प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के सैतान वास्तविक व्यक्‍ति हो?
    प्रहरीधरहरा—२०१४ | नोभेम्बर १
    • आवरण लेख

      के सैतान वास्तविक व्यक्‍ति हो?

      स्वर्गबाट खसालिएको स्वर्गदूत सैतानको मूर्ति

      सैतानलाई भ्रष्ट अनि स्वर्गबाट खसालिएको स्वर्गदूतको रूपमा देखाइएको एउटा मूर्ति, म्याड्रिड, स्पेन।

      “म एल साल्भाडोरमा हुर्कें। मैले अटेर गर्दा आमा यसो भन्‍नुहुन्थ्यो: “सैतान तिमीलाई लैजान आउँदै छ है!” जवाफमा म यसो भन्थें: “आउन दिनुहोस्‌, त्यसलाई!” म परमेश्‍वरमा विश्‍वास गर्थें, तर सैतान चाहिं छैन जस्तो लाग्थ्यो।”—रोकेल्यो।

      के तपाईं पनि रोकेल्योको कुरामा सहमत हुनुहुन्छ? सैतानबारे मानिसहरूको विभिन्‍न धारणा छ, जसमध्ये केही तल दिइएका छन्‌। यीमध्ये तपाईंलाई कुन चाहिं ठीक हो जस्तो लाग्छ?

      • सैतान वास्तविक व्यक्‍ति होइन; त्यो त दुष्ट्‌याइँको प्रतीक मात्र हो।

      • सैतान साँच्चै छ। तर त्यसले मानिसहरूमा खासै चासो लिंदैन।

      • सैतान शक्‍तिशाली अदृश्‍य व्यक्‍ति हो र त्यसले मानिसहरूमा नराम्रो प्रभाव जमाइरहेको छ।

      माथि दिइएका प्रत्येक धारणालाई समर्थन गर्ने लाखौं मानिसहरू छन्‌। तर कुन चाहिं धारणा सही हो भनेर थाह पाउनु के साँच्चै महत्त्वपूर्ण छ? यो कुरा विचार गर्नुहोस्‌, यदि सैतान वास्तविक व्यक्‍ति होइन भने त्यो साँच्चै छ भनेर विश्‍वास गर्ने सबै मानिसहरू भ्रममा परेका छन्‌। अर्कोतर्फ सैतान साँच्चै छ, तर त्यसले मानिसहरूमा खासै चासो लिंदैन भने त थुप्रै मानिस विनाकारण डराइरहेका छन्‌। तर यदि त्यो साँच्चै एउटा धूर्त व्यक्‍ति हो भने सैतान मानिसहरूले सोचेभन्दा पनि खतरनाक छ।

      पवित्र शास्त्रले यी प्रश्‍नहरूको जवाफ कसरी दिन्छ, विचार गरौं: सैतान दुष्ट्‌याइँको प्रतीक मात्र हो वा एक अदृश्‍य व्यक्‍ति? यदि अदृश्‍य व्यक्‍ति हो भने के सैतानले तपाईंलाई पनि प्रभाव पार्न सक्छ? सक्छ भने तपाईं कसरी सुरक्षित रहन सक्नुहुन्छ?

  • के सैतान दुष्ट्‌याइँको प्रतीक मात्रै हो?
    प्रहरीधरहरा—२०१४ | नोभेम्बर १
    • दुःख पाइरहेको अय्यूबलाई सैतानले स्वर्गबाट हेर्दै छ

      आवरण लेख | के सैतान वास्तविक व्यक्‍ति हो?

      के सैतान दुष्ट्‌याइँको प्रतीक मात्रै हो?

      बाइबलमा चर्चा गरिएको सैतान केवल दुष्ट्‌याइँको प्रतीक हो भन्‍ने निष्कर्षमा पुग्नु सजिलो होला। तर के साँच्चै बाइबलले यस्तै सिकाउँछ? यदि यसो हो भने सैतानले येशू ख्रीष्ट र सर्वशक्‍तिमान्‌ परमेश्‍वरसित कुरा गरेको विवरण बाइबलमा किन लेखिएको छ त? दुइटा विवरण विचार गर्नुहोस्‌।

      सैतानले येशूसित गरेको कुराकानी

      येशूले आफ्नो प्रचारको काम थाल्नुहुँदा सैतानले तीनवटा परीक्षाद्वारा उहाँलाई प्रलोभनमा पार्न खोज्यो। पहिलो, परमेश्‍वरले दिनुभएको शक्‍तिलाई आफ्नो स्वार्थ पूरा गर्न अर्थात्‌ आफ्नो भोक मेटाउन प्रयोग गर्नुहोस्‌ भनेर सैतानले येशूलाई दबाब दियो। दोस्रो, त्यसले येशूलाई आफ्नो जीवन नै खतरामा पार्ने मूर्ख काम गरेर अरूको ध्यान आफूतिर खिच्न उक्सायो। अन्तमा येशूले त्यसलाई एक चोटि मात्र ढोगे पनि संसारका सबै राज्य उहाँलाई दिन्छु भनेर सैतानले लोभ देखायो। तर येशूले हरेक चोटि धर्मशास्त्रबाट उद्धृत गर्दै सैतानको तीनवटै प्रस्तावलाई अस्वीकार गर्नुभयो।—मत्ती ४:१-११; लूका ४:१-१३.

      येशू यहाँ कोसित कुरा गर्दै हुनुहुन्थ्यो? आफूभित्रै भएको दुष्ट्‌याइँसित हो कि? बाइबलमा येशू “हर तवरमा परीक्षित तर पापरहित हुनुहुन्छ” भनेर बताइएको छ। (हिब्रू ४:१५) बाइबलमा यसो पनि भनिएको छ: “उहाँले एउटै पाप गर्नुभएन अनि उहाँको मुखमा कुनै छल पाइएन।” (१ पत्रुस २:२२) हो, येशू त्रुटिरहित हुनुहुन्थ्यो; उहाँ सधैं परमेश्‍वरप्रति वफादार रहनुभयो। उहाँले कहिल्यै आफूमा नराम्रो गुण विकास हुन दिनुभएन। त्यसैले येशू आफूभित्र भएको कुनै दुष्ट्‌याइँसित नभई एक जना वास्तविक व्यक्‍तिसित कुरा गर्दै हुनुहुन्थ्यो भन्‍ने कुरा स्पष्ट छ।

      यही कुराकानीमा सैतान वास्तविक व्यक्‍ति हो भन्‍ने कुराको अरू प्रमाण पनि पाउन सक्छौं।

      • याद गर्नुहोस्‌, सैतानलाई ढोगेको खण्डमा त्यसले येशूलाई संसारका सबै राज्य दिन्छु भनेको थियो। (मत्ती ४:८, ९) यदि सैतान वास्तविक व्यक्‍ति नभएको भए यो प्रस्तावको कुनै अर्थ हुने थियो र? अहँ! थिएन। साथै येशूले पनि संसारका सबै राज्यमाथि सैतानको अधिकार छ भन्‍ने कुराको खण्डन गर्नुभएन।

      • येशूले ती प्रस्तावलाई तिरस्कार गर्नुभएपछि सैतानले ‘अर्को अनुकूल मौका नपाउन्जेलसम्मका लागि उहाँलाई छोडेर गयो।’ (लूका ४:१३) यो कुरा विचार गर्दा सैतान एउटा खराब गुण मात्रै हो भन्‍न त पटक्कै मिल्दैन। बरु त्यो एउटा हार नमान्‍ने शत्रु हो भनेर थाह पाउन सक्छौं।

      • यो कुरा पनि विचार गर्नुहोस्‌, सैतानले येशूलाई छोडेर गएपछि “स्वर्गदूतहरू आएर उहाँको सेवा-सुसार गर्न लागे।” (मत्ती ४:११) के येशूलाई प्रोत्साहन दिन र मदत गर्न आएका ती स्वर्गदूतहरू वास्तविक अदृश्‍य व्यक्‍तिहरू थिए? अवश्‍य! त्यसोभए सैतान चाहिं वास्तविक व्यक्‍ति होइन भन्‍न सक्ने कुनै आधार छ त?

      सैतानले परमेश्‍वरसित गरेको कुराकानी

      अब हामीले छलफल गर्न लागेको बाइबल विवरणमा परमेश्‍वरको डर मान्‍ने अय्यूब नाम गरेका एक जना व्यक्‍तिबारे चर्चा गरिएको पाउँछौं। सैतानले परमेश्‍वरसित दुई पटक कुराकानी गरेको थियो। दुवै चोटि परमेश्‍वरले अय्यूब उहाँप्रति वफादार भएको कारण तिनको प्रशंसा गर्नुभएको थियो। तर अय्यूबले आफ्नो स्वार्थको लागि मात्र परमेश्‍वरको सेवा गर्दै छ भनेर सैतानले दाबी गऱ्‍यो। एक अर्थमा परमेश्‍वरले अय्यूबको वफादारी किन्दै हुनुहुन्छ भनेर सैतानले बताइरहेको थियो। यसरी त्यसले अय्यूबलाई परमेश्‍वरले भन्दा पनि राम्ररी चिनेको दाबी गऱ्‍यो। यहोवा परमेश्‍वरले सैतानलाई अय्यूबको धनसम्पत्ति, छोराछोरी र स्वास्थ्यमाथि विपत्ति ल्याउन अनुमति दिनुभयो।a आखिरमा अय्यूब वफादार छन्‌ भनेर यहोवाले भन्‍नुभएको कुरा सही साबित भयो। अनि सैतान चाहिं झूटो हो भनेर प्रमाणित भयो। अय्यूब वफादार रहेकोमा परमेश्‍वरले तिनलाई आशिष्‌ दिनुभयो।—अय्यूब १:६-१२; २:१-७.

      परमेश्‍वर र सैतानबीचको यो कुराकानीमा के यहोवा परमेश्‍वर आफूभित्रको दुष्ट्‌याइँसित कुरा गर्दै हुनुहुन्थ्यो र? बाइबलमा यस्तो बताइएको छ: “परमेश्‍वरको मार्ग सिद्ध [अर्थात्‌ त्रुटिरहित] छ।” (२ शमूएल २२:३१) परमेश्‍वरको वचनमा अझै यसो भनिएको छ: ‘सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।’ (प्रकाश ४:८) पवित्र शब्दको अर्थ शुद्ध, चोखो र पापरहित हो। यहोवा परमेश्‍वर कुनै अवगुण नभएको त्रुटिरहित व्यक्‍ति हुनुहुन्छ। उहाँमा दुष्ट्‌याइँ हुनै सक्दैन।

      सैतानले परमेश्‍वरसित गरेको कुराकानीले अय्यूबको जीवनमा असर पाऱ्‍यो

      कसै-कसैले अय्यूब वास्तविक व्यक्‍ति थिएनन्‌, त्यसैले यो सम्पूर्ण कुराकानीको विवरण प्रतीकात्मक मात्र हो भन्‍ने धारणा राख्छन्‌। तर के यो कुरा तर्कसङ्‌गत छ र? बाइबलका अरू किताबहरूले पनि अय्यूब वास्तविक व्यक्‍ति थिए भनेर पुष्टि गर्छ। उदाहरणका लागि, याकूब ५:७-११ मा ख्रीष्टियनहरूलाई गाह्रो समयमा सहनशील हुनको लागि प्रोत्साहन दिन र सहनशील हुँदा परमेश्‍वरले इनाम दिनुहुन्छ भनेर सान्त्वना दिन अय्यूबको उदाहरण चलाइएको थियो। यदि अय्यूब वास्तविक व्यक्‍ति थिएनन्‌ र सैतानले तिनीमाथि ल्याएको विपत्ति काल्पनिक मात्र थियो भने अय्यूबको उदाहरण चलाउनुको केही महत्त्व हुने थिएन। साथै इजकिएल १४:१४, २० मा हेर्ने हो भने परमेश्‍वरका तीन जना वफादार सेवकको सूचीमा नूह र दानियलसँगै अय्यूबको पनि नाम लेखिएको पाउँछौं। नूह र दानियल जस्तै अय्यूब पनि परमेश्‍वरमा बलियो विश्‍वास भएको वास्तविक व्यक्‍ति थिए। अय्यूब वास्तविक थिए भने तिनीमाथि विपत्ति ल्याउने व्यक्‍ति पनि वास्तविक थिएन होला र?

      बाइबलमा सैतान वास्तविक अदृश्‍य व्यक्‍ति हो भनेर स्पष्टसित बताइएको छ। तर तपाईं सोच्नुहोला, ‘त्यसोभए के अहिलेको आधुनिक संसारमा पनि सैतानले म र मेरो परिवारलाई हानि पुऱ्‍याउन सक्छ?’

      अहिले संसारको अवस्था कस्तो छ?

      कल्पना गर्नुहोस्‌, एक्कासि अपराधीहरूको एउटा समूह तपाईं बस्ने सहरमा बसोबास गर्न आउँछ। पक्कै पनि यस्तो अवस्थामा तपाईं असुरक्षित महसुस गर्नुहुन्छ। अनि छरछिमेकमा मानिसहरूको नैतिकता पनि खस्किन्छ। अब त्यस्तै एउटा घटनाबारे विचार गर्नुहोस्‌। सैतान र त्यसका दुष्ट स्वर्गदूतहरू (सैतान जस्तै वास्तविक अदृश्‍य व्यक्‍तिहरू, जसले परमेश्‍वरको विरोध गरे) एक्कासि पृथ्वीमा फ्याँकिएका छन्‌। परिणाम के भएको छ? समाचार हेर्दा तपाईं आफ्नै वरिपरि र संसारभरि के भइरहेको देख्नुहुन्छ, विचार गर्नुहोस्‌:

      • विश्‍वव्यापी रूपमा अमानवीय र हिंसात्मक कामहरू रोक्न जत्ति नै प्रयास गरिएको भए तापनि यस्ता कामहरू झन्‌झन्‌ बढिरहेको के तपाईं देख्नुहुन्छ?

      • थुप्रै बुबाआमाले तन्त्रमन्त्रसित सम्बन्धित मनोरञ्जनको विरोध गरे तापनि यस किसिमको मनोरञ्जन व्यापक रूपमा फैलिंदै गएको के तपाईं देख्नुहुन्छ?

      • असल मनसाय भएका मानिसहरूले वातावरणलाई जोगाउन जत्ति नै प्रयास गरे तापनि मानिसहरूले निरन्तर वातावरण विनाश गरेको के तपाईं देख्नुहुन्छ?

      • के तपाईंलाई मानव समाजमा कतै न कतै गम्भीर समस्या छ; मानिसहरूलाई ठूलो विपत्तितर्फ धकेलिरहेको एउटा अदृश्‍य शक्‍ति छ जस्तो लाग्छ?

      बाइबलमा यस्ता सबै समस्याहरूको पछाडि कसको हात छ भनेर बताइएको छ। बाइबल यसो भन्छ: ‘दियाबल अनि सैतान भनिने र सारा संसारलाई ठग्ने त्यो ठूलो अजिङ्‌गर अर्थात्‌ पुरानो सर्पलाई तल पृथ्वीमा फालियो अनि त्यो सँगसँगै त्यसका स्वर्गदूतहरू पनि फालिए। पृथ्वी र समुद्रलाई धिक्कार छ, किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी भएकोले त्यो असाध्यै रिसाएको छ।’ (प्रकाश १२:९, १२) यस्ता प्रमाणहरूलाई विचार गरिसकेपछि धेरै मानिसहरू सैतान सारा संसारलाई प्रभाव पार्ने एउटा खतरनाक अदृश्‍य व्यक्‍ति हो भन्‍ने निष्कर्षमा पुगेका छन्‌।

      त्यसोभए हामी कसरी सुरक्षित हुन सक्छौं त? सायद तपाईंको मनमा यो प्रश्‍न उठ्‌यो होला। यसरी चिन्तित हुनु जायज हो। सुरक्षित रहनको लागि हामीले चाल्न सक्ने केही व्यावहारिक कदमहरूबारे यसपछिको लेखमा चर्चा गरिएको छ।

      a बाइबलअनुसार परमेश्‍वरको नाम यहोवा हो।

  • के हामी सैतानसित डराउनु पर्छ?
    प्रहरीधरहरा—२०१४ | नोभेम्बर १
    • आवरण लेख | के सैतान वास्तविक व्यक्‍ति हो?

      के हामी सैतानसित डराउनुपर्छ?

      घरभित्र कार्बन मोनोक्साइड ग्याँस फैलिएपछि घरबाहिर निस्कँदै गरेको एक दम्पती

      कार्बन मोनोक्साइड ग्याँस देखिंदैन र यो खतरनाक छ; सैतान पनि त्यस्तै छ

      यसको भेउ पाउन निकै गाह्रो छ; न त रङ्‌ग छ न गन्ध नै आउँछ। यसले सिकारलाई पत्तै नदिई ज्यान लिन्छ। विश्‍वभरि विषालु तत्त्वले गर्दा मृत्यु हुनेहरूमध्ये आधाभन्दा धेरै मानिसहरूको ज्यान यसैले लिन्छ। यो डरलाग्दो सिकारी हो: कार्बन मोनोक्साइड ग्याँस। तर हामी आत्तिनु पर्दैन। किनभने यो ग्याँसको खतरा पत्ता लगाउने र यसबाट बच्ने उपायहरू छन्‌। थुप्रै मानिसले यो ग्याँसको खतराबारे सङ्‌केत दिने उपकरणहरू जडान गरेका छन्‌ र तिनीहरू त्यस्ता उपकरणहरूले सावधान गराउने बित्तिकै सचेत हुन्छन्‌।

      कार्बन मोनोक्साइड ग्याँस जस्तै सैतान पनि अदृश्‍य छ। त्यसको अस्तित्व पत्ता लगाउन निकै गाह्रो छ र त्यो खतरनाक पनि छ। तर परमेश्‍वरले हामीलाई मदत नदिई अलपत्र छोड्‌नुभएको छैन। परमेश्‍वरले दिनुभएका निम्न उपहारहरूको सदुपयोग गऱ्‍यौं भने हामी सैतानसित पटक्कै डराउनुपर्दैन।

      छनौट। याकूब ४:७ मा सैतानको “विरोध गर अनि ऊ तिमीहरूबाट भाग्नेछ” भनेर लेखिएको छ। सैतान शक्‍तिशाली भए तापनि त्यसले जबरजस्ती तपाईंले नचाहेको काम गराउन सक्दैन। त्यसको इशारामा चल्ने या त्यसको विरोध गर्ने, तपाईं छान्‍न सक्नुहुन्छ। पहिलो पत्रुस ५:९ मा यस्तो लेखिएको पाउँछौं: “विश्‍वासमा दह्रो भएर त्यसविरुद्ध खडा होओ।” याद गर्नुहोस्‌, येशूले सैतानको तीनवटै प्रलोभन तिरस्कार गर्नुभएपछि त्यसले उहाँलाई छोडेर गएको थियो। (मत्ती ४:११) येशूले जस्तै तपाईंले पनि सैतानको दबाबविरुद्ध खडा हुने छनौट गर्न सक्नुहुन्छ।

      परमेश्‍वरसितको मित्रता। याकूब ४:८ मा यस्तो प्रोत्साहन दिइएको छ: “परमेश्‍वरसित नजिक होओ।” यहोवा परमेश्‍वर आफैले तपाईंलाई उहाँसित घनिष्ठ हुन निम्तो दिनुभएको छ। तर तपाईं कसरी उहाँको साथी बन्‍न सक्नुहुन्छ? सबैभन्दा राम्रो तरिका बाइबलबाट उहाँबारे अझ धेरै सिक्नु हो। (यूहन्‍ना १७:३) यहोवा परमेश्‍वरबारे पाएको ज्ञानले गर्दा तपाईं उहाँलाई माया गर्न उत्प्रेरित हुनुहुनेछ र यही मायाले तपाईंलाई उहाँको इच्छा पूरा गर्न जुरमुऱ्‍याउनेछ। (१ यूहन्‍ना ५:३) स्वर्गमा बस्नुहुने बुबासित तपाईंले नजिक हुने प्रयास गर्दा उहाँले चाहिं कस्तो कदम चाल्नुहुन्छ? याकूबको किताबमा यस्तो पनि लेखिएको छ: “उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”

      एक जवान व्यक्‍ति बाइबल पढ्‌छन्‌, परमेश्‍वरलाई प्रार्थना गर्छन्‌ अनि तन्त्रमन्त्रसित सम्बन्धित सामान नष्ट गर्छन्‌

      यहोवा परमेश्‍वरले हाम्रो सुरक्षाको लागि थुप्रै प्रबन्ध गर्नुभएको छ

      सुरक्षाको प्रतिज्ञा। हितोपदेश १८:१० मा यस्तो लेखिएको छ: “परमप्रभुको नाउँ एक बलियो धरहराजस्तै हो, त्यहाँ धर्मीहरू शरणको निम्ति कुदेर जान्छन्‌।” यस पदले परमेश्‍वरको नाउँ लिनेबित्तिकै त्यसले जादुको छडीले जस्तै काम गर्छ भन्‍न खोजेको त होइन। बरु यसको अर्थ परमेश्‍वरको नाउँको गहिरो आदर गर्नेहरूले सुरक्षाको लागि जुनसुकै बेला उहाँलाई पुकार्न सक्छन्‌ भन्‍ने हो।

      बाइबलमा दिइएको उदाहरण। एफिसस सहरमा भर्खरै ख्रीष्टियन बनेकाहरूबाट हामी एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। प्रेषित १९:१९ यसो भन्छ: “पहिले-पहिले जादुगरी गर्ने थुप्रै मानिसले आफ्ना पुस्तकहरू ल्याए अनि सबैसामु ती जलाए। अनि तिनीहरूले त्यसको मोल निकाल्दा पचास हजार चाँदीको टुक्रा बराबर पाए।”a जतिसुकै महँगो भए तापनि तन्त्रमन्त्रसित सम्बन्धित हरेक कुरालाई ती ख्रीष्टियनहरूले नष्ट गरिदिए। यस उदाहरणले आज हामीलाई राम्रो पाठ सिकाउँछ। यो संसार जादुगरी र तन्त्रमन्त्रमा चुर्लुम्मै डुबेको छ। तन्त्रमन्त्रसित सम्बन्धित कुरा अथवा चलनहरू हानिकारक नदेखिए तापनि सैतानले हामीलाई ती कुरामार्फत असर गर्न सक्छ। त्यसैले यस्ता कुराहरू जति नै बहुमूल्य भए तापनि तपाईं यी कुराहरूबाट अलगै रहनु निकै महत्त्वपूर्ण छ।—व्यवस्था १८:१०-१२.

      यस पत्रिकाको सुरुको लेखमा बताइएका रोकेल्यो पचास वर्ष पुग्दा पनि सैतान छ भन्‍ने कुरामा विश्‍वास गर्दैन थिए। तर पछि तिनले आफ्नो विचार परिवर्तन गरे। किन? तिनी भन्छन्‌: “जीवनमा पहिलो चोटि मैले बाइबल पाएँ। धर्मशास्त्रबाट पाएको ज्ञानले सैतान साँच्चै छ भन्‍ने कुरामा मलाई विश्‍वस्त बनाएको छ र सैतानको प्रभावबाट सुरक्षित हुन पनि मदत गरेको छ।”

      “धर्मशास्त्रबाट पाएको ज्ञानले सैतान साँच्चै छ भन्‍ने कुरामा मलाई विश्‍वस्त बनाएको छ र सैतानको प्रभावबाट सुरक्षित हुन पनि मदत गरेको छ”

      के तपाईं सैतानको नामोनिसानै नरहने दिन हेर्न चाहनुहुन्छ? त्यो दिन अवश्‍य आउनेछ। थुप्रैलाई बहकाउन सफल त्यो सैतानलाई भविष्यमा “आगो र गन्धकको कुण्डमा हुर्ऱ्याइनेछ” भनी धर्मशास्त्रमा बताइएको छ। (प्रकाश २०:१०) साँच्चैको आगो र गन्धकले अदृश्‍य व्यक्‍तिलाई हानि पुऱ्‍याउन सक्दैन। त्यसैले यस पदमा उल्लेख गरिएको आगोको कुण्डले पूर्ण रूपमा विनाश हुने कुरालाई चित्रण गर्छ। सैतान सधैंको लागि विनाश हुनेछ। त्यसबेला परमेश्‍वरलाई माया गर्नेहरू कत्ति हर्षित हुनेछन्‌!

      त्यो समय नआएसम्म यहोवा परमेश्‍वर र उहाँको स्तरबारे सिकिरहनुहोस्‌।b कल्पना गर्नुहोस्‌ त! “सैतान छैन” भनेर साँच्चै भन्‍न सक्ने समयमा बाँच्न पाउनु कत्ति खुसीको कुरा हुनेछ।

      a यदि यस पदमा बताइएको चाँदीको टुक्रा रोमी दिनार थियो भने यो रकम ५०,००० कामदारले एक दिनमा कमाउने ज्याला बराबर थियो—यो निकै ठूलो रकम हो।

      b तन्त्रमन्त्रबारे परमेश्‍वरको विचार र सैतानबारे थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १० हेर्नुहोस्‌। यो किताब कुनै पनि यहोवाका साक्षीसित लिन सक्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने