प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बगैंचामा मानसिक वेदना
    सबैभन्दा महान्‌ पुरुष
    • अध्याय ११७

      बगैंचामा मानसिक वेदना

      येशूले प्रार्थना गरेर सिध्याएपछि उहाँ र उहाँका ११ जना विश्‍वासी प्रेषितहरू यहोवाको स्तुतिगान गाउनुहुन्छ। अनि उहाँहरू माथिल्लो तलाको कोठाबाट तल ओर्लनुहुन्छ, अन्धकारमय चिसो रातमा बाहिर निस्कनुहुन्छ र किद्रोन खोल्सा हुँदै बेथानीतर्फ लाग्नुहुन्छ। तर बाटोमा उहाँहरूको मन परेको ठाउँ, गेत्समनीको बगैंचामा रोकिनुहुन्छ। यो ठाउँ जैतुन डाँडामा वा त्यसैको नजिक छ। जैतुनका रूखहरूका बीचमा येशूले धेरै पटक आफ्ना चेलाहरूसित यहाँ भेट गर्नुभएको छ।

      आठ जना प्रेषितहरूलाई सायद बगैंचाको प्रवेशद्वार नजिकै पुगेर उहाँ भन्‍नुहुन्छ: “म त्यहाँ गएर प्रार्थना गर्छु, त्यतिन्जेल तिमीहरू यहीं बसिरहनू।” अनि बाँकी तीन जना प्रेषितहरू पत्रुस, याकूब र यूहन्‍नालाई लिएर बगैंचाभित्र अलिक परसम्म जानुहुन्छ। येशू दुःखी र असाध्यै विचलित हुनुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “मलाई मेरो ज्यानै जाला जस्तो गरी अत्यन्तै दुःख लागेको छ। तिमीहरू यहीं बस र मसँगै जागा रहो।”

      अलिक अगाडि गएर भुइँमा घोप्टो परेर उहाँ प्रार्थना गर्न थाल्नुहुन्छ: “हे बुबा, यदि सम्भव छ भने यो कचौरा मेरो सामुन्‍नेबाट हटाइदिनुहोस्‌। तर मेरो इच्छाअनुसार त होइन, तपाईंकै इच्छाअनुसार होस्‌।” उहाँको भनाइको अर्थ के हो? उहाँलाई किन आफ्नो “ज्यानै जाला जस्तो गरी अत्यन्तै दुःख” लागेको छ? के उहाँ आफू मरेर अरूहरूलाई फिरौती प्रदान गर्ने निर्णयबाट हट्‌न लाग्नुभएको हो?

      कदापि होइन! मृत्युबाट छुटकारा पाऊँ भनेर उहाँले निवेदन गरिरहनुभएको होइन। पत्रुसले एक पटक बलिदानरूपी मृत्युलाई टार्ने सुझाव दिंदा सो विचारलाई उहाँले घृणा गर्नुभएको थियो। बरु उहाँ चाँडै नै एक जना घृणित अपराधीको रूपमा मर्नुहुनेछ र यसबाट उहाँको बुबाको नाम कलङ्‌कित हुन सक्छ भनी उहाँ अति नै चिन्तित हुनुहुन्छ। उहाँलाई अनुभव हुन थालेको छ कि अब केही घण्टामै उहाँलाई सबैभन्दा खराब मानिस अर्थात्‌ ईश्‍वरनिन्दकको रूपमा खम्बामा झुण्ड्याएर मारिनेछ।

      लामो प्रार्थना गरिसकेपछि येशू फर्किनुहुन्छ र तीनै जना प्रेषितलाई निदाइरहेको भेट्टाउनुहुन्छ। उहाँ पत्रुसलाई भन्‍नुहुन्छ: “के तिमीहरू मसँग एकछिन जागा बस्न सकेनौ? परीक्षामा नपर्न तिमीहरू जागा रहो र निरन्तर प्रार्थना गर।” तथापि तिनीहरूले ठूलो मानसिक तनाव अनुभव गरिरहेका छन्‌ र समय पनि धेरै अबेर भइसकेको कुरा उहाँ बुझ्नुहुन्छ। यसकारण उहाँ भन्‍नुहुन्छ: “मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ।”

