प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भ्रष्टाचारको महामारी
    प्रहरीधरहरा—२०१५ | जनवरी १
    • भ्रष्ट प्रहरीले घूस लिइरहेको

      आवरण लेख | भ्रष्टाचारमुक्‍त सरकार

      भ्रष्टाचारको महामारी

      आफ्नो स्वार्थ पूरा गर्न सरकारी अख्तियारको दुरुपयोग गर्नुलाई भ्रष्टाचार भनिन्छ। यस किसिमको दुरुपयोगले लामो इतिहास बोकेको छ। उदाहरणको लागि बाइबलमा न्यायिक मामिलाहरू सम्हाल्दा घूस खान मनाही गरिएको एउटा नियम पाइन्छ। यसले के देखाउँछ भने आजभन्दा ३,५०० वर्षअघि पनि भ्रष्टाचार व्याप्त थियो। (प्रस्थान २३:८) हो, भ्रष्टाचार भनेको घूस लिनु मात्र त होइन। भ्रष्ट सरकारी अधिकारीहरू कार्यालयका मालसामान सुटुक्क लैजाने, आफ्नो अधिकारमा नभएको सुविधाहरूको नाजायज फाइदा उठाउने वा सरकारी कोषमा भएको रकम हिनामिना गर्ने गर्छन्‌। साथै, तिनीहरू पक्षपाती हुँदै आफ्ना साथीभाइ तथा नातेदारहरूको कामलाई प्राथमिकता दिन आफ्नो पदको दुरुपयोग गर्छन्‌।

      हुन त भ्रष्टाचारले कुनै पनि मानव सङ्‌गठनमा जरा गाड्‌न सक्छ। तर सरकारी कामकाजमा हुने भ्रष्टाचार सबैभन्दा व्यापक छ जस्तो देखिन्छ। भ्रष्टाचार छानबिन गर्ने अन्तरराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदनअनुसारa संसारभरिका मानिसहरू यी पाँचवटा निकायलाई सबैभन्दा धेरै भ्रष्टाचार हुने क्षेत्र ठान्छन्‌: राजनैतिक पार्टी, प्रहरी, सरकारी कार्यालय, व्यवस्थापिका र न्यायपालिका। भ्रष्टाचारको समस्या कत्ति गम्भीर छ भनेर बुझाउने केही रिपोर्टहरू विचार गर्नुहोस्‌।

      • अफ्रिका: सन्‌ २०१३ मा दक्षिण अफ्रिकाका झन्डै २२,००० सरकारी अधिकारीहरूलाई भ्रष्टाचार गरेको आरोपमा कारबाही गरियो।

      • दक्षिण अमेरिका: सन्‌ २०१२, ब्राजिलमा राजनैतिक पार्टीको लागि समर्थन जुटाउन सरकारी कोषको दुरुपयोग गरेको आरोपमा २५ जना मानिसलाई दोषी ठहराइयो। दोषीहरूमध्ये एक जना व्यक्‍ति भूतपूर्व राष्ट्रपतिले गठन गरेका मन्त्रीमण्डलका प्रमुख थिए। मन्त्रीमण्डलका प्रमुखलाई ब्राजिलमा राष्ट्रपतिपछिका सबैभन्दा शक्‍तिशाली व्यक्‍ति मानिन्छ।

      • एसिया: सन्‌ १९९५ मा दक्षिण कोरियाको सियोलमा एउटा सपिङ मल भत्किंदा ५०२ जना मानिस मारिए। घटनाको अनुसन्धान गरिंदा सो भवन बनाउने बेला गुणस्तरहीन कङ्‌क्रिट प्रयोग गर्न र सरकारले तोकेको सुरक्षा नियम उल्लङ्‌घन गर्न सकियोस्‌ भनेर निर्माण कम्पनीले सहरका अधिकारीहरूलाई घूस दिएको पाइयो।

      • युरोप: युरोपेली आयोगकी सदस्य सेसिलिया माल्म्‌स्ट्रोमले यसो भनिन्‌: “युरोपमा भ्रष्टाचारको समस्याले विकराल रूप लिएको छ। राजनीतिज्ञहरूमा भ्रष्टाचारलाई जरैसमेत उखेलेर फ्याँक्ने वचनबद्धताको खाँचो देखिन्छ।”

      सरकारी कामकाजमा हुने भ्रष्टाचारलाई निर्मूल पार्नु मानिसहरूको लागि निकै गाह्रो काम हो। भ्रष्टाचार निवारण सम्बन्धी विज्ञ प्रा० सुजन रोज-आकरमेनले राजनैतिक सुधार ल्याउने हो भने “सरकारको काम गर्ने तरिकामा आधारभूत परिवर्तन ल्याउनु” जरुरी छ भनेर लेखिन्‌। हुन त अहिले यस्ता परिवर्तनहरू ल्याउनु असम्भव छ जस्तो देखिन्छ। तर भविष्यमा यी भन्दा ठूलठूला परिवर्तनहरू आउनेछ भनेर बाइबलमा बताइएको छ।

      a ग्लोबल करप्सन ब्यारोमिटर २०१३

  • परमेश्‍वरको राज्य—भ्रष्टाचारमुक्‍त सरकार
    प्रहरीधरहरा—२०१५ | जनवरी १
    • सैतानले संसारको राज्य घूसको रूपमा दिन खोज्दा येशू इन्कार गर्दै हुनुहुन्छ

      आवरण लेख | भ्रष्टाचारमुक्‍त सरकार

      परमेश्‍वरको राज्य भ्रष्टाचारमुक्‍त सरकार

      “आखिर सरकारी अधिकारीहरू पनि नागरिक नै हुन्‌। त्यसैले नागरिकहरू भ्रष्ट छन्‌ भने सरकारी अधिकारीहरू त भ्रष्ट हुने नै भए।” भ्रष्टाचारलाई निर्मूल पार्नु किन असम्भव छ भनी बताउँदा निकारागुआ सरकारका प्रमुख लेखा परीक्षकले माथिका शब्दहरू भनेका थिए।

      अहिलेको जुनसुकै सरकार पनि मानव समाजकै भाग हो। त्यसैले यदि समाज नै भ्रष्ट छ भने सरकार पनि भ्रष्ट हुन्छ नि, होइन र? अतः कुनै सरकार मानव समाजको भाग होइन भने मात्र त्यो सरकार भ्रष्टाचारमुक्‍त हुन सक्छ। बाइबलमा त्यस्तै एउटा सरकारको विषयमा चर्चा गरिएको छ। त्यो सरकार हो: परमेश्‍वरको राज्य, जसबारे येशूले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुभएको थियो।—मत्ती ६:९, १०.

      परमेश्‍वरको राज्य भनेको स्वर्गबाट शासन गर्ने वास्तविक सरकार हो। भविष्यमा यसले सम्पूर्ण मानव सरकारलाई हटाउनेछ। (भजन २:८, ९; प्रकाश १६:१४; १९:१९-२१) परमेश्‍वरको राज्यले मानिसहरूको लागि ल्याउने थुप्रै आशिष्‌मध्ये एउटा हो: भ्रष्टाचारको अन्त। यो कुरा साँच्चै हुनेछ भनी प्रमाण दिने परमेश्‍वरको राज्यको छवटा पक्षबारे छलफल गरौं।

      १. शक्‍ति

      अहिलेको समस्या: मानव सरकारहरूको मुख्य आयस्रोत भनेको जनता हुन्‌। नागरिकहरूले तिर्ने कर वा महसुलबाट नै सरकारहरू चलिरहेका छन्‌। सरकारले करबाट निकै आम्दानी गरेको देख्दा केही सरकारी अधिकारीहरू पैसा हिनामिना गर्न लोभिन्छन्‌। अरू कतिपय भने कर वा महसुल छल्न मानिसहरूले दिएको घूस लिन्छन्‌। परिणामस्वरूप एउटा डरलाग्दो चक्र सुरु हुन सक्छ—मानिसहरूले कर नतिर्दा सरकारले घाटा बेहोर्नुपर्छ र त्यसको क्षतिपूर्ति गर्न सरकारले अझै चर्को कर लगाउँछ। अनि यसले गर्दा भ्रष्टाचार अझै मौलाउँछ। यसो हुँदा सबैभन्दा धेरै मर्कामा पर्नेहरू त इमानदार मानिसहरू नै हुन्छन्‌।

      समाधान: परमेश्‍वरको राज्यको शक्‍तिको स्रोत सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाa हुनुहुन्छ। (प्रकाश ११:१५) यो राज्य चल्न कसैबाट कर लिनु आवश्‍यक छैन। बरु परमेश्‍वर “सामर्थ्यमा बलियो”, निःस्वार्थ र उदार हुनुभएकोले उहाँको राज्यले आफ्नो प्रजाको सम्पूर्ण आवश्‍यकताहरू पूरा गर्नेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं।—यशैया ४०:२६; भजन १४५:१६.

      २. शासक

      अहिलेको समस्या: अघिल्लो लेखमा उल्लेख गरिएकी सुजन रोज-आकरमेन अनुसार भ्रष्टाचार निवारण गर्न “माथिल्लो तहदेखि नै सुरु गर्नुपर्छ।” कुनै सरकारले भन्सार अधिकृत र प्रहरीहरूमाझ व्याप्त भ्रष्टाचार रोक्न खोज्छ तर उच्च पदाधिकारीहरूले गर्ने भ्रष्टाचार चाहिं सहन्छ भने नागरिकहरूले त्यो सरकारमा भरोसा गर्न छोड्‌छन्‌। साथै कुनै मानव शासक जत्ति नै इमानदार किन नहोऊन्‌, आखिर तिनी पनि जन्मजातै त्रुटिपूर्ण हुन्छन्‌। बाइबलले भनेझैं “संसारमा यस्तो कुनै धर्मी मानिस छैन जसले सबै काम ठीक गर्छ।”—उपदेशक ७:२०.

      येशू ख्रीष्टले इतिहासकै सबैभन्दा ठूलो घूस लिन ठाडै इन्कार गर्नुभयो

      समाधान: यहोवा परमेश्‍वरले आफ्नो राज्यको राजा हुन येशू ख्रीष्टलाई छान्‍नुभएको छ र उहाँ मानिसहरूजस्तो त्रुटिपूर्ण हुनुहुन्‍न। उहाँलाई कहिल्यै गलत काम गर्नको लागि लोभ्याउन सकिंदैन। यो कुरालाई प्रमाणित गर्ने एउटा घटनाबारे विचार गर्नुहोस्‌। यस संसारको शासक सैतानले येशूलाई “संसारका सबै राज्य र त्यसको गौरव” दिन खोज्यो। बदलामा उहाँले सैतानलाई केवल एक चोटि ढोग्नुपर्ने थियो। यत्ति ठूलो घुस त सायद इतिहासमै अहिलेसम्म कसैले दिएको छैन। तर येशूले त्यसलाई ठाडै इन्कार गर्नुभयो। (मत्ती ४:८-१०; यूहन्‍ना १४:३०) जीवनका अन्तिम घडीहरूमा निकै सास्ती भोग्नुपर्दा समेत येशू इमानदार रहनुभयो। दुखाइ कम गर्ने औषधी दिइँदा उहाँले त्यो लिनुभएन। किनभने त्यस औषधीले गर्दा उहाँको होस गुम्न सक्थ्यो, तर यहोवाप्रति पूर्ण वफादार रहेको देखाउन उहाँ मृत्युसम्मै सचेत अवस्थामा रहनु आवश्‍यक थियो। (मत्ती २७:३४) परमेश्‍वरले येशूलाई पुनर्जीवित गर्नुभयो र अहिले उहाँ स्वर्गमा हुनुहुन्छ। परमेश्‍वरको राज्यको राजा हुन आफू योग्य भएको कुरा येशूले प्रमाणित गरिसक्नुभएको छ।—फिलिप्पी २:८-११.

      ३. स्थायित्व

      अहिलेको समस्या: थुप्रै देशमा भ्रष्ट सरकारी अधिकारीहरूलाई हटाउन सकियोस्‌ भनेर नियमित रूपमा निर्वाचन गरिन्छ। तर वास्तवमा भन्‍ने हो भने चुनावी अभियान र निर्वाचनको दौडान भ्रष्टाचार हुने सम्भावना अझ धेरै हुन्छ। अनि विकसित मुलुकहरूमा समेत यो समस्या व्याप्त छ। चुनावी अभियान र अरू कामको लागि नेताहरूलाई थुप्रै चन्दा दिएर धनी व्यक्‍तिहरूले सरकारी अधिकारीहरूको नियुक्‍तिमा निकै प्रभाव पार्न सक्छन्‌।

      अमेरिकाको सर्वोच्च अदालतका न्यायाधीश जोन पल स्टिभन्सले धनी व्यक्‍तिहरूको त्यस्तो प्रभावले गर्दा “सरकारको वैधानिकता र गुणस्तरमाथि प्रश्‍न खडा हुन्छ र मानिसहरूको भरोसा समेत गुम्छ” भनी लेखे। त्यसैले त संसारभरिका थुप्रै मानिसहरू सबैभन्दा भ्रष्ट संस्था भनेकै राजनैतिक पार्टी हो भनी मानिलिन्छन्‌।

