-
आफ्नो परिवारमा शान्ति कायम राख्नुहोस्पारिवारिक आनन्दको रहस्य
-
-
अध्याय एघार
आफ्नो परिवारमा शान्ति कायम राख्नुहोस्
१. के कस्ता कारणहरूले गर्दा परिवारहरू विभाजित हुनसक्छन्?
धन्य हुन् ती सबै जसको परिवारमा प्रेम, समझदारी तथा शान्ति हुन्छ। तपाईंको परिवारमा पनि अवश्य यस्तै होला। तर दुःखको कुरा, आज धेरैको परिवार यस्तो छैन। एउटा न एउटा कारणले गर्दा तिनीहरू विभाजित छन्। तर परिवारहरू किन विभाजित हुन्छन्? यसका तीन कारण हामी यहाँ छलफल गर्नेछौं। कुनै कुनै परिवारमा सबैको एउटै धर्म हुँदैन। केही परिवारमा भने सबै छोराछोरी एकै आमाबाबुका हुँदैनन्। यसबाहेक, जीवन यापन गर्नका लागि संघर्ष गर्नु अथवा भौतिक चीजहरूको लोभ पनि केही परिवारहरूमा फूटको कारण बनेको छ। तर जुन परिस्थितिले गर्दा एउटा परिवार विभाजित हुन्छ त्यही परिस्थितिवश अर्को परिवार विभाजित नहुनसक्छ। यस्तो फरक किन?
२. केही मानिसहरूले पारिवारिक जीवनका लागि कहाँबाट निर्देशन लिने कोसिस गर्छन् तर सबैभन्दा राम्रो निर्देशन कहाँ पाइन्छ?
२ एउटा कारण दृष्टिकोण हो। अर्को व्यक्तिको दृष्टिकोण राम्ररी बुझ्ने कोसिस गर्नुभयो भने सम्भवतः परिवारमा एकता कायम राख्न पनि सिक्नुहुन्छ। दोस्रो कारण हो, तपाईंलाई सल्लाह दिने व्यक्ति। धेरैले सहकर्मीहरू, छिमेकीहरू र स्तम्भकारहरूले दिने अथवा अन्य मानव पुस्तकहरूमा पाइने सल्लाह मान्ने गर्छन्। तथापि, केहीले चाहिं परमेश्वरको वचनमा तिनीहरूको स्थितिबारे के भनिएको छ, त्यो सिकेर प्रयोगमा ल्याएका छन्। तर यसबाट परिवारमा शान्ति कायम राख्न कसरी मदत पाउन सकिन्छ?—२ तिमोथी ३:१६, १७.
तपाईंको पतिको बेग्लै धार्मिक विश्वास छ भने
अर्को व्यक्तिको दृष्टिकोण बुझ्ने कोसिस गर्नुहोस्
३. (क) बेग्लै धार्मिक विश्वास हुने व्यक्तिसित विवाह गर्ने सम्बन्धमा बाइबलको सल्लाह के छ? (ख) पतिपत्नीबीच एक जना विश्वासमा हुँदा र अर्को नहुँदा लागू हुने केही आधारभूत सिद्धान्तहरू के हुन्?
३ बेग्लै धर्म मान्ने व्यक्तिसित विवाह नगर्नू भनी बाइबलमा कडा सल्लाह दिइएको छ। (व्यवस्था ७:३, ४; १ कोरिन्थी ७:३९) तथापि, तपाईंले आफ्नो विवाहपश्चात् मात्र सत्य सिक्नुभएको होला र तपाईंको पतिले चाहिं सिकेका छैनन् होला। तब के गर्ने? निस्सन्देह, त्यसो हुँदैमा विवाहको वाचा रद्द हुँदैन। (१ कोरिन्थी ७:१०) बाइबलमा वैवाहिक सम्बन्धको स्थायित्वमाथि जोड दिएको छ। विवाहित मानिसहरू आफ्ना भिन्नताहरूको कारण अलग्गिनुभन्दा भिन्नताहरू मेटाउने उपदेश बाइबलले दिन्छ। (एफिसी ५:२८-३१; तितस २:४, ५) तर तपाईंले बाइबलको धर्म मान्दा तपाईंको पतिले घोर विरोध गर्छन् भने नि? तपाईं मण्डलीका सभाहरूमा जानु हुँदा उनले तपाईंलाई रोक्न खोज्लान्। अथवा आफ्नी पत्नी अरूको घर-घर जाँदै धर्मबारे कुरा गरेको उनलाई मन पर्दैन होला। तपाईं के गर्नुहुन्छ?
४. पतिको बेग्लै धार्मिक विश्वास छ भने पत्नीले कसरी समानुभूति दर्साउनसक्छिन्?
४ आफैलाई सोध्नुहोस्, ‘मेरो पतिलाई यस्तो किन लाग्छ?’ (हितोपदेश १६:२०, २३) तपाईं के गर्नु हुँदैछ, उनले राम्ररी नबुझेका हुनसक्छन्। शायद यसैकारण उनी तपाईंबारे चिन्तित छन्। अथवा तिनीहरूका लागि महत्त्व राख्ने केही प्रथाहरूमा तपाईंले उप्रान्त भाग नलिनुभएकोले उनलाई नातेदारहरूले दबाब दिएका हुनसक्छन्। “घरमा एक्लै बस्नुपर्दा म आफूलाई त्यजित महसुस गर्थें” भनी एक जना पतिले भने। धर्मले गर्दा आफ्नी पत्नी छिनिएको जस्तो उनलाई लाग्थ्यो। तर घमण्डको कारण उनले आफ्नो एकाकीपन व्यक्त गरेनन्। अतः तपाईंले अब यहोवालाई प्रेम गर्नु भए तापनि पतिप्रति आफ्नो प्रेम घटेको छैन भनी उनलाई निश्चिन्त पार्नुपर्छ। उनीसित समय बिताउनुपर्छ।
५. पतिको बेग्लै धार्मिक विश्वास छ भने पत्नीले कुन कुन कुरामा सन्तुलन कायम राख्नुपर्छ?
५ तथापि, परिस्थितिसित निपुणतासाथ सामना गर्ने हो भने अझ एउटा कुरालाई ध्यान दिनु जरुरी छ। परमेश्वरको वचनले पत्नीहरूलाई यो आग्रह गर्छ: “ए पत्नी हो, प्रभुमा खुल्ने जस्तैगरी पतिका अधीनमा बस।” (कलस्सी ३:१८) अर्थात् स्वाधीनताको भावदेखि होशियार रहनुपर्छ। साथै, “प्रभुमा खुल्ने जस्तैगरी” भन्नाले पतिको अधीनमा बस्दा प्रभुको पनि अधीनमा बस्न बिर्सनु भएन। सन्तुलन कायम राख्नुपर्छ।
६. मसीही पत्नीले कुन कुन सिद्धान्तलाई ध्यानमा राख्नुपर्छ?
६ एक जना मसीहीका लागि मण्डलीका सभाहरू धाउनु र बाइबलमा आधारित आफ्नो विश्वासबारे अरूलाई साक्षी दिनु साँचो उपासनाका अभिन्न भागहरू हुन्। यी कुराहरूको उपेक्षा गर्नु मिल्दैन। (रोमी १०:९, १०, १४; हिब्रू १०:२४, २५) अतः कुनै मानवले तपाईंलाई परमेश्वरको निर्दिष्ट आवश्यकताअनुरूप नचल्ने आज्ञा दिएमा तपाईं के गर्नुहुन्छ? येशू ख्रीष्टका प्रेरितहरूले यसो भने: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ।” (प्रेरित ५:२९) तिनीहरूको यो उदाहरण जीवनका सबै परिस्थितिहरूमा लागू हुन्छ। यहोवालाई प्रेम गर्नुहुन्छ भने के तपाईं उहाँको हक लाग्ने भक्ति उहाँलाई चढाउनुहुन्छ? साथै, पतिसित पनि प्रेम गर्नुहुन्छ, उनलाई आदर गर्नुहुन्छ भने के तपाईं सकेसम्म उनलाई रीस नउठ्ने गरी यहोवालाई ऐकान्तिक भक्ति चढाउने कोसिस गर्नुहुन्छ?—मत्ती ४:१०; १ यूहन्ना ५:३.
७. मसीही पत्नीले के अठोट गरेकी हुनुपर्छ?
७ तर यसो गर्नु सधैं सम्भव हुँदैन भनी येशूले स्वीकार्नुभयो। साँचो उपासनाको विरोध गरिनेछ तथा विश्वासमा भएका सदस्यहरू र परिवारका बाँकी सदस्यहरूबीच फाटो आउनेछ भनी येशूले चेताउनी दिनुभयो। (मत्ती १०:३४-३६) जापानमा बस्ने एउटी स्त्रीले यस्तै अनुभव गरिन्। पतिले ११ वर्षसम्म विरोध गऱ्यो। तिनले पत्नीसित कठोरतासाथ दुर्व्यवहार गरे र कैयौं पटक तिनलाई घरभित्र आउन दिएनन्। तर पत्नीले धैर्य धारण गरिन्। मसीही मण्डलीका साथीहरूले तिनलाई सहायता गरे। तिनी प्रार्थनामा लागिरहिन् र १ पत्रुस २:२० बाट ठूलो प्रोत्साहन पाउन सकिन्। यस मसीही स्त्री कतिसम्म विश्वस्त थिइन् भने आफू दृढ भएमा एक दिन पतिले पनि निश्चय यहोवाको सेवा गर्नेछन् भन्ने तिनको विश्वास थियो। र पतिले अन्ततः त्यस्तै गरे।
८, ९. पत्नीले पतिलाई अनावश्यक निहुँ खोज्ने मौका कसरी दिनु हुँदैन?
८ आफ्नो पति वा पत्नीको मनोवृत्तिलाई प्रभावित पार्न अनेक कुरा गर्न सकिन्छ। उदाहरणका लागि, पतिलाई तपाईंको धर्म मन परेको छैन भने उनलाई अरू क्षेत्रहरूमा दोष भेट्टाउने मौका नदिनुहोस्। घरलाई सफासुग्घर राख्नुहोस्। आफ्नो कोरीबाटी, पहिरन, श्रृंगार इत्यादिलाई ध्यान दिनुहोस्। प्रशस्त मात्रामा माया र मूल्यांकन व्यक्त गर्नुहोस्। आलोचना गर्नुको साटो समर्थन जनाउनुहोस्। तपाईं उनको अगुवाइ चाहनुहुन्छ भनी प्रदर्शित गर्नुहोस्। तपाईंमाथि अन्याय भएको जस्तो लागे तापनि बदला लिन नखोज्नुहोस्। (१ पत्रुस २:२१, २३) मानव असिद्धताका कारण हुने गल्तीहरू वास्ता नगर्नुहोस्। आपसमा कुनै विवाद हुँदा प्रथमतः तपाईं नै माफी माग्नुहोस्।—एफिसी ४:२६.
९ तपाईं सभा धाउनुभएको कारण उनलाई खाना दिन अबेर नहोस्। मसीही सेवकाईमा पनि शायद उनी घर नभएको बेलामा जाने प्रबन्ध मिलाउन सक्नुहुन्छ। पतिलाई मन नपरेको खण्डमा मसीही पत्नीले पतिलाई प्रचार गर्नु बुद्धिमानी कुरा होइन। बरु तिनले प्रेरित पत्रुसको यो सल्लाह मान्न सक्छिन्: “हे पत्नी हो, त्यही किसिमले तिमीहरू पनि आफ्ना आफ्ना पतिका अधीनमा रहो, र कसैले वचन नमाने तापनि तिनका पत्नीहरूका चाल-चलनले गर्दा, विना वचनले भए पनि, तिमीहरूका डरसहितको पवित्र चाल-चलन देखेर तिनीहरू विश्वास गर्ने होऊन्।” (१ पत्रुस ३:१, २) मसीही पत्नीहरू परमेश्वरको आत्माको फल पूर्णतः प्रदर्शित गर्ने कोसिस गर्छन्।—गलाती ५:२२, २३.
पत्नीको धार्मिक विश्वास बेग्लै हुँदा
१०. विश्वासमा भएको पतिले बेग्लै धार्मिक विश्वास हुने पत्नीसित कस्तो व्यवहार गर्नुपर्छ?
१० तर पति मसीही हो र पत्नी होइन भने नि? यस्तो बेलाका लागि पनि बाइबलमा निर्देशन दिएको छ। बाइबल भन्छ: “कुनै ख्रीष्टियानको [भाइको, NW] विश्वास नगर्ने पत्नी छ, र त्यो उसित बस्न चाहन्छे भने उसले त्यसलाई नछोडोस्।” (१ कोरिन्थी ७:१२) त्यहाँ बाइबलले पतिहरूलाई यो पनि आग्रह गर्छ: “ए पति हो, पत्नीलाई प्रेम गर।”—कलस्सी ३:१९.
११. पत्नीको धार्मिक विश्वास बेग्लै छ भने पतिले कसरी समझदारी तथा चतुऱ्याइँपूर्वक अगुवाइ गर्नसक्छन्?
११ आफ्नी पत्नीको बेग्लै धार्मिक विश्वास छ भने पत्नीलाई आदर देखाउन र तिनका भावनाहरूको कदर गर्न तपाईंले विशेष ध्यान दिनुपर्छ। तिनी वयस्क हुन्। तपाईं सहमत हुनुहोस् या नहुनुहोस्, तिनले आफ्नो रुचिको धर्म मान्न पाउनुपर्छ। तपाईंले प्रथम पटक आफ्नो विश्वास प्रकट गर्नु हुँदैमा तिनले धेरै समयदेखि मान्दै आएको धर्म त्यागेर तपाईंको नयाँ विचार स्वीकारी हाल्छिन् भनी नठान्नुहोस्। तिनी र तिनको परिवारले धेरै समयदेखि मान्दै आएका धार्मिक प्रथाहरू सबै झूटा हुन् भनी च्वाट्टै भन्नुको साटो तिनीसित धर्मशास्त्रको आधारमा धैर्यपूर्वक छलफल गर्ने कोसिस गर्नुहोस्। तपाईं मण्डलीका गतिविधिहरूमा व्यस्त हुनुहुँदा सम्भवतः आफ्नो हेलचक्य्राइँ भएको जस्तो तिनलाई लाग्ला। बाहिरबाट हेर्दा त यहोवाको सेवा गर्ने तपाईंका प्रयासहरूको तिनले विरोध गरेको जस्तो देखिएला। तर वास्तवमा भने तिनले तपाईंलाई “मसित अझ समय बिताउने गर्नुहोस्!” मात्र भन्न खोजेकी हुनसक्छिन्। अतः धैर्य गर्नुहोस्। तपाईंको प्रेमपूर्ण विवेकद्वारा तिनले अन्ततः साँचो उपासना अपनाउने मदत पाउनसक्छिन्।—कलस्सी ३:१२-१४; १ पत्रुस ३:८, ९.
छोराछोरीको प्रशिक्षण
१२. पतिपत्नीको धार्मिक विश्वास बेग्लाबेग्लै भए तापनि छोराछोरीलाई मिलेर प्रशिक्षण दिंदा कसरी धर्मशास्त्रीय सिद्धान्तहरू लागू गर्न सकिन्छ?
१२ जुन परिवार एउटै उपासनामा एकताबद्ध हुँदैन, त्यहाँ छोराछोरीको धार्मिक प्रशिक्षणबारे कहिलेकाहीं विवाद उठ्नसक्छ। यस्तो हुँदा धर्मशास्त्रीय सिद्धान्तहरू कसरी प्रयोगमा ल्याउन सकिन्छ? छोराछोरीलाई प्रशिक्षण दिने जिम्मेवारी धर्मशास्त्रअनुसार मुख्यतः बुबाको हो। तर यसमा आमाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। (हितोपदेश १:८; तुलना गर्नुहोस् उत्पत्ति १८:१९; व्यवस्था ११:१८, १९) ख्रीष्टको अगुवाइ नस्वीकारे तापनि बुबा परिवारको शिर नै हुन्छन्।
१३, १४. छोराछोरी लिएर मसीही सभा धाउन वा तिनीहरूसित अध्ययन गर्न पतिले नदिएमा पत्नीले के गर्नसक्छिन्?
१३ केही गैरविश्वासी बुबाहरूले छोरीछोरीलाई आमाबाट धार्मिक प्रशिक्षण लिन दिन्छन्। तर केहीले आपत्ति जनाउँछन्। तपाईंको पतिले तपाईंलाई छोराछोरी लिएर मण्डलीका सभाहरूमा जान अथवा तिनीहरूसित बाइबल अध्ययन गर्न मनाही गरेमा तपाईं के गर्नुहुन्छ? यहाँ तपाईंले यहोवा परमेश्वरप्रति, पतिप्रति र प्रिय छोराछोरीप्रति निर्वाह गर्नुपर्ने सबै जिम्मेवारीमध्ये कुनैलाई हेलचक्य्राइँ नगरिकन निर्वाह गर्नुपर्छ। तर यो तपाईं कसरी गर्न सक्नुहुन्छ?
१४ तपाईंले निश्चय यसबारे प्रार्थना गर्नुहुनेछ। (फिलिप्पी ४:६, ७; १ यूहन्ना ५:१४) तर अन्ततः कुन कदम चाल्ने हो, यसको फैसला स्वयं तपाईंले गर्नुपर्छ। तपाईंले पतिको अगुवाइलाई चुनौती दिनुभएको होइन भनी सुरुमै चतुऱ्याइँपूर्वक बताउनुभयो भने उनको विरोध कम हुनसक्छ। छोराछोरीलाई सभाहरूमा लैजान अथवा तिनीहरूसित औपचारिक बाइबल अध्ययन गर्न पाउनुभएन भने पनि तिनीहरूलाई सिकाउन सक्नुहुन्छ। तिनीहरूसित गरिने दैनिक कुराकानी र आफ्नो राम्रो उदाहरणद्वारा तपाईंले तिनीहरूलाई यहोवालाई प्रेम, उहाँको वचनमाथि विश्वास, आफ्नो आमा तथा बुबासमेतको आदर, अरूहरूको माया र परिश्रमको कदर गर्न सिकाउन सक्नुहुन्छ। अन्ततः बुबाले यसको राम्रो परिणाम देखेर तपाईंको प्रयासको प्रशंसा गर्नसक्छन्।—हितोपदेश २३:२४.
१५. छोराछोरीलाई शिक्षा दिने सम्बन्धमा मसीही बुबाको जिम्मेवारी के हो?
१५ तर तपाईं विश्वासमा हुनुहुने पति हुनुहुन्छ र तपाईंकी पत्नी चाहिं विश्वास गर्दिनन् भने, छोराछोरीलाई “प्रभुको शिक्षा र चे[ता]उनीमा पालनपोषण” गर्ने जिम्मेवारी तपाईंले पूरा गर्नुपर्छ। (एफिसी ६:४) तर यसो गर्दा तपाईंले पत्नीसित दया, प्रेम तथा विवेकसाथ व्यवहार गर्न बिर्सनु हुँदैन।
तपाईंको आमाबाबुको धर्म बेग्लै छ भने
१६, १७. आफ्नो आमाबाबुको भन्दा बेग्लै धर्म अपनाउने छोराछोरीले बाइबलको कुन सिद्धान्त बिर्सनु हुँदैन?
१६ आजभोलि थुप्रै नाबालिगहरूले समेत आमाबाबुको भन्दा बेग्लै धर्म अपनाउन थालेका छन्। के तपाईंले पनि यसो गर्नुभएको छ? गर्नुभएको छ भने, बाइबलमा तपाईंका लागि सल्लाह छ।
१७ परमेश्वरको वचन भन्छ: “प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर, किनभने यो उचित हो। आफ्ना बाबु र आमाको मान गर।” (एफिसी ६:१, २) यसको अर्थ आमाबाबुको उचित आदर गर्नु हो। तथापि, आमाबाबुको आज्ञा पालन गर्नु महत्त्वपूर्ण भए तापनि त्यसले गर्दा साँचो परमेश्वरको अवहेलना चाहिं पटक्कै हुनु हुँदैन। बच्चा निर्णय लिनसक्ने उमेरको भएपछि आफूले गरेका कामहरूका लागि ऊ जिम्मेवार हुन थाल्छ। यस कुरालाई सांसारिक कानुनमा मात्र होइन, ईश्वरीय नियममा पनि खास मान्यता दिएको छ। बाइबल भन्छ: “यसैले हामी हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ।”—रोमी १४:१२.
१८, १९. आमाबाबुको भन्दा बेग्लै धर्म हुने छोराछोरीले आमाबाबुलाई आफ्नो नयाँ धर्म राम्ररी बुझ्ने मदत कसरी दिनसक्छन्?
१८ आफूले विश्वास गर्ने कुराहरूको कारण जीवनमा परिवर्तन ल्याउनु पऱ्यो भने, आफ्नो आमाबाबुको पनि दृष्टिकोण बुझ्ने कोसिस गर्नुहोस्। बाइबल सिद्धान्तहरू सिकेर तथा तिनलाई प्रयोगमा ल्याएर तपाईं अझ आदरपूर्ण, आज्ञाकारी र उहाँहरूले अह्राएको काममा मेहनती हुनुभयो भने उहाँहरू निश्चय प्रसन्न हुनेछन्। तथापि, बाबुबाजेदेखि चलिआएको परम्परालाई पनि तपाईंले कायम राखेको देख्न उहाँहरू इच्छुक हुन्छन्। तसर्थ नयाँ धर्म अपनाएर उहाँहरूले मान्दै आउनुभएका धार्मिक प्रथाहरू तिरस्कार गर्दा उहाँहरूको परम्परालाई होच्याए सरह लाग्नसक्छ। साथै, तपाईंले अपनाउनुभएको मार्ग समाजमा लोकप्रिय छैन अथवा भौतिक लाभ गराउने गतिविधिबाट तपाईंको ध्यान विकर्षण गर्छ भने पनि उहाँहरू विचलित हुन सक्नुहुन्छ। घमण्ड अर्को बाधा हुनसक्छ। उहाँहरूको विचारमा शायद तपाईंले आफूलाई ठीक र उहाँहरूलाई गलत साबित गर्न खोजेको जस्तो लाग्ला।
१९ यसकारण सकेसम्म चाँडो आफ्नो आमाबाबुसित स्थानीय मण्डलीका प्राचीनहरू तथा अन्य परिपक्व साक्षीहरूको भेट गराइ दिने प्रबन्ध मिलाइ हाल्नुहोस्। आमाबाबुलाई राज्य भवनमा आउन प्रोत्साहित गर्नुहोस्। त्यहाँ के के छलफल हुन्छ र यहोवाका साक्षीहरू कस्ता मानिसहरू हुन्, उहाँहरूले स्वयं सुन्न तथा देख्न सकून्। समयमा तपाईंको आमाबाबुको मन पग्लिनसक्छ। तर केही आमाबाबु कट्टर हुन्छन्। बाइबल साहित्य नष्ट गरिदिन्छन् र छोराछोरीलाई मसीही सभाहरू धाउन निषेध गर्छन्। तर यस्तो हुँदा पनि अन्य ठाउँ गएर पढ्न, सँगी मसीहीहरूसित कुरा गर्न र अरूलाई अनौपचारिक रीतिले मदत दिन सकिन्छ। तपाईंले यहोवालाई प्रार्थना पनि गर्न सक्नुहुन्छ। केही जवान मानिसहरू बालिग भएपछि मात्र घर छाड्न तथा कुनै ठोस कदम चाल्नसक्छन्। अतः तिनीहरूले पर्खनुपर्ने हुन्छ। तर घरमा स्थिति जस्तोसुकै होस्, “बाबु र आमाको मान” गर्न नबिर्सनुहोस्। यथासम्भव घरमा शान्ति कायम गर्ने कोसिस गर्नुहोस्। (रोमी १२:१७, १८) तर प्रथमतः परमेश्वरसित शान्ति कायम राख्नुहोस्।
सौतिनी आमाबाबु हुने चुनौती
२०. आफ्नो सौतिनी आमा वा बुबाप्रति छोराछोरीको कस्तो विचार हुनसक्छ?
२० थुप्रै परिवारहरूमा सबैभन्दा ठूलो चुनौती धार्मिक भिन्नता होइन। सौतिनी नाता हो। आज थुप्रै परिवारहरूमा आमा वा बुबा वा दुवैको झट्केली छोराछोरी हुन्छन्। यस्तो परिवारमा छोराछोरीले डाह, क्रोध अथवा वफादारीसम्बन्धी द्वन्द अनुभव गर्नसक्छन्। फलतः सौतिनी आमा वा बुबाका निष्कपट प्रयासहरूलाई केटाकेटीले तिरस्कार गर्नसक्छन्। त्यसो भए सौतिनी परिवार कसरी सुखी हुनसक्छन्?
तपाईं जन्म दिने आमाबुबा वा सौतिनी आमाबुबा जे नै भए तापनि बाइबलको निर्देशनमा भर गर्नुहोस्
२१. आफ्नो परिवारको अति नै बेग्लै परिस्थितिको बावजूद सौतिनी आमाबाबुले बाइबलकै सिद्धान्तहरूबाट मदत लिनु किन उचित हो?
२१ हो, आमपरिवारहरूभन्दा सौतिनी परिवार बेग्लै हुन्छ। तर अरू परिवारहरूमा लागू हुने बाइबल-सिद्धान्तहरू सौतिनी परिवारमा पनि लागू हुन्छ भनेर मानि लिनुहोस्। ती सिद्धान्तहरूको उपेक्षा गर्दा समस्या समाधान भएको जस्तो लागे तापनि नतिजा दुःखदायी हुनसक्छ। (भजन १२७:१; हितोपदेश २९:१५) बरु बुद्धि र समझशक्ति अर्थात् दीर्घकालीन लाभलाई ध्यानमा राखेर ईश्वरीय सिद्धान्त प्रयोग गर्ने बुद्धि र परिवारका सदस्यहरूले भन्ने तथा गर्ने कुरा पछाडि लुकेको कारण बुझ्ने समझशक्ति बढाउने प्रयास गर्नुहोस्। साथै, समानुभूति पनि आवश्यक हुन्छ।—हितोपदेश १६:२१; २४:३; १ पत्रुस ३:८.
२२. छोराछोरीलाई सौतिनी आमा वा बुबा स्वीकार्न किन गाह्रो हुनसक्छ?
२२ तपाईं सौतिनी आमा वा बुबा हुनुहुन्छ भने शायद केही समयअघि यस परिवारको मित्र मात्र हुनुहुँदा छोराछोरीले मित्रैलो व्यवहार गरेका हुनसक्छन्। तर तिनीहरूको सौतिनी आमा वा बुबा हुने बित्तिकै तिनीहरूको मनोवृत्ति बदलिएको हुनसक्छ। तिनीहरू आफ्नो जन्मदाताको सम्झनाले पीडित होलान्। तिनीहरू भावनात्मक दोधारमा अल्झेका हुनसक्छन्। आफ्नो जन्मदातालाई दिने माया तपाईंले खोस्नुहुँदैछ भनी तिनीहरू ठान्नसक्छन्। कुनै बेला त तिनीहरूले सोझै तपाईं तिनीहरूको आमा वा बुबा होइन पनि भन्नसक्छन्। यस्तो कुराले चित्त दुखाउँछ। तापनि “रीस देखाउन छिटो” नगर्नुहोस्। (उपदेशक ७:९) केटाकेटीका भावनाहरूसित सामना गर्नुपर्दा समझ तथा समानुभूति चाहिन्छ।
२३. सौतिनी छोराछोरी भएको परिवारमा अनुशासन कसरी दिन सकिन्छ?
२३ यी गुनहरू तिनीहरूको सुधार गर्दा अत्यावश्यक हुन्छ। तर सुधार नियमित रीतिले गर्नुपर्छ। (हितोपदेश ६:२०; १३:१) सबै छोराछोरी एकनास हुँदैनन्। अतः सबैलाई एकै प्रकारको सुधार वा अनुशासन दिनु मिल्दैन। केही सौतिनी आमाबाबुको अनुभवअनुसार सुरुसुरुमा यस्तो सुधार वा अनुशासन दिने काम जन्मदाताले गर्नु बेस हुन्छ। तथापि, त्यो अनुशासन दुवै आमाबाबुद्वारा स्वीकृत हुनुपर्छ र दुवैले त्यसको सराहना गर्नुपर्छ। साथै सौतिनी छोराछोरीलाई भन्दा आफूले जन्माएको छोराछोरीलाई काखी च्याप्नु हुँदैन। (हितोपदेश २४:२३) आज्ञाकारिता महत्त्वपूर्ण हो। तर असिद्धतालाई पनि ठाउँ दिनुपर्छ। आवश्यकताभन्दा बढी नजंगिनुहोस्। प्रेमसाथ सुधार्नुहोस्।—कलस्सी ३:२१.
२४. सौतिनी परिवारमा नैतिक समस्याको रोकथाम कसरी गर्न सकिन्छ?
२४ सपरिवार बसेर छलफल गर्दा धेरै समस्याहरूलाई रोक्न सकिन्छ। यस्तो छलफलले परिवारलाई जीवनका महत्त्वपूर्ण कुराहरूमा ध्यान केन्द्रित गर्न मदत पुऱ्याउनसक्छ। (तुलना गर्नुहोस् फिलिप्पी १:९-११) पारिवारिक लक्ष्य पूर्तिका लागि हरेक सदस्यले खास योगदान दिने विचार गर्नसक्छ। साथै सबै जना बसेर खुला मनसाथ छलफल गर्दा सम्भाव्य नैतिक समस्याहरूलाई पनि रोक्न सकिन्छ। छोरीहरूले सौतिनी बुबा वा सौतिनी दाजुभाइसित हुँदा आफ्नो पहिरन र आचरणलाई ध्यान दिन सिक्नसक्छन्। साथै, छोराहरूलाई पनि सौतिनी आमा तथा सौतिनी दिदीबहिनीसित गर्ने उचित व्यवहारबारे सल्लाह चाहिन्छ।—१ थिस्सलोनिकी ४:३-८.
२५. सौतिनी परिवारमा के कस्ता गुनहरूले शान्ति कायम राख्ने मदत दिन्छ?
२५ सौतिनी आमाबाबु हुने विशेष चुनौती हल गर्न धैर्य धारण गर्नुहोस्। नयाँ साइनो जोड्न समय लाग्छ। आफूले नजन्माएका छोराछोरीको प्रेम तथा आदर जित्न गाह्रो हुनसक्छ। तर त्यो सम्भव छ। बुद्धि र समझशक्ति भएको हृदय तथा यहोवालाई प्रसन्न तुल्याउने जोडदार इच्छा नै सौतिनी परिवारमा शान्तिको कुञ्जी हो। (हितोपदेश १६:२०) यी गुनहरूले तपाईंलाई अन्य समस्याहरूको पनि सामना गर्ने मदत दिनसक्छ।
के तपाईंको परिवार भौतिकवादको कारण विभाजित छ?
२६. भौतिक चीजसम्बन्धी समस्या तथा प्रवृत्तिले गर्दा परिवार कसरी विभाजित हुनसक्छ?
२६ भौतिक मालमत्तासम्बन्धी समस्या तथा मनोवृत्तिले गर्दा परिवारहरू विभिन्न ढंगमा विभाजित हुनसक्छन्। दुःखको कुरा के हो भने, पैसा तथा धनी हुने वा अझ धन कमाउने इच्छाले गर्दा धेरै परिवारहरूमा बहस चर्किन्छ, फूट उत्पन्न हुन्छ। पतिपत्नी दुवै बाहिर काम गर्छन् भने “तेरो पैसा, मेरो पैसा” भन्ने विचार सुरु हुनसक्छ। तर यस्तो नहुँदा पनि बाहिर काम गर्ने पतिपत्नीले एकअर्कासित धेरै समय बिताउन पाउँदैनन्। घर बसेर कहिल्यै आर्जन नहुने धन कमाउन आजभोलि थुप्रै बुबाहरू महिनौं अथवा वर्षौं आफ्नो परिवारदेखि टाढा बस्न थालेका छन्। यसको परिणाम अत्यन्त गम्भीर हुनसक्छ।
२७. आर्थिक समस्याको चेपटामा परेको परिवारका लागि कुन कुन सिद्धान्त मदतकारी हुनसक्छ?
२७ यस्तो परिस्थितिमा कुनै खास नियम तोक्न सकिंदैन। किनकि बेग्लाबेग्लै परिवारको बेग्लाबेग्लै दबाब तथा आवश्यकताहरू हुन्छन्। तापनि बाइबलको सल्लाह मदतकारी हुन्छ। उदाहरणका लागि, “सर-सल्लाह[द्वारा]” अक्सर अनावश्यक झैंझगडा मेटाउन सकिन्छ भनी हितोपदेश १३:१० मा संकेत गरिएको छ। यसको अर्थ आफ्नो विचार मात्र व्यक्त गर्नुको साटो अर्को व्यक्तिको दृष्टिकोणबारे पनि सोधपूछ तथा बुझ्ने कोसिस गर्नु हो। साथै, व्यवहारिक बजेट छ भने परिवारमा सबैले संयुक्त प्रयास गर्नसक्छन्। कहिलेकाहीं छोराछोरी अथवा यस्ता अरू पराधीन व्यक्तिहरूको पालनपोषणका लागि थप खर्च जरुरी हुनसक्छ। विशेषगरि, यस्तो हुँदा केही समयका लागि पतिपत्नी दुवैलाई घरबाहिर काम गर्नु आवश्यक हुनसक्छ। तापनि पतिले पत्नीका लागि समय निकाल्नैपर्छ। उनी र छोराछोरी मिलेर अक्सर पत्नी एक्लैले गर्ने काममा प्रेमपूर्वक मदत दिनसक्छन्।—फिलिप्पी २:१-४.
२८. कुन कुन कुरालाई ध्यानमा राखेमा परिवार एकतातर्फ अघि बढ्नसक्नेछ?
२८ तथापि, वर्तमान रीतिरिवाजमा बसुञ्जेल पैसा चाहिने भए तापनि यसले आनन्द भने दिनसक्दैन भन्ने कुरा नबिर्सनुहोस्। पैसाले अवश्य जीवन दिनसक्दैन। (उपदेशक ७:१२) निस्सन्देह, भौतिक चीजहरूलाई आवश्यकताभन्दा बढी जोड दिंदा आध्यात्मिक तथा नैतिक पतन हुनसक्छ। (१ तिमोथी ६:९-१२) योभन्दा त परमेश्वरको राज्य र उहाँको धार्मिकतालाई प्रथम स्थान दिनु धेरै असल हो! यसो गर्दा जीविका चलाउने हाम्रा प्रयासहरूमा परमेश्वरको आशिष् निश्चय हुनेछ! (मत्ती ६:२५-३३; हिब्रू १३:५) तपाईंको परिवार केही कारणले गर्दा विभाजित छ भने पनि तपाईंले आध्यात्मिक विषयवस्तुलाई प्रथम स्थान दिंदै परमेश्वरसित शान्ति कायम राख्नु भएमा तपाईंको परिवार सबैभन्दा महत्त्वपूर्ण कुराहरूमा साँच्चै एकताबद्ध हुनेछ।
-
-
परिवारलाई हानि गर्ने समस्याहरूसित तपाईं विजयी हुन सक्नुहुन्छपारिवारिक आनन्दको रहस्य
-
-
अध्याय बाह्र
परिवारलाई हानि गर्ने समस्याहरूसित तपाईं विजयी हुन सक्नुहुन्छ
१. केही परिवारभित्र के कस्ता समस्याहरू लुकेका हुन्छन्?
पुरानो मोटरलाई भर्खर मात्र धोएर टिलिक्क टल्काएको छ। बाहिरबाट हेर्दा त्यो नयाँजस्तै चमचम चम्कन्छ। तर भित्रपट्टि भने खिया लागेको छ। यस्तै छन् केही परिवारहरू। बाहिरबाट हेर्दा सबै ठीक देखिन्छ। तर हँसिला अनुहारपछाडि डर तथा पीडा लुकेको हुन्छ। घरको चार भित्ताभित्र विनाशक तत्त्वहरूले पारिवारिक शान्तिलाई खियाइरहेको हुन्छ। यसका दुइटा खास कारणहरू अक्सर मद्यव्यसन तथा हिंसा हुन्।
मद्यव्यसनले गर्दा हुने हानि
२. (क) मद्यको प्रयोगबारे बाइबलको के दृष्टिकोण छ? (ख) मद्यव्यसन के हो?
२ सीमित मात्रामा मद्यपान गर्नु बाइबलमा निषेधित छैन। तर मद्यव्यसन भने निषेधित छ। (हितोपदेश २३:२०, २१; १ कोरिन्थी ६:९, १०; १ तिमोथी ५:२३; तितस २:२, ३) तर मद्यव्यसन मतवालापन मात्र होइन; मद्यव्यसनको अर्थ मद्यमा लग्गू हुनु हो। चाहिंदोभन्दा बढी पिएर मात्तिनु हो। मद्यव्यसनी वयस्कहरू हुनसक्छन्। तर दुःखको कुरा, युवायुवतीहरू पनि यसका शिकार भएका छन्।
३, ४. मद्यव्यसनीकी पत्नी तथा छोराछोरीमाथि मद्यव्यसनको कस्तो असर पर्छ, व्याख्या गर्नुहोस्।
३ मद्यको दुरुपयोगले पारिवारिक शान्ति भंग हुनसक्छ भनी बाइबलमा धेरैअघि भनिएको थियो। (व्यवस्था २१:१८-२१) मद्यव्यसनको विकृत असर परिवारमा सबैमाथि पर्छ। मद्यव्यसनीकी पत्नीको ध्यान दिनरात पतिलाई रोक्न अथवा उसको अनियमित व्यवहारसित डट्न मै जान्छ।a उसले रक्सी लुकाउन, फालिदिन तथा पतिको पैसा लुकाउन खोज्छे। उसले पतिमा परिवारका लागि, आफ्नो लागि तथा परमेश्वरका लागि प्रेम जगाउन खोज्छे। तर सबै व्यर्थ। ऊ पिउन छाड्दैन। अनि पत्नी पनि आफ्नो सबै प्रयास बारम्बार असफल भएको देखेर विचलित हुन्छे। ऊ आफ्नै असमर्थतालाई दोष दिन्छे। ऊ डर, क्रोध, दोषी भावना, चिन्ता र आत्मसम्मानको अभावको बोझमा पिसिन थाल्छे।
४ आमाबाबु मद्यव्यसनी हुँदा यसको असर छोराछोरीमाथि पनि पर्छ। तिनीहरूले पनि कुटपिट तथा यौन दुर्व्यवहार भोग्नसक्छन्। कतिले चाहिं आमा वा बुबा मद्यव्यसनी भएकोमा आफैलाई दोषी ठान्नसक्छन्। मद्यव्यसनीको अनियमित व्यवहारले गर्दा अक्सर छोराछोरी अरूमाथि भरोसा गर्न असमर्थ हुन्छन्। घरमा भइरहेको कुरा अरूलाई भन्न नसकेर तिनीहरूले आफ्ना भावनाहरू मनैमन दबाउन थाल्छन्। तर यसो गर्नु शरीरका लागि हानिकारक हुन्छ। (हितोपदेश १७:२२) यस्तो आत्मविश्वास अथवा आत्मसम्मानको अभावले गर्दा छोराछोरी वयस्क होऊञ्जेल पीडित हुनसक्छन्।
परिवारले के गर्नसक्छ?
५. मद्यव्यसनलाई कसरी वशमा ल्याउन सकिन्छ तर यसो गर्न किन गाह्रो हुन्छ?
५ धेरै विशेषज्ञहरूअनुसार मद्यव्यसन निको हुने कुरा होइन। तापनि मद्यदेखि पूर्णतः अलग बस्न सकेमा चाहिं केही हदसम्म निको हुने सम्भावना छ भन्छन्। (तुलना गर्नुहोस् मत्ती ५:२९) तथापि, भन्ने बित्तिकै मद्यव्यसनी हाम्रो कुरा मान्न तयार हुँदैन। ऊ प्रथमतः आफ्नो समस्या नै स्वीकार्न तयार हुँदैन। तर परिवारका सदस्यहरूले उसको मद्यव्यसनको प्रभावसित डट्ने कदम चाल्दा चाहिं उसलाई आफ्नो कुलतको चेतना हुनसक्छ। मद्यव्यसनी तथा उसको परिवारलाई मदत दिनमा अनुभवप्राप्त एक चिकित्सकले यसो भने: “मेरो विचारमा परिवारका सबै सदस्यहरू आ-आफ्नो दैनिक काममा यथाशक्य लाभदायक रीतिले लागिरहनु बेस हो। यसो गर्दा आफू र अरूबीचको ठूलो भिन्नता देखेर मद्यव्यसनी झस्किनसक्छ।”
६. मद्यव्यसनी सदस्य भएको परिवारले सबैभन्दा उत्तम सल्लाह कहाँबाट पाउनसक्छ?
६ तपाईंको परिवारमा पनि कोही मद्यव्यसनी छ भने तपाईंले बाइबलको प्रेरित सल्लाहलाई प्रयोगमा ल्याउनुहोस्। यसबाट तपाईंले सकेसम्म स्वास्थ्यकर जीवन बिताउने मदत पाउनुहुनेछ। (यशैया ४८:१७; २ तिमोथी ३:१६, १७) निम्नलिखित केही सिद्धान्तहरू विचार गर्नुहोस् जसबाट परिवारहरूले मद्यव्यसनजस्तो समस्याको सफलतापूर्वक सामना गर्ने मदत पाएका छन्।
७. परिवारको एक जना सदस्य मद्यव्यसनी भएको छ भने, यसका लागि जिम्मेवार को हो?
७ जम्मै दोष आफूमाथि नथोपर्नुहोस्। बाइबलअनुसार “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ” तथा “हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ।” (गलाती ६:५; रोमी १४:१२) तर मद्यव्यसनीले परिवारका सदस्यहरूमाथि दोष थोपर्न खोज्ला। उदाहरणका लागि, उसले भन्ला: “तिमीहरूले मसित अलिक राम्रो व्यवहार गरेको भए म पिउने नै थिइनँ।” यसमा अरूले सहमति जनाउनु उसलाई अझ पिउने प्रोत्साहन दिनु हो। आफू जस्तोसुकै परिस्थिति वा मद्यव्यसनीलगायत जोसुकै व्यक्तिको शिकार भए तापनि हामी सबै आफूले गरेको कामका लागि आफै जिम्मेवार हुन्छौं।—तुलना गर्नुहोस् फिलिप्पी २:१२.
८. मद्यव्यसनीलाई आफ्नो कुलतको परिणामसित डट्न मदत दिने केही तरिका के के हुन्?
८ मद्यव्यसनीलाई उसको मद्यव्यसनको परिणाम अक्सर भोग्न दिनुहोस्। क्रोध गर्ने मानिसबारे बाइबलको यो उखान मद्यव्यसनीमा पनि लागू हुनसक्छ: “त्यसलाई जोगाउने चेष्टा गरे झन् खराबी हुन्छ।” (हितोपदेश १९:१९) मद्यव्यसनीलाई आफ्नो पिउने बानीको खराब परिणाम भोग्न लगाउनुहोस्। उसले गरेको फोहर ऊ आफैलाई सफा गर्न दिनुहोस्। अथवा भोलिपल्ट अफिसमा हाकिमलाई फोन गरेर उसको स्पष्टीकरण उसैलाई दिन लाउनुहोस्।
मसीही प्राचीनहरूले पारिवारिक समस्याहरू समाधान गर्न धेरै मदत दिनसक्छन्
९, १०. मद्यव्यसनीहरूका परिवारहरूले बाह्य मदत किन स्वीकार्नुपर्छ र तिनीहरूले विशेषतः कसको सहायता लिनुपर्छ?
९ अरूबाट मदत लिनुहोस्। हितोपदेश १७:१७ भन्छ: “मित्र सब समय एक प्रेमी साथी हुन्छ, औ दाज्यू-भाइ चाहिं दुःखमा सहभागी हुनलाई जन्मेको हुन्छ।” परिवारमा मद्यव्यसनी हुनु दुःखको कुरा हो। तपाईंलाई सहायताको खाँचो छ। यस्तो बेलामा साँचो ‘मित्रहरूबाट’ मदत लिन नहिचकिचाउनुहोस्। (हितोपदेश १८:२४) तपाईंको समस्या बुझ्ने वा तपाईंको जस्तै परिस्थितिको सामना गरिसकेका व्यक्तिहरूसित कुरा गर्नुहोस्। यस्तो हुँदा के गर्नुपर्छ वा के गर्नु हुँदैन, त्यसबारे तिनीहरूले तपाईंलाई व्यवहारिक सुझाउ दिनसक्छन्। तर सन्तुलन नगुमाउनुहोस्। आफूले भरोसा गर्नसक्ने अथवा तपाईंको “गुप्त कुरा[लाई]” गुप्त राख्नेहरूसित मात्र कुरा गर्नुहोस्।—हितोपदेश ११:१३.
१० मसीही प्राचीनहरूमाथि भरोसा गर्न सिक्नुहोस्। मसीही मण्डलीका प्राचीनहरू ठूलो मदतका स्रोत हुनसक्छन्। यी परिपक्व पुरुषहरूले परमेश्वरको वचन जानेका हुन्छन् र त्यसका सिद्धान्तहरू प्रयोग गर्ने क्षेत्रमा तिनीहरू पोख्त हुन्छन्। त्यसका सिद्धान्तहरूको प्रयोग गर्ने प्रशिक्षण तिनीहरूले पाएका हुन्छन्। तिनीहरू “बतासबाट लुक्ने ठाउँ, र आँधी बेह्रीबाट आड लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै” हुनसक्छन्। (यशैया ३२:२) मसीही प्राचीनहरूले मण्डलीलाई हानिकारक प्रभावहरूबाट बचाउने मात्र गर्दैनन् तर समस्याग्रस्त मानिसहरूमा व्यक्तिगत चासो पनि लिन्छन्, सान्त्वना तथा स्फूर्ति प्रदान गर्छन्। अतः तिनीहरूले दिने सहायताको भरपूर फायदा उठाउनुहोस्।
११, १२. मद्यव्यसनीहरूका परिवारहरूका लागि सबैभन्दा ठूलो मदत कसले दिनसक्छ र यो मदत कसरी उपलब्ध हुन्छ?
११ तर सबैभन्दा बढी, यहोवाबाट बल लिनुहोस्। बाइबलमा हामी यो न्यानो आश्वासन पाउँछौं: “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।” (भजन ३४:१८) परिवारमा एक जना सदस्य मद्यव्यसनी छ भने तपाईंले अनेक दबाब तथा तनाउ अनुभव गर्नुपर्छ। यसले गर्दा तपाईंको मन रोएको छ भने, नबिर्सनुहोस् “यहोवा नजीक हुनुहुन्छ।” तपाईंको परिवारको कठिनाइ उहाँ बुझ्नुहुन्छ।—१ पत्रुस ५:६, ७.
१२ यहोवाले उहाँको वचनमा भन्नुभएका कुराहरूमाथि विश्वास गर्दा तपाईंलाई चिन्ताको सामना गर्न सजिलो हुनेछ। (भजन १३०:३, ४; मत्ती ६:२५-३४; १ यूहन्ना ३:१९, २०) परमेश्वरको वचन अध्ययन गर्दा तथा त्यसमा भएका सिद्धान्तअनुरूप जीवन बिताउँदा तपाईंले आफ्नो जीवनमा परमेश्वरको पवित्र आत्मालाई प्रवेश गर्न दिनुहुन्छ। अनि यसबाट तपाईंले दिन प्रतिदिन डट्ने “[असामान्य, NW] शक्ति” पाउनुहुनेछ।—२ कोरिन्थी ४:७.b
१३. थुप्रै परिवारहरूलाई हानि पुऱ्याउने एउटा अर्को समस्या के हो?
१३ मद्यव्यसनबाट परिवारलाई हानि पुऱ्याउने एउटा अर्को समस्या उठ्नसक्छ र त्यो हो घरेलु हिंसा।
घरेलु हिंसाबाट हुने हानि
१४. घरेलु हिंसाको आरम्भ कसरी भयो र आज स्थिति कस्तो छ?
१४ मानव इतिहासको सबैभन्दा प्रथम हिंस्रक कार्य दाजुभाइ, कयिन र हाबिलबीच भएको घरेलु हिंसा थियो। (उत्पत्ति ४:८) त्यस बेलादेखि मानिसजाति हरप्रकारको घरेलु हिंसाबाट पीडित भएको छ। पत्नीलाई कुट्ने पतिहरू छन्, पतिमाथि हात उठाउने पत्नीहरू छन्, छोराछोरीलाई क्रूरतासाथ पिट्ने आमाबाबु छन् र वृद्ध आमाबाबुसित घोर दुर्व्यवहार गर्ने वयस्क छोराछोरी छन्।
१५. घरेलु हिंसाले गर्दा परिवारका सदस्यहरूमाथि कस्तो भावनात्मक चोट पर्छ?
१५ घरेलु हिंसाबाट पर्ने चोट शारीरिक चोटभन्दा धेरै गहिरो हुन्छ। पिटाइ खाइरहने एउटी पत्नीले यसो भनिन्: “दोषी भावना तथा लाजको भार बोक्नुपर्छ। हिजोको त्यो कुटपिटलाई डरलाग्दो सपना सम्झेर अक्सर बिहान ओछ्यानमै बसिरहन मन पर्छ।” घरेलु हिंसा देख्ने अथवा अनुभव गर्ने केटाकेटीहरू ठूलो भएर सम्भवतः आफ्नै परिवारसित हिंस्रक हुनसक्छन्।
१६, १७. भावनात्मक दुर्व्यवहार के हो र परिवारका सदस्यहरूमाथि यसको के असर पर्छ?
१६ घरेलु हिंसाको अर्थ शारीरिक दुर्व्यवहार मात्र होइन। यसमा अक्सर मौखिक प्रहार पनि सम्मिलित हुन्छ। हितोपदेश १२:१८ भन्छ: “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ, तर बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।” घरेलु हिंसामा प्रयोग हुने “तीखो” बोलीमा अक्सर गाली, चर्को स्वर, आलोचनाको बमवर्षा, अपमानजनक टिप्पणी र शारीरिक हिंसाको धम्की समावेश छन्। भावनात्मक हिंसाको चोट अदृश्य हुन्छ र त्यो अक्सर अरूले देख्दैन।
१७ धेरै दुःखलाग्दो चाहिं बच्चाको बारम्बार आलोचना गर्नु, उसको योग्यता, क्षमता तथा महत्त्वलाई होच्याउनु अर्थात् उसका भावनाहरूलाई प्रहार गर्नु हो। यस्तो मौखिक दुर्व्यवहारले बच्चाको आत्मविश्वासलाई खतम पार्नसक्छ। हो, सबै केटाकेटीहरूलाई अनुशासन चाहिन्छ। तर बाइबलमा बुबाहरूलाई यो निर्देशन दिइएको छ: “ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ।”—कलस्सी ३:२१.
घरेलु हिंसा कसरी रोक्ने
आपसमा प्रेम र आदर गर्ने मसीही दम्पतीले कठिनाइहरू उत्पन्न हुने बित्तिकै समाधान गर्नेछन्
१८. घरेलु हिंसा कहाँबाट सुरु हुन्छ र बाइबलअनुसार यसलाई रोक्ने सबैभन्दा उत्तम उपाय के हो?
१८ घरेलु हिंसाको सुरु हृदय तथा मनबाट हुन्छ; हामी जस्तो सोच्छौं, त्यस्तै काम पनि गर्छौं। (याकूब १:१४, १५) हिंस्रक व्यवहार रोक्न प्रथमतः आफ्नो सोचाइमा परिवर्तन ल्याउनुपर्छ। (रोमी १२:२) तर के यसो गर्नु सम्भव छ? छ। परमेश्वरको वचनमा मानिसहरूलाई बद्लने शक्ति छ। जरा गाडेर बसेका “शक्तिमान” तथा विनाशक दृष्टिकोणहरूलाई समेत परमेश्वरको वचनले उल्टाउनसक्छ। (२ कोरिन्थी १०:४; हिब्रू ४:१२) बाइबलको सही ज्ञानद्वारा कुनै पनि व्यक्तिको सोचाइ पूर्णतः परिवर्तित हुनसक्ने भएकोले त्यसलाई नयाँ व्यक्तित्व धारण गरेको पनि भनिन्छ।—एफिसी ४:२२-२४; कलस्सी ३:८-१०.
१९. एक जना मसीहीले आफ्नो पति वा पत्नीलाई कुन दृष्टिले हेर्नु तथा व्यवहार गर्नुपर्छ?
१९ पति-पत्नीप्रतिको दृष्टिकोण। परमेश्वरको वचन भन्छ: “पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।” (एफिसी ५:२८) बाइबलमा पतिले पत्नीलाई “निर्बल पात्रलाई जस्तो . . . आदर” दिनू पनि भनिएको छ। (१ पत्रुस ३:७) पत्नीहरूलाई चाहिं “आफ्ना आफ्ना पतिलाई स्नेह गर्न” र तिनीहरूको “डर” मान्न आग्रह गरिएको छ। (तितस २:४; एफिसी ५:३३) अतः कुनै पनि ईश्वरभीरु पतिले आफ्नी पत्नीसित शारीरिक तथा मौखिक दुर्व्यवहार गर्दै पत्नीलाई माया गर्ने दाबी गर्नसक्दैन। साथै, पतिसित चर्को स्वरमा बोल्ने, व्यंग्यात्मक भाषा प्रयोग गर्ने वा बारम्बार गाली गर्ने पत्नीले पनि आफ्नो पतिलाई प्रेम तथा आदर गरेको दाबी गर्नसक्दैन।
२०. छोराछोरीका लागि आमाबाबु कसको सामु जिम्मेवार छन् र उनीहरूले छोराछोरीबाट चाहिंदोभन्दा बढी आशा किन गर्नु हुँदैन?
२० छोराछोरीप्रतिको दृष्टिकोण। छोराछोरीले आमाबाबुको प्रेम तथा रेखदेख पाउनुपर्छ। तिनीहरूलाई यसको खाँचो छ। परमेश्वरको वचनअनुसार छोराछोरी यहोवाले दिनुभएको “हक” तथा “इनाम” हुन्। (भजन १२७:३) त्यो हकको रेखदेख गर्ने जिम्मेवारी आमाबाबुले यहोवाको सामु वहन गर्नैपर्छ। बाइबलमा “केटा-केटीको कुरो” तथा “बालकको . . . मूर्खता” बारे चर्चा गरिएको छ। (१ कोरिन्थी १३:११; हितोपदेश २२:१५) अतः छोराछोरीको मूर्खता देखेर आमाबाबु छक्क पर्नु हुँदैन। केटाकेटीहरू वयस्क होइनन्। तिनीहरूको उमेर, पारिवारिक पृष्ठभूमि तथा क्षमतालाई ध्यानमा राखेर आमाबाबुले छोराछोरीबाट आवश्यकताभन्दा बढी आशा गर्नु हुँदैन।—हेर्नुहोस् उत्पत्ति ३३:१२-१४.
२१. वृद्ध आमाबाबुप्रति अपनाउनु अनि गर्नुपर्ने व्यवहारको ईश्वरीय दृष्टिकोण के हो?
२१ वृद्ध आमाबाबुप्रतिको दृष्टिकोण। लेवी १९:३२ भन्छ: “बूढा-पाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर।” यसप्रकार परमेश्वरको व्यवस्थामा वृद्धहरूको आदर तथा मान गर्न प्रोत्साहित गरिन्थ्यो। तर यसो गर्नु कहिलेकाहीं सजिलो हुँदैन। किनकि केही वृद्ध आमा वा बुबाले अचाक्ली माग गर्नसक्छन् अथवा रोगको कारण उनीहरू चाँडचाँडो चलहल गर्न अथवा सोच्न सक्दैनन्। तापनि छोराछोरीलाई “आफ्ना माता-पितालाई प्रत्युपकारको साटो तिर्न” आग्रह गरिएको छ। (१ तिमोथी ५:४) यो आग्रह पालन गर्नुको अर्थ आमाबाबुसित मानमर्यादासहित आदरपूर्ण व्यवहार गर्नु हो। उनीहरूलाई चाहिंदो आर्थिक सहयोगसमेत दिनु हो। वृद्ध आमाबाबुसित शारीरिक अथवा मौखिक दुर्व्यवहार गर्दा बाइबलमा उल्लिखित निर्देशनको सरासर उल्लंघन हुन्छ।
२२. घरेलु हिंसालाई दबाउने मुख्य गुन के हो र त्यसको प्रयोग कसरी गर्न सकिन्छ?
२२ आत्मसंयम विकास गर्नुहोस्। हितोपदेश २९:११ भन्छ: “मूर्ख मानिसले रीस पोखाउँछ, तर बुद्धिमान मानिसले पर्खेर त्यो शान्त हुनदिन्छ।” तपाईं आफ्नो रीस कसरी थाम्न सक्नुहुन्छ? भित्रभित्रै असन्तोष बढ्न दिनुभन्दा समस्यालाई तुरुन्तै समाधान गर्ने कोसिस गर्नुहोस्। (एफिसी ४:२६, २७) रीसलाई वशमा राख्न असमर्थ हुनुहुँदैछ भने झगडास्थलबाट गइहाल्नुहोस्। आत्मसंयमको खेती गर्न परमेश्वरसित पवित्र आत्मा माग्नुहोस्। (गलाती ५:२२, २३) टहल्दा अथवा कुनै प्रकारको शारीरिक व्यायाम गर्दा पनि भावनाहरू वशमा राख्न सकिन्छ। (हितोपदेश १७:१४, २७) “झ्वाट्टै रीस” नगर्ने प्रयास गर्नुहोस्।—हितोपदेश १४:२९.
छुट्टिने वा सँगै रहने?
२३. मसीही मण्डलीको कुनै सदस्यले बारम्बार र पश्चात्तापको भावबिना चर्को तथा हिंस्रक रीतिले रीस पोखाउँछ अथवा परिवारका सदस्यहरूलाई कुटपिट गर्छ भने, उसलाई के हुनसक्छ?
२३ बाइबलमा परमेश्वरले निन्दा गर्नुहुने कार्यहरूमध्ये “दुश्मनी, झैंझगडा, . . . क्रोध” हुन् र “जस जसले यसता कामहरू गर्दछन् परमेश्वरको राज्यका हकवाला हुनेछैनन्।” (गलाती ५:१९-२१) अतः, मसीही हुने दाबी गर्दै बारम्बार अचाक्ली क्रोधित तथा हिंस्रक हुने, आफ्नो पति, पत्नी वा छोराछोरीलाई कुटपिट गर्ने र पश्चात्ताप पनि नगर्ने व्यक्तिलाई मसीही मण्डलीबाट बहिष्कृत गर्न सकिन्छ। (तुलना गर्नुहोस् २ यूहन्ना ९, १०) यसप्रकार दुर्व्यवहार गर्ने व्यक्तिहरूको कुप्रभावबाट बचेर मण्डली स्वच्छ रहन्छ।—१ कोरिन्थी ५:६, ७; गलाती ५:९.
२४. (क) दुर्व्यवहार भोग्ने पति वा पत्नीहरूले के कस्तो कदम चाल्ने फैसला गर्नसक्छन्? (ख) शुभेच्छुक मित्र तथा प्राचीनहरूले दुर्व्यवहार भोगिरहेको पति वा पत्नीलाई कसरी मदत दिनसक्छन् तर तिनीहरूले के चाहिं गर्नु हुँदैन?
२४ तर परिवर्तन हुन नखोज्ने दुर्व्यवहारी पति वा पत्नीको हातबाट हालै कडा दुर्व्यवहार भोग्ने मसीहीहरूबारे के भन्ने? यस्ता केही मसीहीहरूले कुनै न कुनै कारणवश आफ्नो दुर्व्यवहारी पति वा पत्नीसितै बस्ने फैसला गरेका छन्। केहीलाई चाहिं आफ्नो शारीरिक तथा मानसिक भलाइ, आध्यात्मिकता अथवा ज्यान नै खतरामा परेको लागेर दुर्व्यवहारी पति वा पत्नीबाट अलग हुने निर्णय लिएका छन्। घरेलु हिंसाको शिकार हुनेले यस्तो परिस्थितिमा यहोवाको सामु जे गर्ने फैसला गर्छ, त्यो उसको व्यक्तिगत निर्णय हो। (१ कोरिन्थी ७:१०, ११) शुभेच्छुक मित्र, नातेदार अथवा मसीही प्राचीनहरूले मदत र सल्लाह दिनसक्छन्। तर तिनीहरूले कुनै कदम चाल्ने दबाब चाहिं दिनु हुँदैन। त्यो फैसला ऊ आफैले गर्नुपर्छ।—रोमी १४:४; गलाती ६:५.
हानिकारक समस्याहरूको अन्त
२५. परिवारका लागि यहोवाको उद्देश्य के हो?
२५ यहोवाले आदम र हव्वाको विवाह गरिदिनुहुँदा परिवारहरू मद्यव्यसन अथवा हिंसाजस्ता हानिकारक समस्याहरूको शिकार होस् भन्ने उहाँको इच्छा थिएन। (एफिसी ३:१४, १५) बरु परिवारमा प्रेम र शान्ति फस्टाउनुपर्ने थियो। त्यहाँ हरेक सदस्यको मानसिक, भावनात्मक र आध्यात्मिक आवश्यकताहरू पूरा हुनुपर्ने थियो। तर पापको प्रवेशपछि चाँडै पारिवारिक जीवनको विकृत रूप देखिन थाल्यो।—तुलना गर्नुहोस् उपदेशक ८:९.
२६. यहोवाको आवश्यकताहरूअनुरूप जीवन बिताउन खोज्नेहरूले कस्तो भविष्यको प्रतीक्षा गर्नसक्छन्?
२६ तर खुशीको कुरा, यहोवाले परिवारका लागि आफ्नो उद्देश्य त्याग्नुभएको छैन। उहाँले एउटा नयाँ शान्तिमय संसार स्थापित गर्ने प्रतिज्ञा गर्नुभएको छ जहाँ मानिसहरू “भयहीन भएर बस्ने छन् [र] तिनीहरूलाई झस्काउने कोही हुनेछैन।” (इजकिएल ३४:२८) त्यतिखेर मद्यव्यसन, घरेलु हिंसा तथा आज परिवारहरूलाई हानि गर्ने समस्याहरू सबै बितिसकेका हुनेछन्। मानिसहरूले आफ्नो मुस्कानपछाडि डर र वेदना लुकाउनेछैनन्। तिनीहरूले “प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”—भजन ३७:११.
a हामीले मद्यव्यसनीलाई पुरुष भनेर सम्बोधन गरेका छौं। तर स्त्री मद्यव्यसनी हुँदा पनि यहाँ उल्लिखित सिद्धान्तहरू नै लागू हुन्छन्।
b कुनै कुनै देशमा मद्यव्यसनी तथा तिनका परिवारहरूलाई विशेष मदत दिने उपचार केन्द्र, अस्पताल तथा कार्यक्रम हुन्छन्। यस्ता ठाउँहरूबाट मदत लिनु नलिनु व्यक्तिगत फैसलामा भर गर्छ। वाचटावर सोसाइटीले कुनै पनि उपचारको सिफारिश गर्दैन। तथापि, यस्तो मदत लिंदा धर्मशास्त्रीय सिद्धान्तहरू उल्लंघन हुने गतिविधिहरूदेखि सतर्क बस्नुपर्छ।
-
-
विवाह टुट्नै लागेको छ भनेपारिवारिक आनन्दको रहस्य
-
-
अध्याय तेह्र
विवाह टुट्नै लागेको छ भने
१, २. वैवाहिक जीवन संकटमा पर्दा के प्रश्न सोध्नुपर्छ?
इटालेली स्त्री लुसिया सन् १९८८ मा अत्यन्त निराश थिइन्।a दश वर्षपछि तिनको विवाह टुट्नै लागेको थियो। तिनले पतिसित धेरै पटक मेल गर्ने कोसिस गरिसकेकी थिइन्। तर मेल हुन सकेन। अन्ततः आपसी अनमेलको कारण तिनी पतिबाट अलग भइन्। दुइ जना छोरी हुर्काउने भार पनि तिनी एक्लैले बोक्नुपऱ्यो। त्यो समय सम्झंदै लुसिया भन्छिन्: “मेरो विवाह कुनै पनि हालतमा बच्न सक्तैन भनी म निश्चित थिएँ।”
२ तपाईंको वैवाहिक जीवन पनि समस्याग्रस्त छ भने, तपाईं लुसियाको मर्म राम्ररी बुझ्न सक्नुहुन्छ। तपाईंको पनि वैवाहिक जीवनमा समस्याहरू उठेका हुनसक्छन्। अतः यो विवाहलाई बचाउन सकिन्छ या सकिंदैन भनी तपाईं पनि सोच्दै हुनुहुन्छ होला। तर पहिले आफूलाई यो प्रश्न सोध्नु बेस हुन्छ: वैवाहिक जीवनलाई सफल तुल्याउन परमेश्वरले बाइबलमा दिनुभएको सबै सल्लाह के मैले प्रयोगमा ल्याएको छु?—भजन ११९:१०५.
३. पारपाचुके आज सामान्य भए तापनि पारपाचुके गरेका मानिसहरू तथा तिनीहरूको परिवारबारे के सुनिन्छ?
३ पतिपत्नीबीच चर्को मतभेद हुँदा पारपाचुके गर्नु नै सबैभन्दा सजिलो लाग्नसक्छ। तर हालसालै धेरै देशहरूमा टुक्रिएका परिवारहरूको संख्या अकासिएको छ भने पारपाचुके गरेका धेरै पुरुष तथा स्त्रीहरूले पछितो गर्दैछन्। साथै, पारपाचुके नगर्ने पतिपत्नीहरूभन्दा पारपाचुके भएका पुरुष तथा स्त्रीहरू नै मानसिक तथा शारीरिक रोगले अक्सर पीडित हुन्छन्। आमाबाबुले पारपाचुके गर्दा छोराछोरीले प्रायः वर्षौंपछि पनि आफ्नो जीवन अस्तव्यस्त अनि नीरस भएको महसुस गर्छन्। यसरी टुक्रिएका परिवारहरूका आमाबाबुहरू पनि दुःखी हुन्छन्। तर विवाहको आरम्भक परमेश्वरले यस्तो स्थितिलाई कुन दृष्टिले हेर्नुहुन्छ?
४. वैवाहिक जीवनका समस्याहरूको समाधान कसरी गर्नु उचित हो?
४ अघिका केही अध्यायहरूअनुसार, विवाहलाई एउटा आजीवन बन्धन बनाउनु परमेश्वरको उद्देश्य थियो। (उत्पत्ति २:२४) त्यसो भए आज यतिका थुप्रै विवाहहरू किन टुक्रिन्छन्? यो टुक्रिने प्रक्रिया अक्सर रातारात हुँदैन। पहिले चिन्हहरू देखिन्छन्। पतिपत्नीबीच उठ्ने स-साना समस्याहरू बढ्दै जाँदा अन्ततः त्यसले भयंकर रूप लिनसक्छ। तर बाइबलबाट मदत लिंदै तिनीहरूको तुरुन्तै समाधान गरेमा चाहिं थुप्रै विवाह बच्नसक्छ।
व्यवहारिक हुनुहोस्
५. सबैको वैवाहिक जीवनमा कुन चाहिं वास्तविकताको सामना गर्नुपर्छ?
५ कहिलेकाहीं पति वा पत्नीले एकअर्काबाट अव्यवहारिक आशा राख्दा समस्या उठ्नसक्छ। प्रेमकथा, लोकप्रिय पत्रिका, टिभी कार्यक्रम तथा चलचित्रहरूद्वारा मनमा केही यस्ता आशा तथा सपनाहरू सलबलाउनसक्छन्, जुन वास्तविकतादेखि धेरै टाढा हुन्छन्। यी सपनाहरू पूरा नहुँदा आफूलाई कसैले ठगेको अथवा धोका दिएको जस्तो लाग्नसक्छ। मनैमन क्रोधित हुनसक्छ। त्यसो भए दुइ जना असिद्ध व्यक्तिहरूको वैवाहिक जीवन कसरी सुखी हुनसक्छ? वैवाहिक सफलताका लागि परिश्रम गर्नुपर्छ।
६. (क) विवाहबारे वास्तविक दृष्टिकोण बाइबलले कसरी प्रस्तुत गर्छ? (ख) वैवाहिक जीवनमा अमेल उत्पन्न गराउने कारणहरू के हुन्?
६ बाइबल व्यवहारिक छ। वैवाहिक जीवन सुखी हुनसक्छ भनी यसले स्वीकारेको छ भने पतिपत्नीले “शरीरमा कष्ट” भोग्नेछन् भनी चेताउनी पनि दिएको छ। (१ कोरिन्थी ७:२८) हामीले माथि छलफल गरेझैं पतिपत्नी दुवै असिद्ध हुन्छन्। पाप गर्ने क्षमता दुवैमा हुन्छ। दुवैको पालनपोषण, मानसिक तथा भावनात्मक बनौट बेग्लै हुन्छ। पतिपत्नीबीच कहिलेकाहीं पैसा, छोराछोरी, वैवाहिक सम्बन्धद्वारा साइनो पर्नेहरूबारे मतभेद हुन्छ। साथै एकसाथ कामकुराहरू गर्न समयको अभाव तथा यौन समस्याहरूले गर्दा पनि अमेल हुनसक्छ।b यस्ता समस्याहरू सुल्झाउन समय लाग्छ। तर हार नमान्नुहोस्! धेरैजसो पतिपत्नीहरूले यस्ता समस्याहरूसित सफलतापूर्वक डटेका छन्, दुवैलाई स्वीकार्य हुने उपायहरू पाएका छन्।
भिन्नताहरू छलफल गर्नुहोस्
तुरुन्तै समस्या समाधान गर्नुहोस्। घाम डुब्नु अगावै तपाईंको रीस मरोस्
७, ८. पतिपत्नीले एकअर्काको चित्त दुखाएका छन् अथवा आपसमा कुनै मनमुटाउ छ भने, यसको समाधान गर्ने धर्मशास्त्रीय तरिका के हो?
७ धेरैलाई आफ्नो चित्त दुख्दा अथवा मनमुटाउ हुँदा व्यक्तिगत असफलताहरूबारे शान्तपूर्वक छलफल गर्न गाह्रो लाग्छ। साफसाफ “मबारे तिम्रो यो धारणा गलत भयो जस्तो छ” भन्नुको साटो पति वा पत्नी अति भावुक बन्नसक्छन्। फलतः समस्या अझ जटिल हुन्छ। “तिमी आफ्नोलागि मात्र सोच्छौं” अथवा “तिमीलाई मेरो माया लाग्दैन” भन्ने टिप्पणीहरू गरिन्छ। केही चाहिं बहस गर्न नचाहेर मौनधारण गर्छन्।
८ तर यी सबैभन्दा बेस चाहिं बाइबलको यो सल्लाह मान्नु हो: “क्रोध गर तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस्।” (एफिसी ४:२६) आफ्नो विवाहको ६० औं वार्षिकी मनाउने एउटा सुखी दम्पतीलाई तिनीहरूको सफल वैवाहिक जीवनको रहस्य सोध्दा पतिले यसो भने: “सानोभन्दा सानो आपसी भिन्नतालाई सुत्नअघि नै हामीले मेटाउने बानी बसाल्यौं।”
९. (क) पारस्परिक कुराकानीको एउटा मुख्य भाग धर्मशास्त्रअनुसार के हो? (ख) साहस तथा नम्रता आवश्यक परे तापनि पतिपत्नीहरूले अक्सर के गर्नुपर्छ?
९ आपसमा पतिपत्नीको कुरा नमिल्दा तिनीहरू दुवै “सुन्नालाई छिट्टो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा” हुनुपर्छ। (याकूब १:१९) कुरा ध्यानपूर्वक सुनेपछि शायद दुवैले माफी माग्ने खाँचो महसुस गर्नसक्छन्। (याकूब ५:१६) हृदयदेखि “मलाई माफ देऊ। मैले तिम्रो चित्त दुखाएँ” भन्नसक्न साहस तथा नम्रता चाहिन्छ। तर यसरी आफ्ना भिन्नताहरू मेटाउन खोज्दा पतिपत्नीले पारस्परिक समस्याहरू समाधान गर्ने मदत पाउँछन्। आपसमा न्यानो आत्मीयता फस्टाउनेछ र एकअर्कासित बिताइने समय अझ रमाइलो हुनसक्छ।
दाम्पत्य कर्तव्य पूरा गर्ने
१०. पावलले कोरिन्थका मसीहीहरूलाई दिएको कुन चाहिं प्रोत्साहन आज पनि मसीहीहरूमा लागू हुनसक्छ?
१० “ज्यादै व्यभिचार” भएको कारण प्रेरित पावलले आफ्नो पत्रमा कोरिन्थीहरूलाई विवाह गर्न प्रोत्साहित गरे। (१ कोरिन्थी ७:२) आजको संसार प्राचीन कोरिन्थभन्दा खराब छ। सांसारिक मानिसहरूबीच खुलेआम छलफल हुने अनैतिक विषय, तिनीहरूको उत्ताउलो पहिरन तथा पत्रिका, उपन्यास, टिभी र चलचित्रहरूमा प्रस्तुत कामोद्दीपक कथाहरू सबैको लक्ष्य अवैध कामवासना जगाउनु हो। यस्तै वातावरणमा बस्ने कोरिन्थीहरूलाई प्रेरित पावलले भने: “कामाग्निले जल्नुभन्दा विवाह गर्नु असल हो।”—१ कोरिन्थी ७:९.
११, १२. (क) पतिपत्नीले एकअर्काप्रति कुन कर्तव्य कस्तो मनोवृत्तिसाथ पूरा गर्नुपर्छ? (ख) केही समयका लागि दाम्पत्य कर्तव्य पूरा गर्न सकिंदैन भने के गर्नु बेस हुन्छ?
११ अतः बाइबलमा विवाहित मसीहीहरूलाई यो आज्ञा दिइएको छ: “पतिले पत्नीसित गर्नु पर्ने व्यवहार गरोस्, औ त्यसैगरी पत्नीले पनि पतिसँग।” (१ कोरिन्थी ७:३) याद गर्नुहोस्, यहाँ दिनुमा जोड दिएको छ। माग गर्नुमा होइन। वैवाहिक जीवनमा पतिपत्नीले एकअर्काको आनन्दमा चासो लिंदा मात्र शारीरिक सम्बन्ध सन्तोषजनक हुन्छ। उदाहरणका लागि, बाइबलमा पतिहरूले पत्नीहरूसित “बुद्धिमानीसाथ” व्यवहार गर्नु भनिएको छ। (१ पत्रुस ३:७) यो सिद्धान्त दाम्पत्य कर्तव्य पूरा गर्ने सम्बन्धमा विशेषतः लागू हुन्छ। पत्नीसित कोमल व्यवहार नगर्दा तिनलाई यो वैवाहिक सहवासबाट आनन्द उठाउन गाह्रो हुनसक्छ।
१२ तर पतिपत्नी यो दाम्पत्य कर्तव्य पूरा गर्न कहिलेकाहीं असमर्थ पनि हुनसक्छन्। महिनाका केही दिनहरूमा अथवा अन्य कुनै कारणले गर्दा पत्नी अति थकित हुनसक्छे। (तुलना गर्नुहोस् लेवी १८:१९) अथवा आफ्नो काम गर्ने ठाउँमा पतिलाई कुनै खास समस्या आइपरेको हुनसक्छ। ऊ भावशून्य बन्नसक्छ। तसर्थ, केही समयका लागि दाम्पत्य कर्तव्य पूरा गर्न सकिंदैन जस्तो छ भने, यसबारे पतिपत्नी दुवैले खुलस्त छलफल गर्नुपर्छ र अन्ततः निर्णय जे भए तापनि त्यसमा दुवैको “सम्मति” हुनुपर्छ। (१ कोरिन्थी ७:५) यसो गर्दा एकअर्काबारे गलत धारणा अपनाउने मौका नै हुँदैन। तथापि, पत्नीले जानाजानी पतिप्रतिको दाम्पत्य कर्तव्य पूरा नगर्दा अथवा पतिले पनि प्रेमपूर्वक पत्नीप्रतिको कर्तव्य पूरा नगर्दा तिनीहरू सजिलैसित परीक्षामा फस्नसक्छन्। यस्तो हुँदा वैवाहिक जीवन समस्याग्रस्त हुनसक्छ।
१३. मसीहीहरूले आफ्नो सोचाइलाई कसरी स्वच्छ राख्नसक्छन्?
१३ सबै मसीहीहरूले जस्तै परमेश्वरका विवाहित सेवकहरू अश्लील कुराहरूबाट टाढा रहनुपर्छ। यस्ता अश्लील कुराहरूले मनमा अशुद्ध र अप्राकृतिक अभिलाषाहरू जगाउनसक्छन्। (कलस्सी ३:५) विपरीत लिंगसित व्यवहार गर्दा विवाहित मसीही स्त्री वा पुरुष आफ्नो सोचविचार तथा आचरणबारे होशियार हुनपर्छ। येशूले चेताउनी दिनुभयो: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।” (मत्ती ५:२८) यौनसम्बन्धी बाइबलको सल्लाह प्रयोग गरेमा दम्पतीहरूले आफूलाई परीक्षा तथा व्यभिचारको पासोबाट बचाउनसक्छन्। यौन, विवाहको प्रारम्भक यहोवा परमेश्वरले दिनुभएको असल वरदान हो। यसको कदर गर्ने पतिपत्नीहरूले वैवाहिक जीवनको सहवासबाट आनन्द उठाइरहन सक्छन्।—हितोपदेश ५:१५-१९.
पारपाचुके गर्ने बाइबलीय आधार
१४. कहिलेकाहीं कुन चाहिं दुःखलाग्दो घटना हुन्छ? किन?
१४ खुशीको कुरा, धेरैजसो मसीही पतिपत्नीबीच समस्याहरू उठ्दा त्यसको समाधान गर्न सकिन्छ। तर कहिलेकाहीं यस्तो हुँदैन। किनकि मानिसहरू असिद्ध छन्। तिनीहरू शैतान अधीनस्थ यस पापपूर्ण संसारमा बस्छन्। फलतः केही विवाहहरू टुट्नै लागेका छन्। (१ यूहन्ना ५:१९) यस्तो कठिन स्थितिको सामना मसीहीहरूले कसरी गर्नुपर्छ?
१५. (क) सम्भवतः पुनर्विवाह गर्न पाउनेगरि पारपाचुके गर्ने एक मात्र धर्मशास्त्रीय आधार के हो? (ख) विश्वासघाती पति वा पत्नीसित केहीले पारपाचुके नगर्ने फैसला किन गरेका छन्?
१५ यस पुस्तकको दोस्रो अध्यायमा उल्लेख भएझैं करणी गरेको खण्डमा मात्र धर्मशास्त्रीय आधारमा पारपाचुके र सम्भवतः पुनर्विवाह गर्ने स्वीकृति दिएको छ।c (मत्ती १९:९) तपाईंको पति वा पत्नीले तपाईंसित विश्वासघात गरेको ठोस प्रमाण छ भने, तपाईंले एउटा गम्भीर निर्णय लिनुपर्छ। यो विवाहलाई के तपाईं कायम राख्नुहुन्छ? अथवा पारपाचुके गर्नुहुन्छ? यसका लागि कुनै नियम छैन। साँचो पश्चात्ताप गर्ने आफ्नो पति वा पत्नीलाई केही मसीहीहरूले पूर्णतः क्षमा गरेका छन्। यसरी जोगाइएको वैवाहिक जीवनको परिणाम राम्रो भएको छ। कतिले चाहिं छोराछोरीको खातिर पारपाचुके नगर्ने फैसला गरेका छन्।
१६. (ख) केहीले चाहिं गलत काम गर्ने आफ्नो पति वा पत्नीसित पारपाचुके गर्ने फैसला किन गरेका छन्? (ख) निर्दोष पति वा पत्नीले पारपाचुके गर्ने वा नगर्ने फैसला गर्दा किन कसैले पनि उसको निर्णयको आलोचना गर्नु हुँदैन?
१६ तर सम्भवतः त्यो पापपूर्ण कार्यले गर्दा गर्भाधारण भएको वा यौनजन्य रोग लागेको हुनसक्छ। अथवा स-साना केटाकेटीहरूलाई यौन दुर्व्यवहार गर्ने आमाबाबुबाट बचाउन आवश्यक परेको हुनसक्छ। स्पष्टतः फैसला गर्नअघि विचार गर्नुपर्ने धेरै कुरा छन्। तथापि, आफ्नो पति वा पत्नीले गरेको विश्वासघात थाह भएपछि पनि ऊसित पुनः यौन सम्बन्ध राख्नुको अर्थ, तपाईंले उनलाई क्षमा गर्नुभएको हो। ऊसित वैवाहिक जीवन कायम राख्ने इच्छा प्रकट गर्नुभएको हो। यसपछि पारपाचुके गर्ने वा अरूसित पुनर्विवाह गर्ने, त्यसको धर्मशास्त्रीय आधार रहँदैन। तर तपाईंको फैसलामा कसैले पनि हस्तक्षेप चाहिं गर्नु हुँदैन। नता तपाईंको फैसलाको कसैले आलोचना गर्नु मिल्छ। तपाईंको फैसलाको परिणाम तपाईंले भोग्नुपर्छ। “किनभने हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।”—गलाती ६:५.
छुटेर बस्ने आधारहरू
१७. करणी नभइकन छुट्टिने वा पारपाचुके गर्नेहरूमाथि धर्मशास्त्रमा के प्रतिबन्धहरू लगाइएका छन्?
१७ आफ्नो पति वा पत्नीले व्यभिचार गरेको छैन भने पनि के तिनीसित छुट्टिने वा पारपाचुके गर्ने कारणहरू हुनसक्छन्? हुनसक्छन्। तर यस्तो हुँदा एक जना मसीहीले पछि अर्को विवाह गर्ने हेतुले तेस्रो व्यक्तिसित सम्बन्ध बढाउन पाउनेछैन। (मत्ती ५:३२) किनकि बाइबलमा यसरी छुट्टिएर बस्ने अनुमति दिइएको भए तापनि छुटेर जानेले “विवाह नगरी बसोस्” अथवा पति वा पत्नीसित फेरि “मिलाप” गरोस् भन्ने नियम तोकिएको छ। (१ कोरिन्थी ७:११) तर के कस्ता अत्यन्त कठिन परिस्थितिहरूको सामु पतिपत्नी छुट्टिनु उचित हुनसक्छ?
१८, १९. के कस्ता अत्यन्त कठिन परिस्थितिहरूमा पति वा पत्नीले पुनर्विवाह गर्नु सम्भव नभए तापनि कानुनन् छुट्टिने अथवा पारपाचुके गर्ने विचार गर्नसक्छन्?
१८ एक त पतिको खराब बानी तथा घोर आलस्यले गर्दा परिवार दरिद्र बन्नसक्छ।d उसले परिवारको आम्दानी जुवा खेलेर अथवा मादक पदार्थ वा मद्यव्यसनमा उडाइरहेको हुनसक्छ। बाइबल भन्छ: “कसैले . . . आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) यस्तो मान्छेले आफ्नो आनीबानी सुधार्नुको साटो पत्नीले कमाएको पैसासमेत लगेर त्यसको दुरुपयोग गर्नसक्छ। यस्तो हुँदा पत्नीले आफ्नो तथा बच्चाहरूको बचाउका लागि कानुनन् छुटेर बस्ने दरखास्त दिनसक्छे।
१९ पतिको व्यवहार अचाक्ली हिंस्रक हुँदा अथवा उसले पत्नीको स्वास्थ्य तथा ज्यानलाई नै जोखिममा पार्नेगरि बारम्बार कुटपिट गर्दा पनि कानुनी कारबाही चाल्न सकिन्छ। यसको अतिरिक्त, पति वा पत्नीले जबरजस्ती परमेश्वरको कानुन उल्लंघन गर्न लाउन खोज्दा पनि कानुनन् अलग बस्ने विचार गर्न सकिन्छ। आफ्नो आध्यात्मिक जीवन नै खतरामा परिसकेको छ भने, यो कुरा विशेषतः लागू हुन्छ। जोखिममा परेको पति वा पत्नीले “मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य” मान्न यसबाहेक अर्को कुनै उपाय नहुनसक्छ।—प्रेरित ५:२९.
२०. (क) परिवार टुटेको खण्डमा परिपक्व मित्रहरू तथा प्राचीनहरूले के गर्नसक्छन् र के चाहिं गर्नु हुँदैन? (ख) छुट्टिने तथा पारपाचुकेबारे बाइबलमा गरिएका टिप्पणीहरूलाई पतिपत्नीले के गर्ने निहुँ बनाउनु हुँदैन?
२० तर घरमा पति वा पत्नीको घोर दुर्व्यवहार हुँदा कसैले निर्दोष पति वा पत्नीलाई पनि छुट्टिन वा सँगै बस्न उस्काउनु हुँदैन। परिपक्व मित्र तथा प्राचीनहरूले मदत तथा बाइबल आधारित सल्लाह दिए तापनि यिनीहरूलाई घरभित्र पतिपत्नीबीच हुने सबै कुरा थाह हुँदैन। त्यो त यहोवालाई मात्र थाह हुन्छ। तर कुनै मसीही पत्नीले आफ्नो विवाहलाई रद्द गर्ने निहुँ मात्र खोजिरहेकी छे भने चाहिं परमेश्वरले रच्नुभएको वैवाहिक प्रबन्धको ऊ अनादर गर्छे। तथापि, स्थिति अति नै खतरनाक छ र त्यसमा केही सुधार भएन भने, उसले अलगै बस्ने फैसला गर्नसक्छे। साथै, उसको यो फैसलाको कसैले आलोचना गर्न मिल्दैन। यही सिद्धान्त अलग हुन चाहने मसीही पतिमा पनि लागू हुन्छ। “हामी सबै परमेश्वरको न्याय-आसनको सामने खड़ा हुन्छौं।”—रोमी १४:१०.
टुटेको विवाह फेरि कसरी जोडियो
२१. विवाहबारे बाइबलमा पाइने सल्लाह व्यवहारिक छ भनेर कुन अनुभवद्वारा प्रदर्शित हुन्छ?
२१ यो अध्यायको सुरुमा चर्चित लुसियाले आफ्नो पतिबाट अलग्गिएको तीन महिनापछि यहोवाका साक्षीहरूलाई भेटिन्। तिनले उनीहरूसँग बाइबल अध्ययन गर्न थालिन्। तिनी भन्छिन्: “बाइबलमा आफ्नो समस्याको व्यवहारिक समाधान देखेर म छक्क परें। एक हप्ता अध्ययन गर्ने बित्तिकै म आफ्नो पतिसित मेल गर्न इच्छुक भएँ। संकटमा परेका विवाहहरूलाई यहोवा साँच्चै बचाउन जान्नुहुन्छ भनेर म निर्धक्क भई भन्नसक्छु। उहाँका शिक्षाहरूले पतिपत्नीलाई एकअर्काको मोल गर्न सिकाउँछ। यहोवाका साक्षीहरूले परिवारमा फूट उत्पन्न गर्छन् भन्ने कसैकसैको अनुमान सत्य होइन। मेरो जीवनमा त ठीक विपरीत भयो।” लुसियाले आफ्नो जीवनमा बाइबल सिद्धान्तहरू प्रयोग गर्न सिकिन्।
२२. सबै दम्पतीहरूले के कुरामाथि पूरा भरोसा गर्नुपर्छ?
२२ तर यसको एक मात्र उदाहरण लुसिया होइन। वैवाहिक जीवन बोझ होइन, आशिष् हुनुपर्छ। यसका लागि यहोवाले आफ्नो लिखित तथा अनमोल वचन बाइबलमा सर्वोत्तम सल्लाह उपलब्ध गराउनुभएको छ। बाइबलले “निर्बोधहरूलाई बुद्धिमान” तुल्याउनसक्छ। (भजन १९:७-११) त्यसले टुट्नै लागेको थुप्रै विवाहलाई बचाउनसकेको छ। साथै, गम्भीर समस्याग्रस्त विवाहहरूमा पनि उन्नति ल्याउनसकेको छ। वैवाहिक जीवनका लागि यहोवा परमेश्वरले दिनुहुने सल्लाहमाथि सबैले पूरा भरोसा गरून्। त्यो सल्लाह साँच्चै व्यवहारिक छ!
a नाम बदलिएको छ।
b यस्ता केही समस्याहरू अघिल्ला अध्यायहरूमा छलफल भइसकेका छन्।
c बाइबलमा “करणी[को]” अर्थ व्यभिचार, समसमागमन, पशुसम्भोग तथा जननेन्द्रियहरूको अन्य स्वैच्छिक अवैध प्रयोग हो।
d तर यहाँ ती परिस्थितिहरू समावेश हुँदैनन् जहाँ पति बिरामी अथवा बेकारीले गर्दा नचाहँदा नचाहँदै पनि परिवारको रेखदेख गर्न असमर्थ हुन्छ।
-
-
वृद्धावस्थामा सँगै प्रवेश गर्नेपारिवारिक आनन्दको रहस्य
-
-
अध्याय चौध
वृद्धावस्थामा सँगै प्रवेश गर्ने
१, २. (क) बुढेसकाल नजीक आउन थाल्दा के कस्ता परिवर्तनहरू अनुभव गरिन्छ? (ख) बाइबलकालीन ईश्वरभक्त मानिसहरूले बुढेसकालमा कसरी सन्तोष पाउन सके?
वृद्धावस्था सँगसँगै थुप्रै परिवर्तनहरू आउँछन्। शारीरिक कमजोरीले शक्ति चुस्न थाल्छ। ऐना हेर्दा दिनदिनै नयाँ चाउरीहरू देखा पर्छन्। कपाल बिस्तारै फुल्न अनि झर्न समेत थाल्छ। स्मरणशक्ति घट्नसक्छ। छोराछोरीले विवाह गर्दा तथा नातिनातिनीहरू जन्मँदा नयाँ साइनोहरू सृजिन्छ। कामबाट अवकाश लिएपछि कसैकसैले भने एउटा बेग्लै जीवनशैली आरम्भ गर्नुपर्छ।
२ वास्तवमा, उमेर ढल्दै जाँदा अनेकौं सङ्कट आइपर्नसक्छ। (उपदेशक १२:१-८) तर परमेश्वरका बाइबलकालीन सेवकहरूलाई विचार गर्नुहोस्। हो, अन्ततः तिनीहरू सबैको मृत्यु भयो। तर तिनीहरूले बुद्धि तथा समझशक्तिको आर्जनबाट बुढेसकालमा ठूलो सन्तोष पाए। (उत्पत्ति २५:८; ३५:२९; अय्यूब १२:१२; ४२:१७) तिनीहरूले वृद्धावस्थालाई किन आनन्दसाथ स्वीकार्न सके? किनभने तिनीहरूले बाइबलमा लिपिबद्ध सिद्धान्तअनुसार जीवन बिताए।—भजन ११९:१०५; २ तिमोथी ३:१६, १७.
३. पावलले वृद्ध पुरुष तथा स्त्रीहरूलाई के सल्लाह दिए?
३ तितसलाई लेखेको पत्रमा प्रेरित पावलले पाका हुन थालेकाहरूलाई यो लाभदायी सल्लाह दिए: “वृद्ध पनि परहेजी, गम्भीर, आत्मसंयमी, विश्वास, प्रेम र धीरजमा पक्का होऊन्। त्यही माफिक वृद्धाहरू पनि पवित्र चालचलनका, अर्कालाई सित्तैं दोष नलाउने, रक्सी धेरै नपिउने, बढिया कुराहरूको शिक्षा दिने होऊन्।” (तितस २:२, ३) यी शब्दहरूबाट वृद्धावस्थाका चुनौतीहरूको सामना गर्ने मदत पाउन सकिन्छ।
छोराछोरीलाई आफ्नो खुट्टामा उभिन दिनुहोस्
४, ५. छोराछोरीले घर छाड्दा अधिकांश आमाबाबुको प्रतिक्रिया कस्तो हुन्छ र धेरैले यो नयाँ परिस्थितिसित कसरी सम्झौता गर्छन्?
४ भूमिकाहरू बदलँदा काँटछाँटको खाँचो पर्छ। अझ विशेषगरि हुर्केका छोराछोरीले घर छाड्दा अथवा विवाह गर्दा यो कुरा लागू हुन्छ! यो घटना धेरैजसो आमाबाबुका लागि बुढेसकालको प्रथम खुड्किलो हुन्छ। छोराछोरी वयस्क भएकोमा खुशी भए तापनि, छोराछोरीलाई आफ्नो खुट्टामा उभिने यथाशक्य प्रशिक्षण पो दिन सकियो कि सकिएन भनी तिनीहरू चिन्तित हुन्छन्। घरमा छोराछोरी नहुँदा तिनीहरूलाई शून्य लाग्नसक्छ।
५ हो, छोराछोरी घर छाडेर गइसकेपछि पनि तिनीहरूको चिन्ता गर्न आमाबाबुले छाड्दैनन्। एउटी आमा भन्छिन्: “तिनीहरू सबै सञ्चै छन् भनी बराबर खबर पाउन सकेमा म कत्ति ढुक्क हुन्थें।” एक जना बाबु भन्छन्: “छोरीले घर छाड्दा हामीलाई असाध्यै गाह्रो भयो। सबै कुरा एकसाथ गर्ने हाम्रो बानी थियो। ऊ जाँदा घरै रित्तो भयो।” छोराछोरीले छाडेको रित्तोपनको सामना आमाबाबुले कसरी गरेका छन्? अक्सर अरूलाई मदत दिन अघि बढेर।
६. पारिवारिक सम्बन्धबारे सही दृष्टिकोण अपनाउन कुन कुराले मदत दिन्छ?
६ छोराछोरीको विवाहपश्चात् आमाबाबुको भूमिका बदलन्छ। उत्पत्ति २:२४ भन्छ: “मानिसले आफ्ना आमा-बाबुलाई छोडछ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्।” अगुवाइ तथा सुव्यवस्थासम्बन्धी ईश्वरीय सिद्धान्त स्वीकार्ने आमाबाबुलाई सबै कुरा सुचारुरूपले गर्नु सजिलो हुन्छ।—१ कोरिन्थी ११:३; १४:३३, ४०.
७. छोरीहरूको विवाहपश्चात् एक जना बाबुले कस्तो राम्रो मनोवृत्ति विकास गरे?
७ आफ्ना दुइटी छोरीहरूले विवाहपश्चात् बसाइँ सर्दा एउटा दम्पतीलाई जीवन खल्लो लाग्यो। सुरुसुरुमा पति आफ्ना ज्वाइँहरूसित अप्रसन्न पनि भए। तर अगुवाइको सिद्धान्तलाई विचार गर्दा चाहिं अब उनका ज्वाइँहरू नै आ-आफ्नो घरबारका लागि जिम्मेवार छन् भन्ने कुराको मोल उनले गर्नसके। तसर्थ, छोरीहरूले सल्लाह माग्दा प्रथमतः ज्वाइँहरूको विचार सोधेर त्यसैलाई सकेसम्म समर्थन गर्न थाले। फलतः अब ज्वाइँहरूले पनि उनलाई मित्र ठान्छन्। उनको सल्लाह मान्छन्।
८, ९. छोराछोरी आफ्नै खुट्टामा उभिन थालेपछि केही आमाबाबुले आफ्नो सोचविचारमा के कस्ता काँटछाँट गरेका छन्?
८ तर नवदम्पतीहरूले कुनै गैरशास्त्रीय काम नगरे तापनि आमाबाबुले असल ठानेको कुरा नगर्दा के गर्ने? विवाहित छोराछोरी भएका एउटा दम्पती भन्छन्: “हामी सधैं तिनीहरूलाई यहोवाको दृष्टिकोण अपनाउन मदत दिन्छौं। तिनीहरूको कुनै फैसलासित हामी सहमत छैनौं भने पनि त्यो फैसला स्वीकार्छौं र तिनीहरूलाई मदत तथा प्रोत्साहन दिन्छौं।”
९ केही एसियाली मुलुकहरूमा छोराहरू आफ्नै खुट्टामा उभिन थाल्दा आमाहरूलाई गाह्रो लाग्छ। तर यी आमाहरूले मसीही सुव्यवस्था तथा अगुवाइ स्वीकार्दा बुहारीहरूसितको अमेल धेरै कम हुन्छ। छोराहरू घर छाडेर गएपछि एउटी मसीही स्त्रीले “दिनदिनै धन्यवाद” चढाउने कारण पाएकी छे। तिनीहरूको घरजम गर्ने योग्यता देखेर ऊ हर्षले गद्गद् छे। फलतः बुढेसकालमा ऊ र उसको पतिको बोझ पनि धेरै कम भएको छ।
आफ्नो वैवाहिक बन्धनलाई बलियो पार्नुहोस्
उमेर ढल्दै जाँदा एकअर्काप्रति झन् बढी प्रेम प्रदर्शित गर्नुहोस्
१०, ११. वृद्धावस्थाका केही पासोहरूबाट जोगिने मदत धर्मशास्त्रमा उल्लिखित कुन सल्लाहबाट पाउन सकिन्छ?
१० अधबैंसे हुनथाल्दा बेग्लाबेग्लै मानिसहरूको बेग्लाबेग्लै प्रतिक्रिया हुन्छ। केही पुरुषहरू आफू जवान देखिने प्रकारको लुगा लाउन थाल्छन्। धेरै आइमाईहरू चाहिं रजोहीनतासम्बन्धी परिवर्तनहरूबारे चिन्तित हुन्छन्। दुःखको कुरा, केही अधबैंसेहरू चाहिं आफूभन्दा कम उमेरको पुरुष तथा स्त्रीसित प्रेमलीला सुरु गरेर आफ्नो पति वा पत्नीमा क्रोध तथा डाह उत्पन्न गर्छन्। तर ईश्वरभक्त वृद्ध पुरुषहरूको “शुद्ध मन” हुन्छ। अनुचित अभिलाषाहरूलाई तिनीहरू वशमा राख्छन्। (१ पत्रुस ४:७) यस्तैगरि, परिपक्व स्त्रीहरू आफ्नो वैवाहिक जीवनको स्थायित्वलाई बल दिन हर कोसिस गर्छन्। किनकि तिनीहरू आ-आफ्नो पतिलाई प्रेम गर्छन्। तिनीहरू यहोवालाई प्रसन्न तुल्याउन इच्छुक हुन्छन्।
११ ईश्वरीय प्रेरणाद्वारा राजा लमूएलले ती “सुयोग्य पत्नी[को]” प्रशंसा गरे जसले “आफ्नो जीवनकालभरिनै आफ्ना पतिको भलो गर्छिन्।” पत्नीले अधबैंसे हुनलाग्दाको भावनात्मक उथलपुथलसित संघर्ष गर्दा मसीही पतिले सहानुभूति देखाउनेछ। उसले प्रेमपूर्वक पत्नीको “प्रशंसा” गर्नेछ।—हितोपदेश ३१:१०, १२, २८.
१२. सालहरू बित्दै जाँदा पतिपत्नी कसरी झन् घनिष्ठ हुनसक्छन्?
१२ वर्षौंसम्म छोराछोरी हुर्काउनमै व्यस्त हुनुहुँदा तपाईं दुवैले शायद बच्चाहरूको आवश्यकतालाई प्राथमिकता दिनुभएको हुनुपर्छ। सम्भवतः तपाईंले आफ्नो व्यक्तिगत रुचिलाई पन्छाउनुभएको हुनसक्छ। तर अब छोराछोरीको पखेटा लागिसक्यो। अब तपाईंले आफ्नै वैवाहिक जीवनतर्फ ध्यान पुनः केन्द्रित गर्नुपर्छ। एक जना पति भन्छन्: “छोरीहरूको विवाह भइसकेपछि मैले पत्नीसित विवाहअघिको जस्तै रमाइलो घुमफिर फेरि सुरु गरें।” अर्को पति भन्छन्: “हामी एकअर्काको स्वास्थ्यको ख्याल राख्छौं र एकअर्कालाई व्यायाम गर्न सम्झाइरहन्छौं।” आपसमा एकाकीपन महसुस नहोस् भनेर यो दम्पतीले मण्डलीका अन्य सदस्यहरूलाई आतिथ्य देखाउने गर्छन्। हो, अरूको चासो लिंदा आफ्नै हित हुन्छ। यसबाट यहोवा पनि प्रसन्न हुनुहुन्छ।—फिलिप्पी २:४; हिब्रू १३:२, १६.
१३. पतिपत्नीको उमेर ढल्दै जाँदा पारस्परिक निष्कपटता अनि इमानदारीताले के भूमिका निर्वाह गर्छ?
१३ पति वा पत्नीबीच कुराकानी गर्ने बानी सधैं कायम राख्नुहोस्। आपसमा मन खोलेर कुरा गर्नुहोस्। (हितोपदेश १७:२७) त्यस्तै अर्को एक जना पति भन्छन्: “हामी एकअर्काको ख्याल राख्छौं। एकअर्काप्रति विवेकशील छौं। यसो गर्दा हामी एकअर्कालाई अझ नजीकबाट बुझ्दछौं। सहमति जनाउँदै पत्नी भन्छिन्: “हाम्रो उमेर ढल्दै गएको छ र अहिले सँगै बसेर चिया खाँदा, कुरा गर्दा तथा एकअर्कालाई सहयोग पुऱ्याउँदा ठूलो आनन्द अनुभव गर्न थालेका छौं।” मन खोलेर इमानदारीपूर्वक कुरा गर्दा वैवाहिक सम्बन्ध अझ बलियो हुनसक्छ। फलतः विवाह भक्षक शैतानले आक्रमण गर्दा तपाईंको विवाह विजयी हुनेछ।
आफ्ना नातिनातिनीहरूसित रमाइलो गर्नुहोस्
१४. तिमोथी ठूलो भएर मसीही बन्नमा उसको बज्यैले कस्तो भूमिका निर्वाह गरिन्?
१४ नातिनातिनीहरू बूढापाकाहरूका “मुकुट” हुन्। (हितोपदेश १७:६) नातिनातिनीहरूसित संगत गर्नु साँच्चै रमाइलो तथा स्फूर्तिदायी हुनसक्छ। बाइबलमा लोइसको प्रशंसा गरिएको छ। तिनले छोरी युनिससित मिलेर नाति तिमोथीलाई बाल्यकालदेखि आफ्नो विश्वास प्रकट गरिन्। आफ्नी आमा तथा बज्यैले बाइबलको सत्यलाई कति मोल गर्छन्, तिमोथीलाई सानै उमेरदेखि थाह थियो।—२ तिमोथी १:५; ३:१४, १५.
१५. नातिनातिनीको जीवनमा बाजेबज्यैले के योगदान दिनसक्छन् तर उनीहरूले के चाहिं गर्नु हुँदैन?
१५ अतः यो एउटा क्षेत्र हो जहाँ बाजेबज्यैले ठूलो योगदान दिनसक्छन्। बाजेबज्यै हो, तपाईंले यहोवाका उद्देश्यहरूको ज्ञान आफ्नो छोराछोरीलाई त सिकाउनुभयो। तर अब अझ अर्को पुस्तालाई पनि सिकाउन सक्नुहुन्छ! थुप्रै स-साना केटाकेटीहरूलाई आफ्नो बाजेबज्यैबाट बाइबलका कथाहरू सुन्न साह्रै रमाइलो लाग्छ! यसको अर्थ, छोराछोरीलाई बाइबलको सच्चाइ सिकाउने जिम्मेवारी बुबाको साटो पूर्णतः तपाईंले उठाउने होइन। (व्यवस्था ६:७) बरु, बुबालाई आफ्नो जिम्मेवारी उठाउन तपाईं मदत दिनुहुन्छ। तपाईंको प्रार्थना सधैं भजनरचयिताको यो बिन्तीजस्तै होस्: “हे परमेश्वर, म बूढो हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्। जबसम्म म अर्को पुस्तामा र पछि आउने हरेकलाई तपाईंको सामर्थ्य र शक्तिको घोषणा गरिसक्तिनँ।”—भजन ७१:१८; ७८:५, ६.
१६. आफू परिवारमा तनाउको कारण नहुनका लागि बाजेबज्यैले के गर्नुपर्छ?
१६ तर दुःखको कुरा, केही बाजेबज्यैले नातिनातिनीहरूलाई ज्यादै पुलपुल्याएर बिगार्छन्। फलतः बाजेबज्यै तथा तिनीहरूका वयस्क छोराछोरीबीच तनाउ उत्पन्न हुन्छ। तथापि, तपाईंको दयालु स्वभाव देखेर नातिनातिनीहरूले शायद तपाईंलाई कति कुराहरू सजिलैसित प्रकट गर्नसक्छन् जुन तिनीहरू आफ्ना आमाबाबुलाई बताउन चाहँदैनन्। शायद माया गर्ने बाजेबज्यैले आमाबाबुको पक्ष नलिएर आफ्नै पक्ष लिनेछन् भन्ने आशा नातिनातिनीले राख्नसक्छन्। यस्तो हुँदा के गर्ने? बुद्धि चलाउनुहोस्। नातिनातिनीहरूलाई आमाबाबुसित मन खोलेर कुरा गर्न प्रोत्साहित गर्नुहोस्। तिनीहरूले यसो गर्दा यहोवा प्रसन्न हुनुहुन्छ भनेर बताउनुहोस्। (एफिसी ६:१-३) आवश्यक परेमा आमाबाबुसित तपाईंले नै कुरा सुरु गर्न सक्नुहुन्छ। बितेका सालहरूको दौडान आफूले सिकेका कुराहरू नातिनातिनीहरूलाई खुलस्त बताउनुहोस्। तपाईंको इमानदारी अनि निष्कपटता तिनीहरूका लागि लाभदायक हुनसक्छ।
उमेरअनुसार काँटछाँट गर्नुहोस्
१७. भजनरचयिताको कुन चाहिं अठोटलाई पाका मसीहीहरूले अपनाउनुपर्छ?
१७ उमेर ढल्दै जाँदा तपाईं पहिले जति गर्नुहुन्थ्यो अथवा गर्न चाहनुहुन्छ, त्यो गर्न असमर्थ हुनुहुनेछ। अतः यो बुढेसकालको सामना कसरी गर्ने? मनमा आफू ३० वर्ष मात्र पुगेको जस्तो लाग्नसक्छ। तर ऐनामा हेर्दा वास्तविकता अर्कै देखिनसक्छ। निराश नहुनुहोस्। भजनरचयिताले यहोवासित यस्तो बिन्ती गरे: “बुढेसकालमा मलाई नत्याग्नुहोस्, मेरो बल घटेको बखतमा मलाई नछोडनुहोस्।” भजनरचयिताले गरेजस्तै अठोट तपाईं पनि गर्नुहोस्। उनले भने: “मचाहिं निरन्तर आशा गरिरहनेछु, औ ज्यादा तपाईंको प्रशंसा गर्नेछु।”—भजन ७१:९, १४.
१८. परिपक्व मसीहीहरूले अवकाशपछि समयको सदुपयोग कसरी गर्नसक्छन्?
१८ धेरैले कामबाट अवकाश लिएपछि अझ बढी यहोवाको प्रशंसा गाउने प्रबन्ध मिलाएका छन्। अवकाश लिएको एक जना पिता भन्छन्: “छोरीले स्कूल छाडेपछि मैले के गर्ने, पहिल्यै योजना बनाएँ। मैले पूर्ण-समय प्रचारकार्य सुरु गर्ने अठोट गरें। यहोवाको सेवा अझ पूर्ण रूपले गर्न आफ्नो कारोबार बेचबिखन गरें। प्रार्थनामा परमेश्वरसित निर्देशन मागें।” तपाईंको पनि अवकाश लिने उमेर हुँदैछ भने, हाम्रो महान् सृष्टिकर्ताको यो घोषणाबाट सान्त्वना प्राप्त गर्नुहोस्: “तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु। औ तिमीहरूका कपाल फुलेको अवस्थासम्म पनि म तिमीहरूलाई बोक्नेछु।”—यशैया ४६:४.
१९. पाका हुन थालेकाहरूलाई के सल्लाह दिइएको छ?
१९ कामबाट अवकाश लिएपछि आवश्यक छाँटकाँट गर्नु सजिलो नहोला। प्रेरित पावलले वृद्ध मानिसहरूलाई “परहेजी” हुने सल्लाह दिए। यसका लागि सामान्यतः आत्मसंयम चाहिन्छ। आरामको जीवन बिताउने प्रवृत्तिसित सङ्घर्ष गर्नुपर्छ। अवकाश लिएपछि सम्भवतः पहिलेभन्दा समयतालिका तथा आत्मसंयमको बढी आवश्यकता पर्नसक्छ। अतः व्यस्त रहनुहोस्। “सधैं प्रभुको काममा प्रशस्त हुँदै” जानुहोस्। किनकि तपाईंको “परिश्रम प्रभुमा व्यर्थ” हुँदैन। (१ कोरिन्थी १५:५८) ठूलो मनको भएर अरूको हित हुने गतिविधिहरूमा भाग लिनुहोस्। (२ कोरिन्थी ६:१३) यसका लागि धेरै मसीहीहरू आफ्नो उमेरअनुसार जोशका साथ सुसमाचार प्रचार गर्छन्। पाको हुँदै जाँदा “विश्वास, प्रेम र धीरजमा पक्का” बन्नुहोस्।—तितस २:२.
आफ्नो पति वा पत्नीको मृत्यु हुँदा
२०, २१. (क) वर्तमान रीतिरिवाज रहुञ्जेल पतिपत्नी कुन कारणवश छुट्टिनैपर्छ? (ख) शोकाकुल पति वा पत्नीका लागि हन्नाले कुन चाहिं राम्रो उदाहरण कायम गरिन्?
२० पतिपत्नीहरू अन्ततः मरेर अलग्गिनु वर्तमान रीतिरिवाजको दुःखद वास्तविकता हो। शोकाकुल मसीहीले आफ्नो प्रिय जीवनसाथी निदाएको मात्र हो भन्ने विश्वास गर्छ। तिनीसित फेरि भेट हुने आशा गर्छ। (यूहन्ना ११:११, २५) तैपनि क्षति दुःखलाग्दो नै हुन्छ। यस्तो परिस्थितिसित कसरी डट्ने? a
२१ बाइबलमा उल्लिखित एक व्यक्तिले गरेको कुरा सम्झनुहोस्। विवाह भएको सात वर्षपछि नै हन्ना विधवा भइन्। बाइबलमा तिनको चर्चा हुँदा तिनी ८४ वर्ष पुगिसकेकी थिइन्। पतिको मृत्यु हुँदा तिनी निश्चय शोकले विह्वल भई होलिन्। तिनले त्यो शोकको सामना कसरी गरिन्? तिनले दिनरात यहोवा परमेश्वरलाई उहाँको मन्दिरमा पवित्र सेवा चढाउने गरिन्। (लूका २:३६-३८) प्रार्थना तथा ईश्वर-सेवाले गर्दा यस विधवाको एकाकीपन तथा शोक धेरै कम भएको हुनुपर्छ।
२२. पति वा पत्नीको मृत्यु भएका मानिसहरूले एकाकीपनको सामना कसरी गरेका छन्?
२२ दश वर्षअघि विधवा भएकी ७२ वर्षीया स्त्री भन्छिन्: “कुरा गर्ने साथी नहुनु नै मेरो सबैभन्दा ठूलो समस्या भएको छ। मेरो पतिले मेरो कुरा राम्ररी सुन्ने गर्नुहुन्थ्यो। हामी मण्डली तथा मसीही सेवकाईसम्बन्धी छलफल गर्थ्यौं।” अर्की विधवा भन्छिन्: “समय बित्दै जाँदा चोट आफै निको हुन्छ भनिन्छ। तर मेरो विचारमा चोट निको हुनु या नहुनु त समय कसरी बिताइन्छ, यसैमा भर गर्छ। एक्लो भएकोले तपाईं अरूलाई मदत गर्न अझ सक्षम हुनुहुन्छ।” एक जना ६७ वर्षीय विदुर यसो भन्दै सहमति जनाउँछन्: “शोकसित डट्ने एउटा सुन्दर उपाय अरू शोकाकुल व्यक्तिहरूलाई सान्त्वना दिनु हो।”
बुढेसकालमा परमेश्वरसामु मूल्यवान्
२३, २४. पाकाहरू र विशेषतः मृत्युको कारण आफ्नो पति वा पत्नीबाट अलग्गिएकाहरूका लागि बाइबलमा कुन चाहिं ठूलो सान्त्वना उपलब्ध छ?
२३ मृत्युको कारण आफ्नो प्रिय जीवनसाथीबाट छुट्टिनु परे तापनि यहोवाको साथ कहिल्यै छुट्दैन। उहाँ सधैं हाम्रो साथ हुनुहुन्छ। पुरातन राजा दाऊदले भजनमा यसो भने: “एउटै कुरा मैले परमप्रभुसित मागेको छु, म त्यसैको खोजी गर्नेछु, कि परमप्रभुको शोभा हेर्न, र उहाँको मन्दिरमा ध्यान दिन जीवनभर म परमप्रभुको भवनमा रहनपाऊँ।”—भजन २७:४.
२४ प्रेरित पावल आग्रह गर्छन्: “विधवाहरूलाई, जो साँच्चिनै विधवा छन्, आदर गर।” (१ तिमोथी ५:३) यो निर्देशनपश्चात् दिइएको सल्लाहले नजीकको कुनै नातेदार नहुने योग्य विधवाहरूलाई मण्डलीबाट भौतिक मदत चाहिएको हुनसक्छ भन्ने संकेत गर्छ। तथापि, “आदर” गर भन्ने उपदेशको मूल अर्थ, कदर गर्नु हो। हो, यहोवाले विधवा तथा विदुरहरूको कदर गर्नुहुन्छ, तिनीहरूलाई थाम्नुहुन्छ। यो कति सान्त्वनादायी कुरा हो!—याकूब १:२७.
२५. वृद्ध मानिसहरूले अझै कुन लक्ष्य राख्नसक्छन्?
२५ परमेश्वरको प्रेरित वचन भन्छ: “फूलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।” (हितोपदेश १६:३१; २०:२९) अतः तपाईं विवाहित होस् वा जीवनसाथीबिना पुनः एक्लो जीवन बिताइरहनुभएको होस्, यहोवाको सेवालाई प्राथमिकता दिन नछाड्नुहोस्। यसो गर्नुभएमा परमेश्वरसित राम्रो नाउँ कमाउनुका साथै कष्टमय बुढेसकाल नहुने संसारमा तपाईंले अनन्त जीवन पाउने आशा राख्न सक्नुहुन्छ।—भजन ३७:३-५; यशैया ६५:२०.
a विस्तृत जानकारीका लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित तपाईंको प्रिय जनको मृत्यु हुँदा (अङ्ग्रेजी) पुस्तिका हेर्नुहोस्।
-
-
हाम्रा वृद्ध आमाबाबुको मान गर्नेपारिवारिक आनन्दको रहस्य
-
-
अध्याय पन्ध्र
हाम्रा वृद्ध आमाबाबुको मान गर्ने
“तँलाई जीवन दिने तेरो बाबुका वचन सुन्, औ आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्” भन्दै धेरैअघि बुद्धिमान मानिसले सल्लाह दिए। (हितोपदेश २३:२२) तर तपाईं भन्नुहोला, ‘म कहिल्यै आमाबाबुसित दुर्व्यवहार गर्दिनँ!’ आमाबाबुको हेलचक्य्राइँ गर्नुको साटो धेरैको मनमा तिनीहरूप्रति गहिरो प्रेम हुन्छ। हामी उनीहरूको ऋण कहिल्यै तिर्न सक्दैनौं। उनीहरूले हामीलाई जीवन दिए। हो, जीवनको स्रोत यहोवा हुनुहुन्छ। तापनि हाम्रा आमाबाबु नहुँदा हुन् त हामी पनि हुने थिएनौं। उनीहरूले दिएको जीवनको तुलनामा हामी उनीहरूलाई केही दिन सक्दैनौं। यति मात्र होइन। सोच्नुहोस्, हामी बालकदेखि वयस्क नहोऊञ्जेल उनीहरूले हाम्रोलागि कति त्याग, चिन्ता, खर्च गरे होलान्। कति प्रेमपूर्वक हाम्रो देखरेख गरेको हुनुपर्छ। यसैकारण त परमेश्वरको वचनमा पाइने यो आदेश उपयुक्त छ: “आफ्ना बाबु र आमाको मान गर . . . र तिमीलाई भलो होस्, र पृथ्वीमा तिम्रो दीर्घायु होस्।”—एफिसी ६:२, ३.
भावनात्मक आवश्यकताहरूलाई मान्यता दिने
२ प्रेरित पत्रुसले मसीहीहरूलाई यसप्रकार लेखे: “. . . छोरा-छोरी अथवा नाति-नातिनीहरू[ले] . . . आफ्नै परिवारमा दया देखाऊन् र आफ्ना माता-पितालाई प्रत्युपकारको साटो तिर्न सिकून्, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ।” (१ तिमोथी ५:४) आमाबाबु तथा बाजेबज्यैले वर्षौंदेखि गरेको प्रेम, परिश्रम र चासोको कदर गर्दै हुर्केका छोराछोरीले “प्रत्युपकारको साटो” तिर्छन्। यसो गर्दा सम्झनुपर्ने कुरा एउटा के हो भने, सबै जनालाई झैं बूढापाकालाई पनि प्रेमको ठूलो खाँचो पर्छ। उनीहरू हाम्रो प्रेममा निर्धक्क हुन चाहन्छन्। हामीजस्तै उनीहरू पनि आदरका भोका हुन्छन्। उनीहरू पनि आफ्नो जीवनको मोल भएको महसुस गर्न चाहन्छन्।
३ तसर्थ, आमाबाबु तथा बाजेबज्यैलाई आफ्नो माया देखाउनुपर्छ। यो पनि उनीहरूको मान गर्ने एउटा तरिका हो। (१ कोरिन्थी १६:१४) हामीदेखि टाढा बस्ने आमाबाबु हामीसित बराबर सम्पर्क राख्न पाउँदा अत्यन्त खुशी हुन्छन् भनेर हामीले सम्झनुपर्छ। रमाइलो पत्र, फोन अथवा भेटघाटबाट उनीहरू ज्यादै आनन्दित बन्नसक्छन्। जापानकी ८२ वर्षीया मियोले लेखिन्: “मेरी छोरी [जसको पति परिभ्रमण निरीक्षक हुन्] मलाई भन्छेः ‘आमा, तपाईं पनि हामी सँगसँगै “यात्रा” गर्नुहोस्।’ अनि उसले आफ्नो यात्रा-तालिका, कुन हप्ता कुन मण्डलीमा हुनेछ, त्यसको नाउँ र त्यहाँको फोन नम्बर जम्मै मलाई दिन्छे। यसले गर्दा म आफ्नो मानचित्र खोलेर ‘लौ, छोरी र ज्वाइँ अहिले त्यहाँ छन्’ भन्नसक्छु। यस्तो छोरी पाएकोमा म सधैं यहोवालाई धन्यवाद दिन्छु।”
भौतिक आवश्यकताहरू पूरा गर्ने मदत
४ आमाबाबुको मान गर्नेले उनीहरूका भौतिक आवश्यकताहरूको पनि हेरविचार गर्नु आवश्यक पर्नसक्छ र? प्रायः पर्नसक्छ। येशूको समयमा आफ्नो पैसा वा सम्पत्ति ‘परमेश्वरलाई दिएको छु’ भन्ने मान्छे आमाबाबुको रेखदेख गर्ने जिम्मेवारीबाट मुक्त हुन्छ भन्ने परम्परालाई यहूदी धार्मिक नेताहरू समर्थन गर्थे। (मत्ती १५:३-६) कस्तो कठोरता! ती धर्मगुरुहरूले मानिसहरूलाई आ-आफ्नो आमाबाबुको अनादर गर्न प्रोत्साहित गर्दै थिए। स्वार्थी भएर आमाबाबुका आवश्यकताहरूको उपेक्षा गर्दै उनीहरूको हेलचक्य्राइँ गर्न उक्साइरहेका थिए। हामी कदापि त्यस्तो गर्न चाहँदैनौं!—व्यवस्था २७:१६.
५ आज थुप्रै देशहरूमा बूढापाकाहरूका लागि खानेकुरा, कपडा तथा बस्ने घरजस्ता केही भौतिक आवश्यकताहरू उपलब्ध गराउने सरकारी योजनाहरू छन्। यसबाहेक, स्वयं बूढापाकाहरूले पनि आफ्नो बुढेसकालका लागि केही न केही व्यवस्था मिलाएका हुन्छन्। तर यी योजना तथा प्रबन्धहरू यथेष्ट नहुँदा चाहिं छोराछोरीले आमाबाबुका आवश्यकताहरू यथासम्भव पूरा गरेर उनीहरूको आदर गर्छन्। वृद्ध आमाबाबुको हेरविचार गर्नु वास्तवमा ईश्वरीय भक्ति अर्थात् परिवारको आरम्भक यहोवा परमेश्वरको भक्ति गर्नु हो।
प्रेम तथा आत्मत्याग
६ आफ्ना कमजोर आमाबाबुको रेखदेख गर्न थुप्रै वयस्क छोराछोरीले प्रेम तथा आत्मत्यागको भाव देखाएका छन्। कतिले आमाबाबुलाई आफूसितै राखेका छन् अथवा आमाबाबुको नजीक हुन बसाइँ सरेका छन्। अरू चाहिं बसाइँ सरेर आफ्नै आमाबाबुसँग बसेका छन्। यस्तो कदम अक्सर आमाबाबु तथा छोराछोरी दुवैका लागि लाभप्रद साबित भएको छ।
७ तर कहिलेकाहीं चाहिं नतिजा राम्रो भएको छैन। किन? किनभने सम्भवतः राम्ररी नसोचीकन अथवा आवेगमा आएर फैसला गरेको हुनसक्छ। बाइबलले बुद्धिमतापूर्ण ढंगमा यसरी सावधान गराउँछ: “चतुर मानिसले प्रमाणको आवश्यकतालाई बुझ्छ।” (हितोपदेश १४:१५) उदाहरणका लागि, तपाईंकी आमालाई एक्लै बस्न गाह्रो भइरहेको होला। तपाईंको विचारमा शायद तिनी तपाईंसितै बसेमा राम्रो हुन्छ भन्ने लाग्ला। तर चतुर मानिसले झैं तपाईंले पनि पहिले यस्ता केही प्रश्नहरूमाथि विचार गर्नु बेस हुनेछ: आमालाई वास्तवमा के चाहिएको छ? के तिनको समस्या कुनै सरकारी अथवा परोपकारी योजनाहरूद्वारा समाधान हुनसक्छ कि? के तिनी बसाइँ सर्न चाहन्छिन्? सरिन् भने, तिनले के कस्ता परिवर्तनहरूको सामना गर्नेछिन्? के तिनी आफ्ना मित्रहरूदेखि टाढा हुनेछिन्? तिनका भावनाहरूमा यसले कस्तो प्रभाव पार्नेछ? यी कुराहरूबारे के तपाईंले तिनीसित छलफल गर्नुभएको छ? तिनी बसाइँ सर्दा तपाईं, तपाईंको पति वा पत्नी तथा छोराछोरीहरूमाथि कस्तो असर पर्नेछ? आमालाई स्याहारसुसारको खाँचो छ भने, सुसारे को हुनेछ? यो जिम्मेवारी बाँड्न सकिन्छ? परिवारका अन्य सम्बन्धित सदस्यहरूसित यसबारे के तपाईंले छलफल गर्नुभएको छ?
८ आमाबाबुको स्याहारसुसार गर्ने जिम्मेवारी परिवारका जम्मै छोराछोरीहरूको हो। अतः कुनै पनि फैसला गर्नुअघि सपरिवार मिलेर छलफल गर्नु बेस हो। मसीही मण्डलीका प्राचीनहरूसित तथा यस्तै समस्या झेलीसकेका मित्रहरूसित पनि कुरा गर्नु लाभप्रद हुनसक्छ। किनभने बाइबलले यो चेताउनी दिन्छ: “परामर्श विनाको योजना विफल हुन्छ तर धेरै सोचेर गरेको योजना सफल हुन्छ।”—हितोपदेश १५:२२.
संवेदनशीलता तथा समानुभूति दर्साउनुहोस्
आमा वा बुबासित छलफल नगरी तिनका लागि निर्णय गर्नु बुद्धिमानी कुरा होइन
९ वृद्ध आमाबाबुको आदर गर्दा संवेदनशीलता तथा समानुभूति चाहिन्छ। उमेर ढल्दै जाँदा उनीहरूलाई हिंड्न, खान तथा कुराहरू सम्झिरहन झन् झन् गाह्रो हुनसक्छ। उनीहरूलाई मदतको खाँचो पर्ला। उनीहरूबारे छोराछोरीहरू अक्सर निकै चिन्तित भएर सल्लाह दिने कोसिस गर्छन्। तर बुज्रुक आमाबाबुहरू वयस्कहरू हुन्। उनीहरूसित अझ पनि वर्षौंदेखि आर्जन गरेको बुद्धि तथा अनुभवको भण्डार हुन्छ। उनीहरूले जीवनभरि आफ्नो देखभाल तथा आफ्ना फैसलाहरू आफै गर्दै आएका हुन्छन्। आमाबाबु र वयस्कको भूमिकामा नै उनीहरूले आत्मसम्मान र अस्तित्वको अनुभव गरेका हुनसक्छन्। तसर्थ, पूर्णतः छोराछोरीको वशमा बस्नु पर्दा केही आमाबाबुहरू अप्रसन्न तथा निराश हुनसक्छन्। केही आमाबाबु चाहिं आफ्नो स्वतन्त्रताको हस्तक्षेप भएको ठान्दै सकेसम्म विरोध गर्छन्।
१० हो, यी समस्याहरू सजिलै समाधान गर्न सकिंदैन। तापनि आमाबाबुलाई उनीहरूको हेरविचार तथा निजी फैसलाहरू सकेसम्म उनीहरू आफैलाई गर्नदिनु उनीहरूमाथि कृपा गर्नु हो। कुनै फैसला उनीहरूको हितकै लागि हो भने पनि उनीहरूसित छलफल नगरी फैसला गर्नु बुद्धिमानी कुरा होइन। उमेर सँगसँगै उनीहरूको आत्मनिर्भरता घट्दै जान्छ। अतः जे जति बाँकी होला, त्यो पनि खोस्ने प्रयास नगर्नुहोस्। तपाईंले आमाबाबुलाई वशमा राख्ने जति कम कोसिस गर्नुहुन्छ, उनीहरूसित तपाईंको सम्बन्ध उति नै राम्रो हुनेछ। उनीहरू खुशी हुँदा तपाईं पनि खुशी हुनुहुनेछ। उनीहरूकै हितका लागि कहिलेकाहीं जिद्दी गर्नु आवश्यक परे तापनि, नबिर्सनुहोस्, आमाबाबुको मान गर्नुको अर्थ उनीहरूको सम्मान गर्नु अनि मानमर्यादा राख्नु हो। परमेश्वरको वचन आग्रह गर्छ: “बूढ़ा-पाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर।”—लेवी १९:३२.
सही मनोवृत्ति कायम राख्ने
११ तर कहिलेकाहीं हुर्केका छोरीछोरीलाई आफ्ना वृद्ध आमाबाबुको मान गर्न गाह्रो लाग्छ। सम्भवतः केटाकेटी छँदा आमाबाबुले राम्रो व्यवहार नगरेका हुनसक्छन्। शायद बाबुको स्वभाव मायालु थिएन होला र आमाले पनि कठोर व्यवहार गरेकी हुन सक्छे। उनीहरू तपाईंले चाहेको जस्तो आमाबाबु थिएनन् होला। त्यसले गर्दा शायद तपाईं अझसम्मै विचलित, क्रोधित तथा दुःखी हुनुहोला। यस्ता भावनाहरूमाथि के तपाईं विजयी हुन सक्नुहुन्छ?a
१२ फिन्लैण्डमा हुर्केका बासे भन्छ: “मेरो सौतिनी बुबा पहिले नाजी जर्मनीमा विशेष सैन्य दलका अफसर हुनुहुन्थ्यो। उहाँलाई तुरुन्तै रीस उठ्थ्यो र त्यसपछि उहाँ खतरनाक व्यवहार गर्नुहुन्थ्यो। उहाँले कति पटक मेरै अघि आमालाई पिट्नुभएको छ। एक दिन मसित रीसाउनुभएको बेलामा मलाई जोडसित पेटीले मुखैमा हान्नुभएको छ। म रन्थनिएर खाटमा लडें।”
१३ तथापि, उहाँको असल गुन पनि थियो। बासे भन्छ: “बुबा धेरै परिश्रमी हुनुहुन्थ्यो। परिवारका भौतिक आवश्यकताहरू पूरा गर्न उहाँ जे पनि गर्न तयार हुनुहुन्थ्यो। उहाँले मलाई कहिल्यै माया देखाउनुभएन। तर उहाँ आफैले केटाकेटी छँदै भावनात्मक चोट खानुभएको कुरा मलाई थाह थियो। उहाँकी आमाले उहाँलाई कलिलै उमेरमा घरबाट निकालिदिनुभएको थियो। उहाँ मारपिट गर्दै हुर्कनुभएको थियो र जवान छँदै सेनामा भर्ना हुनुभयो। केही हदसम्म उहाँप्रति मेरो सहानुभूति थियो। उहाँ पूर्णतः दोषी हुनुहुन्न थियो। म अलिक हुर्केपछि उहाँ सिकिस्त बिरामी पर्नुभयो। उहाँ नमरूञ्जेल म उहाँको सकेसम्म मदत गर्न इच्छुक थिएँ। तर सजिलो थिएन। तापनि उहाँलाई यथाशक्य मदत गरें। अन्तसम्मै म उहाँको असल छोरा हुने प्रयास गरें र मलाई लाग्छ उहाँले पनि मलाई असल छोराकै रूपमा स्वीकार्नुभयो।”
१४ अन्य परिस्थितिमा जस्तै पारिवारिक मामिलाहरूमा पनि बाइबलको यो उपदेश लागू हुन्छ: “परमेश्वरका चुनिएकाहरूझैं पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर। एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।”—कलस्सी ३:१२, १३.
सुसारेहरूलाई पनि स्याहारसुसार चाहिन्छ
१५ बिरामी आमा वा बुबाको सुसारे हुनु सजिलो हुँदैन। बिहानदेखि बेलुकीसम्म अनगिन्ती काम तथा थुप्रै जिम्मेवारीहरू भ्याउनुपर्छ। तर यसको सबैभन्दा गाह्रो भाग चाहिं भावनात्मक हो। आफ्नो आमाबाबुको स्वास्थ्य बिग्रँदै गएको तथा उनीहरूको स्मरणशक्ति क्षीण हुँदै गएको र उनीहरू आफ्नो खुट्टामा उभिन असमर्थ हुँदै गएको देख्दा साह्रै दुःख लाग्नसक्छ। पोर्टो रिकोकी स्यान्डी भन्छे: “परिवारको केन्द्रबिन्दु नै मेरी आमा हुनुहुन्थ्यो। उहाँले दुःख पाउनुभएको देख्दा र उहाँको स्याहारसुसार गर्दा हृदय दुःखले भरिन्थ्यो। प्रथमत: उहाँ खोच्याएर हिंड्न थाल्नुभयो; त्यसपछि उहाँलाई लट्ठी चाहियो। अनि वैशाखी र यसपछि गुड्ने मेच। त्यसपछि उहाँको हालत मरणोपरान्त झन् झन् बिग्रँदै गयो। हाडमा अर्बुद रोग लागेकोले दिनरात उहाँलाई स्याहारसुसारको खाँचो पर्थ्यो। हामी उहाँलाई नुहाइदिन्थ्यौं, खुवाउँथ्यौं, उहाँको लागि पढेर सुनाउँथ्यौं। यसो गर्नु धेरै गाह्रो थियो—विशेषगरि भावनात्मक तवरमा। मेरी आमा मर्न लागेकी देख्दा, म रुन्थें। मलाई उहाँको असाध्यै माया लाग्थ्यो।”
१६ यस्तै परिस्थितिको सामना गर्नु परेमा तपाईं के गर्न सक्नुहुन्छ? बाइबल पढेर यहोवाको वाणी सुन्नु र प्रार्थनाद्वारा उहाँसित कुरा गर्नु धेरै मदतकारी हुनसक्छ। (फिलिप्पी ४:६, ७) व्यवहारिक तवरमा सन्तुलित आहार तथा प्रशस्त आराम लिने गर्नुहोस्। यसरी आफ्नो प्रियजनको स्याहारसुसार गर्न तपाईं भावनात्मक तथा शारीरिक तवरमा समर्थ हुनुहुनेछ। कहिलेकाहीं फुर्सत निकालेर बाहिर जाने प्रबन्ध पनि मिलाउनुहोस्। लामो बिदामा जान सम्भव नभए पनि आराम गर्ने समय निकाल्नु राम्रो हो। आफ्नो बिरामी आमा वा बुबासित केही समयका लागि अरू कसैलाई राख्ने प्रबन्ध मिलाउन सकिन्छ।
१७ अक्सर वयस्क सुसारेहरू आफ्नो क्षमताभन्दा बढी गर्न खोज्छन्। तर आफ्नो क्षमताभन्दा बढी गर्न नसक्दा दोषी भावले पीडित नहुनुहोस्। परिस्थितिवश आफ्नो प्रियजनको स्याहारसुसार नर्सिङ होमलाई सुम्पन आवश्यक पर्नसक्छ। तपाईं सुसारे हुनुहुन्छ भने, सक्दोभन्दा बढी गर्ने कोसिस नगर्नुहोस्। तपाईंले आफ्ना आमाबाबुका आवश्यकताहरूलाई मात्र होइन, तर आफ्ना छोराछोरी, पति वा पत्नी र आफ्नै आवश्यकतालाई पनि सन्तुलनमा राख्नुपर्छ।
असाधारण सामर्थ्य
१८ बिरामी आमाबाबुको स्याहारसुसार गर्ने व्यक्तिलाई धेरै कामलाग्दा निर्देशनहरू यहोवाले प्रेमपूर्वक आफ्नो वचन बाइबलद्वारा दिनुहुन्छ। तर यहोवाले दिनुहुने मदत यति मात्र होइन। भजनरचयिताले प्रेरणाद्वारा लेखे: “उहाँमा पुकारा गर्ने सबैका नजीक परमप्रभु हुनुहुन्छ। . . . उहाँले तिनीहरूको पुकारा पनि सुन्नुहुनेछ र तिनीहरूलाई बचाउनुहुनेछ।”—भजन १४५:१८, १९.
१९ यसको अनुभव फिलिपिन्समा बस्ने मर्नालाई आफ्नी आमाको स्याहारसुसार गर्दा भयो। तिनकी आमा पक्षाघातले गर्दा पूर्णतः असहाय थिइन्। मर्ना लेख्छिन्: “आफ्नो प्रिय व्यक्तिलाई पीडित तथा आफ्नो दुःख व्यक्त गर्न असमर्थ देख्नुजस्तो निराशाजनक कुरा अरू केही हुनसक्दैन। मलाई लाग्थ्यो, तिनी बिस्तारै डुबी रहेछिन् र म केही गर्न नसकेर हेरिरहेछु। कैयौं पटक म घुँडा टेकेर यहोवासित प्रार्थना गर्थें। म आफ्नो सारा थकान उहाँलाई पोख्थें। यहोवाले उनको आँसु भाँडामा साँचेर राखिदिऊन्, उनको स्मरण गरून् भनी दाऊदले बिन्ती गरेझैं म पनि रोईरोई यहोवालाई पुकार्थें। [भजन ५६:८] अनि यहोवाले आफ्नो प्रतिज्ञाबमोजिम मलाई चाहिएको शक्ति दिनुभयो। ‘यहोवा मेरो आड हुनुभयो।’ ”—भजन १८:१८.
२० भनिन्छ, वृद्ध आमाबाबुको स्याहारसुसार गर्नु “वियोगान्त कथा हो।” सक्दोभर राम्रो रेखदेख गर्दागर्दै पनि वृद्ध आमाबाबुहरू मर्नाकी आमाजस्तै मरिहाल्छन्। तर यहोवामा भरोसा राख्नेहरूलाई थाह छ हाम्रो कथा मृत्युमै टुंगिदैन। प्रेरित पावलले भने: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ भन्ने आशा परमेश्वरतर्फ राखेको छु।” (प्रेरित २४:१५) ज-जसका वृद्ध आमाबाबुहरू मरेका छन्, उनीहरूले पुनरुत्थानको आशाबाट ठूलो सान्त्वना पाएका छन्। तिनीहरूले उत्सुकतासाथ परमेश्वरको प्रतिज्ञाकृत नयाँ संसारको बाटो हेर्छन् जहाँ “फेरि मृत्यु हुनेछैन।”—प्रकाश २१:४.
२१ परमेश्वरका सेवकहरूले आफ्ना आमाबाबु वृद्ध हुँदा पनि उनीहरूको ठूलो मान गर्छन्। (हितोपदेश २३:२२-२४) उनीहरूको आदर गर्छन्। अतः ईश्वरप्रेरित हितोपदेशको यो कुरा आफ्नो जीवनमा साक्षात् अनुभव गर्छन्: “तेरा आमाबाबुलाई खुशी हुने केही कारण होस्, तँलाई जन्म दिने आमाले रमाहट गरोस्।” (हितोपदेश २३:२५) सबैभन्दा मुख्य कुरा, आफ्ना वृद्ध आमाबाबुको मान गर्नेहरूले यहोवा परमेश्वरको मान गर्नुका साथै प्रसन्न तुल्याउँछन्।
a हामी यहाँ ती परिस्थितिहरूबारे कुरा गरेका छैनौं जहाँ आमाबाबुहरूले कानुन विपरीत आफ्नो शक्ति तथा अख्तियारको घोर दुरुपयोग गरेका हुन्छन्।
-
-
आफ्नो परिवारका लागि अनन्तकालीन भविष्य हासिल गर्नुहोस्पारिवारिक आनन्दको रहस्य
-
-
अध्याय सोह्र
आफ्नो परिवारका लागि अनन्तकालीन भविष्य हासिल गर्नुहोस्
१. परिवारका लागि यहोवाको उद्देश्य के थियो?
यहोवाले आदम र हव्वाको विवाह गरिदिनुहुँदा आदमले हिब्रू भाषाको प्रथम कविता वाचन गर्दै आफ्नो आनन्द प्रकट गरे। (उत्पत्ति २:२२, २३) तथापि, सृष्टिकर्ताको उद्देश्य आफ्नो मानव सन्तानलाई आनन्दित तुल्याउनु मात्र थिएन। पतिपत्नी तथा परिवारहरूले मिलेर उहाँको इच्छा पूरा गरेको उहाँ चाहनुहुन्थ्यो। उहाँले प्रथम मानव जोडीलाई यसो भन्नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” (उत्पत्ति १:२८) कति फलदायी काम! पूर्णतः आज्ञाकारी हुँदै यहोवाको इच्छा गरेको भए आदम, हव्वा तथा उनीहरूका भावी सन्तान कति खुशी हुनेथिए!
२, ३. परिवारहरूले आज सबैभन्दा ठूलो आशिष् कसरी पाउनसक्छन्?
२ आज पनि मिलेर परमेश्वरको इच्छा गर्दा परिवारहरू अत्यन्त सुखी हुन्छन्। प्रेरित पावलले लेखे: “शारीरिक साधन थोरैको निम्ति उपयोगी हुन्छ, तर भक्तिचाहिं अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा भएका सबै कुराको निम्ति उपयोगी हुन्छ।” (१ तिमोथी ४:८) बाइबलमा उल्लिखित यहोवाको निर्देशनअनुसार तथा ईश्वरीय भक्तिसाथ हिंड्ने परिवारले “अहिले भइरहेको र पछि हुनेसमेत जीवनमा” पनि आनन्द अनुभव गर्नेछ। (भजन १:१-३; ११९:१०५; २ तिमोथी ३:१६) बाइबल सिद्धान्तलाई परिवारको एक जनाले मात्र प्रयोगमा ल्याउँदा पनि स्थिति धेरै राम्रो हुनसक्छ।
३ पारिवारिक सुख बढाउने बाइबलका धेरै सिद्धान्तहरू यस पुस्तकमा छलफल गरिएका छन्। केही सिद्धान्तहरू चाहिं पुस्तकभरि दोहोऱ्याइएको तपाईंले याद गर्नुभयो होला। किन? किनभने ती सिद्धान्तहरू शक्तिशाली सच्चाइहरूमा आधारित छन्। ती पारिवारिक जीवनको हरेक क्षेत्रमा उपयोगी हुन्छन्। बाइबलका ती सिद्धान्तहरूअनुसार जीवन बिताउन खोज्ने परिवारले ईश्वरीय भक्ति वास्तवमा ‘अहिलेको जीवनका लागि उपयोगी’ छ भन्ने कुरा अनुभव गर्नेछ। ती महत्त्वपूर्ण सिद्धान्तहरूमध्ये चारवटालाई अब फेरि नियालेर हेरौं।
आत्मसंयमको महत्त्व
४. वैवाहिक जीवनमा आत्मसंयम किन महत्त्वपूर्ण हुन्छ?
४ राजा सुलेमानले भने: “जुन मानिसले आफ्नो रीस थाम्नसक्तैन त्यो मानिस शत्रुको आक्रमणको निम्ति पर्खालबिनाको शहरजस्तै हो।” (हितोपदेश २५:२८; २९:११) सुखी वैवाहिक जीवन चाहनेहरूका लागि ‘रीस थाम्नु’ अथवा आत्मसंयम प्रयोगमा ल्याउनु अत्यावश्यक छ। क्रोध तथा अनैतिक कामवासनाजस्ता विनाशक भावहरूको वशमा पर्दा वर्षौंपछि पनि सच्याउन नसक्ने गल्तीहरू हुनसक्छन्।
५. असिद्ध मानिसले आत्मसंयम कसरी खेती गर्नसक्छ र यसबाट के कस्तो लाभ हुन्छ?
५ हुन त आदमको कुनै पनि सन्तानले आफ्नो असिद्ध शरीरलाई पूर्णतः वशमा राख्नसक्दैन। (रोमी ७:२१, २२) तापनि आत्मसंयम पवित्र आत्माको एउटा फल हो। (गलाती ५:२२, २३) अतः परमेश्वरको आत्माले हामीमा आत्मसंयम विकसित गराउनसक्छ। तर यसका लागि हामीले प्रार्थना गर्नुपर्छ, शास्त्रमा उल्लिखित उपयुक्त सल्लाहलाई प्रयोगमा ल्याउनुपर्छ, त्यस्तो गुन प्रदर्शित गर्नेहरूसित संगत गर्नुपर्छ तथा प्रदर्शित नगर्नेहरूदेखि अलग्गै बस्नुपर्छ। (भजन ११९:१००, १०१, १३०; हितोपदेश १३:२०; १ पत्रुस ४:७) यसो गरिरहयौं भने, परीक्षामा पर्दासमेत हामी “व्यभिचारदेखि अलग” रहनसक्नेछौं। (१ कोरिन्थी ६:१८) हामी हिंसाको विरोध गर्नेछौं र मद्यपानको दुर्व्यसनमाथि विजयी हुनेछौं। रीस उठ्ने तथा कठिन परिस्थितिहरूसामु पनि शान्त हुनसक्नेछौं। साना केटाकेटीलगायत सबैले आत्माको यो अत्यावश्यक गुन विकसित गर्न सिकून्।—भजन ११९:१, २.
अगुवाइप्रति सही दृष्टिकोण
६. (क) अगुवाइसम्बन्धी ईश्वर-स्थापित प्रबन्ध के हो? (ख) आफूले गरेको अगुवाइबाट परिवारलाई सुखी बनाउने हो भने मानिसले कुन कुरा सम्झिराख्नुपर्छ?
६ अगुवाइ स्वीकार्नु दोस्रो महत्त्वपूर्ण सिद्धान्त हो। पावलले अगुवाइसम्बन्धी यो व्याख्या गरे: “तर तिमीहरूले यो जान भन्ने म चाहन्छु, कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरुष हो, र ख्रीष्टका शिर परमेश्वर हुनुहुन्छ।” (१ कोरिन्थी ११:३) यसको अर्थ परिवारमा पतिले अगुवाइ लिनुपर्छ, पत्नीले वफादारीसाथ उनलाई सहयोग गर्नुपर्छ र छोराछोरीले चाहिं आमाबाबुको आज्ञा मान्नुपर्छ। (एफिसी ५:२२-२५, २८-३३; ६:१-४) तर नबिर्सनुहोस्, अगुवाइ पनि उचित रीतिले गरिएको छ भने मात्र परिवार सुखी हुनसक्छ। अगुवाइ गर्नुको अर्थ, तानाशाह हुनु होइन भनी ईश्वरीय भक्तिअनुसार हिंड्ने पतिहरूले बुझेका हुन्छन्। उनीहरूले आफ्नो शिर येशूको अनुकरण गर्छन्। येशू “सबै कुराको शिर” हुनुहुन्थ्यो। तापनि उहाँ “सेवा पाउनालाई होइन, तर सेवा गर्न” आउनुभयो। (एफिसी १:२२; मत्ती २०:२८) यस्तैगरि, मसीही पतिले पनि आफ्नै फायदाका लागि होइन तर आफ्नी पत्नी तथा छोराछोरीको हितका लागि अगुवाइ गर्छ।—१ कोरिन्थी १३:४, ५.
७. परिवारमा आफ्नो ईश्वर-प्रदत्त जिम्मेवारी पूरा गर्न धर्मशास्त्रमा उल्लिखित कुन कुन सिद्धान्तहरूले पत्नीलाई मदत गर्नसक्छन्?
७ ईश्वरीय भक्तिअनुसार जीवन बिताउने पत्नीले चाहिं आफ्नो पतिको प्रतिद्वन्दी हुने तथा हक जमाउने कोसिस गर्दिनन्। बाइबलमा कहिलेकाहीं पत्नीलाई पतिको ‘सम्पत्ति’ सरह उल्लेख गरेको पाउँछौं। र त्यसले पति पत्नीको शिर हो भनेर प्रष्ट पार्छ। (उत्पत्ति २०:३, NW) विवाहपश्चात् पत्नी “पतिको व्यवस्था[को]” अधीनमा हुन्छिन्। (रोमी ७:२) बाइबलमा तिनलाई “सहयोगी” अनि “पूरक” पनि भनिन्छ। (उत्पत्ति २:२०, NW) तिनले पतिमा नभएका गुन तथा योग्यताहरू प्रयोगमा ल्याउँछिन्। पतिलाई चाहिंदो सहयोग दिन्छिन्। (हितोपदेश ३१:१०-३१) बाइबलमा पत्नीलाई पतिको सहकर्मी अर्थात् “जीवन-साथी” पनि भनिएको छ। (मलाकी २:१४) यी धर्मशास्त्रीय सिद्धान्तहरूद्वारा पतिपत्नीले एकअर्काको भूमिका बुझ्ने तथा एकअर्कासित आदर र सम्मानपूर्वक व्यवहार गर्ने मदत पाउँछन्।
“सुन्नालाई छिट्टो” हुनुहोस्
८, ९. परिवारमा पारस्परिक कुराकानी गर्ने खुबी बढाउन मदत गर्ने केही सिद्धान्तहरू वर्णन गर्नुहोस्।
८ यस पुस्तकमा अक्सर पारस्परिक कुराकानीमाथि जोड दिइएको छ। किन? किनभने एकअर्कासित कुरा गर्नुका साथै ध्यान दिएर सुनिदिंदा समस्या समाधान गर्न सजिलो हुन्छ। पारस्परिक कुराकानी दुइतर्फी सडकजस्तै हो भनी यस पुस्तकमा बारम्बार जोड दिइएको छ। त्यसको व्याख्या चेला याकूबले यसप्रकार गरे: “हरेक मानिस सुन्नालाई छिट्टो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा होस्।”—याकूब १:१९.
९ हामी कसरी बोल्छौं, यसबारे पनि होशियार हुनु आवश्यक छ। नसोची बोल्दा, कठोर अथवा आलोचनात्मक शब्दहरू प्रयोग गर्दा हाम्रो कुराकानी सफल हुँदैन। (हितोपदेश १५:१; २१:९; २९:११, २०) हामीले भन्ने कुरा ठीकै भए तापनि त्यसलाई क्रूर, घमण्डी अथवा अविवेकी ढंगमा व्यक्त गर्दा त्यसबाट लाभभन्दा हानि नै हुनेछ। हाम्रो बोली “नूनले स्वादिलो पारेको जस्तै” हुनुपर्छ। (कलस्सी ४:६) हाम्रा शब्दहरू “चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै” हुनुपर्छ। (हितोपदेश २५:११) जुन परिवारले आपसमा राम्ररी कुराकानी गर्न सिकेका हुन्छन्, ती परिवारहरू आनन्द पाउने बाटोमा निकै अघि बढिसकेका हुन्छन्।
प्रेमको महत्त्वपूर्ण भूमिका
१०. वैवाहिक जीवनमा कुन प्रकारको प्रेम अत्यावश्यक छ?
१० यस पुस्तकभरि “प्रेम” भन्ने शब्द बारम्बार प्रयोग गरिएको छ। यहाँ विशेषतः कुन प्रकारको प्रेमको चर्चा गरिएको छ, के तपाईंले सम्झिराख्नुभएको छ? हुन त वैवाहिक जीवनमा रोमान्टिक प्रेम (युनानी, इरोस्) को महत्त्वपूर्ण भूमिका हुन्छ। साथै, सफल विवाहहरूमा पतिपत्नीबीच गहिरो स्नेह तथा मित्रताको भाव (युनानी, फिलिया) पनि बढ्दै जान्छ। तर योभन्दा पनि महत्त्वपूर्ण चाहिं युनानी शब्द अगापे-बाट बोध हुने प्रेम हो। यसैप्रकारको प्रेम हामी यहोवा, येशू तथा हाम्रो छिमेकीका लागि बढाउने गर्छौं। (मत्ती २२:३७-३९) यहोवाले यस्तै किसिमको प्रेम मानिसजातितर्फ दर्साउनुहुन्छ। (यूहन्ना ३:१६) आफ्नो पति या पत्नी तथा छोराछोरीलाई त्यस्तै किसिमको प्रेम देखाउनसक्नु कति असल कुरा हो!—१ यूहन्ना ४:१९.
११. वैवाहिक जीवनमा प्रेमले कसरी फाइदा गर्छ?
११ वैवाहिक जीवनमा यस्तो उच्च श्रेणीको प्रेम वास्तवमा “सिद्धताको गाँठो” हुन्छ। (कलस्सी ३:१४) यसले पतिपत्नी दुवैलाई एकअर्काको नजीक ल्याउँछ र सबै कुरा एकअर्का तथा छोराछोरीको हितका लागि गर्ने प्रेरणा दिन्छ। परिवारसामु संकटकालीन स्थिति आइपर्दा प्रेमले नै तिनीहरूलाई एक भएर काम गर्ने मदत दिन्छ। पतिपत्नी बूढो हुँदै जाँदा प्रेमले तिनीहरूलाई एकअर्काको मोल गर्न तथा एकअर्कालाई सहयोग पुऱ्याउन मदत दिन्छ। “प्रेम[ले] . . . आफ्नै भलाइ खोज्दैन, . . . सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुराको आशा गर्छ, सबै कुरामा स्थिर रहन्छ। प्रेम कहिल्यै टल्दैन।”—१ कोरिन्थी १३:४-८.
१२. परमेश्वरलाई प्रेम गरेर पतिपत्नीले आफ्नो वैवाहिक सम्बन्ध अझ बलियो कसरी बनाउनसक्छन्?
१२ पतिपत्नीबीच प्रेम हुँदा मात्र होइन तर विशेषतः यहोवालाई प्रेम गर्दा वैवाहिक सम्बन्ध धेरै बलियो हुन्छ। (उपदेशक ४:९-१२) किन? किनभने प्रेरित यूहन्नाले लेखेका छन्: “हामीले उहाँको आज्ञा पालन गर्नुनै परमेश्वरप्रति प्रेम हो।” (१ यूहन्ना ५:३) अतः छोराछोरीको गहिरो मायाले प्रेरित भएर मात्र होइन तर यहोवाको आदेश सम्झी पतिपत्नीले छोराछोरीलाई ईश्वरीय भक्ति सिकाउनुपर्छ। (व्यवस्था ६:६, ७) पतिपत्नीहरू एकअर्काको प्रेमको खातिर मात्र होइन तर यहोवाको प्रेमका लागि अनैतिकतादेखि जोगिएर बस्छन्। “व्यभिचारीहरू र जारी गर्नेहरूलाई परमेश्वरले इन्साफ गर्नुहुनेछ” भनी तिनीहरू जान्दछन्। (हिब्रू १३:४) वैवाहिक जीवनमा पति वा पत्नीमध्ये एकले गर्दा कुनै गम्भीर समस्या उठे पनि अर्को चाहिं यहोवाको प्रेमको खातिर बाइबल सिद्धान्तहरूअनुसार चल्नेछ। ती परिवारहरू वास्तवमा सुखी हुन् जहाँ एकअर्काको प्रेमलाई यहोवाप्रतिको प्रेमले बलियो बनाएको हुन्छ!
परमेश्वरको इच्छा गर्ने परिवार
१३. परमेश्वरको इच्छा पूरा गर्ने अठोट गर्दा कसरी जीवनका वास्तविक महत्त्वपूर्ण कुराहरूमाथि ध्यान केन्द्रित गर्ने मदत पाउन सकिन्छ?
१३ एक जना मसीहीको सारा जीवन परमेश्वरको इच्छा गर्नुमा केन्द्रित हुन्छ। (भजन १४३:१०) ईश्वरीय भक्तिको अर्थ यही हो। परमेश्वरको इच्छा गर्दा परिवारहरूले वास्तवमा महत्त्वपूर्ण कुराहरूमाथि ध्यान केन्द्रित गर्ने मदत पाउँछन्। (फिलिप्पी १:९, १०) उदाहरणका लागि, येशूले यस्तो चेताउनी दिनुभयो: “म मानिसलाई उसको बाबुको विरुद्धमा, र छोरीलाई उसकी आमाको विरुद्धमा, र बुहारीलाई उसकी सासूको विरुद्धमा अलग गराउन आएँ। मानिसका शत्रु ता उसको आफ्ना परिवार भित्रकैहरू हुनेछन्।” (मत्ती १०:३५, ३६) येशूको चेताउनीअनुसार, उहाँका थुप्रै अनुयायीहरूले आफ्नै परिवारबाट सतावट भोगेका छन्। कति दुःखको कुरा! तथापि, हामीले यहोवा परमेश्वर र येशू ख्रीष्टलाई भन्दा पारिवारिक नातालाई बढी प्रेम गर्नु हुँदैन। (मत्ती १०:३७-३९) पारिवारिक सतावटको सामु धैर्य धारण गर्दा विरोधीहरूले हामीमा ईश्वरीय भक्तिको राम्रो प्रभाव देखेर मन फेर्नसक्छन्। (१ कोरिन्थी ७:१२-१६; १ पत्रुस् ३:१, २) तथापि, फेरे नै भने पनि विरोधको कारण परमेश्वरको सेवा छाड्नु कसैका लागि हितकर हुँदैन।
१४. परमेश्वरको इच्छाअनुसार हिंड्न चाहने आमाबाबुले छोराछोरीको सर्वोत्तम हित कसरी गर्नसक्छन्?
१४ परमेश्वरको इच्छा गर्दा आमाबाबुले सही फैसला गर्ने मदत पाउँछन्। उदाहरणका लागि, कुनै कुनै समाजमा आमाबाबुले छोराछोरीलाई राम्रो लगानी ठान्छन्। छोराछोरीलाई बुढेसकालको सहारा सम्झन्छन्। हुन त छोरीछोरी हुर्केपछि वृद्ध आमाबाबुको हेरविचार गर्नु पूर्णतः उचित हो। तर यसो भन्दैमा आमाबाबुले छोराछोरीलाई भौतिकवादी जीवनशैली अपनाउने प्रोत्साहन दिनु सही होइन। आमाबाबुले छोराछोरीलाई आध्यात्मिक कुराहरूभन्दा भौतिक चीजहरूको कदर गर्न सिकाउनु कुनै रीतिले फायदाजनक हुँदैन।—१ तिमोथी ६:९.
१५. तिमोथीकी आमा युनिस परमेश्वरको इच्छा गर्ने आदर्श आमा कसरी हुन सकिन्?
१५ यस सिलसिलामा युनिसले राम्रो उदाहरण कायम गरेकी छिन्। तिनी पावलको जवान सहकर्मी तिमोथीकी आमा थिइन्। (२ तिमोथी १:५) तिनको पति विश्वासमा नभए तापनि तिनले तिमोथीकी बज्यै लोइससित मिलेर तिमोथीलाई ईश्वरभक्तिको मार्गमा हिंड्न सिकाइन्। (२ तिमोथी ३:१४, १५) तिमोथी हुर्केपछि तिनले उसलाई घर छाडेर पावलसित टाढा टाढा राज्य प्रचार गर्न जान दिइन्। (प्रेरित १६:१-५) पछि गएर तिमोथी पनि प्रसिद्ध प्रचारक हुँदा तिनी कति हर्षित भई होलिन्! सानैदेखि राम्रो प्रशिक्षण पाएको हुनाले तिमोथी ठूलो भएर ईश्वरभक्तिको बाटोमा हिंडन सके। उसको अनुपस्थितिमा घर अवश्य शून्य हुन्थ्यो होला। तापनि उसको विश्वासिलो सेवकाईको खबर सुनेर युनिस निश्चय खुशी तथा सन्तुष्ट हुन्थिन्।—फिलिप्पी २:१९, २०.
परिवार तथा तपाईंको भविष्य
१६. छोराको हैसियतमा येशूले कस्तो उचित चासो व्यक्त गर्नुभयो तर उहाँको मुख्य लक्ष्य के थियो?
१६ येशूको पालनपोषण ईश्वरभक्त परिवारमा भएको थियो र वयस्क हुनुभएपछि उहाँले आमाका लागि उचित चिन्ता प्रदर्शित गर्नुभयो। (लूका २:५१, ५२; यूहन्ना १९:२६) तथापि येशूको मुख्य लक्ष्य परमेश्वरको इच्छा पूरा गर्नु थियो। उहाँले मानिसजातिका लागि अनन्त जीवन पाउने बाटो खोल्नु परेको थियो। यसो गर्नु नै उहाँको लागि परमेश्वरको इच्छा थियो। र यसका लागि उहाँले आफ्नो सिद्ध मानव जीवन पापी मानिसजातिको छुटकाराको निम्ति अर्पण गर्नुभयो।—मर्कूस १०:४५; यूहन्ना ५:२८, २९.
१७. येशूको विश्वासिलो गतिविधिले गर्दा परमेश्वरको इच्छा गर्नेहरूका लागि कस्तो गौरवमय प्रत्याशा सम्भव भयो?
१७ येशूको मृत्युपश्चात् यहोवाले उहाँको पुनरुत्थान गर्नुभयो। उहाँलाई स्वर्गीय जीवन प्रदान गर्नुभएर ठूलो अख्तियार सुम्पनुभयो। अन्ततः उहाँलाई स्वर्गीय राज्यको राजा नियुक्त गर्नुभयो। (मत्ती २८:१८; रोमी १४:९; प्रकाश ११:१५) येशूको बलिदानद्वारा केही मानवहरू उहाँसित त्यो स्वर्गीय राज्यमा शासन गर्न रोजिने भए। साथै असल हृदय भएका बाँकी मानिसहरूले चाहिं पुनः प्रमोदवन स्थापित भएको पृथ्वीमा सिद्ध मानव जीवन उपभोग गर्न सम्भव हुनेभयो। (प्रकाश ५:९, १०; १४:१, ४; २१:३-५; २२:१-४) आज हामीले पाएको सबैभन्दा ठूला सुअवसरहरूमध्ये एक, हाम्रा छिमेकीहरूलाई यो गौरवमय सुसमाचार सुनाउनु हो।—मत्ती २४:१४.
१८. परिवारहरू तथा व्यक्तिविशेषलाई समेत कस्तो सम्झौटो र प्रोत्साहन दिइएको छ?
१८ प्रेरित पावलले उल्लेख गरेझैं ईश्वरीय भक्तिसाथ जीवन बिताउने मानिसहरूले ती जम्मै आशिष्हरू ‘पछि हुने जीवनमा’ पाउने आशा गर्नसक्छन्। निश्चय, आनन्द हासिल गर्ने यो नै सर्वोत्तम उपाय हो! नबिर्सनुहोस्, “संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्ना २:१७) अतः अहिले तपाईं केटाकेटी, अभिभावक, पति, पत्नी, अथवा छोराछोरी भएको वा नभएको एक्लो वयस्कमध्ये जे नै हुनुहुन्छ भने पनि परमेश्वरको इच्छा गर्ने हर प्रयास गर्नुहोस्। कडा दबाब वा गाह्रोभन्दा गाह्रो कठिनाइहरूमा पर्नुहुँदा पनि तपाईं जीवित परमेश्वरको सेवक हुनुहुन्छ भन्ने कुरा कहिल्यै नबिर्सनुहोस्। तपाईंका कामहरू देखेर यहोवा आनन्दित होऊन्। (हितोपदेश २७:११) अनि आफ्नो आचरणले गर्दा तपाईंले अहिले आनन्द पाऊन् अनि आउनै लागेको नयाँ संसारमा अनन्त जीवन!
-