      येशू फेरि दोस्रो पटक गएर “यो कचौरा” अर्थात्‌ उहाँको निम्ति यहोवाले खटाउनुभएको काम अर्थात्‌ इच्छालाई हटाइदिन परमेश्‍वरसित अनुरोध गर्नुहुन्छ। त्यसपछि फर्केर आउँदा परीक्षामा नपरौं भनी प्रार्थना गर्दै बस्नुको सट्टा ती तीनै जनालाई फेरि निदाइरहेको भेट्टाउनुहुन्छ। येशू तिनीहरूसँग बोल्नुहुँदा उहाँलाई के जवाफ दिने हो, सो तिनीहरू जान्दैनन्‌।

      अन्तमा, तेस्रो पटक येशू अलिकता टाढा गएर घुँडा टेकेर ठूलो स्वरले कराउँदै र आँसुको धारा बगाउँदै प्रार्थना गर्नुहुन्छ: “हे बुबा, यदि तपाईं चाहनुहुन्छ भने यो कचौरा मेरो सामुन्‍नेबाट हटाइदिनुहोस्‌।” आफू एक अपराधीझैं मर्दा आफ्नो बुबाको नाममा कलङ्‌क लाग्नेछ भनी येशू अति नै पीडित हुनुहुन्छ। ईश्‍वरनिन्दक अर्थात्‌ परमेश्‍वरलाई श्राप दिने मानिस कहलिएर मर्नु असह्‍य कुरा हो!

      त्यसोभए तापनि येशू प्रार्थना गरिरहनुहुन्छ: “म जे चाहन्छु, त्यो होइन तर तपाईं जे चाहनुहुन्छ, त्यही होस्‌।” येशूले आज्ञाकारी भई आफ्नो इच्छालाई परमेश्‍वरको इच्छाको वशमा राख्नुहुन्छ। यसै बखत स्वर्गबाट एउटा दूत आएर केही प्रोत्साहनजनक शब्दहरूद्वारा उहाँलाई हौसला दिन्छन्‌। येशूसित बुबा प्रसन्‍न हुनुहुन्छ भनेर सम्भवतः स्वर्गदूतले उहाँलाई बताउँछन्‌।

      तथापि येशूको काँधमा ठूलो जिम्मेवारी छ! उहाँको र समस्त मानवजातिको जीवन यसमा निर्भर छ। भावनात्मक पीडा असह्‍य छ। अतः येशू झन्‌ व्यग्रतासाथ प्रार्थना गरिरहनुहुन्छ र उहाँको पसिना रगतको थोपासरी भुइँमा खस्छ। द जर्नल अफ द अमेरिकन मेडिकल एसोसियेसन भन्‍ने किताबअनुसार “यस्तो घटना विरलै मात्र हुन्छ तैपनि . . . असह्‍य भावनात्मक पीडा हुँदा पसिनामा रगत आउन सक्छ।”

      त्यसपछि येशू तेस्रो पटक आफ्ना प्रेषितहरूकहाँ फर्कनुहुन्छ र यसबेला पनि तिनीहरू निदाइरहेका भेट्टाउनुहुन्छ। तिनीहरू सुर्ताले क्लान्त भएका छन्‌। उहाँ भन्‍नुहुन्छ: “यस्तो बेला पनि तिमीहरू कसरी निदाउन र आराम गर्न सकेका! हेर, मानिसको छोरालाई धोका दिएर पापीहरूको हातमा सुम्पिने बेला नजिकै आइपुगेको छ। उठ, हामी जाऔं। हेर, मलाई धोका दिने मानिस नजिकै आइपुगिसकेको छ।”

      उहाँ बोलिरहेकै बेलामा यहूदा इस्करियोत राँको, बत्ती अनि हातहतियार बोकेका ठूलो भीडका साथ आइपुग्छ। मत्ती २६:३०, ३६-४७; १६:२१-२३; मर्कूस १४:२६, ३२-४३; लूका २२:३९-४७; यूहन्‍ना १८:१-३; हिब्रू ५:७.

      ▪ माथिल्लो तलाको कोठा छाडेर येशूले प्रेषितहरूलाई कहाँ लानुहुन्छ र त्यहाँ उहाँ के गर्नुहुन्छ?

      ▪ येशूले प्रार्थना गरिरहेको बेलामा प्रेषितहरू के गरिरहन्छन्‌?

      ▪ येशू किन पीडित हुनुहुन्छ र परमेश्‍वरसँग कस्तो आग्रह गर्नुहुन्छ?

      ▪ येशूका पसिना रगतका थोपाहरू जस्तै भएको घटनाबाट के बुझ्न सकिन्छ?

  • धोका र गिरफ्तारी
    सबैभन्दा महान्‌ पुरुष
    • अध्याय ११८

      धोका र गिरफ्तारी

      गेत्समनीको बगैंचामा सिपाहीहरू, मुख्य पुजारीहरू, फरिसीहरू र अरूको एउटा ठूलो भीडको नेतृत्व गर्दै यहूदा आउँदा आधा रात बितिसकेको हुन्छ। येशूलाई धोका दिन पुजारीहरूले यहूदालाई ३० टुक्रा चाँदी दिने कबुल गरेका छन्‌।

      केही समयअघि निस्तार-चाडको भोजबाट निस्केर गएपछि यहूदा सोझै मुख्य पुजारीहरूकहाँ गएजस्तो छ। तिनीहरूले तुरुन्तै आफ्ना अफिसरहरू र सिपाहीहरूको एउटा दल जम्मा पारे। यहूदाले सायद पहिले तिनीहरूलाई येशू र प्रेषितहरूले निस्तार-चाड मनाएको ठाउँमा लग्यो होला। त्यहाँबाट उहाँहरू हिंडिसकेको थाह पाएपछि हातहतियार, बत्ती र राँको लिएको त्यो ठूलो भीड यरूशलेमदेखि बाहिर किद्रोन खोल्सातर्फ यहूदाको पछि-पछि लाग्यो।

      जैतुन डाँडामा त्यस दलको अघि-अघि जाँदा येशूलाई कहाँ भेट्टाउन सकिन्छ भनी यहूदालाई राम्रोसित थाह छ। बितेका हप्ताहरूमा यरूशलेम र बेथानीबीच येशू र प्रेषितहरू आउजाउ गर्दा उहाँहरू अक्सर गेत्समनीको बगैंचामा केही समय आराम गर्न र कुराकानी गर्न रोकिनुहुन्थ्यो। तर अहिले जैतुनका रूखहरूमुनि रातको अन्धकारमा येशूलाई नदेख्दा सिपाहीहरूले उहाँलाई कसरी चिन्‍नेछन्‌? तिनीहरूले उहाँलाई पहिले कहिल्यै नदेखेको पनि हुन सक्छ। त्यसकारण यहूदाले यसो भन्दै एउटा चिन्ह दिन्छ: “म जसलाई चुम्बन गर्छु, उहाँ नै तिमीहरूले खोजेको मानिस हो; तिमीहरूले उहाँलाई हिरासतमा लेओ।”

      यहूदाले त्यस ठूलो भीडलाई बगैंचामा लान्छ, येशूलाई प्रेषितहरूसँग बसिरहनुभएको देख्छ र सोझै उहाँकहाँ जान्छ। उसले “प्रणाम, रब्बी!” भन्छ र उहाँलाई चुम्बन गर्छ।

      येशू तिनलाई भन्‍नुहुन्छ: “मित्र, तिमी कुन उद्देश्‍य लिएर यहाँ उपस्थित भयौ?” अनि आफ्नो प्रश्‍नको आफै जवाफ दिंदै उहाँ भन्‍नुहुन्छ: “यहूदा, के तिमी चुम्बनले मानिसको छोरालाई धोका दिन्छौ?” तर भइहाल्यो, यो धोकेबाजसित अब के कुरा गर्ने! राँको र बत्तीको उज्यालोमा येशू अघि सर्दै सोध्नुहुन्छ: “तिमीहरू कसलाई खोज्दैछौ?”

      तिनीहरू जवाफ दिन्छन्‌: “नासरी येशूलाई।”

      साहसी भई तिनीहरू सबैका सामुन्‍ने उभिंदै येशू भन्‍नुहुन्छ: “त्यो मै हुँ।” उहाँको आँट देखेर ती मानिसहरू अकमक्क पर्छन्‌ र भुइँमा लोट्‌छन्‌।

      येशू शान्त भएर कुरा गरी नै रहनुहुन्छ: “त्यो मै हुँ भनेर मैले भनिहालें नि। यदि तिमीहरूले मलाई नै खोजिरहेका हौ भने यिनीहरूलाई जान देओ।” आफ्ना विश्‍वासी प्रेषितहरूलाई आफूले बचाएको छु र तीमध्ये “विनाशको छोरा”-बाहेक अरू कोही पनि हराएका छैनन्‌ भनी केही समयअघि मात्र माथिल्लो तलाको कोठामा येशूले आफ्ना बुबासित प्रार्थनामा भन्‍नुभएको थियो। अतः आफ्नो वचन पूरा होस्‌ भनेर आफ्ना चेलाहरूलाई जान दिनू भन्‍नुहुन्छ।

      सिपाहीहरूको होस फर्केपछि तिनीहरू उभिन्छन्‌ र तिनीहरूले येशूलाई बाँध्न लाग्दा पो, अब के हुनेछ भनी प्रेषितहरूले थाह पाउँछन्‌। तिनीहरू सोध्छन्‌: “प्रभु, के हामी तरबारले हानौं?” तर येशूले जवाफ दिनुभन्दा पहिले नै प्रेषितहरूले ल्याएका दुइटा तरबारमध्ये एउटा थुतेर पत्रुसले प्रधान पुजारीको दास माल्कसमाथि प्रहार गर्छन्‌। पत्रुसको प्रहारबाट दासको टाउकोमा चोट लाग्दैन तर उसको दाहिने कानचाहिं च्वाट्टै काटिन्छ।

      येशूले हस्तक्षेप गर्दै भन्‍नुहुन्छ: “बस्‌, अब अरू केही नगर।” माल्कसको कान छोएर उहाँले निको पारिदिनुहुन्छ। अनि पत्रुसलाई आज्ञा दिंदै उहाँले एउटा महत्त्वपूर्ण शिक्षा सिकाउनुहुन्छ: “तिम्रो तरबार म्यानमै राख, किनकि तरबार चलाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्‌। अथवा तिमीलाई के लाग्छ, के म मेरो बुबालाई अहिले यतिखेरै बाह्र पल्टनभन्दा बढी स्वर्गदूत पठाइदिन बिन्ती गर्न सक्दिनँ र?”

      गिरफ्तार हुन येशू तयार हुनुहुन्छ किनकि उहाँ व्याख्या गर्नुहुन्छ: “धर्मशास्त्रमा यस्तै हुनेछ भनेर बताइएको कुरा कसरी पूरा हुन्छ र?” उहाँ फेरि भन्‍नुहुन्छ: “बुबाले मलाई दिनुभएको कचौराबाट के मैले हरहालतमा पिउनुपर्दैन र?” परमेश्‍वरले उहाँलाई अह्राउनुभएको इच्छासित उहाँ पूर्ण सहमत हुनुहुन्छ!

      अनि येशू भीडलाई सम्बोधन गर्दै सोध्नुहुन्छ: “के तिमीहरू डाँकुलाई जस्तै गरी तरबार र लाठोहरू लिएर मलाई पक्रन आएका छौ? म दिनदिनै मन्दिरमा बसेर सिकाउँथें, तैपनि तिमीहरूले मलाई हिरासतमा लिएनौ। तर भविष्यवक्‍ताहरूले लेखेका कुरा पूरा होऊन्‌ भनेर यी सब भएका हुन्‌।”

      तब सिपाहीहरूको दल, तिनीहरूका सेनापति र यहूदीहरूका पहरेदारहरूले येशूलाई समात्छन्‌ र उहाँलाई बाँध्छन्‌। यो देखेर प्रेषितहरू येशूलाई छाडेर भाग्छन्‌। तथापि एक जना जवान मानिस, सायद उहाँको चेला मर्कूस भीडसितै रहन्छ। येशूले निस्तार-चाड मनाउनुभएको घरमा उनी थिए होलान्‌ र त्यहाँबाट नै भीडको पछि-पछि लागेर आएका हुन सक्छन्‌। तर अब उनलाई मानिसहरूले चिनेर पक्रने प्रयास गर्छन्‌। तर आफ्नो कपडा त्यहीं छोडेर उनी भाग्छन्‌। मत्ती २६:४७-५६; मर्कूस १४:४३-५२; लूका २२:४७-५३; यूहन्‍ना १७:१२; १८:३-१२.

      ▪ गेत्समनीको बगैंचामा येशू पक्कै फेला पर्नुहुनेछ भनी यहूदा किन विश्‍वस्तछ?

      ▪ आफ्ना प्रेषितहरूका निम्ति येशूले कसरी चासो देखाउनुहुन्छ?

      ▪ येशूलाई बचाउन पत्रुसले कस्तो कदम चाल्छन्‌ तर यसबारे येशूले पत्रुसलाई के भन्‍नुहुन्छ?

      ▪ आफू परमेश्‍वरको इच्छासित पूर्ण सहमत भएको कुरा येशू कसरी प्रकट गर्नुहुन्छ?

      ▪ प्रेषितहरूले येशूलाई छोडेर भाग्दा को त्यहीं रहन्छन्‌ र उनलाई के हुन्छ?

  • उहाँ पहिले हन्‍नासकहाँ र त्यसपछि कैयाफाकहाँ लगिनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
    • अध्याय ११९

      उहाँ पहिले हन्‍नासकहाँ र त्यसपछि कैयाफाकहाँ लगिनुहुन्छ

      साधारण अपराधीलाई जस्तो बाँधेर येशूलाई प्रभावशाली भूतपूर्व प्रधान पुजारी हन्‍नासकहाँ लगिन्छ। येशूले १२ वर्षको उमेरमा यहूदी धर्म-गुरुहरूलाई मन्दिरमा छक्क पार्नुभएको बेलामा हन्‍नास प्रधान पुजारी थिए। पछि हन्‍नासका केही छोराहरू प्रधान पुजारीहरू भए र त्यस ओहदामा अहिले तिनका जुवाइँ कैयाफा छन्‌।

      यहूदी धार्मिक जीवनमा यी मुख्य पुजारीको धेरै समयसम्म प्रभुत्व रहेकोले येशूलाई पहिले हन्‍नासकहाँ नै लगिएको हुन सक्छ। हन्‍नासलाई भेट्‌न रोकिएको बेलामा प्रधान पुजारी कैयाफाले यहूदी न्यायपरिषद्‌ अर्थात्‌ यहूदीहरूको ७१ सदस्यीय उच्च अदालत र झूटा साक्षीहरू जम्मा पार्ने समय पाउँछन्‌।

      मुख्य पुजारी हन्‍नासले येशूलाई उहाँका चेलाहरू र उहाँका शिक्षाहरूबारे प्रश्‍न गर्छन्‌। तथापि येशू प्रत्युत्तरमा भन्‍नुहुन्छ: “मैले मानिसहरूसामु खुलमखुला बोलें। मैले सधैं सभाघर अनि मन्दिरमा सिकाएँ, जहाँ सबै यहूदीहरू भेला हुन्छन्‌। मैले कुनै कुरा गुप्तमा बोलिनँ। तैपनि तपाईं मलाई किन केरकार गर्नुहुन्छ? गएर तिनीहरूलाई नै सोध्नुहोस्‌, जसले मेरा कुराहरू सुनेका छन्‌। हेर्नुहोस्‌, मैले के-के भनें, तिनीहरूलाई थाह छ।”

      त्यसो भन्दा त्यहाँ नजिक उभिएको एक जना पहरेदारले यसो भन्दै येशूलाई थप्पड लगाउँछ: “मुख्य पुजारीलाई जवाफ दिने तरिका यही हो?”

      येशू जवाफ दिनुहुन्छ: “यदि मैले गलत कुरा गरेको हो भने मेरो गल्ती देखाइदेऊ; यदि ठीक कुरा गरेको हुँ भने तिमी मलाई किन त्यसै थप्पड हिर्काउँछौ?” यो भनाभनपछि हन्‍नासले येशूलाई बाँधिएकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाउँछन्‌।

      यति बेलासम्म त त्यहाँ मुख्य पुजारीहरू, धर्म-गुरुहरू र शास्त्रीहरू, हो पूरै न्यायपरिषद्‌ भेला हुन थालेको छ। तिनीहरू भेला भएको ठाउँ कैयाफाकै घर हो। निस्तार-चाडको राती यसप्रकार मुद्दा गर्नु यहूदी नियमविपरीत हो भन्‍ने कुरा स्पष्ट छ। तैपनि ती धर्म-गुरुहरू तिनीहरूको दुष्ट उद्देश्‍य पूरा गर्नदेखि पछि हट्‌दैनन्‌।

      केही हप्ताअघि येशूले लाजरसलाई पुनर्जीवित पार्दा येशूलाई मार्नै पर्छ भनी यहूदी न्यायपरिषद्‌ले आपसमा फैसला गरिसकेको थियो। दुई दिनअघि मात्र बुधबारका दिन ती धर्म-गुरुहरूले येशूलाई धुर्त्याइँ साथ समातेर मार्ने सल्लाह गरिसकेका थिए। यसो कल्पना गर्नुहोस्‌, मुद्दा चलाउनुअघि नै तिनीहरूले उहाँलाई दोषी ठहराइसकेका थिए!

      अब येशूविरुद्ध मुद्दा चलाउन झूटो प्रमाण दिने साक्षीहरूको खोजी हुँदैछ। तथापि तिनीहरूको बयान आपसमा मेल खाँदैन। बल्लतल्ल दुई जना अघि सर्छन्‌ र यसो भन्छन्‌: “यसले यसो भनेको हामीले सुन्यौं, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु अनि मानिसको हातले नबनाएको अर्को मन्दिर तीन दिनमा बनाउनेछु।’ ”

      कैयाफा सोध्छन्‌: “के तँ केही जवाफ दिंदैनस्‌? यी मानिसहरूले तँलाई जे आरोप लगाउँदैछन्‌, त्यसबारे तँ के भन्छस्‌?” तर येशू चूप रहनुहुन्छ। यस झूटो आरोपमा समेत साक्षीहरूको भनाइमा एकरूपता ल्याउन नसक्नु यहूदी न्यायपरिषद्‌को लागि लाजमर्दो हुन्छ। अतः प्रधान पुजारीले अर्को चाल चल्ने प्रयास गर्छन्‌।

      कसैले आफू परमेश्‍वरको छोरा हुँ भनी दाबी गर्दा यहूदीहरू कत्तिको चिढिन्छन्‌ भन्‍ने कुरा कैयाफालाई थाह छ। पहिले दुई पटक तिनीहरूले येशूलाई मृत्युदण्ड पाउन योग्य, ईश्‍वरनिन्दकको आरोप लगाएका थिए र एक पटकचाहिं उहाँले परमेश्‍वरको बराबरी हुने दाबी गर्नुभयो भन्‍ने गलतफहमी तिनीहरूमा हुन गएको थियो। अब कैयाफा बडो चतुऱ्‍याइँसित यो माग गर्छन्‌: “जीवित परमेश्‍वरको नाममा कसम खाएर हामीलाई सत्य कुरा भन्‌, के तँ परमेश्‍वरको छोरा, ख्रीष्ट होस्‌!”

      यहूदीहरूले जे सोचे तापनि येशू वास्तवमा परमेश्‍वरका छोरा नै हुनुहुन्छ। चूप लागेर बस्दा आफू ख्रीष्ट होइन भन्‍ने अर्थ लाग्न सक्ने थियो। यसकारण येशू हिम्मतका साथ जवाफ दिनुहुन्छ: “म हुँ। अनि तपाईंहरूले मानिसको छोरालाई सर्वशक्‍तिमान्‌को दाहिनेपट्टि बसिरहेको र आकाशका बादलहरूसित आउँदै गरेको देख्नुहुनेछ।”

      यो सुनेर कैयाफा अति नै नाटकीय ढङ्‌गमा आफ्नो लुगा च्यात्दै जोडसित कराउँछन्‌: “यसले परमेश्‍वरको निन्दा गरेको छ! अब हामीलाई अरू साक्षी किन चाहियो र? हेर, तिमीहरू आफैले ईश्‍वरनिन्दा सुनिहाल्यौ। तिमीहरूको राय केछ?”

      यहूदी न्यायपरिषद्‌ले घोषणा गर्छ: “यो मानिस मारिनै पर्छ।” अनि तिनीहरूले उहाँको खिसी गर्न थाल्छन्‌ र उहाँको विरुद्धमा अनेक निन्दाजनक कुराहरू बोल्छन्‌। तिनीहरूले उहाँको अनुहारमा थप्पड हान्छन्‌ र थुक्छन्‌। कसै-कसैले चाहिं उहाँको अनुहार छोपेर मुड्‌कीले हिर्काउँदै व्यङ्‌ग्यसाथ यसो भन्छन्‌: “ए ख्रीष्ट, लौ भविष्यवाणी गर्‌, तँलाई हिर्काउने को हो?” यसप्रकारको अपमानजनक र गैर-कानुनी व्यवहार राती पुर्पक्षको समयमा हुन्छ। मत्ती २६:५७-६८; २६:३, ४; मर्कूस १४:५३-६५; लूका २२:५४, ६३-६५; यूहन्‍ना १८:१३-२४; ११:४५-५३; १०:३१-३९; ५:१६-१८.

      ▪ येशू पहिले कहाँ लगिनुहुन्छ र त्यहाँ उहाँलाई के हुन्छ?

      ▪ त्यसपछि येशूलाई कहाँ लगिन्छ र कुन उद्देश्‍यका लागि?

      ▪ येशू मृत्युदण्ड पाउन योग्य हुनुहुन्छ भनी यहूदी न्यायपरिषद्‌बाट घोषणा गराउन कैयाफा कसरी सफल हुन्छन्‌?

      ▪ पुर्पक्षको समयमा कस्तो अपमानजनक र गैर-कानुनी व्यवहार गरिन्छ?

  • चोकमा तिरस्कार
    सबैभन्दा महान्‌ पुरुष
    • अध्याय १२०

      चोकमा तिरस्कार

      गेत्समनीको बगैंचामा येशूलाई छाडेर बाँकी अरू प्रेषितसँगै डराउँदै भागेपछि पत्रुस र यूहन्‍ना बाटोमा रोकिन्छन्‌। सायद येशूलाई हन्‍नासको घरतर्फ लगिरहेको बेलामा तिनीहरूले उहाँलाई भेट्टाउँछन्‌। हन्‍नासले येशूलाई प्रधान पुजारी कैयाफाकहाँ पठाउँदा पत्रुस र यूहन्‍ना टाढैबाट उहाँको पछि-पछि जान्छन्‌। तिनीहरूलाई एकातिर आफ्नै ज्यानको डर छ भने अर्कोतिर तिनीहरूका मालिकलाई के हुने हो भन्‍ने चिन्ता पनि छ।

      कैयाफाको फराकिलो निवासस्थानमा आएपछि यूहन्‍नाले भित्र चोकमा प्रवेश पाउँछन्‌ किनकि प्रधान पुजारीसित उनको चिनजान छ। पत्रुसचाहिं ढोकाबाहिर उभिरहन्छन्‌। तर यूहन्‍ना चाँडै फर्किन्छन्‌ र ढोकामा पाले बस्ने स्त्री अर्थात्‌ नोकर्नीसित कुरा गरेर पत्रुसलाई पनि भित्र लग्छन्‌।

      अहिलेसम्म जाडो निकै बढिसकेको छ र प्रधान पुजारीका घरका पहरेदारहरू र दासहरूले आगो बालेका छन्‌। येशूको पुर्पक्षको फैसला पर्खेर बस्दा पत्रुस पनि सबै जनासँग आगो ताप्न थाल्छन्‌। पत्रुसलाई भित्र पस्न दिने ढोकेले त्यहाँ आगोको उज्यालोमा तिनलाई अझ राम्ररी हेर्छे। “तपाईं पनि त गालीली येशूसँगै हुनुहुन्थ्यो नि!” भन्दै ऊ कराउँछे।

      आफूलाई चिनेकोमा विचलित हुँदै पत्रुसले त्यहाँ सबैको सामुन्‍ने आफूले येशूलाई पटक्कै चिनेको छैन भन्‍न थाल्छन्‌। तिनी भन्छन्‌: “न म उहाँलाई चिन्छु, न त तिमी जे भन्दैछ्यौ, त्यो बुझ्छु।”

      यति भनेर पत्रुस मूल-ढोकातिर निस्कन्छन्‌। त्यहाँ फेरि अर्की नोकर्नीले तिनलाई देख्छे र वरिपरि उभिनेहरूलाई भन्छे: “यो मानिस नासरी येशूसँगै थियो।” यो अर्को पटक पनि कसम खाएर पत्रुसले तिरस्कार गर्दै भन्छन्‌: “मैले त्यो मानिसलाई चिनेकै छैन!”

      आफूलाई कसैले नचिनोस्‌ भनेर पत्रुस चोकमै उभिरहन्छन्‌। सायद यसै बेला बिहानको झिसमिसे उज्यालोमा भाले कराएको सुनेर उनी झस्किन्छन्‌। यसै बीच येशूको पुर्पक्ष सम्भवतः चोकको माथिल्लो तलाको एउटा भागमा चलिरहेको छ। पत्रुस र तल उभिरहेका अरूले जरुर पनि साक्षी दिन ल्याइएका विभिन्‍न साक्षीहरू आउजाउ गरेका देख्छन्‌।

      पत्रुसलाई पछिल्लो पटक येशूका एक जना सँगी ठानिएको अब लगभग एक घण्टा बितिसकेको छ। अब त्यहाँ उभिरहेका थुप्रै व्यक्‍ति तिनको नजिक आएर यसो भन्छन्‌: “तिमी पक्कै पनि तिनीहरूमध्येकै हौ, किनकि तिम्रो बोलीबाटै थाह हुन्छ।” तिनीहरूमध्ये एक जना त त्यो माल्कसको नातेदार हो, जसको कान पत्रुसले काटेका थिए। उसले भन्छ: “मैले तपाईंलाई उहाँसित बगैंचामा देखेको होइन र?”

      पत्रुस जोडसित भन्छन्‌: “मैले त्यो मानिसलाई चिनेकै छैन!” वास्तवमा तिनीहरूले गल्ती गरिरहेछन्‌ भनी तिनीहरूको चित्त बुझाउन पत्रुस सराप्दै कसम खान्छन्‌ अर्थात्‌ आफूले सत्य बोलेको होइन भने आफैमाथि विपत्ति आइपरोस्‌ भन्छन्‌।

      पत्रुसले यो तेस्रो पटक येशूलाई तिरस्कार गर्नासाथै भाले बास्छ। र ठीक त्यही घडी येशू सायद चोकमाथिको बार्दलीमा बाहिर निस्कनुभएको छ। त्यहींबाट उहाँले फर्केर तल पत्रुसलाई हेर्नुहुन्छ। केही घण्टाअघि मात्र येशूले माथिल्लो तलाको कोठामा भन्‍नुभएको यो कुरा पत्रुसलाई तुरुन्तै सम्झना हुन्छ: “भाले दुई चोटि बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।” आफ्नो पापको बोझले थिच्चिएर पत्रुस बाहिर निस्कन्छन्‌ र धुरुधुरु रुन्छन्‌!

      यो कसरी हुन सक्यो! परमेश्‍वरसितको आफ्नो सम्बन्ध बलियो छ भनेर त्यत्तिको विश्‍वस्त भएर पनि तिनले आफ्ना मालिकलाई सरासर तीन पटक कसरी तिरस्कार गर्न सके? निस्सन्देह पत्रुस परिस्थितिको अचानक शिकार भएका छन्‌। सत्य बङ्‌ग्याइँदैंछ र येशूलाई सबैको नजरमा एउटा अधम अपराधीको रूपमा प्रस्तुत गरिंदैछ। सहीलाई गलत र निर्दोषलाई दोषी ठहराइँदैछ। अतः त्यस परिस्थितिको दबाबले गर्दा पत्रुसको सन्तुलन हराउँछ। अचानक तिनको भक्‍ति भाव ढलपल हुन्छ; स्वयम्‌लाई पछुतो हुनेगरि तिनी केही समयका लागि मानिसको डरले थरथर हुन्छन्‌। हामी कसैलाई पनि त्यस्तो कहिल्यै नहोस्‌! मत्ती २६:५७, ५८, ६९-७५; मर्कूस १४:३०, ५३, ५४, ६६-७२; लूका २२:५४-६२; यूहन्‍ना १८:१५-१८, २५-२७.

      ▪ प्रधान पुजारीको चोकमा पत्रुस र यूहन्‍नाले कसरी प्रवेश पाउँछन्‌?

      ▪ पत्रुस र यूहन्‍ना चोकमा हुँदा घरभित्र के भइरहेको हुन्छ?

      ▪ कतिपल्ट भाले बास्छ र कतिपल्ट पत्रुसले ख्रीष्टलाई चिन्दिनँ भनी तिरस्कार गर्छन्‌?

      ▪ पत्रुसले सराप्दै कसम खान्छन्‌ भनेको अर्थ के हो?

      ▪ के कारणहरूले गर्दा पत्रुसले येशूलाई चिन्दिनँ भन्छन्‌?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने