-
शुक्रबार गाडिनुहुन्छ—आइतबार चिहान रित्तोसबैभन्दा महान् पुरुष
-
-
आइतबार बिहानको झिसमिसे उज्यालोमा मरियम मग्दलिनी र याकूबकी आमा मरियम, सलोमी, योअन्ना र अरू आइमाईहरू येशूको शरीरमा घस्नका लागि सुगन्धित मसलाहरू लिएर चिहानमा आउँछन्। बाटोमा तिनीहरू आपसमा भन्छन्: “हाम्रो निम्ति कसले चिहानको ढोकाको ढुङ्गा गुडाइदिने होला?” तर तिनीहरू त्यहाँ आइपुग्दा त के देख्छन् भने एउटा ठूलो भैंचालो गएछ र यहोवाको दूतले ढुङ्गा गुडाइसकेको रहेछ। चिहानको सुरक्षा दिनेहरू गइसकेका छन् र चिहान रित्तो छ। मत्ती २७:५७–२८:२; मर्कूस १५:४२–१६:४; लूका २३:५०–२४:३,१०; यूहन्ना १९:१४, यूहन्ना १९:३१–२०:१; यूहन्ना १२:४२; लेवी २३:५-७; व्यवस्था २१:२२,२३; भजन ३४:२०; जकरिया १२:१०.
-
-
येशू जीवित हुनुहुन्छ!सबैभन्दा महान् पुरुष
-
-
अध्याय १२८
येशू जीवित हुनुहुन्छ!
ती आइमाईहरूले येशूको चिहान खाली देखेपछि पत्रुस र यूहन्नालाई खबर दिन मरियम मग्दलिनी दगुर्दै जान्छिन्। तथापि अरू आइमाईहरूचाहिं चिहानमै कुरिरहन्छन् जस्तो छ। त्यत्तिकैमा एक जना स्वर्गदूत देखा पर्छन् र तिनीहरूलाई चिहानभित्र बोलाउँछन्।
त्यहाँ भित्र ती आइमाईहरूले एउटा अर्को स्वर्गदूतलाई देख्छन् र एउटा स्वर्गदूतले तिनीहरूलाई भन्छन्: “तिमीहरू नडराओ, किनकि तिमीहरू खम्बामा टाँगिनुभएका येशूलाई खोज्दैछौ भनी मलाई थाह छ। उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँ आफैले भन्नुभएझैं उहाँ ब्यूँतिसक्नुभयो। आओ, उहाँलाई राखिएको ठाउँमा हेर। अनि तुरुन्तै गएर उहाँका चेलाहरूलाई उहाँ मृत्युबाट ब्यूँतिसक्नुभयो भनेर बताइदेओ।” अतः डराउँदै र असाध्यै खुसी पनि हुँदै ती आइमाईहरू पनि झट्टै चिहानबाट निस्केर जान्छन्।
यस बेलासम्ममा मरियमले पत्रुस र यूहन्नालाई भेट्टाइसकेकी छिन् र तिनीहरूलाई भन्छिन्: “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगेछन्! अनि उहाँलाई कहाँ राखेका छन्, हामीलाई थाह छैन।” तुरुन्तै ती दुई चेलाहरू दौडन थाल्छन्। यूहन्ना जरुर पनि अलिक कम उमेरका भएका हुनाले चाँडो दौडन सक्छन् र चिहानमा उनी पहिले पुग्छन्। यस बेलासम्म आइमाईहरू त्यहाँबाट गइसकेका हुन्छन् र त्यहाँ कोही पनि छैनन्। यूहन्नाले निहुरेर चिहानभित्र हेर्दा त्यहाँ पट्टीहरू देख्छन् तर उनी बाहिरै बस्छन्।
पत्रुस त्यहाँ आइपुग्दा उनी सरासर चिहानभित्र पस्छन्। उनले पट्टीहरू र येशूको शिरमा बाँधिएको कपडा पनि देख्छन्। त्यो कपडाचाहिं अलग्गै एक ठाउँमा बेरेर राखेको हुन्छ। अब भने यूहन्ना पनि चिहानभित्र पस्छन् र मरियमले सुनाएको खबर पत्याउँछन्। येशूले उहाँ पुनर्जीवित हुनुहुनेछ भनी तिनीहरूलाई धेरै पटक भन्नुभए तापनि अहिले पत्रुस र यूहन्ना दुवैले येशू पुनर्जीवित हुनुभएछ भन्ने कुराचाहिं बुझ्दैनन्। हैरान भएर दुवै जना घर फर्कन्छन् तर मरियम जो चिहानमा फर्केर आएकी छिन्, त्यहीं बसिरहन्छिन्।
यसै बीच, स्वर्गदूतले अह्राएबमोजिम येशू पुनर्जीवित हुनुभएको खबर चेलाहरूलाई भन्न ती अरू आइमाईहरू दौडिरहेका छन्। जतिसक्दो चाँडो दौडिरहेको बेलामा येशूले तिनीहरूलाई भेट्नुहुन्छ र भन्नुहुन्छ: “तिमीहरूलाई मेरो अभिवादन छ!” उहाँको पाउ परेर तिनीहरू दण्डवत् गर्छन्। अनि येशूले भन्नुहुन्छ: “नडराओ! जाओ, मेरा भाइहरूलाई खबर गरिदेओ कि तिनीहरू गालील जाऊन् र तिनीहरूले मलाई त्यहीं देख्नेछन्।”
केही समयअघि भैंचालो गएर स्वर्गदूतहरू देखा पर्दा पहरादारहरू डरले कामेर मुर्दासरी भएका थिए। होस आएपछि तिनीहरू तुरुन्तै सहरमा गए र त्यहाँ भएका सबै कुरा मुख्य पुजारीहरूलाई भनिदिए। यहूदीहरूका “धर्म-गुरुहरूसित” सर-सल्लाह गरिसकेपछि सिपाहीहरूलाई घूस दिएर त्यस कुरालाई दबाउने निर्णय भएको थियो। तिनीहरूलाई यसप्रकारको निर्देशन दिइएको थियो: “तिमीहरूले यसो भन्नू: ‘त्यसका चेलाहरू राती हामी निदाइरहेको बेला आएर त्यसको लास चोरेर लगेछन्।’ ”
पहरा बसेको बेलामा रोमी सिपाहीहरू निदाएको खण्डमा मृत्युदण्डको सजायसम्म हुन सक्ने भएकोले पुजारीहरू ती सिपाहीहरूलाई भरोसा दिलाउँदै यसो भन्छन्: “अनि यो [तिमीहरू सुतेको] कुरा राज्यपालको कानमा पुगेछ भने चिन्ता नगर हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइ दिऔंला।” घूसको पैसा थुप्रो भएकोले सिपाहीहरूले तिनीहरूलाई सिकाइएबमोजिम गरे। फलस्वरूप येशूको लास चोरी भएको झूटो खबर यहूदीहरूका माझमा चारैतर्फ फैलिन्छ।
चिहानमै कुरेर बसेकी मरियम मग्दलिनी शोकले व्याकुल छिन्। येशू कहाँ हुनुहोला? चिहानतिर निहुरेर हेर्दा तिनले सेतो लुगा लगाएका दुई जना स्वर्गदूतलाई देख्छिन्! येशूको लास राखिएको ठाउँमा एक जना शिरनेर र अर्को पाउनेर बसिरहेका छन्। तिनीहरू सोध्छन्: “ए नारी, तिमी किन रूँदैछ्यौ?”
मरियम जवाफ दिन्छिन्: “तिनीहरूले मेरा प्रभुलाई लगेछन् अनि तिनीहरूले उहाँलाई कहाँ राखेका छन्, मलाई थाह छैन।” यी कुरा भनेर तिनी पछिल्तिर फर्किन्छिन् र फेरि सोही प्रश्न गर्ने अर्को एक जना देख्छिन्: “ए नारी, तिमी किन रूँदैछ्यौ?” र तिनले यो पनि सोध्छन्: “तिमी कसलाई खोज्दैछ्यौ?”
ती मानिस चिहान भएको ठाउँको बगैंचे होला भन्ठानेर तिनी भन्छिन्: “हजुर, यदि तपाईंले उहाँलाई लैजानुभएको हो भने लगेर कहाँ राख्नुभएको छ मलाई भन्नुहोस् र म उहाँलाई लैजानेछु।”
ती मानिसले “मरियम!” भनेर बोलाउँछन्। उहाँ येशू नै हुनुहुन्छ भनी मरियमले तुरुन्तै चिनिहाल्छिन् किनभने उहाँले मरियमसँग सधैं बोल्ने ढङ्गमा बोल्नुहुन्छ। मरियम भन्छिन्: “रब्बोनी!” (जसको अर्थ हुन्छ, “गुरुज्यू”)। अनि एकदमै आनन्दित हुँदै तिनी उहाँलाई समात्छिन्। तर येशू भन्नुहुन्छ: “मसित टाँसिन छोड, किनकि म बुबाकहाँ गइसकेको छैन। तर तिमी मेरा भाइहरूकहाँ जाऊ र तिनीहरूलाई भनिदेऊ: ‘मेरो बुबा र तिमीहरूको बुबा अनि मेरो परमेश्वर र तिमीहरूको परमेश्वरकहाँ म जाँदैछु।’ ”
प्रेषितहरू र चेलाहरू जम्मा भएको ठाउँमा मरियम दगुर्दै जान्छिन् र पुनर्जीवित हुनुभएका येशूबारे अरू आइमाईहरूले भनेको खबरमा यिनले पनि आफ्नो खबर थप्छिन्। तैपनि पहिले खबर लिएर आउने आइमाईहरूको कुरा नपत्याएझैं यी मानिसहरूले मरियमको कुरा पनि पत्याउँदैनन्। मत्ती २८:३-१५; मर्कूस १६:५-८; लूका २४:४-१२; यूहन्ना २०:२-१८.
▪ चिहान खाली देखेपछि मरियम मग्दलिनी के गर्छिन् र अरू आइमाईहरूले पनि के अनुभव गर्छन्?
▪ चिहान खाली देखेपछि पत्रुस र यूहन्नाको प्रतिक्रिया कस्तो हुन्छ?
▪ येशू पुनर्जीवित भएको बारे चेलाहरूलाई भन्न जाँदा बाटोमा अरू आइमाईहरूले कसलाई भेट्छन्?
▪ पहरा बस्ने सिपाहीहरूलाई के भएको थियो र तिनीहरूको खबर सुनेर पुजारीहरूले कस्तो प्रतिक्रिया व्यक्त गर्छन्?
▪ मरियम मग्दलिनी चिहानमा एक्लै हुँदा के हुन्छ र आइमाईहरूले दिएको खबरप्रति चेलाहरूले कस्तो प्रतिक्रिया देखाउँछन्?
-
-
फेरि-फेरि देखा पर्नुहुन्छसबैभन्दा महान् पुरुष
-
-
चेलाहरू अझै पनि निराश छन्। तिनीहरू न त खाली चिहानको महत्त्व बुझ्छन्, न ती आइमाईहरूले ल्याएका खबरहरू नै पत्याउँछन्। अतः पछि आइतबारका दिन क्लेओपा र अर्को एक जना चेला यरूशलेमबाट ११ किलोमिटर टाढा पर्ने इम्माउस भन्ने ठाउँतिर लाग्छन्।
बाटोमा तिनीहरू दिनभरिका घटनाहरूबारे छलफल गर्दै गइरहेको बेला एक जना अपरिचित मानिस पनि तिनीहरूसँगै हिंड्न थाल्छन्। उनी सोध्छन्: “तिमीहरू बाटोमा हिंड्दै आपसमा के बहस गर्दैछौ?”
चेलाहरू त्यहीं रोकिन्छन्, तिनीहरूको चेहरा अँध्यारो छ र क्लेओपाले जवाफ दिन्छन्: “के तपाईं अचेल यरूशलेममा के भइरहेको छ, त्यसबारे बेखबर परदेशी हुनुहुन्छ?” ती अपरिचित मानिसले सोध्छन्: “के कुरा?”
तिनीहरूले जवाफ दिन्छन्: “नासरी येशूलाई जे-जे भयो, त्यही कुरा। . . . हाम्रा मुख्य पुजारीहरू र यहूदी न्यायपरिषद्का सदस्यहरूले उहाँलाई मृत्युदण्ड दिनको लागि सुम्पे र खम्बामा टाँगे। इस्राएललाई छुटकारा दिने मानिस यही हुनुपर्छ भनेर हामीले आशा गरिरहेका थियौं।”
यसपछि क्लेओपा र तिनका साथीले त्यस दिनका आश्चर्यजनक घटनाहरूको सारा वृत्तान्त अर्थात् स्वर्गदूतहरूको अलौकिक दृश्य र खाली चिहानको खबर बताउँछन् तर यी कुराहरूको अर्थ लाउन नसकेकोमा आफ्नो हैरानी पनि व्यक्त गर्छन्। ती अपरिचित व्यक्तिले तिनीहरूलाई हप्काउँदै भन्छन्: “ए अबुझ अनि भविष्यवक्ताहरूले बताएका सबै कुरा नपत्याउने मानिसहरू हो! आफूले पाउनुपर्ने गौरव हासिल गर्न के ख्रीष्टले यी सब कष्ट भोग्नु आवश्यक थिएन र?” त्यसपछि धर्मशास्त्रमा ख्रीष्टबारे लेखिएका कुराहरूको अर्थ उनले तिनीहरूलाई बुझाइदिन्छन्।
अन्तमा तिनीहरू इम्माउस आइपुग्छन् र ती अपरिचित व्यक्तिचाहिं अझ अगाडि जान लागेझैं गर्छन्। उनीबाट अझ बढी कुराहरू सुन्न चाहेका हुनाले चेलाहरूले उनलाई आग्रह गर्छन्: “हामीसँगै बस्नुहोस् न, किनकि दिन ढलेर साँझ पर्न लागिसक्यो।” अतः खानका निम्ति उनी बस्छन्। उनले प्रार्थना गरेपछि रोटी भाँचेर जसै तिनीहरूलाई दिन्छन्, उनी त मानव शरीर धारण गर्नुभएको येशू हुनुहुँदोरहेछ भनी तिनीहरूले चिन्छन्। तर उहाँ त्यत्तिकैमा त्यहाँबाट अलप हुनुहुन्छ।
ती अपरिचित व्यक्तिलाई त्यत्तिका कुरा कसरी थाह रहेछ भनी अब पो तिनीहरूले बुझ्छन्! तिनीहरू आपसमा भन्छन्: “उहाँले बाटोमा हामीसित कुरा गर्दै धर्मशास्त्रको पूरै अर्थ खोलिदिनुहुँदा के हाम्रो मनमा छटपटी भइरहेको थिएन र?” ढिलो नगरिकनै तिनीहरू उठेर यरूशलेम फर्किन्छन् जहाँ तिनीहरूले प्रेषितहरू र तिनीहरूसित भेला भइरहेका अरूहरूलाई फेला पार्छन्। क्लेओपा र तिनका साथीले केही भन्नुअघि नै अरूहरूले उत्तेजित भएर यो खबर दिन्छन्: “यो साँचो हो, प्रभु ब्यूँताइनुभयो र सिमोनकहाँ देखा पर्नुभयो!” अनि ती दुई जनाले पनि येशू कसरी तिनीहरूकहाँ देखा पर्नुभयो भनी सुनाउँछन्। एकै दिनभित्र आफ्ना विभिन्न चेलाहरूकहाँ उहाँ जम्माजम्मी चार पटक देखा परिसक्नुभएको छ।
येशू अचानक अब पाँचौं पटक देखा पर्नुहुन्छ। यहूदीहरूको डरले चेलाहरू ढोका थुनेर भित्र बसेको भए तापनि उहाँ कोठामा प्रवेश गर्नुहुन्छ र तिनीहरूकै माझमा उभिएर भन्नुहुन्छ: “तिमीहरूलाई शान्ति होस।” तर तिनीहरू तर्सिन्छन् र आफूहरूले स्वर्गदूत देखिरहेका छौं भन्ठान्छन्। त्यसकारण आफू स्वर्गदूत वा छाया होइन भनी तिनीहरूलाई व्याख्या गर्दै येशू भन्नुहुन्छ: “तिमीहरू किन विचलित हुन्छौ अनि तिमीहरू किन मनमा शङ्का गर्छौ? मेरा हातखुट्टा हेर त, म नै हुँ। मलाई छामेर हेर, किनकि मेरो हाड र मासु छ तर स्वर्गदूतको त हुँदैन।” तर तिनीहरू अझ पनि पत्यार गर्दैनन्।
आफू वास्तवमा येशू नै हो भनी तिनीहरूलाई बुझ्ने मदत दिनका लागि येशू भन्नुहुन्छ: “के तिमीहरूसित केही खानेकुरा छ?” एक टुक्रा पोलेको माछा तिनीहरूबाट थापेर त्यसलाई खाएपछि उहाँ भन्नुहुन्छ: “मोशाको व्यवस्था, भविष्यवक्ताहरूको लेखोट र भजनहरूमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनै पर्छ भनेर म तिमीहरूसित हुँदा मैले तिमीहरूलाई बताएको थिएँ।”
तिनीहरूसित बाइबल अध्ययन गरेझैं उहाँ अगाडि सिकाउनुहुन्छ: “यस्तो लेखिएको छ कि ख्रीष्टले दुःख भोग्नेछ र मृत्युबाट तेस्रो दिनमा ब्यूँतनेछ। अनि उहाँको नाममा पापको क्षमा पाउन पश्चात्ताप गर्नुपर्ने सन्देश यरूशलेमबाट सुरु गरेर सबै जातिमा प्रचार गरिनेछ। अनि तिमीहरू यी कुराहरूको साक्षी हुनेछौ।”
-