      समाधान: परमेश्‍वरको राज्यले शासन गर्दा चुनावी अभियान वा निर्वाचनको बेला हुने भ्रष्टाचारको सम्भावना नै रहँदैन किनभने यो स्थायी सरकार हो। (दानियल ७:१३, १४) यस राज्यको राजालाई परमेश्‍वरले नै छान्‍नुभएकोले यो सरकार मानिसहरूको भोटको आधारमा टिक्ने या नटिक्ने भन्‍ने हुँदैन। यो सरकार स्थायी भएको हुँदा यसले गर्ने सम्पूर्ण कामहरू मानिसहरूकै चिरकालीन हितका लागि हुनेछ भनी हामी ढुक्क हुन सक्छौं।

      ४. कानुन

      स्वर्गको सिंहासनमा विराजमान हुनु भएका येशू पृथ्वीमाथि शासन गर्दै

      परमेश्‍वरको राज्य भनेको स्वर्गबाट शासन गर्ने वास्तविक सरकार हो

      अहिलेको समस्या: भ्रष्टाचार विरुद्ध नयाँ-नयाँ नियम बनाएपछि भ्रष्टाचार कम हुन्छ भन्‍ने तपाईंलाई लाग्ला। तर विशेषज्ञहरूले पत्ता लगाए अनुसार सरकारले जत्ति धेरै नयाँ नियम बनाउँछ, मानिसहरूले भ्रष्टाचार गर्ने मौका उत्ति नै धेरै पाउँछन्‌। यति मात्र नभई भ्रष्टाचार निवारण गर्न बनाइएका नियमहरू लागू गर्न अक्सर धेरै खर्च लाग्छ तर सफलता भने थोरै मात्र प्राप्त हुन्छ।

      समाधान: मानव सरकारहरूको तुलनामा परमेश्‍वरको राज्यको कानुन निकै उत्कृष्ट छ। उदाहरणको लागि, के-के गर्नुहुन्छ अनि के चाहिं गर्नुहुँदैन भनेर लामो सूची दिनुको साटो येशूले एउटा सिद्धान्त दिनुभयो, जसलाई अक्सर सुनौलो नियम भनिन्छ। उहाँले भन्‍नुभयो: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू।” (मत्ती ७:१२) अझ उल्लेखनीय कुरा के हो भने परमेश्‍वरको राज्यका नियमहरूले मानिसहरूको मनसाय र कार्य दुवैलाई प्रभाव पार्छ। येशूले यसो भन्‍नुभयो: “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३९) मानिसहरूले यस्ता नियमहरू साँच्चै पालन गरेका छन्‌ कि छैनन्‌ भनी परमेश्‍वरले पक्का गर्न सक्नुहुन्छ। किनभने उहाँ मानिसको मन जाँच्न सक्नुहुन्छ।—१ शमूएल १६:७.

      ५. मनसाय

      अहिलेको समस्या: लोभ र स्वार्थी चाहनाले गर्दा नै मानिसहरू भ्रष्टाचार गर्न पुग्छन्‌। सरकारी अधिकारी तथा नागरिकहरू अक्सर यस्ता दुर्गुणहरू देखाउँछन्‌। अघिल्लो लेखमा सियोलको सपिङ मल भत्केको दुर्घटनाबारे चर्चा गरिएको थियो। त्यहाँका सरकारी अधिकारीहरूले निर्माण कम्पनीबाट घूस लिएका थिए। त्यस कम्पनीलाई गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्नु वा सुरक्षा नियम पालन गर्नुभन्दा घूस दिनु नै सस्तो हुन्छ भनेर थाह थियो।

      त्यसैले भ्रष्टाचार निर्मूल पार्ने हो भने मानिसहरूलाई लोभ र स्वार्थजस्ता दुर्गुण त्याग्न सिकाउनु आवश्‍यक छ। तर यस किसिमको शिक्षा दिन मानव सरकारहरूसित न इच्छा छ, न त क्षमता नै।

      समाधान: परमेश्‍वरको राज्यले भ्रष्टाचार हुनुको मूल कारण अर्थात्‌ लोभ र स्वार्थजस्ता दुर्गुणहरू कसरी त्याग्ने भनी मानिसहरूलाई सिकाउनेछ अनि भ्रष्टाचारलाई जरैसमेत उखेलेर फ्याँकिदिनेछ। यस्तो शिक्षाले ‘मानिसहरूको दिमागलाई नयाँ मनोभावद्वारा उत्प्रेरित’ गर्नेछ। (एफिसी ४:२३) लोभ र स्वार्थजस्ता दुर्गुणहरूलाई त्यागेर तिनीहरूले आफूसित भएका कुरामा सन्तुष्ट हुन र अरूलाई चासो देखाउन सिक्नेछन्‌।—फिलिप्पी २:४; १ तिमोथी ६:६.

      ६. प्रजा

      अहिलेको समस्या: जतिसुकै राम्रो सामाजिक वातावरणमा हुर्केको या नैतिकतासम्बन्धी सबैभन्दा राम्रो शिक्षा पाएको भए तापनि केही मानिसहरू बेइमानी र भ्रष्टाचारको बाटो रोज्छन्‌। यही कारणले गर्दा मानव सरकारहरूले भ्रष्टाचारलाई पूर्ण रूपमा हटाउन सक्दैनन्‌ भनी विशेषज्ञहरू बताउँछन्‌। यस सन्दर्भमा मानव सरकारले हासिल गर्न सक्ने सबैभन्दा ठूलो उपलब्धि भनेकै भ्रष्टाचार र यसले गर्दा हुने क्षतिलाई केही हदसम्म कम गर्नु हो।

      समाधान: राष्ट्र सङ्‌घले भ्रष्टाचार विरुद्ध आयोजना गरेको अधिवेशनमा यसो भनिएको थियो: भ्रष्टाचारसित लड्‌न सरकारले देशका जनतालाई “इमानदार र जिम्मेवार” नागरिक बन्‍न प्रोत्साहन दिनुपर्छ। हुन त यो मानव सरकारको राम्रो लक्ष्य हो। तर परमेश्‍वरको राज्यले भने आफ्नो प्रजालाई यस्ता गुणहरू विकास गर्न मात्र प्रोत्साहन दिंदैन। बरु त्यस राज्यको प्रजा हुन चाहनेले यस्ता गुणहरू देखाउनै पर्छ। “लोभीहरू” र “झूट बोल्नेहरू” परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ भनेर बाइबलमा बताइएको छ।—१ कोरिन्थी ६:९-११; प्रकाश २१:८. 

      मानिसहरूले यस्ता उच्च नैतिक स्तर पालन गर्न सक्छन्‌। सुरु-सुरुका ख्रीष्टियनहरू यस कुराको प्रमाण हुन्‌। उदाहरणको लागि, सिमोन नाम गरेका एक जना चेलाले प्रेषितहरूबाट पवित्र शक्‍तिको वरदान किन्‍न खोजेका थिए। तर प्रेषितहरूले घूस लिएनन्‌ अनि सिमोनलाई यसो भने: “तिम्रो यस खराबीको लागि पश्‍चात्ताप गर।” सिमोनले आफ्नो गलत चाहनाले ल्याउने नराम्रो परिणामबारे बुझे। अनि त्यसबाट जोगिन सकियोस्‌ भनेर आफ्नो निम्ति प्रार्थना गरिदिन तिनले तुरुन्तै प्रेषितहरूलाई आग्रह गरे।—प्रेषित ८:१८-२४.

      तपाईं कसरी परमेश्‍वरको राज्यको नागरिक हुन सक्नुहुन्छ?

      तपाईं जुनसुकै देशको नागरिक भए तापनि परमेश्‍वरको राज्यको प्रजा बन्‍न सक्नुहुन्छ। (प्रेषित १०:३४, ३५) यसको लागि के गर्नुपर्छ भनेर थाह पाउन अहिले संसारभरि परमेश्‍वरको राज्यले सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रममा भाग लिनुहोस्‌। तपाईंलाई निश्‍शुल्क गृह बाइबल अध्ययन कसरी सञ्चालन हुन्छ भनेर देखाउन यहोवाका साक्षीहरू खुसी हुनेछन्‌। यसरी बाइबल अध्ययन गर्न तपाईंले हप्ताको १० मिनेट मात्रै दिए पनि पुग्छ। यस अध्ययनबाट तपाईंले परमेश्‍वरको राज्यले भ्रष्टाचारको नामोनिसान कसरी हटाउनेछ भनेर सिक्नुका साथै ‘त्यस राज्यको सुसमाचारबारे’ अझ धेरै कुरा थाह पाउनुहुनेछ। (लूका ४:४३) तपाईंको छरछिमेकका कुनै पनि यहोवाका साक्षीलाई सम्पर्क गर्न वा हाम्रो वेबसाइट jw.org/ne हेर्न हामी तपाईंलाई आग्रह गर्छौं।

      निश्‍शुल्क गृह बाइबल अध्ययन गर्दै

      के तपाईं घरमै बसेर निश्‍शुल्क बाइबल अध्ययन गर्न चाहनुहुन्छ?

      a बाइबलअनुसार परमेश्‍वरको नाम यहोवा हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने