प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के हामी ईश्‍वरसित घनिष्ठ हुन सक्छौं?
    प्रहरीधरहरा—२०१४ | डिसेम्बर १
    • ईश्‍वरबारे सोचिरहेका एक व्यक्‍ति

      आवरण लेख | तपाईं ईश्‍वरको साथी बन्‍न सक्नुहुन्छ

      के हामी ईश्‍वरसित घनिष्ठ हुन सक्छौं?

      “ईश्‍वरसित घनिष्ठ हुँदा हामी ढुक्क र सुरक्षित महसुस गर्छौं। अनि उहाँ सधैं हाम्रो भलो चाहनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुन्छौं।”—क्रिस्टोफर, घानाका एक युवक।

      “हामी निराश हुँदा ईश्‍वर हामीलाई साथ दिनुहुन्छ, हामीले सोचेभन्दा धेरै माया गर्नुहुन्छ अनि हाम्रो ख्याल राख्नुहुन्छ।”—१३ वर्षीया हाना, अलास्का, अमेरिका।

      “ईश्‍वरसित घनिष्ठ हुन पाउनु सबैभन्दा बहुमूल्य कुरा हो र यसले हामीलाई साँच्चै निर्धक्क बनाउँछ।”—जिना, ४० वर्ष काटेकी एक महिला, जमैका।

      यस्तो महसुस गर्ने क्रिस्टोफर, हाना र जिना मात्र होइनन्‌। संसारभरिका थुप्रै मानिस ईश्‍वर तिनीहरूलाई आफ्नो साथी ठान्‍नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त छन्‌। तपाईं नि? के तपाईं ईश्‍वरसित घनिष्ठ महसुस गर्नुहुन्छ? अथवा उहाँसित अझै घनिष्ठ हुन चाहनुहुन्छ कि? सायद तपाईं सोच्नुहोला, “सबैभन्दा शक्‍तिशाली ईश्‍वरसित घनिष्ठ हुन सम्भव छ र? छ भने कसरी उहाँसित घनिष्ठ हुने?”

      ईश्‍वरसित घनिष्ठ हुन सम्भव छ

      बाइबलअनुसार ईश्‍वरसित व्यक्‍तिगत सम्बन्ध राख्न र घनिष्ठ हुन सम्भव छ। ईश्‍वरले हिब्रूहरूका पुर्खा अब्राहामलाई “मेरो मित्र” भन्‍नुभएको थियो। (यशैया ४१:८) बाइबलको याकूब ४:८ मा दिइएको यो मायालु निम्तोबारे पनि विचार गर्नुहोस्‌: ‘ईश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।’ त्यसैले ईश्‍वरसित घनिष्ठ हुन अनि उहाँको साथी बन्‍न सम्भव छ भन्‍ने कुरा स्पष्ट छ। तर ईश्‍वर अदृश्‍य हुनुभएकोले तपाईं कसरी उहाँसित ‘नजिक हुन’ र घनिष्ठ सम्बन्ध राख्न सक्नुहुन्छ त?

      यस प्रश्‍नको जवाफ पाउन मानिसहरू कसरी साथी बन्‍न पुग्छन्‌ भनेर विचार गर्नुहोस्‌। दुई जना व्यक्‍ति साथी बन्‍न सबैभन्दा सुरुमा त उनीहरूले एकअर्काको नाम थाह पाउनुपर्छ। त्यसपछि नियमित रूपमा कुराकानी गर्दा, आफ्नो सोचाइ र भावना साटासाट गर्दा उनीहरूको मित्रता फस्टाउँछ। अनि जब उनीहरू एकअर्काको निम्ति केही गर्छन्‌, तब उनीहरूको सम्बन्ध बलियो हुँदै जान्छ। ईश्‍वरसित घनिष्ठ हुने सन्दर्भमा पनि कुरा त्यही हो। हामी किन यसो भन्‍न सक्छौं? आउनुहोस्‌, विचार गरौं।

  • ईश्‍वरको नाम थाह पाउनुहोस्‌ र प्रयोग गर्नुहोस्‌
    प्रहरीधरहरा—२०१४ | डिसेम्बर १
    • एकअर्कालाई आ-आफ्नो नाम बताउँदै गरेका दुई व्यक्‍ति

      आवरण लेख | तपाईं ईश्‍वरको साथी बन्‍न सक्नुहुन्छ

      ईश्‍वरको नाम थाह पाउनुहोस्‌ र प्रयोग गर्नुहोस्‌

      के तपाईंको यस्तो कोही साथी छ, जसको नाम तपाईंलाई थाहै छैन? सायद छैन होला। त्यसैगरि बुल्गेरियाकी एक महिलाले भनेझैं “ईश्‍वरको नामै थाह छैन भने उहाँसित घनिष्ठ हुन असम्भव छ।” खुसीको कुरा, यसअघिको लेखमा बताइएझैं तपाईं ईश्‍वरसित नजिक भएको उहाँ चाहनुहुन्छ। त्यसैले त उहाँले बाइबलमार्फत तपाईंलाई आफ्नो परिचय दिनुभएको छ। बाइबलमा यसो लेखिएको पाउँछौं: ‘यहोवा हाम्रा ईश्‍वर एक मात्र यहोवा हुनुहुन्छ।’—मर्कूस १२:२९.

      बाइबलमार्फत ईश्‍वरले तपाईंलाई आफ्नो परिचय दिनुभएको छ। बाइबलमा यसो लेखिएको पाउँछौं: ‘यहोवा हाम्रा ईश्‍वर एक मात्र यहोवा हुनुहुन्छ।’—मर्कूस १२:२९

      मानिसहरूले यहोवाको नाम थाह पाऊन्‌ या नपाऊन्‌ अथवा प्रयोग गरून्‌ या नगरून्‌, के त्यसले उहाँलाई फरक पार्छ र? यो कुरा विचार गर्नुहोस्‌: टेट्राग्रामटन भनेर चिनिने चार वटा हिब्रू अक्षरमा लेखिएको यहोवा नाम मूल हिब्रू धर्मशास्त्रमा झन्डै ७,००० पटक उल्लेख गरिएको पाइन्छ। बाइबलमा यत्ति धेरै पटक उल्लेख गरिएको अरू कुनै नाम छैन। हो, यहोवा हामीले उहाँको नाम थाह पाएको र त्यसलाई प्रयोग गरेको चाहनुहुन्छ।a

      एकअर्काको नाम थाह पाउनु मित्रताको पहिलो खुट्‌किलो हो। के तपाईंलाई ईश्‍वरको नाम थाह छ?

      तर कसै-कसैलाई भने ईश्‍वर पवित्र अनि सर्वशक्‍तिमान्‌ हुनुभएकोले उहाँको नाम लिनु भनेको उहाँको अनादर गर्नु हो जस्तो लाग्न सक्छ। हो, जसरी हामी आफ्नो घनिष्ठ साथीको नाम दुरुपयोग गर्दैनौं त्यसरी नै ईश्‍वरको नाम पनि अनुचित ढङ्‌गमा लिनु गलत हो। तर यहोवा स्वयम्‌ नै उहाँलाई माया गर्नेहरूले उहाँको नामको आदर गरून्‌ र त्यसबारे अरूलाई बताऊन्‌ भन्‍ने चाहनुहुन्छ। (भजन ६९:३०, ३१; ९६:२, ८) यो कुरा पनि सम्झनुहोस्‌, येशूले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभएको थियो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईंको नाम पवित्र पारियोस्‌।” हामीले पनि उहाँको नामबारे अरूलाई बताएर यो नाम पवित्र पार्ने काममा भाग लिन सक्छौं। यसो गर्दा हामी उहाँसित अझ घनिष्ठ हुन्छौं।—मत्ती ६:९.

      बाइबलमा ईश्‍वरले ‘उहाँको नाउँको मान गर्नेहरूलाई’ विशेष ध्यान दिनुहुन्छ भनेर लेखिएको छ। (मलाकी ३:१६, NRV) उहाँको नामको कदर गर्ने मानिसहरूको विषयमा उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु। त्यसले मेरो पुकार गर्नेछ, र म त्यसलाई उत्तर दिनेछु। त्यसका दुःखको घडीमा म त्यससँग हुनेछु।” (भजन ९१:१४, १५, NRV) यदि हामी यहोवासित घनिष्ठ हुन चाहन्छौं भने उहाँको नाम थाह पाउनु अनि प्रयोग गर्नु अत्यावश्‍यक छ।

      a दुःखको कुरा, प्रायः पुरानो नियम भनेर चिनिने हिब्रू धर्मशास्त्रमा ईश्‍वरको नाम यत्ति धेरै पटक उल्लेख गरिएको भए तापनि थुप्रै बाइबल अनुवादमा भने ईश्‍वरको नाम पाइँदैन। बरु ईश्‍वरको नामको ठाउँमा “परमप्रभु” अथवा “प्रभु” जस्ता उपाधि प्रयोग गरिएको पाइन्छ। यस विषयमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको पृष्ठ १९५-१९७ हेर्नुहोस्‌।

  • ईश्‍वरसित कुराकानी गर्नुहोस्‌
    प्रहरीधरहरा—२०१४ | डिसेम्बर १
    • फोनमा आफ्नो साथीसित कुरा गरिरहेका एक व्यक्‍ति

      आवरण लेख | तपाईं ईश्‍वरको साथी बन्‍न सक्नुहुन्छ

      ईश्‍वरसित कुराकानी गर्नुहोस्‌

      घनिष्ठ साथीहरू एकअर्कासित नियमित रूपमा कुराकानी गर्छन्‌; चाहे भेटेर होस्‌ अथवा फोन, इमेल, भिडियो वा चिठीमार्फत। त्यसैगरि ईश्‍वरसित घनिष्ठ हुन हामीले उहाँसित नियमित रूपमा कुराकानी गर्नु जरुरी छ। हामी कसरी त्यसो गर्न सक्छौं?

      हामी प्रार्थनामार्फत यहोवासित कुराकानी गर्न सक्छौं। तर ईश्‍वरलाई प्रार्थना गर्नु भनेको साथीसित गफ गर्नुजस्तो मात्र त होइन। प्रार्थना गर्दा हामीले ब्रह्‍माण्डकै सर्वोच्च व्यक्‍ति अनि हाम्रा सृष्टिकर्तासित कुराकानी गरिरहेका हुन्छौं भन्‍ने कुरा मनमा राख्नुपर्छ। यसो गर्दा हामी ईश्‍वरलाई गहिरो आदर देखाउँदै प्रार्थना गर्न उत्प्रेरित हुन्छौं। ईश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुभएको चाहन्छौं भने हामीले केही आवश्‍यकताहरू पनि पूरा गर्नै पर्छ। त्यसमध्ये तीन वटा आवश्‍यकताबारे अब हामी चर्चा गरौं।

      पहिलो, हामीले ईश्‍वर यहोवालाई मात्रै प्रार्थना गर्नुपर्छ; येशू अथवा कुनै “सन्त” वा मूर्तिलाई होइन। (प्रस्थान २०:४, ५) बाइबलमा स्पष्टै यसो भनिएको छ: ‘हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन ईश्‍वरसमक्ष जाहेर गर।’ (फिलिप्पी ४:६) दोस्रो, हामीले ईश्‍वरको छोरा येशू ख्रीष्टको नाममा प्रार्थना गर्नुपर्छ। येशू आफैले यसो भन्‍नुभएको थियो: “मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।” (यूहन्‍ना १४:६) तेस्रो, हामीले ईश्‍वरको इच्छासित मेल खाने विषयहरूमा मात्र प्रार्थना गर्नुपर्छ। बाइबल भन्छ: ‘ईश्‍वरको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।’a—१ यूहन्‍ना ५:१४.

      घनिष्ठ साथीहरू एकअर्कासित नियमित रूपमा कुराकानी गर्छन्‌

      हो, दुई जना व्यक्‍तिमध्ये एक जना मात्रै एकोहोरो बोलिरहन्छन्‌ भने उनीहरू घनिष्ठ साथी बन्‍न सक्दैनन्‌। साथीहरूबीच दोहोरो कुराकानी भएझैं ईश्‍वरले हामीसित बोल्नुहुँदा हामीले उहाँको कुरा सुन्‍नुपर्छ। त्यसोभए उहाँ कसरी हामीसित बोल्नुहुन्छ?

      आज ईश्‍वर यहोवा हामीसित आफ्नो वचन बाइबलमार्फत “बोल्नुहुन्छ।” (२ तिमोथी ३:१६, १७) हामी किन यसो भन्‍न सक्छौं? मानिलिनुहोस्‌ तपाईंले एक जना घनिष्ठ साथीबाट चिठी पाउनुभयो। साथी आफ्नो साथमा नभए तापनि तपाईंलाई त्यो चिठी पढ्‌दा तिनीसँगै कुराकानी गरेझैं महसुस हुन्छ नि, होइन र? त्यसैगरि बाइबल पढ्‌दा तपाईंले यहोवाको कुरा सुनिरहनुभएको हुन्छ। यस पत्रिकाको सुरुको लेखमा उल्लेख गरिएकी जिना भन्छिन्‌: “ईश्‍वरले हामीलाई साथीको रूपमा हेर्नुभएको चाहन्छौं भने उहाँले दिनुभएको ‘चिठी’ अर्थात्‌ बाइबल जाँच्नै पर्छ। दिनदिनै बाइबल पढ्‌दा म ईश्‍वरसित घनिष्ठ हुन सकेकी छु।” के तपाईं पनि दिनहुँ यहोवाको वचन बाइबल पढेर उहाँको कुरा सुन्‍नुहुन्छ? यसो गर्नुभयो भने तपाईं उहाँसित घनिष्ठ हुन सक्नुहुन्छ।

      a प्रार्थना गरेर ईश्‍वरसित कसरी नजिक हुन सकिन्छ भन्‍ने विषयमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १७ हेर्नुहोस्‌।

  • ईश्‍वरले भन्‍नुभए अनुसारै गर्नुहोस्‌
    प्रहरीधरहरा—२०१४ | डिसेम्बर १
    • एक जना महिलालाई किनमेल गरेको सामान बोक्न मदत गरिरहेका व्यक्‍ति

      आवरण लेख | तपाईं ईश्‍वरको साथी बन्‍न सक्नुहुन्छ

      ईश्‍वरले भन्‍नुभए अनुसारै गर्नुहोस्‌

      “तपाईं एकचोटि भनेर त हेर्नुस्‌, म गरिहाल्छु नि!” आफूले पटक्कै नचिनेको अथवा अलिअलि मात्रै चिनेको व्यक्‍तिलाई सायद तपाईं यसो भन्‍नुहुन्‍न होला। तर आफ्नो घनिष्ठ साथीलाई भने यसो भन्‍न तपाईं अप्ठेरो मान्‍नुहुन्‍न। घनिष्ठ साथीहरू खुसीसाथ एकअर्काले भनेअनुसारै गर्न तयार हुन्छन्‌।

      यहोवा परमेश्‍वर पनि सधैं आफ्ना उपासकहरूलाई आनन्दित तुल्याउने काम गर्नुहुन्छ भनी बाइबलले देखाउँछ। उदाहरणको लागि, ईश्‍वरसित घनिष्ठ भएका राजा दाऊदले यसो भनेका थिए: ‘हे परमप्रभु मेरा ईश्‍वर, तपाईंले गर्नुभएको अचम्मका कामहरू र हामीतर्फको तपाईंको विचार धेरै नै छन्‌। यदि तिनको विषयमा भनेर मैले बोलें भनेता तिनको गन्ती हुनैसक्‍तैन।’ (भजन ४०:५) तर कुरा यति मात्र होइन। यहोवा उहाँलाई नचिन्‍ने व्यक्‍तिहरूको पनि भलो हुने काम गर्नुहुन्छ। उहाँले ‘खानेकुरा अनि आनन्दले तिनीहरूको मन भरिदिनुहुन्छ।’—प्रेषित १४:१७.

      हामी खुसीसाथ आफूले माया अनि आदर गरेका व्यक्‍तिहरूको भलो हुने काम गर्छौं

      यहोवा खुसीसाथ अरूलाई आनन्दित तुल्याउने काम गर्नुहुन्छ। त्यसैले उहाँको साथी बन्‍न चाहने व्यक्‍तिहरूले पनि उहाँको “हृदयलाई आनन्दित” तुल्याउने कामहरू गर्नुपर्छ। (हितोपदेश २७:११) उहाँलाई खुसी पार्न तपाईं के गर्न सक्नुहुन्छ? बाइबल यस्तो सुझाव दिन्छ: ‘भलाइ गर्न अनि अरूसित बाँडचुँड गर्न नबिर्स, किनकि यस्तै बलिदानहरूसित ईश्‍वर असाध्यै खुसी हुनुहुन्छ।’ (हिब्रू १३:१६) यसको मतलब ईश्‍वरलाई खुसी पार्न अरूको भलो हुने काम गर्नु र उनीहरूसित बाँडचुँड गर्नु मात्रै पर्याप्त छ भन्‍ने हो त?

      बाइबल भन्छ: ‘विनाविश्‍वास ईश्‍वरलाई खुसी पार्न असम्भव छ।’ (हिब्रू ११:६) यो कुरा विचार गर्नुहोस्‌: “अब्राहामले यहोवामा विश्‍वास गरे” र त्यसपछि मात्र “तिनी ‘यहोवाको मित्र’ कहलाइए।” (याकूब २:२३) ईश्‍वरको आशिष्‌ पाउन चाहन्छौं भने ‘उहाँमाथि विश्‍वास गर्नु’ आवश्‍यक छ भनेर येशू ख्रीष्टले बताउनुभएको थियो। (यूहन्‍ना १४:१) त्यसोभए ईश्‍वरले आफूतिर खिच्नुहुने व्यक्‍तिहरूमा जुन विश्‍वास भएको चाहनुहुन्छ, त्यो विश्‍वास तपाईं कसरी प्राप्त गर्न सक्नुहुन्छ? सबैभन्दा सुरुमा त ईश्‍वरको वचन बाइबल नियमित रूपमा अध्ययन गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईंले ‘उहाँको इच्छाबारे सही ज्ञान’ पाउनुहुनेछ र “उहाँलाई पूरै प्रसन्‍न बनाउन” के गर्नुपर्छ भनेर सिक्नुहुनेछ। यहोवाबारे जति धेरै सही ज्ञान हासिल गर्दै जानुहुन्छ र उहाँका स्तरहरूबारे सिकेअनुसारै गर्नुहुन्छ, उहाँमाथिको तपाईंको विश्‍वास पनि बढ्‌दै जानेछ। अनि उहाँ तपाईंसित पहिलाभन्दा झन्‌ घनिष्ठ हुनुहुनेछ।—कलस्सी १:९, १०.

  • जीवन जिउने सर्वोत्तम मार्ग
    प्रहरीधरहरा—२०१४ | डिसेम्बर १
    • बाइबल पढिरहेका एक व्यक्‍ति

      आवरण लेख | तपाईं ईश्‍वरको साथी बन्‍न सक्नुहुन्छ

      जीवन जिउने सर्वोत्तम मार्ग

      ईश्‍वरसित घनिष्ठ हुन तपाईं के गर्न सक्नुहुन्छ? ईश्‍वरको साथी बन्‍न चाल्नुपर्ने निम्न कदमहरूबारे हामीले छलफल गऱ्‍यौं:

      1. १. ईश्‍वरको नाम यहोवा हो भनेर जान्‍नुहोस्‌ र त्यो नाम प्रयोग गर्नुहोस्‌

      2. २. प्रार्थना गरेर अनि ईश्‍वरको वचन बाइबल पढेर उहाँसित नियमित रूपमा कुराकानी गर्नुहोस्‌

      3. ३. यहोवालाई खुसी तुल्याउने कामहरू गरिरहनुहोस्‌

      प्रार्थना गरिरहेका एक व्यक्‍ति

      ईश्‍वरको नाम प्रयोग गरेर, उहाँलाई प्रार्थना गरेर, उहाँको वचन अध्ययन गरेर अनि उहाँलाई खुसी तुल्याउने काम गरेर उहाँसित घनिष्ठ हुनुहोस्‌

      के तपाईंले पनि ईश्‍वरसित घनिष्ठ हुन यी कदमहरू चालिसक्नुभयो? यीमध्ये कुनै क्षेत्रमा आफूले अझै सुधार गर्नुपर्छ जस्तो तपाईंलाई लाग्यो कि? हो, ईश्‍वरको साथी बन्‍न हामीले कडा प्रयास गर्नुपर्छ। तर त्यस्तो प्रयास गर्दा नतिजा कस्तो हुन्छ, विचार गर्नुहोस्‌ त!

      अमेरिकाकी जेनिफर यसो भन्छिन्‌: “ईश्‍वरसित घनिष्ठ हुन हामीले गरेको कुनै पनि प्रयास खेर जाँदैन। ईश्‍वरको साथी हुँदा हामीले थुप्रै आशिष्‌ पाउँछौं। जस्तै: उहाँमाथि हाम्रो भरोसा अझै बढ्‌छ; उहाँको व्यक्‍तित्वबारे अझ राम्ररी बुझ्न सक्छौं अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँ र हामीबीचको माया अझ गाढा हुन्छ। जीवन जिउने सर्वोत्तम मार्ग यही हो!”

      तपाईं ईश्‍वरसित घनिष्ठ हुन चाहनुहुन्छ भने यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न खुसी हुनेछन्‌। तिनीहरूले तपाईंसित निश्‍शुल्क बाइबल अध्ययन गर्ने कार्यक्रमको प्रबन्ध मिलाउनेछन्‌। तिनीहरूको राज्यभवनमा हुने बाइबल आधारित सभाहरूमा उपस्थित हुन पनि तपाईंलाई निम्तो दिन्छौं। त्यहाँ तपाईंले ईश्‍वरसितको सम्बन्धलाई अत्यन्तै कदर गर्ने मानिसहरूसित सङ्‌गत गर्न पाउनुहुनेछ।a यसो गर्नुभयो भने तपाईंले पनि भजनको किताबका यी लेखकले जस्तै महसुस गर्नुहुनेछ, जसले लेखे: ‘ईश्‍वरको नजिक जान मेरो निम्ति असल छ।’—भजन ७३:२८.

      a बाइबल अध्ययनको लागि अनुरोध गर्न अथवा तपाईंको घर नजिकै पर्ने राज्यभवनबारे थाह पाउन चाहनुहुन्छ भने तपाईंलाई यो पत्रिका दिने व्यक्‍तिसित सम्पर्क गर्नुहोस्‌ वा हाम्रो वेबसाइट jw.org /ne को गृहपृष्ठको सबैभन्दा मुनितिर “हामीसित सम्पर्क राख्नुहोस्‌” भन्‍ने शीर्षकअन्तर्गत हेर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने