प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • पहिले यहूदी न्यायपरिषद्‌मा त्यसपछि पिलातसको सामुन्‍ने
    सबैभन्दा महान्‌ पुरुष
    • अध्याय १२१

      पहिले यहूदी न्यायपरिषद्‌मा त्यसपछि पिलातसको सामुन्‍ने

      रात बित्नै लागेको छ। पत्रुसले येशूलाई तीन पटक तिरस्कार गरिसकेका छन्‌ र यहूदी न्यायपरिषद्‌का सदस्यहरू तिनीहरूको नक्कली पुर्पक्ष सिध्याएर आ-आफ्नो बाटो लागिसकेका छन्‌। तथापि शुक्रबार बिहानै यस पटकचाहिं तिनीहरू यहूदी न्यायपरिषद्‌को भवनमा भेला हुन्छन्‌। रातीको पुर्पक्षलाई अलिकता भए पनि कानुनी रूप दिने उद्देश्‍यले तिनीहरू भेला हुन्छन्‌। येशू तिनीहरूका सामुन्‍ने ल्याइनुभएपछि तिनीहरूले राती सोधेझैं फेरि सोध्छन्‌: “तँ ख्रीष्ट होस्‌ भने हामीलाई भन्‌।”

      येशू जवाफ दिनुहुन्छ: “मैले तपाईंहरूलाई बताएँ भने पनि तपाईंहरूले पटक्कै पत्याउनुहुनेछैन। अनि मैले तपाईंहरूलाई प्रश्‍न सोधें भने त्यसको पटक्कै जवाफ दिनुहुनेछैन।” तथापि येशूले हिम्मतसाथ आफ्नो परिचय यसप्रकार दिनुहुन्छ: “अबउसो मानिसको छोरा परमेश्‍वरको शक्‍तिशाली दाहिने हाततर्फ बसिरहेको हुनेछ।”

      “त्यसोभए, के तँ परमेश्‍वरको छोरा होस्‌?” तिनीहरू सबै जान्‍न चाहन्छन्‌।

      “म हुँ भनेर तपाईंहरू आफै भन्दै हुनुहुन्छ” भनी येशू जवाफ दिनुहुन्छ।

      उहाँको हत्या नगरी नछाड्‌ने ती मानिसहरूका लागि यो जवाफ यथेष्ट छ। येशूको यो जवाफलाई तिनीहरू ईश्‍वरनिन्दा ठान्छन्‌। तिनीहरू भन्छन्‌: “हामीलाई अरू साक्षी किन चाहियो र? यसको आफ्नै मुखबाट हामीले सुनिहाल्यौं।” यसकारण तिनीहरूले येशूलाई बाँधेर लैजान्छन्‌ र रोमी राज्यपाल पन्तियस पिलातसको जिम्मा लगाइदिन्छन्‌।

      येशूलाई धोका दिने यहूदाले यी सबै कारबाही हेरिरहेको छ। येशूलाई दोषी ठहराएको देखेपछि उसको मनमा पछुतो हुन्छ। ऊ मुख्य पुजारीहरू र धर्म-गुरुहरूकहाँ चाँदीको ३० टुक्रा फर्काउन गएर यसो भन्छ: “परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने मानिसलाई धोका दिएर मैले पाप गरें।”

      तिनीहरू केही दया-मायाविना यो जवाफ दिन्छन्‌: “हामीलाई के मतलब? तिम्रो कुरा तिमी आफै जान!” अतः यहूदाले चाँदीका ती टुक्राहरू मन्दिरमा फालिदिन्छ र झुन्डिएर मर्न खोज्छ। तर यहूदाले डोरी बाँधेको हाँगा भाँचिन्छ र उसको शरीर तल चट्टानमा खसेर चकनाचूर हुन्छ।

      चाँदीका ती टुक्राहरू के गर्ने हो, मुख्य पुजारीहरू अलमल्लमा पर्छन्‌। तिनीहरू अन्तमा यस निष्कर्षमा पुग्छन्‌: “यसलाई पवित्र ढुकुटीमा खसाल्नु उचित हुँदैन, किनकि यो रगतको मोल हो।” त्यसकारण आपसमा सरसल्लाह गरेपछि तिनीहरू त्यस पैसाले परदेशीहरू गाड्‌नका लागि कुमालेको जमिन किन्छन्‌। यसप्रकार त्यो जमिनलाई “रगतको जमिन” भन्‍न थालिन्छ।

      येशूलाई बिहान सबेरै राज्यपालको दरबारमा लगिन्छ। तर उहाँका साथमा आएका यहूदीहरू भित्र जान इन्कार गर्छन्‌ किनभने अन्यजातिका मानिसहरूसित यसप्रकार हेलमेल गर्नाले आफूहरू अशुद्ध हुनेछौं भन्ठान्छन्‌। अतः तिनीहरूका सुविधाका लागि पिलातस नै बाहिर आउँछन्‌। “तिमीहरू यस मानिसलाई के आरोप लगाउँछौ?” भनी तिनले सोध्छन्‌।

      तिनीहरू जवाफ दिन्छन्‌: “यदि यस मानिसले केही गल्ती नगरेको भए हामी यसलाई तपाईंको जिम्मा लगाउने नै थिएनौं।”

      आफू त्यसमा मुछिन नचाहेको हुनाले पिलातस भन्छन्‌: “तिमीहरू आफै यसलाई लगेर आफ्नो व्यवस्थाबमोजिम न्याय गर।”

      हत्या गर्ने आफ्नो नियत प्रकट गर्दै यहूदीहरू दाबी गर्छन्‌: “हामीसित कसैलाई मार्ने अधिकार छैन।” वास्तवमा तिनीहरूले निस्तार-चाडको समयमा येशूको हत्या गरेमा आम जनतामा ठूलो खलबल मच्चिने थियो किनकि धेरैले येशूलाई सम्मानको दृष्टिले हेर्छन्‌। तर कुनै राजनैतिक दोषको आधारमा रोमीहरूले उहाँको हत्या गरेमा यी धर्म-गुरुहरू मानिसहरूको सामुन्‍ने जिम्मेवार हुनेछैनन्‌।

      अतः केही समयअघिको पुर्पक्षमा येशूमाथि लगाएको ईश्‍वरनिन्दाको आरोपबारे कुनै चर्चा नगरिकन ती धर्म-गुरुहरूले येशूमाथि अब बेग्लै प्रकारको आरोप लगाउने तरखर गर्छन्‌। तिनीहरूले तीन वटा दोष लगाउँछन्‌: “यस मानिसले [१] हाम्रो जातिलाई भड्‌काइरहेको, [२] सम्राट्‌लाई कर तिर्न रोकिरहेको अनि [३] आफैलाई म ख्रीष्ट, राजा हुँ भनिरहेको हामीले फेला पाऱ्‍यौं।”

      येशूले आफू राजा हुँ भनी गर्नुभएको दाबीमा पिलातसको विशेष चासो छ। यसकारण उनी महलभित्र फेरि पस्छन्‌ र येशूलाई बोलाएर सोध्छन्‌: “के तिमी यहूदीहरूको राजा हौ?” अर्को शब्दमा भन्‍ने हो भने सम्राट्‌विरुद्ध आफूलाई राजा घोषित गरेर कतै तिमीले कानुन त तोडिरहेका छैनौ?

      पिलातसले आफ्नो विषयमा कहाँसम्म सुनेका छन्‌ भनी थाह लगाउन चाहँदै येशू यो प्रश्‍न गर्नुहुन्छ: “तपाईं आफैलाई त्यस्तो लागेर सोध्नुभएको हो वा अरूले मेरो विषयमा भनेको कुरा सुन्‍नुभएर?”

      उहाँको बारेमा पिलातसले अज्ञानता जाहेर गर्दै तथ्य कुरा बुझ्ने इच्छा प्रकट गर्छन्‌। उनी भन्छन्‌: “के म यहूदी हुँ र? तिम्रो आफ्नै जाति अनि मुख्य पुजारीहरूले तिमीलाई मेरो जिम्मा लगाएका हुन्‌। भन, तिमीले त्यस्तो के गऱ्‍यौ?”

      येशू कुनै हालतमा पनि राजासम्बन्धी यस विषयलाई छल्न चाहनु हुन्‍न। उहाँले अब पिलातसलाई दिनुहुने जवाफले पिलातस निश्‍चय नै छक्क पर्छन्‌। लूका २२:६६–२३:३; मत्ती २७:१-११; मर्कूस १५:१; यूहन्‍ना १८:२८-३५; प्रेषित १:१६-२०.

      ▪ यहूदी न्यायपरिषद्‌को बैठक बिहान फेरि किन बस्छ?

      ▪ यहूदा कसरी मर्छ र चाँदीका ३० टुक्रालाई के गरिन्छ?

      ▪ येशूलाई आफूहरूले नै मार्नुको सट्टा रोमीहरूले मारून्‌ भनी यहूदीहरू किन चाहन्छन्‌?

      ▪ येशूका विरुद्धमा यहूदीहरू के-के दोष लगाउँछन्‌?

  • पिलातसबाट हेरोदकहाँ र त्यहाँबाट फिर्ता
    सबैभन्दा महान्‌ पुरुष
    • अध्याय १२२

      पिलातसबाट हेरोदकहाँ र त्यहाँबाट फिर्ता

      आफू राजा हुँ भन्‍ने कुरा येशूले पिलातससित लुकाउने प्रयास नगरे तापनि आफ्नो राज्य रोमका निम्ति कुनै खतरा होइन भनी उहाँ यसप्रकार व्याख्या गर्नुहुन्छ: “मेरो राज्य यस संसारको होइन। यदि मेरो राज्य यस संसारको हुँदो हो त, म यहूदीहरूको हातमा नपरोस्‌ भनेर मेरा सेवकहरूले लडाइँ गर्नेथिए। तर कुरा के हो भने, मेरो राज्य यस संसारको होइन।” यसप्रकार आफ्नो राज्य पृथ्वीको नभए तापनि आफ्नो एउटा राज्य छ भनी येशूले तीन पटक स्वीकार्नुहुन्छ।

      तापनि पिलातसले उहाँबाट अझ कुरा निकाल्न खोज्दै सोध्छन्‌: “उसोभए, के तिमी राजा नै हौ त?” अर्थात्‌ तिम्रो राज्य यस संसारको नभए तापनि के तिमीचाहिं राजा हौ त?

      पिलातस सही निष्कर्षमा पुगेका छन्‌ भन्‍ने कुरा आफ्नो यो जवाफद्वारा येशू उनलाई थाह दिनुहुन्छ: “म राजा हुँ भनेर तपाईं आफै भन्दै हुनुहुन्छ। सत्यको साक्षी दिन म जन्मिएको हुँ र यसैको लागि म यस संसारमा आएको हुँ। सत्यको पक्षमा हुने जति सबैले मेरो सोर सुन्छन्‌।”

      हो, “सत्यको” साक्षी दिन, खासगरि उहाँको राज्यसित सम्बन्धित सत्यबारे साक्षी दिन नै येशू पृथ्वीमा आउनुभएको हो। आफ्नो ज्यानै गुमाउनु परे तापनि येशू त्यो सत्यप्रति विश्‍वासी हुन तयार हुनुहुन्छ। पिलातसले “के हो सत्य?” भनी सोधे तापनि त्यसको अझ व्याख्या सुन्‍नचाहिं उनी पर्खिंदैनन्‌। फैसला सुनाउनका लागि उनले जे जति सुनेका छन्‌ त्यति नै यथेष्ट छ।

      महलबाहिर पर्खिरहेका भीडकहाँ पिलातस फर्किन्छन्‌। येशूलाई सायद आफ्नो छेउमै उभ्याएर मुख्य पुजारीहरू र तिनीहरूसँग हुने अरूहरूलाई उनी भन्छन्‌: “मैले यस मानिसमा कुनै दोष भेटिनँ।”

      निर्णय सुनेर क्रोधित हुँदै भीडले जिद्दी गर्न थाल्छ: “यसले आफ्नो शिक्षाद्वारा सारा यहूदियाका अनि गालीलदेखि यहाँसम्मका सबै मानिसहरूलाई उक्साइरहेको छ।”

      यहूदीहरूको विवेकहीन कट्टरपना देखेर पिलातस छक्क पर्छन्‌। यसकारण मुख्य पुजारीहरू र अरूहरू कराइरहँदा पिलातस येशूतर्फ फर्केर उहाँलाई सोध्छन्‌: “यिनीहरू तिमीलाई के-के आरोप लगाउँदैछन्‌, के तिमीले सुनेनौ?” तथापि येशू जवाफ दिने प्रयास गर्नुहुन्‍न। त्यसप्रकारको आधारहीन अभियोगहरूको सामुन्‍ने येशू शान्त रहनुभएको देख्दा पिलातस दङ्‌ग पर्छन्‌।

      येशू गालीलका बासिन्दा हुनुहुँदोरहेछ भनी थाह पाएपछि आफू जिम्मेवारीबाट पन्छिने एउटा बाटो पिलातसले फेला पार्छन्‌। गालीलका शासक हेरोद एन्टिपास (हेरोद महान्‌का छोरा) निस्तार-चाडका लागि यरूशलेम आएका छन्‌। यसकारण पिलातसले येशूलाई उनीकहाँ पठाइदिन्छन्‌। केही समयअघि हेरोद एन्टिपासले बप्तिस्मा गराउने यूहन्‍नाको टाउको काट्‌न लगाएका थिए र पछि येशूका चमत्कारपूर्ण कामहरूबारे सुन्दा उनी भयभीत भएका थिए किनकि येशू नै वास्तवमा पुनर्जीवित भएर आएका यूहन्‍ना हुनुहोला भनी उनी ठान्छन्‌।

      अब येशूलाई हेर्ने मौका पाएकोमा हेरोद अति नै खुसी हुन्छन्‌। तर यो येशूको हितप्रति चासो राखेर अथवा उहाँका विरुद्धमा लगाइएका अभियोगहरू सही हुन्‌ वा गलत हुन्‌ भनी बुझ्ने चासोले गर्दा होइन। येशूको कुनै एउटा चमत्कार हेर्ने तुलबुली लागेकोले मात्र हो।

      तथापि हेरोदको तुलबुली मेटाउन येशू इन्कार गर्नुहुन्छ। हेरोदले सोधेका प्रश्‍नहरूको उहाँले एउटै पनि जवाफ दिनुहुन्‍न। हेरोद र तिनका अङ्‌गरक्षकहरू हिस्स परेर येशूको गिल्ला गर्छन्‌। तिनीहरूले उहाँलाई उज्यालो रङ्‌गको लुगा लगाइदिन्छन्‌ र उहाँलाई हाँसोमा उडाउँछन्‌। त्यसपछि उहाँलाई फेरि पिलातसकहाँ नै पठाइदिन्छन्‌। फलस्वरूप आजसम्म आपसमा शत्रुताको भाव राखेका हेरोद र पिलातस अब असल मित्रहरू हुन्छन्‌।

      येशू फर्केपछि पिलातसले मुख्य पुजारीहरू, यहूदी शासकहरू र अन्य मानिसहरूलाई जम्मा गरेर यसो भन्छन्‌: “यस मानिसले जनतालाई विद्रोह गर्न उक्सायो भनेर तिमीहरूले उसलाई मकहाँ ल्यायौ। हेर, मैले तिमीहरूकै सामने उसको छानबिन गरें तर तिमीहरूले लगाएको आरोप प्रमाणित हुने कुनै आधार मैले यस मानिसमा फेला पारिनँ, न त हेरोदले नै फेला पारे। त्यसैले त तिनले उसलाई हामीकहाँ फिर्ता पठाए। हेर, मृत्युदण्ड पाउने योग्य केही काम उसले गरेको छैन। त्यसैले म उसलाई सजाय दिएर छोडिदिन्छु।”

      यसप्रकार पिलातसले येशूलाई दुई पटक निर्दोष घोषित गरेका छन्‌। उनी उहाँलाई मुक्‍त गरिदिन उत्सुक छन्‌। पुजारीहरूले डाहले गर्दा मात्र उहाँलाई आफ्नो जिम्मा लगाएका हुन्‌ भनी उनलाई थाह छ। यसप्रकार पिलातसले येशूलाई छुटाउने प्रयास गरिरहेकै बेला यसो गर्ने थप प्रोत्साहन पाउँछन्‌। उनी न्यायआसनमा बसिरहेकै समयमा उनकी पत्नीले यसो भन्दै खबर पठाउँछिन्‌: “परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने त्यस मानिसलाई केही नगर्नुहोस्‌। किनकि उसले गर्दा आज मैले डरलाग्दो सपना देखें।”

      हो, यो निर्दोष मानिसलाई छाडिदिनुपर्छ भनेर पिलातसलाई थाह भए तापनि उहाँलाई छाडिदिने कसरी? यूहन्‍ना १८:३६-३८; लूका २३:४-१६; मत्ती २७:१२-१४,१८,१९; १४:१,२; मर्कूस १५:२-५.

      ▪ येशूले आफ्नो राज्यबारे सोधिएको प्रश्‍नको जवाफ कसरी दिनुहुन्छ?

      ▪ त्यो “सत्य” के हो जसको साक्षी दिन येशू पृथ्वीमा आउनुभयो?

      ▪ पिलातसले के फैसला सुनाउँछन्‌, मानिसहरूको प्रतिक्रिया कस्तो हुन्छ र पिलातसले येशूलाई के गरिदिन्छन्‌?

      ▪ हेरोद एन्टिपास को हुन्‌, येशूलाई हेर्न उनी किन अति नै खुसी छन्‌ र उहाँलाई उनले के गर्छन्‌?

      ▪ येशूलाई छाडिदिन पिलातस किन इच्छुक छन्‌?

  • “हेर! यो मानिस!”
    सबैभन्दा महान्‌ पुरुष
    • अध्याय १२३

      “हेर! यो मानिस!”

      येशूको आचरण देखेर र उहाँ निर्दोष हुनुहुन्छ भन्‍ने बुझेर पिलातसले येशूलाई छोडिदिने अर्को युक्‍ति निकाल्छन्‌। उनी भीडलाई भन्छन्‌: “निस्तार-चाडको बेला मैले एक जना मानिसलाई मुक्‍त गर्नुपर्ने तिमीहरूको चलन छ।”

      बरब्बा नाम भएको एक जना कुख्यात ज्यानमारा कैदमा छ। यसकारण पिलातस सोध्छन्‌: “तिमीहरू के चाहन्छौ, म बरब्बालाई मुक्‍त गरिदिउँ कि ख्रीष्ट भन्‍ने येशूलाई?”

      मुख्य पुजारीहरूको बहकाउमा परेर मानिसहरू बरब्बालाई छोडिदिन र येशूलाई मार्न भन्छन्‌। पिलातस हार मान्दैनन्‌ र फेरि तिनीहरूलाई सोध्छन्‌: “मैले यी दुईमध्ये कसलाई मुक्‍त गरेको तिमीहरू चाहन्छौ?”

      “बरब्बालाई” भनी तिनीहरू कराउँछन्‌।

      पिलातस निराश भएर सोध्छन्‌: “त्यसोभए, ख्रीष्ट भन्‍ने यस येशूलाई म के गरूँ त?”

      तिनीहरू सबै एकै सोरले कानै बन्द हुनेगरि कराउँछन्‌: “त्यो मानिस खम्बामा टाँगिओस्‌!” “टाँग्नुहोस्‌! त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”

      तिनीहरूले एक जना निर्दोष व्यक्‍तिको जीवन मागिरहेका छन्‌ भनी बुझेर पिलातस तिनीहरूसित बिन्ती गर्छन्‌: “किन? यस मानिसले के खराबी गऱ्‍यो र? उसले मृत्युदण्ड पाउन योग्य कुनै काम गरेको मैले फेला पारिनँ। त्यसैले म उसलाई सजाय दिएर छोडिदिन्छु।”

      उनको प्रयासको बाबजुद धर्म-गुरुहरूको उक्साइमा लागेर त्यो क्रुद्ध भीड कराइरहन्छ: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌!” पुजारीहरूद्वारा उत्साहित भीड रक्‍त-पिपासु भएको छ। किनकि पाँच दिनअघि मात्र तिनीहरूमध्येकै कतिले येशूलाई यरूशलेममा राजा भनी स्वागत गरेका थिए! यी सबै भइरहेको बेलामा येशूका चेलाहरू त्यहाँ छन्‌ भने पनि चुपचाप लुकेर बस्छन्‌।

      आफूले भनेको कुराले भीडमाथि कुनै असर पर्नुको सट्टा त्यहाँ झन्‌-झन्‌ खैलाबैला मच्चिन लागेको देखेर पिलातसले पानी लिन्छन्‌ र भीडका सामुन्‍ने आफ्नो हात धुँदै यसो भन्छन्‌: “म यस मानिसको रगतको दोषबाट मुक्‍त छु। यसको जिम्मेवार अब तिमीहरू नै हौ।” अनि सबै मानिस जवाफ दिन्छन्‌: “त्यसको रगतको दोष हामी र हाम्रा सन्तानमाथि आइपरोस्‌।”

      यसकारण आफूले जानेको सही कुरा गर्नुको सट्टा भीडको चित्त बुझाउन पिलातसले तिनीहरूको मागबमोजिम बरब्बालाई मुक्‍त गरिदिन्छन्‌। येशूलाई चाहिं उनले लगेर नाङ्‌गो पारेर कोर्रा लगाउन सुम्पिदिन्छन्‌। यो साधारण कोर्रा लगाइ थिएन। द जर्नल अफ दी अमेरिकन एसोसियशन-ले रोमीहरूको कोर्रा लगाउने चलनको वर्णन यसरी गर्छ:

      “साधारणतया, एउटा सानो चाबुक [कोर्रा लगाउने एक प्रकारको उपकरण] प्रयोग गरिन्थ्यो। त्यसमा एकसरो वा दुईसरो बाटेको विभिन्‍न लम्बाइको छालाको डोरी गाँसेको हुन्थ्यो। छालाका ती डोरीहरूको बीच-बीचमा फलामका स-साना गेडाहरू वा भेडाको हाडका तीखा-तीखा टुक्राहरू बाँधिएको हुन्थ्यो . . .। रोमी सिपाहीहरूले जसै दोषी व्यक्‍तिको पिठ्यूँमा पूरा तागतले हिर्काउँथे, फलामका ती गेडाहरूले गहिरो नीलडाम पार्थ्यो र छालाको डोरी र भेडाका हाडहरूले चाहिं छाला र छालामुनिका मांसपेशीलाई काटिदिन्थ्यो। अनि कोर्रा लगाउँदा-लगाउँदा छाला काटिंदै हाडमाथिको मासुसमेत चिरा-चिरा हुँदै जान्थ्यो र रगताम्य भएको मासुका टुक्राहरू झुन्डिन्थ्यो।”

      यसप्रकारको सन्तापपूर्ण कुटाइपछि येशूलाई राज्यपालको महलमा लगिन्छ र सेनाको पूरै टुकडी जम्मा हुन्छ। त्यहाँ सिपाहीहरूले दुर्वचन बोल्दै काँडाको मुकुट गुथेर उहाँको शिरमा पहिराइदिन्छन्‌। उहाँको दाहिने हातमा एउटा नर्कट थमाइदिन्छन्‌ र राजाहरूले लगाउने किसिमको बैजनी रङ्‌गको लुगा पहिराइदिन्छन्‌। अनि गिल्ला गर्दै तिनीहरूले उहाँलाई भन्छन्‌: “हे यहूदीहरूका राजा, प्रणाम!” तिनीहरूले उहाँलाई थुक्छन्‌ र थप्पड पनि लगाउँछन्‌। उहाँको हातबाट त्यो कडा नर्कट खोस्छन्‌ र त्यसले उहाँको टाउकोमा हान्दै उहाँको बेइज्जती गर्न लागाइदिएको “मुकुट”-का तीखा-तीखा काँडाहरू उहाँको शिरको छालामा अझै गाडिदिन्छन्‌।

      यसप्रकारको दुर्व्यवहारको बाबजुद येशूको असाधारण गरिमा र बल देखेर पिलातस यति प्रभावित हुन्छन्‌ कि उहाँलाई छुटाउन उनी अर्को प्रयास गर्छन्‌। उनी भीडलाई भन्छन्‌: “हेर, मैले उसमा कुनै दोष भेटिनँ भनी तिमीहरूले थाह पाओ भनेर मैले उसलाई बाहिर तिमीहरूकहाँ ल्याएको छु।” सम्भवतः येशूको दयनीय अवस्था देखेर तिनीहरूको मन अलिक नरम होला कि भनी उनी सोच्छन्‌। येशू काँडाको मुकुट र बैजनी रङ्‌गको लुगा पहिरेर रगताम्य र पीडित चेहराका साथ हुलको सामुन्‍ने जसै उभिनुहुन्छ, पिलातसले उद्‌गार गर्छन्‌, “हेर, यो मानिस!”

      पिटाइ खाएर चोटै चोटले भरिए तापनि इतिहासको सबैभन्दा विशिष्ट व्यक्‍ति, सबैभन्दा महान्‌ पुरुष यहाँ उभिनुभएको छ! हो, येशूले आफ्नो शान्त गरिमा र ठन्डा मिजासद्वारा एउटा यस्तो महानता प्रकट गर्नुहुन्छ जसलाई पिलातसले समेत स्वीकार गर्छन्‌ किनकि उनका शब्दहरूमा आदर र दयाको भाव स्पष्टै झल्किन्छ। यूहन्‍ना १८:३९–१९:५; मत्ती २७: १५-१७, २०-३०; मर्कूस १५:६-१९; लूका २३:१८-२५.

      ▪ पिलातसले येशूलाई छुटाउने प्रयास कसरी गर्छन्‌?

      ▪ पिलातसले आफूलाई जिम्मेवारीबाट मुक्‍त पार्ने प्रयास कसरी गर्छन्‌?

      ▪ कोर्राबाजीमा के समावेश छ?

      ▪ कोर्रा लगाइसकेपछि येशूको गिल्ला कसरी गरिन्छ?

      ▪ येशूलाई छुटाउन पिलातसले अझ के प्रयास गर्छन्‌?

  • शत्रुहरूको हातमा सुम्पिएर लगिनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
    • १२४

      शत्रुहरूको हातमा सुम्पिएर लगिनुहुन्छ

      पीडित येशूको शान्त गरिमाबाट प्रेरित भएर पिलातसले उहाँलाई छुटाउन फेरि प्रयास गर्दा मुख्य पुजारीहरू झनै क्रोधित हुन्छन्‌। आफ्नो दुष्ट उद्देश्‍य पूरा गर्नदेखि कुनै कुराले पनि बाधा नपुऱ्‍याउन तिनीहरूले दृढ संकल्प गरेका छन्‌। यसकारण तिनीहरू फेरि यसो भन्दै कराउन सुरु गर्छन्‌: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌! त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”

      पिलातसले जवाफ दिन्छन्‌: “तिमीहरू आफै लगेर उसलाई खम्बामा टाँग।” (तिनीहरूले अघि गरेका दाबीहरूको विपरीत गम्भीर धार्मिक अपराध गर्नेहरूलाई सजाय दिने अख्तियार सायद यहूदीहरूसित होला।) अनि अब कम-से-कम पाँचौं पटक येशूलाई निर्दोष ठहराउँदै पिलातस भन्छन्‌: “म उसमा कुनै दोष भेट्टाउँदिनँ।”

      तिनीहरूले लगाएको राजनैतिक आरोप निष्फल भएको देखेर ती यहूदीहरू फेरि त्यही ईश्‍वरनिन्दाको धार्मिक दोष औंल्याउन थाल्छन्‌। यही दोष तिनीहरूले केही घण्टाअघि यहूदी न्यायपरिषद्‌को सामुन्‍ने येशूको पुर्पक्षमा लगाएका थिए। तिनीहरू भन्छन्‌: “हाम्रो आफ्नै व्यवस्था छ, जसअनुसार यो मानिस मर्नै पर्छ, किनकि यसले आफू परमेश्‍वरको छोरा हुँ भन्‍ने दाबी गऱ्‍यो।”

      पिलातसका निम्ति यो दोष नयाँ हो र यो सुनेर उनी अझै भयभीत हुन्छन्‌। अब भने येशू कुनै साधारण मानिस हुनुहुँदो रहेनछ भनी पिलातसले बुझिसकेका छन्‌ र उनकी पत्नीको सपना र येशूको उल्लेखनीय व्यक्‍तित्वबाट पनि उनलाई यसै कुराको बोध हुन्छ। तर “परमेश्‍वरको छोरा”? येशू त गालीलको हुनुहुन्छ भनी पिलातसलाई थाह छ। तर के योभन्दा पहिले पनि उहाँ हुनुहुन्थ्यो होला र? फेरि उहाँलाई महलभित्र लगेर पिलातस सोध्छन्‌: “तिमी कहाँका हौ?”

      येशू केही जवाफ दिनुहुन्‍न। उहाँ राजा हुनुहुन्छ तर उहाँको राज्य यस संसारको होइन भनी केही समयअघि नै उहाँले पिलातसलाई भनिसक्नुभएको थियो। योभन्दा बढी व्याख्या गरेर अब केही लाभ हुने होइन। तथापि जवाफ दिन इन्कार गरेर येशूले पिलातसको अपमान गर्नुहुँदैछ भनी पिलातस ठान्छन्‌ र झनक्क रिसाउँदै येशूलाई भन्छन्‌: “के तिमी मसित बोल्दैनौ? तिमीलाई मुक्‍त गर्ने अख्तियार अनि तिमीलाई खम्बामा टाँग्ने अख्तियार पनि मसित छ भनेर के तिमीलाई थाह छैन?”

      येशू आदरपूर्वक जवाफ दिनुहुन्छ: “यदि परमेश्‍वरले तपाईंलाई नदिनुभएको भए, मेरो विरुद्धमा कदम चाल्ने यो अख्तियार तपाईंसित हुनेथिएन।” उहाँ त्यस अधिकारको चर्चा गर्नुहुँदैछ जुन अधिकार परमेश्‍वरले मानिसहरूलाई पृथ्वीका मामिला सम्हाल्न दिनुभएको छ। येशू अझ भन्‍नुहुन्छ: “त्यसैले जसले मलाई तपाईंकहाँ सुम्प्यो, त्यसले झन्‌ ठूलो पाप गरेको छ।” येशूसित गरिएको अत्याचारपूर्ण व्यवहारका लागि पिलातसभन्दा प्रधान पुजारी कैयाफा र तिनका मतियारहरू अनि यहूदा इस्करियोत बढी मात्रामा दोषी छन्‌।

      येशूबाट अझै प्रभावित हुँदै र येशू कुनै ईश्‍वरीय स्रोतबाट नै आउनुभएको होला भनी भयभीत भएर पिलातस फेरि उहाँलाई छाड्‌ने प्रयास गर्छन्‌। तर यहूदीहरू पिलातसलाई फट्‌कार्छन्‌। आफूहरूले लगाएको राजनैतिक आरोपलाई दोहोऱ्‍याएर बडो चतुऱ्‍याइँका साथ धम्काउँदै भन्छन्‌: “यदि तपाईंले यस मानिसलाई मुक्‍त गर्नुभयो भने तपाईं सम्राट्‌को मित्र होइन। आफूलाई राजा तुल्याउने जोसुकै मानिस सम्राट्‌को विरुद्धमा हुन्छ।”

      तिनीहरूले भनेको कुराको जतिसुकै डरलाग्दो परिणाम भए तापनि पिलातसले येशूलाई फेरि एक पटक बाहिर ल्याउँछन्‌ र तिनीहरूसित आग्रह गर्दै अपिल गर्छन्‌: “हेर, तिमीहरूको राजा!”

      “त्यसलाई लैजानुहोस्‌! त्यसलाई लैजानुहोस्‌! त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”

      पिलातस हैरान भएर सोध्छन्‌: “के म तिमीहरूको राजालाई खम्बामा टाँगूँ?”

      यहूदीहरू रोमीहरूको शासनमुनि पिल्सिएका छन्‌। वास्तवमा तिनीहरू रोमी आधिपत्यलाई घृणा गर्छन्‌! तापनि कपटसाथ ती मुख्य पुजारीहरू भन्छन्‌: “सम्राट्‌बाहेक हाम्रो अरू कुनै राजा छैन।”

      आफ्नो राजनैतिक ओहदा र प्रतिष्ठा गुमाउनुपर्ला भन्‍ने डरले पिलातस यहूदीहरूको एकोहोरो मागको सामुन्‍ने दब्छन्‌। उनले येशूलाई तिनीहरूको हातमा सुम्पिदिन्छन्‌। सिपाहीहरूले उहाँको बैजनी रङ्‌गको लुगा फुकालेर उहाँकै बाहिरी लुगा लगाइदिन्छन्‌। येशूलाई खम्बामा टाँग्न लैजाँदा उहाँलाई आफ्नो यातनाको खम्बा आफै बोक्न लगाउँछन्‌।

      यो नीसान १४ तारिख, शुक्रबार बिहान हो; सायद अपरान्ह हुन लागेको छ। बिहीबार सबेरैदेखि एकपछि अर्को सङ्‌कष्टमय अनुभव भोग्दै येशू जागा रहनुभएको छ। त्यसैकारण केही समयपछि उहाँमा यातनाको खम्बा थाम्ने तागतसम्म रहँदैन। त्यसैले सिमोन नाम भएको अफ्रिकी साइरेनीवासीलाई बाटोमा फेला पारेर तिनलाई उहाँको खम्बा बोकेर लैजान कर लगाउँछन्‌। उहाँहरू गइरहनुभएको बेला महिलाहरूलगायत धेरै मानिसहरू पछि-पछि हिंड्‌दै आउँछन्‌ र येशूका निम्ति विलाप गर्दै छाती पिट्‌छन्‌।

      ती महिलाहरूतर्फ फर्केर येशू भन्‍नुहुन्छ: “हे यरूशलेमका छोरीहरू हो, मेरो निम्ति रुन छोड। बरु तिमीहरू आफू र आफ्ना छोराछोरीहरूका निम्ति रोओ। किनकि हेर यस्तो बेला आउँदैछ, जब मानिसहरूले यसो भन्‍नेछन्‌: ‘सुखी हुन्‌ ती स्त्रीहरू, जो बाँझी छन्‌ र जसले सन्तान जन्माएनन्‌ अनि दूध चुसाएनन्‌!’ . . . रूख हरियो भएको बेला त यस्तो हालत छ भने सुकेपछि झन्‌ के होला?”

      येशूको भनाइको अर्थ त्यो रूख यहूदी राष्ट्र हो। यस राष्ट्रमा येशूको उपस्थिति र उहाँमाथि विश्‍वास गर्ने शेष जनहरू भएकोले अझ पनि रूख केही मात्रामा हरियो अथवा जीवित छ। तर यस राष्ट्रबाट ती कुराहरू हटिसकेपछि प्रतीकात्मक रूपमा एउटा मृत रूख अथवा सुकेको एउटा राष्ट्रिय सङ्‌गठन मात्र रहनेछ। परमेश्‍वरको न्याय कार्यान्वयन गर्नेहरूको हैसियतमा रोमी फौजले जब यहूदा राष्ट्रलाई ध्वस्त पार्नेछ तब पो रुवाबासी गर्ने ठूलो कारण हुनेछ! यूहन्‍ना १९:६-१७; १८:३१; लूका २३:२४-३१; मत्ती २७:३१,३२; मर्कूस १५:२०,२१.

      ▪ धर्म-गुरुहरूले येशूविरुद्ध लगाएका राजनैतिक आरोपहरू बेकाम भएपछि तिनीहरू उहाँमाथि कुन आरोप लगाउँछन्‌?

      ▪ पिलातस किन झनै भयभीत हुन्छन्‌?

      ▪ येशूलाई जे हुन्छ, त्यसका निम्ति को बढी मात्रामा दोषी छन्‌?

      ▪ अखिरमा येशूलाई मार्नका निम्ति सुम्पिदिन पिलातसलाई पुजारीहरूले कसरी बाध्य पार्छन्‌?

      ▪ उहाँका निम्ति रुने महिलाहरूलाई येशू के भन्‍नुहुन्छ र उहाँले चर्चा गर्नुभएको “हरियो” अनि ‘सुकेको’ रूखको अर्थ के हो?

  • खम्बामा टाँगिएको बेला पीडा
    सबैभन्दा महान्‌ पुरुष
    • अध्याय १२५

      खम्बामा टाँगिएको बेला पीडा

      येशूसँग टाँगिन दुई जना डाँकु लगिंदैछन्‌। सहरनजिकै, गलगथा अर्थात्‌ खप्पर भन्‍ने ठाउँमा पुगेर मानिसहरूको यो हुल रोकिन्छ।

      कैदीहरूका लुगा फुकालिन्छ। अनि मर्र मिसाएको दाखमद्य तिनीहरूलाई दिइन्छ। यसलाई यरूशलेमकी महिलाहरूले तयार पारेको हुनुपर्छ र खम्बामा टाँगिनेहरूको पीडा कम गर्ने यो तरल पदार्थ तिनीहरूलाई दिन रोमीहरूले कुनै आपत्ति जनाउँदैनन्‌। तथापि येशूले यसलाई चाखेपछि उहाँ त्यो पिउन इन्कार गर्नुहुन्छ। किन? किनभने आफ्नो विश्‍वासको ठूलो जाँच हुने बेला उहाँ आफ्नो सारा होस-हवास आफ्नो नियन्त्रणमा भएको चाहनुहुन्छ।

      अब येशूलाई उहाँका हातहरू शिरमाथि तानेर खम्बामा तन्काइन्छ। यसपछि सिपाहीहरूले उहाँको हात र खुट्टामा ठूला-ठूला किलाहरू ठोक्छन्‌। ती किलाहरूले मासु र अस्थि छेड्‌दा उहाँ पीडाले छट्‌पटाउनुहुन्छ। खम्बालाई ठाडो पारेर उभ्याउँदा पीडा असह्‍य हुन्छ किनकि किला ठोक्दा लागेका चोटहरू शरीरको भारले गर्दा च्यातिन्छन्‌। यस्तो हुँदाहुँदै पनि येशूले ती रोमी सिपाहीहरूलाई धम्काउनुको सट्टा तिनीहरूका लागि यसप्रकार प्रार्थना गर्नुहुन्छ: “हे बुबा, यिनीहरूलाई क्षमा गर्नुहोस्‌। किनकि तिनीहरू जे गर्दैछन्‌, त्यो तिनीहरू जान्दैनन्‌।”

      पिलातसले खम्बामा एउटा दोष-पत्र लेखेर टाँसिदिएका छन्‌, जसमा यस्तो लेखिएको थियो: “नासरी येशू, यहूदीहरूका राजा।” उनले यी शब्दहरू येशूप्रति आदर दर्साउनलाई मात्र टाँगेका होइनन्‌। यहूदी पुजारीहरूले बलजफत गरेर येशूलाई मृत्युदण्डको सजाय दिन लगाएकोमा पिलातस तिनीहरूप्रति आफ्नो घृणा व्यक्‍त गर्न चाहन्छन्‌। सबैले पढ्‌न सकून्‌ भनेर पिलातसले यी शब्दहरू तीन भाषामा अर्थात्‌ हिब्रू, ल्याटिन र ग्रीकमा लेख्न लगाउँछन्‌।

      कैयाफा र हन्‍नासलगायत अन्य मुख्य पुजारीहरू खिस्रिक्क हुन्छन्‌। यो सकारात्मक घोषणाले तिनीहरूको विजयलाई खल्लो पारिदिन्छ। यसकारण तिनीहरू विरोध गर्दै भन्छन्‌: “ ‘यहूदीहरूका राजा’ भनेर होइन, तर यसले ‘म यहूदीहरूका राजा हुँ’ भन्यो भनेर लेख्नुहोस्‌।” पुजारीहरूको कठपुतली भएर काम गर्न आफू बाध्य भएकोले दिक्क मान्दै पिलातसले पुजारीहरूको खिसी गर्दै दृढतासाथ यस्तो जवाफ दिन्छन्‌: “मैले जे लेखें, सो लेखें।”

      अब यी पुजारीहरू ठूलो भीडका साथ फाँसी दिने ठाउँमा जम्मा हुन्छन्‌ र दोष-पत्रमा लेखेको कुराको खण्डन गर्छन्‌। यहूदी न्यायपरिषद्‌मा पुर्पक्ष गर्दा प्रस्तुत गरिएको झूटा प्रमाणलाई तिनीहरू फेरि दोहोऱ्‍याउँछन्‌। यसैकारण त बाटोमा आवतजावत गर्नेहरूले दुर्वचन बोल्दै र गिल्ला गर्दै आ-आफ्ना मुन्टो हल्लाएर यसो भन्‍नुमा कुनै आश्‍चर्य छैन: “मन्दिर भत्काएर तीन दिनमा बनाउँछु भनेर तँ खुब फुइँ लगाउँथिस्‌ हैन, लौ आफैलाई बचाएर देखा! तँ परमेश्‍वरको छोरा होस्‌ भने यातनाको खम्बाबाट ओर्लेर आइज!”

      मुख्य पुजारीहरू र धर्म-गुरुहरू त्यसमा तालसुर मिलाउँदै भन्छन्‌: “यसले अरूलाई त बचायो तर आफैलाई भने बचाउन सकेन। यो त इस्राएलको राजा हो नि; यो अब यातनाको खम्बाबाट ओर्लेर आओस्‌, त्यसपछि हामी यसलाई पत्याउँला। यसले परमेश्‍वरमाथि भरोसा राखेको छ, अब चाहनुहुन्छ भने उहाँले नै यसलाई बचाऊन्‌, किनकि यसले ‘म परमेश्‍वरको छोरा हुँ’ भन्थ्यो।”

      सिपाहीहरूले पनि येशूको गिल्ला गर्न थाल्छन्‌। येशूका सुकेका ओठहरूदेखि कचौरा टाढै राखेर उहाँलाई अमिलो दाखमद्य दिंदै उहाँको खिसी गर्छन्‌: “यदि तँ यहूदीहरूको राजा होस्‌ भने आफैलाई बचा।” येशूको दाहिने र देब्रेतर्फ टाँगिएका डाँकुहरूसमेतले उहाँको खिसी गर्छन्‌। यसो सोच्नुहोस्‌! सबैभन्दा महान्‌ पुरुष र यहोवा परमेश्‍वरसित सबै थोकको सृष्टि गर्ने काममा भाग लिनुभएका यी व्यक्‍ति यति स्थिर रहेर यी सबै गाली सहँदै हुनुहुन्छ!

      सिपाहीहरूले येशूका बाहिरी लुगा लिएर त्यसलाई चार भाग पार्छन्‌। ती कसको भागमा पर्ने हो भनी हेर्न तिनीहरू गोला हाल्छन्‌। अनि उहाँले त्यसमुनि लगाइराख्नुभएको लुगाचाहिं असल स्तरको कपडाले बनेकोले त्यसमा कतै पनि सिउनी छैन। त्यसकारण सिपाहीहरू एक अर्कालाई भन्छन्‌: “यसलाई चाहिं नच्यातौं, बरु कसको भागमा पर्छ, गोला हालेर हेरौं।” यसरी तिनीहरू अनजानमै धर्मशास्त्रमा भनिएको यो कुरा पूरा गर्छन्‌: “तिनीहरूले मेरो बाहिरी लुगा आपसमा भाग लगाए अनि मेरो कपडाचाहिं गोला हालेर लिए।”

      केही समयपछि, येशू साँच्चै राजा हुनुपर्छ भनी डाँकुहरूमध्ये एक जनाले स्वीकार्छ। त्यसकारण आफ्नो साथीलाई हकार्दै उसले भन्छ: “तैंले पनि यस मानिसले जस्तै सजाय पाइरहेको छस्‌, तैपनि के तँलाई परमेश्‍वरको अलिकता पनि डर लाग्दैन? हामीले यस्तो सजाय पाउनु न्यायोचित छ। किनकि हामीले जे गऱ्‍यौं, त्यसकै पूरा फल भोगिरहेका छौं। तर यस मानिसले त यस्तो सजाय पाउन लायकको केही गरेको छैन।” त्यसपछि त्यसले येशूसित बिन्ती गर्छ: “तपाईं राजा बन्‍नुभएपछि मलाई सम्झनुहोस्‌।”

      येशू जवाफ दिनुहुन्छ: “म आज तिमीलाई साँचो-साँचो भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ।” येशू स्वर्गमा राजा भएपछि र आरमागेडोनमा बाँच्ने मानिसहरू र तिनीहरूका सङ्‌गीहरूले पार्थिव प्रमोदवनलाई विस्तार गर्दै जाँदा यस पश्‍चात्तापी कुकर्मीलाई पुनर्जीवित पारेपछि येशूको यो प्रतिज्ञा पूरा हुनेछ। मत्ती २७:३३-४४; मर्कूस १५:२२-३२; लूका २३:२७, ३२-४३; यूहन्‍ना १९:१७-२४.

      ▪ मर्र मिसाएको दाखमद्य पिउन येशू किन इन्कार गर्नुहुन्छ?

      ▪ येशूलाई टाँगिएको खम्बामा किन दोष-पत्र टाँसिन्छ र त्यसबाट पिलातस र मुख्य पुजारीहरूबीच कस्तो भनाभन हुन्छ?

      ▪ येशू खम्बामा हुँदा उहाँलाई कस्तो दुर्व्यवहार गरिन्छ र त्यसको कारण के हुन सक्छ?

      ▪ येशूको लुगालाई जे गरिन्छ त्यसबाट भविष्यवाणी कसरी पूरा हुन्छ?

      ▪ डाँकुहरूमध्ये एक जनामा कस्तो परिवर्तन हुन्छ र येशूले तिनको अनुरोध कसरी पूरा गर्नुहुनेछ?

  • “यिनी साँच्चै परमेश्‍वरका छोरा रहेछन्‌”
    सबैभन्दा महान्‌ पुरुष
    • अध्याय १२६

      “यिनी साँच्चै परमेश्‍वरका छोरा रहेछन्‌”

      येशू खम्बामा टाँगिनुभएको धेरै बेर भएको छैन। त्यतिबेला मध्यदिनमै तीन घण्टासम्म जताततै असाधारण किसिमले अन्धकार छाउँछ। सूर्य-ग्रहण लागेकोले यसो भएको हुन सक्दैन किनकि सूर्य-ग्रहण औंसीमा मात्र लाग्छ र अहिले निस्तार-चाड पूर्णिमामा पर्छ। साथै सूर्य-ग्रहण केही मिनेटसम्म मात्र रहन्छ। त्यसकारण यो अन्धकारको पछाडि एउटा दैवी कारण छ! यसले गर्दा येशूलाई गिल्ला गर्नेहरू पनि केही समयका लागि चुप लाग्छन्‌ र तिनीहरूको खिसीसमेत बन्द हुन्छ।

      यदि यो घटना एक जना कुकर्मीले आफ्नो साथीलाई हकारेर आफूलाई सम्झनुहोला भनी येशूसित बिन्ती गर्नुअघि नै घटेको हो भने त्यस कुकर्मीमा पश्‍चात्तापको भाव उत्पन्‍न हुनुको एउटा कारण यो घटना पनि हुन सक्छ। अन्धकार भएकै बेलामा, सायद चार जना महिलाहरू अर्थात्‌ येशूकी आमा र तिनकी बहिनी सलोमी, मरियम मग्दलिनी र सानो याकूबकी आमा मरियम यातनाको खम्बाको नजिक आउँछन्‌। यूहन्‍ना जो येशूका प्रिय प्रेषित हुन्‌, तिनी पनि तिनीहरूका साथमा त्यहाँ छन्‌।

      आफूले पालनपोषण गरेर हुर्काएको छोरा यसरी पीडित अवस्थामा टाँगिएको देख्दा येशूकी आमाको मुटुमा ‘घोचे’ सरह भयो होला! तर त्यस्तो बेला पनि येशू आफ्नो पीडाभन्दा आमाको कल्याणबारे सोच्नुहुन्छ। बल्लतल्ल प्रयास गर्दै उहाँ यूहन्‍नातर्फ आफ्नो शिर हल्लाउनुहुन्छ र आफ्नी आमालाई भन्‍नुहुन्छ: “आमा, हेर्नुहोस्‌, ऊ तपाईंको छोरा!” अनि मरियमतर्फ शिर हल्लाउँदै यूहन्‍नालाई भन्‍नुहुन्छ: “हेर, तिम्री आमा!”

      यसप्रकार येशूले आफ्नी आमा जो यसबेला सम्भवतः विधवा हुन्‌, तिनको जिम्मा आफूले असाध्यै माया गरेको प्रेषितलाई सुम्पनुहुन्छ। मरियमका अरू छोराहरूले अहिलेसम्म उहाँमाथि विश्‍वास नगरेकोले उहाँले यसो गर्नुभएको हो। यसप्रकार आफ्नी आमाको भौतिक आवश्‍यकता मात्र होइन तर परमेश्‍वरको सेवासित सम्बन्धित आवश्‍यकताहरूको पनि प्रबन्ध मिलाएर येशूले एउटा राम्रो उदाहरण कायम गर्नुहुन्छ।

      दिउँसो तीन बजेतिर येशू भन्‍नुहुन्छ: “मलाई तिर्खा लाग्यो।” आफ्नो निष्ठाको पूर्णतया जाँच होस्‌ भनेर अब बुबाले आफूबाट संरक्षण हटाउनुभएजस्तो उहाँलाई लाग्छ। यसकारण उहाँ चर्को सोरले कराउनुहुन्छ: “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभयो?” यो सुनेर वरिपरि उभिनेहरूमध्ये कसै-कसैले भन्छन्‌: “हेर, उसले एलियालाई बोलाउँदैछ।” झट्ट एक जना दगुर्दै गएर अमिलो दाखमद्यमा स्पन्ज चोपेर त्यसलाई नर्कटमा राखेर उहाँलाई पिउन दिन्छ। तर बाँकी मानिसहरूचाहिं भन्छन्‌: “होस्‌, होस्‌! एलिया यसलाई तल झार्न आउँछन्‌ कि आउँदैनन्‌, हेरौं न।”

      येशूले अमिलो दाखमद्य लिएपछि उहाँ कराउनुहुन्छ: “सबै पूरा भयो!” हो, उहाँका बुबाले जुन-जुन काम गर्न उहाँलाई पृथ्वीमा पठाउनुभएको थियो, ती सबै काम उहाँले पूरा गर्नुभएको छ। अन्तमा उहाँ भन्‍नुहुन्छ: “हे बुबा, म आफ्नो सास तपाईंको हातमा सुम्पिन्छु।” यसप्रकार आफ्नो जीवन-शक्‍ति परमेश्‍वरले आफूलाई फेरि फिर्ता दिनुहुनेछ भन्‍ने विश्‍वास व्यक्‍त गर्दै येशूले त्यो जीवन-शक्‍ति परमेश्‍वरको हातमा छोडिदिनुहुन्छ। त्यसपछि शिर निहुराएर उहाँ बित्नुहुन्छ।

      येशू बित्नेबित्तिकै एउटा भयङ्‌कर भैंचालो जान्छ र चट्टानहरू पनि फाट्‌छन्‌। भैंचालो यति जोडसित आउँछ कि यरूशलेम सहरको बाहिर भएका चिहानहरू उघारिन्छन्‌ र थुप्रै लासहरू बाहिर निस्कन्छन्‌। बाटोमा आउजाउ गर्नेहरूले ती लासहरू देख्छन्‌ र सहरमा आएर त्यसको सूचना दिन्छन्‌।

      साथै येशू मर्नुभएकै बेलामा पवित्र र अति पवित्रलाई छुट्ट्याउने परमेश्‍वरको मन्दिरको विशाल पर्दा टुप्पोदेखि फेदसम्म दुई फ्याक भएर च्यातिन्छ। यो अति नै सुन्दर ढङ्‌गले सिंगारिएको पर्दा लगभग १८ मिटर उचाइ भएको र धेरै गह्रौं छ! यो आश्‍चर्यजनक चमत्कारद्वारा परमेश्‍वरको छोराको हत्याराहरूको विरुद्धमा उहाँको क्रोध जाहेर हुनुका साथै अब अति पवित्र स्थान अर्थात्‌ स्वर्गमै प्रवेश गर्ने बाटो येशूको मृत्युको कारण सम्भव भएको छ भन्‍ने कुरा लाक्षणिक ढङ्‌गमा खुलस्त हुन्छ।

      जब मानिसहरूले भैंचालो र त्यहाँ भएका घटनाहरू देख्छन्‌, तिनीहरू धेरै नै भयभीत हुन्छन्‌। त्यस ठाउँमा खटिएका सैनिक अफिसरले परमेश्‍वरलाई महिमा दिन्छन्‌। उनी यो घोषणा गर्छन्‌: “यी मानिस साँच्चै परमेश्‍वरका छोरा रहेछन्‌।” पिलातसको सामुन्‍ने येशूको पुर्पक्षको बेला येशूले आफू परमेश्‍वरको छोरा भएको दाबी गर्दा यी सैनिक अफिसर त्यहाँ थिए होलान्‌। अब उनी येशू परमेश्‍वरका छोरा हुनुहुँदोरहेछ, हो उहाँ सबैभन्दा महान्‌ पुरुष हुनुहुन्छ भनी पूरै पत्यार गर्छन्‌।

      अरूहरू पनि यी चमत्कारपूर्ण घटनाहरू देखेर अति नै प्रभावित हुन्छन्‌ र आफ्नो गहिरो दुःख र लाज प्रकट गर्न आ-आफ्ना छाती पिट्‌दै घर फर्किन्छन्‌। यी घटनाहरू टाढाबाट हेर्ने येशूका धेरै महिला चेलाहरू पनि यी सबै कुरा भएको देखेर अत्यन्तै प्रभावित हुन्छन्‌। प्रेषित यूहन्‍ना पनि त्यहीं छन्‌। मत्ती २७:४५-५६; मर्कूस १५:३३-४१; लूका २३:४४-४९; २:३४,३५; यूहन्‍ना १९:२५-३०.

      ▪ सूर्य-ग्रहणको कारण तीन घण्टासम्म अन्धकार भएको किन हुन सक्दैन?

      ▪ आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि उमेर ढलेका आमाबुबा हुनेहरूका लागि येशूले कुन राम्रो उदाहरण कायम गर्नुहुन्छ?

      ▪ मृत्यु हुनुअघि येशूका अन्तिम चार अभिव्यक्‍ति के हुन्‌?

      ▪ भैंचालोले गर्दा के हुन्छ र मन्दिरको पर्दा दुई फ्याक हुनुको अर्थ के हो?

      ▪ मृत्युदण्ड दिने ठाउँमा खटिएका सैनिक अफिसरमाथि यी चमत्कारहरूले कस्तो असर पार्छ?

  • शुक्रबार गाडिनुहुन्छ—आइतबार चिहान रित्तो
    सबैभन्दा महान्‌ पुरुष
    • अध्याय १२७

      शुक्रबार गाडिनुहुन्छ—आइतबार चिहान रित्तो

      अहिले शुक्रबार अपरान्ह भइसक्यो र घाम पनि डुब्नै लागेको छ। सूर्यास्तपछि नीसान १५ को विश्राम-दिन सुरु हुनेछ। येशूको लास खम्बामा लत्रक्क झुन्डिरहेको छ तर उहाँ छेउका डाँकुहरू अझै जिउँदै छन्‌। शुक्रबार दिउँसोलाई तयारीको दिन भनिन्छ किनभने यसै दिनमा आफ्ना खानाहरू पकाउने अथवा विश्राम-दिनको अघि नगरी नहुने काम मानिसहरू गर्छन्‌।

      अब सुरु हुनै लागेको यो विश्राम-दिन सधैंको जस्तो विश्राम-दिन (हप्ताको सातौं दिन) होइन। यो एउटा विशेष वा “महाविश्राम दिन” हो किनभने नीसान १५ तारिख अथवा अखमिरा रोटीको सात दिने चाडको यो प्रथम दिन (साधारणतया जुनसुकै दिनमा परे तापनि यो दिन विश्राम-दिन हुन्छ) हप्ताको सातौं दिनमै परेको छ।

      परमेश्‍वरको नियमअनुसार लासहरूलाई खम्बामा रातभरि रहन दिनु हुँदैन। यसकारण टाँगिएकाहरू चाँडै मरून्‌ भनेर तिनीहरूका खुट्टाहरू भाँचिदिने अनुमति यहूदीहरूले पिलातससित माग्छन्‌। अतः सिपाहीहरूले दुई जना डाँकुहरूका खुट्टा भाँच्छन्‌। तर येशू मरिसक्नुभएको जस्तो देखिएकोले उहाँका खुट्टाहरूचाहिं भाँच्दैनन्‌। यसप्रकार धर्मशास्त्रको यो वचन पूरा हुन्छ: “उनको एउटै हड्डी भाँचिनेछैन।”

      तथापि येशूको मृत्युबारे केही शङ्‌का नहोस्‌ भनेर एक जना सिपाहीले भाला लिएर येशूको कोखामा घोप्छ। भालाले उहाँको मुटुलाई छेड्‌छ र तुरुन्तै त्यहाँबाट रगत र पानी निस्कन्छ। प्रत्यक्षदर्शी प्रेषित यूहन्‍नाको वर्णनअनुसार यस घटनाद्वारा धर्मशास्त्रमा लेखिएको यो कुरा पनि पूरा हुन्छ: “जसलाई तिनीहरूले घोपे, उसैलाई तिनीहरूले हेर्नेछन्‌।”

      अरिमथिया सहरको यूसुफ नाम गरेका एक जना मानिस पनि येशू टाँगिनुभएको ठाउँमै उपस्थित छन्‌। उनी यहूदी न्यायपरिषद्‌का एक जना प्रतिष्ठित सदस्य हुन्‌। येशूका विरुद्धमा उच्च-अदालतले दिएको अन्यायपूर्ण फैसलाको समर्थन गर्न उनले अस्वीकार गरेका थिए। खुल्लमखुल्ला येशूलाई साथ दिन यतिका दिनदेखि डराएको भए तापनि उनी वास्तवमा येशूकै एक जना चेला हुन्‌। तथापि अबचाहिं उनले साहस गर्दै पिलातसकहाँ गएर येशूको लास माग्छन्‌। पिलातसले सम्बन्धित सैनिक अफिसरलाई बोलाउँछन्‌ र येशू मरिसक्नुभएको कुरा निश्‍चित गरेपछि येशूको लास यूसुफलाई जिम्मा लगाइदिन्छन्‌।

      यूसुफले लास ल्याएर राम्रो मलमलको कपडामा बेह्रेर त्यसलाई गाड्‌ने तयारी गर्छन्‌। उनलाई यहूदी न्यायपरिषद्‌का अर्का एक जना सदस्य निकोदेमसले सघाउँछन्‌। निकोदेमसले पनि आफ्नो ओहदा गुमाउनुपर्ला भन्‍ने डरले येशूमा विश्‍वास जाहेर गर्न सकेनन्‌। तर अहिलेचाहिं उनी ३३ किलो जति मर्र र किम्मती मसलाहरू लिएर आउँछन्‌। लास गाड्‌नुअघि, यहूदी चलनअनुसार येशूको लासलाई सुगन्धित मसला दलेर मलमलको कपडाले बेर्छन्‌।

      यसपछि नजिकको एउटा बगैंचामा चट्टान खोपेर बनाइएको यूसुफको नयाँ चिहानमा लास राख्छन्‌। अन्तमा एउटा ठूलो ढुङ्‌गा चिहानको ढोकामा गुडाइदिन्छन्‌। विश्राम-दिनभन्दा पहिले नै गाड्‌ने काम सिध्याउनुपरेकोले लासलाई हतारपतार तयार गरिन्छ। यसैकारण सायद लासलाई तयार गर्नमा सहयोग गरिरहेका मरियम मग्दलिनी र सानो याकूबकी आमा मरियम, अरू मसलाहरू र सुगन्धित तेलहरू तयार गर्न चाँड-चाँडो घरतर्फ जान्छन्‌। येशूको लासलाई धेरै दिनसम्म कुहिन नदिनका लागि विश्राम-दिनपछि त्यसलाई अझ राम्रोसँग तयार पार्ने तिनीहरूको योजना छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने