प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ८/१ पृ. १५
  • ईश्‍वरलाई कसले सृष्टि गऱ्‍यो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरलाई कसले सृष्टि गऱ्‍यो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • सृष्टिकर्ताले तपाईंको जीवन अर्थपूर्ण बनाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • हाम्रो महान्‌ सृष्टिकर्ता हाम्रो चासो राख्नुहुन्छ!
    हाम्रो राज्य सेवकाई—१९९९
  • हामी सधैँभरि बाँच्न सक्छौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • अनन्तका महाराजाको प्रशंसा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ८/१ पृ. १५
ब्रह्‍माण्डको एउटा सानो भागमा भएका आकाशीय पिण्डहरू

हाम्रा पाठकहरू सोध्छन्‌. . .

ईश्‍वरलाई कसले सृष्टि गऱ्‍यो?

मानिलिनुहोस्‌, एक जना बुबा आफ्नो सात वर्षे छोरोसित कुरा गर्दै छन्‌। बुबा भन्छन्‌: “धेरै समयअघि ईश्‍वरले घाम, जून, तारा र पृथ्वी बनाउनुभयो। पृथ्वीमा भएका सबै थोक पनि उहाँले नै बनाउनुभएको हो।” केहीबेरको लागि छोरो घोरिन्छ र यस्तो प्रश्‍न सोध्छ, “बुबा, त्यसोभए ईश्‍वरलाई चाहिं कसले बनायो?”

बुबा यसरी जवाफ दिन्छन्‌, “ईश्‍वरलाई कसैले बनाएको होइन। उहाँ त सधैंभरि हुनुहुन्छ नि।” अहिलेको लागि यो सरल तर्कले नै ती साना बालकको चित्त बुझाउँछ। तर ठूलो भएपछि उसको मनमा यो प्रश्‍न खेलिरहन्छ, ‘आखिर ब्रह्‍माण्डको त सुरुवात छ भने ईश्‍वरको चाहिं सुरुवात छैन होला र? ईश्‍वरलाई कसले सृष्टि गऱ्‍यो?’

बाइबलले यस प्रश्‍नको कस्तो जवाफ दिन्छ? सीधै भन्‍ने हो भने, माथि दिइएको उदाहरणका बुबाले दिएको जस्तै जवाफ बाइबलले पनि दिन्छ। ईश्‍वरका एक सेवक मोशाले यस्तो लेखे: ‘हे परमप्रभु, पहाडहरू उत्पन्‍न हुनभन्दा अघि र तपाईंले पृथ्वी र संसार सृजनुभन्दा अघिदेखि, अनादिदेखि अनन्तसम्म तपाईंनै ईश्‍वर हुनुहुन्छ।’ (भजन ९०:१, २) त्यसैगरि एक जना भविष्यवक्‍ता यशैयाले यस्तो भने: “के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्‌? परमप्रभु सदासर्वदा ईश्‍वर हुनुहुन्छ, पृथ्वीको पल्लो छेउसम्मका सृष्टिकर्ता हुनुहुन्छ।” (यशैया ४०:२८, NRV) साथै यहूदाको पत्रमा ईश्‍वर “बितेका युगहरूमा” पनि अस्तित्वमा हुनुहुन्थ्यो भनेर बताइएको छ।—यहूदा २५.

यी शास्त्रपदहरूले प्रेषित पावलको यो भनाइलाई समर्थन गर्छ: ईश्‍वर “युगयुगका महाराजा” हुनुहुन्छ। (१ तिमोथी १:१७) यसको अर्थ उहाँ सधैंभरि अस्तित्वमा रहनुभएको छ। चाहे हामीले जतिसुकै अगाडिको समयबारे कल्पना गरौं, ईश्‍वर त्यतिबेला पनि अस्तित्वमा हुनुहुन्थ्यो र भविष्यमा पनि उहाँ अस्तित्वमा रहिरहनु हुनेछ। (प्रकाश १:८) सधैंभरि अस्तित्वमा रहनु सर्वशक्‍तिमान्‌ ईश्‍वरको एउटा प्रमुख विशेषता हो।

यो कुरा बुझ्न हामीलाई किन गाह्रो लाग्छ? किनभने हाम्रो आयु सीमित भएकोले समयबारे हाम्रो र ईश्‍वर यहोवाको धारणाबीच आकाश-जमिनको भिन्‍नता छ। ईश्‍वर सदासर्वदा रहिरहनु हुने भएकोले उहाँको लागि एक हजार वर्ष त एक दिन जस्तो मात्रै हो। (२ पत्रुस ३:८) उदाहरणको लागि फट्‌याङ्‌ग्रोलाई लिनुहोस्‌। पूर्ण विकसित भएपछि फट्‌याङ्‌ग्रो झन्डै ५० दिन मात्र बाँच्छ। तर हामी मानिसहरूको आयु भने ७०/८० वर्ष लामो हुन्छ। के फट्‌याङ्‌ग्रोले मानव जीवनको समयावधिलाई राम्ररी बुझ्न सक्ला र? अहँ! त्यसैगरि, हाम्रो महान्‌ सृष्टिकर्ताको तुलनामा हामी त फट्‌याङ्‌ग्राजस्तै छौं भनेर बाइबल बताउँछ। हाम्रो सोचविचार र तर्क गर्ने क्षमता उहाँको भन्दा निकै कम छ। (यशैया ४०:२२; ५५:८, ९) त्यसैले त मानिसहरूले ईश्‍वर यहोवाबारे सबै कुरा बुझ्न सक्दैनन्‌ र यसमा छक्क मान्‍नुपर्ने कुनै कारण छैन।

ईश्‍वर सदासर्वदा अस्तित्वमा रहनुभएको छ भन्‍ने कुरा बुझ्न हामीलाई गाह्रो लाग्ला। तर यो कुरा तार्किक छ। यदि कसैले ईश्‍वरलाई सृष्टि गरेका भए ती व्यक्‍ति पो सृष्टिकर्ता हुने थिए। तर बाइबलले बताएअनुसार ईश्‍वर यहोवाले नै “सबै थोक सृष्टि गर्नुभयो।” (प्रकाश ४:११) साथै कुनै समय ब्रह्‍माण्ड समेत अस्तित्वमा थिएन भनेर हामीलाई थाह छ। (उत्पत्ति १:१, २) ब्रह्‍माण्डलाई सृष्टि गर्नुहुने ईश्‍वर यहोवा ब्रह्‍माण्डभन्दा अघिदेखि नै अस्तित्वमा हुनुभएकोले ब्रह्‍माण्ड अस्तित्वमा आउन सम्भव भएको हो। उहाँ आफ्नो एक मात्र छोरा येशू र स्वर्गदूतहरूजस्ता अरू बुद्धिमानी प्राणीहरूभन्दा पनि अघिदेखि नै अस्तित्वमा हुनुहुन्थ्यो। (अय्यूब ३८:४, ७; कलस्सी १:१५) त्यसैले स्पष्ट छ, सुरुमा ईश्‍वर मात्र हुनुहुन्थ्यो। उहाँलाई कसैले सृष्टि गरेको होइन किनभने उहाँलाई सृष्टि गर्न कोही पनि उहाँभन्दा अघि अस्तित्वमा थिएन।

हाम्रो र सारा ब्रह्‍माण्डको अस्तित्वले नै युगौंयुगदेखि ईश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुराको प्रमाण दिन्छ। यस विशाल ब्रह्‍माण्डको सुरुवात गर्ने र यसलाई नियन्त्रणमा राख्न प्राकृतिक नियमहरू बनाउने ईश्‍वर सदासर्वदा अस्तित्वमा रहनुभएको हुनैपर्छ। त्यसैले ईश्‍वरले नै सम्पूर्ण प्राणीहरूलाई जीवनको सास दिनुभएको हुनुपर्छ।—अय्यूब ३३:४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने