएको र आफूचाहिं उहाँमुनि सेवा गर्ने व्यक्ति भएको कुरा येशू नम्र भई स्वीकार्नुहुन्छ: “तपाईंले मलाई भन्नुभएका कुराहरू मैले तिनीहरूलाई बताइदिएको छु अनि तिनीहरूले ती ग्रहण गरेका छन्। साथै, म तपाईंको प्रतिनिधिको रूपमा आएको हुँ भनेर तिनीहरूले पक्का गरी बुझेका छन् अनि तपाईंले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले विश्वास गरेका छन्।”
आफ्ना अनुयायीहरू र बाँकी मानवजातिबीच भिन्नता देखाउँदै येशू प्रार्थना गर्नुहुन्छ: “म संसारको निम्ति होइन तर जो तपाईंले मलाई दिनुभयो, तिनीहरूको निम्ति बिन्ती गर्छु . . . जब म तिनीहरूसित थिएँ, . . . तपाईंकै नामको खातिर म तिनीहरूको हेरचाह गर्थें . . . मैले तिनीहरूलाई जोगाएको छु र तिनीहरूमध्ये एक जना पनि नष्ट भएन तर . . . विनाशको छोरा भने नष्ट भयो” अर्थात् यहूदा इस्करियोत। ठीक यसै बेला येशूलाई धोका दिने निन्दनीय उद्देश्य पूरा गर्नका लागि यहूदा लागिपरेको छ। यसप्रकार आफूलाई थाह नभइकन यहूदाले धर्मशास्त्रमा लेखिएको कुरा पूरा गरिरहेको छ।
येशू प्रार्थना जारी राख्दै भन्नुहुन्छ, “संसारले तिनीहरूलाई घृणा गरेको छ। . . . तिनीहरूलाई यस संसारबाट लैजानुहोस् भनेर त होइन तर त्यस दुष्टको कारण तिनीहरूको हेरचाह गरिदिनुहोस् भनेर म तपाईंलाई बिन्ती गर्छु। तिनीहरू यस संसारका होइनन्, जस्तो म पनि यस संसारको होइन।” येशूका अनुयायीहरू संसारमा अर्थात् सैतानको अधीनमा भएको मानव समाजमा छन् तर तिनीहरू यसबाट र यसका दुष्टताबाट अलग छन् अनि सधैं अलग रहनुपर्छ।
येशू अझ भन्नुहुन्छ, “सत्यद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्; तपाईंको वचन सत्य हो।” प्रेरित हिब्रू धर्मशास्त्र अर्थात् जसबाट येशूले अक्सर उद्धरण गर्नुहुन्थ्यो, त्यसलाई उहाँले यहाँ “सत्य” भन्नुहुन्छ। त्यसैगरि आफ्ना चेलाहरूलाई उहाँले सिकाउनुभएको कुरा र पछि तिनीहरूले प्रेरणाद्वारा लेखेका ख्रीष्टियन ग्रीक धर्मशास्त्र पनि “सत्य” हो। सत्यले मानिसलाई पवित्र पार्न सक्छ, उसको जीवनमा आमूल परिवर्तन ल्याउन सक्छ र संसारभन्दा अलग किसिमको व्यक्ति बनाउन सक्छ।
येशूले अब “यिनीहरूको निम्ति मात्र होइन तर यिनीहरूको वचनमार्फत [उहाँमाथि] विश्वास गर्नेहरूको निम्ति पनि” प्रार्थना गर्नुहुन्छ। यसकारण आफ्ना भावी अभिषिक्त चेलाहरू र भविष्यमा “एउटै बगालको” हुने सबै चेलाहरूका निम्ति येशू प्रार्थना गर्नुहुन्छ। यी सबैका निम्ति उहाँले कस्तो बिन्ती गर्नुहुन्छ?
“तिनीहरू सबै एक होऊन्। हे बुबा, जसरी तपाईं मसित एकतामा हुनुहुन्छ अनि म तपाईंसित एकतामा छु, . . . हामी एक भएजस्तै तिनीहरू पनि एक होऊन्।” येशू र उहाँका बुबा शाब्दिक अर्थमै एक हुनुहुन्न तर सबै कुराहरूमा उहाँहरूको सहमति छ। उहाँका चेलाहरूले पनि त्यस्तै प्रकारको एकताबाट आनन्द उठाउन सकून् र “तपाईंले मलाई पठाउनुभएको हो र मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनेर संसारले थाह पाओस्” भनी येशू प्रार्थना गर्नुहुन्छ।
उहाँका अभिषिक्त अनुयायी हुने व्यक्तिहरूका लागि अब येशू स्वर्गमा हुनुहुने आफ्ना बुबासित एउटा अनुरोध गर्नुहुन्छ। त्यो अनुरोध के हो? “म जहाँ छु, तिनीहरू पनि मसित त्यहीं होऊन्, ताकि तपाईंले मलाई दिनुभएको महिमा तिनीहरूले पनि देखून्, किनकि संसारको प्रारम्भ हुनुभन्दा अघिदेखि तपाईंले मलाई प्रेम गर्नुभयो।” संसारको प्रारम्भ हुनुभन्दा अघिदेखि भनेको हव्वाले गर्भधारण गर्नुभन्दा अघि हो। त्योभन्दा धेरै अघिदेखि परमेश्वरले उहाँको एक मात्र छोरालाई प्रेम गर्नुभएको थियो र यही छोरा पछि येशू ख्रीष्ट हुनुभयो।
आफ्नो प्रार्थना समाप्त गर्ने बेलामा येशू फेरि जोड दिंदै भन्नुहुन्छ: “मैले तिनीहरूलाई तपाईंको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु, ताकि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूले पनि प्रेम गरून् र म तिनीहरूसित एकतामा हुन सकूँ।” प्रेषितहरूका निम्ति परमेश्वरको नाम थाह पाउनु भनेको व्यक्तिगत रूपमा परमेश्वरको प्रेम जान्नुसित सम्बन्धित थियो। यूहन्ना १४:१–१७:२६; १३:२७,३५,३६; १०:१६; लूका २२:३, ४; प्रस्थान २४:१०; १ राजा १९:९-१३; यशैया ६:१-५; गलाती ६:१६; भजन ३५:१९; ६९:४; हितोपदेश ८:२२, ३०.
▪ येशू कहाँ जाँदै हुनुहुन्छ र त्यहाँ जाने बाटोबारे सोध्दा थोमाले के जवाफ पाउँछन्?
▪ फिलिपको अनुरोधअनुसार वास्तवमा येशूले के गरिदिनुभएको उनी चाहन्छन् जस्तो देखिन्छ?
▪ येशूलाई देख्नेले किन बुबालाई पनि देख्छ?
▪ येशूले गर्नुभएको भन्दा अझ महान् कामहरू उहाँका अनुयायीहरूले कसरी गर्नेछन्?
▪ येशूमाथि सैतानको केही अधिकार छैन भन्नुको अर्थ के हो?
▪ प्रतीकात्मक दाखको बोट यहोवाले कहिले रोप्नुभयो र कहिले अनि कसरी अरूहरू पनि त्यस दाखको बोटको भाग हुन्छन्?
▪ अन्तमा प्रतीकात्मक दाखको बोटमा कति वटा हाँगा हुन्छन्?
▪ ती हाँगाहरूबाट परमेश्वरले कुन प्रकारको फलको आशा गर्नुहुन्छ?
▪ हामी कसरी येशूका मित्र हुन सक्छौं?
▪ येशूका अनुयायीहरूलाई संसारले किन घृणा गर्छ?
▪ येशूले दिनुभएको कुन चेतावनीले गर्दा उहाँका प्रेषितहरू विचलित हुन्छन्?
▪ येशू कहाँ जाँदै हुनुहुन्छ भनी प्रश्न गर्न प्रेषितहरू किन सक्दैनन्?
▪ प्रेषितहरूले खासगरि कुन कुरा बुझ्न सक्दैनन्?
▪ प्रेषितहरूको दुःखद अवस्था आनन्दमा परिवर्तन हुनेछ भन्ने कुरा येशूले कुन उदाहरणबाट देखाउनुहुन्छ?
▪ प्रेषितहरूले चाँडै के गर्नेछन् भनी येशू भन्नुहुन्छ?
▪ संसारलाई येशूले कसरी जित्नुहुन्छ?
▪ येशूले “सबैमाथि अधिकार” पाउनुको अर्थ के हो?
▪ परमेश्वर र उहाँको छोराको ज्ञान लिनुको अर्थ के हो?
▪ येशूले परमेश्वरको नाम कुन-कुन ढङ्गमा प्रकट गर्नुहुन्छ?
▪ “सत्य” के हो र यसले ख्रीष्टियनलाई कसरी “पवित्र” पार्छ?
▪ परमेश्वर, उहाँको छोरा र सबै साँचो उपासकहरू कसरी एक हुन्?
▪ “संसारको प्रारम्भ” कहिले भयो?
-