प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के कडा परिश्रम गर्ने जमाना गइसक्यो?
    प्रहरीधरहरा—२०१५ | फेब्रुअरी १
    • सहकर्मीहरूले सामान सार्ने काम गरिरहँदा बस्दै गरेका एक निराश जवान व्यक्‍ति

      आवरण लेख | आफ्नो काममा कसरी रमाउन सक्नुहुन्छ?

      के कडा परिश्रम गर्ने जमाना गइसक्यो?

      सामान ओसारपसार गरिदिने एउटा कम्पनीमा काम गर्ने एलेक्स ट्रकमा बाकस राख्दै छन्‌। तिनी सुस्केरा हाल्दै मनमनै सोच्छन्‌, ‘यो काम गरेर उँभो लागिएला जस्तो छैन। म कहिले सफल हुने? कामै गर्नु नपरे जीवन कत्ति रमाइलो हुन्थ्यो!’

      एलेक्सजस्तै आज संसारमा थुप्रै मानिस कडा परिश्रम गर्न रुचाउँदैनन्‌। गाडी मर्मतको काम गर्ने आरोन यसो भन्छन्‌: “धेरैजसो मानिसहरू ‘निम्न स्तरको’ ठानिने काम आफ्नो लायकको छैन भनेर सोच्छन्‌। तिनीहरू भन्छन्‌: ‘म त राम्रो काम पाउनेबित्तिकै यो काम छोडिहाल्छु।’”

      धेरै मानिसहरू कडा परिश्रम गर्न किन मन पराउँदैनन्‌? अक्सर सञ्चार माध्यममा “आदर्श” जीवन भनेको ऐस आरामको जिन्दगी हो भनेर देखाइन्छ। यही कुराले नै तिनीहरूको सोचाइलाई प्रभाव पारेको हुन सक्छ। मर्मतसम्भारको काम गर्ने मेथ्यु यसो भन्छन्‌: “जीविकोपार्जन गर्न तपाईंले कडा परिश्रम गर्नुपरेको छ भने तपाईं सफल हुनुहुन्‍न भनेर मानिसहरू सोच्छन्‌।” घरको रेखदेखको काम गर्ने शेन पनि यो कुरामा सहमत छन्‌। तिनी भन्छन्‌: “आजकालका मानिसहरू थोरै परिश्रम गरेर धेरै पैसा कमाउन चाहन्छन्‌।”

      अर्कोतर्फ थुप्रै सफल व्यक्‍तिहरू कडा परिश्रम गर्न मन पराउँछन्‌। निर्माणकार्यमा काम गर्ने २५ वर्षे डानियल यसो भन्छन्‌: “काममा कडा मेहनत गर्नेले इनाम पाउँछ। विशेषगरि, अर्थपूर्ण उद्देश्‍यले गर्दै छ भने।” तेइस वर्षे आन्ड्रे पनि यसो भन्छन्‌: “मेरो विचारमा हामी जीवनमा कति आनन्दित हुन्छौं, त्यो कुरा हाम्रो काममा पनि भर पर्छ। थोरै मात्र काम गर्ने वा कम परिश्रम गर्छौं भने केही समयको लागि त रमाइलो होला, तर लामो समयपछि भने हामीलाई दिक्क लाग्न सक्छ।”

      डानियल र आन्ड्रेजस्ता मानिसहरूले कसरी कडा परिश्रमलाई सकारात्मक दृष्टिकोणले हेर्न सिके? तिनीहरूले बाइबलबाट सिकेका सिद्धान्तहरूलाई आफ्नो व्यवहारमा उतारे। बाइबलले अल्छी हुन सिकाउँदैन, बरु कडा परिश्रम गर्न र लगनशील हुन प्रोत्साहन दिन्छ। तर बाइबलले हामीलाई काम गर्नुपर्छ भनेर मात्र सिकाउँदैन। यसले हामीलाई आफ्नो काममा कसरी रमाउने भनेर पनि सिकाउँछ।

      बाइबलका कुन सिद्धान्तहरूले तपाईंलाई आफ्नो काममा सन्तुष्ट हुन मदत गर्छ? कृपया यसपछिको लेखमा बाइबलका केही सिद्धान्तबारे पढ्‌नुहोस्‌।

  • तपाईं आफ्नो काममा कसरी रमाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा—२०१५ | फेब्रुअरी १
    • सामान सार्ने काममा रमाइरहेका जवान व्यक्‍ति

      आवरण लेख | आफ्नो काममा कसरी रमाउन सक्नुहुन्छ?

      तपाईं आफ्नो काममा कसरी रमाउन सक्नुहुन्छ?

      “परमेश्‍वरको दान यही हो कि हरेक मानिसले खाओस्‌, पिओस्‌, र आफ्नो सारा परिश्रममा सन्तुष्ट रहोस्‌।” (उपदेशक ३:१३, NRV) हामीले परिश्रम गरेर सन्तुष्ट अनि आनन्दित भएको परमेश्‍वर चाहनुहुन्छ। त्यसैले कसरी त्यस्तो सन्तुष्टि प्राप्त गर्न सकिन्छ भनेर उहाँले बताउनुभएको हुनुपर्छ। (यशैया ४८:१७) खुसीको कुरा, उहाँले आफ्नो वचन बाइबलमार्फत कडा परिश्रम गर्दा कसरी रमाउन सकिन्छ भनेर बताउनुभएको छ। बाइबलमा पाइने त्यस्ता केही सल्लाहबारे अब हामी छलफल गरौं।

      कामप्रति सकारात्मक हुनुहोस्‌

      तपाईंको काम दिमाग वा शारीरिक बल लगाउनुपर्ने खालको होस्‌ या दुवै चलाउनुपर्ने खालको, ‘सबै [किसिमको] परिश्रमले लाभ हुन्छ’ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। (हितोपदेश १४:२३, NRV) कस्तो लाभ? एउटा लाभ त हामीले काममा कडा मेहनत गऱ्‍यौं भने आफ्नो भौतिक आवश्‍यकता पूरा गर्न सक्छौं। हुन त परमेश्‍वरले उहाँका साँचो उपासकहरूको आवश्‍यकता पूरा गरिदिने प्रतिज्ञा गर्नुभएको छ। (मत्ती ६:३१, ३२) तर हामीले पनि आफ्नो तर्फबाट इमानदार भई जीविकोपार्जनको लागि कडा परिश्रम गरेको उहाँ चाहनुहुन्छ।—२ थिस्सलोनिकी ३:१०.

      आफूले राखेको लक्ष्यमा पुऱ्‍याउन कामले ठूलो भूमिका खेल्छ भनेर हामीले बुझ्नुपर्छ। साथै काम गर्नु भनेको आफ्नो जिम्मेवारीहरू पूरा गर्ने राम्रो तरिका हो। पच्चीस वर्षे जोशुवा यसो भन्छन्‌: “आफ्नो खुट्टामा उभिन सक्ने हुनु पनि एक किसिमको सफलता हो। यदि तपाईंको कामले आवश्‍यक खर्चहरू टार्छ भने त्यो काम तपाईंको लागि ठीक छ।”

      काममा मेहनत गर्छौं भने हाम्रो आत्मसम्मान पनि बढ्‌छ। आखिर कडा परिश्रम गर्नु सजिलो त छैन। तर कुनै काम गाह्रो वा पट्टाइलाग्दो लागे तापनि त्यो काम झिजो नमानी निरन्तर गरिरहन्छौं भने हामीले उच्च नैतिक स्तर कायम गरिरहेकोमा खुसी हुन सक्छौं। साथै काम नगर्न विभिन्‍न बहाना बनाउने झुकावलाई जितिरहेका हुन्छौं। (हितोपदेश २६:१४) यो कुरा महसुस गर्दा हामी सन्तुष्ट हुन सक्छौं। यसअघिको लेखमा चर्चा गरिएका आरोन यसो भन्छन्‌: “दिनभरि काम गरेपछि मलाई निकै खुसी लाग्छ। थकाइ लागेको हुन्छ अनि मैले गरेको मेहनत अरूले यादै नगरेको पनि हुन सक्छ, तैपनि म केही गर्न सफल भएँ जस्तो महसुस गर्छु।”

      काममा मेहनती हुनुहोस्‌

      काममा “निपुण” मानिस र ‘मेहनत गर्ने’ स्त्रीको बाइबलमा प्रशंसा गरिएको छ। (हितोपदेश २२:२९; ३१:१३) हो, कोही पनि मानिस त्यतिकै निपुण अर्थात्‌ सिपालु हुन सक्दैन। अनि हामी कुनै काममा निपुण छैनौं भने त्यो काम गर्नु पर्दा हामी खुसी हुँदैनौं। सायद यही कारणले गर्दा धेरै मानिस आफ्नो काममा रमाउँदैनन्‌। किनकि तिनीहरूले काममा सिपालु हुन आवश्‍यक मेहनत गरेकै हुँदैनन्‌।

      यदि हामीले सही मनोवृत्ति राखेर काम गऱ्‍यौं अर्थात्‌ आफ्नो काममा सिपालु हुने कोसिस गऱ्‍यौं भने हामी जस्तोसुकै काम गर्नुपरे तापनि रमाउन सक्छौं। चौबीस वर्षे विलियम यसो भन्छन्‌: “तपाईं कुनै काममा यथासक्दो मेहनत गर्नुहुन्छ भने त्यसको नतिजा देखेर तपाईं सन्तुष्ट हुन सक्नुहुन्छ। राजाको काम कहिले जाला घाम भने जस्तै तरिकामा काम गर्दा यस्तो सन्तुष्टि पाउन सकिंदैन।”

      गाडी चलाउन सिपालु हुन सिक्दै गरेका एक महिला

      तपाईंको कामले अरूलाई कसरी फाइदा पुऱ्‍याउँछ, सोच्नुहोस्‌

      आफूले गरिरहेको कामबाट कति पैसा कमाइरहेको छु भन्‍ने कुरामा मात्रै ध्यान नदिनुहोस्‌। बरु आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘यो काम गर्नु किन महत्त्वपूर्ण छ? मैले यो काम गरिनँ अथवा गरिहाले तापनि झारो टार्ने हिसाबले मात्रै गरें भने नतिजा कस्तो हुन्छ? मेरो कामले अरूलाई कसरी फाइदा पुऱ्‍याइरहेको छ?’

      माथि दिइएका प्रश्‍नहरूमध्ये अन्तिम प्रश्‍नबारे विचार गर्नु सबैभन्दा महत्त्वपूर्ण छ। किनभने आफ्नो कामले अरूलाई फाइदा पुऱ्‍याइरहेको छ भनेर देख्दा हामी त्यो कामबाट सन्तुष्टि पाउँछौं। येशूले यसो भन्‍नुभएको थियो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” (प्रेषित २०:३५) हाम्रो कामले गर्दा प्रत्यक्ष रूपमा मालिक अनि ग्राहकहरूलाई फाइदा पुग्छ। साथै अप्रत्यक्ष रूपमा अरूलाई पनि फाइदा पुगिरहेको हुन्छ। जस्तै: हाम्रो परिवारका सदस्यहरू अनि खाँचोमा परेकाहरूलाई।

      परिवारका सदस्यहरू। घरको मुलीले परिवारको लालनपालन गर्न कडा परिश्रम गर्छन्‌ भने तिनले कम्तीमा पनि दुई तरिकामा परिवारलाई फाइदा पुऱ्‍याइरहेका हुन्छन्‌। पहिलो, तिनले परिवारको गाँस, बास र कपास जस्ता आधारभूत आवश्‍यकताहरू पूरा गरिरहेका हुन्छन्‌। यसरी तिनले ‘आफन्तको हेरविचार गर्नू’ भनी परमेश्‍वरले दिनुभएको जिम्मेवारी पूरा गरिरहेका हुन्छन्‌। (१ तिमोथी ५:८) दोस्रो, तिनले कडा परिश्रम गर्नुको महत्त्वबारे परिवारका सदस्यहरूलाई आफ्नै उदाहरणबाट सिकाइरहेका हुन्छन्‌। अघिल्लो लेखमा चर्चा गरिएका शेन यसो भन्छन्‌: “कडा परिश्रम गर्ने सन्दर्भमा मेरो बुबा एउटा राम्रो उदाहरण हुनुहुन्छ। उहाँ इमानदार हुनुहुन्छ अनि जीवनभरि नै उहाँले कडा मेहनत गर्नुभएको छ। उहाँले धेरैजसो सिकर्मीको काम गर्नुभएको थियो। उहाँको उदाहरणबाट आफ्नो हात चलाएर काम गर्नु, अरूको लागि उपयोगी हुने सामानहरू बनाउनु निकै महत्त्वपूर्ण छ भनेर मैले सिकेको छु।”

      खाँचोमा परेकाहरू। प्रेषित पावलले यस्तो सल्लाह दिए: ख्रीष्टियनहरूले ‘कडा परिश्रम गरून्‌, ताकि खाँचोमा परेको मानिसलाई दिन तिनीहरूसित केही होस्‌।’ (एफिसी ४:२८) साँच्चै! हामीले आफ्नो अनि परिवारको पालनपोषण गर्न कडा परिश्रम गऱ्‍यौं भने खाँचोमा परेकाहरूलाई पनि आवश्‍यक मदत दिन सक्नेछौं। (हितोपदेश ३:२७) यसरी हामी दिंदा पाइने अपार आनन्द महसुस गर्न सक्नेछौं।

      आशा गरिएभन्दा धेरै गर्नुहोस्‌

      डाँडाको उपदेश भनेर चिनिने येशूको प्रख्यात भाषणमा उहाँले यसो भन्‍नुभयो: “यदि अख्तियार हुने कसैले तिमीलाई जबरजस्ती काममा लगाएर एक किलोमिटर परसम्म लैजान खोज्छ भने ऊसित दुई किलोमिटरसम्मै जाऊ।” (मत्ती ५:४१) यी शब्दहरूभित्र लुकेको सिद्धान्तलाई तपाईं कसरी लागू गर्न सक्नुहुन्छ? थोरै काम गरेर झारा टार्नुको साटो गर्नुपर्ने भन्दा अझ धेरै काम गर्ने प्रयास गर्नुहोस्‌। अनि आफ्नो काम अझै राम्ररी वा छिटो पूरा गर्न व्यक्‍तिगत लक्ष्यहरू राख्नुहोस्‌। आफ्नो कामको स-साना पक्षहरूमा पनि खुसी हुन सिक्नुहोस्‌।

      बजारमा ग्राहकलाई मदत गर्दा रमाइरहेका कामदार

      आफूबाट माग गरिएभन्दा धेरै काम गर्नुभयो भने तपाईं काममा अझ रमाउन सक्नुहुन्छ। किनभने तपाईं आफ्नै इच्छाले थप काम गर्नुहुन्छ; कसैको करकापले होइन। (फिलेमोन १४) यस सन्दर्भमा हामी हितोपदेश १२:२४ (NRV) मा पाइने यो सिद्धान्त सम्झन सक्छौं: “लगनशील हातले शासन गर्नेछ, तर आलस्यको अन्त्यचाहिँ कमारोपन हो।” पक्कै पनि हामीमध्ये कमै मात्र साँच्चैको कमारा वा दास बन्छौं होला। तर झारा टार्ने हिसाबले काम गर्ने मानिसहरू पनि एक अर्थमा आफूलाई दास जस्तै महसुस गर्छन्‌। सधैं अरूले अह्राएको काम गर्नुपर्ने बाध्यतामा परेको महसुस गर्छन्‌। तर आशा गरिएभन्दा अझ धेरै गर्ने मानिसले भने आफ्नै इच्छाले काम गरिरहेका हुन्छन्‌। त्यसैले तिनी स्वतन्त्र महसुस गर्छन्‌। किनभने तिनले गर्ने कामहरू तिनकै वशमा हुन्छन्‌।

      सन्तुलित हुनुहोस्‌

      कडा परिश्रम गर्नु राम्रो हो। तर जीवनमा कामबाहेक अरू थुप्रै महत्त्वपूर्ण कुराहरू पनि छन्‌ भनेर नबिर्सनुहोस्‌। हो, बाइबलले कडा परिश्रम गर्न प्रोत्साहन दिन्छ। (हितोपदेश १३:४) तर सधैं कामको पछि लागेर अरू कुराहरूलाई बेवास्ता गर्ने झुकावलाई भने बाइबलले बढावा दिंदैन। बाइबलमा यस्तो लेखिएको छ: “परिश्रमसाथ कमाएको र बतासलाई खेदेको दुई मुठ्ठी भन्दा शान्तिसित एक मुठी भएको अझ असल हो।” (उपदेशक ४:६, NRV) यसले भन्‍न खोजेको के हो? यदि कसैले आफ्नो भएभरको समय र बल काममा मात्रै खर्च गर्छन्‌ भने तिनी आफ्नो काममा कहिल्यै रमाउन सक्दैनन्‌। तिनको काम व्यर्थ हुन्छ, “बतासलाई खेदेको” जस्तै।

      बाइबलले हामीलाई काम गर्ने सन्दर्भमा सन्तुलित दृष्टिकोण राख्न मदत गर्छ। हामी काममा मेहनती हुनुपर्छ भन्‍नुका साथै बाइबलले हामीलाई ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो पक्का गर्न’ पनि सल्लाह दिन्छ। (फिलिप्पी १:१०) अझ महत्त्वपूर्ण कुराहरूमा के-के पर्छ? एउटा त हामीले परिवार अनि साथीभाइसित बिताउने समय हो। अनि त्योभन्दा पनि अझ महत्त्वपूर्ण कुरा भनेको आध्यात्मिक गतिविधि हुन्‌, जस्तै: परमेश्‍वरको वचन बाइबल पढ्‌नु अनि पढेको कुरामा मनन गर्नु।

      घरमा सँगै खाना खाएर समय बिताइरहेका खुसी परिवार

      जीवनलाई सन्तुलित राख्ने मानिसहरू आफ्नो काममा रमाउँछन्‌। यसअघि चर्चा गरिएका विलियम यसो भन्छन्‌: “मैले पहिला काम गरेको ठाउँको हाकिम सन्तुलित हुने सन्दर्भमा एउटा राम्रो उदाहरण हुनुहुन्छ। उहाँ निकै मेहनत गर्नुहुन्छ अनि काम राम्रो गर्ने भएकोले ग्राहकहरूसित पनि उहाँको राम्रो सम्बन्ध छ। तर दिनभरि काममा व्यस्त भए तापनि साँझपख भने परिवार र उपासनाको लागि उहाँ समय निकाल्नुहुन्छ। उहाँ निकै आनन्दित व्यक्‍ति हुनुहुन्छ भनेर मैले देखें!”

      कडा परिश्रमप्रति केही मानिसको दृष्टिकोण

      “दिनभरि काम गरेपछि जीउ फतक्क गल्छ। तैपनि म आनन्दित अनि सफल भएको महसुस गर्छु। त्यो दिन मैले साँच्चै काम गरें जस्तो लाग्छ।”—निक।

      “काम गर्ने सबैभन्दा राम्रो तरिका भनेकै मेहनत गर्नु हो। तपाईंको काम फलदायी होस्‌ भन्‍ने चाहनुहुन्छ भने त्यसलाई ठीक तरिकामा गर्नुहोस्‌।”—क्रिस्टियन।

      “हाम्रो शरीरले अचम्मलाग्दा कामहरू गर्न सक्छ। त्यसैले आफूले पाएको जीवनको उपहारप्रति आभारी भएको कुरा कडा परिश्रम गरेर र अरूलाई मदत गरेर देखाउँछु।”—डेभिड।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने