-
येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउनुहोस्—भाग १प्रहरीधरहरा—२०१५ | जून १५
-
-
येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउनुहोस्—भाग १
“तपाईंको नाम पवित्र पारियोस्।”—मत्ती ६:९.
१. मत्ती ६:९-१३ मा उल्लेख गरिएको प्रार्थनालाई हामी कसरी प्रचारकार्यमा चलाउन सक्छौं?
प्रभुको प्रार्थना भनेर चिनिने येशूले सिकाउनुभएको प्रार्थना थुप्रै देशका मानिसलाई कण्ठ छ। घरघरको प्रचारमा जाँदा परमेश्वरको राज्य एउटा वास्तविक सरकार हो र यसले पृथ्वीमा राम्रा परिवर्तनहरू ल्याउनेछ भनेर घरधनीलाई बुझाउन हामी यस प्रार्थनाबारे बताउने गर्छौं। अथवा परमेश्वरको नाम छ र यो पवित्र गरिनुपर्छ अर्थात् हामीले यस नामलाई पवित्र ठान्नुपर्छ भनेर घरधनीलाई बुझाउन यस प्रार्थनाको पहिलो बिन्तीबारे बताउँछौं।—मत्ती ६:९.
२. हरेक चोटि प्रार्थना गर्दा येशूले सिकाउनुभएको प्रार्थनाका शब्दहरू जस्ताको तस्तै दोहोऱ्याएको उहाँ चाहनुहुन्न थियो भनेर हामी कसरी थाह पाउँछौं?
२ आज चर्चजगत्का थुप्रै मानिस हरेक चोटि प्रार्थना गर्दा येशूले सिकाउनुभएको प्रार्थनाका शब्दहरू जस्ताको तस्तै दोहोऱ्याउँछन्। के हामीले त्यसै गरोस् भन्ने येशू चाहनुहुन्थ्यो? अहँ! चाहनुहुन्न थियो। यस प्रार्थनाबारे बताउनुअघि येशूले यसो भन्नुभएको थियो, “प्रार्थना गर्दा ... एउटै कुरा दोहोऱ्याई नराख।” (मत्ती ६:७) पछि उहाँले फेरि एक पटक आफ्ना चेलाहरूलाई यही प्रार्थनाबारे बताउनुभयो तर उहाँले फरक शब्दहरू चलाउनुभयो। (लूका ११:१-४) त्यसैले प्रार्थनामा कस्ता कुराहरूको लागि बिन्ती गर्नुपर्छ र हामीले प्रार्थनामा भन्ने कुराहरू कुन क्रमअनुसार हुनुपर्छ भनेर येशूले सिकाउन खोज्दै हुनुहुन्थ्यो। त्यसैले उहाँले सिकाउनुभएको यस प्रार्थनालाई हामी नमुनाको रूपमा पनि लिन सक्छौं।
३. येशूले सिकाउनुभएको प्रार्थनाबारे छलफल गर्दा हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्नु राम्रो हो?
३ यो र यसपछिको लेखमा येशूले सिकाउनुभएको प्रार्थनामा गरिएका बिन्तीहरू केलाउनेछौं। यी लेखहरू अध्ययन गर्दा आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘यस प्रार्थनाले मेरो प्रार्थनाको गुणस्तर बढाउन कसरी मदत गर्छ?’ त्योभन्दा पनि महत्त्वपूर्ण प्रश्न, ‘के म यो प्रार्थनाअनुसारै जीवन बिताउँदै छु?’
“स्वर्गमा बस्नुहुने हाम्रा बुबा”
४. “हाम्रो बुबा” भन्ने अभिव्यक्तिले हामीलाई कुन कुरा सम्झाउँछ? पृथ्वीमा बाँच्ने आशा भएकाहरूले किन यहोवा परमेश्वरलाई “बुबा” भनेर पुकार्न सक्छन्?
४ प्रार्थनामा “हाम्रो बुबा” भन्ने अभिव्यक्ति चलाइएको छ, “मेरो बुबा” होइन। यस कुराले हामी “सबै भाइहरू” मिलेर बनेको सङ्गठनको भाग हौं भनेर सम्झाउँछ, जसका सबै सदस्यहरू एकअर्कालाई साँचो माया गर्छन्। (१ पत्रु. २:१७) यो हामीले पाएको विशेष सुअवसर होइन र? स्वर्गमा जीवन पाउने आशा भएका अभिषिक्त ख्रीष्टियनहरूलाई परमेश्वरले धर्मपुत्र बनाउनुभएको छ। त्यसैले तिनीहरू यहोवा परमेश्वरलाई वास्तवमै “बुबा” भनेर पुकार्छन्। (रोमी ८:१५-१७) सधैंभरि पृथ्वीमा बाँच्ने आशा भएका ख्रीष्टियनहरूले पनि यहोवा परमेश्वरलाई “बुबा” भनेर पुकार्न सक्छन्। किनभने उहाँले नै तिनीहरूलाई जीवन दिनुभएको हो र उहाँ मायालु भई आफ्ना सबै उपासकको आवश्यकता पूरा गरिदिनुहुन्छ। पृथ्वीमा बाँच्ने आशा भएकाहरू त्रुटिरहित भइसकेपछि र अन्तिम परीक्षामा यहोवाप्रति वफादार भएको कुरा प्रमाणित गरिसकेपछि तिनीहरू पनि वास्तवमा परमेश्वरको सन्तान बन्नेछन्।—रोमी ८:२१; प्रका. २०:७, ८.
५, ६. आमाबुबाले छोराछोरीलाई कस्तो उपहार दिन सक्छन्? छोराछोरीले कसरी यस उपहारको सदुपयोग गर्न सक्छन्? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)
५ आमाबुबाले छोराछोरीलाई प्रार्थना गर्न र यहोवालाई आफ्नो मायालु बुबाको रूपमा हेर्न सिकाउनुपर्छ। यसो गर्दा आमाबुबाले छोराछोरीलाई साँच्चै एउटा अनमोल उपहार दिइरहेका हुन्छन्। दक्षिण अफ्रिकामा क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरिरहेका एक भाइ यसो भन्छन्, “छोरीहरू जन्मेदेखि नै मैले प्रत्येक रात उनीहरूसँगै बसेर प्रार्थना गरें। कहिलेकाहीं घरमा नहुँदा मात्र त्यसो गर्न सकिनँ। मैले प्रार्थनामा ठ्याक्कै कस्ता शब्दहरू चलाएको थिएँ भनेर त अहिले उनीहरूलाई याद छैन। तर प्रार्थना गर्दाको माहोल भने उनीहरूलाई अझै याद छ। हाम्रा बुबा यहोवासित कुरा गर्नु साँच्चै महत्त्वपूर्ण छ भनेर महसुस गरेको र यसो गर्दा ढुक्क अनुभव गरेको उनीहरूले बिर्सेका छैनन्। उनीहरू प्रार्थना गर्न सक्ने उमेरको भएदेखि नै मैले उनीहरूलाई ठूलो स्वरमा प्रार्थना गर्न लगाएँ। किनभने त्यसो गर्दा उनीहरूले यहोवालाई आफ्नो सोचाइ र भावना पोखेको मैले सुन्न पाउँथें। यसरी उनीहरूको मनको कुरा थाह पाउन सक्थें। त्यसपछि मैले उनीहरूलाई येशूले सिकाउनुभएको प्रार्थनामा भएका महत्त्वपूर्ण बिन्तीहरू समावेश गरेर प्रार्थनालाई कसरी अझै अर्थपूर्ण बनाउन सकिन्छ भनेर सिकाउन सकें।”
६ हुर्कंदै जाँदा ती भाइका छोरीहरूले आध्यात्मिक उन्नति गरे। उनीहरू अहिले आ-आफ्ना श्रीमान्सँगै सुखी जीवन बिताउँदै छन् र पूर्ण-समय सेवा गर्दै छन्। आमाबुबाले छोराछोरीलाई यहोवा परमेश्वरसित घनिष्ठ सम्बन्ध गाँस्न मदत गर्नुपर्छ। यो नै आमाबुबाले आफ्ना छोराछोरीलाई दिन सक्ने सबैभन्दा उत्तम उपहार हो। तर यहोवा परमेश्वरसितको अनमोल सम्बन्धलाई कायम राख्ने जिम्मेवारी भने प्रत्येकको आफ्नै हो। यसो गर्नुमा परमेश्वरको नामलाई प्रेम गर्न र यस नामको गहिरो आदर गर्न सिक्नु समावेश छ।—भज. ५:११, १२; ९१:१४.
“तपाईंको नाम पवित्र पारियोस्”
७. परमेश्वरका जनहरूले कस्तो सुअवसर पाएका छन्? यस्तो सुअवसर पाएको हुनाले हामीले के गर्नुपर्छ?
७ हामीले परमेश्वरको नाम थाह पाउने मात्र नभई त्यो नाम बहन गर्ने सुअवसर पनि पाएका छौं। हो, हामी ‘उहाँको नामको लागि छानिएका मानिसहरू’ हौं। (प्रेषि. १५:१४; यशै. ४३:१०) स्वर्गमा बस्नुहुने बुबालाई हामी यस्तो बिन्ती गर्छौं, “तपाईंको नाम पवित्र पारियोस्।” यस्तो बिन्तीले हामीलाई परमेश्वरको पवित्र नामको बदनाम हुने कुनै पनि कुरा नभन्न वा नगर्न मदत दिनुहोस् भनेर उहाँलाई पुकार्न उत्प्रेरित गर्छ। आफूले प्रचार गरेको कुराअनुसार नचल्ने प्रथम शताब्दीका केही ख्रीष्टियनहरू जस्तो हामी हुन चाहँदैनौं। प्रेषित पावलले तिनीहरूलाई यसो भने, “तिमीहरूले गर्दा अन्यजातिहरूको बीचमा परमेश्वरको नाम निन्दित भइरहेको छ।”—रोमी २:२१-२४.
८, ९. यहोवा परमेश्वर आफ्नो नाम पवित्र पार्न चाहनेहरूलाई आशिष् दिनुहुन्छ भनेर बुझाउने एउटा उदाहरण बताउनुहोस्।
८ हामी परमेश्वरको नाम पवित्र पार्न चाहन्छौं। नर्वेकी एक बहिनीको उदाहरण विचार गरौं। तिनको श्रीमान्को अकालमै मृत्यु भएपछि तिनी एक्लैले दुई वर्षको छोरालाई हुर्काउनुपऱ्यो। तिनी भन्छिन्, “त्यो मेरो लागि असाध्यै गाह्रो समय थियो। भावनात्मक रूपमा बलियो हुन मदत गर्नुहोस् भनेर म हरेक दिन, हरेक घण्टा यहोवालाई प्रार्थना गर्थें। किनभने म कुनै मूर्ख निर्णय गरेर वा आफ्नो वफादारीमा सम्झौता गरेर सैतानलाई यहोवाको आलोचना गर्ने मौका दिन चाहन्नथें। म यहोवाको नाम पवित्र पार्न चाहन्थें र मेरो छोराले नयाँ संसारमा आफ्नो बुबालाई फेरि भेट्न पाएको हेर्न चाहन्थें।”—हितो. २७:११.
९ के यहोवाले तिनको निष्कपट प्रार्थनाको जवाफ दिनुभयो? पक्कै दिनुभयो। आफ्ना ख्रीष्टियन दाजुभाइ दिदीबहिनीसँग नियमित रूपमा सङ्गत गरेर तिनले निकै मदत पाइन्। पाँच वर्षपछि तिनले एक जना एल्डरसित विवाह गरिन्। तिनको छोरा अहिले २० वर्षको भइसकेका छन् र उनले पनि बप्तिस्मा गरिसकेका छन्। ती बहिनी यसो भन्छिन्, “मेरो श्रीमान्ले छोरा हुर्काउन मलाई साथ दिनुभएकोमा म निकै खुसी छु।”
१०. परमेश्वरले कसरी आफ्नो नाम पूर्ण रूपमा पवित्र पार्नुहुनेछ?
१० परमेश्वरले चाँडै आफ्नो नाम पूर्ण रूपमा पवित्र पार्नुहुनेछ र आफ्नो नाममा लागेको सबै कलङ्क मेटाउनुहुनेछ। त्यसको लागि उहाँले आफ्नो शासन गर्ने अधिकारको जानाजानी विरोध गर्ने सबैलाई नाश गर्नुहुनेछ। (इजकिएल ३८:२२, २३ पढ्नुहोस्) त्यसपछि मानिसहरू बिस्तारै त्रुटिरहित हुनेछन्। स्वर्ग र पृथ्वीमा भएका सबैले यहोवाको नामलाई पवित्र पार्नेछन्। हामी त्यस समयको उत्कट प्रतीक्षा गर्दै छौं। अन्तमा, स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबा नै “सबै थोकका सर्वेसर्वा” हुनुहुनेछ।—१ कोरि. १५:२८.
“तपाईंको राज्य आओस्”
११, १२. सन् १८७६ मा यहोवा परमेश्वरले साँचो ख्रीष्टियनहरूलाई कुन कुरा बुझ्न मदत गर्नुभयो?
११ येशू स्वर्गमा फर्कनुअघि चेलाहरूले उहाँलाई यस्तो प्रश्न सोधे, “प्रभु, के तपाईंले इस्राएलमा परमेश्वरको राज्य अहिले पुनर्स्थापित गर्न लाग्नुभएको हो?” येशूले दिनुभएको जवाफबाट तिनीहरूले त्यतिबेला परमेश्वरको राज्यले कहिलेदेखि शासन थाल्नेछ भनेर थाह पाउने समय भइसकेको थिएन भनेर बुझ्न सक्छौं। येशूले आफ्ना चेलाहरूलाई एउटा महत्त्वपूर्ण काम अर्थात् सुसमाचार प्रचार गर्ने काममा ध्यान दिन भन्नुभयो। (प्रेषित १:६-८ पढ्नुहोस्) तर उहाँले आफ्ना चेलाहरूलाई परमेश्वरको राज्यको उत्सुकतासाथ प्रतीक्षा गर्न पनि भन्नुभएको थियो। त्यसैले प्रेषितहरूको समयदेखि नै ख्रीष्टियनहरूले त्यो राज्य आओस् भनेर प्रार्थना गरिरहेका छन्।
१२ येशूले स्वर्गबाट शासन थाल्ने समय नजिकिंदै जाँदा यहोवा परमेश्वरले आफ्ना जनहरूलाई त्यो समय कहिले आउनेछ भनेर बुझ्न मदत गर्नुभयो। सन् १८७६ मा बाइबल परीक्षक भन्ने अङ्ग्रेजी पत्रिकामा चार्ल्स टेज रसलको एउटा लेख छापिएको थियो। त्यस लेखको शीर्षक “अन्यजातिहरूको समय: यो कहिले अन्त हुनेछ?” भन्ने थियो। यस लेखमा सन् १९१४ एउटा महत्त्वपूर्ण वर्ष हो भनेर बताइएको थियो। साथै दानियलको भविष्यवाणीमा बताइएको “सात काल” र येशूले बताउनुभएको “राष्ट्रहरूलाई दिइएको समय” एकअर्कासित सम्बन्धित छ भनेर पनि बताइएको थियो।a—दानि. ४:१६; लूका २१:२४.
१३. सन् १९१४ मा के भयो र त्यस वर्षदेखि संसारमा घटेका घटनाहरूले कुन कुरा प्रमाणित गर्छ?
१३ सन् १९१४ मा युरोपेली राष्ट्रहरूबीच एउटा युद्ध भयो। पछि त्यो युद्ध संसारभरि फैलँदै गयो र यसले पूरै संसारलाई नराम्रो असर गऱ्यो। सन् १९१८ मा यस युद्धको अन्त भयो। त्यस बेलासम्ममा युद्धले गर्दा थुप्रै ठाउँमा अनिकाल लागिसकेको थियो। साथै एउटा महामारी व्यापक रूपमा फैलिएको थियो अनि यसले गर्दा मरेका मानिसहरूको सङ्ख्या युद्धमा मारिएकाहरूको भन्दा धेरै भयो। यसरी पृथ्वीको नयाँ राजाको रूपमा आफ्नो उपस्थिति हुने समयबारे येशूले दिनुभएको “चिन्ह” पूरा हुन थाल्यो। (मत्ती २४:३-८; लूका २१:१०, ११) सन् १९१४ मा येशू ख्रीष्टलाई “एउटा मुकुट” दिइएको थियो भन्ने कुराको थुप्रै प्रमाण छ। त्यसबेलादेखि उहाँ “विजय गर्दै आफ्नो विजययात्रा पूरा गर्नलाई अघि” बढ्नुभयो। (प्रका. ६:२) उहाँले स्वर्गमा सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूसित युद्ध लड्नुभयो, तिनीहरूलाई हराउनुभयो अनि पृथ्वीमा फालिदिनुभयो। त्यसबेलादेखि मानिसहरूले बाइबलका यी शब्दहरू पूरा भएको अनुभव गरेका छन्, “पृथ्वी र समुद्रलाई भने धिक्कार छ, किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी भएकोले त्यो असाध्यै रिसाएको छ।”—प्रका. १२:७-१२.
१४. (क) अहिले पनि हामीले परमेश्वरको राज्य आओस् भनेर प्रार्थना गर्नु किन महत्त्वपूर्ण छ? (ख) हामीले कस्तो सुअवसर पाएका छौं?
१४ परमेश्वरको राज्यको जन्म भएदेखि नै मानिसजातिलाई पिरोल्ने डरलाग्दा घटनाहरू किन घट्न थाले भन्ने प्रश्नको जवाफ प्रकाश १२:७-१२ मा उल्लेख गरिएको भविष्यवाणीले दिन्छ। परमेश्वरको राज्यका राजा येशूले आफ्ना शत्रुहरूमाझ शासन गरिरहनुभएको छ। उहाँले आफ्नो विजययात्रा पूरा नगरेसम्म र पृथ्वीबाट दुष्टतालाई नहटाएसम्म परमेश्वरको राज्य आओस् भनेर हामी प्रार्थना गरी नै रहनेछौं। साथै हामीले आफ्नो प्रार्थनाअनुसारै जीवन बिताउनु पनि महत्त्वपूर्ण छ। त्यसको लागि येशूले दिनुभएको “चिन्ह”-को सबैभन्दा रोचक पक्षमा भाग लिनुपर्छ। यसबारे येशूले यसो भन्नुभएको थियो, “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ती २४:१४.
“तपाईंको इच्छा ... पृथ्वीमा पनि पूरा होस्”
१५, १६. परमेश्वरको इच्छा पृथ्वीमा पूरा होस् भन्ने बिन्तीअनुसारै हामी कसरी जीवन बिताउन सक्छौं?
१५ झन्डै ६,००० वर्षअघि पृथ्वीमा सबै कुरा परमेश्वरको इच्छाअनुसारै भइरहेको थियो। त्यसैले मानिसजातिलाई सृष्टि गरेपछि अनि उनीहरूको लागि आफूले गरेको सबै प्रबन्ध हेरेपछि परमेश्वरले यसो भन्नुभयो, “त्यो साह्रै राम्रो थियो।” (उत्प. १:३१) तर सैतानले विद्रोह गऱ्यो। त्यस बेलादेखि पृथ्वीमा थोरै मानिस मात्र परमेश्वरको इच्छाअनुसार चलेका छन्। तर आज झन्डै ८० लाख यहोवाका साक्षीहरूले परमेश्वरको इच्छा पृथ्वीमा पूरा होस् भनेर प्रार्थना गरिरहेका मात्र छैनन्, त्यस बिन्तीअनुसारै जीवन बिताइरहेका पनि छन्। यस्तो समयमा बाँच्न पाउनु हाम्रो लागि ठूलो सुअवसर होइन र? यहोवाका साक्षीहरूले चेला बनाउने काममा जोसिलो भई भाग लिएर अनि आफ्नो जीवनशैलीद्वारा परमेश्वरको इच्छा पृथ्वीमा पूरा होस् भन्ने बिन्तीअनुसारै जीवन बिताइरहेका छन्।
के तपाईं आफ्ना छोराछोरीलाई परमेश्वरको इच्छा पृथ्वीमा पूरा होस् भन्ने बिन्तीअनुसारै जीवन बिताउन मदत गर्दै हुनुहुन्छ? (अनुच्छेद १६ हेर्नुहोस्)
१६ उदाहरणको लागि, सन् १९४८ मा बप्तिस्मा गरेकी र अफ्रिकामा मिसनरीको रूपमा सेवा गरेकी बहिनीलाई लिनुहोस्। तिनी भन्छिन्, “येशूले सिकाउनुभएको प्रार्थनाको तेस्रो बिन्तीअनुसारै अन्त आउनुअघि सबै भेडाखाले मानिसहरूलाई भेट्न सकियोस् अनि उनीहरूले यहोवा परमेश्वरलाई चिन्ने मौका पाऊन् भनेर म अक्सर प्रार्थना गर्छु। साथै कसैलाई साक्षी दिनुअघि म यहोवा परमेश्वरलाई त्यस मानिसको मनसम्म पुग्न बुद्धि दिनुहोस् भनेर पनि प्रार्थना गर्छु। अनि चेला बनिसकेका भेडाखाले मानिसहरूको विषयमा पनि म प्रार्थना गर्छु र हामीले उनीहरूलाई मदत गर्न प्रयास गर्दा आशिष् दिनुहोस् भनेर यहोवा परमेश्वरलाई बिन्ती गर्छु।” यी ८० वर्षीया बहिनी आफ्नो प्रचारकार्यमा सफल भएकी छिन्। तिनले अरू दाजुभाइ दिदीबहिनीको पनि सहायता लिएर थुप्रैलाई यहोवाको साक्षी बन्न मदत गरेकी छिन्। उमेर ढल्किसकेको भए तापनि यी बहिनीले जस्तै परमेश्वरको इच्छाअनुसार चल्न आफैलाई अर्पण गरेका थुप्रै दाजुभाइ दिदीबहिनीलाई तपाईं पनि चिन्नुहुन्छ होला।—फिलिप्पी २:१७ पढ्नुहोस्।
१७. परमेश्वरले भविष्यमा कसरी आफ्नो इच्छा व्यापक रूपमा पूरा गर्नुहुनेछ? यो कुरा विचार गर्दा तपाईंलाई कस्तो लाग्छ?
१७ परमेश्वरको राज्यका शत्रुहरूलाई पृथ्वीबाट विनाश नगरेसम्म उहाँको इच्छा पूरा होस् भनेर हामी प्रार्थना गरिरहनेछौं। नयाँ संसारमा करोडौं मानिसहरूलाई पुनर्जीवित गरिनेछ। यसरी परमेश्वरको इच्छा यस पृथ्वीमा व्यापक रूपमा पूरा भएको हामीले देख्नेछौं। येशूले यसो भन्नुभएको थियो, “यसमा अचम्म नमान, किनभने बेला आउँदैछ, जब चिहानमा हुनेहरू सबैले [मेरो] सोर सुन्नेछन् र बाहिर निस्किआउनेछन्।” (यूह. ५:२८, २९) हामीले मरिसकेका आफन्त तथा साथीभाइलाई नयाँ संसारमा स्वागत गर्ने ठूलो सुअवसर पाउनेछौं। परमेश्वरले “[हाम्रो] आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रका. २१:४) नयाँ संसारमा पुनर्जीवित भएर आउनेहरूमध्ये धेरै जना त ‘परमेश्वरको स्तरबमोजिम असल काम नगर्नेहरू’ हुनेछन्, जसले यहोवा परमेश्वर अनि उहाँको छोराबारे सिक्ने मौका नै पाएका थिएनन्। हामीले उनीहरूलाई परमेश्वरको इच्छा र उद्देश्यबारे सिकाउने अनि “अनन्त जीवन” पाउनको लागि योग्य हुन मदत गर्ने सुअवसर पनि पाउनेछौं।—प्रेषि. २४:१५; यूह. १७:३.
१८. मानिसजातिको सबैभन्दा महत्त्वपूर्ण आवश्यकता के-के हुन्?
१८ यहोवा परमेश्वरले आफ्नो राज्यमार्फत आफ्नो नाम पवित्र पार्नुभएपछि मात्र सारा संसारमा शान्ति र एकता छाउनेछ। त्यसैले येशूले सिकाउनुभएको प्रार्थनाको पहिलो तीन बिन्ती नै वास्तवमा मानिसजातिको सबैभन्दा महत्त्वपूर्ण आवश्यकता हुन्। किनभने यहोवाले यी बिन्तीको जवाफ दिनुभएपछि हाम्रा ती आवश्यकताहरू पूरा हुनेछन्। यसबाहेक हाम्रा अरू आवश्यकताहरू पनि छन्, जसबारे येशूले सिकाउनुभएको प्रार्थनाको बाँकी चार बिन्तीमा बताइएको छ। यी बिन्तीहरूबारे अर्को लेखमा छलफल गर्नेछौं।
a यो भविष्यवाणी सन् १९१४ मै पूरा भयो र त्यही सालदेखि परमेश्वरको राज्यले शासन गर्न थाल्यो भन्ने विषयमा थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? भन्ने किताबको पृष्ठ २१५-२१८ हेर्नुहोस्।
-
-
येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउनुहोस्—भाग २प्रहरीधरहरा—२०१५ | जून १५
-
-
येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउनुहोस्—भाग २
“तिमीहरूलाई के चाहिन्छ भनेर तिमीहरूका बुबालाई थाह छ।”—मत्ती ६:८.
१-३. हामीलाई के चाहिन्छ भनी यहोवा परमेश्वरलाई थाह छ भन्ने कुरामा एक बहिनी किन विश्वस्त भइन्?
सन् २०१२ को गर्मी यामको त्यो दिन लाना कहिल्यै बिर्सिदिंनन्। त्यसबेला उनी जर्मनीमा थिइन्। त्यो दिन उनले आफ्नो दुई वटा प्रार्थनाको जवाफ पाएको महसुस गरिन्। रेलमा यात्रा गरेर विमानस्थलतर्फ जाँदै गर्दा उनले पहिलो प्रार्थना गरेकी थिइन्। कसैलाई साक्षी दिन सकूँ भनेर उनले बिन्ती गरेकी थिइन्। विमानस्थल पुगेपछि उनले आफू चढ्ने विमानको उडान भोलिपल्टको लागि सारिएको कुरा थाह पाइन्। त्यसपछि उनले दोस्रो प्रार्थना गरिन्। आफूसित भएको पैसा सिद्धिनै लागेको र बस्नको लागि कुनै ठाउँ पनि नभएको कुरा उनले प्रार्थनामा बताइन्।
२ लानाको प्रार्थना सिद्धिनेबित्तिकै एक जना व्यक्तिले उनलाई यसो भने, “ओहो लाना! तिमी यहाँ कसरी?” तिनी लानाको स्कुलको साथी थिए। तिनी दक्षिण अफ्रिकामा जान लागेका रहेछन् अनि विमानस्थलमा तिनलाई पुऱ्याउन तिनकी आमा र हजुरआमा पनि आएका रहेछन्। लानाको परिस्थितिबारे थाह पाएपछि तिनकी आमा एल्केले लानालाई आफ्नो घरमा बस्न निम्तो दिइन्। एल्के र उनकी आमाले लानालाई अतिथिसत्कार गरे। साथै लानालाई उनको विश्वास र पूर्ण-समय प्रचारकको रूपमा उनले गरिरहेको सेवाबारे थुप्रै प्रश्न सोधे।
३ भोलिपल्ट बिहान टन्न खाजा खाएपछि लानाले उनीहरूको मनमा उठेका बाइबलसम्बन्धी थुप्रै प्रश्नको जवाफ दिइन्। उनीहरूको चासो कायम राख्न सकियोस् भनेर सम्पर्क ठेगाना पनि लिइन्। पछि लाना आफ्नो घर फर्किन् र अहिले पनि उनी नियमित अग्रगामीको रूपमा सेवा गर्दै छिन्। “प्रार्थना सुन्नुहुने” परमेश्वरले नै उनलाई मदत गर्नुभएको हो भन्ने कुरामा उनी विश्वस्त छिन्।—भज. ६५:२.
४. यस लेखमा कस्ता आवश्यकताहरूबारे छलफल गर्नेछौं?
४ एक्कासि कुनै समस्या आइपर्दा हामी यहोवा परमेश्वरलाई मदतको लागि तुरुन्तै पुकार्छौं। उहाँ पनि आफ्ना वफादार सेवकहरूको त्यस्तो बिन्ती सुन्न इच्छुक हुनुहुन्छ। (भज. ३४:१५; हितो. १५:८) तर हाम्रा अझै महत्त्वपूर्ण अन्य आवश्यकता पनि छन्, जसलाई हामी प्रार्थनामा समावेश गर्न बिर्सिरहेका हुन सक्छौं। येशूले सिकाउनुभएको प्रार्थनालाई राम्ररी केलाएर हेर्ने हो भने यस्ता आवश्यकताहरूबारे पनि प्रार्थना गर्नुपर्छ भनेर राम्ररी बुझ्न सक्छौं। येशूले सिकाउनुभएको प्रार्थनाको अन्तिम तीन बिन्तीले कसरी हाम्रो आध्यात्मिक आवश्यकतालाई जोड दिएको छ भनेर यस लेखमा विचार गर्नेछौं। त्योभन्दा पहिला येशूले सिकाउनुभएको प्रार्थनाको चौथो बिन्ती अर्थात् दिनभरिको भोजन दिनुहोस् भन्ने बिन्तीअनुसारै जीवन बिताउन के गर्न सक्छौं, विचार गरौं।—मत्ती ६:११-१३ पढ्नुहोस्।
“हामीलाई आज दिनभरिको भोजन दिनुहोस्”
५, ६. भौतिक कुराहरूको खासै अभाव नभए तापनि हामीलाई आज दिनभरिको भोजन दिनुहोस् भनेर बिन्ती गर्नु किन महत्त्वपूर्ण छ?
५ याद गर्नुहोस्, येशू ख्रीष्टले “मलाई” आज दिनभरिको भोजन दिनुहोस् भनेर बिन्ती गर्न सिकाउनुभएन। बरु “हामीलाई” आज दिनभरिको भोजन दिनुहोस् भन्न सिकाउनुभयो। अफ्रिकामा सेवा गरिरहेका एक क्षेत्रीय निरीक्षक यसो भन्छन्, “मेरी श्रीमती र मैले छाक कसरी टार्ने होला अथवा हाम्रो भाडा कसले तिरिदिने होला भनेर औधी चिन्ता गर्नुपरेको छैन। यसको लागि म यहोवा परमेश्वरलाई मनैदेखि धन्यवाद दिने गर्छु। हाम्रा मायालु दाजुभाइ दिदीबहिनीले हरेक दिन हाम्रो ख्याल राख्नुहुन्छ। त्यसैले हामीलाई मदत गर्ने ती दाजुभाइ दिदीबहिनीले पनि आर्थिक समस्याहरूसित डट्न सकून् भनेर म प्रार्थना गर्छु।”
६ हामीसँग खानेकुराको खासै अभाव छैन होला। तर हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनी भने गरिब छन् वा प्रकोपको सिकार भएका छन्। हामीले उनीहरूको लागि प्रार्थना गरेर मात्र पुग्दैन, आफ्नो प्रार्थनाअनुसारै गर्न कदम पनि चाल्नुपर्छ। उदाहरणको लागि, हामी आफ्ना ख्रीष्टियन दाजुभाइ दिदीबहिनीसित आफूसँग भएका कुराहरू बाँडचुँड गर्न सक्छौं। साथै विश्वव्यापी कार्यको लागि नियमित रूपमा अनुदान पनि दिन सक्छौं। किनभने हामीले दिएको अनुदान खाँचोमा परेका दाजुभाइ दिदीबहिनीलाई मदत गर्न चलाइन्छ भनेर हामीलाई थाह छ।—१ यूह. ३:१७.
७. “भोलिको चिन्ता कहिल्यै नगर” भनेर सल्लाह दिंदा येशूले कस्तो उदाहरण चलाउनुभयो?
७ येशू ख्रीष्टले आज दिनभरिको भोजनको कुरा गर्नुभयो। त्यसैले उहाँ वास्तवमा हाम्रा दैनिक आवश्यकताहरूबारे कुरा गर्दै हुनुहुन्थ्यो भनेर थाह पाउन सक्छौं। त्यसपछि परमेश्वरले मैदानका फूलहरूलाई समेत पहिराउनुहुन्छ भनेर उहाँले बताउनुभयो अनि यसो भन्नुभयो, “हे अल्पविश्वासीहरू हो, के उहाँले तिमीहरूलाई झनै पहिराउनुहुन्न र? त्यसैले ‘हामी के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के लगाऔंला?’ भनेर कहिल्यै चिन्ता नगर।” उहाँले यो महत्त्वपूर्ण सल्लाह दिंदै आफ्नो कुरा टुङ्ग्याउनुभयो, “भोलिको चिन्ता कहिल्यै नगर।” (मत्ती ६:३०-३४) त्यसैले भौतिक कुराहरू जम्मा गर्ने धुनमा लाग्नुको साटो हामी आफ्ना दैनिक आवश्यकताहरू पूरा भएपछि त्यसैमा सन्तुष्ट रहनुपर्छ। यी आवश्यकताहरूमा बास, परिवारको लालनपालन गर्न जागिर र आफ्नो स्वास्थ्यको राम्ररी ख्याल राख्न चाहिने बुद्धि पर्छन्। तर हामीले यस्ता भौतिक आवश्यकताहरूको लागि मात्र प्रार्थना गर्दा हामी असन्तुलित भइरहेका हुन्छौं। यी आवश्यकताभन्दा हाम्रो आध्यात्मिक आवश्यकता अझै महत्त्वपूर्ण छ।
८. येशूले चलाउनुभएको दिनभरिको भोजन भन्ने शब्दले हामीलाई कुन कुरा सम्झाउँछ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)
८ येशूले चलाउनुभएको दिनभरिको भोजन भन्ने शब्दले हामीलाई आध्यात्मिक भोजन खानु पनि आवश्यक छ भनेर सम्झाउँछ। हाम्रो गुरु येशूले यसो भन्नुभयो, “मानिस रोटीको भरमा मात्र बाँच्नुहुँदैन तर यहोवाको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नु पर्छ।” (मत्ती ४:४) त्यसकारण यहोवाले हाम्रो लागि ठीक समयमा आध्यात्मिक भोजन प्रबन्ध गरिदिऊन् भनेर हामीले नियमित रूपमा प्रार्थना गर्नुपर्छ।
“हाम्रो ऋण क्षमा गर्नुहोस्”
९. कुन अर्थमा हाम्रा पापहरू “ऋण” हो?
९ येशू ख्रीष्टले किन “ऋण” भन्ने शब्द चलाउनुभयो? यो प्रश्न रोचक छ किनभने पछि प्रार्थना गर्न सिकाउँदा उहाँले “ऋण” भन्ने शब्द नभई “पापहरू” भन्ने शब्द चलाउनुभएको पाउँछौं। (मत्ती ६:१२; लूका ११:४) झन्डै ६० वर्षअघिको एउटा प्रहरीधरहरा-मा यसबारे यसरी व्याख्या गरिएको थियो, “परमेश्वरको नियम तोडेर हामीले कुनै पाप गऱ्यौं भने हामी उहाँप्रति ऋणी हुन्छौं। ... हाम्रो पापको बदलामा हाम्रो जीवनसमेत लिने अधिकार उहाँसित छ। . . . उहाँले हामीबाट आफ्नो शान्ति खोस्न सक्नुहुन्छ र हामीसित गाँसेको सम्बन्ध तोड्न सक्नुहुन्छ। . . . तर उहाँ त्यसो गर्नहुन्न, बरु हामीलाई प्रेम गर्नुहुन्छ। उहाँले हामीलाई प्रेम गर्नुभएकोले हामी उहाँप्रति ऋणी छौं। हामीले पनि उहाँको आज्ञा पालन गरेर उहाँलाई प्रेम गरेको देखाउनुपर्छ। त्यसैले पाप गर्दा हामी वास्तवमा आफ्नो ऋण चुक्ता गर्नदेखि चुकिरहेका हुन्छौं। किनभने पाप गऱ्यौं भने हामीले यहोवा परमेश्वरलाई प्रेम गरिरहेका हुँदैनौं।”—१ यूह. ५:३.
१०. यहोवा परमेश्वरले कुन आधारमा हामीलाई क्षमा गर्न सक्नुहुन्छ? यस प्रबन्धबारे तपाईं कस्तो महसुस गर्नुहुन्छ?
१० हामीले दिनदिनै यहोवा परमेश्वरबाट क्षमा पाउनु आवश्यक छ। त्यसैले येशूले चढाउनुभएको फिरौतीको बलिदान साँच्चै महत्त्वपूर्ण छ नि, होइन र? परमेश्वरले हाम्रो पाप क्षमा गर्न सक्ने एक मात्र कानुनी आधार यही बलिदान हो। हुन त येशूले यो बलिदान झन्डै २,००० वर्षअघि नै चढाउनुभएको थियो। तर आज हामी पनि यस उपहारप्रति आभारी हुनुपर्छ। हाम्रो जीवनको लागि येशूले चढाउनुभएको “छुटकाराको मोल ... ज्यादै” मूल्यवान् छ। किनभने त्रुटिपूर्ण मानिसले जेसुकै गरे तापनि फिरौतीको मोल तिर्न सक्दै-सक्दैन। (भजन ४९:७-९; १ पत्रुस १:१८, १९ पढ्नुहोस्) त्यसैले हामीले यहोवा परमेश्वरलाई यस्तो अनमोल उपहारको लागि धन्यवाद दिन कहिल्यै बिर्सनु हुँदैन। यो कुरा पनि विचार गर्नुहोस्, येशूले “हाम्रा पापहरू” भन्न सिकाउनुभयो, “मेरा पापहरू” होइन। यसले हामीलाई सम्पूर्ण ख्रीष्टियन दाजुभाइ दिदीबहिनीले फिरौतीको प्रबन्धबाट लाभ उठाउनु महत्त्वपूर्ण छ भनेर सम्झाउँछ। त्यसैले हामीले यहोवासितको उनीहरूको सम्बन्धलाई पनि विचार पुऱ्याएको उहाँ चाहनुहुन्छ। यसो गर्नुमा हामीविरुद्ध पाप गरेकाहरूलाई क्षमा दिनु पनि समावेश छ। धेरैजसो अवस्थामा त्यस्ता पापहरू सानोतिनो खालका हुन्छन्। वास्तवमा कसैले हामीविरुद्ध सानोतिनो गल्ती गर्दा हामी उनलाई साँच्चै प्रेम गर्छौं भनेर देखाउने मौका पाउँछौं। साथै यहोवा परमेश्वरले कृपालु भई हामीलाई क्षमा गर्नुभएझैं हामी पनि उनलाई क्षमा दिन इच्छुक छौं भनेर देखाउने मौका पाउँछौं।—कल. ३:१३.
परमेश्वरबाट क्षमा पाउन चाहनुहुन्छ भने अरूलाई क्षमा दिने गर्नुहोस् (अनुच्छेद ११ हेर्नुहोस्)
११. हामीले किन क्षमा दिनुपर्छ?
११ दुःखको कुरा, हामी त्रुटिपूर्ण भएकोले कहिलेकाहीं क्षमा दिन गाह्रो हुन्छ र हामी एकअर्काविरुद्ध इबी राख्न पुग्छौं। (लेवी १९:१८) समस्याबारे मण्डलीका अरू सदस्यहरूसित कुराकानी गऱ्यौं भने तिनीहरूले पनि हाम्रो पक्ष लिन सक्छन् र मण्डलीमा फाटो आउन सक्छ। यस्तो हुन दियौं भने फिरौतीको बलिदान अनि परमेश्वरले देखाउनुभएको कृपाप्रति आभारी नभएको देखाइरहेका हुन्छौं। हामीले क्षमा दिएनौं भने परमेश्वरले पनि हामीलाई आफ्नो छोराको बलिदानको आधारमा क्षमा दिनुहुनेछैन। (मत्ती १८:३५) यसबारे येशूले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनेबित्तिकै चर्चा गर्नुभएको थियो। (मत्ती ६:१४, १५ पढ्नुहोस्) साथै परमेश्वरबाट क्षमा पाउन चाहन्छौं भने हामीले गम्भीर पाप गर्नु हुँदैन। गम्भीर पाप नगर्ने अठोट गर्दा हामी येशूले सिकाउनुभएको प्रार्थनाको अर्को बिन्ती गर्न उत्प्रेरित हुनेछौं।—१ यूह. ३:४, ६.
“हामीलाई प्रलोभनमा पर्न नदिनुहोस्”
१२, १३. (क) येशूले बप्तिस्मा गर्नुभएको केही समय नबित्दै के भयो? (ख) हामी प्रलोभनमा पऱ्यौं भने त्यसको दोष अरूलाई दिन मिल्दैन, किन? (ग) मृत्युसम्मै वफादार रहेर येशूले के प्रमाणित गर्नुभयो?
१२ “हामीलाई प्रलोभनमा पर्न नदिनुहोस्” भनेर बिन्ती गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर बुझ्न एउटा घटना विचार गरौं। येशूले बप्तिस्मा गर्नुभएको केही समय नबित्दै परमेश्वरको शक्तिले येशूलाई उजाडस्थानतिर डोऱ्यायो। त्यहाँ के भयो? “दियाबलले लोभ देखाएर उहाँको परीक्षा गर्ने कोसिस गऱ्यो।” (मत्ती ४:१; ६:१३) यहोवा परमेश्वरले किन त्यसो हुन दिनुभएको होला भनेर के हामी छक्क पर्नुपर्छ? अहँ, पर्दैन। परमेश्वरले आफ्नो छोरालाई पृथ्वीमा पठाउनुको मुख्य कारण के थियो, विचार गर्नुहोस्। आदम र हव्वाले परमेश्वरको शासन गर्ने अधिकारको विरोध गर्दा खडा भएको विवाद सुल्झाउन येशू पृथ्वीमा आउनुभएको थियो। त्यस विवादले गर्दा विभिन्न प्रश्न खडा भयो। जस्तै: परमेश्वरले मानिसलाई खोटसहित बनाउनुभएको थियो कि? “त्यस दुष्ट” सैतानले जतिसुकै दबाब दिए तापनि त्रुटिरहित मानिस परमेश्वरप्रति वफादार रहन सक्ला? सैतानले भन्न खोजेझैं परमेश्वरको शासनविना नै मानिसहरू सुखी रहन सक्छन् कि? (उत्प. ३:४, ५) यी प्रश्नहरूको जवाफ पाउन प्रशस्तै समय चाहिन्थ्यो। तर यी प्रश्नहरूको जवाफले यहोवा परमेश्वर आफ्नो शासन गर्ने अधिकार सही तरिकामा चलाउनुहुन्छ भनेर प्रमाणित गर्ने थियो।
१३ यहोवा परमेश्वर पवित्र हुनुहुन्छ। त्यसैले उहाँ कुनै खराब मनसायले कसैको पनि परीक्षा गर्नुहुन्न। बरु ‘परीक्षा गर्न खोज्ने’ त दियाबल हो। (मत्ती ४:३) हुन त दियाबलले हामीलाई प्रलोभनमा पार्न विभिन्न पासो थाप्छ। तर प्रलोभनको प्रतिरोध गर्ने कि नगर्ने भन्ने कुरा प्रत्येकले आफै निर्णय गर्न सक्छन्। (याकूब १:१३-१५ पढ्नुहोस्) सैतानले ल्याएको हरेक प्रलोभनलाई येशूले ठाडै इन्कार गर्नुभयो। उहाँले हरेक पटक बाइबलबाट उद्धरण गर्दै सैतानलाई जवाफ दिनुभयो। यसरी उहाँले परमेश्वरको शासन गर्ने अधिकारलाई पूर्ण रूपमा समर्थन गर्नुभयो। तर सैतानले हार मानेन। बरु “अर्को अनुकूल मौका नपाउन्जेलसम्मका लागि” पर्खेर बस्यो। (लूका ४:१३) तर सैतानले येशूको निष्ठा तोड्न गरेको हरेक प्रयासलाई उहाँले विफल पारिदिनुभयो। उहाँले यहोवा परमेश्वरको शासन गर्ने अधिकारलाई समर्थन गर्नुभयो र जस्तोसुकै गाह्रो परीक्षा आइपरे तापनि त्रुटिरहित मानिस वफादार रहन सक्छ भनेर प्रमाणित गर्नुभयो। तर सैतान अझै पनि येशूका चेलाहरूलाई पासोमा पार्न लागिपरेको छ र त्यसले तपाईंलाई पनि आफ्नो सिकार बनाउन खोज्छ।
१४. प्रलोभनमा नपर्ने हो भने हामीले के गर्नुपर्छ?
१४ परमेश्वरको शासन गर्ने अधिकारसम्बन्धी खडा भएको विवाद अहिलेसम्म पनि हल भएको छैन। त्यसैले यहोवा परमेश्वरले सैतानलाई हाम्रो परीक्षा लिन दिनुभएको छ। उहाँले नै हामीलाई प्रलोभनमा पार्ने त होइन। बरु उहाँ हामीलाई भरोसा गर्नुहुन्छ र हामीलाई मदत गर्न चाहनुहुन्छ। तर उहाँ हाम्रो छनौट गर्ने स्वतन्त्रताको पनि कदर गर्नुहुन्छ। त्यसैले प्रलोभनको प्रतिरोध गर्ने कि नगर्ने भनेर हामी आफैलाई निर्णय गर्न दिनुहुन्छ। प्रलोभनमा नपर्ने हो भने हामीले दुइटा कुरा गर्नु आवश्यक छ: आध्यात्मिक रूपमा जागा रहने र निरन्तर प्रार्थना गर्ने। प्रलोभनमा पर्न नदिनुहोस् भनेर प्रार्थनामा बिन्ती गर्दा यहोवा परमेश्वर कसरी त्यसको जवाफ दिनुहुन्छ?
यहोवासितको सम्बन्ध घनिष्ठ बनाइराख्नुहोस् र जोसिलो भई प्रचारकार्यमा लागिरहनुहोस् (अनुच्छेद १५ हेर्नुहोस्)
१५, १६. (क) हामीले प्रतिरोध गर्नुपर्ने केही प्रलोभन के-के हुन्? (ख) हामी प्रलोभनमा पऱ्यौं भने त्यसको दोषी को हो?
१५ यहोवा परमेश्वर हामीलाई पवित्र शक्ति दिनुहुन्छ। यसले हामीलाई प्रलोभनको प्रतिरोध गर्ने बल दिन्छ। परमेश्वर हामीलाई आफ्नो वचन र मण्डलीमार्फत पनि प्रलोभनमा पर्न सक्ने विभिन्न खतराबारे चेतावनी दिनुहुन्छ। जस्तै: अनावश्यक भौतिक कुराहरू हासिल गर्नमै आफ्नो समय, पैसा र शक्ति खर्च गर्नुको खतराबारे हामी चेतावनी पाउँछौं। एस्पेन र याना युरोपको एक धनी देशमा बस्छन्। थुप्रै वर्षसम्म तिनीहरूले आफ्नो देशको आवश्यकता धेरै भएको ठाउँमा नियमित अग्रगामी सेवा गरे। तर छोरा जन्मेपछि तिनीहरूले अग्रगामी सेवा छोड्नुपऱ्यो। पछि तिनीहरूको एउटी छोरी पनि जन्मिइन्। एस्पेन यसो भन्छन्, “पहिला हामी आध्यात्मिक गतिविधिमा जति समय बिताउँथ्यौं, अहिले त्यति समय बिताउन सक्दैनौं। त्यसैले प्रलोभनमा पर्न नदिनुहोस् भनेर हामी अक्सर यहोवालाई प्रार्थना गर्छौं। साथै उहाँसितको सम्बन्ध घनिष्ठ बनाइराख्न र जोसिलो भई प्रचारकार्यमा लागिरहन मदत गर्नुहोस् भनेर पनि बिन्ती गर्छौं।”
१६ आजकाल सैतानले मानिसहरूलाई प्रलोभनमा पार्न चलाउने एउटा प्रभावकारी तरिका हो: अश्लील सामग्री। तर अश्लील सामग्री हेर्ने प्रलोभनमा पऱ्यौं भने हामीले सैतानलाई दोष दिन मिल्दैन। किन? किनभने सैतान र त्यसको संसारले हामीलाई आफ्नो इच्छाविपरीत चल्न जबरजस्ती गर्न सक्दैन। खराब कुराहरू मनमा खेलाइरहेकोले कोही-कोही अश्लील सामाग्री हेर्ने प्रलोभनमा परेका छन्। तर हामी यस्तो प्रलोभनको प्रतिरोध गर्न सक्छौं। हजारौं दाजुभाइ दिदीबहिनीले पनि त्यसै गरेका छन्।—१ कोरि. १०:१२, १३.
“त्यस दुष्टबाट छुटाउनुहोस्”
१७. (क) हामी कसरी “त्यस दुष्टबाट छुटाउनुहोस्” भन्ने बिन्तीअनुसारै जीवन बिताउन सक्छौं? (ख) अब चाँडै के हुनेछ?
१७ हामी कसरी “त्यस दुष्टबाट छुटाउनुहोस्” भन्ने बिन्तीअनुसारै जीवन बिताउन सक्छौं? ‘सैतानको संसारको नहुन’ र “[सैतानको] संसारलाई वा संसारमा भएका थोकहरूलाई प्रेम” नगर्न कडा प्रयास गरेर। (यूह. १५:१९; १ यूह. २:१५-१७) सैतानको संसार रहुन्जेल हामीले यस्तो प्रयास गरिरहनै पर्छ। भविष्यमा यहोवाले सैतान र त्यसको दुष्ट संसारलाई नाश गरेर हाम्रो प्रार्थनाको जवाफ दिनुहुनेछ। त्यतिबेला हामी कत्ति खुसी हुनेछौं! तर त्यतिन्जेल सैतानले हाम्रो निष्ठा तोड्न भएभरको प्रयास गर्छ भनेर नभुलौं। किनभने सैतानलाई स्वर्गबाट पृथ्वीमा फालिंदा आफ्नो समय थोरै मात्र बाँकी छ भनेर थाह थियो। त्यो असाध्यै रिसाएको छ। त्यसैले त्यसबाट छुटाउनुहोस् भनेर प्रार्थना गरिरहनै पर्छ।—प्रका. १२:१२, १७.
१८. सैतानको संसार अन्त हुँदा जोगिन चाहन्छौं भने हामीले के गरिरहनै पर्छ?
१८ के तपाईं त्यस दुष्ट सैतान नभएको संसारमा बाँच्न चाहनुहुन्छ? चाहनुहुन्छ भने परमेश्वरको राज्यले उहाँको नाम पवित्र पारोस् र उहाँको इच्छा यस पृथ्वीमा पनि पूरा गरोस् भनेर प्रार्थना गरिरहनुहोस्। आफ्नो आध्यात्मिक र भौतिक आवश्यकताहरू पूरा गर्न यहोवा परमेश्वरमा भर पर्नुहोस्। येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउन सक्दो गर्नुहोस्।
-